16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'उमिहोतारु'मा एक नजर

कृति/समीक्षा काजीराम गौतम January 21, 2023, 5:03 am
काजीराम गौतम
काजीराम गौतम

गत नब्बेकै दशकमा आफ्नो यायावरीय काया लिएर भृकुटीको कर्मथलो पुगेका एक सिद्धहस्त नियात्राकार कृष्ण बजगाईं फगत एक नियात्राकार मात्र नभई साहित्यका अन्य विधामा समेत कलम चलाएका डायस्पोराका एक सुपरिचित साहित्य सर्जक हुन। संख्याको दृष्टिले हेर्ने हो भने चौध भन्दा अधिक पुस्तक प्रकाशन गरिसकेका उनले बालकथा, लघुकथा, कथा, हाइकु तथा नियात्राका विधामा ठूलो योगदान गरेको देखिन्छ।

विशेषत नेपालका विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समेत उनका कथा तथा नियात्रा समेटिएकाले बजगाईं धेरैले पढिने साहित्य सर्जक हुन अहिले। उत्तरको छिमेकी देश चीन सहित भारत, जापान, बेल्जियम, बेलायत, फ्रान्स, ग्रीस लगायत युरोपका धेरै स्थान र अमेरिका चाहारेका उनी आफ्ना पाइला परेका ठाउँका धार्मिक, साँस्कृतिक तथा साहित्यिक एवम ऐतिहासिक तथ्यलाई अक्षरमा कुँद्ने गर्छन र पिग्मेलियनले हस्तीहाड कुँदेर गलेटिया निर्माण गरेझैं त्यसमा प्राण भर्छन। यदाकदा उनका फुटकर तथा पुस्तकाकार रूपमा प्रकाशित नियात्रा पढ्ने अवसर पाएका पाठकलाई यो पटक अर्को खुशीको अवसर जुरेको छ भन्छु म।

युरेशियाको स्पर्श ,भाया साक्रा र दाइबुचु जस्ता चर्चित नियात्राको प्रकाशन पछि यो वर्ष उनको चौथो नियात्रासंग्रह उमिहोतारू भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको छ। छोटा र विम्बात्मक नाम छनौटमा अनुभवी बजगाईंको उमिहोतारू शिर्षकले समुद्रको जुनकिरी भन्ने अर्थ दिन्छ। यस नियात्रा भित्र अमेरिका, बेलायत र जापान भ्रमणका एक्काइस यात्रानुभूति समेटिएका छन तैपनि यस पुस्तकले जापानी भाषाको शिर्षक पाएको छ। विहङ्गम दृष्टि लगाउने हो भने सर्जकले आफ्ना यो र अर्को दाइबुचु (अर्थात ठूलो बुद्ध) सहित दुई नियात्रामा पूर्वका नाम दिएका छन। लाग्छ, सूर्योदयको देशमा गएर मानव निर्मित जुनकिरी उदयको कुरा सुनाएर नियात्राकारले उनका अन्तर्बोधका कुरा आत्मसात्करण गर्न पाठकलाई घच्घच्याइरहेका छन।

समुद्रका बीचको एउटा सुन्दर टापुजस्तो ठाउँमा हजारौं जुनकिरीको समान उज्यालोले मानिसको मन लोभ्याउने कुरा देखाएर नियात्राकारले हाम्रो मष्तिष्कमा विकासको उज्यालो संचार गराउने प्रयत्न गरेका छन उमिहोतारूमा। नियात्रा भरी कहिले एक्लै, त कहिले अरूको साथमा रहेको आभास दिलाएपनि अवलोकन गरिएका विषयको तथ्य, त्यसको प्रस्तुति र त्यस बारे बुझिएको कुरा नियात्राकारको नीजि नभई नियात्रा पढ्ने पाठकले स्वयम अनुभूत गरेको जस्तो शैलीमा लेख्ने कला प्ररोचक र ह्लादक छ। उसैगरी यात्रामा देखिएका सबल र राम्रा पक्षलाई टप्प टिपेर आफ्ना परिवेशमा भएका समकक्ष पक्षसँग तुलना गरी विभवान्तर सिर्जना मार्फत धरातल मापनको तौर पनि नियात्राकारमा बडो विचित्रको छ। विशेषत उन्मुक्त शैलीमा गुथिएका यात्रानुभवहरूले सूचना, ज्ञान र निजात्मक अनुभूतिबाट यात्राको आभास दिन्छन र त्यसैको साया बनाएर पाठकलाई पनि विश्व भ्रमण गराउँछन। तर, बजगाईको उमिहोतारू पाठकलाई चार्ल्स डार्विनको बिगल्सको यात्रामा संसारलाई दिएको बिज्ञान, प्राकृतिक इतिहास र यात्राको अनुभव होइन, बरू कला, साहित्य र यौन तथा ऐतिहासिक स्थलहरूको भ्रमणबाट प्राप्त सामाजिक तथा मनोवैज्ञानिक अनुभूति समेत पस्किन्छन। तसर्थ पाठकको रूपमा जोसुकैले पनि उमिहोतारू भित्र फरक फरक अनुभूति आस्वादन गर्ने पर्याप्त मौका पाउँछन। विशेषत साहित्यिक नियात्राका रूपमा औंल्याउन सकिने गरी शेक्सपियरको जन्मघर, सर्लक होम्जको म्युजियम, डिकिन्सको डेरा, बर्नार्ड शको निवास, माचुओ बासो तथा किट्सलाई पछ्याउँदै लन्डनसम्म जस्ता नियात्रा समेटिएकाले प्रायः बजगाईले साहित्यिक यात्रालाई नियात्रामा बढि महत्व दिएका हुन कि भन्ने भान पर्छ। तर सेन्सोजी मन्दिरमा किमोनो गर्ल, योनि म्युजियममा चिहाउँदा, ग्रिनवीचको काल्पनिक रेखामा स्पर्श तथा बतासे सहरमा बादलको गेटले नियात्रा पढ्दा सिर्जित मानसिक एकाङ्गितालाई क्रमभङ्ग गर्छ।

यात्रान्तमा अनुभूत कुराहरू यात्रीका चक्षु दक्षता अनुसार फरक हुन्छन, तर उमिहोतारूमा नियात्राकारले पाइला टेकेका हरेक ठाउँका सामाजिक साँस्कृतिक परिवेश, प्राकृतिक वर्णन, मानसिक मनोवैज्ञानिक र भावनात्मक पक्ष र त्यसको तथ्यपरकतालाई कुशलतापूर्वक उठाएका छन। नियात्रामा तीन अलग महादेश समेटिएका हुनाले उमिहोतारू पढ्दा पाठकलाई उनी डेफोले रबिन्सन क्रुसोलाई बिरान भूमिमा लगेर कँज्याए जस्तो एकै ठाउँ र एउटै विषयमा पनि अल्मल्याउँदैनन, र उनी चाउसरको क्यान्टरबुरी टेल्समा यात्रावधिमा कथा भन्ने क्रम उपर गरिएको बन्देज पनि लगाउँदैनन। तसर्थ उमिहोतारूमा यात्रानुभवहरू निरन्तर अविरल बगिरहन्छन र साथमा पाठकहरूपनि आफ्ना नजरले नदेखेका ठोस तथ्यहरू नियात्राकारका माध्यमबाट अनुभव गर्छन, वर्वरिकले दिव्य नजर लगाएजस्तो।

(काजीराम गौतम जनकल्याण मा.वि. कानेपोखरी ७, आईतबारे मोरङका अंग्रेजी भाषाका शिक्षक हुनुहुन्छ ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।