सानी..!
सोह्र-सत्रको थिएँ म
उसलाई पहिलोचोटि देख्दा
ऊ पनि त्यस्तै पन्द्र-सोह्रकी।
मेरो र उस्को देखाइ एकै हुनुपर्छ
त्यसैले ते मैले हेरिरहँदा
उसले पनि हेरिरहेकी थिइ लजाई-लजाई।
त्यो बेला
यति राम्री देखेको थिएँ कि...
मदनकी मुना
कृष्णकी राधा
स्वर्गकी अप्सरा
कोही-कसैसँग तुलना गर्नै नसकिने
बस... एकनाश हेरिरहुँ लाग्ने
जस्तो कि आँखाबाट
कहिल्यै ओझल नभइदिउन् उनी।
मन परेको पाउनैपर्ने
मान्छे कत्ति स्वार्थी हुन्छ नि..?
स्वार्थी मन कि मस्तिष्क?
थाह छैन,
तर म स्वार्थी बनेँ सानीलाई पाउन।
अनि एकदिन
हामीले एकार्कालाई समर्पित गर्यौं
सानी मेरी भई, म सानीको।
वाचा गर्यौं- जीवनभरि साथ दिने
कसम खायौं- सँगै जीउने सँगै मर्ने।
गाड़ी त्यसरी नै बढ़िरङ्यो
हाम्रो जीवनको।
समयसितै
हाम्रो खुशीमा खुशीहरू थपिँदै गए
फूलजस्ती छोरीसँगै छोरोको आगमनले,
मायाले भन्थ्यौं हामी- भुन्टे र काली।
संसार कसैले जित्न सकुन्-नसकुन्
तर
हामीले जितिरह्यौं यसरी नै।
एकदिन
छोरीले निर्णय लिई
आफ्नै घर बसाउने, अलग्गै संसार बनाउने
अनि त ऊ सुटुक्कै गई,
आखिर उसको पनि त अधिकार हो
हामी खुशी नै भयौं।
फेरि एकदिन
छोरोले पनि उही निर्णय लियो,
भित्रायो उसले पनि साथी सधैंलाई
फेरि हामी खुशी भयौं।
केही समयपछि
जोगिरे छोरो शहरतिर लाग्यो
सँगैका जागिरे दुवै, छोरोकै पछि लागिन् बुहारी।
न त लहरे खोकीले चाप्दै गरेको
बहाना गर्न सकेँ मैले
न त चाउरिँदै गरेको गाला र
ताकत सकिँदै गएको दुब्लो शरीरको
न त सानीले नै रोक्न सकेकी हो
धुमिल बन्दै गएको आँखाको पीड़ा सुनाएर
बरु खुशी नै भएँ म
खुशी भयौं हामी।
लोती झर्दैगरेको दुइ नयनमा
बलैले अलिकति खुशी बटुलेँ
छरिदिइ बलैले सानीले पनि चाउरिएको मुस्कान्
अनि शीरमा हात राखिदिइ आशीर्वादको
विदाइमा छोरा-बुहारीलाई
आखिर जागीर खान पो गएका त।
दशैं आयो, अनि गयो
तिहार आयो, अनि गयो
गाउँमा कतिचोटी हो हो
आरु र मैयू फुलेर गयो
तर, कुनै फूलको छाँयासम्म परेन हाम्रो आँगनमा।
तर एकबिहान-
सँगै मानो खाएर सँगै सुतेकी सानी उठिनन्।
उठाउन खोजेँ, अनि थाह भयो-
एकार्काप्रतिको हाम्रो समर्पण
जीवनभरि साथ दिने- गरेको वाचा
र
सँगै जीउने सँगै मर्ने- खाएको कसम
सबै-सबै तोड़ेर गइछ सानीले।
भुन्टे र कालीलाई
कतै भेट्नुभए खबर दिनुस है।
राङ्का बरबिङ, गान्तोक, सिक्किम