17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वरिष्ठ समालोचक तथा साहित्यकार डा. विदुर चालिसेसँग वार्ता

वार्ता रमेश पोखरेल February 12, 2023, 5:07 pm
रमेश पोखरेल
रमेश पोखरेल

बुबा हेमनाथ चालिसे र आमा ओमकुमारी चालिसेका पाँच सन्तान मध्ये चौथो सन्तान र माहिलो सुपुत्रको रूपमा वि.स. २०१६ कार्तिक २३ गते ( नागरिकता अनुसार कार्तिक १५ गते ) गोकर्णेश्वर नगरपालिका-९, आरूबारी, काठमाडौँमा जन्मनुभएका डा. विदुर चालिसे सोही स्थानमा आफ्नी धर्मपत्नी पदमा चालिसेसँग स्थायी बसोबास गर्दैआउनु भएको छ । तीन छोराछोरीहरू- विनय, माला र विशालका पिता डा. चालिसेले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको हो । वि. सं. २०३३ चैत्र ३ गतेबाट सरकारी सेवामा प्रवेश गरी १५ वर्ष सरकारी सेवामा र पछि २९ वर्ष त्रिवि प्राध्यापन सेवामा कार्यरत रही जम्मा ४४ वर्ष सेवा गरी भर्खरै प्राध्यापकबाट हालसालै सेवा निवृत्त जीवन बिताइरहनु भएको छ ।
उहाँले वि.सं. २०४० सालतिरदेखि लघुकथा लेखन शुरू गर्नुभएको हो । वि.सं. २०४५ मा पहिलो पटक "रवि" शीर्षकको उहाँको लघुकथा, मिर्मिरे पत्रिकामा प्रकाशित भएको छ । नेपाली भाषामा उहाँका प्रकाशित लघुकथा सङ्ग्रहहरू १.) "रातो चामल- २०७६” , २.)"जलान-२०७७” र ३)“लघुकथालय-२०७९” हुन् ।
अंग्रेजीमा अनुवादसहित नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित १)“HOLOCAUST-2022”, २)“PSEUDO-2022”, ३)KUTHUNGRI- 2022” र ४)“CONFLICT-2022” लघुकथा सङ्ग्रहहरू पनि हालसालै प्रकाशित भएका छन् । त्यस्तै, उहाँका नेपाली भाषामा प्रकाशित कविता सङ्ग्रहहरू १)“युगबोल्छ-२०४७”, २)“सिसिफसको श्रापित मांसपिण्ड-२०५१”, ३)“सेनेगल-२०७४”, ४)‘स्मृतिका पहाड-२०७५”, ५)“कोशीका उडान-२०७५” र ६)“चियाङमाईको डबली-२०७५” रहेका छन् । अङ्ग्रेजीमा अनुवादसहित नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित कविता सङ्ग्रहहरू : ७)“KHALIKHALCHA-202 2” र ८)“HONEYMOON OF GHAZALISTS-2022” समेत गरी जम्मा आठवटा कविता सङ्ग्रहहरू प्रकाशित रहेका छन् । उहाँका भाषा अनुसन्धान र समालोचनाका १)“अभिलेखीय नेपाली क्रिया-२०७०”, २)“ऐतिहासिक नेपाली अव्यय-२०७०”, ३)“अभिलेखीय नेपाली व्याकरणको इतिहास-२०७४”, ४)“अभिलेखीय नेपाली नामधातु-२०७४” र ५)“नियात्रामा नौलो आयाम-२०७७”, ५ वटा पुस्तकहरू प्रकाशित गरिसक्नु भएको छ । उहाँले दुई दर्जनभन्दा बढी पत्रपत्रिकाको सम्पादन/प्रकाशन तथा भाषा साहित्य सम्बन्धी सयौँ अनुसन्धानमूलक लेखहरू समेत प्रकाशित गरिसक्नु भएकोछ । उहाँसँग रमेश पोखरेलले गर्नु भएको वार्ता ।

१. सन्चै हुनुहुन्छ ?
प्रकृतिमा यस्तो जीवन एकचोटी पाइन्छ । पहिला थियो, थिएन थाहा छैन । पछि होला नहोला त्यो पनि थाहा छैन । अहिले अत्यन्त सुखीका साथ आनन्दी छु । प्राप्त जीवनमा उच्च विचारले समाजलाई केही गरौं भन्ने सकारात्मक सोंचको उर्जाले नितान्त सन्चै छु ।

२. आजकाल समय कसरी बिताउँदै हुनुहुन्छ ?
साहित्य सिर्जनाको बाँकी काम, भाषा अनुसन्धानको निरन्तर शोधको काम, साहित्य समालोचना र साहित्यिक विधागत नयाँ सिद्धान्तहरूको पहिचान एवम् लेखनको काममा व्यस्त छु । यसबाहेक सामाजिक, साहित्यिक तथा राजनीतिक संगठनको काम पनि त्यत्तिकै सम्पन्न गरेर समय बिताउँदै आएको छु ।

३. साहित्य लेखनमा कहिलेदेखि किन लाग्नुभयो ?
स्थानीय आरूबारी, जोरपाटी, बौद्ध, चाबहिलमा हुने विभिन्न साहित्यिक कार्यक्रम र बरिष्ठ आख्यानकार रमेश विकलको प्रेरणा र सङ्गततथा साहित्यिक गोष्ठीहरूको प्रभावले साहित्य लेखनमा २०३१÷०३२ देखि पाइला चालेको हो । वि.सं.२०३५ सालमा ‘स्वदेश’ त्रैमासिक पत्रिकामा प्रकाशित पहिलो कविता ‘आमा’ हो । प्रगतिशील साहित्यको माध्यमले पिछडिएको, रूग्ण र हेपिएका वर्गीय समाजको उत्थान गर्न साहित्यले सहयोग गर्छ भन्ने मान्यता र विश्वासको सिकाइ र सचेतनताबाट यसतर्फ लागिएको हो ।

४. कुन कुन विधामा कलम चलाउनुहुन्छ ?
विशेषतः भाषाविज्ञान(मूलतः ऐतिहासिक नेपाली भाषा, व्याकरण र यसका क्षेत्रीय भाषासँगको अन्तर्सम्बन्ध)का विषयमा अनुसन्धान गर्न अत्यन्त रूचीका साथ कलम चलाउँछु । शोध एवम् खोज लेखनको अधिकतम समय यसैमा बित्ने गरेको छ । सिर्जनात्मक साहित्य लेखनका क्षेत्रमा गद्यकविता लेखन जीवनको अर्को महत्वपूर्ण पक्ष बनेको छ । लघुकथाको सिर्जना, यसको सिद्धान्तको लेखन तथा सिद्धान्तलाई प्रायोगिक बनाउने उद्देश्यले शैलीवैज्ञानिक लेखन पद्दतिको ढाँचा तयार गर्न कलम अग्रसर हुँदैआएको छ । यसका साथै साहित्य समालोचना र विश्वसाहित्यमा प्रचलित विधागत नयाँसाहित्यिक सिद्धान्तहरूको खोजी गर्दै नेपाली साहित्यमा रहेको विधागत सैद्धान्तिक अभावपूर्तिको लेखनमा पछिल्लो समय कलम अगाडि बढेको छ ।

५. कुनै खास विधा(कविता, गद्य, आख्यान)लाई नै मुख्य विधाका रूपमा रोज्नुको कारण बताइदिनुहोस् न ।
अनुसन्धानले ज्ञानको अभ्यासलाई बढाउँछ । यसले पहिलेको प्राप्त ज्ञानलाई प्रमाणिकरण र नयाँ तथ्यको उजागर गर्छ । साहित्य सिर्जना गर्न चाहनेहरूका लागि प्रतिभाहरूको सिर्जनात्मक उर्जा शक्तिमा बल थप्छ । त्यसैले अनुसन्धानको विषय ज्ञानको नयाँ खोज र ज्ञानको प्रमाणिकरणको विषय हो । प्रमाणित तथ्य, प्राप्त सत्यको अधिकतम नजिक हुनेहुनाले यसले समाजमा घटित घटनाहरूको स्पष्ट र वस्तुसत्य चित्र प्रस्तुत गर्छ । त्यसैले मैले रोजेको ऐतिहासिक भाषा अनुसन्धानको क्षेत्र तत्क्षणमा तत्क्षणकै वक्ताको कलमले लेखेको लेख्य अभिलेखमा आधारित भाषा र नेपाली भाषाका अभिलेखमा सीमित बनेको नेपाली भाषाको व्याकरणको तथ्यपरक ‘व्याकरण–तत्व’को अध्ययन हो । भाषा मानवको नैसर्गिक र विशिष्ट क्षमता भएकोले नेपाली भाषा र व्याकरणको हालसम्मको प्रचलित इतिहास करिब एकहजार वर्ष पुरानो तथ्यसम्म पुगेका आँकडाहरू देखिएका छन् । यसै आधारमा अन्य साहित्यिक विधामा पनि ऐतिहासिक भाषाको शाब्दिक सत्य, व्याकरणिक महत्व र अर्थगत आधारले पार्ने प्रभावका कारणले कविता(गद्यकविता), आख्यान(लघुकथा) एवम् गद्य(समालोचना)का क्षेत्रका समदूरीका लेखनहरू अगाडि बढेका छन् । सुरूमा बौद्धिकतापरक तर जटिल अर्थबोध गर्नुपर्ने अबोधगम्य गद्यकविताहरू प्रारम्भिक सिर्जनात्मक लेखनका प्रयास थिए । पछिल्लो समयमा यिनैका निरन्तरताहरू समेत बनेका छन् । पछिल्लो समयमा प्राध्यापन सेवामा प्रवेशपछि भाषा अनुसन्धानको क्षेत्रमा अगाडि बढ्दैजाँदा ज्ञानको बृद्धि र भाषिक क्षमताको तीब्र विकासले साहित्य समालोचना र आख्यानको लघुरूप(लघुकथा)को लेखनमा प्रखर रूपमा कलम चलिरहेको छ ।

६. साहित्य सिर्जनाका स्रोतहरू कसरी जुटाउनुहुन्छ ?
साहित्य सिर्जनाका लागि पहिलो स्रोत लेखक स्वयम्को प्रतिभा र उसको जीवनमा आर्जित ज्ञान हो । दस्ताबेजीकरण भएका विभिन्न विषयका रूचिकर सामाग्रीहरू दोस्रो कोटीका स्रोतहरू हुन् । यस्ता प्रकारका ज्ञानका स्रोतहरू स्थूल रूपमा पुस्तकालय, व्यक्ति विशेष, वेबसाइट वा अन्य सूचना सन्जालबाट प्राप्त गर्न सकिन्छ । विषय वा घटनाका स्रोतहरू पर्याप्त भए पनि लेखकले जबसम्म विषयवस्तु वा घटनामा आफ्नो प्रातिभ शक्तिद्वारा विधागत शैली र तत्वमार्फत घटनालाई परिचालन गर्दैन तबसम्म सिर्जनाको मौलिक रूपमा उत्पत्ती हुँदैन । त्यसैले साहित्य सिर्जनाका लागि ‘रचना संसक्ति’को प्रमुख आधार भनेको घटनामाथि निरीक्षण र भावीकरण हुनु हो । सिर्जना आसक्तिको बलमा प्राप्त ज्ञानका स्रोतहरू विधागत तत्वको घनत्व र आयामको आवरणले विधागत स्वरूपमा परिबन्धित हुन्छ्न् । यसै प्रक्रियाबाट नै साहित्य सिर्जनाका लागि आफुले स्रोत जुटाएको अनुभव गर्छु ।

७. शक्तिशाली र कालजयी रचना सिर्जना गर्न केकस्ता गुणहरू आवश्यक पर्लान् ?
मूलत सर्जकको प्रातिभ क्षमता नै शक्तिशाली सिर्जनाका प्रमुख गुण हुन् । सर्जकले गर्ने विषयवस्तुमाथिको निरन्तर निरीक्षण, मनोवैज्ञानिक अनुभूति एवम् घटनाको भावीकरणका कारणले हुने अभ्यास त्यसका कारण हुन् । यसका साथै मानिसले हरेक कालमा अनुभव गर्नसक्ने विशिष्ट एवं सदाबहार घटना वा विषयवस्तुको कथनमा आधारित विषयगत ज्ञान नै रचना सिर्जनाका अवशिष्ट कालजयी गुणहरू हुन् । समाजमा घटित विशिष्ट घटनाहरूले जब सर्जकको मनमा घटनाको भावीकरण गरेर सिर्जनात्मक एवम् सकारात्मक उर्जाका आभाहरू उसको मस्तिष्कमा घुमाउन थाल्छ तब सचित्र सिर्जित रचनाहरूले आफ्नो शक्ति विन्यासका माध्यमद्वारा घटनालाई कालजयी बनाउन र शक्तिशाली रचना प्रमाणित हुन प्रयत्न गर्छ । विषयवस्तुको गहन निरीक्षण, परिवेशको पर्याप्त अनुभव, पात्रको विशिष्टीकरण, शैलीको उत्कर्षमय परिचालन एवम् निष्कर्षित भावको सामाजिक मूल्यवताको विशिष्ट एवं अवशिष्ट मनन गुणले शक्तिशाली रचनाको मापन हुन्छ । समय क्रममा नै हरसमाजमा त्यस्ता सिर्जनाहरू हरमनिसका जीवनका निजी स्वामित्वका अनुभवमा वरिपरि घुम्छन् । त्यस्तो अवस्थामा सिर्जनाले कालजयी मान्यताको स्वरूप धारण गर्दै जान्छन् । यिनै गुणहरूलाई नै शक्तिशाली र कालजयी सिर्जनाको आवश्यक गुणका रूपमा मानिन्छ ।

८. नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
वर्तमान नेपाली साहित्यको अवस्था साहित्यिक भाव–प्रक्षेपको हिसाबले सामाजिक विकृति विसङ्गतीप्रति व्यङ्ग्यमुखी छ । विषयवस्तु समसामयिक जीवनको असन्तुष्टी, अभाव, आकाङ्क्षा, आदर्श, महत्व र जलनमा परिलक्षित छ । वर्तमान साहित्यका प्राय सबै विधामा कुलीन नभई निम्नबर्गीय पात्रहरूको प्रयोगलाई महत्व दिएर लेख्ने अवस्था रहेको छ । नेपाली साहित्यको समसामयिक धाराको प्रारम्भपछि विस्तारै बृहत्तर आयामका साहित्यिक सिर्जनाको सट्टा छोटा आयामका साहित्यिक सिर्जनामा लेखकहरूको ध्यान आकर्षित भएको देखिन्छ । नाटक, उपन्यास तथा महाकाव्य जस्तो लामो आयामका साहित्यिक संरचनाको लेखनमा सुस्तता आएको छ । विधागत रूपले जुनसुकै विधाको भएपनि बृहत्तर आकारका साहित्यिक सिर्जनाहरूले नै भविश्यको मानव जीवनलाई दिशानिर्देश गर्नेहुँदा छोटा सिर्जनामा उपजीव्यताको कथन आधार रहन सक्दैन । त्यसैले अहिलेको नेपाली साहित्यमा विधागत कथन शृङ्खला छोटकरी रूपमा खुम्चिएर अगाडि बढेको छ भने वर्तमान समय विधागत सक्षिप्त प्रस्तुतीको अवस्थामा डोरिएको देखिन्छ । सिर्जनामा केही नयाँ शैलीको प्रयोग र विधाहरूको आयोजन, समालोचनामा नौलो सैद्धान्तिक मान्यताको प्रवेश एवम् रूढ प्राविधिक पक्षको उपयोग समेत भएको अवस्था छ । समग्रमा वर्तमान अवस्था बढी प्राविधिक, प्रविधिमैत्री एवम् खुम्चिलो आयाममा साहित्य सिर्जना र समालोचना लेखन अगाडि बढेको अवस्थामा रहेको छ ।

९. विश्वसाहित्यको तुलनामा नेपाली साहित्यलाई पुर्याउन केकस्ता कदम चाल्नुपर्ला ?
सिर्जना भइसकेका सार्वजनीन र सार्वकालिक सिर्जनाका रूपमा रहेका नेपाली साहित्यिक रचनाहरूलाई विश्वका विभिन्न भाषामा अनुवाद गरेर प्रचारप्रसार गर्न सकेमा विश्वसाहित्यको तुलनामा नेपाली साहित्यलाई पु¥याउन सकिन्छ । यसका अलावा नेपाली भाषाको सिकाइको विस्तार, प्रसार र प्रयोग विश्वसमुदायको बिचमा पु¥याउन सकेमा पनि नेपाली साहित्यले विश्वसाहित्यिक बजारमा महत्व पाउन सक्छ । यस्तै नेपाली भाषाका छोटा आयामका सामग्रीहरूलाई सामाजिक सन्जालको युटुब, ब्लग, फेसबुक एवम् टिकटक एप्सबाट पनि नेपाली साहित्यको प्रचार गरी विश्वस्तरमा पु¥याउन सकिन्छ । विदेशमा बस्ने नेपाली भाषी र त्यहाँ अवस्थित सर्जकहरूलाई नेपाली साहित्यको पत्रपत्रिका प्रकाशनमा प्रोत्साहन गर्न सकेमा पनि विश्वस्तरमा नेपाली साहित्यलाई लैजान सकिन्छ । विश्व साहित्यसँग नेपाली साहित्यले प्रतिस्पर्धा गर्न निरन्तर प्रयास र अभ्यासले मात्रै सम्भव रहन्छ । यसका साथै राज्यको तर्फबाट सर्जक एवम् अनुवादकलाई दिइने प्रोत्साहन, प्रकाशन गृहहरूको साहित्य सेवामुखी सचेचता र लेखक स्वयम्को उर्जाशील लेखन क्षमताले मात्रै नोपली साहित्यलाई विश्वसाहित्यमा पु¥याउन सम्भव छ ।

१०. नेपाली प्रगतिवादी साहित्यको वर्तमान अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
नेपाली प्रगतिवादी साहित्य विगतमा जति उचाइमा पुगेको थियो । वर्तमान अवस्थामा विगतकै सिर्जनाहरूले अधिकतम बर्चस्व कायम गरेको देखिन्छ । विभिन्न राजनैतिक आन्दोलनले जनमानसको मानसिकतामा प्रगतिशील साहित्यमार्फत सैद्धान्तिक परिवर्तन गर्न त सक्यो तर व्यवहारिक परिवर्तन गर्न सकेन । आफ्नै वर्गीय धर्मको नेतृत्व छ तर अपेक्षित उपलव्धी छैन । हिजो प्रगतिवादी साहित्यको कथनी प्रभावले निर्धन, दलीत, हेपिएका र शोषित पीडितहरूमा नयाँ परिवर्तनको उर्जा दिन्थ्यो । आज व्यवहारिक भोगाइमा सामूहिकताको तुलना निजी जीवनको बढ्दो अपेक्षासँग जोडिएको देखिन्छ । निजी स्वार्थका कारणले वर्तमान अवस्थामा प्रगतिवादी साहित्यको सिर्जना परस्पर रूपमा वर्गीय मुक्तिभन्दा पनि निजी असन्तोषमा केन्द्रीत भएर साहित्य सिर्जना भएको पाइन्छ । यसरी सिर्जना भएका साहित्यमा परिवर्तनको स्वर नभई गुनासा, परपीडकता र सामाजिक अस्वभाविकता प्रस्तुत भएको देखिन्छ । नेपाली समाजमा देखिएको सामाजिक दलाली चरित्रले वर्तमान प्रगतिवादी नेपाली साहित्य सुस्त स्वरमा मात्रै मुखरित भएर सिमित सिर्जनाका रूपमा गुज्रन पुगेको छ । वर्तमान अवस्थाका लेखकहरू पनि यस समयको सामाजिक चरित्रले पारेको प्रभावबाट मुक्त हुनसकेका छैनन् । त्यसैले नेपाली प्रगतिवादी साहित्यमा विगतको तुलनामा अहिले यसको योगदानमा घनीभूत लेखनप्रयासको अभाव रहेको देखिन्छ ।

११. साहित्यसिर्जनामा प्रेरणा दिने अग्रजहरूलाई सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?
साहित्य सिर्जनाका लागि प्रेरणा स्रोतको रूपमा विशेषत अग्रजहरूका कृतिलाई सम्झनुपर्छ । मेरो विचारमा व्यक्ति विशेषभन्दा कृति विशेष अग्रताको महत्व बढी हुन्छ भन्ने लाग्छ । कृतिगत रूपमा माक्सिम गोर्कीको ‘आमा’, विपि कोइरालाको ‘दोषी चस्मा’, महाकवि देवकोटाको ‘शाकुन्तल’, रमेश विकलको ‘अबिरल बग्दछ इन्द्रावती’, मोहन कोइरालाको ‘नून शिखरहरू’मा विषयवस्तुको छनौट, प्रस्तुती शैलीको गहनता र भाव संयोजनको महानताले दिने ध्वनिगत प्रेरणाका लागि अत्यन्त मनपर्छ । यसबाहेक ‘आमाको सपना’, ‘घुम्नेमेचमाथि अन्धोमान्छे’, ‘प्रेम चन्द’, ‘लुसुन’ र ‘आन्तोन चेखभ’का कथाहरू पनि कथन पद्दतीका मूल्यका हिसाबले निकै उत्कृष्ट ठानेर ममन हुन्छ । प्रगतीवादी स्वरका मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, पारिजात एवम् केवलपुरे किसानका वैचारिक रचनाहरू ग्रहण गरेर सामाजिक रूपमान्तरणका लागि कलम चलाउने प्रयासमा तल्लिन हुन मन लाग्छ ।

१२. सिङ्गो जीवन प्राध्यापन कर्ममा बिताउनुभएका प्राध्यापक एवम् स्रष्टाका नाताले र भाषाविज्ञानको विद्यार्थी भएका नाताले अहिलेको नयाँ पुस्ताका सिर्जनालाई कृतिगत मूल्यवत्ताका हिसाबले र भाषाका हिसाबले कसरी मूल्याङ्कन गरिरहनुभएको छ ? र उनीहरूको लेखनका बारेमा कस्तो सल्लाह दिनु उचित ठान्नुहुन्छ ? पठनीय सिर्जनाका लागि स्रष्टाले केकस्ता पक्षमा विशेष ध्यान पुर्याउनुपर्छ भन्ने लाग्छ ?
साहित्य सिर्जनाका लागि महत्वपूर्ण साधनको रूपमा सर्जकको मस्तिष्कमा प्रविष्ट रहेको शब्दभण्डार र त्यसमा संयोजित भएको विशिष्ट अर्थलाई सर्जकको प्रयोग क्षमताले साहित्यको लेखन प्रयोगद्वारा उन्नत बनाउनुपर्छ । साहित्य सिर्जनामा यसैलाई शाब्दिक परिचालन क्षमता र शब्दार्थको गाम्भीर्यता भनिन्छ । सर्जकले आफुले लेख्ने साहित्यमा जतिसक्दो गहन भावका सहज शब्दहरूलाई वाक्यमा ‘कथ् संसक्ति’का लागि जति संयोजन गर्छ त्यति नै सन्दर्भमा साहित्य सिर्जनाको कृतिगत मूल्यवता प्राप्त हुन्छ । मानिसको मस्तिष्कमा ‘माइक्रोचिप्स’ रूपी ‘स्नायुतन्तु’हरू नैसर्गिक रूपमा शरीरसँगै विशेष प्रकारले मस्तिष्कमा टाँसिएर आएका हुन्छन् । मानिसले आफ्नो जीवनमा विशिष्ट ढङ्गले परिचालन गर्ने भाषा, ज्ञान र कल्पनाको माध्यमले मानवीय क्षमताको विशिष्ट प्रस्तुती गर्छ । त्यसैले अरू प्राणीभन्दा उसँग सिर्जनात्मक क्षमता र भाषिक कार्यसम्पादनको विशेष अधिकार समेत मस्तिष्कमा अवशिष्ट रहेर बसेको हुन्छ । साहित्य सिर्जनाको लागि चाहिने कल्पना शक्तिको विशेष कडी पनि यही हो । भाषाको कार्यसम्पादनको काम मनोवैज्ञानिक समेत हुनेहुँदा स्तरिताका लागि शोधनप्रक्रिया या परिष्कारको आवश्यकतासँगै सिर्जित रचनाको उन्नत परिमार्जन हुनु जरूरी हुन्छ । जति परिष्कृत भयो त्यति नै विषय वा घटनाको कथ्यतासँगै अर्थमा गाम्भीर्यता प्रकट हुनुका लाथै सर्बशक्तिमान रचना बन्न पुग्छ ।
वर्तमान समयका साहित्यका प्रचलित सर्जकहरूले विषय गहन रूपमा समातेको पाइन्छ । तर प्रस्तुतीसँग जोडिने हिज्जेमा त्रुटि, व्याकरणिक असावधानी, पदहरूको संयोजनमा देखिने भङ्गक्रम, बहुअर्थी शब्दको असमानता एवम् अवधारणार्थक शब्दहरूको अनुचित प्रयोगलाई राम्रोसँग ध्यान नदिँदा सिर्जनाहरू भाषावैज्ञानिक दृष्टिले कमजोर देखिन्छन् । विधागत तत्वबोधको भ्रम र विधागत सैद्धान्तिक अज्ञानता आदिले पनि सिर्जित साहित्यिक मूल्यवतामा प्रभावकारिता प्रकट भएका देखिदैनन् । त्यसैले पाठकका लागि रोचक र मननयोग्य सिर्जना बनाउन भाषिक शुद्धताको प्राविधिक पक्षमा समेत विशेष ध्यान दिनुपर्छ । घटना, शैली, पात्र, परिवेश व्युत्पादित हुने भावको डिजाइन आदिचाहिँ लेखक स्वयम्को निजी प्रतिभासँग सम्बन्धित रहन्छ । यसैले सर्जकले कल्पना, ज्ञान र भाषालाई एकात्मक संयोजन गरेर साहित्य सिर्जना गरेमा सबै पुस्ताका कृतिहरू मूल्यवान ठहरिन्छन् । साहित्य सिर्जना मानिसको मस्तिष्कबाट उत्पत्ती हुने कल्पना, भाषा र ज्ञानहरूको समष्टी स्वरूपमा अवतरण हुने विधा विशेषको एक शैलीय ढाँचाको आयाम हो । सर्जकहरूको ध्यान यतैतिर मुख्यतया जानुपर्छ भन्ने लाग्छ ।

१३. तपाईले विशेषगरी भाषाविज्ञानका क्षेत्रमा अनुसन्धान गर्नुभएको छ र विद्यावारिधिसमेत हासिल गर्नुभएको छ । नेपाली प्रगतिवादी साहित्यको साहित्यिक मूल्य र भाषाको अवस्था केकस्तो रहेको छ ? यसको थप प्रवर्धनमा केकस्ता प्रयत्न आवश्यक छन् र ककसले त्यस्ता प्रयत्न गर्नुपर्ने महसुस गर्नुभएको छ ? बताइदिनुहोस् न ।
भाषाविज्ञानको आधार र साहित्य सिर्जनाको आविश्कार फरकफरक हुन्छन् । भाषा प्राथमिक रूपमा सामाजिक आवश्यकताको धारणबाट परिचालित भएपछि मात्रै सिर्जनामा प्रवेश गर्छ । तर साहित्य सिर्जनाचाहिँ व्यक्तिको मनोश्चेतनाबाट प्राथमिक रूपमा विषय उद्बोदन भएपछि मात्रै भाषाको नेटवर्कमा प्रवेश हुन्छ । त्यसैले सामाजिक आवश्यकताको धारणबाट परिचालित भाषा यान्त्रिक, विधि र पद्दतीमा परिचालन हुन्छ । यसबाट उत्पन्न अर्थहरू सामामजिक काम चलाउसँग जोडिएर अभिधयात्मक एवं कोशीय र व्याकरणिक अर्थमा विशेष प्रयोग हुन्छन् । तर सिर्जनामा चाहिँ साहित्यको सैद्धान्तिक प्रारूपमा जोडिएर अर्थहरूको आभामा प्रकाशित हुनेहुँदा अभिधात्मक, लक्षणात्मक र व्यञ्जनात्मक अर्थ लाग्ने भाषाको प्रयोग हुन्छ । सामान्यार्थ भाषाका स्वरूपहरूलाई व्याकरणिक वा भाषावैज्ञानिक भाषाको रूपमा लिइन्छ भने असामान्यार्थ भाषाका स्वरूपहरूलाई विशेष व्याकरणिक भाषाको अर्थमा साहित्यिक भाषाको रूपमा लिइन्छ । लेखन प्रयोजनका दृष्टिले सर्जकले आफ्नो भाषिक क्षमताको कलालाई प्रयोग गर्दा दुवैप्रकारका भाषाका आयामलाई संयोजन गर्नसक्छ । भाषा वर्गीय हुनसक्दैन तर साहित्य भने कुनै विशेष बर्गीय कथनमा आधारित हुन्छ । यद्यपि भाषाले असमान वर्गका मानिसहरूलाई एकै लोली र बोलीमा प्रस्तुत गर्छ भने साहित्यले फरकफरक वर्गका मानिसहरूमा घटित घटनाको संयोजन गर्छ । त्यसैले भाषा सामाजिक हुन्छ भने साहित्य सामुदायगत या वर्गीय पनि हुन्छ ।
विगतमा भाषालाई वर्गीय बनाउन सोभियत संघको उदयपछि त्रुबेस्कायको नेतृत्वमा श्रमजीवीहरूको भाषा निर्माणको प्रयास सुरूभयो । तर भाषा समाजको आफ्नो निजी स्वामित्वको भएकोले त्यतिबेला मजबूत सोभियत संघको शासकीय नेतृत्वले भाषालाई वर्गीय रूपमा प्रयोजनमा ल्याउन सकेन । तथापि नेपाली साहित्यको संकल्प÷राल्फा आन्दोलनले पछि भाषाका व्याकरणहरूलाई वर्ग सापेक्ष बनाएर केही प्रकाशनहरू गर्ने प्रयत्न पनि ग¥यो । तर यसले पनि दिगो प्रभाव नेपाली समाजमा दिन सकेन । त्यसैले भाषा भन्ने कुरा मानिसको सार्वभौमिक अधिकार र प्रयोग क्षमताको विषय भएकोले प्रगतिशील साहित्यमा शब्द र अर्थलाई वर्गीय स्वरको बुनोटको रूपमा प्रयोग गर्न सकिने भएपनि भाषाविज्ञानका सार्वभौम नियमहरूलाई प्रगतिवादको सापेक्षसँग मात्रै राखेर हेर्न सकिंदैन ।
भाषाभित्र पनि आफ्ना केही मौलिक वर्गीय सङ्केतहरू रहेका हुन्छन् । त्यस्ता मौलिक अधिकारहरूलाई समय सापेक्ष परिवर्तन गर्न खोजे पनि समाजले नरूचाएसम्म वर्गीय रूपका भाषाका त्यस्ता व्याकरणिक आयामको रूपमा रहेका तथ्यहरूलाई परिवर्तन गर्न सकिंदैन । नेपाली भाषामा तँ, तिमी, तपाई, हजुर जस्ता आदरार्थीहरू प्रयोग हुन्छन् । यस प्रकारको भाषाको व्याकरणिक नियमले व्यक्ति विशेषको वर्गीय पक्षधरतालाई समेत सङ्केत गरेको भएपनि यस्ता नियमहरूलाई जनबोलीले प्रयोगमा सुधार नगरून्जेल कुनै एक रूपको मात्र आदरार्थी प्रयोग गर्न सकिंदैन । भाषाको स्थायी अधिकार जनबोली हो भने प्रगतिवादी साहित्यको अधिकार वर्गीय पक्षधरता हो । त्यसैले यिनीहरूको प्रयोजन र प्रभावहरू फरकफरक रहेका छन् ।
जहाँसम्म प्रगतिवादी साहित्यको संरक्षण र उद्बोधनको प्रश्न छ । यसका लागि लेखक स्वयम्को बुझाइ र लेखाइबाट मात्रै मूल्यवता कायम हुन्छ भने यसको विकास र प्रबर्धनका लागि राज्य र सामुदायले पनि यसका लागि त्यत्तिकै भूमिका निभाउनुपर्ने हुन्छ ।

१४. साहित्यले सामाजिक रूपान्तरणको अभियानमा सघाउ पुर्याउँछ भन्नेसम्बन्धमा पनि पक्ष र विपक्ष देखिन्छ । यसमा तपाईँको दृष्टिकोण के रहेको छ ?
साहित्यले कुनै न कुनै वर्ग, समुदाय वा क्षेत्रको पक्षधरतालाई समातेको हुन्छ । त्यसैले साहित्यले सामाजिक रूपान्तरणको अभियानमा अवश्यमेव सघाउ पु¥याउँछ नै । तथापि सिर्जित साहित्यको मूलस्वरको सङ्केतलाई नजर अन्दाज गरिनुपर्छ । असामाजिक साहित्यले मात्रै समाजको रूपान्तरणमा हानी पु¥याउँछन् । बाँकी विषयमा बहसको आवश्यकता देखिन्न ।

१५. समग्र नेपाली साहित्यको उत्थानमा साहित्यिक पत्रिकाको के–कस्तो भूमिका रहेको छ ? सामाजिक रूपान्तरणमा साहित्यिक पत्रिकाको कस्तो योगदान रहन्छ ? साहित्यिक पत्रिकालाई दीर्घजीवी बनाउन कुन–कुन पक्षले के–कस्ता कदम चालिदिनुपर्छ भन्ने महसुस गर्नुभएको छ ?
समग्र नेपाली साहित्यको उत्थानमा वर्तमान अवस्थासम्म आएका जेजस्ता साहित्यिक तथा गैह्रसाहित्यिक पत्रपत्रिकाहरू प्रकाशित भएपछि साहित्यिक रचनाहरूले प्रकाशित हुने मौका पाए । यसले स्वभाविक रूपमा साहित्यको सेवामा टेवा मात्रै हैन सर्जकको आत्मप्रकाशको अवसर पनि प्रदान गरिदिएको छ । साहित्यको प्रकाशन र सिर्जनाको माध्यमबाट छुटेका नेपाली समाजका घटनाका परिदृश्यहरूले सामाजिक रूपान्तरणमा अवश्यमेव सकारात्मक योगदान दिएको छ । यद्यपि अहिलेको अवस्थासम्म आइपुग्दा साहित्यिक पत्रपत्रिकाको प्रकाशनको अनुभूति बृहत्तर भए पनि बजारको अनुभूति व्यावसायिक छैन । त्यसैले यस्ता पत्रपत्रिकाहरूलाई बचाएर नयाँ साहित्यिक पत्रपत्रिकालाई समेत अगाडि बढाउन राज्यस्तर बाटनै अनुदान सहयोगको व्यवस्था गर्नुपर्छ । त्यसै गरी प्रिन्टमा प्रकाशित हुने साहित्यिक पत्रपत्रिकाको साथै डिजिटल साहित्यिक प्रकाशनमा समुदायलाई लगाउन राज्यले विशेष साहित्यिक पत्रपत्रिका नीतिको तर्जुमा गरी लागु गर्नुपर्छ ।

१६. तपाईं आफू स्रष्टा हुनुहुन्छ । नेपाली साहित्यमा थुप्रै स्रष्टाहरू हुनुहुन्छ । अन्य स्रष्टाभन्दा आपूmलाई फरक देखाउनुपर्दा तपाईँको लेखनका पृथकता बताइदिनुहोस् न ।

शोधकर्ता, साहित्यिक स्रष्टा र एक साहित्यिक द्रष्टाको भूमिकाको गाम्भीर्यतामा साहित्य सिर्जनाभित्र विशिष्ट भाषाशैलीय अनुबन्ध, उच्चबौद्धिकताको प्रयोग, विशेष शब्दहरूको उपयोग, अन्यका सिर्जनामा आफ्नै सिद्धान्तको धारण र अरूका सिद्धान्तमा आफ्नै सिर्जनाको तथ्यपुष्टिको प्रयोगवादी लेखन समग्रमा प्रस्तुत गर्नु अरू स्रष्टाको सिर्जनामा भन्दा फरक छ भन्ने लाग्छ ।
शब्दसंयोजनबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।