17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पूर्वाञ्चल भारतका अथक साहित्य साधक श्री के.बी. नेपाली

व्यक्तित्व / कृतित्व डा. राजकुमार छेत्री January 21, 2023, 4:39 am

‘वैलिएर जान्छन् फूलहरू, चिसेनी पाखा हिँउदामा ।
मरेर जान्छन् प्रतिभाहरू, चिन्दैनन् मानिसले जिउँदामा ।’
प्रेम शेर्पा विरोकी (तरंग, लहर र छालहरू)

बिन्दु साहित्यिक पत्रिकाका सम्पादकको रूपमा नै प्रथमपल्ट मैले चिनेको के. बी. नेपाली दाइ, उहाँ मेरा निम्ति सदा आदरणीय र अनुकरणीय व्यक्ति हुनुहुन्छ। उहाँलाई मैले आजसम्म जम्माजम्मी दुईपल्ट मात्र भेट्ने सौभाग्य पाएको छु। भेटेर पनि जमेर धितमरूञ्जेल साहित्य र समाज विषयक गफ गर्न भने हामी दुवैलाई समयले साथ दिएन। उहाँसित मेरो पहिलो भेट नेपाली साहित्य सम्मेलन दार्जिलिङले उहाँको नेपाली भाषा र साहित्यप्रतिको अथक योगदानको कदर गर्दै उहाँलाई नेपाली साहित्य सम्मेलन पुरस्कारले अलङ्करण गरिएको थियो। उहाँलाई उक्त पुरस्कार २५ मई २०१६ को दिन नेपाली साहित्य सम्मेलनको ९२ औं स्थापना दिवसको अवसरमा उहाँलाई एक भव्य कार्यक्रममा प्रदान गरिएको थियो। उक्त सम्मेलन पुरस्कार गर्न आउँनु हुँदा मञ्चमा भेटेर बधाई भन्नसम्म मात्र समय जुरेको थियो। त्यसै दिन विश्वविद्यालयको जुरूरी काममा म दार्जिलिङ शहरदेखि बाहिरिनु परेकोले उहाँसित बसेर राम्रोसित गफ गर्नै पाइनँ। उहाँ त्यति टाडादेखि नेपाली साहित्य सम्मेलनको सादर निम्तोमा पाउकष्ट गरेर दार्जिलिङ आउनुभो तर दार्जिलिङमा बस्ने म सानो भाइ विभागीय अभिभारलाई पालन गर्नु पर्ने हुँदा उहाँलाई दर्शन मात्र दिएर सिलगढीतिर झरें। भेटेर पनि दुःख-सुखको लामो गफ गर्न नपाएकोमा भने म आफैलाई विस्वाद लागिरह्यो, धेरै दिन मात्र होइन आजसम्म पनि बेरमाइलो लागिरहेछ।

दोस्रो भेट चाहीँ असमको तेजपुरमा भएको हो तर हामी दुवैको नियति चाहीँ दार्जिलिङमा जस्तै भयो। असम नेपाली साहित्य सभाले तेजपुरमा तीन दिवसीय (अप्रेल महिनाको१४,१५ र १६, सन् २०१८) भारतीय नेपाली साहित्यकार भेलामा सहभागी बन्न निम्तो गरेको थियो। यसै विराट साहित्यिक भेलाको अवसरमा समकालीन भारतीय नेपाली साहित्यका प्रवृत्ति विषयमा राष्ट्रिय सङ्गोष्ठी पनि आयोजन गरिएको थियो। यस साहित्य सङ्गोष्ठीमा भारत भरिबाट जम्मा १६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। उक्त साहित्य सङ्गोष्ठीमा मेरो पनि समकालीन भारतीय नेपाली कथाका प्रवृत्ति विषयक कार्यपत्रको प्रस्तुति रहेकाले हाम्रो समूह १३ अप्रेल बेलुकी नै तेजपुर पुगेका थियौं। कार्यक्रमको पहिलो दिन गुवाहाटी विश्वविद्यालयमा राजनीति विज्ञानका मेरा विद्वान प्राध्यापक मित्र डा. जयन्तकृष्ण शर्माज्यूको हातबाट मेरो चौथो समालोचना सङ्ग्रह दृष्टिपथ (सन् २०१८) लगायत जम्मा १२ वटा पुस्तकको एकैसाथ लोकार्पण सम्पन्न गरिएको थियो। यसै कार्यक्रमको अवसरमा के. बी. दाइसित दोस्रो चोटी भेट भएको हो। नमस्कारको आदान-प्रदानपछि भरे बसेर मज्जाले गफ गरौं भन्ने सर्तमा हामी त्यसबेला चुपचाप बसेर कार्यक्रममा मनोयोग दियौं । बसेर मज्जाले गफ गरौंला भनिएको बेलुकी भने यस चोटी पनि अहँ आएन। बेलुकी साथीहरूसित घुम्न निस्कियौं र हामीलाई चिनारू तेजपुरका साहित्य महानुभवहरूले डिनरको निम्ति निम्तो गर्नु भएकाले मेजमानतिर लाग्यौं र अबेर गरी होटलमा आएर विश्राम लियौं। बिहानतिर के.बी. दाइसित सम्पर्क गर्न खोजेको तर उहाँ त अघिल्लो दिन नै काम विशेषले गर्दा तेजपुरबाट विदा लिइ सक्नु भएको रहेछ।

के.बी. दाइसित बसेर मनचिन्ते साहित्य विषयक गफ गर्न नपाए पनि हामीहरू दुवैले फोनमा पटक पटक लम्बेतान गफ गरेका छौं। बिन्दु पत्रिकाका लागि उहाँले पटक पटक रचना सहयोगको निम्ति अनुरोध गर्नु भएको हो र मैले पनि यता दार्जिलिङबाट धेरैचोटी समालोचना, पुस्तक-वार्ता, कविताहरू पठाएको छु। उहाँको आग्रह र प्रेमालु आदेश पाएपछि र आफूले पठाए जति साहित्यिक रचनाहरू बिन्दुका विभिन्न अङ्कहरूमा छापिएकै पनि छ। बिन्दु पत्रिकाबाहेक उहाँले आफ्ना सिर्जनात्मक र अनुदित थुप्रै कृतिहरू डाकबाट सम्झना स्वरूप पठाउनु भएको छ। मैले पनि हालसम्म प्रकाशित छ-सातवटा समालोचनात्मक र सम्पादित कृतिहरू प्रकाशनमा आउने बितिकै पठाउँदै आएको पनि छु। यसरी पनि हामी दुवैमा शारीरिक भेटघाट भन्दा पनि पुस्तक मार्फत भेटघाट, बौद्धिक र साहित्यिक भेटघाट भने धेरै अघिदेखि हुँदै आइरहेकै हो। उहाँले आफ्नो घर लामडिममा खाने-बस्ने गरी वर्षौंदेखि बोलाउनु भएको पनि धेरै चोटी नै भइसक्यो। तर खै हामी दुवैलाई त्यो दिन जुरेकै छैन। यसै सिलसिलामा सिलगढीबाट डा. जीवन राणा सर र डा. सुकराज दियालीज्यूले के.बी. नेपाली अभिनन्दन ग्रन्थ प्रकाशनको योजनामा लागिपरेको र त्यसको निम्ति एउटा गहकिलो लेख पठाइदिनका निम्ति आग्रहसहित जानकारी गराउनु भयो। डा. राणा सर र डा. दियालीलाई रचना दिन्छु र लेख्छु त भने तर नेपाली दाइका प्रकाशित कृतिहरू भेला गरेर पढ्दा-पढ्दै र अरू विभागीय कामहरूमा समय दिँदा नै निकै अबेर भइसकेछ।

खड्ग बहादुर पौड्याल-(छेत्री)ज्यू कालान्तरमा आफ्नो वास्तविक नामले भन्दा छोटो-छरितो के.बी. नेपाली नामले नै नेपाली साहित्य जगतमा सर्वपरिचित हुनुभयो। उहाँले साहित्य लेखनको सुरुतिर खड्ग बहादुर अभागा लेख्ने गरेको पनि देखिन्छ। पूर्वाञ्चल भारतको तीनसुकीया जिल्लान्तर्गत डिगबोईको मुलियाबारी भन्ने ठाउँमा १६ नवम्बर सन् १९३९-मा जन्म ग्रहण गर्नुभएका नेपालीज्यूको सन् १९६० सालमा नव अश्रु नामक खण्डकाव्य प्रथमपल्ट प्रकाशनमा आएको देखिन्छ। सन् १९५६ सालतिर प्रश्नवाचक शीर्षक कविता लेखेर साहित्यलेखनमा प्रवेश गर्नुभएका के. बी. नेपालीज्यूका नव अश्रु-(खण्डकाव्य)को प्रकाशनपछि सन् १९६४ मा विरही (कविता सङ्ग्रह), सन् १९७० मा प्लेटफार्म (ऐतिहासिक काव्य), सन् १९८३ मा अनुराग (गीत सङ्ग्रह), सन् १९९५ मा भत्केको घर (कविता सङ्ग्रह), सन् २००१ मा अनियन्त्रित मन (कविता सङ्ग्रह), सन् २०१४ मा मानवताको शब्दकोश (कविता सङ्ग्रह) तथा सन् २००४ मा मेघदूत (कालिदासकृत महाकाव्य नेपाली भाषामा अनुवाद) नामक काव्यकृतिहरू प्रकाशनमा आइसकेका छन् ।

कविता-गीत लेखनका अतिरिक्त उहाँका हालसम्म प्रकाशित आख्यान कृतिहरूमा सन् १९६५ मा मेरो घर मेरो संसार (उपन्यास) र समर्पण (राष्ट्रिय उपन्यास), सन् १९७३ मा तस्वीर एक रातको (उपन्यास) तथा सन् १०७० मा कल्पना (कथा सङ्ग्रह), सन् १९९१ मा भोक-मृत्यु–सङ्घर्ष (कथा सङ्ग्रह) प्रकाशित छन् भने महासती गोमा (धार्मिक नाटक, सन् १९९४) केही कवि-साहित्यकारहरू र विविध लेखहरू (सङ्क्षिप्त अध्ययन, सन् २०१०) तथा हत्याकारी (असमीया भाषामा लघु-उपन्यास, सन् १९९२) र समपर्ण (हिन्दी उपन्यास, सन् २०१४) आदि शिरोनामित साहित्यिक कृतिहरू पनि प्रकाशनमा आइसकेका छन्। यसका अतिरिक्त श्री नेपालीज्यूका दर्जनौं रचनाहरू हिन्दी, असमीया, उड़िया, अङ्ग्रेजी, बङ्गला, मणिपुरी प्रभृति भाषामा अनुवाद भइ प्रकाशनमा आइ सकेका छन्।

दाइ के.बी. नेपालीका धेरै जसो साहित्यिक कृतिहरू मसित सुरक्षित रहेछन् तर कतिवटा कृति भने सङ्ग्रह गर्न र अध्ययन गर्न छुटाएको पनि रहेछु। उहाँका साहित्यिक कृतिहरूमध्ये विशेषगरी कथा र औपन्यासिक कृतिहरू भने कृति पाउन साथ पढेको पनि हूँ र कति चाहीँ पढ्न नभ्याएको रहेछु। बिन्दु पत्रिकाका सम्पादक-प्रकाशक नेपालीज्यू नेपाली भाषा-साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धनमा निरन्तर रूपमा लागिपर्ने अथक साहित्य साधक हुनुहुन्छ, मौन साहित्य सेवी हुनुहुन्छ। साहित्यिक पत्रकारिताका साथसाथै कविता-गीत, कथा-उपन्यास तथा अनुवाद कार्यमा समेत सरिक रहेर पूर्वाञ्चल भारतको नेपाली साहित्यलाई अग्रगति दिने साहित्यकारहरूमा उहाँ अग्रपङ्गतिमा दरिनुहुन्छ। नेपाली भाषा-साहित्य र जातिप्रतिको प्रेम र श्रद्धाको भावनाले अभिप्रेरित भई कटिबद्ध भएर लाग्नु भएका नेपालीज्यूको साहित्यिक योगदानको यथोचित मूल्याङ्कन भने हुन सकेको छैन। यो हाम्रो जाति र समाजको विडम्बना नै हो। यसैले प्रेम शेर्पा विरोकीको एउटा कविता मुक्तकको सम्झना घरिघरि आइरहन्छ।

के. बी दाइको दुईवटै कथाकृति धेरै वर्षअघि पाउन साथ मैले एकचोटी अवश्य पढेको हूँ तर आज पढेको धेरै कुरा संस्मरणमा रहेनछ। खोजेर ती पुस्तकका पानाहरू फेरि सरसर्ती पल्टाउन थालेँ। कल्पनाभित्र किस्मत, स्मृति, शान्ता पुनः उसकी भई, सत्य, म तिमीलाई प्रेम गर्छु, आत्महत्या, एउटा दुःख एउटा हाँसो, संयोग, तबाह, कल्पना र हतभागीको अन्त्य शीर्षक एघारवटा कथाहरू सङ्कलित छन् भने भोक-मृत्यु-संघर्षमा पनि एक जिज्ञासा एक हल, एक कल्पनाको सत्य रूप, मिलन, ठेस, प्रायश्चित, विधान, शहीद, समाधान, भोक-मृत्यु-संघर्ष, म खुनी हूँ, दहेजः एक आत्महत्या शीर्षकका एघारवटै कथाहरू सङ्गृहीत छन्। यी जम्मै जसो कथाहरूमा आफूले देखे-भेटे र भोगेका जीवन-जगतका विषयहरूलाई सकेसम्म यथार्थ ढङ्गमा प्रस्तुत गर्न खोजिएको भेटिन्छ। उहाँका अधिकांश सामाजिक यथार्थवादी ढाँचामा लेखिएका कथाहरूमा ग्रामीण परिवेश र निम्मवर्गीय जनजीवनको यथार्थ चित्रण पाइन्छ। यी कथाहरूमा पारिवरिक कतिपय अल्झो र बल्झोहरू, गाँस-बास–कपासको दैनन्दिन समस्या तथा नारीप्रति विविध प्रताडनालाई केन्द्रिय भावभूमिमा राखेर अध्ययन-अनुशीलन गर्ने प्रचेष्टा गरिएको भेटिन्छ। कथाकार नेपाली दाइको भोक-मृत्यु-संघर्ष, मिलन, तबाह, आत्महत्या, म खुनी हूँ, हतभागीको अन्त्य, दहेजः एक आत्महत्या प्रभृति शीर्षक कथाहरूमा सामाजिक विसङ्गति र विकृति, अन्याय र अत्याचार, अनाचार र दुराचार, शोषण र दोहनलाई जति सक्दो नाङ्गो रूपमा प्रस्तुत गर्ने धृष्टता गरिएको छ भने शहीद, एक जिज्ञासा एक हल आदि कथाहरूमा भारतीय गोर्खा सैनिकहरूले देश रक्षाको निम्ति गरेको बलिदानको सन्दर्भलाई प्रकाश पारिएको छ।

कथाकार नेपालीज्यूका कथाकारिता तथा साहित्य साधनाबारे समालोचक ज्ञानबहादुर छेत्रीजी, श्री डम्बर दाहालजी, प्रा. घनश्याम तिम्सिनाजी र डा. दैवकी देवी तिम्सिनाजी लगायत अन्य धेरैले विद्वान अध्येताहरूले गहकिलो अध्ययन विश्लेषण गरी धेरथोर मूल्याङ्कन गरिसकेका छन्। यस लेखमा आदरणीय विद्वान अध्येता एवम् समालोचक श्री ज्ञानबहादुर छेत्रीजीले के.बी.नेपाली तथा नेपाली साहित्यमा उनको अवदान शीर्षक समालोचनात्मक लेखमा एक ठाउँ लेख्नुहुन्छ- ‘कथाकार नेपालीले उनका कथामा माध्यममा असम तथा भारतीय नेपालीहरूका सामूहिक समस्यालाई औंल्याएर ती समस्याहरूका निम्ति नेपालीहरू सांगठनिक रूपले एकत्रित भएर आन्दोलन गर्ने कुरामा पनि जोड़ दिएका छन्, एक कल्पनाको सत्य रूप शीर्षक कथामा यस्तै कुरा पाइन्छन्। नेपालीका केही यौन समस्याका कथाहरूलाई मनोविज्ञानमा आधारित कथाका रूपमा लिन सकिन्छ। उनका कथामा उच्चवर्ग तथा निम्नवर्गका पात्रहरू यौनकर्ममा लिप्त भएको पाइन्छ तर भिन्न कारणमा। उच्चवर्गका मनोरञ्जन एवम् काम वासना मेटाउन यौन कार्यमा लिप्त भएको पाइन्छ भने निम्न वर्गका पात्रहरू आर्थिक दुरावस्था एवम् विवशताजनित कारणमा यौन कार्यमा संलग्न हुनु परेको देखाइएको छ। आत्महत्या शीर्षक कथामा महाजनको छोराले उषालाई गरेको बलात्कार, तबाह कथामा जेठाज्यूले भाइ-बुहारी (राजेश्वरी)सँग यौन सम्पर्क गर्नु, प्रायश्चित कथामा निर्मलाले झिल्केसँग यौन सम्पर्क गर्नु अनि उसैसित पोइल जानु, ठेस कथामा लोग्नेबाट सन्तुष्ट नभएर पर पुरूषसँग सम्भोग गर्नु आदि अतृप्त कामवासनाका प्रसङ्गहरूमा मनोविज्ञानका कुरा नै अभिव्यक्त भएको देखिन्छ।’

सोही क्रममा कथाकार नेपालीज्यूको कथालेखन एवम् शिल्प-प्रवृत्ति सम्बन्धमा प्रा. घनश्याम तिम्सिनाज्यूको साहित्यकार के.बी. नेपालीका जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षक आफ्नो लघु शोधप्रबन्धमा यसप्रकार लेख्नुहुन्छ- ‘कथाकार के. बी. नेपालीले कल्पना र भोक-मृत्यु-संघर्षका कथाहरूमा उच्च, निम्न र निम्न मध्यमवर्गीय पात्रको यथार्थ चित्रणद्वारा आफ्ना कथाका कथावस्तु निर्माण गरेको देखिन्छ। उनी विशेषतः प्रगतिवादी यथार्थवादी कथाकार भएकाले आफ्ना कथाहरूमा निम्नवर्गीय विरह-व्यथा पोखेर उच्च वर्गको रवाफीपनलाई तीव्र व्यङ्ग्य गर्न पुग्दछन्। यहीँ उनका कथाहरूमा पाइने कथावस्तुको मूल उपादेयता देखिन आउँछ।’

के.बी. नेपाली एकजना कुशल सम्पादकका रूपमा स्थापित व्यक्तित्व हुन्। सन् १९६० सालदेखि बिन्दु पत्रिका त्रमासिक साहित्यिक पत्रिकाको रूपमा सुरु भए पनि आजसम्म त्रमासिक-अर्द्धवार्षिक-वार्षिक विभिन्न रूपमा निरन्तर प्रकाशनमा आइरहेको देखिन्छ। पूर्वाञ्चल भारतमा विभिन्न ठाउँमा छरिएर बसेका नेपाली भाषी पाठकहरूमा विशेषगरी नेपाली मातृभाषामा पठन-पाठन गर्ने सुयोग-सुविधा नपाएका नेपालीहरूमा नेपाली भाषा-साहित्यप्रति जागरूकता गराउनमा बिन्दु पत्रिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। बिन्दु पत्रिकाले नवीन-प्रवीण, ब्रह्मपुत्रवारी- ब्रह्मपुत्रपारी, देशभित्र-देशबाहिर सबै क्षेत्रका लेखक साहित्यकारहरूलाई यथोचित स्थान दिएको देखिन्छ। बिन्दुका हरेक जसो विशेषाङ्कहरू नेपाली साहित्यमा प्राज्ञिक तहमा समेत चासो राख्ने शोधार्थी-विद्यार्थीहरूलाई निकै सहयोगी र सन्दर्भ ग्रन्थको रूपमा लिन सकिन्छ।

स्नातकोत्तर नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालय।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।