16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सूचना

लघुकथा डिल्लीप्रसाद अधिकारी January 12, 2023, 9:29 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

महावीरप्रसाद ठूला नेता हुन्। यसपालिको चुनाउ हारेपछि उनको सातो उडेको छ। म पनि हार्छु भन्ने उनलाई हेक्का नभएकाले उनलाई हार पचाउन गाह्रो परिरहेछ । प्रजातन्त्रमा जनताको मत सर्वोच्च हो भनेर उनलेे बिर्सेका बेला उनी हारे।

तिनताक देशमा डोरीको बिक्रीवितरण राम्रो थियो । महावीरले डोरी उत्पादनमा विशेष जोड यसकारण पनि दिने गर्दथे कि आफ्ना चुनावी भाषणमा उनी विपक्षीलाई डोरीमा झुन्डिएर मर्ने सुझाउ दिने गर्दथे। जनतामा नैराश्य यति धेरैले छाएको थियोे कि बालकदेखि लिएर युवा र प्रौढ मानिसहरू आत्महत्या गर्न पनि प्रायः डोरीकै सहायता लिन्थे।

डोरीको उपयोग आत्महत्याका लागि हुनेछ भनेर उनले यसको उत्पादनमा जोड दिएका भने होइनन् । डोरीले जनतालाई एकसूत्रमा बाँधेर आफैतिर डोर्‍याएर शासन गरिरहने महावीरको पवित्र इच्छा थियो । तर दिनदिनै डोरी दुई अङ्गुल छोटो हुनथालेपछि उनी विचलित बन्न थाले। यसोदाले कृष्णलाई ओखलमा बाँध्न खोज्दा डोरी छोटो भएको मिथक जस्तै यहाँ पनि डोरी छोटो भयो । जनता तर कृष्ण थिएनन्, मानवीय गुण भएका मान्छे थिए र डोरी छोटो हुने आयतन झन् बढ्दै गयो । बाँधिन नचाहनेहरूको संख्या पनि बढ्दो हुँदै जान थाल्यो ।

महावीरलाई सकस हुन थाल्यो जसले गर्दा उनले शासनको काम राम्ररी गर्न सकेनन् । प्रकटमा नभने पनि उनलाई थाहा थियो कि डोरीले जनतालाई झुन्ड झुन्डमा बाँधिएको छ। भन्न त उनी जनता ऐक्यबद्ध छन् भन्थे।

चुनाउ हारेपछि त झन् डोरी छोटिने प्रक्रिया बढ्दै गयो । अहिले जितेकालाई भने डोरीको आवश्यकता किन नपरेको होला भनेर महावीर छक्क पर्थे। मायाको डोरीले बाँधेपछि महावीरले उत्पादन गरेको ड‍‍ोरी नचाहिने भएकाले डोरीको माग घटेर गयो फलतः उत्पादन पनि घट्यो ।

आज बिहानै महावीर प्रसाद एउटा दोकानमा डोरी किन्न आएका रहेछन् । हठात् उनलाई त्यो पनि एकाबिहानै डोरीको खाँचो किन भयो ? कतै अनिष्ट त हुने होइन ? देशले चिन्ता गर्ने बेला आएको छ। सबैमा यो सूचना पुग‍ोस्।यो सूचनाकै युग भएकाले सबैले सुसूचित हुन पाउनुपर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।