17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भोक

कविता नम्रता गुरागाईं January 29, 2023, 1:21 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

भोकले राजनिति जान्दैन
न त साहित्य नै
न संगीत जान्दछ
न त कला नै
मात्र भोकबाद जान्दछ
आखिर सपना देख्नेपनि
अघाउनेसम्म मात्र न हो
त्यसकै लागि उसले
खनिखोस्री गर्ने अलिकति माटो माग्छ
आफना हातका औंलाले
त्यही माटोलाई सुम्सुम्याउन खोज्छ
जब हातका औंलालाई दिने तालिम हुदैन
कोठेबारीमा, भान्सामा
त्यतिबेला
भोकले धर्यताको सिमाना उलंघन गर्छ ।

हरपल छाक टार्नमै तल्लिन
भोक बसेका ठाउंमा
कहिले
नेता आउंछन
अलिकति कनिका छरेर
उसका भोट किन्छन्
कहिले साहु महाजन आउंछन
त्यस्तै कनिकामा
उसका गरिवीका चोट किन्छन् र
आशाका थुप्रै भारी बोकाएर जान्छन
भोकले हेर्दाहेर्दै
नेता मन्त्री बन्छन्
साहु महाजन उसकै भोकको विज्ञापनले भाइरल बन्छन्
तर कसैले उसको भोक टार्न सक्दैनन
जब ठूलाले देखाएका आशालाई निल्ने
एक घुटको थुकपनि सुक्छ नि मुखमा !
त्यतिबेला भोकले धर्यताको सिमाना उलंघन गर्छ ।


सिमानाका कुरा त अघाउनेलाई हो
कहां सोच्न फुर्सद हुन्छ र भोकालाई
वारी र पारीका कुरा
भाषा र बिज्ञानका कुरा
हिसाब र किताबका कुरा
न जान्दछ उसले कांटा र चम्चाका कुरा
न जान्दछ उसले भरयांग र लिस्नुका कुरा
ए मान्छेहरु ! किन सोध्छौ अरु बादका कुरा
उसले त मात्र भोकबाद जान्दछ
जब भोकले सिमाना नाघ्छ नि !
याद राख
त्यतिबेला भोकले देशको सिमाना उलंघन गर्छ ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।