17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सौर्य शौर्य

कविता काशीनाथ मिश्रित January 21, 2023, 4:20 am
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

सूर्य उदायो झलमल सारा !
गायब पार्यो नभभर तारा !!
शक्ति छ कस्को दिनकरलाई?
बुझ्न सकेनौ अझ किन भाइ??

दिव्य उज्यालो सबतिर छर्दै
ताप र न्यानो छरर छिरल्दै
जीवन हाम्रो अनुकुल पारी
यो किन आयो गगनविहारी ?

मस्त सुतेका सब जनलाई
प्रेरक बन्दै किरण फिँजाई
गर्दछ आज्ञा अब उठ भाइ !
त्यो सपनामा नभुल रमाई !!

तागत मेरो अनुपम जान
लौ त बताऊ मसित समान !
प्राण म दिन्छु तृणतक सारा
चल्दछ कस्को मविनु गुजारा??

भेद नगर्ने गरिब धनीको
सूर्य छ यौटा भन अरु को हो?
देव यसैले कहलिन थाल्यो !
भाष्करभन्दा कुन छ उज्यालो?

यो नउदाए हविगत हाम्रो
के हुन जाला समझ छ राम्रो?
त्रास ! अँध्यारो !! दिन नहुने झन्!!!
पत्थर जस्ता सजिव हुने छन् ॥

मानव लिन्छन् अनुपम ऊर्जा
भन्दछु कैल्यै अब तँ नमुर्झा !
भानु हजारौँ नमन म गर्छु
प्राण बचा लौ शरण म पर्छु ॥
(अनुकुला छन्द)

फोक्सिङ, गुल्मी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।