19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कस्तो गल्ती गरेँ

कविता प्रा. डा. मोहन प्रसाद जोशी January 29, 2023, 5:18 am
प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी

ओहो ! मैले कस्तो गल्ती गरेँ
बीसौँ वर्ष भुलेँ, भट्कें
तिमीले कैयौँ रूपमा
मलाई दिन खोज्यौ —
हावा बनी बहेर, पहेँलो घाम बनेर
वर्षात गरेर, हरियाली भरेर
नीलाम्बर फिँजाएर, नक्षत्रहरू बनाएर
इन्द्रेणी तन्काएर, सूर्यचन्द्र चम्काएर
नदीलाई बगाएर, पन्छीहरु उडाएर
मलाई आफूसँग जोड्न खोज्यौ
ममा ऊर्जा भर्न खोज्यौ |
तर मैले तिमीलाई तिरस्कार गरेँ
आफ्नै कोयामा मस्त रहें |

तर बीसौँ वर्ष पछि आज फेरि
मैले तिमीलाई सम्झिन पुगेँ
र सम्झिनेबित्तिकै
मेरा भावहरू सरल बन्न पुगे
आँखाका कोसहरु तरल बन्न पुगे |

बिग्रेको थिएँ
छुट्टिएर गएँ
तर आज याद फिर्ता पाएको छु
तिम्रो आँगनमा फिर्ता आएको छु |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।