कोमल हुनू
यति कोमल हुनू कि
फूलको पत्रले छुँदा
तिमीलाई दुःखोस्।
मान्छेको यात्रा भनेको त्यही हो।
नदुखिनेबाट
दुखिने हुँदै जानु।
कठोर हुँदै जाने जड हो
जड् ढुङ्गा हो
ढुङ्गाले घर बनाउँछ मान्छे
अनि अन्तिममा रहन्छ
एउटा खण्डहर ।
मान्छे
सृष्टिको सबैभन्दा राम्रो फूल
मुटु नै कोपिला।
त्यो फक्रने छ तब
जब झरीसित तिम्रो आँसु खस्ने छ
अनि त्यो आँसु खस्दा
तिमीसित कुनै भाव हुँदैनन् ।
जुनै जनावरको
आँखामा हेर्दा पनि तिमीले
उसको सासमा सारङ्गी लिएर उभिएको
उही ब्रम्ह सर्जक नै देख्नेछौ।
रूखहरूको बिचबाट छिरेको
घामका लामा लामा
चमकदार तरवार देख्दा,
कुइरोभित्र छपक्क परेला भिजाउने
धुँवा पानी देख्दा,
भिजेको ढुङ्गाबाट पहिलो बास्ना थाह पाउँदा,
पानीको एक तुर्को धाराले
सडकमा आफैं बाटो बनाउँदै
बगेर गएको देख्दा
तिमीलाई लाग्ने छ कि
ईश्वर यही हो।
यसैको नाम ईश्वर हो।
जीवन्त जीवन।
यस्तै बेला
कोही आउने छन्
संवेदनाका कवि
उसले तिमीलाई
शून्यताको, निरवताको
सम्पूर्णताको, परिपूर्णताको
वास्तविकताको, अखण्डताको
गीत -भाका
बाटोमा हिँड़दै सुनाउने छ।
र तिमीले
उसका भावसित
एकाकार बनेर आफूलाई हराउने छौ।
आफूलाई हराउनु त होइन,
मान्छेको लक्ष्य?
कसैले मदपान गरेर
आफूलाई हराउँछन्
कसैले पीरमा, व्यथामा बसेर
आफूलाई हराउँछन्।
कसैले मेलामा
कसैले हलभित्रको पपकर्नमा
कसैले मन्दिरमा
कसैले बजारमा
आफूलाई हराउँछन्।
तर त्यो गीत सुन्दा तिमीले
आफूलाई हरायौ भने .....!
आफूलाई वास्तवमा हराउने छौ।
तिमीले आफूलाई खोजेर
कतै भेट्ने छैनौ
त्यसपछि, सधैँका लागि।
हेर्छौ -
खोलाको कणमा तिमी भएछौ।
हेर्छौ -
हावाको आवाजमा तिमी भएछौ।
हेर्छौ -
फूलको सुगन्धमा तिमी भएछौ।
आखिर हामी छौँ नै कहाँ
र हामीले आफूलाई
सिङ्गो सग्लो देखिरहेछौँ ?
कहाँ छ र
मेरो नाम गरेको कुनै अङ्ग
मेरो शरीरमा ?
र जसलाई प्रतिनिधि
मानेर आफूलाई म भनुँ ?
x
जीवनका चुनौतीमा
कानमा
मकैको बिरूवा सिउरिन्छ मान्छे
भगवानलाई सम्झेर
चामल टाँसेर आउँछ मान्छे।
औंला खप्टाएर
बनाउटी हाँसो लिएर आउँछ मान्छे।
मान्छे प्रेमका पात्र होइनन् त के हुन्?
श्रद्धा र करूणाका पात्र होइनन् त के हुन् ?
ती शब्दका प्रहार सहनलाई होइनन्
वास्तवत: पुजिनलाई हुन्।
यसको प्रमाण हो -
च्यात्तिएको छैन खोल।
जो सहज यात्री छन्
सुन्नू -
तिनको बजेको सासमा
अन्तराल अन्तरालमा
ईश्वरले पनि वाणी थपेको हो कि
जस्तो लाग्ने छ।
ईश्वर बस्छन्
उँचाईमा,
गहिराईमा,
तालमा,
फाँटमा
विस्तृत्तामा
सङ्कुचनमा
लयमा
तानमा
बलाघातमा
स्वरमा
माधुर्यमा
ईश्वर कहाँ कहाँ
बस्छन् बस्छन् !
मान्छेको
संवेदनामा ईश्वर बस्छन्।
तिमीलाई त्यही
ईश्वरको सम्झना गराइदिने छ
तिनका लय संयोजनले
शब्द संयोजनले
कोही आउने छन्
संवेदना र शून्यताका सर्जक्।
मानवताका पूजारी!
चरादेखि मुसा सबैमा
आफूलाई नै विभाजित देख्ने।
तर
यो शर्त छ कि -
तिमी हारजीतको होडमा
पर्दै-नपर्नू
हारजीत, हारजीत भनेर
यहाँ मान्छेले
कि घात गर्ने
कि घात सहने
कि रेफ्री
कि कोच मात्र जन्मायो ।
सारा फूलबारी नै
अखडा बनायो।
फूलको बिरूवाहरू
एकअर्कालाई पछार्दै
लात्ताले उदिन्यो ।
ल्यापटप अघि
राखेर
तिम्रो माइण्डवास् गरियो
यन्त्र बनायो
- बटनमा ताली मार्ने बनायो।
तिम्रा सही मार्गदर्शकले
जीवनका अनुभव खोल्छन्
भीसीआर होइन।
तिमी बुझ्न खोज्छौ भने
कुनै ऋषिको कुरा
कुनै मर्मज्ञको कुरा
कविको कुरा
यात्रीको कुरा
अनुसन्धाताका कुरा
आविष्कारकका कुरा
अनुभवले पाकेका
सेता कपालहरूका कुरा
साधकका कुरा
शिक्षकका कुरा
आफूलाई
अझै दुख्ने
अझै दुख्ने
अझै दुख्ने
बनाउँदै जानू।
पूर्व तयारी गर्दै जानू।
अनि मात्र हामी
त्यहाँ पुग्ने छौँ -
ती सर्जक-यात्री गएतिर...।
तर तिमीले यो यात्रामा
आफूलाई नलिई आउनू है!
अनि यो पनि नसोध्नू कि
'हामी समूहमा कतिजना छौँ ?'