16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झुल्के घाममा झल्केको गिरीको कवि व्यक्तित्व

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने January 12, 2023, 10:18 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

लामो समयपछि जीवेन्द्रदेव गिरीको कवि व्यक्तित्व एकमुष्ट परखने अवसर जुरेको छ । यो अवसर झुल्के घाम (२०७७) कवितासङ्ग्रहबाट प्राप्त भएको हो ।
जब भाव वा विचारलाई निश्चित या अनिश्चित लयढाँचामा कलात्मक विशिष्ट भाषाशैलीमा प्रस्तुत गरिन्छ, तब त्यो कविता हुन्छ । भावको उद्रेक नभई कविता हुँदैन । भावको उदे्रक भएका कविताले मात्र भावकको मन छुन्छ । त्यस्तो कवितामा मात्र सहृदयीको मन रमाउँछ । त्यस्तो कवितामात्र चिरस्थायी र कालजयी हुन्छ । कुनै कविता पढेसुनेर मन लोभिनु र कुनै कविता पढ्दा नाक खुम्चिनुको पछाडिको मुख्य कारण पनि यही हो ।
कवि जीवेन्द्रदेव गिरी (२००९) का कविता भावनाको उदे्रकका अवस्थामा रचिएका पढिरहूँपढिरहूँ लाग्ने कविता हुन्् । उनलाई भाषा, लोकसाहित्य र बालसाहित्यको अध्ययन अनुसन्धान तथा वैचारिक क्षेत्रमा अहोरात्र खटिरहँदा सिर्जनाका लागि अवश्य पनि पर्याप्त समयको अभाव भइरह्यो । सिर्जनशक्तिको सामथ्र्यले गर्दा त्यस्तो प्रतिकूलताका बीचमा पनि कविताहरू लेखिए, गीतहरू रचिए र बेलाबेलामा वाचन हुँदै, गाइँदै र फुटकर रूपमा प्रकाशित हुँदै आए । गिरी एक प्रखर कवि तथा गीतकार हुँदाहुँदै पनि एक भाषाशास्त्री र समालोचकका रूपमा मात्र चिनिए । अन्य व्यक्तित्वको दोछायाँमा परे पनि उनको कवि व्यक्तित्व त्यत्तिकै प्रखर रहेको छ । पातलो गरी भए पनि उनको काव्यसाधनामा पाँच दशकभन्दा बढीको निरन्तरता समेत देखिन्छ । झुल्के घाम (कविता तथा गीतसङ्ग्रह) यसको एक ज्वलन्त र ठोस प्रमाण हो ।
झुल्के घाम (२०७७) मा काव्यविधाका बालकविता, कविता र गीतिकविता गरी ५२ रचना सँगालिएका छन् । यी रचनाहरू व्यस्तताका बीचमा भावनाको उदे्रकको घडीमा रचिएका र जीवनको उत्तरार्धपछि फुर्सदमा सँगालिन आएका हुन् ।
सङ्ग्रहमा सँगालिएका ‘आँटी छोरो’, ‘झिलिमिली बिजुली’, ‘हाम्रो छाना खेती’, ‘हाम्री सानी नातिनी’, ‘काग मेरो साथी’, ‘हा कौवा हा’, ‘चल्ली चिच्याई’, ‘हाम्रो खेल्ने ठाउँ’, ‘अन्त्य हुन्छ कोरोना’ र ‘बाबा विदेश जानु भो’ गरी दसवटा रचना बालकविताका रूपमा रहेका छन् । यी २०५४ देखि २०७७ कार्तिकसम्ममा रचना गरिएका देखिन्छन् । यी बालकविताहरू लोकलयाश्रित छन् । यिनमा राष्ट्रप्रेम, पशुपन्छीप्रेम, समानताको चाह र आशावादी विचार सम्पे्रषण भएको छ । ‘आँटी छोरो’ सबैभन्दा छोटो लयमा रहेको छ । यसमा २२=४ गरी चार अक्षरको एक हरफ र त्यस्ता चार हरफको एक पङ्क्तिपुञ्ज बनाइएको छ । जस्तै ः

ओरोदोरो २+ २= ४
आँटी छोरो २+ २= ४
सीमा हेर्न २+ २= ४
चढ्यो घोडो २+ २= ४
(पृ.२३)
‘बाबा विदेश जानु भो’, ‘काग मेरो साथी’ र ‘अन्त्य हुन्छ कोरोना’ आदिमा २२३= ७ को लयढाँचा रहेको छ । सो लयढाँचामा ‘काग मेरो साथी’मा समताको चाह यसरी प्रकट भएको छ ः
कालो सेतो भन्दिन २+२+३= ७
भेदभाव जान्दिन २२३= ७
काग मेरो साथी तँ २+२+३= ७
उड्दै आइज भेट्छु म २+२+३= ७
(पृ.२९)
कवि गिरीले कोरोनाबाट आक्रान्त बालबालिकालाई त्यसबाट छिट्टै मुक्ति पाइने आशाको सञ्चार गरेको पाइन्छ । जस्तै ः
कहिलेसम्म कोरोना
तेरो ढलीमली हो
मान्छेसित निहुँ नखोज
तेरो अन्त्य वेला भो
(पृ.३७)
गिरीका बालकविता लय, भाव र प्रस्तुतिका दृष्टिले बालोपयोगी देखिन्छन् । यिनमा बालरुचिअनुरूपको विषययचन गरिएको छ; सरल एवम् बालबोली र बोधगम्य झर्रा शब्दको उपयोग भएको छ; लोकमा प्रयोग भईभई निखार पाएका लोकलयको प्रयोग भएको छ । यसले गर्दा गिरीका बालकविता रमाइला तथा प्रभावकारी भएका छन् ।
कवि गिरी खप्पिस छन्दकविले झैँ छन्दमा कविता लेख्न पोख्त देखिन्छन् । ‘सुन्दर’, ‘बज्यैको सम्झना’, ‘समर्पण’, ‘आस्था र श्रद्धा’, ‘सहिद’, ‘मिथ्यावादी’, ‘छोरासित कुरा’ र ‘युगीन मति’ कविता क्रमशः शार्दूलविक्रीडित, शिखरिणी, अनुष्टुप्, मन्दाक्रान्ता, इन्द्रवज्रा, मन्दाक्रान्ता, शार्दूलविक्रीडित र शार्दूलविक्रीडित छन्दमा रचिएका छन् । यी कविता २०५३ देखि २०६३ को दशकमा रचिएका हुन् । यिनमा सौन्दर्यप्रतिको दृष्टिकोण, सत्यप्रति निष्ठा, देशप्रेम, श्रमिकप्रति सहानुभूति, सहिदप्रति सम्मान, झुठ्ठाहरूलाई दुत्कार, पुत्रको सम्झना आदि कथ्यविषय पाइन्छ । उनका यी छन्दकविता छन्दानुशासन, छन्दको मर्यादा र छन्दको ओज कायम गर्दै भाव वा विचार सम्प्रेषण गर्न सक्षम देखिन्छन् । उनमा छन्दमा लेख्दा छन्दको अनुशासन परिपालन गर्नुपर्छ भन्ने हेक्का देखिन्छ । छन्दमा कविता लेख्दा उनले मात्र श्लोक लेखेका छैनन् । तिनमा उच्च लालित्यपूर्ण कवित्व मुखरित भएको छ । छन्द कविता एक श्लोके मुक्तकदेखि छ श्लोकसम्म विस्तारित छन् । ‘सुन्दर’ कवितामा क्रान्तिको सौन्दर्यलाई उनले यसरी व्यक्त गरेका छन् ः
हाँक्तै यो युगलाई ज्यान कतिका हाँस्तै हिँडे पल्तिर
बाल्दै ती भरिला अतीव झरिला राँकाहरू झर्झर
त्यो सङ््रान्तिसँगै सहीद हँसिला कस्ता अहा सुन्दर !
तोड्ने बन्धन लाख जन्जिरहरू हो क्रान्ति झन् सुन्दर
(पृ.४३)
उनका ‘परदेशीलाई’, ‘किन ?’ र ‘सहिद कति महान् !’ गरी तीन कविता लोकछन्दमा रचना भएका छन् । ‘परदेशीलाई’ सामान्यतया ३+२, ३+२, ३+३ को मझौला झ्याउरे छन्दमा तथा ‘किन ?’ र ‘सहिद कति महान् !’ कविता २+२+२+२+२+२+२ = १४ को गीतिलयमा रचिएका छन् । यिनमा देश र देशलाई आफूलाई भन्दा बढी माया गर्ने सहिदलाई स्मरण गरिएको छ ।
बालवयमा उनी लोकगीतिलयमा रमाएको पाइन्छ । ‘जुन अवस्थामा छौं दाजुभाइ’ गीतिकविता २०२० सालमा रचना भएको हो । सम्भवतः यो नै उनको पहिलो रचना पनि हो । यसले उनी सोरसत्र वर्षे किशोर वयमै साहित्यमा रमाउन थालेको देखिन आउँछ । यसका साथै ‘छोरीको इच्छा’, ‘परिवार नियोजन’, ‘मेहनती किसान’, ‘उठ न किसान’, ‘जुत्ता सिउने ए सार्की दाइ’, ‘खोर्के खोला इत्राम खोला’, ‘झुल्के घाम’, ‘जाँदै छ रातको कालो’, ‘सिङतिखे साँढे’, ‘रोउला धुरुक्क’, ‘लाग्छ रातो घाम’, ‘जबज प्यारो’, ‘लोकतान्त्रिक गणतन्त्र नेपाल’ र ‘सम्झनामा टुक्राटुक्री’ पनि गीतिकविताका रूपमा रहेका छन् । यी गीतिकविता विभिन्न लोकछन्दमा रचिएका छन् । यिनमा सहिदको स्मरण, समानताको चाहना, परिवार नियोजनको आवश्यकता, किसानको महिमा, अन्यायको जालो फाल्न किसान उठ्नु पर्नेमा जोड, आफ्नो श्रमको रक्षाका लागि श्रमजीवीलाई एकजुट हुन आह्वान, नेतृत्वलाई चेतनाको बिगुल फुक्न आह्वान, समाजवादी कम्युनिस्ट सरकार स्थापनाको चाहना, उग्र लक्षिणपन्थ र उग्र वामपन्थभन्दा मध्यममार्गी जनताको बहुदलीय जनवादी धारा उपयुक्त भएको धारणा, देशको मुहार फेर्न लोकतान्त्रिक गणतन्त्रको आवश्यकतालाई कथ्यवस्तु बनाइएको छ ।
उनको ‘उठ न किसान’ गीतिकविता जुही तथा प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा २०७० मा सम्पन्न मेची–महाकाली साहित्यिक सद्भाव यात्राका क्रममा पङ्क्तिकारले उनकै प्रस्तुतिमा सुनेको तथा अन्य कतिपय कवितागीत पढ्ने अवसर पाएको हो ।
अनिश्चित आन्तरिक लय संयोजन गरी भावलाई प्रस्तुत गरिने कवितालाई गद्यकविता भनिन्छ । यसमा शास्त्रीय र लोक छन्दमा जस्तो लयानुशासन नभई स्वतन्त्र किसिमको अन्तर अनुशासनद्वारा लयको तर्जुमा गरिएको हुन्छ । गिरीको कलम यता पनि त्यत्तिकै मात्रामा चलेको पाइन्छ । ‘मेरी कवितालाई सन्चो छैन’, ‘के लेखुँ खै कविता’, ‘म त काठमाडौँ भएको छु’, ‘होसियार’, ‘मुस्कान अझै छरिएन’, ‘ज्योतिर्मय सूर्य’, ‘किन बाँचेनन् यहाँ डिलारामहरू ?’, ‘आजको विवेकी मान्छे म’, ‘म लोकवार्ता’, ‘श्रद्धाञ्जली त्यो विलुप्त किशोरप्रति’ आदि कविता गद्यकविताका रूपमा रहेका छन् । यिनमा जनमनका दर्द पोखिएको छ; अँध्यारो वा अन्याय र अत्याचार हटाउन मुस्कान वा सूर्य वा घामको अपेक्षा गरिएको छ; उज्यालो देखी नसहनेबाट सचेत गराइएको छ; देश र समाजका निमित्त उत्सर्ग गर्नेहरूको स्मरण गरिएको छ । साथै यिनमा लोकवार्ताको महŒव दसाईएको छ र काठमाडौँबासीको पीडा देखाएको छ । यिनमा भाव नअड्कीकन प्रवाहशील भएर सलल्ल बगेको छ ।
२०७७ असोजको अन्तिम साता उनी कोरोना महामारीको चपेटामा पर्न पुगे । उनलाई कोरोना भाइरस कोभिड नाइन्टिनले आक्रमण गर्न पुग्यो । उनी त्यससँग जुधे । गङ्गालाल हृदय केन्द्रमा भर्ना भए । अस्पताल, चिकित्सक र आत्मबलले गर्दा उनले कोरोनालाई पछारे र उनी तङ्ग्रिए । उनी जस्तै राम विनय पनि कोरोनाको सङ्क्रमणमा परे र उठे । यही अवधिमा उनले कोरोनालाई जोडेर गद्यलयमा पाँचवटा कविता लेखेर केही अक्टोबर १६ र १७ मा फेसबुक स्ट्याटसमा राखे भने केही अन्य विभिन्न अनलाइन पत्रिकामा प्रकाशित भए । त्यस्ता कविता हुन्, ‘बेड नं.३०४ बाट’, ‘राम विनय दाइ’, ‘ग्राउन्डेड जहाज मर्मत भएको छ’, ‘प्रिय जीवनसँगिनीसँग’ र ‘अपिल’ । यिनमा महामारीको प्रकोप, त्यसको भयङ्करता र त्यससितको जुधाइ, सरसहयोग र आत्मविश्वास तथा आत्मविजयको उद्घोष पाइन्छ । सहयात्री स्रष्टा राम विनयलाई हौसला दिइएको छ । एउटा ग्राउन्डेड जहाजलाई सर्वाङ्ग मर्मत गरेर सुचारु चल्ने बनाएझैैँ आफू स्वस्थ भएको बताइएको छ । जस्तै ः
कति छिटै मर्मत भयो हँ !
यो मेरो बुढो शरीररूपी जहाज
कोरोना परै बसेर हेरेस्
उड्ने तरखरमा छ घरतिर यो जहाज
सुरक्षित अवतरणको तयारीमा
मर्मत सकिएको यो ग्राउन्डेड जहाजले
अब धेरैसम्म तेरा दारानङ्ग्राको
प्रतिरोध गर्छ सजिलै
सिङ्गो मानव समुदायलाई नताके हुन्छ
विजयको पताका फहराउँदै
उड्छ यो कुद्छ यो
उत्साहको सन्देश छर्छ यो
झन् झन् नयाँ शक्ति सँगाल्दै छ यो
मक्किएका हाडमा
दधीचिको बल बटुल्दै छ यो
कोरोना, के गर्छस् अब ?
मेरा कलिला नातिनतिनाले
हुच्चिङ गर्दै के भन्दै छन्, सुन्
‘आयो निदरी तेरो काल !’
(पृ.८४–८५)
यस्तै, आफू कोरोनासँगको लडाइँमा विजयी भएर आउने दृढता प्रकट गर्दै जीवनसँगिनीलाई आश्वस्त पारिएको छ र कोरोनाको यस कठिन घडीमा पनि र टुटफुटमा नलागी तथा कत्ति विचलित नभई अझ एकताबद्ध भएर लाग्न पार्टीपङ्क्तिलाई अपिल पनि गरिएको छ ।
म त काठमडौँबासी भएको छु’, ‘मुस्कान अझै छरिएन’, ‘आजको विवेकी मान्छे म’ जस्ता गद्यकवितामा समस्यापूर्ति शैली देखापरेको छ । समस्यापूर्ति नेपाली पद्यसाहित्यको माध्यमिक कालीन एक प्रवृत्ति हो, जुन आधुनिक नेपाली कविले पनि यदाकदा अँगाली आएका छन् । गिरीको कलम यता पनि कुदेको छ ।
विचारमा प्रगतिशीलता, शैलीमा लोकशैलीको अनुसरण, भाषामा सरलता, देशप्रेम, स्वजातिप्रेम, निम्नवर्गीय पक्षधरता गिरीका गीतकविता, बालकविता र कविताका विशेषता हुन् । देश र समाजप्रति उनी आफू कोरोनामा हुँदा समेत उत्तिकै जिम्मेवार र चिन्तित देखिन्छन् ।
गद्यमा जेतेमेते लेखेर गद्यकविता बन्दैन । लामो समयसम्म यस कुरोको पैरवी र प्राध्यापन गरेका गिरीमा यसको राम्रो हेक्का छ । त्यसैले पनि उनका गद्यकवितामा अन्तर्लय र अनुप्रासको उचित प्रयोग भएको छ । यसले गर्दा उनका गद्यकविता सुपाठ्या र चिरप्रभावी हुन पुगेका छन् । उदाहरणार्थ ‘म त काठमडौँबासी भएको छु’ कविताको प्रथम पङ्क्तिपुञ्ज हेरौँ ।
ताजा केही चाहिँदैन
स्वच्छ हावा खाइँदैन
दुर्गन्धमै रमाउने गरेको छु
सफा पानी पाइँदैन
लेदो पानीमै अभ्यस्त भएको छु
बारीको हरियो फाप्तैन
बासीमै छाक टार्ने गरेको छु
दाल भात डुकु मात्र हैन साथी
गुन्द्रुकको झोल पनि पचाउन नसक्ने भएको छु
म त काठमाडौँवासी भएको छु ।
(पृ.५९) ... ....
यहाँ एकै ठाउँमा कविता, बालकविता र गीत सँगालिएका छन् । कुरा काट्नेका लागि यो एउटा मसला पनि हुन सक्ला । एउटै पुस्तकमा कविता, बालकविता र गीत पढ्न पाउँदा रमाउने पनि उत्तिकै हुनेछन् । कवि गिरीको कवित्व र काव्ययात्राको अनुशीलन तथा अनुसन्धान गर्न खोज्लेका लागि भने यो ठूलो अनुसन्धेय सामग्री हुन आएको छ ।
समग्रमा भन्नुपर्दा झुल्के घाम (२०७७) बाट कवि जीवेन्द्रदेव गिरीको कवि व्यक्तित्व प्रस्ट झल्केको देखिन्छ । उनका कविता र गीतमा समयको स्पन्दन छ; समानता, स्वतन्त्रता र मावनताको राग छ; मानवताप्रति अनुराग छ; तल्लो वर्ग, श्रममा जिउने वर्ग, नारी, विभिन्न जातजातिप्रति सम्मान छ; देशका लागि बलिदान गरेका सहिदप्रति श्रद्धा छ; हुनेखानेले हुँदा खानेहरूप्रति गरेको अन्यायप्रति विद्रोह छ । यस्तो वर्गीय पक्षधरता, समानता, स्वतन्त्रता र प्रगतिवादी विचारलाई उनले कतै लोकछन्दमा, कतै शास्त्रीय छन्दमा, कतै गद्यलयमा र कतै लोकगीति लयमा कविता र गीतको रचना गरी प्रस्तुत गरेका छन् । उनका यी बालकविता, कविता र गीतमा विचार वा कथ्यवस्तु र प्रस्तुतीकरण वा शिल्पशैलीमा सुन्दर शालीन सन्तुलन पाइन्छ । उनमा विचारको प्रस्टता छ र त्यस्तो विचार जति कलात्मक रूपमा प्रस्तुत गर्न सकियो त्यसको सम्प्रेषण त्यत्तिकै प्रभावकारी हुन्छ भन्ने कुरामा समेत सचेतता रहेको छ । यसले गर्दा उनका कविता, बालकविता र गीत पठनीय, गेय र चिरप्रभावी हुन पुगेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।