19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्को नाता

कथा विश्वराज अधिकारी January 29, 2023, 5:29 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

“बोहारी यो संसारलाई तिमीले जति सजिलो ठानेकी छौ त्येति सजिलो भने छैन्, यो लोभीपापी संसार डरलाग्दो र छलकपटले भरिएको छ। पाइला पाइलामा मान्छेको रूपमा गोहीहरू बसेका हुन्छन् यहाँ, कसैलाई स्वाट्ट निल्न। यसो अलिकति पनि चिप्ल्यो...... किनारमा...... कि निली दिन्छन्। कसैमाथि सजिलो गरी विश्वास नगर्नु, भर पनि नपर्नु। खास गरी, लोग्ने मान्छेहरूको भर हुँदैन .........। विचार पुर्याउनु, है। तिम्रो यो स्थिति............को फाइदा उठाउन सक्छन्। तिमीले भरखर दुनिया देख्दै छेउ, मैले धेरै देखिसकें, यो पच्पन साठ्ठीको उमेरमा।”
सासुको यो भनाइमा बोहारी माधवीलाई गुनासो भन्दा स्नेह बढि अनुभूत भयो। सासुको भनाइमा कुनै प्रतिरोध गरिनन्। त्यस्तो हुनुको कारण पनि छ। गएको पाँच वर्षमा दुबै, बिधुवा सासु र बिधुवा बोहारीको बीचमा कहिले मतभेत भएन, झगडा त परको कुरा भयो। आमा र छोरी जस्तो गरेर बसेका छन। सासु बिधुवा भएको पाँच वर्ष भएको छ भने बोहारी बिधुवा भएको केवल एक वर्ष। पच्चिस वर्ष पनि ननाघेकी बोहारी, बिहे भएको एक वर्ष पनि न बित्दै बिधुवा हुँदा सासुलाई असह्य पीडा भएको छ, छोराको मृत्युको शोक त छँदैछ। बोहारी विधुवा हुनुको पीडा सासुलाई यस हुनाले पनि बढि बोध भएको छ किनभने सासु मालती स्वयं पाँच बर्षदेखि बिधुवा जीवन बिताइ रहेकी छिन। बिधुवा जीवन दक्षिण एशियाली समाजमा कति कष्टकर हुन्छ हुन्छ, कति निराशपूर्ण हुन्छ भन्ने यथार्थ माधवी भन्दा मालतीलाई राम्रो गरी थाहा छ। अनुभव र ढल्किंदो उमेरले पनि त्यस्तो बोध गराएको छ। पुरुष प्रधान समाजले अझै बढी बोध गराएको छ।
“हैत! बिधुआ हुनुको पीडा अझै आइमाइहरूलाई नै बढी अनुभव गराउने रहेछन, यो दुनियामा। बिधुआ भएर कस्तो लगाएको, कहाँ गएको, कोसँग बोलेको, कोसँग हिंडेको, के खाएको जस्ता विषयहरूमा आइमाइहरूले अति नै चाँसो राख्ने गर्दा रहेछन।” यो मालतीले माधवीलाई पटक पटक सुनाउने अनुभव हो।
“लोग्ने मान्छेहरू भन्दा आइमाइहरूको दृश्य र अदृश्य आँखाहरूको वास्ता गर्नु पर्दछ। कुरा काट्नेहरूको ताँतीमा आइमाइहरूको संख्या बढी हुने रहेछ। तर लोग्ने मान्छेहरूको भने पृथक किसिमले निगरानी गर्नु पर्दछ।” माधवीलाई सचेत पार्न मालतीले बोल्ने वाक्यहरू हुन यी।
आवश्यक नभएको सहयोग दिन आइ पुग्छन केटाहरू, माधवीलाई हेर्ने बाहानामा। पाको उमेरकाहरू पनि उत्तिक आएका छन। आउनेहरूले जुनबेला पनि माधवीको शरीरको एक्स रे गर्छन र म मुख पनि मिठो पार्छन। पुरुषहरूको व्यवहार त्यस्तो हुनुमा माधवीको रूप पनि दोषी छ। मालतीको रूप र यौवनले पुरुषहरूलाई तानिरहेको हुन्छ। अनि .............पुरूषहरू विवश हुन पुग्छन र उमेर, समाज र विवेकले बनाएको मर्यादाको पर्खाल नाघेर माधवीलाई हेर्न पुग्छन। कत्तिले त यो पर्खाल भत्काउन पनि खोज्छन। यो मालतीले एक वर्षमा गरेको कटु अनुभव हो।
माधवीले गर्ने श्रृंगार र उनलाई भेट्न अनेक बहाना बनाएर आउने युवकहरूप्रति पनि मालती ससंकित हुनु पर्नै स्थिति छ। पति परलोक भएको एक वर्ष पनि न बित्दै माधवीले रंगीचंगी लुगा लगाएको, गहनाहरूले सजिएको र युवकहरूसँग कुरा गर्नमा मग्न भएको स्थिति मलतीलाई मन परेको छैन। मालती हेर्न भने विवश छिन। तर यसरी, माधवीका यी क्रियाकलापहरू उनलाई मन नपर्नुमा आफ्नो दोष मान्दिनन् मालती र मनमनै भन्छिन- मैले मेरो मनोविज्ञानले माधवीलाई हेर्न पाएको छैन, उनलाई मैले समाजले बनाइ दिएको मेरो मनौविज्ञानले हेरेकी छु। मेरो मनोविज्ञानले मैले माधवीलाई हेर्ने पाएको भए मेरो चिन्तनको स्थिति यस्तो हुने थएन। स्थिति पृथक हुने थियो।
एकहप्ता पहिले माधवी सफलसँग रक्सौल गएको मालतीलाई पटक्कै मन परेको थिएन।
“मम्मी, म रक्सौल जाँदैछु। त्यहाँ बीरगञ्ज भन्दा निकै सस्तोमा सामान पाइन्छ। सफल दाईसँग उहाँको मोटर साइकलमा जाँदैछु। मोटर साइकलमा सामान ल्याउन सजिलो हुन्छ पनि। सफल दाई अति नै भलादमी हुनु हुन्छ। आफ्नो बैनी झै माया गर्नु हुन्छ, मलाई। आमाले यस्तो उस्तो केही चिन्ता गर्नु पर्दैन।”। बीरगञ्जबाट रक्सौल जाँदा माधवीले मालतीको शंका निवारण यसरी गर्ने प्रयास गरेकी थिन।
हिँजो छाडि अस्तिको कुरा हो, माधवी सन्देशसँग घुम्न गएको पनि मालतीलाई पट्क्कै मन परेको थिएन। “साँझको समयमा घुम्नु राम्रो हुँदैन, माधवी। दिउँसो गएको भए हुन्थ्यो नि। तिमीलाई थाहा छैन, बीरगञ्ज अब पहिलेको जस्तो बीरगञ्ज रहेन। मधेस आन्दोलन पछि बीरगञ्ज बदलिएको छ। अब त........, अब त हिंडदा पाइला पाइलामा विचार पुर्याउनु पर्दछ। यी सबै कुरा तिमीलाई भलिभाँति थाहा छ। आफैले तिमीले देखेकी पनि हौ। कि होइन?” मालतीका यी कुराहरू माधवीले गंभिरतापूर्वक सुनेकी त थिन तर तत्काल प्रतिवाद पनि गरेकी थिन। उनले भनेकी थिन, “मम्मी, सन्देशलाई म राम्रो गरी चिन्छु। मेरो स्कूलदेखिको साथी हो। अति भलादमी छ ऊ। तपाइँले कुनै चिन्ता गर्नु पर्दैन, मेरो लागि। म उसँग हिंड्दा ढुक्क हुनुहोस्।”
माधवीले थपेकी पनि थिन, “मम्मी धेरै शंका गर्नु हुँदैन पनि। जति धेरै शंका गर्यो जीवन उत्तिनै निरश भएर जान्छ। हामीले दिनभरिमा धेरे पटक पानी पिउँछौ। धेरे वस्तुहरू खान्छौ। तर के ती वस्तुहरू एक एक गरेर केलाएर हेर्छौ, अनि खान्छौ? यस भित्र खराब कुरा केही पनि नहोला भन्ने विश्वासका साथ खान्छौ। तर त्यसरी खाँदा पानी भित्र सजिलै न देखिने किराहरू मरेको स्थितिमा पनि त हुन सक्छ। खाने वस्तुमा केही नराम्रो कुरा मिसिएको पनि हुन सक्छ। कि होइन मम्मी?”
माधवीका यी तर्कहरूले मालतीलाई थप बोल्न नसकिने स्थितिमा पुर्याइ दिएका थिए।
आज विहानको स्थितिले भने मालतीलाई थप चिन्तित तुल्याइ दिएको थियो।
सफल एका बिहानै प्रकट भएका थिए माधवीलाई गढीमाई मन्दिर आफूसाथै लग्ने योजनाका साथ।
“मम्मी, माधवीले गढिमाईको दर्शन गर्ने तिब्र इच्छा गरेको र त्यसतर्फ जान पटक पटक मलाई आग्रह गरेको हुनाले म उनीलाई गढिमाई लग्ने निर्णयमा पुगेको छु। अहिले, बिहानै त्यता जाने बिचार गरेको छु। गढिमाईको दर्शन गरेर फर्किन बढीमा दुई घण्टा लाग्ला, त्यो भन्दा बढी लाग्ने छैन। आफ्नै सवारीमा, मोटर साइकलमा, जाने हो, धेरै सयम लाग्दैन। उताबाट फर्केपछि मैलै पनि काममा, दस बजे भन्दा पहिले पुग्नु छ।” माधवीलाई गढिमाई लग्न भूमिका सहित यसरी सफलले अनुमति मागेका थिए।
माधवीले उत्साहित हुँदै केवल मालतीले सुन्ने गरी भनेकी थिन, “मम्मी, हेर्नुस त, सफल दाई कति बेस मान्छे हुनु हुन्छ। यति बेफुर्सती भएर पनि मलाई समय दिने गर्नु हुन्छ। तिन ओटा क्याम्समा पढाउनु हुन्छ। एक छिन फुर्सत हुँदैन उहाँलाई। राति विद्यार्थीहरूलाई ट्युसन पनि पढाउनु हुन्छ। बिहे नहुँदै घर चलाउन यति मेहनत गर्नु हन्छ। बिहे गरेपछि कति मेहनत गर्ने होला, झन? कति बेश, आफ्नै बैनी जस्तो गरेर माया गर्नु हुन्छ मलाई। यस्तो अरूले गर्छ? अरू त सबै मतलबका यार मात्र छन।”
“सफल बाबु, राम्रो गरी जानु है। माधवी धेरै समय नलगानु। छिटै आउनु। मैले पनि वृद्ध फुपु भेट्न तेजारथ टोल जानु छ आज दिंउसो। है त।” माधवीले मागेको अनुमति पत्रमा यसरी मालतीले हस्ताक्षर गर्नु परेको थियो।
माधवी र सफल मोटर साइकलमा गएको दृश्य मालतीले निकै बेरसम्म हेरेकी थिन, घरको बरन्डामा आएर। यदि महाभारतको सञ्जय झै हेर्न सकिने क्षमता मालतीले पाएको भए माधवी र सफल गढिमाईबाट फर्केर घर नआएसम्म हेरि नै रहने थिन, दुबैलाई। दुबैले बाटोभरि के के गरे, पनि हेर्थिन तर वीरगञ्जको रिक्सा, मोटर, मोटर साइकलको भीडले केही छिनमै त्यो मोटर साइकलकको दृश्यलाई निलिदियो।
माधवी र सफल गढिमाई तिर लागेपछि मालती निकै बेरसम्म सोंच मग्न भइन।
माधवी र सफल अलि ढिलो गरि घर आए। उनीहरू आउँदा दस बजिसकेको थियो। माधवीले खाना खाएर जान आग्रह गर्दा पनि सफलले त्यो आग्रह स्वीकार गरेनन्। फर्किनासाथ काममा जान मोटर साइकल हुइँक्याए।
सफल गएको केही क्षण मात्र भएको थियो। मालती र माधवी दुवैले सफल- प्रस्थान स्थिति हेर्दै थिए। यही स्थितिमा माधवीले भनिन्, “सफल दाई कत्ति भलादमी हुनुहुन्छ, है मम्मी?, आफ्नै दाई झै माया गर्नु हुन्छ। होइन त, मम्मी?”
मालतीले उत्तर नदिएर प्रश्न गरिन, “माधवी एउटा कुरा भनौ, है?”
“भन्नुहोस मम्मी, निर्धक भएर भन्नुहोस, जे भन्न खोज्नु भएको हो। म बोहारी मात्र होइन, हजुरको छोरी जस्तो पनि हुँ।”
“सफलसँग तिमीले अर्को नाता लगाए पनि हुन्छ।” मालतीले भनिन।
“के भनेको........ मम्मी, हजुरले, मैले बुझ्न सकिन.......!” माधवीले अनुहार रातो पारेर भनिन।
मालतीले प्रष्ट पारिन, “तिमीले राम्रो गरी बुझेकी छेउ, माधवी।”
मालती र माधवीले निकै बेरसम्म एक अर्कालाई हेरा हेर गरे।
मलातिले फेरि भनिन्, “मेरो पूर्ण स्वीकृति हुनेछ, त्यो अर्को नाताको लागि। बरू अब सफललाई दाइ भन्न छाडिदेउ, है माधवी।”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।