16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्युठान साहित्य महोत्सवः थोरै अनुभव, धेरै अनुभूति

नियात्रा डा.कृष्णराज अधिकारी January 21, 2023, 4:49 am
डा.कृष्णराज अधिकारी
डा.कृष्णराज अधिकारी

कुनैपनि व्यापार–व्यवसाय, कृषि र उद्योगजन्य उत्पादनहरूको प्रचार–प्रशार गर्दै त्यसको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले मेला तथा उत्सवहरूको आयोजना गर्ने प्रचलन धेरै पुरानो हो । संभवतः कृषियुगको सुरुवात भएपछि कृषिजन्य उत्पादनहरूको वृद्धि हुँदैजाँदा बढी भएको वस्तु विक्री तथा सट्टा–पट्टाका लागि मानिसहरूलाई भेला गराउन विभिन्न मेलाहरूको आयोजना गर्ने गरिन्थ्यो । अहिले पनि नेपालका कतिपय ठाउँमा लाग्नेगरेका हाट बजार र मेलालाई त्यसैको अवशेषका रूपमा लिन सकिन्छ । पछि औद्योगिक र कृषिजन्य उत्पादनको विस्तारसँगै त्यसको प्रचार–प्रसार र बजारको खोजी हुन थाल्यो । वैदेशिक व्यापार र बहुराष्ट्रिय कम्पनीहरू त्यसैका उपज थिए । बजार विस्तार र प्रभावका लागि होडबाजी, द्वन्द्व र युद्धसमेत हुन थाल्यो ।
अन्य उत्पादित सामग्रीझैं किनबेच र नाफाको वस्तु नभएपनि पछिल्लो समयमा आउँदा भौतिक मूल्यमा मापन नहुने कला–साहित्यमा समेत बजारको प्रभाव पर्दै गएर त्यसको बजारीकरण गर्न थालिएको छ । अहिले सामाजिक र मानवीय आवश्यकताभन्दा बजारको आवश्यकता र रूचि अनुरूप लेख्ने र त्यस्तै प्रकृतिका बिकाउ पुस्तकहरू प्रकाशन गरी तिनको बजारीकरण गर्ने प्रवृत्ति मौलाइरहेको छ । साहित्य लेखनको उद्देश्य आफ्ना विचार र भावनाहरू कलात्मक रूपमा पाठक समक्ष पु¥याउनु भएकाले अरु समक्ष पु¥याउनकै लागि पनि प्रचार–प्रशारको आवश्यकता पर्छ । यसैले प्रचार–प्रशार आफैंमा नराम्रो र अनावश्यक हुँदैन । तर, प्रचार–प्रसार पाउनुपर्ने असल कर्म र वस्तु उपेक्षित रहनु अनि अनावश्यक वा खराव वस्तु र कर्मको बढी प्रचार हुनुले मानिसलाई दिग्भ्रमित र आडम्बरी बनाउँदै लगेको छ । पछिल्लो समयमा आउँदा विभिन्न देशमा पुस्तकहरूको मेला तथा कला–प्रदर्शन मात्र होइन साहित्य महोत्सवहरू समेत हुन थालेका छन् । नेपालमा पनि केही बर्षदेखि विभिन्न संस्था तथा प्रकाशन गृहहरूले आ–आफ्नै उद्देश्य र स्वरूपमा यस्तो आयोजना गर्दै आएको पाइन्छ ।
नेपालमा गणतन्त्रात्मक सङ्घीय शासन व्यवस्था सुरु भइसके पनि अझै हरेक अवसर र कार्यक्रम, स्रोत र साधन अनि सोच र चिन्तन काठमाडौं वा राजधानी केन्द्रित नै देखिन्छ । राजधानी वा काठमाडौंले नदेखेका र नचिनेका कला–साहित्य र त्यसका साधकहरू देशका विभिन्न ठाउँमा उपेक्षित र किनारीकृत अवस्थामा रहेका छन् । यिनलाई उजागर गर्नका लागि आयोजना गरिने कला–साहित्य महोत्सव अवश्य नै सार्थक र महत्वका रहने गर्दछन् । तर अधिकांश साहित्य महोत्सवहरूले भने बाहिरका कुनै सेलिब्रिटीलाई बोलाउने र कुनै प्रकाशक, कम्पनी वा व्यक्तिको व्यापार प्रवद्र्धन गर्ने उद्देश्य राख्ने गरेका हुन्छन् । ठूलो रकम खर्चेर गरिने यस्ता कार्यक्रमले साहित्यिक प्रवद्र्धनभन्दा कुनै संस्था विशेषको व्यावसायिक प्रबद्र्धन मात्र गर्ने गरेको पाइन्छ । यसैले मैले त्यस्ता महोत्सबप्रति खासै रूचि र चासो राख्ने गरेको छैन ।
तर, २०७९ को भदौ अन्तिमतिर आएको बालसाहित्यकार विजयराज आचार्यको फोनले मनलाई बेग्लै किसिमले तरङ्गित बनाइदियो । उक्त फोन असोज ११ देखि १३ सम्म प्युठानमा हुने तीन दिने साहित्य महोत्सबमा सहभागिताका लागि आमन्त्रण थियो । आयोजक, अतिथि, सहभागी, कार्यक्रमको उद्देश्य र ठाउँ बुझ्दै जाँदा म हरेक दृष्टिले उत्साहित भएँ । त्यहाँ कुनै सेलिब्रिटीलाई बोलाएको थिएन र कुनै व्यापारी वा व्यावसायिक संस्था आयोजक थिएनन् अनि कार्यक्रम पनि कार्यक्रममुखीभन्दा बढी अवलोकनमुखी थियो । अझ देशको एउटा सुदूर पहाडी जिल्लाको साहित्य–संस्कृतिलाई काठमाडौंसँग परिचित गराउन खोजिएको थियो । म नेपालका पचासभन्दा बढी जिल्ला टेकेको भएपनि प्युठानसहितका केही पहाडी र हिमाली जिल्ला भने पुगेको थिइन । प्युठानसँग जोडिएको राजनीतिक आन्दोलन र नेतृत्वले किशोर उमेरमै एकखाले रोमान्चकता पैदा गरिदिएको थियो । मोहनविक्रम सिंहले गाउँका गरिव असामीहरूको ऋणको तमसुक च्यात्दै आफ्नै बाबु विरुद्ध विद्रोह गरी घरबाट निस्केको, त्यतिबेलै एम.ए. पास गरेर पनि कुनै जागिरतिर उन्मुख नभएको, भव्य दरबार र त्यहाँको सुखभोग त्यागेर जनताको मुक्तिका लागि जेल र प्रवास रोजेको जस्ता तिलस्मी कुराहरू सुनिने गर्थे । कतिपयले उनलाई नेपालको लेनिन समेत भन्ने गरेको सुनिन्थ्यो । यसैले नयाँ जिल्ला घुम्ने चाहना र कार्यक्रमको स्वरूपले पनि म उत्साहित भएको थिएँ । यसैले केही व्यवहारिक कठिनाइका बाबजूद मैले उक्त निम्तोलाई तुरुन्तै स्वीकारीदिएको थिएँ । पछि डा. गोपीन्द्र पौडेल र समिर सिंहले समेत फोन गरेर सहभागिताको सुनिश्चितता खोज्नुभएको थियो ।
कार्यक्रममा सहभागी हुन गोरखाबाट खगेश्वर सापकोटा र तनहुँबाट अनिल श्रेष्ठ जाने भएपनि पोखराबाट जानेमा सुरुमा मेरो मात्र नाम रहेछ । पोखराका अरु साथीहरू पनि भैदिए लामो यात्रा सहज हुने लागेर आयोजकमध्येका विजयराज अधिकारीलाई कुरा राखें । संयोगवस भीम रानाभाट र नारायण मरासिनीको नामसमेत थपिएपछि म थप उत्साहित भएँ । बस दिउँसो ३ बजे काठमाडौंबाट प्युठानका लागि छुट्ने भएकाले हामीहरू उक्त बसलाई भेट्न मुग्लिन पुग्नुपर्ने थियो । यसैले बसलाई कुराउनु हुँदैन भनेर बसलाई काठमाडौंदेखि मुग्लिन आइपुग्ने अवधि हिसाव गर्दै ३ बजे नै पोखराबाट हिँड्यौं । आँबुखैरेनीबाट अनिल श्रेष्ठ र खगेश्वर सापकोटा पनि त्यही बसमा चढ्नुभयो । हामी सात बजे मुग्लिन झरेर बसको प्रतीक्षा गर्न थाल्यौं । तर बस त बल्ल थानकोट झरेको खबर आयो । ओहो ! अझै कम्तीमा तीनघण्टा कुर्नुपर्ने भयो । एउटा होटलमा झोला राखेर मुग्लिन वरपर सन्ध्या भ्रमण गर्न थाल्यौं ।
मुग्लिनको पुरानो पुल, त्यहाँ नदीको आवाज र त्यसको प्रवाहलाई नजिकैबाट हेर्न मिल्ने गरी बनाइएका झकिझकाउ होटल–रेस्टुरेन्टहरू, अनि तिनका अघिल्तिर पार्किङ गरिएका चिल्ला र महङ्गा गाडीहरू । केही झण्डावाल गाडी पनि थिए त्यहाँ । नम्बर प्लेट हेरेर हामीले अनुमान लगायौं, गण्डकी प्रदेशका कुनै मन्त्रीहरूका होलान् र तिनले त्यहाँको माछा र रक्सीको चुस्कीसँगै प्रदेशको बजेट कार्यान्वयन बारेमा सोचिरहेका होलान् ! बस झट्ट नआउने भएपछि हामीले झोला राखेकै होटलमा खाना खायौं । प्रतीक्षा गर्दा–गर्दा पट्यार लागेर समिरसिंहलाई फोन गर्दा उहाँहरू बल्ल कुरिनटार आएर खाना खान लाग्नुभएको रहेछ । अझै एक घण्टाजति कुर्नुपर्ने भयो । धन्न हामी पाँच जना थियौं र पट्यारलाई विभिन्न छलफल र गफमा मोडिदियौं । अन्यथा एक्लै भएको भए यति लामो प्रतीक्षा गर्न ठुलै कष्ट व्यहोर्नुपथ्र्यो ।
अन्ततः रातीको दश बजे बल्ल आइपुग्यो बस । दशैंको नजिक भएकाले बस खचाखच भरिएको मात्र होइन सिट नपुगेर कोही मुडामा, कोही झोला र बोरामाथि बसेका देखिन्थे । हामीलाई पछाडिका केही सिट राखिएको रहेछ । बसमा महोत्सबमा सहभागी हुन जाने टोली मात्र नभएर अरु यात्रीहरू समेत थिए । हामी भ्रमण टोलीका आफ्नै उत्साह, कुतूहलता र चाहना थिए भने अन्य यात्रीहरूका पनि आ–आफ्नै समस्या र अप्ठेराहरू थिए । दशैंको मुखमा कतिलाई खर्च जुटाउने चिन्ताले पिरलेको होला भने कतिपयलाई पारिवारिक मिलनको खुसीले उत्साहित तुल्याएको पनि होला । आमाको निधनको खबर पाएर काठमाडौंबाट आएको एकजना यात्रु अन्त्येष्टि भेटाउन आत्तिइरहेको थियो । आमाको शवलाई घाटमा पु¥याएर छोराको प्रतीक्षा गरिरहेका मलामीहरू । शव जलाउन ढिलो भएको भन्दै छिटो आउन बारम्बार ताकेता आइरहेकाले ऊ फोन आएपिच्छे हतास हुन्थ्यो । उसको पीडा र छट्पटी बुझ्न सकिन्थ्यो । एकातिर आमाको मृत्युको शोक अर्कातिर अन्त्येष्टि पनि नभेटाइने हो कि भन्ने चिन्ता ! उसको सकस बुझेर पनि हामीले कुनै सहयोग गर्नसक्ने अवस्था थिएन । बाटोको अवस्था अनुसार गाडी यथासक्य हिँडिरहेकै थियो ।
भोलिपल्ट बिहान ६ बजेतिर गाडी भालुवाङ पुग्यो । अघिल्लो दिन बेलुका त्यहाँ बस्नुभएका विजयराज आचार्य त्यहीँबाट गाडी चढ्नुभयो । शौचादि कर्म र चियाको लागि कतिखेर बस रोक्छ भनेर प्रतीक्षा गर्नेहरूको धैर्यता गुम्न थालेको थियो । उपयुक्त ठाउँमा गाडी रोक्न यात्रुहरूले गरेको अनुरोध ड्राइभरले सुनेको नसुन्यै गरी गाडी गुडाइरह्यो । सबै कराएपछि बल्ल एउटा खोल्सा जस्तोमा पाँच मिनेटका लागि रोक्यो । त्यहाँ न कुनै पसलहरू थिए, न कुनै शौचको सुविधा । ‘यति लामो बाटोमा यात्रुहरूको अवस्थालाई पटक्कै नबुझ्ने कस्तो खालको ड्राइभर रहेछ’— धेरैले गुनासो गरे । भालुवाङ र त्यसदेखि पश्चिमतिर छिचलेपनि म राप्तीको उत्तरी भेकतिर भने गएको थिइन । त्यसैले गाडी भालुवाङबाट मोडिएपछि मैले त्यहाँको भौगोलिक–प्राकृतिक अवस्थालाई झ्यालबाट नियालिरहें । सरुमारानी, चकचके, माण्डवी, जसपुर लामाचौर, खैरा गाउँ, क्वाडी जस्ता बाटोमा पर्ने कतिपय गाउँहरू हेर्दै रमाइरहें । हरेक ठाउँका नाम त्यहाँको भौगोलिक बनावट, नदी, ऐतिहासिक सन्दर्भ, बसोबास गर्ने जाति, ठाउँको विशेषता जस्ता आधारमा राखिएको हुन्छ । मलाई ‘सरुमा रानी’ गाउँको नाम र ऐतिहासिकताका बारेमा स्थानीय बासिन्दासँग सोध्न मन लागेको थियो तर मेरो इच्छाले मात्र बाटोमा बस रोक्ने अवस्था थिएन ।
आहा ! कति सुन्दर गाउँहरू । बारीका कान्लाहरूमा विभिन्न जातका डाले घाँसहरू । सम्म परेका बारीका लामा लामा पाटाहरू । जता हे¥यो उतै हरियाली ! कतै पनि नाङ्गा भीर र काला डाँडाहरू देख्न नपर्ने । कति रसिलो पाखो ! यहाँको माटोलाई रसिलो र उर्बर बनाउन नजिकै बगिरहेका माडी र झिमरुक नदीको मुख्य भूमिका हुनुपर्छ । यिनै नदीहरूले वरपरका फाँटलाई सिँचित गर्दै पहेंलपुर धान उब्जाइरहेछन् । यी नदी हुँदैनथे भने प्रकृति यति सुन्दर र हरियाली हुने थिएन । मैले टेकेका जिल्लाहरूमध्ये जैविक विविधता, प्राकृतिक सुन्दरता र प्रचुर उर्वरता भएका जिल्लामध्ये अग्रतामा पर्छ यो जिल्ला । यसकै छिमेकी जिल्ला पनि यति धेरै उर्वर छैनन् कि भन्ने लाग्छ । नदीको महत्व बुझेर नै मानिसले प्राचीन कालदेखि नदी किनारमा बस्ती विस्तार गर्दै ठूला शहरहरू बनाएको थियो । यसैले होला नदी किनारमै मानव सभ्यताको विकास भएको । गंगा नदीप्रतिको आस्थालाई गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू जीवनको अन्तिम (?) पत्रमा आफ्नो अस्थि गङ्गामा बगाउने इच्छा व्यक्त गर्दै यसरी लेख्छन्— ‘.....म चाहन्छु, साँचो हृदयले चाहन्छु, म मरिसकेपछि मेरा लागि कुनै धार्मिक रीति पूरा नगरियोस् । म यस्ता कुरामा विश्वास गर्दिन र रीति मात्र मानेर त्यसमा बाँधिनुलाई धोका मान्छु ।... यदि विदेशमा भएको बेला मृत्यु भएमा मेरो शरीरलाई त्यहीँ जलाइयोस् र अस्थिलाई इलाहवाद पठाइयोस् । त्यसमध्ये एकमुठी खरानी गङ्गामा बगाइयोस् । ...गङ्गामा अस्थिको केही हिस्सा बगाउनुको इच्छाको पछाडि मेरो कुनै धार्मिक आग्रह होइन । यसमा मेरो कुनै धार्मिक भावना जोडिएको छैन । ...यो जनताको प्रिय नदी पनि हो । यही नदीसँग भारतको जातीय स्मृति, आशा र भय, विजयगान, विजय र पराजय गाँसिएको छ । गङ्गा त भारतको प्राचीन सभ्यताको प्रतीक हो, सधैं बगिरहने, सधैं बदलिरहने, फेरि पनि सधैं उस्तै गङ्गा ।’ झिमरुक नदीसँग जोडिएको एउटा लोककथालाई लिएर वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहले पनि एउटा काव्य नै तयार पारेका छन्—‘झिमरुक नदी र चिबे चराको कथा ।’ धेरै पहिला पढेको त्यस काव्यले मलाई निकै प्रभावित पारेको थियो र पछि एउटा समीक्षा पनि लेखेको थिएँ । मैले झिमरुक नदी हेर्दै उक्त काव्यलाई सम्झन पुगें । नदीले सिँचेका फाँटहरू उर्वर भएकाले त्यस आसपासका मानिसको जीवनस्तर उठेको पाइनु स्वाभाविक भए तापनि यस्ता फाँटहरूमा पहुँच नपुगेका कतिपय गाउँ–बस्तीहरू भने अभाव र विपन्नतामा बाँचिरहेको सहज अनुमान गर्न सकिन्थ्यो ।
दश बजेतिर भिङ्ग्री पुगेको बसले हामीलाई त्यहीँ झारेर लिवाङतिर गयो । छुट्टै जिपमा आउनुभएका प्रा.डा. गोपीन्द्र पौडेल, डा. धनप्रसाद सुवेदी र प्रा.डा. गीतु गिरी त्यहीँ भिङ्ग्रीमा आइपुग्नुभयो । भिङ्ग्रीमा खाना आएर एकछिन आराम गरेपछि हामी अलि भिन्न भौगोलिक स्वरूप हेर्न माडी नदीमा बनेको झोलुङ्गे पुल तरेर सारी भन्ने ठाउँमा पुग्यौं । त्यहाँ विभिन्न आकारका माटोका ठुला ठुला ढिस्काहरू देख्न सकिन्थ्यो । रुख बिरुवा र चट्टानसमेत नभएको र खाली माटोका ढिस्का मात्र देखिने भएकाले यसलाई मिनी मुस्ताङको नाम समेत दिइएको रहेछ । तर यो थोरै भूभागमा सीमित थियो । जलप्रबाहले ढिस्कोको रूप दिएको र पछि हावाको झोक्काले ढिस्कोलाई विभिन्न आकार दिएको हुनसक्ने अनुमान गर्न सकिन्थ्यो । यसो हुनुमा भौगोलिक वा जलवायु बाहेक अरु कारण थिएन । उपल्लो मुस्ताङमा मात्र नभएर देशका कतिपय भूभागमा यस्ता आकृति देख्न सकिन्छ । कास्कीकै मेथ्लाङ भन्ने डाँडोमा यीभन्दा धेरै ठुला र विभिन्न आकारका माटो र ढुङ्गाका आकृति अहिले पनि देख्न सकिन्छ । सारीको यो भूगोल नयाँ र आश्चर्यको विषय नरहे पनि यहाँको भौगोलिक, प्राकृतिक र जैविक विविधताचाहिँ आश्चर्य लागिरहेको थियो । प्युठानको एउटै भूगोल वा स्थानमा तराई र उच्चपहाडी भेकमा पाइने रुख–विरुवाहरू एकसाथ हुर्किरहेका थिए । साल, सल्लो, उत्तिस र धूपी एकै ठाउँमा देख्न सकिन्थ्यो । विभिन्न जात र प्रकारका वनस्पतिहरूले छुट्टै रमणीय थियो । भौगोलिक, प्राकृतिक र जैविक दृष्टिले विविधतायुक्त मात्र थिएन सुन्दर र वैभवपूर्ण लाग्दथ्यो ।
भिङ्ग्रीबाट हामी १४ किलोमिटर परको स्वर्गद्वारीतर्फ लाग्यौं । प्युठान, दाङ र रोल्पाका साहित्यिक साथीहरू पनि भएकाले दुईवटा बसमा २१२१ मिटर अग्लो स्वर्गद्वारी तर्फ हिँड्दा अलिपर उकालो उक्लिनै लाग्दा प्रहरीले गाडी रोके । पक्की भएपनि साँघुरो र घुम्ती बाटो त्यसमाथि अलि पर पहिरो गएकाले सुरक्षाका दृष्टिले बस लैजानु उपयुक्त छैन भनेर प्र.जि.अ. र प्रहरी प्रमुखले आदेश दिएको भन्दै उनीहरूले अघि बढ्न दिएनन् । आयोजक साथीहरूले साँझ पर्न लागेको र मझौला आकारका बस भएको र अन्य साधन नभएको साथै चालकले समेत लैजान सकिने भनेकाले नरोक्न प्र.जि.अ.र प्रहरीप्रमुख समक्ष अनुरोध फोनबाट अनुरोध गर्नुभयो । तर अनुमति अआएपछि जिपहरू मगाएर स्वर्गद्वारीको गेटमा पुग्दा झमक्क साँझ परिसकेको थियो । हामी सबैलाई खान र बस्नका लागि त्यहीँको आश्रममा व्यवस्था गरिएको रहेछ । यतिधेरैलाई सहज किसिमले खान–बस्नको राम्रो व्यवस्था गर्नुलाई त्यहाँको कुशल व्यवस्थापन नै भन्नुपर्ने हुन्छ । स्वर्गद्वारीलाई जेजस्तो धार्मिक जलप लगाइए पनि यसको विशिष्ट प्राकृतिक भूगोल ध्यान र योग साधना गर्ने थलोका दृष्टिले विशेष महत्व बोकेको महसूस हुन्छ ।
प्युठान साहित्य परिषद्को आयोजनामा भएको पहिलो दिनको स्वर्गद्वारीको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल प्रज्ञाप्रतिष्ठानका परिषद् सदस्य प्रा.डा. गोपीन्द्र पौडेल हुनुहुन्थ्यो भने प्युठानका प्र.जि.अ., जिल्ला समन्वय समितिका अध्यक्ष, मेयर लगायतलाई विशिष्ट र विशेष अतिथि बनाइएको थियो । प्युठान साहित्य परिषद्को गठन र कार्यक्रमको उद्देश्य बारेमा चर्चा, अतिथिबाट मन्तब्य अनि खानापछि केही कविका कविता र केही गीत प्रस्तुत भएपछि पहिलो दिनको कार्यक्रम समाप्त भएको थियो । प्रमुख अतिथिको विषयलाई लिएर स्थानीय राजनीतिक नेतृत्वमा असन्तुष्टि रहेको हो कि भन्ने आभास पाइन्थ्यो । स्थानीय कवि–लेखकहरूको सहभागिता पनि हामीले अपेक्षा गरेअनुसार थिएन । स्थानीय राजीतिक नेतृत्वले आफूहरूसँग समन्वय नगरेको भन्ने र आयोजकले राजनीतिक नेतृत्वले सहयोग नगरेको भन्ने जस्ता असन्तुष्टिको आभास हुन्थ्यो ।
भोलिपल्टको कार्यक्रम ओखरकोटमा भएकाले हामी स्वर्गद्वारीलाई बिदाइ गर्दै जीपमा ओह्रालो झ¥यौं । दुईवटा बसमा केही पीच र केही कच्ची बाटो हुँदै माडी र झिमरुक नदीका पुल तर्दै हामी मच्छीको एउटा होटलमा बास बस्न पुग्यौं । भोलिपल्ट बिहान कच्चीबाटो हुँदै अग्लो डाँडो ओखरकोटको फेदीमा पुग्यौं । मिनी ग्रेटवाल भनिएको ओखरकोटको उकालो चढ्न ढुङ्गाका सिँढी बनाइएको थियो र समाउन सजिलो हुने गरी दुवैतर्फ फलामको बार लगाइएको थियो । तलबाट हेर्दा कतै घुम्ती र कतै ठाडा वान्की मिलेका चाक्ला सिँढीहरू निकै आकर्षक देखिन्थे । ओखरकोटमा भएको कविता वाचनको कार्यक्रम सकेर हामीहरू मच्छी फर्केर खाना खायौं र त्यहाँबाट प्युठान सदरमुकाम खलङ्गातिर लाग्यौं । जिल्ला समन्वय समितिको सभाहलमा हाम्रो टोलीलाई स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ स्थानीय सांस्कृतिक कार्यक्रमका साथै केही कविता वाचन पनि भए । त्यस दिनको हाम्रो बसाइ खलाङ्गा बजारमा नै भयो ।
महोत्सबको तेस्रो दिन बिहान खलङ्गाबाट मल्लरानी जाने कार्यक्रम तय भएको थियो । त्यहाँ जानलाई जिपको व्यवस्था गरिएको भए पनि हामी केही साथीहरू भने जिपमा नगएर हिँडेर जाने मनस्थितिमा पुग्यौं । करिव एक घण्टाको उकालो बाटो हिँडेर पुग्दा जिपमा आउने साथीहरू पनि भर्खरै आइपुग्नुभएको थियो । यस ठाउँको नाउँ ‘मल्लरानी’ किन राखिएको होला ? कि कुनै मल्ल राजाहरूले यहाँ बसोबास गरेका थिए र उनकी रानीको कुनै घटना–सन्दर्भले यस्तो नाम रहन गएको हो कि ? मैले मल्लरानी बारे ऐतिहासिक तथ्य जान्न प्युठानकै संस्कृतिविद डा. गितु गिरीलाई सोधें । उहाँले यहाँ मल्ल राजाहरूको बसोबास भएको बारेमा कुनै ऐतिहासिक तथ्य नभेटिएको कुरा व्यक्त गर्नुभयो । चारैतिरको भूभाग देखिने अग्लो थाप्लोमा समथर भूभाग थियो । अन्य कुनै ऐतिहासिक सन्दर्भ भेटिएको थिएन । यसैले यो ऐतिहासिकभन्दा पनि भौगोलिक दृष्टिले महत्वको हुन सक्ने अनुमान लगाएँ । मल्लरानीबाट हामी हिँडेरै तल झ¥यौं । फर्किंदा सबैजना साहित्य महोत्सबका एकजना योजनाकार भावेस भुमरीको घरको गोरेटो बाटो हिँडेर गयौं । फराकिला ठुला ठुला बारीहरू र कान्लामा घाँसका रुखहरूले गाउँ सुन्दर देखिए पनि सिँचाईंको अभावले ती फराकिला बारीहरू मकै–कोदो उत्पादनमै सीमित देखिन्थे । भुमरीको घरमा दूध दिने कुनै गाई–भैंसी नभएपनि छर–छिमेकबाट दूध जम्मा गरेर हामीहरूका लागि खिरको खाजा खुवाउने व्यवस्था गरिएको रहेछ । अतिथि सत्कारको गाउँले परम्परा यहाँ जीवन्त रहेको स्पष्ट हुन्थ्यो ।
होटलमा खाना खाएर हामी बाग्दुलाको समापन कार्यक्रममा सहभागी हुन पुग्यौं । त्यहाँ कविता प्रतियोगिता राखिएको थियो । आवश्यक प्रचारको अभावले हो कि किनहो प्रतियोगितामा उत्साहजनक उपस्थिति देखिँदैनथ्यो । केही थोरै कविता बाहेक प्रतियोगी कविता त्यति धेरै आशलाग्दा थिएनन् । दिउँसो तीन बजेतिर कार्यक्रम सकिएपछि सबैलाई फर्किने चिन्ताले गाँजिरहेको थियो । काठमाडौं जानेहरूका लागि बसको व्यवस्था गरिएको थियो । हामी गण्डकीका पाँचभाइ पनि मुग्लिनसम्मका लागि अरु साथीहरूसँगै काठमाडौं जाने बसमा चढ्दै प्युठानको भूमि र त्यसलाई रक्तसञ्चार गरिरहेको झिमरुक नदीसँग फेरि आउने वाचाका साथ बिदाइका हात हल्लायौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।