19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल भावना पोखरेल October 21, 2008, 7:24 pm

अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर

ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।

समानताका कुराहरु डिनर लञ्जसँगै खायौं

गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।

टुटे पहाड भनिएका झुके देउता बन्नेहरु

बरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।

चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरु

हाम्रा सपना जल्नथाले बेथिति यो जलेन हजुर ।

कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरे

बरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।