17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नरबहादुर दाहालको साहित्यालोचनाः परिचयात्मक अनुशीलन

कृति/समीक्षा डा. राजकुमार छेत्री January 12, 2023, 10:05 am

साहित्यालोचक नरबहादुर दाहालः एक परिचयन-
भारतीय नेपाली साहित्य क्षेत्रमा नरबहादुर दाहाल एकजना अथक साहित्य सेवक तथा विशिष्ट व्यक्तित्वका रूपमा प्रतिष्ठित छन्। भारत र नेपालका समसामयिक विभिन्न साहित्यिक पत्र-पत्रिकाहरूमा हालसम्म पनि उनका समालोचनात्मक लेखहरू निरन्तर रूपमा प्रकाशनमा भएको देखिन्छ। श्री दाहाल साहित्य क्षेत्रमा विशेषगरी कथाकार, उपन्यासकार, कवि-गीतकार, लेख-निबन्ध लेखक, जीवनीलेखक, साहित्यिक पत्रकार-सम्पादक, बालसाहित्य लेखक तथा साहित्यालोचकका रूपमा सदा परिचित छन्। चौरासी वर्षको उमेरमा पनि अत्यन्त फूर्तिला र सुकिला तथा विनयी स्वभाव र तीक्ष्ण स्मरण शक्ति भएका अशेष अनुभवका भण्डार उनलाई जिउँदो इन्साइक्लोपिडिया हुन् भन्दा केही अत्युक्ति हुने छैन। कालेबुङको प्रतिष्ठित विद्यालय एसयुएमआईका छात्र छँदा तेह्र वर्षको उमेरमै आग्रही नामक हस्तलिखित पत्रिकामा प्रथमपल्ट उनको कविता छापियो तर त्यस कविताको शीर्षक समेत उनलाई अहिले सम्झना छैन। त्यसैले पनि उक्त कवितालाई आफ्नो पहिलो प्रकाशित रचनाको रूपमा मानेका छैनन्। सन् १९५० तिर लैनसिंह बाङदेलको सम्पादनमा कलकत्ताबाट प्रकाशित हुने प्रभात पत्रिकामा स्मरण शीर्षक गद्य कविता छापिएपछि भने दाहालको सिर्जनात्मक साहित्यलेखन यात्रा आरम्भ भएको बुझिन्छ। यस अघि पनि उनका कतिपय रचनाहरू वरदान छद्मनाउँमा छापिएको भए पनि ती रचनाहरूलाई पनि उनले मान्यता दिएका छैनन्।
साहित्य सर्जक नरबहादुर दाहाललाई उन्माद (सन् १९५८) र तिम्रो प्रीत नै मेरो गीत (सन् १९७०) शीर्षक यी दुई कविता कृतिको प्रकाशनले उनलाई कविको रूपमा परिचित गरायो भने वरपीपल (सन् १९६०) र मध्यरातको तारा (सन् १९६४)- दुई आख्यान कृतिले दाहाललाई कथाकार र उपन्यासकारका रूपमा उभ्यायो। नरेन्द्रप्रसाद कुमाई (सन् २०००), गंगाप्रसाद प्रधान (सन् २०११ ) र गोर्खा महानायक डम्बरसिंह गुरूङ (सन् २०१५) शिरोनामित तीनवटा जीवनीपरक कृतिहरूले उनलाई एकजना सफल जीवनीलेखक र जीवनीपरक समालोचकका रूपमा चिनायो भने अमर कथा (कथासङ्कलन, सन् १९६२), सिक्किम प्रसंग (लेख, सन् १९६८), सेलको माला (हास्य-व्यङ्ग्य कवितासङ्ग्रह, सन् १९६६), अजम्बरी गंगाप्रसाद प्रधान (लेखसङ्ग्रह, सन् २०१५) आदि जस्ता सम्पादित कृतिहरूले उनलाई योग्य सम्पादक पनि बनायो। यसका अतिरिक्त अरूणोदय (सन् १९४९), उद्‍गम (सन् १९५०), गोर्खा (सन् १९६२), प्रतिनिधि (सन् १९७५), सङ्गम (सन् १९७४), सँधै गौरव राख्नेछौँ गोर्खाको (सन् १९६०) लगायत उनले अन्य एक दर्जन जति स्मारिकाहरूको सम्पादन कार्यमा पनि विशेष सहयोग पुर्‍याएका छन्।
नेपाली भाषा-साहित्य र समाज उत्थानका निमित्त उनको अनवरत् योगदानको कदर गर्दै कालेबुङले पारसमणि पुरस्कार (सन् २००२), गान्तोकले आशारानी निर्माण पुरस्कार (सन् २००२), गौहाटीले पद्मप्रसाद ढुङ्गाना पुरस्कार (सन् २००३), काशीले मदन स्मारक व्याख्यानमाला पुरस्कार (सन् २०१०), बाग्राकोटले बद्रीनारायण प्रधान स्मृति पुरस्कार (सन् २०१४), काठमाडौँले नई देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार (सन् २०१४), दार्जीलिङले अगमसिंह गिरी पुरस्कार (सन् २०१४), काठमाडौँले मोती प्रतिभा पुरस्कार (सन् २०१५), र योगी नरहरिनाथ अन्तर्राष्ट्रिय पुरस्कार(सन् २०१५), दार्जीलिङले रामचन्द्र गिरी स्मृति पुरस्कार (सन् २०१८), खरसाङले चन्द्रिका पुरस्कार(सन् २०२०) आदि जस्ता विविध साहित्यिक पुरस्कारहरूले अलङ्कृत गरी सम्मान जनाएको छ।

नरबहादुर दाहालका केही समालोचनाः परिचयात्मक मूल्य-निरूपण
साहित्यालोचक नरबहादुर दाहालज्यूका भारत र नेपालबाट हालसम्म विभिन्न साहित्यिक पत्र-पत्रिकाहरूमा तीन दर्जन अधिक गहकिला समालोचनाहरू प्रकाशनमा आइसकेका र अद्यवधि प्रकाशनमा आइरहेका छन्। दाहालका फुटकर समालोचनाहरू सङ्कलन गरे दुई-तीनवटा गहकिला सङ्ग्रहहरू तयार हुन सक्ने देखिन्छ। अतःप्रस्तुत आलेखमा आजसम्म फुटकर रूपमा रहेका समालोचनहरूबाट यहाँ दुई दर्जन जति समालोचनात्मक लेखहरूबारे प्रवृत्तिगत विशेषताहरू अध्ययन-अनुशीलन गरी अत्यन्त सङ्क्षिप्त रूपमा मूल्य-निरूपण गर्ने धृष्टता गरिएको छ।
समालोचक नरबहादुर दाहालज्यूले नेपाली भाषा र साहित्य, साहित्य र पत्रकारिता तथा साहित्य र राजनीतितिर विशेष योगदान पुर्‍याएका विशिष्ट सर्जकहरूमा पाद्री गङ्गाप्रसाद प्रधान, जातीय उन्नयक कवि भानुभक्त आचार्य, कवि-समालोचक रामकृष्ण शर्मा, जातीय चिन्तक कवि अगमसिंह गिरी, साहित्यिक शिखर लक्ष्मीप्रसाद देवकोटा, साहित्यिक-राजनैतिक शिवकुमार राई, साहित्यिक पत्रकार काशीबहादुर श्रेष्ठ, शिक्षा र साहित्यका सेतु रामलाल अधिकारी, लेखन शैली शिरोमणि रूपनारायण सिंह तथा रसिला र विनोदी सर्जक अच्छाराई रसिकका साहित्यलेखनका विविध पक्षबारे विशद् विवेचना प्रस्तुत गरिएको छ। यसका साथै नेपाली गजल, भारतीय बाल साहित्य र नियात्रा साहित्य, भारतीय नेपाली कथा र साहित्येतिहास लेखन, दार्जीलिङ भेकको साहित्यिक परिदृश्य, चन्द्रिका पत्रिकाको विवादास्पद सन्दर्भ, नेपाली र उर्दू भाषाबीचको अन्तर्सम्बन्ध आदि विषयबारे पनि गहकिलो विश्लेषणसिहत यथोचित मूल्याङ्कन गरिएको पाइन्छ। यसका अतिरिक्त हाम्रो छिमेकी बङ्गला र असमी भाषा र साहित्य तथा शरतचन्द्रका साहित्यलेखनबारे धेरथोर अध्ययन- अनुशीलन गरिएको भेटिन्छ।
रामलाल अधिकारीका कविताहरूको भावभूमि- शीर्षक लेखमा समालोचक नरबहादुर दाहालले पहिले कवि र केहीपछिबाट निबन्धकार बनेका रामलाल अधिकारी दीपक पत्रिकामा सन् १९५९ तिर लेडेनला रोडनेर शीर्षक कविता छपाएपछि साहित्यलेखन यात्रामा अथक र अनवरत् रूपमा लागिपरेको सन्दर्भ उल्लेख गरिएको छ। चियाबारी जनजीवनको मर्म-वेदना, भत्कोस् र सन्त्रासमय वातावरण नै कवि अधिकारीका काव्यिक भावभूमि रहेको कुरो दाहालले आफ्नो अनुशीलनमा प्रकाश पारेका छन्। कवि अधिकारीको काव्यिक पृष्ठभूमि निर्क्यौल गर्दै संक्षेपमा लेख्छन्- अधिकारीका कविताहरू इन्द्रेणी झैं विविध रङ्गका छन्। अतः प्रस्तुत लेखमा आजसम्म कवि रामलाल अधिकारीको काव्यप्रवृत्ति तथा काव्ययात्राको समूचित अध्ययन-अनुशीलन तथा प्राज्ञिक तहमा मूल्याङ्कन हुन नसकेको कुरो अघि सारेका छन्।
कवि गिरीको जातीय चेतनाका दुई कविता- यस लेखमा समालोचक श्री दाहालले कवि गिरी उमेरले आफूभन्दा दस वर्ष ठूला भए पनि दुवैमा प्रगाढ मित्रता रहेको साथै साहित्य लेखन, साहित्यिक र राजनैतिक गतिविधिमा समेत एकसाथ मिलेर काम गरेको कुरो उल्लेख गरेका छन्। संस्मरणात्मक शैलीमा लेखिएको यस आलेखमा जीवन छद्मनाममा कवि गिरीरचित अस्तित्वको होली र शिव-स्तुति शीर्षक दुईवटा कविताको विशेष सन्दर्भसहित चर्चा गरिएको छ। त्यसताक पारसमणि प्रधान सम्पादित भारती पत्रिकामा कवि तुलसी अपतनले साहित्यिक होली कविता कविता लेखेर त्यस समयको साहित्यिक गतिविधिबारे सविस्तार प्रकाश पारेका थिए भने कवि गिरीले अस्तित्वको होली शीर्षक कवितामा तत्कालिन दार्जीलिङको राजनैतिक र वैचारिक चेतनाबारे प्रकाश पारेका थिए। व्यङ्ग्यात्मक शैलीमा लेखिएको शिव-स्तुति कवितामा त्यसताकका गोर्खालिगबाट टिकट र समर्थन पाएर पश्चिम बङ्गाल विधानसभामा पहिले एम. एल. ए. र पछिबाट उप-श्रममन्त्रीसम्म बन्न पुगेका शिवकुमार राईले गोर्खालिगका शीर्ष नेता र जनभावनाको उपेक्षा र अनादर गरी पार्टीको सिद्धान्त विपरित काम गर्न थालेपछि उनलाई गोर्खालिगबाट निष्कासन गरिएको सन्दर्भमा व्यङ्ग्यप्रहार गर्दै यो कविता रचिएको कुरो उल्लेख गरेका छन्।
नेपाली भाषामा बङ्गला साहित्य- यस लेखमा हाम्रो नेपाली साहित्यमा संस्कृत, रसियन, अङ्ग्रेजी, हिन्दी, बङ्गला साहित्यका धेरैवटा कालजयी र लोकप्रसिद्ध साहित्यिक कृतिहरू विभिन्न समय र विभिन्न अनुवादकहरूबाट अनुदित भई नेपाली पाठक-समाजका निम्ति प्रकाशनमा आएका छन्। साहित्यालोचक दाहालज्यूले सन् १९१८ मा खरसाङबाट पारसमणि प्रधानको सम्पादनमा प्रकाशित चन्द्रिकाको कला-१, वर्ष-२-मा जूनकिरी शीर्षक निबन्ध प्रकाशित भएको छ। निबन्धको अनुवादकको नाममा मनुष्यखद्योत भन्ने छद्मनाम दिइएकोले यस निबन्धलाई धेरैले शम्भुप्रसाद ढुङ्ग्यालको निबन्ध ठानेका थिए। सयपत्री-को भूमिकामा यसका सम्पादक डा.ईश्वर बरालले महेन्द्रमल्ली र जूनकिरी यी दुई निबन्धलाई नेपाली साहित्यका सर्वथा मौलिक निबन्ध भनेर सगर्व स्थापन र मूल्याङ्कन गरेका छन्। समालोचक डा. बरालको उक्त किसिमको मूल्याङ्कनले विवाद सृष्टि गरेको देखिन्छ। वास्तवमा जूनकिरी शीर्षक निबन्ध मौलिक नभई अनुदित निबन्ध हो र कतैतिर यस निबन्धको अनुवादकको रूपमा पारसमणि प्रधानले आफैलाई पनि दावी गरेका छन्। वास्तवमा यस निबन्धको निबन्धकार बंकिमचन्द्र रहेको कुरो यस लेखमा दाहालले स्पष्ट पारेका छन्।
नेपालीमा गजल सम्बन्धी मनमा लागेका केही कुरा- यस आलेखमा विशेषगरी नेपाली साहित्यमा गजलका पिताका रूपमा चिनिने मोतिराम भट्टले नेपाली गजल लेखन परम्परामा पुर्‍याइ आएको योगदानबारे चर्चा गर्दै उनले डोर्‍याएको गोरेटोमा पछिबाट शम्भुप्रसाद ढुङ्गेल, उपेन्द्रबहादुर जिगर, भीमनिधि तिवारी आदिको सक्रिय सहभागिता रहेको कुरो उल्लेख गरिएको छ। यस सम्बन्धमा साहित्यालोचक दाहाल लेख्छन्- मोतिराम भट्टले गजल लेख्दा यसलाई उर्दूको प्रभावदेखि मुक्त राखी नेपाली रङ्ग भर्ने यथेष्ट प्रयास गरेका छन्। भट्टलाई उर्दूको राम्रो जानकारी भएकोले उनले लेखेका सबै गजलहरू नियमपूर्वक नै लेखिएको पाइन्छ। उर्दू गजलहरूमा पाइने काफिया, रदीफ, तखल्लुस इत्यादिको विधिवत् प्रयोग उनले नेपाली गजलहरूमा पनि गरेका छन्।
भारतीय परिवेशमा देवकोटाका काव्य- महाकवि देवकोटाका काव्यलेखनमा विभिन्न काव्यगत प्रवृत्ति र विशेषताहरू पाइएको कुरो आजसम्मको देवकोटा साहित्यको अध्ययनमा लागेका विद्वान अध्येताहरूले केलाएको-जिलाएको भएपनि उनको काव्यमा पाइने भारतीय परिवेश प्रसङ्गलाई सप्रमाण यसमा प्रस्तुत गरेका छन्। देवकोटाको शाकुन्तल, सुलोचना, पृथ्वीराज चौहान, महाराणा प्रताप तथा मुनामदन जस्ता काव्यमा भारतीय परिवेशको चित्रण, भारतको महिमा र गरिमाको वर्णन गरिएको कुरो यस आलेखमा सविस्तार चर्चा गरेका छन्। यस सन्दर्भमा समालोचक दाहालज्यूले साँच्चै गम्भीर र मननयोग्य टिप्पणीसहित सुझाउ राखेका छन्-...भारतमा रविन्द्रनाथ र प्रेमचन्दको जन्म जयन्ती मनाउँदामा जति सार्थकता छ त्यति नै सार्थकता यहाँ देवकोटा जयन्ती मनाउँदा पनि हुन्छ। देवकोटाका यस्ता भारत प्रेमका अरू पनि अनेकौं उदाहरणहरू पाइन्छन्। यसैले देवकोटाले जसरी भारतलाई सम्झेका थिए त्यसरी नै देवकोटालाई पनि आफ्ना कवि भन्दा भिन्न सम्झनु हुँदैन। प्रथमतः कुनै पनि कविहरूको आफ्नो सीमित क्षेत्र हुँदैन, उनीहरू विश्वनागरिक हुन्छन्। अझ देवकोटा त भारतको धरतीलाईमाया गर्ने, यही आकाशको कविता लेख्ने, यहीको माटो महिमा गाउने-कसरी विदेशी हुन् सक्छन्। यसैले पछि आउने हाम्रा सन्ततिहरूमा पनि म चाहन्छु-हिमालयले प्रेरणा दिएर गंगा र बह्मपुत्रले आस्था जगाएर, विश्वनाथ र सोमनाथले गौरवान्वित बनाएर भारतको महिमा र प्रशस्ति गाउन हाम्रो भाषामा देवकोटा जस्ता अरू पनि अनेकौं कविहरू जन्मिउन्।
भानुभक्त र समकालीन भारतीय कविहरू- भानुभक्त र उनका समकालीन भारतीय कविहरूको कृतिगत प्रसङ्गमा विशेषगरी रामायाणको अनुवाद कार्यलाई चर्चाको पृष्ठभूमिमा राखिएको छ। भारतीय भाषाहरूमा रामायण अनुवाद गर्ने परम्परामा कम्बनले तमिल, भाष्करले तेलुगु, कुमार बाल्मीकिले कन्नड, एडुतच्छनले मलालयम, कृतिवासले बङ्गला, बलरामदासले उडिया, महाप्रभु शङ्करदेवले असमी भाषामा रामायाणको अनुवाद कार्य सम्पन्न गरेका छन्। भारतीय जन-जीवनमा रामायाणको लोकप्रियता सर्वाधिक पाइएको भए पनि अनुवादकहरूमध्ये कतिले अध्यात्म रामायाण र कतिले भने बाल्मिकीय रामायणलाई आधारस्रोत बनाएका छन्। यसका अतिरिक्त रामायाणको कथानकलाई आधारस्रोत बनाई हिन्दीमा रामचरितमानस् जस्तो मौलिक काव्य-सिर्जना भए जस्तै नेपाली साहित्यमा पनि लेखनाथ पौड्यालको मेरो राम, तुलसीप्रसाद ढुङ्गेलको नेपाली सङ्गीतमय रामायाण, ऋषिभक्त उपाध्यायको रामकीर्ति वर्णन, पद्मप्रसाद ढुङ्गानाको रामायण सप्तरत्न र सोमनाथको आदर्श राघव यसै परम्परालाई अवलम्बन गर्दै सिर्जना गरिएका उच्च कोटीका काव्यरचनाहरू हुन् भनी विमर्श गरिएको छ।
भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास- शीर्षक समालोचनात्मक लेखमा डा. गोमा अधिकारीले हिन्दी भाषामा लेखको विद्यावारिधी शोधप्रबन्धलाई केही संशोधन र परिमार्जनका गरी नेपाली भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएकी हुन्। अनुसन्धानमूलक भनिएको यस शोध-ग्रन्थमा धेरै जना अग्रज स्वनामधन्य साहित्यकारहरूको समेत योगदानको यथोचित मूल्याङ्कनको त कुरा निकै टाड़ाको भयो नामसमेत उल्लेख नभएको तथा दिइएका तथ्यहरू पनि धेरै भ्रान्तिपूर्ण, कुनै तथ्य अपूर्ण रहेको कुरो प्रमाणसहित इंगित गरेका छन्।
बीसौं शताब्दीको नेपाली बाल साहित्य- यस लेखमा बालसाहित्यको वर्तमान स्थिति र स्वरूप, बालसाहित्य लेखनको औचित्य र महत्वबारे प्रकाश पारिएको छ। बालसाहित्यको सम्वर्द्धन र विकासको क्षेत्रमा विशेषगरी भारततिरबाट पारसमणि प्रधान, बाबुलाल प्रधान, लैनसिंह योञ्जन, देवकुमारी सिंह (थापा), खिरोदा खड्का, कृष्णप्रसाद ज्ञवाली, गीता उपाध्याय, मुन्नी सापकोटा आदिको सक्रिय सहभागिता रहेको देखिन्छ। यसका साथै सुनकेशरी प्रधान सम्पादित शिक्षा, देवकुमारी सिंहको सम्पादनमा हिमाल किशोर, खिरोदा खड्काको सम्पादनमा बाल बघैँचा, कविता लामाको सम्पादनमा नव पल्लव आदि जस्ता बाल-साहित्यमूलक पत्र-पत्रिकाहरूको प्रकाशनले बाल साहित्यको सम्वर्द्घन र विकासमा यथेष्ट योगदान पुर्‍याएको देखिन्छ। यस सन्दर्भमा दाहालज्यू लेख्छन्- अन्य भारतीय साहित्यको परम्परामा रामायाण र महाभारतका केही रोचक प्रसङ्गहरूको नेपालीमा पनि पुनर्लेखन भएको छ, जसले शिशुहरूको हृदयमा धार्मिक विचारहरूको प्रादुर्भाव भई निर्मल चरित्र निर्माणमा सहयोग पुर्‍याउँछ। यस्ता शिशुहरू चरित्रवान्, दयालु र परोपकारी हुन्छन्।
दार्जीलिङ-सिक्किममा काशीबहादुरको साहित्यिक देन- यस आलेखमा दाहालज्यू नेपाली समाजमा अझ विशेषगरी धार्मिक-आध्यात्मिक, शैक्षिक र साहित्यिक पृष्ठभूमिको निमार्णमा काशी अर्थात् वाराणसीले पुर्‍याएको प्रभाव र योगदानबारे सविस्तार चर्चा गरेका छन्। काशीबाट प्रकाशित गोर्खा भारत् जीवन, सुन्दरी, माधवी, चन्द्र, गोर्खाली, उदय प्रभृति साहित्यिक पत्र-पत्रिकाले देश र देशबाहिरका विद्या र साहित्यानुरागीहरूलाई यथोचित प्रेरणा-प्रोत्साहन र सहयोग पुर्‍याएको प्रसङ्ग यसमा विशेष उल्लेख गरिएको छ। उदय पत्रिकामा सिक्किमका कवि सन्तवीर लिम्बुले भताभुङ्गे थापा र काशीबहादुर श्रेष्ठले जनैबिनाको बाहुन छद्मनाममा धेरैवटा व्यङ्ग्यप्रधान कविता र लेखहरू प्रकाशित गरेको पनि उल्लेख गरेका छन्। यस प्रसङ्गमा दाहाल यस प्रकार मन्तव्य पोख्छन्- काशीबहादुर श्रेष्ठ उदयका पर्याय थिए। यसैले दार्जीलिङ र सिक्किममा उदयले जुन साहित्यिक उत्कर्षको सृजना गर्‍यो त्यो काशीबहादुर श्रेष्ठको एकनिष्ठ परिश्रमको फल थियो। उदयको प्रकाशनपछि दार्जीलिङ, सिक्किम र वाराणासी बीच नेपाली साहित्यमा एउटा नौलो युगको सूत्रपात पनि भयो।
भारतमा नेपाली नियात्राको एक सयवर्ष- साहित्य अकादमी, नयाँ दिल्ली र नेपाली साहित्य सम्मेलन, दार्जीलिङको संयुक्त तत्त्वाधानमा आयोजित भारतमा नेपाली साहित्य लेखनको एक सयवर्ष विषयक साहित्य सङ्गोष्ठीमा प्रमुख अतिथिको रूपमा प्रस्तुत गरिएको सम्भाषण भए पनि यो कुनै कार्यपत्र भन्दा कम छैन। यस पत्रको तयारीमा दाहालज्यूले निकै मेहनतका साथ समय खर्चिनु भएको कुरो स्पष्ट छ। यात्रा र नियात्राबारे बालकृष्ण पोखरेलको मन्तव्यदेखि लिएर तारानाथ शर्माको बेलायततिर बरालिँदा नियात्रासङ्ग्रहको प्रसङ्ग उल्लेख छ। यात्रा सामान्य वर्णनमा मात्र सीमित हुन्छ र यो सामान्य किसिमको यात्रावृतान्त मात्र हो। नियात्रामा भने यात्राकारको हार्दिक अनुभव र अनुभूतिसहित ठाउँ विशेषको चित्रात्मक र मनमोहक भाषामा रोचक प्रस्तुति दिइने हुनाले यो कलात्मक तथा यात्रावृतान्तको विम्बीकरण हुन् अनिवार्य ठहरिन्छ। पहिलो यात्रावृतान्तका रूपमा राजा गगनीराजको यात्रालाई मानिएको भने भारतमा नेपाली यात्रासाहित्यको प्रारम्भविन्दु शेरसिंह राना मगरको मेरो लंदन राजतिलक यात्रा (सन् १९१३)-लाई मानिएको छ। यात्रासाहित्यको सन्दर्भमा शेरसिंह राना मगरलिखित उक्त कृतिदेखि लिएर लैनसिंह बाङ्देल, पारसमणि प्रधान, दिलबहादुर नेवार, शान्ति छेत्री, सलोन कार्थक, सानु लामा, कुमार घिसिङ, गीता उपाध्याय, एम.बी. प्रधान, जय नारायण लुइँटेल, देवेन सापकोटा प्रभृति लेखकहरूले यात्रासाहित्यलाई ठूलो ठेवा पुर्‍याएको देखिन्छ।
समकालीन भारतीय नेपाली कथा-साहित्य शीर्षक समालोचनात्मक लेखमा दाहालज्यूले भारतमा लेखिएका समकालीन नेपाली कथाको प्रवृत्तिगत अध्ययन-अनुशीलन संक्षेपमा प्रस्तुत गरेका छन्। आधुनिक भारतीय नेपाली कथालेखनको विकासयात्रामा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित र नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट प्रकाशित कथा-कुसुम साथै गोर्खे खबर कागत्, चन्द्रिका, गोर्खा संसार, खोजी, भारती, हाम्रो कथा, गोर्खा, उदय, प्रभात, उत्थान, साथी, अञ्जली, कथामञ्च, अस्तित्व (पछिबाट हाम्रो अस्तित्व), दियालो प्रभृति साहित्यिक पत्र-पत्रिकाहरूको प्रकाशनले आधुनिक नेपाली कथाको विकासप्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याएको कुरो सविस्तार विमर्श गरेका छन्।
शिवकुमार राईको राजनैतिक व्यक्तित्व- प्रस्तुत लेख शिवकुमार राईको शतवार्षिकी जन्मजयन्ती समारोह (सन् १९१९-२०१९)-को विशेष अवसरमा तयार पारिएको हो। अखिल भारतीय गोर्खालिगको स्थापनामा बाबु डम्बरसिंह गुरूङका साथै रणधीर सुब्बा, रामकृष्ण शर्मा, रूपनारायण सिंह, टीकाराम शर्मा, टी. मनेन प्रभृति राजनैतिक व्यक्तित्वहरूको सानिध्यमा रही शिवकुमार राई राजनैतिक यात्रामा अत्यन्त सक्रिय सहभागी बनेको कुरो यस लेखमा सविस्तार प्रकाश पारिएको छ। पाद्री गङ्गाप्रसाद प्रधानको जनमुखी भाषा- शिरोनामित लेखमा पाद्री गङ्गाप्रसाद प्रधानले भारतमा नेपाली भाषा-साहित्यलेखन तथा नेपाली पत्र-पत्रिकाको प्रारम्भिक विकासमा पुर्‍याएको अथक योगदानको मूल्याङ्कन गरिएको छ। प्रारम्भिक समयमा नेपाली भाषामा यति धेरै काम गर्ने गङ्गाप्रसाद प्रधानको योगदानको यथोचित मूल्याङ्कन एकसय वर्षपछि मात्र सम्भव हुन सकेको प्रसङ्गलाई सविस्तार चर्चा गरेका छन्।
भारतीय नेपाली साहित्यःइतिहास लेखनका केही आधारहरू- यस आलेखमा भारतीय नेपाली साहित्यलेखनका केही आधारभूत प्रसङ्गहरूबारे गहकिलो विमर्श गरिएको छ। नेपालबाट प्रकाशनमा आएका धेरैजसो साहित्यको इतिहासमा भारतीय नेपाली साहित्यबारे धेरैवटा भूलभ्रान्ति तथा अपूर्ण तथ्यहरू लेखिएको पाइन्छ। साहित्येतिहास लेख्नेहरूले फिल्डवर्क गर्ने कष्ट नगरेकाले यस्तो भूल हुन गएको हो भन्ने ठहर गर्दै दाहालले सुझाउमूलक टिप्पणी यसरी गरेका छन्- नेपालले समग्रमा(भारतलाई पनि लिएर) नेपाली साहित्यको इतिहास लेख्दा आजसम्म इतिहासकारहरूले भारतबारे कतिपय भूल त्रुटिहरू गर्दै आएका छन्। उनीहरूले लेखेका कुराहरू कि अमर्यादित हुन्छन् कि अपूर्ण हुन्छन्। विशेष उनीहरूले दुई चार जना विशिष्ट लेखकहरूको नाम र उनीहरूको योगदान मात्र इतिहासमा उल्लेख गरेको पाइन्छ। यसको कारण हो उनीहरू नेपालमा बसेर सुनेका भरमा अथवा अरूले अघि लेखेका त्रुटिपूर्ण कुराहरू नै दोहार्‍याएर लेख्ने गर्छन्। उनीहरू शोध गर्ने, फिल्ड वर्क गर्ने कष्टसम्म गर्दैनन्। यस लेखलाई प्राज्ञिक तहमा गहन अध्ययन-अनुशीलन गर्न सहज र भरपर्दो बनाउन ईसाई मिसनेरीहरू र गंगाप्रसाद प्रधान, लहरी र सवाई, प्रथम नाटककार र उपन्यासकार, ओझेलमा परेका साहित्यकारहरू, भारतमा नेपाली सन्त कवि परम्परा, अवधारणा र काव्यिक प्रयोग, नियात्रा लेखन र पत्र-पत्रिकाको इतिहास, साहित्यिक संस्था-सङ्गठन, सरकारी संस्था संगठन, साहित्यको इतिहास र कोश निर्माण, राजनैतिक कारणले छुटेका साहित्यकारहरू, अभिनन्दन ग्रन्थ र स्मृतिग्रन्थ, भाषा र व्याकरण, नेपाली साहित्यमा सिक्किमको देन शीर्षकमा प्रस्तावको रूपमा वर्गीकरण गरी भारतीय नेपाली साहित्यलाई समग्रमा हेर्ने आधारहरू सुझाउस्वरूप प्रस्तुत गरेका छन्। साहित्यालोचक दाहालज्यूले काव्यिक अवधारणा र प्रयोगगत परिप्रेक्ष्यमा आयामिक लेखन र लीलालेखनपछि किनारीकरण, संक्रमण लेखन, कोलाज आन्दोलन, विचलन, हस्तक्षेपी र समावेशी लेखनस सिर्जनावृत्त, धमारी, युग्मक आदिको सन्दर्भ उल्लेख गर्दै यसप्रकार साहित्यमा उत्साही जमातद्वारा गरिएको प्रयासले भारतीय नेपाली साहित्यलाई अग्रगति दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरो सविस्तार विमर्श गरेका छन्।
रूपनारायण सिंहका उपन्यास र कथाका पात्रहरू- छोटो छरितो आकार ग्रहण गरेको यस लेखमा आख्यानकार सिंहका पात्र-चरित्रहरूबारे संक्षेपमा प्रकाश पारिएको छ। कथाकार सिंहका आमा, बितेका कुरा, मिस्टर एच.बी. ब्यास्नेट कथामा चित्रित अमर, कमरेड लालमणि, बाथरोगी स्कूल मास्टर तथा भ्रमर उपन्यासकी वीणा तथा इन्द्रशेखर आदि पात्रको वास्तविकताबारे धेरथोर प्रकाश पारिएको छ। यसलाई अझ पुष्टि दिन इन्द्रबहादुर राईको टिप्पणीलाई समेत उल्लेख गरेका छन्। यसका अतिरिक्त दार्जीलिङ कचहरीमा एकैसाथ काम गर्दा फूर्सदको समय साहित्य विषयमा चर्चा-परिचर्चा, विचार-विमर्श भइरहने गरेको, भ्रमर उपन्यासको अन्त गराई ठीक नभएको प्रतिक्रियात्मक टिप्पणी रामकृष्ण शर्माबाट पाएपछि वाकाईलाई लिएर रूपनारायण सिंहले अर्को एउटा नारी पात्र प्रधान उपन्यास बिजुली लेखेको तर पारसमणि प्रधान सम्पादित भारतीमा जम्मा चार अङ्कमा चार अध्याय मात्र छापिएर अरू अध्याय नछापिएको, बरू चार अध्यायको अन्त्यमा बिजुली अब भारतीमा नछापिएर पुस्तकाकारमा छापिँदैछ भनेर एउटा विज्ञापन छापिएको जानकारी गराइएको प्रसङ्ग उल्लेख छ। त्यसबेलासम्म रूपनारायण सिंह दिवङ्गत भइसकेकाले बिजुली उपन्यासको सम्पूर्ण भाग लेखिएको थियो कि छापिए जति मात्र सिंहले लेखेका थिए, यसबारे गहिरो अनुसन्धान हुन् बाँकी नै छ। बिजुली उपन्यासबारे नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने समकालीन साहित्यको अङ्क-१३ मा नरबहादुर दाहालज्यूको बिजुली साँच्चै हराइन्? तथा अङ्क-२३ मा डा. दिवाकर प्रधानको बिजुलीबारे शीर्षकका दुई समालोचनात्मक लेखहरूले बिजुली उपन्यास सम्बन्धमा धेरैवटा तथ्यहरू प्रकाशमा ल्याएको छ। तथापि यसबारे अझै खोज अनुसन्धान हुन बाँकी नै छ।
बङ्गला भाषा र साहित्य- खोज अनुसन्धानपूर्वक लेखिएको प्रस्तुत लेखमा बङ्गला भाषा र साहित्यको प्रारम्भिक कालदेखि आधुनिक कालसम्मको साहित्यिक गतिविधिबारे विस्तृत अनुशीलन गरिएको छ। प्रस्तुत लेखमा बङ्गला साहित्यको सबैभन्दा पहिलो पुस्तकको दृष्टान्त अभिनन्दरचित कृतिदेखि लिएर जयदेवको गीत-गोविन्दको पनि प्रसङ्ग उल्लेख गर्दै प्रारम्भिक विकासकालमा बङ्गला भाषाले मुसलमान दरवारमा प्रवेश गरिसकेपछि नासिर शाहद्वारा अनुदित महाभारतको पहिलो अनुवाद, त्यसपछि परागल खाँले कविन्द्र परमेश्वरबाट अनुवाद गराएको परागली महाभारतको प्रसङ्ग उल्लेख गरिएको छ। यस प्रसङ्गमा साहित्य अन्वेषक दाहाल लेख्छन्- बङ्गला साहित्यमा महाभारतका अनुवादहरू धेरै निस्के। विजय पण्डित र नित्यानन्द घोष पनि महाभारतका अनुवादक हुन् तर बङ्गला साहित्यमा सबैभन्दा बढ्ता ख्याति पायो काशीनाथ दासको महाभारतले। यसका साथै बङ्गला साहित्यमा गद्यको सबैभन्दा सुन्दर र शक्तिशाली रूप राजाराममोहन रायको लेखनीबाट भएको र उनकै अपराजेय परिश्रमले उन्नाइसौं शताब्दीमा बङ्गला साहित्यमा नवजागरणको मधुरिमा फैलिएको कुरो प्रकाश पारेका छन्। त्यसपछि संस्कृतमय बङ्गला गद्यलाई ईश्वचन्द्र विद्यासागर, प्यारीचन्द मित्र अनि अक्षयकुमार दत्तले सरल र सुन्दर रूप दिएको, बंकिमचन्द्र च्याटर्जीले आफ्नो आनन्दमठ र कपाल कुण्डला उपन्यासहरू लेखेर भारतीय राष्ट्रिय संग्राममा समेत महत्वपूर्ण योगदान पुर्‍याएका हुन्। यसका साथै आनन्दमठ उपन्यासमा रहेको वन्देमातरम्... शीर्षक गीतले भारतीय राष्ट्रिय संग्रामदेखि लिएर राष्ट्रिय गीतको रूपमा समेत सम्मान पाएको कुरो सविस्तार उल्लेख गरिएको छ।
नेपालीमा शरतचन्द्र- यसमा बङ्गला साहित्यका एक अथक लेखक शरतचन्द्र च्याटर्जीका साहित्यलेखनबारे धेरथोर प्रकाश पारिएको छ। शरतचन्द्रका साथसाथै प्रसङ्गवस् कविगुरु रविन्द्रनाथ ठाकुरको साहित्यिक लेखनसित तुलनात्मक विमर्श प्रस्तुत गरिएको छ। बङ्गला साहित्यसित अपरिचित वा अल्पपरिचित जो कोही नेपाली पाठकलाई शरतसाहित्य बुझ्नमा यस लेखले मनग्ये सहयोग पुर्‍याएको छ। शरतचन्द्र र रविन्द्रनाथ दुवै समकालीन लेखक हुन् तथापि दुवैको लेखनशैलीमा पार्थक्य पाइएको कुरो उल्लेख गर्दै शरत साहित्यमा पाइने प्रवृत्तिगत मुख्य मुख्य विशेषताहरूलाई यसप्रकार रेखाङ्कित गरिएको छ- शरतचन्द्रका उपन्यासहरूमा नारी पात्रहरूको चित्रण खुबै सजीवतासाथ भएको छ। उनका कृतिका विशेषताहरूमध्ये सबैभन्दा प्रमुख विशेषता नै यही मानिन्छ। नारीहरूमा भएको दर्प, स्वाभिमान, वात्सल्य, ममता, करूणा र अनुराग शरतचन्द्रका उपन्यासहरूमा प्रशस्त पाइन्छन्। चाहे ती देवदासकी पार्वती हुन् या शेषप्रश्नकी कमला वा चरित्रहीनकी सावित्री। नारी सुलभ कोमलताले तिनीहरूको हृदयमा चिरन्तन वास गरेको छ। शरतचन्द्रका नारीहरूको अर्को विशेषता के छ भने उपन्यासका एकजना पात्रामा अरूभन्दा बढ्ता स्वाभिमान पाइन्छ। दर्पले उनी जल्छिन् अनि जलेर खरानी हुन नपाउँदै नारीभित्रको अनुरागको कोमलताले पग्लेर उनलाई आत्मसमर्पण गर्न बाध्य गराउँछ। काशीनाथ-मा कमलाको, अँध्यारो उज्यालो-मा बिजुलीको अनि दर्पचूर्ण-मा इन्दिराको यस्तै रूप देखिन्छ।…
… शरतचन्द्रका उपन्यासभित्र बङ्गला जनजीवनको राम्ररी चित्रण भएको देखिन्छ। बङ्गला, संस्कृति, कला –संस्कारको मूर्त रूप पनि पाइन्छ। तर रक्सीले भ्रष्ट पारेको समाजको नग्न चित्रण नेपाली समाजको धेरै वर आउने कतिपय घटनाहरू पनि शरतचन्दका उपन्यासमा पाइन्छन्। शरतचन्द्रका उपन्यासमा पाइने सरल ग्रामीण नरनारीहरू पनि नेपाली समाजमा पाइन्छन् भने आधुनिक कलेज पढ्ने, अङ्ग्रेजी सभ्याताको हावा लागेका नरनारीहरू जो शरतका उपन्यासमा देखिन्छन्, यस्ताको पनि नेपाली संसारमा कमी छैन। यसैले जे जति शरतचन्द्रका उपन्यास नेपालीमा उपलब्ध छन्, सबै लोकप्रिय छन्।
असमी भाषा र साहित्य- प्रस्तुत लेखमा समालोचक दाहालले असम राज्यमा बोलिने भाषा, यसको स्रोत र लिपि आदिबारे चर्चा गर्दै असमी साहित्यको विकासक्रमबारे सविस्तार प्रकाश पारेका छन्। यस खोजपरक लेखको निम्ति असमी भाषाको उद्भव र विकासको भरपर्दो भाषावैज्ञानिक विश्लेषण वाणीकान्त काकतीको इवोल्यूसन् अफ् असमीज् नामक पुस्तकको आधार लिएको कुरो सगर्व उल्लेख गरेका छन्। उर्दू र नेपालीका साझा शब्दहरू- तुलनात्मक विधिमा लेखिएको यस भाषापरक लेखमा नेपाली साहित्यमा फारसी, अरबी र तुर्की मूलका उर्दू शब्दहरू प्रशस्त मात्रमा भेटिन्छन् भन्ने सन्दर्भमा सविस्तार सप्रमाण विवरण दिएका छन्। यसै क्रममा दार्जीलिङ तथा आसपासको साहित्यिक जागरण- सर्वेक्षणात्मक विधिमा लेखिएको प्रस्तुत लेख वास्तवमा मदन स्मारक सम्मानका निमित्त व्याख्यान दिनलाई तयार पारिएको आलेख हो। यस आलेखमा दार्जीलिङ क्षेत्रबाट आजसम्म भएको साहित्यिक गतिविधिबारे सविस्तार प्रकाश पारिएको छ।
रामकृष्ण शर्मा र उनको शेषेर कविता- नेपाली साहित्यमा एकजना विशिष्ट समालोचक, निबन्धकार र कविका रूपमा परिचित रामकृष्ण शर्मा जातीय राजनीतिसित पनि उनको सक्रिय सहभागिता रहेको देखिन्छ। साहित्य लेखनमा समालोचना र निबन्धका अतिरिक्त कविता र कथालेखनमा उनको विशेष अभिरूचि थियो। शारदा पत्रिकामा अङ्ग्रेजी साहित्यको प्रभाव लेखेर समालोचना लेखनतिर उनले आफ्नो पाइला अघि सारेका थिए। आत्मपरक शैलीमा लेखिएको यस छोटो-छरितो लेखमा समालोचक दाहालले रामकृष्ण शर्माको शेषेर कविता-बारे प्रकाश पारेका छन्। यो कविता कवि शर्माले १४ नवम्बर १९५४को खबरसित सम्बन्धित रहेको तर खबरको वास्तविकताबारे भने अझै खोज-अनुसन्धान हुनुपर्ने कुरोमा जोड दिएका छन्।
चन्द्रिका-बारे केही विवादास्पद कुरा- यस लेखमा गोर्खा जनपुस्तकालय, खरसाङबाट सन् १९१८ मा पारसमणि प्रधानको सम्पादनमा प्रकाशित चन्द्रिका पत्रिकासित जोडिएका कतिपय ओझलमा परेका पक्षहरूबारे यसमा प्रकाश पारिएको छ। हरि प्रिन्टिङ प्रेसमा मासिक ४० रूपियाँमा वैतनिक प्रबन्धकका रूपमा पारसमणि प्रधानले नियुक्ति पाएपछि उनलाई चन्द्रिका पत्रिकाको पनि सम्पादन भार उनको काँधमा सुम्पियो। यिनले यी दुवै काम खुबै निष्ठापूर्वक निर्वाह गरे। काशीबाट आफ्नो अध्ययन पूरा गरी धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीहरू यता दार्जीलिङमा आएपछि पारसमणि प्रधानको आग्रहमा चन्द्रिका पत्रिकामा रचनाहरू लेख्न थाले। यताबाट अघिदेखि लेख्दै आउनेहरूमा शेषमणि प्रधान, प्रतिमानसिंह लामा, मणिनारायण प्रधान, मणिसिंह गुरूङ प्रभृति लेखकहरूले चन्द्रिकालाई यथेष्ट टेवा पुर्‍याइरहेका थिए। चन्द्रिकालाई शङ्काको दृष्टिले हेरिने गरिएको सन्दर्भ उल्लेख गर्दै साहित्यान्वेषक दाहालज्यू यस प्रकार लेख्छन्-…. यो ज्यादै संवेदनशील समय थियो। प्रत्येक लेख र लेखकहरूमा नेपालका राणाहरूको गिद्धे नजर रहन्थ्यो। राणाका जासूसहरू यस्ता राणा विरोधी कृतिहरूको खोजीमा बनारस र दार्जीलिङमा रगरगी थिए। कति खरसाङको हरि प्रिन्टिङ प्रेसमा पुस्तक छपाउने निहूँमा पनि पुग्थे। यस्तैमा चन्द्रिकामा छद्मभेषी लेखकहरूको संख्या धेरै हुन लाग्यो। यस्ता छद्मभेषी लेखकहरूमा चेत, चकोर, शेष, साथी, सूर्य, दीपक, शर्मा, फणि, मनुष्य खद्‍योत इत्यादि थिए। जस मध्ये कतिको वास्ताविक नाम चन्द्रिकाका सम्पादक पारसमणि प्रधानले धेरै वर्षपछि उनीहरूको अनुमति लिएर प्रकाश पार्नुभएको थियो। उनीहरू मध्ये एकजना कवि शिरोमणि लेखनाथ पौड्याल पनि हुनुहुन्थ्यो, जसले चन्द्रिकामा प्रेमान्ध चकोर छद्मनाममा र च्याखुराको प्रेमोल्लास चकोर छद्मनाममाबूढा बटुवाको प्रातःकालीन गन्थन लेख्नु भएको थियो।...
यसरी राणाकालमा भारतमा बसेर साहित्यको माध्यमबाट उनीहरूको विरोध गर्दागर्दै पनि राणाहरूको जय मनाउने अर्काथरि लेखकहरूको पनि नेपालमा कमि थिएन। यस्ता कवि-लेखकहरू राणाहरूको प्रशस्ति गाएर विशेष जन्मोत्सवमा कविता लेख्थे। चन्द्रशमसेरका समयमा चारैतिर चन्द्र शमसेरकै जयजयकार थियो। रानी साहबहरूबाट बक्सिस पाउने आशामा चक्रपाणि चालिसे, लेखनाथ जस्ता कविहरू पनि दरवारका भित्ताहरूतिर चन्द्र शमसेरका गुणगान गरेर कविताहरू लेख्थे।...यसरी राणा प्रधानमन्त्री चन्द्र शमसेरसम्म आइपुग्दा लेखकहरूले आफ्ना कृतिहरूमा धेरै चन्द्र शब्द जोड्न थालेका थिए। व्याकरण र अंलकार जस्ता शास्त्रीय ग्रन्थहरूका नामकरणमा समेत चन्द्र शब्दहरू देखा पर्थ्यो। बडा गुरुज्यू हेमराजको चन्द्रिका व्याकरण र पं. जगन्नाथ अनि बैजनाथ सेढाईंहरूको चन्द्रमयुख र भूचन्द्रचन्द्रिका अंलकार ग्रन्थहरू यसैबेला निस्क्यो। काशीबाट चन्द्र पत्रिका निस्क्यो। यस्तोमा खरसाङबाट पारसमणि प्रधानको सम्पादनमा चन्द्रिका पत्रिका प्रकाशित हुँदा कतिलाई यो पनि राणाहरूकै प्रशस्ति गाउने पत्रिका हो भन्ने लाग्यो होला। यस्ता भ्रमको शिकार हुनेहरू मध्ये एकजना नेपाली साहित्यका समालोचक डा. ईश्वर बराल पनि थिए। हुन त डा. बरालले दार्जीलिङबाट प्राध्यापन गरेर फर्केपछि अरू पनि यस्ता अनेक विवादास्पद बयानहरू दिएका छन्। ... यसैले डा. बरालले व्यर्थै चन्द्रिकालाई चन्द्र शमसेरको कीर्ति फैलाउने ध्याउन्नतिर लागेको थियो भनेर लेखे।
रसिकग्रामका दुई विभूति- प्रस्तुत लेख २९ अक्टोबर सन् २०१८को दिन दार्जीलिङको रसिकग्राममा रामचन्द्र गिरी स्मृति पुरस्कार अलङ्करण समारोहको अवसरमा प्रस्तुत गरिएको वार्ताको संशोधित रूप हो। निबन्धात्मक शैलीमा लेखिएको यस आलेखमा दार्जीलिङको धोबी तलाउ भन्ने ठाउँमा अच्छा राई रसिक र रामचन्द्र गिरीले जन्म ग्रहण गरेको तर रसिकले कलिलै उमेरमा आफ्नो इहलिला शेष गरेका हुनाले उनको संस्मरणमा यस ठाँउको नाम रसिकग्राम राखिएको प्रसङ्गमा दाहाल यसप्रकार लेख्छन्- कुनै पनि विशिष्ट कवि,लेखक जन्मेको, उसको निधन भएको ठाउँ साथै उसको कर्मभूमि एउटा पावन तीर्थ हुन्छ। केही दिन अघि दार्जीलिङको रसिकग्राम पुग्दा मलाई त्यस दिन त्यस्तै आभास भएको थियो। यो ठाउँ नेपाली साहित्यका विशिष्ट हास्य-व्यङ्ग्यकार अच्छा राई रसिकको जन्मथलो भएकोले यसलाई उनको स्मृतिमा ग्रामवासीहरूले यसको पूरानो नाउ धोबी तलाउ-बाट परिवर्तन गरि रसिकग्राम नामकरण गरेका रहेछन्। यहाँ अच्छा राई रसिकको प्रतिवर्ष जन्म जयन्ती मनाइँदो रहेछ। मैले यहाँ अच्छा राई बसेको घर पनि हेरें।... यहाँ रसिकग्राम सुधार समितिको आफ्नै भवनमा कार्यक्रम हुँदो रहेछ। यस वर्ष यहाँ रसिकको ९१ औं जन्म जयन्ती पालन गरिँदै थियो।

नरबहादुर दाहालको समालोचनागत विशेषताः प्रवृत्तिगत रेखाङ्कन
अतः साहित्यालोचक नरबहादुर दाहालका समालोचना लेखनमा पाइने मुख्य मुख्य प्रवृत्ति र विशेषताहरूलाई यस प्रकार रेखाङ्कन गर्न सकिन्छ-
(१) समालोचक नरबहादुर दाहालको समालोचना लेखनमा ऐतिहासिक तथ्यहरू र शोध-खोजपरक प्रवृत्ति, सर्वेक्षणात्मक र तुलनात्मक प्रवृत्तिको स्पष्ट उपस्थिति रहेको पाइन्छ।
(२) दाहालको समालोचना लेखनको प्रारम्भिक कालमा प्रभाववादी तथा विश्लेषणात्मक समालोचना लेखनतिर प्रवृत्त देखिए पनि पछिबाट विवेचनात्मक र चिन्तनपरक समालोचनात्मक लेखनतिर अग्रसर रहेको स्पष्ट देखिन्छ।
(३) दाहालको समालोचना लेखनमा विशेषगरी कृतिगत विश्लेषणात्मकता र विषयगत सर्वेक्षणमूलक प्रवृत्ति देखिन्छ साथै लेखनमा वस्तुपरक भाषाको प्रयोग भन्दा आत्मगत भाषाको प्रयोगमा अधिक अभिरुचि रहेको देखिन्छ। सापेक्ष्यता
(४) समालोचक दाहालले आफ्ना अग्रज र समकालीन लेखक-कविहरूका जीवनीका विविध आयाम, व्यक्तित्व र कृतित्त्वको सापेक्षतामा जीवनीपरक समालोचना लेखनतिर अभिरूचि राखेको देखिन्छ।
(५) दाहालको साहित्यालोचनामा विशेषगरी भाषा र साहित्यबीचको अन्तर्सम्बन्धको गहिरो अध्ययन तथा सर्जकको जीवनी र समाजसित सह-सम्बन्धको गहन अध्ययनमा विशेष झुकाउ रहेको देखिन्छ।
(६) दाहालको साहित्यालोचना विशेषगरी शोध-अनुसन्धानपरक, कृतिपरक र प्रवृत्तिपरक लेखनतिर अभिमुखी रहेको तथा कृतिगत विश्लेषणमा अनुसन्धानमुखी भाषाको प्रयोगमा महत्त्व दिएको देखिन्छ।
(७) दाहालको साहित्यालोचना लेखन विशेष गरी जीवनी र व्यक्तिपरक लेखनमा अग्रसर, कृति र लेखकीय दर्शनको सापेक्षतामा कृतिगत मूल्यनिरूपणको खोजी गरिएको पाइन्छ।
(८) दाहालको समालोचनामा सर्जकको कृतिगत मूल्यनिरूपणका साथै विवेच्य कृति वा विषयको ऐतिहासिक परिप्रेक्ष्यमा गुणात्मक मूल्यको खोजी गरिएको पाइन्छ।
(९) समालोचक दाहालमा सविवेच्य विषय वा कृतिका अन्तर्वस्तुभित्रको सूक्ष्मतालाई गहन रूपमा निर्क्यौल गर्ने प्रवृत्तिका साथै लेखनमा मूल्याङ्कनात्मक प्रकृति र प्रगतिवादी वैचारिक चेतनाको अन्तर्विकास देखिन्छ।
(१०) दाहालको समालोचना लेखनमा जीवनीपरक समालोचना लेखनगत विशिष्टता, वस्तुनिष्ठ भाषाको न्यूनता तथा आत्मपरक शैलीको नैबन्धिक ढाँचाको समालोचना लेखनतिर विशष झुकाउ रहेको देखिन्छ।

स्नातकोत्तर नेपाली विभाग, दार्जीलिङ सरकारी महाविद्यालय, दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।