पीताम्बर नेपाली (वि.सं. १९९७) बहुआयामिक व्यक्तित्व हुन् । स्याङ्जाको सेतीदोभानमा जन्मेका नेपालीले लामो समयसम्म प्राध्यापन पेसालाई अँगालेर हाल अवकासप्राप्त जीवन बिताइरहेका छन् । यिनी नेपाली शैक्षिक क्षेत्रका साथै विभिन्न सामाजिक सङ्घसंस्थामा पनि क्रियाशील हुँदै आएका छन् । साहित्यिक सङ्घसंस्थामा लागिपरेको र विभिन्न पत्रपत्रिकाको सम्पादन एवम् प्रकाशन गरेको अनुभव पनि यिनीसँग छ । ‘पञ्च समाज’, ‘चौतारो’, ‘युगभाषा’, ‘आँधकिो सुसेली’, ‘ज्येष्ठ नागरिक आवाज’ लगायतका साहित्यिक तथा सामयिक पत्रपत्रिकाको सम्पादन-प्रकाशन गरेका नेपालीका आफ्नै मौलिक पुस्तकाकार कृतिहरुमा ‘पेटको राँको’ (कविता सङ्ग्रह– २०२२), ‘सिमानाको गीत’ (बाल कविता सङ्ग्रह– २०६५), ‘उखरमाउलो’ (निबन्ध सङ्ग्रह– २०६९), ‘मेटिँदै गएका पाइलाहरु’ (संस्मरणात्मक निबन्धहरुको सङ्ग्रह– २०७०), ‘रहरको खहरेमा बयली खेल्दै’ (नियात्रा– २०७१), ‘सिलो’ (कविता सङ्ग्रह– २०७२) आदि प्रकाशित छन् । यहाँ उनको कविताकृति ‘सिलो’को भावभूमिका सम्बन्धमा चर्चा गरिँदै छ । विशेषतः ‘सिलो’ कविता सङ्ग्रह भित्रका कवितामा कवि नेपालीको राष्ट्रियता बारेको चिन्ता र चासो के कस्तो रहेको छ ? र अर्को, वृद्धवृद्धाहरु प्रतिको कविको चिन्तन पक्षको खोजबिन गर्नु यस आलेखको मुख्य उद्देश्य हो । अन्य पक्षमा चाहिँ सामान्य चर्चा मात्र गरिने छ ।
२०७२ सालमा प्रकाशित ‘सिलो’ कविता सङ्ग्रहमा जम्मा छयालिसवटा कविता सङ्कलित छन् । २०२० सालदेखि २०७२ सालसम्म लगभग आधा शताब्दीभित्र रचना गरिएका कविताहरु यस सङ्ग्रहमा समावेश छन् । केही कविता मुक्तकाकारमा र अधिकांश कविता फुटकर कविताकै औसत आकारमा संरचित छन् । यस सङ्ग्रह भित्रका कविताहरुमा लय विविधता छ । गद्य शैली, लोक लय र वर्णमात्रिक छन्दका कविताहरु, वर्णमात्रिक छन्दमा पनि अनुष्टुप् छन्दमा रचना गरिएका कविताहरु यसमा छन् । कला तथा संरचना पक्षका बारेमा पछाडि चर्चा गरिने छ ।
कवि पीताम्बर नेपालीले आफ्नो जन्मभूमिलाई आमाको रुपमा सम्मान गर्दै सन्तानले आमा प्रतिको कर्तव्य भुल्नु हुँदैन भन्ने आशय ‘आमा’ शीर्षकको कवितामा व्यक्त गरेका छन् । सन्तान परदेशिन थालेपछि आमा एक्लिन्छिन् । आमालाई एक्ल्याएर राख्नु हँदैन । आमालाई हाँसीखुसी राख्नुपर्छ । हिमाल, पहाड, तराई सबैतिर मुस्कान छाओस् र सम्पूर्ण जातजातिहरु एकापसमा रमाउँदै कर्मपथमा जुटून् भन्ने कविको सदिच्छा छ । सन्तानको कर्तव्य आमाको मुहार हँसाउनु हो भन्ने अभिव्यक्ति यस कवितामा छ ।
सत्यका पक्षधरहरुले जीवनमा कहिल्यै पनि हार मान्नु हुँदैन । वर्तमानमा हाम्रो समाज असत् स्वार्थीहरुको कब्जामा छ । असत्यलाई परास्त गर्न न्यायका पक्षधरहरु निरन्तर लागि पर्नुपर्छ । एक न एक दिन असत्यको हार र सत्यको जित अवश्यम्भावी छ । यस अर्थमा राष्ट्रको अस्मितामा खेलबाड गर्नेहरुका विरुद्धमा लाग्दा बरु आफ्नो सिङ्गो जिन्दगी नै बितोस् तर हार नखाई सत्यको पक्षमा अगाडि बढ्नुपर्नेमा कविको जोड छ ।
केही ऐतिहासिक र केही पौराणिक बिम्बहरुको संयोजन गरेर रचिएका कविता पनि ‘सिलो’मा सङ्कलित छन् । यस किसिमको बिम्ब प्रयोग भएको एउटा कविता हो– ‘आँधीखोलो’ । अन्धाअन्धीको आँसु र श्रवणकुमारको रगत मिसिएर युगौंगुगदेखि आँधीखोलो बगिरहेको छ । स्याङ्जा जिल्लाको लगभग बिच भागबाट बगेको छ यो खोलो । उत्तरपश्चिमबाट पूर्वदक्षिण हुँदै बगेको यो खोलो स्याङ्जाको भूगोलमा बग्ने खोलाहरुमध्ये सबैभन्दा ठुलो खोलो हो । यही खोलाको आत्मकथा र त्यस वरपरको प्राकृतिक सौन्दर्य ‘आँधीखोलो’ कविताको मुख्य विषय हो । कविका निम्ति आफ्नो भूगोल प्यारो छ । आँधीखोलाको परिवेश कविको जन्मभूमि पनि भएको हुँदा कविले यस कवितामा आँधीखोलालाई ससम्मान शब्दचित्रमा उतारेका छन् ।
‘भन्न मन लाग्छ’ कवितामा कविले हामी नेपालीहरुको आलस्य वृत्तिमाथि प्रहार गरेका छन् । हाम्रो आलस्यपनका कारण हामीले धोका पाएका छौं । बाहिर उज्यालो आइसक्दा पनि हामी कुम्भकर्णे निद्रामै मस्त छौं । ढोकाबाट घामका किरणहरु पसिसक्दा पनि हामीलाई सिरक प्यारो छ । हामीमा यस किसिमको प्रवृत्ति जबसम्म रहन्छ तबसम्म हाम्रो उन्नति–प्रगति सम्भव छैन । अरु देशकका मानिसहरुमा जाँगर छ, सिपको प्रयोग गर्छन्, आलस्य गर्दैनन् र पो उनीहरु सभ्य र समृद्ध बनेका छन् । हामी उनीहरुका ठिक विपरीत छौं । आफ्नो घर आफै बनाउँदैनौं, आफ्नो काम आफै गर्दैनौं, विदेशीले बाटो बनाइदेलान् र गाडी कुदाऔंला भनी कुरी बस्छौं । यो हाम्रो विडम्बना हो, नेपालीहरुको विडम्बना हो । यस्तो प्रवृत्ति रहेसम्म अर्थात् कुम्भकर्णे निद्राबाट नबिउँझेसम्म हामी माथि उठ्न सक्दैनौं । यसर्थ अब हामीमा सद्बुद्धि आओस् । अब सबै मिलेर राष्ट्रलाई समृद्ध तुल्याउनका लागि जुटौं भन्नु यस कविताको आशय हो ।
राष्ट्रियताका दृष्टिले यस सङ्ग्रहमा सङ्कलित कविताहरुमध्ये सर्वोत्कृष्ट कविता हो– ‘धुकधुकीमा तातो छैन’ । यो ‘स्याङ्जाली सम्पर्क सदन, पोखरा’को मुखपत्र ‘आँधीको सुसेली’ (२०५४) मा प्रकाशित कविता हो । बहुप्रचलित शास्त्रीय छन्द अनुष्टुप् छन्दमा संरचित यसमा जम्मा बाह्र श्लोक छन् । नेपाल र नेपालीको अस्तित्व जोगाउन नसकिएका प्रति यस कवितामा चिन्ता व्यक्त गरिएको छ । पुर्खाले आफ्नो ज्यान हत्केलामा राखेर आर्जेको नेपाली भूगोल खुम्चँदै गएकामा कवि चिन्तित छन् । तिनै बलभद्र, भक्ति थापा र अमरसिंहहरुका सन्तान हामी; आज हाम्रो वीरतामा प्रश्नचिह्न खडा भएको छ । हामीमा साहस छैन, दुर्बलताले डेरा जमाएको छ । हाम्रो रगत जमेको छ । जोश हराएको छ, हिम्मत टुटेको छ । जिउँदो भएर पनि सार्थक जीवन जिउन सकेका छैनौं । आज हामी नेपाली जिउँदा लास जस्तै भएका छौं । पराईले आफ्नै छातीमा बुट बजार्दा पनि हामीले हाँसीहाँसी सहेका छौं । अन्याय र अत्याचारका विरुद्धमा बोल्न सकेका छैनौं । साँधसीमा मिचिँदा किनारामा बसेर टुलुटुलु हेरिरहेका छौं । विस्तारवादीहरुको अन्याय र अत्याचारलाई सहँदै उल्टै उसैलाई हिमाली मूलको स्वच्छ पानी बेचेर बदलामा साम्राज्यवादीहरुका बहुराष्ट्रिय कम्पनीबाट उत्पादित कोकाकोला भित्र्याउने हामी नेपालीमा न कालापानीको घाउ चहराएको छ, न सुस्ताबासीको बेहालले चोट पुर्याएको छ, न त कोशी, गण्डक र महाकाली सन्धि–सम्झौताहरुले रन्थन्याएका छन् । कवि पीताम्बरकै २०६४ सालमा प्रकाशित ‘सिमानाको गीत’ काव्यमा महेश्वर शर्मा लेख्छन्, “सुस्तामा १४०० बिगाहा, झापामा ६५ बिगाहा, पशुपतिनगर, माने भञ्ज्याङ समेत विभिन्न ठाउँमा गरी ५४ ठाउँमा नेपाली भूभाग मिचिएको छ । तैपनि भारत रिसायो भने कुर्सीमा अडिन पाइँदैन भनेर थुरथुर काम्ने नेता र मन्त्री बोल्न नसकेको अवस्थामा कविले जनतालाई गुहार्दै देशभक्तिको गीत गाएका छन्” (शर्मा, २०६४, भूमिका) । आज हाम्रो राष्ट्रियता अन्तर्राष्ट्रिय बजारमा लिलाम बढाबढमा राखिँदा पनि हामी मौन छौं । हाम्रै पानी लगेर पराइले लहलह धानका बाला झुलाउँछ । हाम्रा फाँटहरुमा सिँचाइको अभावका कारण काँस फुलिरहेको अवस्था छ । यस्तो अवस्थामा पनि हामी जुर्मुराउन नसकेकामा कवि चिन्तित हुँदै लेख्छन्ः
न कालापानीको घाउ छातीमा चहर्याउँछ
न मेचीतिरको चोट मलाई रन्थन्याउँछ ।
(पृ. ५६)
यस कवितामा दक्षिणतिरबाट सीमा मिचिएको अर्थात् जङ्गे पिल्लरहरु सारिएकामा कवि आक्रोशित बन्न पुगेका छन् । उनलाई यो घाउ असह्य भएर बल्केको छ । स्वाभिमान गिराएर बाँच्नुलाई कविले जीवन ठानेका छैनन् । आमाका गहना लुछेर पराईलाई सुम्पने प्रवृत्तिको उनले उछित्तो काढेका छन् । नदीनाला जोगाउन नसकेकामा कविले असाध्यै पिर मानेका छन् । विस्तारवादीहरुका सामु घुँडा टेकेर बाँच्नु पर्ने अवस्थाबाट कविले मुक्ति चाहेका छन् । राष्ट्रिय स्वाभिमानलाई बन्धकमा राखेर पराईका सामु शिर झुकाई बाँच्नुभन्दा बरु राष्ट्रहितमा मर्नु राम्रो भन्दै कविले यस कवितामा आफ्नो मुटु भित्रैबाट उर्लेर आएको देशभक्तिको भावनालाई छताछुल्ल पारेका छन् ।
कवि पीताम्बर नेपालीले आफ्नो भूगोलमा बग्ने आँधीखोलाको मात्रै सम्झना गरेका छैनन्, यिनले स्याङ्जा जिल्लामा बग्ने आँधीखोलो पछिको दोस्रो ठुलो खोलो ज्याग्दीखोलाको पनि सम्झना गरेका छन् । ‘झन् मिठो स्वर ज्याग्दीको’ कवितामा यिनले “ढुङ्गे बगरमा पोखे पसिना सुन फल्दछ \ आफ्नै पौरखमा बाँचे, बाँचेको सार बन्दछ” भन्दै आत्मनिर्भर भई बाँच्नु पर्ने सल्लाहा दिएका छन्, कवितामार्फत् स्वाधीनताको पाठ पढाएका छन् ।
स्वाधीनताकै सन्दर्भमा कविले हामी नेपालीहरुको मगन्ते प्रवृत्तिमाथि पनि प्रहार गरेका छन् । आफ्नो पौरख र पसिनाको सदुपयोग गर्नुको सट्टा अरुसँग हात थाप्नु हाम्रो बानी भएको छ । ‘हाम्रो शिक्षा’ कवितामा “हात खियाउनुभन्दा हात थाप्नु मजा भयो” भन्दै कविले आफ्नो काम आफै नगरेर अरुको भर पर्ने, आफ्नो आँगन सफा गर्न विदेशीको मुख ताक्ने प्रवृत्तिले एवम् विदेशीसँग मागेर अर्थात् विदेशीको पाउ मलेर सुरुवात गरिएका पूर्वाधारहरुले हामीलाई नै अल्छी बनाउँछन् भन्ने आशय व्यक्त गरेका छन् । यस्तो मगन्ते प्रवृत्तिका कारण हामी झन्झन् परनिर्भर बन्दै गएका छौं । अर्काको भरमा बाँच्ने दास मानसिकता बोकेर समृद्धिको शिखर चढ्न सकिँदैन । मागेर राष्ट्र समृद्ध बन्थ्यो र जनताको जीवनस्तर उकासिन्थ्यो भने हामीले हात पसार्न थालेको त दसकौं भइसक्यो, आधा शताब्दीभन्दा पनि बढी भयो । खोइ त राष्ट्र समृद्ध बनेको ? खोइ त जनताको जीवनस्तर उकासिएको ? आफ्ना खुट्टाहरु सबल हुँदाहुँदै वैशाखीको भर पर्ने नेपाली परम्पराप्रति व्यङ्ग्य गर्दै कविले दयाको याचनाका साथ हात थाप्नेहरुको उन्नति–प्रगति सम्भव नहुने बताएका छन् । ‘सञ्चय’ शीर्षकको कवितामा कविले लेखेका छन्ः
सधैं टेकेर वैशाखी भइन्न आत्मनिर्भर
अर्काकै मुख ताकेर यहाँ के हुन सक्छ र ?
(पृ. ६१)
काम गर्न सक्ने युवायुवतीहरु विदेशिएपछि राष्ट्रले गति लिन सक्दैन । वृद्धवृद्धाहरु पहेंला पात, आज झर्ने हुन् वा भोलि, भर हुँदैन । केटाकेटीमा सामर्थ्यको कमी हुन्छ । यस अर्थमा समाज तथा राष्ट्र निर्माणको जिम्मा युवाहरुकै काँधमा हुन्छ । युवाहरु जुटे भने यमानका पहाडहरुलाई मैदान बनाउन सक्छन् र मैदानमा पहाड उठाउन पनि सक्छन् । पाखुरीमा बल र हृदयमा जाँगर हुने युवाहरुले आफ्नो शक्ति तथा सामर्थ्यको प्रयोग यही देशमा गर्नुपर्छ भन्दै कविले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्कन आग्रह गरेका छन् । ‘फर्केर आऊ’ शीर्षकको कवितामा उनी लेख्छन्ः
सिर्जना नयाँ गर्नु छ आफै कम्मर कसेर
फर्केर आऊ आमाको काख नगर अबेर
(पृ. ६८)
प्रस्तुत सङ्ग्रह ‘सिलो’मा राष्ट्रप्रेमको भाव व्यक्त भएको अर्को एउटा सुन्दर कविता हो– ‘उठाऔं राष्ट्र गौरव’ । राष्ट्रमा विभिन्न किसिमका आपतविपतहरु आइ लाग्छन् । समस्याहरु आउँछन् तर समस्याबाट भाग्नु हुँदैन । सङ्घर्ष गर्दै र चुनौतीहरु पन्छाउँदै अगाडि बढेमा अवश्य पनि राष्ट्रले काँचुली फेर्नेछ भन्ने दृढ विश्वास अभिव्यक्त यस कवितामा “बनेको राष्ट्र होइन कसैको अनुदानमा \ बँचेको पनि होइन कसैको सहयोगमा” (पृ. ६९) भन्दै कविले नेपालको ऐतिहासिक महिमागान गरेका छन् । यस कवितामा पूर्ववर्ती केही कविताको भाव दोहोरिएको छ यद्यपि यसमा प्रयुक्त बाइस श्लोकमध्ये अधिकांश श्लोक सुन्दर छन् । यस कवितामा पनि हाम्रो मगन्ते प्रवृत्तिको खिल्ली उडाइएको छ । कविले आफ्नो राष्ट्र आफै बनाउनुपर्छ भन्दै लेखेका छन्ः
रोएर हात थापेर कति पो दिन चल्छ र ?
लँगौटी पनि मागेर लाज पो कति छोप्छ र ?
सिङ्गै देश मगन्ते यो केको इज्जत हुन्छ र ?
सधैं शिर झुकाएर कति माथि उठिन्छ र ?
..........................
भरमा अरुको पर्दा आफ्नो कहाँ गरिन्छ र ?
माग्नेको लोभको भाँडो कहिले पो भरिन्छ ?
सन्तान वीरका हामी ज्युँदो यो इतिहास छ
आयो सङ्कट भन्दैमा के लासै बन्नु पर्दछ ?
(पृ. ७०, ७१)
कवि पीताम्बर नेपालीको काव्य साधनाको प्रमुख पक्ष भनेको राष्ट्रप्रेम हो, आफूलाई पालनपोषण गर्ने धर्तीप्रतिको सद्भाव हो । यस सन्दर्भमा ‘गण्डकी साहित्य सङ्गम, पोखरा’द्वारा २०६५ सालमा प्रकाशित ‘पोखरेली समालोचना’मा ‘पीताम्बर शर्माको कवित्व, व्यक्तित्व र विचार’ समीक्षामा समीक्षक यमबहादुर क्षेत्रीले कवि पीताम्बरलाई प्रगतिशील व्यक्तित्व मान्दै लेखेका छन्– “कवि पीताम्बर शर्माले नेपाल राष्ट्रलाई सिङ्गो शरीर र राष्ट्रिय एकतालाई प्राणका रुपमा लिएका छन्, अनि त्यस भावनालाई उनले आफ्ना कविताहरुका माध्यमबाट व्यक्त गरेका छन् ।” (क्षेत्री पौडेल, २०६५, पृ.२०)
कवि पीताम्बर नेपालीले यस ‘सिलो’भित्रका केही कवितामा वृद्धवृद्धाहरुको हकहितका निम्ति आवाज निकालेका छन् । जीवनका हरेक चरणका आआफ्नै विशेषता हुन्छन् । वृद्धावस्थाको विशेष महत्व हुन्छ । वृद्धवृद्धाहरु अनुभवका खानी हुन् । जीवनमा दर्जनौं बसन्त बिताएका वृद्धवृद्धाका विचारहरु युवा पुस्ताका लागि मार्गनिर्देशक बन्न सक्छन् । उनीहरुको अनुभवबाट केटाकेटी तथा युवायुवतीहरुले बढीभन्दा बढी फाइदा लिन सक्नुपर्छ । समाजको बृहत्तर हितका निमित्त वृद्धवृद्धाहरुको अनुभव उपयोगी हुन्छ । यसर्थ वृद्धवृद्धाहरुलाई सम्मान गर्नुपर्छ ।
वृद्धवृद्धाहरुलाई ससम्मान गास, बास र कपासको व्यवस्था गरिदिनुपर्छ । रोग लागेमा उपचारको व्यवस्था मिलाइदिनुपर्छ । राज्यले वृद्धवृद्धाहरुका लागि विशेष व्यवस्था गर्नुपर्दछ । उनीहरुका लागि खेलकुद, मनोञ्जन लगायतका व्यवस्था राज्यको दायित्वभित्र पर्दछन् । सबै मानिस जीवनको उत्तराद्र्धमा वृद्धावस्थामा पुग्ने हुँदा बुढ्यौली सबैको साझा समस्या हो । यसै समस्यालाई हृदयङ्गम गर्दै कवि नेपालीले ‘आफ्नै गन्थन’ शीर्षकको भूमिकामा लेखेका छन्ः “आफ्नै घरको आँगन पनि परदेश बन्दै जान थालेको छ । हिजोसम्म दुर्लङ्य पहाडका टाकुराहरु मेरै पाइतालामुनि झुकेर दबिन आइरहेका हुन्थे । आज घरकै भर्याङ पनि दुर्लङ्य पहाड बनेर खडा हुन थालेको छ । ... जसको अगाडिबाट वर्तमान भागिरहेको छ उसको भविष्य हुने कुरै भएन ।” (शर्मा, २०७२, भूमिका)
यस सङ्ग्रहको ‘धिक्कार’, ‘वेदना’, ‘हाम्रो शिक्षा’ र ‘उठ’ शीर्षकका कवितामा वृद्धवृद्धाहरुको दयनीय अवस्थालाई विषयवस्तु बनाइएको छ । २०२१ सालमा अर्थात् आजभन्दा ५८ वर्षपहिले लेखिएको ‘धिक्कार’मा आफ्नै सन्तानबाट अपहेलित एउटा वृद्धको दयनीय अवस्थाको चित्र उतारिएको छ । वृद्ध जो सन्तानको जन्म हुँदा खुसी थियो, भविष्यको सहारा भन्दै हुरीबतास र घामपानी सहेर छोराछोरी हुर्कायो, पालनपोषण गर्यो, आज आफ्ना तिनै छोराछोरीबाट अपमानित भएर एक्लो जीवन बिताउनु पर्दाको पीडालाई कविले यस कवितामा सङ्केत गरेका छन् । आमाबाबुप्रतिको कर्तव्य बिर्सने सन्तानलाई कविले यस कवितामार्फत धिक्कारेका छन् ।
‘वेदना’ शीर्षकको कवितामा पनि बुढाबुढीहरुको वेदना छ । सन्तान जन्मँदा सबै बाबुआमा खुसी हुन्छन् । आफू नखाइनखाई भोकै बसेर भए पनि हरेक बाबुआमाले आफ्ना सन्तानलाई खुवाउँछन् । सन्तानको सुखलाई आफ्नै सुख ठान्छन् । सन्तानको खुसीमा मुस्कुराउँछन्, रमाउँछन् । छोराछोरीले खाइदिए भने आमाबाबु त्यसै अघाउँछन्, तृप्त हुन्छन् । सन्तानलाई लेखपढ गराउँछन्, बाटो देखाउँछन् । जब उमेर ढल्कँदै जान्छ, वृद्धावस्थामा पुग्छन् तब कतिपय सन्तान यस्ता हुन्छन्– कुकुरलाई निकै ममताका साथ दुध खुवाउँछन्, बाबुआमालाई वृद्धाश्रममा पुर्याउँछन् । कतिपयका सन्तानले त अझ आफ्ना आमाबाबुको पालनपोषण नगरी सहरबजारको भिडभाडमा ल्याएर अलपत्र पारी छाडिदिने पनि गर्छन् । वृद्धवृद्धाहरुको यस किसिमको बेहाल देख्दा कवि नेपाली निकै भावुक बनेका छन्, उनको मन दुखेको छ । ती अलपत्र परेका वृद्धवृद्धाहरुको पडिानुभूतिलाई कविले शब्दमा यसरी उतारेका छन्ः
भोगियो जिन्दगी लामो सारा संसार देखियो
भारी बिसाउने ठाउँ ज्युँदैमा घाट यो भयो ।
(पृ. ६३)
हाम्रो समाजमा अहिले वृद्धवृद्धाहरु एक्लिएका छन् । केही पढालेखा सन्तानहरु आफ्ना छोराछोरीसहित युरोप र अमेरिकातिर छन् भने पढाइलेखाइमा कमजोर गाउँठाउँका युवायुवतीहरु पनि कामको सिलसिलामा अरब र मलेसियातिर छन् । गाउँघरका बुढाबुढीहरु पिँडी कुरेर बसिरहेका छन् । दुःखबिमार पर्दा हेर्ने कुनै सन्तान छैनन् । वृद्धवृद्धाहरु निरस र पट्यारलाग्दो जीवन बिताइरहेका छन् । हाम्रो शिक्षाले नै बेरोजगारहरु उत्पादन गर्न थालेपछि र यस्तो शिक्षाले स्वदेशमा रोजगारी दिलाउन नसकेपछि यस किसिमको शिक्षा नै पो किन चाहियो र भन्दै कविले ‘हाम्रो शिक्षा’ शीर्षकमा लेखेका छन्ः
वृद्धावृद्धा भए एक्ला गाउँलाई सताइयो
यस्तो गराउने शिक्षा हामीले मात्र पाइयो !
(पृ. ६७)
सङ्ग्रहको अन्तिम कविता ‘उठ’मा पनि वृद्धवृद्धाहरुकै कथाव्यथालाई समेटिएको छ । यसमा वृद्धवृद्धाहरु एकजुट भई जुर्मुराएर उठी आफ्नो हक अधिकारका लागि राज्यलाई घच्घच्याउन आह्वान गरिएको छ । यस कवितामा छोरोप्रति वृद्धको धारणालाई निकै मर्मस्पर्शी रुपमा कविले यसरी प्रस्तुत गरेका छन्ः
तिमी त्यसै अघाउँथ्यौ छोरो टन्न अघाउँदा
सम्पत्ति यही हो भन्थ्यौ काखमा मुस्कुराउँदा
हिजोसम्म तिमी रुन्थ्यौ छोरो यो मर्छ कि भनी
आज फेरि तिमी रुन्छौ छोरैले मार्छ कि भनी !
(पृ. ७२)
प्रस्तुत सङ्ग्रहका कविताहरु अध्ययन गर्ने क्रममा कविको जीवनप्रतिको धारणा पनि बुझ्न सकिन्छ । ‘जिन्दगीको हिसाब’ कवितामा परिश्रम नै जीवन हो र परिश्रम नगर्ने अल्छीहरुलाई जिउँदो लास ठान्दै कवि लेख्छन्ः
अल्छी बनी बितेका छन् बल र बैंसका दिन
फेर्दैमा सासको भुल्को ज्युँदो हुने म ठान्दिन ।
(पृ. १८)
‘हिम्मतै हरायो भने’ शीर्षकको कवितामा पनि कविले जीवनलाई सङ्घर्षको पर्याय ठानेका छन् । पाइला पाइलामा ठक्कर खाएर भए पनि निरन्तर अगाडि बढ्न सक्नुलाई कविले जीवन मानेका छन् । कवि लेख्छन्ः
सङ्घर्ष गर्नु नै पर्छ यहाँ श्वासप्रश्वासमा
ठक्करहरु खाएर बढ्नु छ पदमार्गमा ।
(पृ. २२)
जिन्दगी भनेको समय हो । समयको महत्व बुझ्न सक्नुपर्छ । जीवनलाई क्रियाशील तुल्याउनु पर्छ । मानिसले अन्तिम सास फेरुन्जेलसम्म सक्रियतालाई निरन्तरता दिनुपर्छ । कवि इलमी बन्न चाहन्छन् । उनले इलम गरेर बाँच्नुलाई जीवन ठानेका छन् र लेखेका छन्ः
समय खेर फालेर बस्नुहुन्न कसै गरी
बन्नु छ इलमी मैले जिन्दगीमा सधैंभरि ।
(पृ. ३०)
प्रत्येक व्यक्तिले आफ्नो बाटो आफै हिँड्नुपर्छ । गन्तव्य भेट्नका लागि व्यक्ति आफैले कम्मर कस्नुपर्छ । जीवनको गोरेटामा आलस्य गरेर निदाउनेहरुबाट उन्नति–प्रगति सम्भव छैन । एउटा लक्ष्य लिएर क्रियाशील हुनुलाई नै जीवनको गति ठान्दै ‘धीरता’ शीर्षकको कवितामा कवि लेख्न पुग्छन्ः
आफ्नो बाटो ठम्याएर म आफै हिँड्नु पर्दछ
गन्तव्यमा म आफैले पुगेर छाड्नु पर्दछ ।
(पृ. ३०)
कविले यस सङ्ग्रहका केही कवितामा नेपालका स्वघोषित बुद्धिजीवीहरुप्रति व्यङ्ग्य गरेका छन् । विवेकशून्य मूर्खहरुले बुद्धिजीवीको पगरी गुथेको देख्दा कवि छक्क परेका छन् । जो मक्खिचुस छ उसैले महादानीको अभिनय गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु पर्नेमा कविले जोड दिएका छन् । ‘नामै प्यारो’ टपरटुइयाँ बुद्धिजीवीहरुप्रति व्यङ्ग्य गरिएको एउटा सुन्दर कविता हो ।
कवि नेपालीले प्राकृतिक सुन्दरताका साथै चराचुरुङ्गी तथा कीटपतङ्गहरुलाई विषयवस्तु बनाएर लेखेका कविताहरु पनि यस सङ्ग्रहमा समावेश गरेका छन् । ‘महागुरु’ कवितामा कमिलालाई विषय बनाइएको छ । कमिलाको परिश्रमी स्वभावको कदर गर्दै कविले मानिसले कमिलाबाट परिश्रम गर्ने बानी सिक्नुपर्छ भनेका छन् । उनले कमिलालाई गुरुको स्थानमा राख्दै मानिसलाई कमिलाको चेलाको रुपमा प्रस्तुत गरेका छन् । यसरी नै भँगेरी चरीको चिर्बिरे स्वभावलाई विषयवस्तु बनाएर लेखिएको कविता पनि यस सङ्ग्रहमा सङ्कलित छ ।
सामाजिक– आर्थिक विषमता, मानिसले मानिसमाथि गर्ने अन्याय– अत्याचार, शोषण लगायतका प्रवृत्तिहरुका विरुद्धमा पनि यस सङ्ग्रहका केही कवितामा आवाज उठाइएको छ । पीताम्बरको कवितात्मक प्रवृत्तिका बारेमा समीक्षक घनश्याम ढकालले लेखेका छन्ः
“... स्वच्छन्दतावादी स्वर मिसिए तापनि पीताम्बर शर्माले मूलतः सामाजिक यथार्थलाई नै आफ्ना कविताको कथ्य बनाएका छन् । उनका कवितामा देशप्रेम, राष्ट्रिय महिमा, प्रकृति, वेदना, निम्न वर्गप्रति सहानुभूति, समानता, मानवता, जागरण, युवा आकाङ्क्षा, श्रम शोषणको विरोध, समन्वयवादी आदर्श जस्ता कुरा अभिव्यञ्जित छन् । पीताम्बर शर्माको सौन्दर्य चेतना वर्ग समन्वयमा आधारित सुधारवादी आदर्श हो तर उनका कविताले उत्पीडित निम्न वर्गका जनताको आवाज बोकेका छन् ।” (ढकाल, २०६२, पृ.१३४–१३५)
‘सिलो’मा सङ्कलित ‘प्रार्थना’ शीर्षकको कवितामा कविले देशको अस्तव्यस्त अवस्थालाई सम्हालिदिनका लागि पशुपतिनाथलाई आग्रह गरेका छन् । कविले यस कविता मार्फत् आध्यात्मिक चिन्तन प्रवाह गरेका होइनन् र उनको मनसाय ईश्वरकै भजन गाउनु रहेको पनि होइन तर पनि अन्य कविताहरु पढ्दै जाँदा पाठकले जुन किसिमको मिठासको अनुभूति गरेको हुन्छ त्यो अनुभूति यस कवितामा आइपुग्दा तिक्ततामा परिणत हुन्छ । समाजप्रति बफादार र राष्ट्रियताप्रति सचेत एउटा कविले देशमा व्याप्त गरिबीको अन्त्य गर्नका लागि पशुपतिनाथलाई गुहार्नु सुहाउँदो कुरो होइन । यस किसिमको बिम्ब प्रयोगमा कविले ध्यान पुर्याउन सक्नु पर्थ्यो । उनले यस कवितामा पशुपतिनाथलाई पालकका रुपमा सम्झेका छन् । पशुपतिनाथले राष्ट्रियता जोगाउन सक्ने भए देश यसरी झन् झन् रसातलमा पुग्थ्यो र ? पशुपतिनाथले गरिबदुःखीको उद्धार गर्न तथा तिनीहरुलाई पालनपोषण गर्न सकेका भए अहिले हामी यस किसिमको अभावमा पिल्सिनु पर्थ्यो र ? यद्यपि ‘जोगी बाबा’ शीर्षकको कवितामा नक्कली जोगीहरुको ढोंगी प्रवृत्तिमाथि भने कविले प्रश्न उठाएका छन् ।
विषयवस्तु गहन हुँदाहुँदै पनि कला पक्ष कमजोर भयो भने कविता सुन्दर बन्न सक्दैन । सिर्जनामा अन्तर्वस्तु नै मुख्य हुन्छ तर रुप पक्षलाई नकार्न चाहिँ मिल्दैन । रुपका बारेमा चर्चा गर्दा संरचना, भाषा र लय प्रमुख रुपमा आउँछन् । यस ‘सिलो’ कविता सङ्ग्रहमा संरचनागत आकारका दृष्टिले हेर्दा ‘आँसु र हाँसो’ शीर्षकको अनुष्टुप् छन्दमा संरचित कविता जम्मा दुई श्लोक (चार पङ्क्ति) मा रहेको छ भने यही छन्दमा संरचित ‘उठाऔं राष्ट्रगौरव’ बाइस श्लोक अर्थात् चवालिस पङ्क्तिमा छ । गद्य शैलीको ‘हाम्रो भाग्यरेखा’ पैंतालिस पंक्तिमा रचना गरिएको छ । लोक लयमा रचना गरिएमध्ये सबैभन्दा लामो कविता ‘धिक्कार’ शीर्षकको रहेको छ । यसमा दस श्लोक अर्थात् चालिस पङ्क्ति छन् । लोक लय अर्थात् झ्याउरे लयमा कविले महाकवि देवकोटाको ‘मुनामदन’मा प्रयुक्त सोह्र अक्षरयुक्त पङ्क्ति (५+५+६ = १६) लाई विशेष मन पराएका छन् र यही संरचनामा सिर्जना गरेका छन् ।
यस सङ्ग्रहमा संकलित केही कवितामा कला पक्ष कमजोर देखिन्छ । विशेष गरी गद्य शैलीका कविता पद्य शैलीका तुलनामा कमजोर छन् । शास्त्रीय छन्दका केही कवितामा पनि कविले छन्द मिलाउनकै लागि भनेर केही शब्दहरुको जबरजस्ती प्रयोग गरेको समेत पाइन्छ । यी सानातिना केही प्राविधिक कमजोरीहरु रहे पनि वैचारिक मूल्यका दृष्टिले अधिकांश कविता सबल छन् । पूवार्ध चरणका कविताका तुलनामा उत्तरार्ध चरणका कविताहरु बढी सुन्दर छन् । पछिल्लो चरणमा सिर्जित कविताहरुमा कविको चिन्तनगत प्रौढता पाइन्छ । यो नै यस सङ्ग्रहको मुख्य प्राप्ति हो । यस सङ्ग्रहका कवितामा नेपाली समाज र नेपाली परिवेशका बिम्बहरुको सुन्दर संयोजन छ । पञ्चायती कालदेखि बहुदलीय शासन काल हुँदै गणतान्त्रिक शासन व्यवस्था सम्मका कविताहरु सङ्कलित ‘सिलो’मार्फत सत्तासीनहरुका गलत प्रवृत्ति, कुशासन, भ्रष्टता आदिका विरुद्धमा कवि आक्रोशित बन्न पुगेका छन् । व्यक्तिको मानसिकतामा परिवर्तन आउन नसकेकामा पनि उनी उत्तिकै चिन्तित बनेका छन् ।
अन्त्यमा, कविले लगभग आधा शताब्दीसम्ममा आफूले भोगेको जीवन र देखेको परिवेशलाई यस कवितासङ्ग्रहमा उतारेका छन् । सरल भाषामा सिर्जना गरिएको यस सङ्ग्रहको काव्यात्मक भावभूमिमा राष्ट्रियता, वृद्धवृद्धाहरुप्रतिको संवेदनशीलता, परिश्रमको महिमागान, हाम्रो सार्वभौमिकतामा भएको बाह्य हस्तक्षेपमाथिको हुङ्कार, आत्मनिर्भरता एवम् स्वाधीनताको महत्व लगायत रहेका छन् ।
सन्दर्भग्रन्थ
क्षेत्री, यमबहादुर (२०६५). पीताम्बर शर्माको कवित्व, व्यक्तित्व र विचार. पोखरेली समालोचना. सम्पा. घनश्याम
ढकाल, कृष्णराज अधिकारी र नारायण मरासिनी, पोखराः गण्डकी साहित्य सङ्गम, पृ.१८–३३ ।
ढकाल, घनश्याम (२०६२). पश्चिमाञ्चलको कवितात्मक परिक्रमा. यथार्थवादी नेपाली समालोचना. सम्पा. घनश्याम
ढकाल, पोखराः गण्डकी साहित्य सङ्गम, पृ.१२७–१५०) ।
शर्मा, महेश्वर (२०६४). भूमिका. सिमानाको गीत. स्याङ्जाः सेतीदोभान– २ ।
शर्मा, पीताम्बर (२०७२). सिलो. पोखराः श्रीमती विष्णुमती\राज्यलक्ष्मी शर्मा ।
पोखरा– १७, बिरौटा