‘जिजीविषा’को विपरीत शब्द हो – ‘मुमूर्षा’ । मुमूर्षाको अर्थ हो – मर्ने चाहना वा इच्छा । मर्ने इच्छा उसैलाई हुन्छ, जसलाई भयानक रोगले पीडा दिएको हुन्छ कि भयानक निराशाले धकेलिरहेको हुन्छ । मुमूर्षा (आत्मकथा, २०७८) कृतिका लेखक हुन् – चिरञ्जीवी दाहाल । उनी गोरखाको तान्द्राङ, मझिन्थोकमा २०२१ फागुन २३ गते जन्मिएका हुन् । समृद्धि (संयुक्त मुक्तकसङ्ग्रह, २०७७) बाट साहित्यमा प्रवेश गरेका उनका कवितासङ्ग्रह र उपन्यासहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । उनले आफ्नो जन्मस्थानको परिचय उनकै शब्दमा – वि.सं. २०२१ साल फागुन शुक्ल तृतीयाका दिनमा भारतवर्षको नेपाल भन्ने देश, जहाँ एउटा गोरखा नाम गरेको जिल्ला छ, त्यस जिल्लाको उत्तर–पूर्वमा रहेको तान्द्राङ भन्ने एउटा सानो गाउँमा । यो मूलरूपमा आत्मकथा नै हो । मिर्गौला रोगबाट पीडित रहेका उनले आफ्नै जीवनका कटु–मधु अनुभवलाई वर्णन गरेका छन् तापनि संरचनात्मक दृष्टिले यो आत्मकथा, यात्रा र संस्मरण तीनै उपविधात्मक तत्वले बुनिएको छ । मिर्गौला, मुटु र क्यान्सर भीषण रोगहरूमध्ये पर्दछन् । तिनबाट कष्ट र पीडा त असाध्यै हुन्छ । साथै उच्च धनराशिबिना उपचार पनि सम्भव हुँदैन । यो रोग लागेपछि मानिस कालसँगै जुधिरहेको हुन्छ । तीव्र इच्छाशक्ति, आत्मविश्वास र अदम्य संयमबिना बाँच्न मुस्किल पर्छ । यहाँ लेखकले भोगेको जीवन अत्यन्त कष्टकर र मर्मस्पर्शी रहेको छ । पढ्दै गएपछि हरकुनै पाठक उनीप्रति सहानुभूतिशील बन्दछ । भाषा सरल र अभिव्यक्ति पनि प्रवाहशील छ ।
यसमा जम्मा २६ वटा घटना प्रसङ्गका निबन्धहरू सङ्गृहीत छन् । सबै निबन्धहरू मुमूर्षामै केन्द्रित छन् । सुरुको निबन्ध जन्मभूमिदेखि अन्तिम निबन्ध अभिमानमा गएर टुङ्गिएको छ । भीषण रोग लाग्नु भनेको मानसिक रूपमै अपाङ्ग हुनु हो । अपाङ्गता बोध भएपनि अत्यन्त संयमपूर्वक अनेक चुनौती हरूको सामना गर्दै आत्मरक्षाको लागि उनले गरेका प्रयासहरू सार्थक देखिन्छन् । बाँच्नु मात्र पूर्णजीवन होइन रहेछ भन्ने बुझेका उनले जीवनको कठिन यात्रा तय गर्दै यथार्थतालाई पनि राम्ररी आत्मसात गरेकाछन् ।
छब्बीसवटै निबन्धमध्ये सर्वाधिक मर्मस्पर्शी र उर्जाप्रद निबन्ध रहेको देखिन्छ – मुस्तफिज । व्यक्तित्वको चरित्रमा केन्द्रित सर्वाधिक सुन्दर संस्मरणको रूपमा यसलाई लिन सकिन्छ । यसमा आत्मराग अत्यन्त घनीभूत रूपमा आएको छ । मुस्तफिजको गलिसकेको मनलाई निबन्धकारले मर्मस्पर्शी रूपमा सम्झाउने प्रयत्न गरेकाछन् । स्वयं जो भीषण रोगसँग संघर्ष गर्दैछ उसैले जीवन प्रति सकारात्मक सोच राखेर अभिव्यक्त गरेका धारणा जीवन प्रतिकै उदात्त स्वरहरू हुन् । यसले मुमूर्षालाई पनि जिजीविषातर्फ उत्प्रेरित गर्दछ । मिर्गौला पीडितहरूले त यो पढ्नै पर्ने देखिन्छ भने अन्य साहित्यकारका निम्ति पनि यो पठनीय र मननीय सामग्री रहेको छ । पाठ्यक्रममै समावेश गर्न योग्य रहेको यो निबन्ध लाखौंमा एक बन्न पुगेको पाइन्छ ।
मुमूर्षा शीर्षक नै दार्शनिक प्रकृतिको छ । मुमूर्षा कृतिभित्रको एक निबन्ध पनि मुमूर्षा नै छ । मर्ने इच्छाको अर्थ भएपछि पक्कै पनि त्यसमा मृत्यु पछिका गहन विचार, चिन्तन वा धारणा होलान् भन्ने लाग्छ तर पनि सबै तत्व यिनमा देखिन्न । अन्तर्मनको यात्राका लेखक जगदीश घिमिरेलाई पनि थाइलोमा नामक भयानक ब्लड क्यान्सरले ग्रसित पार्यो । यसै रोगका कारण म मर्छु भन्ने भएपछि लेखकले मृत्युका बारेमा गहन अध्ययन चिन्तन र मनन युक्त विचार हरू प्रस्तुत गरेका छन् । यस निबन्धमा पनि त्यस्तै चिन्तन र विचारको समन्वय गरिएको होला भन्ने लाग्थ्यो तर यसमा त जिजीविषाकै क्रममा औषधिको खोज , सहयोग र सहुलियतका व्यावहारिक विषयका चर्चा निहित छन् । निबन्धको अन्त्यतिर मात्र शरीर थाकेर जीवनबाट भाग्ने इच्छा नहुँदा नहुँदै पनि परिस्थितिले मनै गल्दै गएपछि मानिस हार खान विवश बन्छ र मृत्युको समीप पुग्छ भन्ने अर्थमा निबन्धको कथ्य टुङ्गिएको पाइन्छ ।
यसमा मृत्यु अवश्यम्भावी भएपनि लेखकले सोझै मर्ने इच्छा व्यक्त गरेका छैनन् । उनको धारणा नै मानिस शरीरबाट थाकेर जीवनबाट भाग्दैन जस्तोसुकै संकटमा पनि उसलाई जीवन नै प्रिय हुन्छ र ऊ त्यसैको स्याहार–सम्भारमा लाग्छ । ऊ हरसम्भव जीवनलाई जोगाउन प्रयत्नशील रहन्छ । यो उसको धर्म र कर्तव्य नै हो तर केही सीप नलागेपछि ऊ कालका सामु लत्रिन विवश भई मृत्युकै सन्निकट पुगेपछि उसले जीवनको भयानक पीडाबाट मुक्त हुन मृत्युको कामना गर्नु पनि स्वाभाविक हुनजान्छ । यसर्थ जिजीविषा र मुमुूर्षा विचको संघर्ष र अन्ततः नश्वर जीवनको नियति सामु झुक्नैपर्ने स्थितिमा मुमूर्षा नै अन्तिम निष्कर्ष हो भन्ने ठम्याइ नै लेखकको विचार हो ।
यसमा जीवनजगत्का व्यावहारिक ज्ञानका कुरा पनि प्रस्तुत छन् । सत्कारबाट तिरस्कार हुनुपरेको अनुभव, अभिमानबाट परस्पर हानि हुने कुरा हरेकले हरेकको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने धारणा, विगतको प्रेमानुभव, मितेरी सम्बन्ध गाँस्ने प्रचलन, मनैदेखि लगाएको मितेरी सम्बन्ध नै सार्थक हुन्छ, अरूको इच्छा वा आग्रहले लगाइएको मितेरी सम्बन्ध सार्थक हुँदैन भन्ने सन्देश आफ्नै भुलहरूका परिणामजस्ता सम्बन्धहरू पनि यसमा भेटिन्छन् ।
आत्मपरक शैलीमा रचिएका दाहालका अधिकांश निबन्ध संस्मरणात्मक छन् । तिनले कुनै यथार्थपरक कथा पढेझैं उत्सुकता र जिज्ञासाले तान्दछन् । उनको भाषाशैली पनि निकै माझिएको र खारिएको निक्खर र तिख्खर देखिन्छ । उनी कथ्यलाई यथोचित भूमिकासहित उद्घाटित गर्दछन् । सबै निबन्ध वर्णनको मधुर प्रवाहले गतिशील बनेका छन् । तापनि व्यक्तित्व चित्रणमा केन्द्रित निबन्ध विशेष प्रभावोत्पादक बनेका छन् । संस्मरणभित्र अन्धविश्वासका कुरा पनि आएका छन्, तिनलाई पनि लेखकले यथोचित रूपमा स्पष्ट पारेका छन् । उनका समग्र निबन्धहरूलाई तीन वर्गमा विभाजन गर्न सकिन्छ – (१) व्यक्तित्वपरक ः रिफेल दाइ, मुस्तफिज, (२) यात्रापरक ः मनिला यात्रा, पुटपर्थी यात्रा, (३) संस्मरण र निबन्ध एवम् अतीतका घटनावृत्त । यसरी प्रभावोत्पादक निबन्धहरूको सिर्जना गरी साहित्यमा विशेष योगदान पु¥याउने दाहाल विशेष उल्लेखनीय पात्र रहेका छन् । साहित्यिक र सामाजिक संस्थाले उनका साहित्यिक कृतिको यथोचित मूल्याङ्कन र सम्मान गरून् । चितवनका आधुनिक गद्यरचनामध्ये यो महत्वपूर्ण उपलब्धि हो ।
यस कृतिभित्र कहीँकसैको भूमिका छैन, छ त आत्मकथ्य मात्र । त्यो लेखकीय दर्शन प्रस्ट्याउने क्रममा महत्वपूर्ण आधार बनेको छ । लेखक आफैले भनेका छन् – आत्मकथाको मौलिक सिद्धान्तलाई आत्मसात् गर्दै लेखकले जीवनकालमा भोगेका केही सुखद र केही दुःखद अनुभवहरूको इतिवृत्त हो । राम्रो कृति आफै बोल्छ, आफ्नै अभिव्यक्तिबाट आफ्नो दम देखाउँछ भन्ने यो एक सुन्दर दृष्टान्त बनेको छ । लेखकले आत्मकथ्यबाट पनि व्यावहारिक जीवनका सुन्दर मार्गदर्शनहरू प्रस्तुत गरेका छन् । उनका विचारमा सुख–दुःख जीवनका क्रम हुन्, जो आउने–जाने गर्दछन् भन्दै सुख–दुःखको परिभाषा यसरी प्रस्तुत गरेका छन् – जसले जीवनका बाधा–व्यवधानहरूलाई सहज रूपमा व्यवस्थापन गर्न सक्छ ऊ सुखी बन्छ र जसले सहज रूपमा व्यवस्थापन गर्न सक्दैन उसको जीवन दुःखदायी बन्दछ ।
यसरी सुख–दुःखका कारक स्वयम् जीवन भएको तथ्य उद्घाटित गर्दै सुख–दुःखको सटीक परिभाषा प्रस्तुत गरेका छन् । त्यस्तै मान्छेले मृत्यु शाश्वत सत्य हो भन्ने सहज रूपमा स्वीकार गर्दैन । सहज रूपमा स्वीकार गरे मान्छे यतिविधि दुःखी हुने थिएन । रहर सुखको पनि गर्न हुन्न र रहर मृत्युको पनि गर्न हुन्न । दुवैको चाहना गर्नाले अस्तित्व नै सङ्कटमा पर्छ तसर्थ काल कसैको वशमा छैन । कालले सबैमाथि न्याय गर्छ भन्ने बुझेर मानिसले आफ्नो कर्म गर्न छाड्नु हुँदैन । जिजीविषा र मुमूर्षाबीचमैं जीवनलाई गति दिनुपर्छ तब जीवन सफल र सार्थक बन्छ भन्ने उनको निष्कर्ष बुझिन्छ । यो उनको अनुभव सागर मथेर प्राप्त गरेको निष्कर्ष हो । यसरी दर्शन प्रस्तुतिका दृष्टिले पनि यो कृति उच्चकोटिको देखापर्छ ।