19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शाश्वत साथ

कविता प्रा. डा. मोहन प्रसाद जोशी January 12, 2023, 2:27 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

चोट लागेको देख्छु, घाउ लागेको देख्छु
तिमीहरूका आँखाहरू रोएको देख्छु
सबैजना शोकाकुल भएको देख्छु
चारैतिर सन्नाटा छाएको देख्छु |

हेर त हेर, राम्ररी हेर त
शाश्वतका आँखा लिएर हेर त
शरीर नहुँदैमा के भयो त ?
के म साँच्चिकै हराएको छु त ?

कृपया आँखाको आँसु पुछिदेऊ
सफा नजरले मलाई खोजिदेऊ
विश्वास दिन्छु, म हर ठाममा हुन्छु
हर याममा हुन्छु, शाश्वत रहन्छु |

बादल बनेर फिँजारिन्छु
जल भएर समुद्र भरिदिन्छु
जङ्गल भएर उभिइरहन्छु
हावा भएर मन छोइरहन्छु |

टेबुलको त्यो फोटोमा जसरी हाँस्दै छु
त्यसरी नै सबैमा हाँस्दै पसिदिन्छु
मनमन्दिरको घण्ट बजाइरहन्छु
शाश्वत साथको याद दिलाइरहन्छु |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।