19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘उमिहोतारु’ अग्रगामी भावना र विचारको प्रबल प्रस्तुति

कृति/समीक्षा प्रा.कपिल अज्ञात February 11, 2023, 3:27 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

नियात्राकार कृष्ण बजगाईंको कृति हो – उमिहोतारु (२०७९), यो जापानी भाषाको शब्द रहेछ । जसको अर्थ रहेछ – सामुद्रिक जुनकिरी । अहा ! शीर्षक नै बिम्बात्मक लाग्यो । यसमा एक्काईसवटा नियात्राहरू समेटिएका छन् तर यस नामको कुनै शीर्षक देखिन्न तर पहाडको टुप्पोदेखि समुद्रमुनिसम्ममा यस विषयको वर्णन छ । त्यसै विषयका आधारमा शीर्षकीकरण गरिएको बुझिन्छ । सारा विषयलाई समेट्ने कुनै एक शीर्षकबाट पूरै कृतिको नामकरण गर्ने पनि प्रचलन छ । सबै शीर्षकहरूभन्दा इतर किन्तु सबै विषयलाई सङ्केत गर्ने शीर्षक बिम्बात्मक रूपमा रहेकाले सटीक र सार्थक देखिन्छ ।

विषयको कसीमा घोट्दा यसमा अब्बल प्रकृतिका नियात्राहरू रहेका छन् । विशेषतः नियात्राको शैली र सीपको विकास गर्न चाहने र अनुभवको क्षितिज फराकिलो तुल्याउन चाहने सिर्जनशील पाठकले बजगाईंका नियात्राहरू पढ्नै पर्ने प्रकृतिका देखिन्छन् । नियात्रामा कोही भावुकतामा अधिक बरालिन्छन्, कोही काव्यात्मकतामा अधिक खनिने गर्छन्, कोही विवरण बर्साउनमै एकोहोरिन्छन्, कोही वर्णनमै बतासिने गर्छन् तर बजगाईं महत्वपूर्ण घटना वा वस्तुलाई महत्वका साथ हेरी सटीक र सार्थक ढङ्गले अनुभूतिहरू संयोजन गर्दै तिनलाई सन्तुलित र व्यवस्थित तुल्याउनमा आफ्नो शैली र सीपको यथेष्ट उपयोग गर्छन् । कथ्यलाई अधिक नतन्काई सतही र सपाटपनबाट जोगाउँदै कथ्नै पर्ने कुरालाई कथेर यथोचित रूपमा कथ्यको बिट मार्दछन् जसबाट नियात्राको शैली र सीपको मानक रूप स्पष्टतर भएको पाइन्छ ।

जोसँग नयाँ कुरा थाहा पाउने उत्कट इच्छा हुन्छ । गोडाभन्दा चनाखा आँखा हुन्छन् । मन छिटो गन्तव्यमा पुग्न खोज्छ, उसले नै यात्राको जीवन्त चित्र उतार्न सक्छ । त्यो सिर्जनात्मक शक्ति, सीप, सामथ्र्य कति रहेछ भन्ने तथ्यको नमुना क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरीमा देख्न सकिन्छ । बच्चा नाङ्गो देखिँदा हामीमा कुनै विरोधी भाव जागृत हुँदैन तर युवा वा वयस्क नाङ्गिदा हाम्रो मन लाजले खुत्रुक्क पर्छ । क्याम्ब्रिज युनिभर्सिटीको किंङ्स कलेजका सामु पच्चीस–तीस जना महिला र पुरुष निर्वस्त्र उभिएको देख्दा लेखकको मन लाजले भुतुक्क हुनु स्वाभाविकै हो । सभ्य मानिएको वस्त्रवेष्टित समाजमा यस्तो दृश्य देखिनु अद्भुत हो तर सिर्जनात्मक चेतले संयमित भएर नियात्राकारले जे–जसरी जीवन्त चित्रण गरेका छन्, त्यसले पाठकको मनमा शक्तिशाली ऊर्जा प्रवाहित गर्छन् । श्लील–अश्लीलको गम्भीर प्रश्न पनि यसबाट हल हुने देखिन्छ । ठाउँ, परिस्थिति र उद्देश्यअनुसार श्लीलता र अश्लीलता परिभाषित हुने तथ्य पनि बुझ्न सकिन्छ । निर्वस्त्र हुँदा पनि श्रद्धा उत्पन्न गराउने त्यो सन्दर्भ अनुपम छ । लेखकले निकै सकारात्मक विश्लेषण गरी सुन्दर सिर्जना प्रस्तुत गर्न सक्षम भएका छन् । यसमा उनको समीक्षात्मक चेत पनि निकै तीव्र देखिन्छ, जस्तै ः नारा, जुलूस, तोडफोड, बारुद र बन्दुकभन्दा शक्तिशाली थियो । विरोधको त्यो नाङ्गिएर विरोध प्रदर्शन गर्ने सशक्त शैली देखेर म प्रभावित भएँ । यसबाट विरोधको त्यो शैली देखेर उनी आपूm मात्र प्रभावित भएका छैनन्, आफ्ना लेखनबाट पाठकलाई पनि त्यत्तिकै प्रवाहित पार्न सफल देखिन्छन् । यसरी अद्भुत र महŒवपूर्ण सन्दर्भ पक्रेर आफ्नो शैली–शिल्पले जीवन्त रूप दिनुमा लेखकको सिर्जनाशक्तिले यहाँ निकै सुन्दर भूमिका निर्वाह गरेको पाउन सकिन्छ ।
यसमा नाङ्गोको प्रसङ्ग चलेको छ । नाङ्गा भन्नाले हामी गुप्ताङ्गबाहेकका अङ्गहरू खुला रहेको भन्ने बुझ्दछौं तर कुरा छ – सर्वाङ्ग निर्वस्त्रको । यसले चार इन्ची धरो पनि अङ्गमा छैन भनेपछि पूरै बुङ्गो बनेको स्थिति हो तर यहाँ बुङ्गो किन नभनिएको होला भने बुङ्गोको भित्री पक्ष पनि बुङ्गै हुन्छ अर्थात् भित्र कुनै उद्देश्य र आदर्श हुँदैन । यहाँ त समग्र मानवजातिको हितको पक्षमा निर्वस्त्र हुनु परेको कारण देखाएर बुङ्गो शब्दको प्रयोग नगरिएको हुन सक्दछ । जे होस्, यसको चित्रणमा पनि उत्तिकै रम्यता छ, जस्तै ः विवाह पनि नभएका निर्वस्त्र युवतीको कामुक शरीरबाट यौनको ज्वारभाटा उठ्नु पर्नेमा विरोधको मुस्लो उठिरहेको देखें ।

यात्राको खोजको अभियान हो र ज्ञानको स्रोत पनि हो भन्ने तथ्य उमिहोतारु कृतिले साबित गरिदिएको छ । अमेरिकाजस्तो शक्तिशाली मुलुक पनि कुनै बेला बेलायतको उपनिवेश रहेको, सूर्य उदाएदेखि अस्ताएसम्मका सबै देश अधीनस्थ तुल्याउन सफल रहेको बेलायत पनि कुनै बेला रोमन साम्राज्यको अधीनस्थ रहनु परेको ऐतिहासिक तथ्यजस्ता अनेक ज्ञानप्रद कुराहरूलाई पनि यस कृतिले प्रकाश पारेको छ । कोरोनाकालभित्र यात्रा गरेर पनि महत्वपूर्ण कृतिको रचना गर्न पुगेका बजगाईंले कोरोनाको प्रभावलाई पनि कुशलतापूर्वक चित्रण गरेका छन् ।

बजगाईंका हरेक निबन्धले नयाँ परिवेशको परिदृश्य दर्साउनुका साथै एक महत्वपूर्ण कुराको ज्ञान दिन्छन् । त्यसले पनि नियात्रा रोचक र रमणीय बन्न पुगेको देखिन्छ । सर्वाङ्ग नग्न सुन्दरीको चित्रण पछि योनि म्युजियममा चिहाएर उनले मानवीय व्यवहारका निम्ति अत्यन्त उपयोगी योनिज्ञानको रहस्यसमेत खुलाएका छन् । यौनलाई श्लील रूपमा लिनुपर्छ र नैतिक अनुशासन र मर्यादामा रहेर त्यसको उपयोग गर्नुपर्छ भन्ने मान्यतामा उनी पनि उभिएका देखिन्छन् । सार्वजनिक रूपमा योनिका कुरा सङ्कोच मानिन्छ । यो संस्कारजन्य भावनाको परिणति हो । धर्म–संस्कृतिअनुसार योनिलाई शान्ति र सौन्दर्यको समन्वयको रूपमा लिइन्छ । कतिपय मन्दिरका टुँडालहरूमा संभोगात्मक आसनका अनेक चित्रहरू देख्न सकिन्छ ।
यौनज्ञान अति महŒवपूर्ण विषय हो । यसको कमीले पनि हाम्रो मुलुक पिछडिएको स्थितिमा छ । यसको ज्ञानलाई शिष्ट र सभ्य रूपमा लिनुपर्छ । महिलाका महिनावारीसम्बन्धी अन्धविश्वास र मान्यताका अनेक रोचक विवरणले नियात्रा महत्वपूर्ण बन्न पुगेको छ । लेखकले योनि म्युजियमलाई शैक्षिक केन्द्रका रूपमा देखेका छन् । योनि म्युजियमको यात्रा अनुभूति लेखेर उनले प्रतिपादित विषयलाई ज्ञानप्रद र अनुभवप्रद तुल्याएका छन् । योनिज्ञानजस्तै लिङ्गज्ञान पनि सचेतताका निम्ति अति महत्वपूर्ण छ । योनि म्युजियमजस्तै लिङ्ग म्युजियम पनि हुनुपर्छ । पौराणिककालमा लवध नामका एक ऋषि थिए । उनले सम्भोगक्रियाबाट अनेक रोगको उपचार बताउँथे । लिङ्ग र योनिका बारेमा महत्वपूर्ण ज्ञान प्रदान गर्थे भनिन्छ, जस्तै ः फ्रायडभन्दा पनि अघिका वात्सायनले सम्भोगक्रिया र आसनका बारेमा महत्वपूर्ण ज्ञान प्रदान गरेका छन् । चिकित्सा शब्दको प्रयोगले त्यसको अर्थ र आशयबाट झर्रो रूपमा प्रयोग हुने शब्दको गहिरो अर्थ पनि बुझ्न सकिन्छ । पुरुषमा निहित लिङ्गको क्रियाशील सम्बन्धबाट आपूm कति स्वस्थ छु, मधुमेह, प्रेसर आदिले कतिसम्म जरा गाडेको छ भन्ने समेत अड्कल गर्न सकिन्छ । यसरी लवध ऋषिले सम्भोग आनन्द मात्र होइन उपचारको पनि माध्यम हो भन्ने बताएका थिए । यस्तो उपयोगी ज्ञानलाई पनि लज्जा र सङ्कोचले बुझ्न असमर्थ भएका छौं । नियात्राका माध्यमबाट यस्तो अथाह उपयोगी ज्ञानलाई प्रस्तुत गरेर नियात्रा वस्तु र दृश्यको दर्पण मात्र होइन दर्शन पनि हो भन्ने तथ्यलाई नियात्राकारले उजागर गरेका छन् ।

ग्रिनवीचको काल्पनिक रेखामा पाइला अन्तर्राष्ट्रिय समय अर्थात् मानक समय निर्धारण गर्ने स्थानका बारेमा वर्णन गरिएको छ । ग्रिनवीच बेलायतको सबैभन्दा पुरानो पार्क मानक समयको रेखाका रूपमा ज्योतिषशास्त्रमै पनि चर्चा गरिएको पाइन्छ । त्यहाँ डल्लोको रूपमा रहेको सौर्यघडीको मुख्य आकर्षणलाई पनि लेखकले सटीक ढङ्गले चित्रण गरेका छन् ।
कुकुरको चिहानमा चार थोपा आँसु सबैका निम्ति विचित्र अनुभवको विषय हो । कुकुर वफादार प्राणी हो । मानिससँगको घुलमिलमा ऊ मानिसकै परिवारको सदस्य बन्दै आएको छ । जुन प्राणीप्रति प्रगाढ प्रेम हुन्छ, त्यो श्रद्धा र सम्मानको योग्य बन्दछ । उसको स्मृतिमा चिहानसमेत बन्दछन् । उसैलाई ब्रान्डिङ गरी बिक्री गर्न सके पर्यटनमा पनि आकर्षणको विषय बन्न पुग्दो रहेछ । कुकुरस्मृतिमा स्थापित शिलास्तम्भका हृदयस्पर्शी पङ्क्तिहरूले पनि गुण र प्रेमको सम्झना जहाँ पनि हुन्छ भन्ने सन्देश दिइरहेका छन् ।
प्रजातन्त्रको जन्मस्थलमा म्याग्नाकार्टा खोज्दा बौद्धिक लेखको रूपमा रहेको निबन्ध हो । यसले स्वतन्त्रतासम्बन्धी कानूनको महत्व दर्शाएको छ । मानिस स्वतन्त्रताका निम्ति हरसमय सङ्घर्षशील रहन्छ । स्वतन्त्रता र प्रजातन्त्रको मीठो भ्रमबाट मुक्त हुन नसकेको स्थिति छ । शासकहरू आफ्नो सुविधाका लागि कतिसम्म स्वार्थी हुन्छन् भन्ने तथ्य अर्थव्यवस्था निकै कमजोर भएको बेलामा पनि भरमुग्दर कर बढाउन चुक्दैनन् भन्दै नियात्राकार भन्दछन् – जनताका सेवा र सुविधाका लागि केही नगर्ने तर आफ्ना सुविधाका लागि जनतालाई कर थोपर्ने र राज्यको ढुकुटीमा मोजमस्ती गर्ने पात्रहरू मातृभूमिमा देखेको छु । समाजका यस्ता विसङ्गत पक्षलाई पनि उनले आफ्ना निबन्धमा उधिन्दै लगेका छन् ।
विटल्स र यायावर विश्लेषणात्मक र विवेचनात्मक प्रकृतिको निबन्ध हो । विटल्स एक सांस्कृतिक समूहको नाम हो जसमा चारजना कलाकारहरू संलग्न थिए । यायावरको अर्थ घुमफिर गर्नु हो । विटल्सको आरोह–अवरोहका विषयमा यसमा कुशलतापूर्वक चित्रण गरिएको छ । बाह्य प्रकृत्ति मात्र होइन आन्तरिक प्रकृतिका पनि खोजकर्ता देखिन्छन् – बजगाईं । उनको यायावरीय स्वभाव नयाँनयाँ र महत्वपूर्ण खोजमा केन्द्रित देखिन्छ । यसै क्रममा पूर्वका वात्सायनजस्तै पश्चिमका संसार प्रसिद्ध मनोविश्लेषक फ्रायडको स्थिति बुझ्न पुगेका छन् । त्यस्ता महान् विचारक पनि लन्डनमा शरणार्थी हुन पुगेको अवस्था शीर्षकले नै अवगत गराएको देखिन्छ । फ्रायडको जीवनीलाई पनि दर्साउने यस निबन्धले तत्कालीन अवस्थाको समेत बोध गराउँछ । यसमा नियात्राकारको समीक्षाचेत, कति तीव्र र सशक्त छ भन्ने तथ्य कविताबारे कथिएका शाश्वत चिन्तनका अभिव्यक्तिले पनि सावित गर्दछन् । कविताबारे गरिएको गहन टिप्पणीले पनि यस निबन्धको महत्व अधिक बढ्न गएको पाइन्छ ।

प्रकृतिका दृश्यावलोकनहरूमा मात्र होइन विद्वान्, विचारक र साहित्यिक व्यक्तित्वको खोजमा पनि लेखक उत्तिकै उत्साहयुक्त र रुचिवान देखिन्छन् । उनको सूक्ष्मदृष्टिले मिहिन वस्तुको पनि विश्लेषण गरेको पाइन्छ । डि. एच. लरेन्स र ब्लु ट्रेल त्यसैको नमुना हो । एक शक्तिशाली लेखक भएकाले महान् लेखकहरूप्रति जिज्ञासा राख्नु स्वाभाविकै पनि हो । सङ्क्षिप्त रूपमा नियात्रा भनेको आँखा, मन र मस्तिष्कको सन्तुलित अभिव्यक्ति हो । तर यति मात्र होइन रहेछ । मनन गरेपछि थाहा भो नियात्रा शोधखोज र नवीन तथ्यहरूको उत्खनन पनि रहेछ । नियात्राकारका रूपमा उनी कोरा नियात्राकार मात्र नरहेर जीवनीकार विश्लेषक, समीक्षक, चिन्तक र खोजकर्तासमेत एकसाथ देखापरेका छन् । त्यसैले पनि उनको नियात्रा लेखनले उत्कृष्ट उचाइ हासिल गरेको देखिन्छ । लेखकले आफ्ना अवलोकनका क्रममा ससाना र महत्वपूर्ण कुरा यथासम्भव छुटाएको पाइन्न । त्यस्ता कुराको चित्रणले पाठकलाई रोमाञ्चित तुल्याउँछ भन्ने उनमा हेक्का छ । यस्तै मिहिन विश्लेषण र सूक्ष्म सीप–सामथ्र्यले नियात्राकार अब्बल श्रेणीका रहेछन् भन्ने अवगत हुन्छ । हाम्रो परम्परागत सोच, संस्कार र दृष्टिलाई नै आफ्ना खोज र लेखनमार्फत पुनर्विचार गर्न उत्प्रेरित गराउने बजगाईंको नियात्रा सिर्जनकलाबाट म निकै प्रभावित र प्रेरित हुन पुगेको छु र भन्न सक्छु – भावुक संवेदना, कल्पनाशीलता, सूचनात्मकता मात्र होइन बौद्धिक उहापोह र सूक्ष्म विश्लेषणले नियात्रा लेखनलाई अझ गहन, खँदिलो र सशक्त तुल्याउँछ ।

नियात्राकारहरू प्रकृतिमुखी, स्वच्छ र शान्त ग्रामीण परिवेशका प्रेमी हुन्छन् । प्रकृति र गाउँको जीवन्त चित्रण गर्ने बेलायती गाउँका कुपरको चित्रण गरिएको नियात्रा हो – बेलायती गाउँमा कुपर । “पहिले गाउँका दुःख देखेर दुखित हुन्थें अहिले गाउँको कुरूप अनुहार देखेर दुःखी हुनु परेको छ” भन्ने नियात्राकारको मर्मस्पर्शी कथनले पाठकलाई निकै संवेदित तुल्याउँछ । नियात्राकार स्वयम् कवि पनि भएकाले कुपरका कविताका प्रशंसकसमेत बनेका छन् र प्रकृतिको बहुमूल्य स्रोत पानीको महत्व दर्साएका छन् । कवि र प्रकृतिको सम्मान गरे समाजको भलो हुन्छ भन्ने सन्देश पनि उनले दिएका छन् । तत्कालीन समाजमा दासहरूको किनवेच हुने रहेछ । कवि एवम् लेखक जोन न्यूटन पहिले त्यसैको व्यापार गर्थे पछि उनको मन परिवर्तन भयो र उनी मानवमुक्तिको अभियानमा लागेका रहेछन् ।

यात्रामा प्रकृतिका हिमाल, पहाड, झरना, नदीनाला आदिमा रमाउनुभन्दा इतिहास, कला, संस्कृति र साहित्य आदिको खोजीनिती गर्नु बजगाईंको सिर्जनशील प्रवृत्ति रहेको छ । रोमबाट किट्सलाई पछ्याउँदै लन्डन पनि साहित्यिक खोजकै एक नमुना हो । नियात्राबाट ज्ञानप्राप्तिको अभिलाषा राख्नेहरूलाई उनका नियात्रा उच्चकोटिका बनेका छन् । साहित्यिक पर्यटनको विकास र प्रबद्र्धन गर्न सके पर्यटनमा ठूलो टेवा पुग्थ्यो भने उनका विचार र दृष्टिकोणहरू पनि निकै मननीय रहेका छन् ।
मिल्टन्स कटेजको आमन्त्रणमा नियात्राकार मिल्टन्स कटेजमा नै पुग्दछन् । उनी साहित्यकारको निवासलाई तीर्थस्थल नै मान्दछन् । यसमा बेलायती गाउँलेहरू प्रकृतिप्रति सचेत रहेको कुरा दर्शाउँदै मिल्टन्स जीवनको अन्त्यकालमा दृष्टिविहीन हुन पुगेर पनि पाराडाइज लस्ट रचना गरेको बताउँदै उनको विलक्षण प्रतिभाको परिचय गराउँछन् – मिल्टन्स कटेजमा गणतन्त्रवादी कवि ।

भर्जिनिया उल्फको मङ्क हाउस नियात्रामा पनि साहित्यिक लेखिका भर्जिनियाकै अवस्थाबारे चित्रण छ । पीडै–पीडा बेहोर्न परेकी र मानसिक रूपमा अस्वस्थ बनेकी भर्जिनियाले डिप्रेसनको शिकार बनेर अन्तमा आत्महत्यासमेत गर्न पुगिन् । त्यस्तो मानसिक पीडा बेहोरेकी भर्जिनियाले कुन शक्तिले त्यस्ता शक्तिशाली सिर्जना सिर्जित गर्न सकिन् लेखकको जिज्ञासाले पाठकलाई पनि गम्भीर तुल्याउँछ ।

बेलायतीहरूलाई अति नै मनपर्ने विश्वप्रसिद्ध कवि हुन् – वर्डस्वर्थ । उनी रोमान्टिसिज्मको सूत्रपात गर्ने कविमध्ये एक हुन् । रोमान्टिक कविहरू स्वभावैले प्रकृतिप्रेमी हुन्छन् । यहाँ पनि नियात्राकारले प्रकृतिसँग साक्षात्कार गराएका छन् । वर्डस्वर्थको जन्मघर डोभ कटेज साहित्यिक तीर्थस्थल बनेको दर्शाएका छन् । नियात्राकार स्वयम् कविमनका भएकाले अन्तमा वर्डस्वर्थको नेपालीमा अनुदित एक कवितापुष्पसमेत अर्पित गरेका छन् ।

जापानमा चार दिने साहित्यिक म्याराथुनमा नियात्राकारले साहित्यिक पर्यटनको कुरा उठाएका छन् र आपूm पनि विशुद्ध साहित्यिक पर्यटक बनेका छन् । पर्यटनका नाममा हिमाल, पहाड, झरना मात्र होइन साहित्यिक पर्यटनको विकास गर्न सके नेपालको गौरव बढ्थ्यो भन्ने उनको सोचाइ छ । जापान हाइकू रचनामा प्रसिद्ध छ । हाइकुको अन्तर्राष्ट्रियस्तरकै कार्यक्रममा आफू उपस्थित हुन पाउनु र आफ्ना हाइकु तीनवटा भाषामा प्रकाशित भएकोमा स्वयम् पुलकित पनि भएका छन् । हाइकु सिर्जनाका निम्ति प्रकृतिका विविध रूपको दर्शन गर्नु पर्ने बताएका छन् ।

साहित्यिक व्यक्तित्वको शोधखोज गर्ने क्रमको नियात्रा हो – उपन्यासकार नात्चुमे र जापानी बिरालो । बेलायतमा साहित्यकारको ठूलो सम्मान छ । उनीहरूको सङ्क्षिप्त परिचय हेतु नीलो प्लेट टाँस्ने प्रचलन छ । त्यसले साहित्यिक पर्यटनलाई प्रबद्र्धन गर्दछ । तर नेपालमा साहित्यकार र साहित्यिक उन्नयनका निम्ति खासै त्यस्तो केही गरिँदैन भन्ने लेखकको गुनासो मनासिव हो भन्ने लाग्दछ । जापानमा कालो बिरालो शुभ मानिन्छ तर नेपालमा अशुभ । ठाउँ र परिवेशअनुसार मानिसको सोच र दृष्टिमा पनि भिन्नता हुन्छ भन्ने देखिन्छ । सेन्सोजी मन्दिरमा किमोनो गर्ल नियात्रामा जापानीहरूले मान्ने गरेको टोकियोमा अवस्थित प्राचीन बुद्ध मन्दिर हो । यसको वर्णनबाट जापानी चालचलन र संस्कृतिको बोध हुन्छ । मन्दिर पवित्र स्थल हो । त्यहाँ जाँदा कसरी पवित्र भएर जानुपर्छ भन्ने कुराको उल्लेख छ । जसरी नेपालमा हिन्दू र बौद्ध धर्मका बीच समन्वय छ त्यस्तै जापानमा पनि बुद्ध र सिन्तो धर्मका बीच समन्वय रहेको बोध हुन आउँछ ।

पहाडको टुप्पोदेखि समुद्र मुनिसम्म नियात्राले जापानको प्रकृति र विकासलाई चिनाउने गरेको छ । जापानीहरूले प्राकृतिक जङ्गल त जोगाएकै छन् । कृत्रिम जङ्गलको पनि विकास गरेका छन् भन्दै लेखकले जापानीहरूको सोच र दूरदृष्टिबारे सङ्केत गरेका छन् । बहुप्रतिभाशाली मिसिमाले हाराकिरी अर्थात् धारिलो तरबारले आफ्नै पेट चिरी गरिने आत्महत्याको अत्यन्त दुःखद घटना पनि उल्लेख गरेका छन् । कृतिको नामकरण गरिएको ‘उमिहोतारु’ नामक कृत्रिम टापुको सन्दर्भ र प्रसङ्ग पनि यसै नियात्राबाट पाउन सकिन्छ ।
टोकियोमा सपनाको यात्रा नियात्रामा टोकियो घुमेका अनुभूतिहरू समेटिएका छन् । ‘रहस्यमयी भूमि हो – जापान, सपनाको शहर हो टोकियो’ भन्ने नियात्राकारको निष्कर्षसँग हामी सबै सहमत हुन सकिन्छ । दरबारको परिवेश, शहरमा गुड्ने मनोरेल आदिका मिहिन वर्णनले नियात्रा रोचक बनेको पाइन्छ ।
जापान बौद्ध धर्मावलम्बीहरूको देश हो । त्यहाँ बौद्ध मन्दिरहरू प्रशस्तै रहेका छन् । तिनैको दर्शन र वर्णनमा यासुकुनी जिन्जामा आत्माको वास निहित देखिन्छ । जापानीहरूको स्वभाव र शैलीलाई पनि लेखकले दर्शाएका छन् ।

नेपाली साहित्यको विशाल आयतनभित्र सामुद्री जुनकिरी, जुनकिरीझैं मात्र नभई चम्किलो ताराझैं चम्किने छ भन्नेमा विश्वस्त हुँदै यात्रामा अर्जुन दृष्टि दिएर लेख्ने, लेखनमा जीवनका विविध आयाम समेट्ने, यात्रामा नवीन खोजवृत्ति अपनाउनुपर्छ भन्दै इतिहास, कला, संस्कृति र साहित्यका नवीन तथ्यहरू उत्खनन गर्ने नियात्राकार देखिन्छन् बजगाईं । उनी नियात्राकार हुनकै लागि जन्मिएका हुन् कि झैं लाग्दछ । नियात्रा परम्परामा डायोस्पोरिक लेखनका शक्तिशाली लेखकका रूपमा नेपाली नियात्रालाई उचाइमा पु¥याउने लेखक हुन् बजगाईं ।

अन्त्यमा, प्रवासमा रहेर साहित्यिक सिर्जनामा अनवरत लागिरहेका प्रकृति, इतिहास र संस्कृतिका मिहिन तथ्यको उत्खनन, विश्लेषण र समीक्षा गर्दै आइरहेका बजगाईंको यो नियात्राको चौथो कृति डायोस्पोरिक साहित्यकै उत्कृष्ट नमुनाका रूपमा देखापर्छ । विभिन्न विधाका तेह्रवटा कृतिहरू प्रकाशित गरिसकेका बजगाईंले सर्वप्रथम आख्यानबाटै साहित्य सिर्जनामा प्रवेश गरी आफ्नो राम्रो पहिचान बनाउँदै आएको देखिन्छ । साहित्यिक पर्यटन र प्रबद्र्धन कसरी गर्ने, नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पु¥याउने भन्ने उनको चासो र चिन्ताले पनि उनी साहित्यका गम्भीर लेखक रहेछन् भन्ने बुझ्न सकिन्छ । यस कृतिका तीन भागमध्ये दुई भाग जति विषय बेलायती यात्रासँग सम्बन्धित छन् भने एक भाग जति जापानी यात्रासँग सम्बन्धित छन् । एक नियात्रा अमेरिकाको बारेमा छ । प्रकृति र शहर–बजार मात्रै उनका यायावरीय विषय नरहेर अधिकतर साहित्यिक व्यक्तित्वका शोधखोजमा केन्द्रित छन् । त्यसैले उनका नियात्रा अधिक बौद्धिक, मिहिन र सूक्ष्म प्रकृतिका छन् । हर कुनै नियात्राबाट नियात्राकार आनन्द र खुसीको नवीन जानकारी मात्र नदिएर नवीन ज्ञान पनि दिऊँ भन्ने ध्येयले रचिएका हुनाले त्यत्तिकै उपयोगी र महत्वपूर्ण पनि छन् । सबैभन्दा स्पष्ट रूपमा उभ्रिने उनको चित्रात्मक वर्णनले उनका नियात्रा रोचक र ऊर्जाप्रद बनेका छन् । नेपाली नियात्राको अग्रसूचीमा बजगाईंका नियात्राहरू राखिएकोमा सहमति र समर्थन जनाउँदै अझ रोचक, ज्ञानप्रद र उपयोगी नियात्राको कामना गर्दछु ।

भरतपुर–१२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।