16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरा छिमेकी -२

हास्यव्यङ्ग्य नगिता राई लेप्चा January 21, 2023, 4:15 am
नगिता राई लेप्चा
नगिता राई लेप्चा

गाउँ-घरमा छर छिमेकसित मिलेर बस्ने जाति हामी। आफ्ना छिमेकीसित यति सारो मिल्छौं हामी....मिलेपछि आफ्नो आन्द्रा-भुँड़ी दिन गर्छौं । तर फेरि तिनै छिमेकीसित लाप्पा पर्नुपरे पनि पछि ह़ट्दैनौं । छिमेकमा हुने बिहे बटुल, मराउ-परौं, जन्मदिन, बिहे, न्वारानमा आयोजन हुने घरमा जानै पऱ्यो। दिनभरि काम सघाउनै पऱ्यो। फेरि गिफ्ट, भेटी पनि लानै पऱ्यो । गइएन भने छिमेकी बोल्नै छोड़्छन् । कतिले त्यसलाई आह्रिस लाग्यो होला नि मैले गरेको उत्सव...आ...आए आवोस् नआए नआवोस्...मैले जस्तो नानीको बर्थ डे गरि देखावोस् न...इत्यादि कुरा कानमा आइपुग्छ। कतिको मन बुझाउनु,,,,कतिलाई खुसी पार्नु। अचम्भका छन् छिमेकीहरू।
गैरी गाउँकी चरीमाया दिदी बिहानै आएर उनको छोरोको जन्मदिनको निम्तो दिएर गइन्। गाउँमा चरीमाया दिदी सबैभन्दा मसित मिल्ने मेरा प्रिय छिमेकी हुन्। हामी सपिङ, पिक्चरमा सँगै जान्छौं। बिहानेदेखि काम सघाउनु लागेँ चरीमाया दिदीकहाँ। घर सानु भएकोले बाहिर सगरमाथा सेवा समाज भवनमा नानीको जन्मदिन मनाउने भयो। समाज घर लोभैलाग्दो पाराले सिँगारिएको छ। बाहिर विशाल तम्बु। कुर्सीहरू डेढ़ सयभन्दा बढ़ी नै छन्। समाज घरभित्रको भित्तामा “ह्याप्पी बर्थडे बण्टी” लेखिएको फ्ल्याक्स टाँगिएको छ। फ्ल्याक्समा नानीको फोटो। नानी बण्टी यस्तै तीन-वर्ष पुगेको हुनुपर्छ। अचेल गाउँ-बस्तीतिर नाम पनि पूरै अङ्ग्रेजी पाराले राखिएको हुन्छ। हाम्रो पालामा काले, गैँड़े, गुहे, नसे, मनचरी, धनसरी, फूलमाया, फूलमति अनि अलिक पछि राम, श्याम, धनबहादुर, शेरबहादुर, गङ्गा, सरस्वती, रोहिता राखिन्थ्यो। अचेल बण्टी, टाइगर, बुलेट, मिसाइल के के हो के राखेको पाइन्छ।
साँझ पखदेखि तल्लो गाउँ, माथ्लो गाउँ, मुन्सी गाउँ, गैरी गाउँ, कोठी गाउँबाट निम्तारूहरू आउन थाले।.चर्को स्वरमा साउण्ड सिष्टम कानको जाली फुटाउने गरी बजिरहेछ। कसैसित बोल्नुपर्दा झगड़ा गरेकै जस्तै बोल्ने अवस्था छ । समाज घरको पुस्तकालयको भित्तामा “बार ”लेखिएको छ । टेबलमा किसिम किसिमका, कहिल्यै नाम नसुनेका मदिराका बोतलहरू लस्करै राखिएका छन्। छेउमा गएर हेरेँ, आरसी, डक्टर, टिचर के के हो के के। अब आउने मदिराको बोतलमा मिनिष्टर, बिग्रेडियर, मेजर, इन्सपेक्टर लेखिएको आउँला।
आउनेहरू नानीलाई टिको लगाई आशीर्वाद दिनुको सट्टा सोझै बारमा पसी...गिलासमा हालिमाग्दै बङ्गुर, राँगो, खसीको आन्द्रा भुँड़ी थाप्दै टेबलमा पसी बण्टीको जन्मदिन मनाइरहेछन्। बिहे बटुलतिर, मराउ-पराउतिर बोतलका बोतल उड़ाउने छिमेकीहरू पनि छन् हाम्रोतिर। सित्थैमा पाए अलकत्रा पनि बुकाउने खालका छन् मोरा मोरीहरू । कुनै पनि उस्तवमा उल्टी गरिञ्जेल मदिरा पान गर्न नसके वा त्यस्तो अम्मलको व्यवस्था नभए ठैट खल्लो न खल्लो भयो भन्नेहरू छिमेकीहरू पनि छन् ।
नानी बण्टीको बर्थ डे विशाल रुपमा मनाउन सक्यो भनेर चरीमाया दिदीको भूइँमा खुट्टै छैन । पखेटा भाको भा चरीमाया दिदी उड़ेर गाउँ नै राँटो लाएर आउने थिइन्। चरीमाया दिदी कमान धाउँछिन्...चन्द्रवीर भेना काठमिस्त्री। आयस्ता त्यति छैन। तर क-कसको बाट रिन लिएर बण्टी नानीको बर्थडे आयोजन गरेका छन्।
चरीमाया दिदी बिहानै देखि लट्ट छिन्। भेना अलि अलि राता। नानी बण्टीलाई टिको लाउऩे, आशीर्वाद दिने, गिफ्ट दिने, धनराशि दिनेहरूको भीड़ छ । केक काटियो। नानीलाई केके खुवाउनेहरूको भीड़ । भिडियो मोबाइलमा फोटो खिँच्नेहरूको भीड़ले नानी अललिसक्यो। प्रत्येकले नानीलाई केक खुवाउने हुँदा नानीले उल्टी गरिसक्यो। कसैलाई कसैको वास्ता छैन। नानी अललियोस् कि सेन्सलेस होस् ड्याम केयर। फोटो खिँच्नैपर्छ नानीसित। किनभने आजै बेलुकी घर पुगेर फलानोको बर्थडे भनी फेसबुकमा अपलोड गर्नैपर्छ। रात निकै गहिरिसक्यो। साउण्ड सिष्टम चर्को स्वरमा बज्न व्यस्त। नाच्नेहरू उस्तै। सरदार गाउँका खुलाल मामा राता न राता भइसकेका छन्। मलाई हेरेर हाँसिरहेका छन्। मलाई लाज लागिसक्यो। एकक्षण पछि के झोंक चल्यो कोनि खुलाल मामा नाच्न थाले। मलाई पनि तानेर उनीसित नाच्न लाए। मानिनँ म। लाज लाग्यो मामासित नाच्नु। मामाले मेरो दुवै हात समातेर नाच्नु लाए। बूढ़ा निकै झ्याप भइसकेछ...नाच्दै..भाञ्जी यू आर सो क्यूट पो भन्छन्। सुनेर पनि मैले नसुनेको जस्तो गरेँ। मामाको हात फुस्काएर दुगुर्दै कुर्सीमा बसेँ । सबैको आँखा मतिरै। लाजले मरिगए। खुलाल मामा...मतिरै आएर भाञ्जी प्लिजट कम...डान्स वीद् मी पो भन्छन्। बूढ़ेसकालमा मामालाई के झोंक चलेको भनेर सोचिरहेँ।
साउण्ड सिष्टम बजेको बजेकै छ। बाह्र बजिसक्यो। बारमा छिमेकीहरू उतिनै थुप्रिएका छन्। नाच उस्तै। अतिथिहरू बिस्तारै घरतिर जान थालेँ। म र मेरा श्रीमान पनि जान तर्खरियौं। चरीमाया दिदीले तिमी गयौ भने रिसाउँछु...बस्नुपर्छ आजु भनिदिँदा दिदीकै आग्रहमा बसेँ। उनलाई घर पठाइदिएँ।
रातभरि साउण्ड सिष्टम बज्यो यस जन्मदिन उत्सवमा । नाच्नेहरू भन्दा पनि हल्ला गर्नेहरू नै धेर थिए । मैले साउण्ड अपरेटर भाइलाई अलिक साउण्ड कम्ति गर्ने आग्रह गरेँ। खुलाल मामाले नो...नो...फूल भोल्युममा साउण्ड बढ़ाऊ...मेरो नातीको बर्थडेमा वी सूड इन्जोई। गाउँ सुनसान भइसकेको छ। धेरैजसो सुतिसकेका छन्। तर साउण्ड हल्लाले गाउँ अललिरहेको मैले अनुभव गरेँ। कसलाई भन्ने । चरीमाया दिदीलाई भनिसक्नु छैन।
हाम्रो छिमेकमा यही त नराम्रो बानी छ । छर-छिमेकमा बूढ़ा-पाका छन्, बिरामी छन्, नानीहरूको इक्जाम छ...उनीहरूलाई कति डिस्टर्ब भयो होला। कसले विरोध गर्ने? विरोध गर्ने आँट र हिम्मत कसैको छैन। रातभरिको हल्लामा को सुत्न सक्लान्। भोलि बिहानै कमान धाउनुपर्छ। स्कूल, अफिस जानुपर्छ। तर एउटा नाथे बर्थडेले सिङ्गो छिमेकलाई बिथोल्नु राम्रो होइन । चरीमाया दिदीको मुख छुच्चो छ । उनलाई नालिश गऱ्यो भने, मैले नानीको बर्थडे मनाको शालेहरूलाई रिस उठेछ। यो अरु केही होइन...आह्रिस गरेको नि नाथेहरूले। मैले जस्तो यत्रो खर्च गरेर नानीको बर्थडे मनावोस् त...। बजाऊ...केटा हो...अझै जोरले बजाऊ...नाच...।
चरीमाया दिदीहरू जस्तै थुप्रै चरीमाया दिदीहरू पनि तपाईका छिमेकी होलान्। उनीहरूले पनि तपाईलाई पिरोलेकै होलान्। गर्ने के ? कुनै पनि छिमेकी चरीमाया दिदीहरूले छिमेकीको मर्म बुझिदिँदैनन् ।
अब कुनै पनि उत्सवमा यसरी रातभरि गाँवै बिथोल्ने गरी साउण्ड सिष्टम प्रयोग गर्नु मानवता होइन्। छिमेकीको नातामा पनि अर्का छिमेकी दुःख बुझिदिनुपर्ने हो। जति नै गरे पनि हाम्रो छिमेकमा यसरी साउण्ड सिष्टम रातभरि बजाउने परम्परा मासिने होइन ।
तर चरीमाया दिदीलाई मात्र किन दोष्याउने तिम्सिना भेनाको घरमा अस्तिको हप्ता डिजे बजाएर सुत्न नदिएको घटना आलै छ।
हाम्रा छिमेकीहरू यस्तै छन्...तपाईका छिमेकीहरू कस्ता होलान् ?

[लण्डनको प्रसिद्ध अनलाइन पत्रिका “समकालीन साहित्य”मा प्रकाशित मेरो व्यङ्य “मेरा छिमेकी” प्रकाशित भएपछि यस व्यङ्ग्यले निकै प्रशंसा प्राप्त गऱ्यो। सिङबुली, मिरिक (दार्जिलिङ)का आदरणीय प्रशिद्ध चित्रकार नीरज खाम्बेन दाजीले गाउँ-घरका छिमेकी माथि लेखिएको मेरो यस व्यङ्ग्य निबन्ध औधि नै रुचाएर गाउँ-घरमा रातभरि साउण्ड सिष्टम प्रयोग गरी छर छिमेकलाई सुत्नै नदिने विषयमाथि “मेरा छिमेकी -2” लेखिदिने आग्रह गरेकाले मेरा छिमेकी -२ प्रस्तुत गरेकी छु। अब छिमेकी विषय लिएर धारावाहिक ल्यङ्ग्य प्रस्तुत गर्ने निर्णय पनि लिएकी छु। मलाई गाउँ-घरमाथि हुने उच्छृङ्खलमाथि लेखिदिनेबारे विषय समेत प्रदान गर्नुहुने आदरणीय नीरज दाजीप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।]

खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।