17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सावित्री

लघुकथा प्रा. डा. कपिल लामिछाने January 12, 2023, 9:37 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

छिमेकी सत्यवानको अकस्मात् निधन भयो ।
सावित्री सुँकसुँकाउन थाली ।
यमदूतलाई देख्नेबित्तिकै उसले पुकारा गरी, “हे यमदूत ! मेरो सत्यवानई ब्युँताइदिनुहोस् न प्लिज ।”
यमदूतले भने, “मृतकलाई ब्युँताउन मिल्दैन, बालिके !”
उसले हठ गरी, “म वहाँबिना बाँच्नै सक्तिनँ । म पनि सँगै जान्छु त्यसो भए ।”
यमदूतले फेरि भने, “हैट् । सतीप्रथा उहिल्यै अन्त भइसक्यो । नौटङ्की नगर । यो विधिको विधान हो ।”
उसले विन्ती गरी, “विधिको विधान म मान्दिन कहाँ भनेकी छु र ? बरु जे भने पनि मान्छु । एक्कै मिनेटका लागि ब्युँताइदिनुस् न प्लिज ।”
अकस्मात् ऊ आफैँ यमदूतसित टाँसिन पुगी ।
एकछिन सावित्रीको न्यानो तापेपछि यमदूतले यताउति हेरेर भने, “ल ल । एक मिनेट होइन, आधा मिनेटका लागि ब्युँताइदिन्छु । हुन्छ ?”
”हुन्छ । जय हो प्रभु ।” सावित्रीले हात जोडेर भनी ।
सत्यवान् ब्युँतिए ।
सत्यवानले आँखा खोल्नेबित्तिकै छातीमा घोप्टिँदै सावित्रीले भनी ”सत्य ! मोबाइल बैंकिङको पासवर्ड भन त । छिट्टो । टाइम छैन ।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।