छिमेक वरपर बस्नेलाई छिमेकी भन्छौं हामी। अचेल बड़े बड़े शहरलाई फ्ल्याट कल्चरले ग्रास गरेकोले फ्ल्याटमा बस्ने छिमेकीहरूमाझ त्यति भेटघाट, बोलचाल हुँदैन। फ्ल्याटमा बस्ने सबै नै आफ्ना ढोका थुनेर बस्ने गर्छन्। तर गाउँ घरमा बस्ने छर-छिमेकहरू एका अर्कामा बोलचाल हुन्छ। मरौ पराउमा गाउँ घरका छिमेकीहरू सघाउ पुऱ्याउन आउँछन्। कुनै उत्सवमा सारा गाउँका छिमेकीहरू आई नाँच्छन्, गाउँछन् र मोजमस्ती गर्छन्। गाउँ घरका छिर छिमेकीहरू एका अर्कालाई प्रेम गर्छन्। दुःख सुखमा साथ दिन्छन्। छिमेकीलाई प्रेम गर्नु नै ईश्वरलाई प्रेम गरेको बराबर हो भन्छन् बूढ़ा-पाकाहरू। कुरो ठिकै पनि हो।
मेरा छर छिमेककाहरू सबै आँखामै राख्दा पनि नबिझाउने खालके भए पनि मेरो घर पल्लोपट्टि भर्खरै भाड़ामा आएर बस्ने छिमेकी भने मेरो काउसो बराबर नै छन्। हामी एउटै परिवारजस्तै नै छौं। कहिले भनावैरी भएको छैन। एका अर्कामा रिस राग, झैँ झगड़ाको कुरै छैन। पल्लोपट्टिका छिमेकी दिदीले जे पकाए पनि एक डबका ल्याई दिन्छन्। मेरो घरमा जे पाक्यो पहिल्यै नै ती दिदीलाई बटुकामा पाकेका कुरा हालेर पुऱ्याइदिने गर्छु। कहिले मेरो घरमा दाल नपाक्दा उताबाट एक डबका दाल आइपुग्छ। उनको घरमा सब्जी नपाक्दा तुरुन्तै मेरो घरबाट उनको घरमा सब्जी पुगिहाल्छ।
साह्रै मिल्ने दिदी। उनलाई म तारा दि भनी बोलाउँछु भनी उनी मलाई नगु बैनी भनेर बोलाउँछिन्। तारा दिदीका पतिलाई म भेना भन्छु भनी भेना पनि मलाई शाली भनेर बोलाउने गर्छन्।
तारा दिदी मेरो वल्लोपट्टि सरेकी पनि पन्ध्र बीस दिन बित्यो। नेताहरूका व्यवहारमा परिवर्तन आए झैं दिदीको एटिट्यूडमा पनि अचानक परिवर्तन देखा पर्न थाल्यो। दिदी साँझ साँझ तिर आएर भनिन्, नगु बहिनी...आज तिमीहरूले खाना नबनाउनु है।
मैले सोधेँ, किन दि?
सुपारीको कुटका टोक्दै दिदी बोलिन्, होइन आज तिम्रा भेनाले मोमोको प्रोग्राम गरेका छन्। अनि तिमीहरूलाई पनि यतै खानु बोलाउनु भनेर भन्नु आएकी। तारा दिको कुरा मैले स्वीकारेँ। दिदीले सामान्य मैदा लिएर बहिनी अहिले एक क्षणमा काम सघाउन आऊ ल भनीवरी गइन्। म र मेरा श्रीमान दिदी भेनाको घरमा पुग्यौं। यस्तै साँझको ६ बजेपछि मोमो बनाउने कार्यक्रम धमाधम शुरु भयो। भेना मैदा गुन्नुमा व्यस्त। मेरा श्रीमान खसीको खुट्टा बनाउन व्यस्त। दिदी र म प्याज काट्न व्यस्त।
भेनाले भने, प्याज ता पुग्छ के त? यत्रो मोमोमा प्याज पुग्दैन जस्तो पो लाग्दैछ।
मलाई पनि प्याज नपुग्ला जस्तो नै लाग्यो। मुख छिटो, भनेँ, हो..हो..भेनाजीले ठिकै भन्नुभो। मलाई पनि प्याज पुग्दैन जस्तो लाग्दैछ है।
दिदीले त्यति नै बेला भित्र कोठामा भिडियो गेम खेलिरहेको छोरोलाई बोलाइन्, नरेश...नरेश...।
नरेश रिसाउँदै आयो। दिदीले भनिन्, नानी हेर न यत्रो मोमोमा प्याज नपुग्ने रहेछ। जा ता काकालाई (मेरो श्रीमानलाई ईङ्गित गर्दै) सय रुपियाँ मागेर रामलखन भैयाको दोकानबाट प्याज लिएर आइज। छिटो आइज अनि यहाँ सुन्...जति पैसा उब्रिन्छ मलाई सुपारी ल्याइदे अनि अरु पैसा तँ के खान्छस् खा।
नरेश आमाको आदेश सुनी गीत गुनगुनाउँदै दोकान तर्फ लाग्यो। मेरा श्रीमानले मलाई पुलुक्क हेरे...मैले उनलाई।
मोमो बनाउने काम धमाधम चलिरहेछ। भेनाज्यू बोले, औ तारा...यो मोमोले पुग्ला जस्तो छैन है। मासु पनि । मोमोमा गतिलो मासु खान पाएन भने मोमो खाएको र सब्जीको मोमो खाएको बराबरै हुन्छ।
तारा दि बोलिन्- के अऩ्त अझै मैदा र मासु थप्नु?
भेना बोले, अफ कोर्स।
दिदीले भनिन् मेरै श्रीमानलाई, भाइ पाँच सय रुपियाँ दिनोस् न...मेरोमा हजार हजारको नोट मात्रै छ। दोकानदारले खुदरा नदेलान् नि। मेरा श्रीमान अत्यन्तै सोझा व्यक्ति। उनले पनि हत्त न पत्त वालेटबाट पाँच सयको नोट दिए।
बेलुकी नौ बजेतिर सबै खान बसेँ। दिदीका छोरा, छोरी र हामी। शुरु भयो मोमो ग्रहण यात्रा।
दिदीले भनिन्- अब डाइजेष्टको निम्ति पान खानुपर्ला...।
भेना बोले- खै भाइ पाँच सय रुपियाँ दिनुपऱ्यो। पान सिग्रेट लिएर आउँछु। सोझो श्रीमानको खल्तीबाट अरु पाँच सयको नोट निस्कियो।
पैसा लिएर भेना बाहिर निस्किने बितिकै दिदी कराइन्, औ नरेश बाबा.....एक बोतल कोल्ड ड्रिङ्क्स पनि लिएर आऊ है। नरेश करायो, काका,,,मलाई स्पाराइट। छोरीको डिमाण्ड कोक। दिदीका जम्मै सन्तानले प्वाक्कै प्वाक्कै मोमो खाएका देख्दा मेरा श्रीमानको नोट चबाएको जस्तो लाग्यो।
पन्ध् बीस दिनपछि तारा दि एका बिहानै आएर भनिन्, नगु बहिनी भेनाज्यूको अचानक दार्जिलिङ जाने काम पऱ्यो। हेर न...हिजो मोजा धोएर सुकाएको कहाँ परेछ...परेछ। भाइको मोजा देऊ न...भेनाज्यू आएपछि धोएर फर्काइदिन्छु। छिमेकी हुन्। वैर गर्नुभएन। भर्खरै किनेको नयाँ मोजा दिदीलाई दिई पठाएँ। तर त्यो मोजा चरालाई ढुङ्गा हानेजस्तो भएको छ।
पछि पछि त मेरो छिमेकीले मेरो घर नै अतिक्रमण गरिसक्यो। मुख धुने साबुन, हेयर ओयल, लिपस्टिक, फ्रेस वास, काइँयो, लिपस्टिक सबै ढुक्कैले चलाउन थालेकी छन्। के भन्नु? केही भन्न सक्दिनँ म।
कहिले छोरी सकिला आएर भन्छे, काकी नरिसाईकन दुइटा प्याज दिनुहोस् अरे। कहिले नरिसाई कन सानो टुक्रा दिनुहोस् अरे आमाले। भरै बजारबाट ल्याएर दिन्छिन् अरे। कहिले एक डबका चिनी, कहिले अलिकति दूध, कहिले लसुन। नरिसाईकन भनेपछि सब स्वाहा। छिमेकी तारा दि पल्लोपट्टि भाड़ाको घरमा आएर बसेकी पनि ६ महिना बितिसक्यो। तर आजसम्म नरिसाईकन अनि आमा भरै बजार गएर ल्याई दिन्छिन् अरे भन्दै मेरै घरबाट मागेर लाने बानी कहिले सकेको छैन। यो नरिसाईकन, भरै बजारबाट ल्याएर दिन्छिन् भन्ने रिसैउठ्दो डायलग कहिले समाप्त भएको देखिनँ।
तपाईको छिमेकी कस्ता छन् सो म भन्न सक्तिनँ। मेरा छिमेकी यस्ता छन्। मेरा छिमेकीलाई शुरु शुरुमा मेरै मुटुको धुकधुकी लागेको थियो तर अहिले उनको अर्काको मात्रै लुट्ने आदत देखेर भालुकै कऩ्पट लाग्न थालेको छ। नबुझी आन्द्रा गाँसिहालेँ। अब यो आन्द्रा छुट्याउन मलाई गाह्रो परिरहेछ। जे होस् मलाई त मेरो छिमेकीले उठीवास लाउन आँटीसक्यो तर तपाईका छिमेकीले सायद त्यसो नगर्दा हुन्।
तरै पनि लाखेस्....तपाईको घर वल्लोपट्टि पल्लोपट्टिका छिमेकीसित जोगिएर बसेको उत्तम। किनभने मलाई खाने बाघले तपाईँलाई पनि खाँदैन भन्न सकिन्न।
मेरो छिमेकी मेरो निम्ति काउसो नै भएको छ।
जलपाईगुड़ी (भारत)