16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ वर्ष

कविता विमला जोशी प्रधान January 12, 2023, 10:00 am
विमला जोशी प्रधान
विमला जोशी प्रधान

नयाँ वर्ष!
तिमी आउँदा एकताको सन्देश लिएर आऊ,
विगतका वर्षहरुमा जस्तो
अशान्ति र आँशुको बाढी लिएर होइन
शान्ती र खुशीको झोला बोकेर आऊ।
तिमी आउँदा गगनचुम्बी महलहरुमा बास बस्दै होइन ,
गरिब - दुःखीहरु जो सँधै
तप्केनी थापेर , मन काँपेर , अनि पसिना पिएर बाँचेका छन्
उनीहरुकै झोपडी हुँदै गल्छेडीँको बाटो भएर आउनु।
नयाँ वर्ष!
तिमी आउँदा तिम्रो न्यानो उपस्थितिले न्यास्रो अनुहार
र रोगी आङहरुमा सन्चो सुविस्ताको तातो घाम लिएर आउनु ,
जनमानसको बार्दलीमा तिमी देवराली भएर उभिनु ,
गाउँ- घर, नाता - गोता , शाखा - सन्तानहरुमा घटाउ र भागहरुका भावना नहोस,
शान्तीको भाले बासोस गाउँ घरका आँगनहरुमा , मेल मिलापका लिङ्गे पिङग मच्चिरहोस।
नयाँ वर्ष !
तिमी आउँदा मरुभूमीलाई पनि हरियाली ल्याइदिएर आउनु
त्यति मात्रै होइन नयाँ वर्ष!
दानवरुपी नरसंहारका जनयुद्ध समाप्त गर्न,
देवी बनेर सुदर्शन चक्र लिएर आउनु ,
यो मानवताको सिमा नाघेको बेला ,
बिद्रोह र बिषमताले सिमा नाघेको बेला ,
बम बारुदको बिरुद्धमा
अमृतको सर्वत घोल्दै आऊ।
यसरी!
तिमी आउँदा
मलाई आशा छ , अब दोहोरिने छैन ती बिकराल दिनहरु
तिमीले बिर्साउने छौ ,
अतितका ती काला दिनहरु र मित्रताहरुलाई उभ्याउने छौ ,
नेपाली हुँ भन्ने गौरवको पक्तिंहरुमा , दीनहीन गरिबहरुलाई र अशक्त ती लुलाहरुलाई।
त्यसैले त नयाँ वर्ष !
तिमी आउँदा सृजनाको मूल र प्रतिभाको बिऊ लिएर आउनु ,
यही नै मेरो तिमीलाई लाखौं लाख शुभकामना।।

नागरी फार्म चियाबारी, दार्जिलिङ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।