17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाबु हुनुको अदृश्य पीडा

संस्मरण/स्‍मृति केशरी अम्गाईं February 27, 2023, 9:37 pm
केशरी  अम्गाईं
केशरी अम्गाईं

घर छाडेर जानेले
घरै लिएर गएछ
कोठा, चोटा, छतहरू बाँकी....
........ घरचाहिँ लिएर गएछ ।
भन्न सकिन्न, वासु शशीको यो कविता आज सान्दर्भिक होला÷नहोला । आज परदेशी नभएका घर सहरका त के दूरदराजमा पनि भेटिन सम्भवतः मुस्किल छ । विभिन्न बहानामा हामीले आ–आफ्नो मन मुटुहरूलाई बाहिर पठाएका छौँ । तर भौतिक रुपमा टाढा भएर पनि प्रविधिले हामीलाई नजिकै रहेको भ्रम छरिरहेको छ र हामी रङ्गीन सपना सजाएर रमाइरहेका छौँ । तर जीवन सोचेको जस्तै कहाँ हुँदो रहेछ र !
बुबामात्र दुनियाँमा सायद यस्ता मान्छे होलान्, जसले आफ्ना सन्तान आपूmभन्दा सफल, योग्य र काविल भएको देख्न चाहन्छ । यही यथार्थलाई सम्झेर कहिलेकाहीँ जीवनका सुन्दर सपनाहरूलाई थाती राखेर कतै बक्ररेखाहरूमा अवसाद बोकेर पर्खनु पर्दो रहेछ; आशङ्का र भयको भारी सञ्चित गरेर अत्यासलाग्दो समयलाई काखी च्याप्नु पर्दाे रहेछ । हो, कहिलेकाहीँ जीवनमा आइलागेका यस्ता अवस्था चुपचाप निरीह भएर सहनु पनि पर्दो रहेछ ।
मलाई थाहा छ, यो अन्धकार पल लामो समय रहँदैन । यो सहज ज्ञानले मनलाई कहाँ ढाक्न सक्दो रहेछ र ? मनमा भरिएको अवसाद र छटपटीले निद्रा देवीलाई वरपर आउन कहाँ दिँदो रहेछ र ! कतै सुनेको थिएँ, जो विना आवाज र विना आँसु रुन्छन् नि, उनै हुन् बुबा ।
आमाको मन पो कहाँ मान्थ्यो र ! परदेशमा अध्ययन गर्न पुगेकी छोरी अकस्मात् आफ्ना सपनालाई थाती राखेर अस्पताल भर्ना हुनु परेपछि मन अतालिनु अस्वाभाविक होइन । उनी घण्टा घण्टामा सम्पर्क गरेर स्थितिको जानकारी लिन्छिन् । अनि सँगै रहेका उनका पिता !? सम्झन्छु– बुबाः जसको उपस्थितिको महसुस त कहिल्यै हुँदैन, अपितु अनुस्पस्थिति भने ज्यादै हुने गर्दछ ।
आमा जति कोमल हुन्छिन् बाबु त्यत्तिकै कठोर । सायद प्रकृतिले बाबुको मनलाई कठोर बनाएको हुनुपर्छ । हरेक घण्टाको आमा छोरीको संवादमा बाबु वास्ता नगरे जस्तो गर्छ र पल्टछ । आखिर बाबुको मन न हो मायाले द्रवीभूत भएर रुन पनि सक्दैन र आत्मालाई कमजोर बनाएर द्रवीभूत हुन पनि त सक्दैन । तर निद्रा त कहाँबाट पो आओस् । निदाएको अभिनय गरेरै भए पनि घण्टैपिच्छेको संवाद सुन्छ र मनमा अनेक कुराहरू खेलाउँदै रात अनिदोमा नै छर्लङ्ग पार्छ । यही अवस्थामा छु म । लाग्छ, सायद बाबु हुनुको भुक्तमान यही हो ।
छोराछोरीहरू भावनात्मक रूपमा आमासँग नजिक हुन्छन् । त्यसैले उनीहरू आफ्ना खुसी र पीडाहरू आमासँग सजिलै बाँड्न सक्छन् । ‘पीडा साटासाटाको त्यो सम्वेगात्मक क्षणमा किन हस्तक्षेप गर्ने ?’ मलाई यस्तै लाग्छ । बुबा त त्यो काख हुन् जसको छहारीमा पुरै परिवार शान्तले बस्न सक्छन् । जो आपूm भोकै बसेर हाम्रो पेट भर्छन् नि– उनै त हुन् हाम्रो बुबा ।
‘अफसोच ! म यता अस्पतालमा छटपटाउने, उता ममी । बाबा सायद सुत्नुभयो होला !’ सम्भवतः छोरीले यस्तै सोची होली । ‘बाउलाई मतलब भए पो । छोरीलाई त्यस्तो हुँदा पनि कसरी निदाउन सकेको !’ सायद आमाले यही सोचिन् होला । तर बाउको अन्तरमनको जलन र सोला कसले बुझिदिने ? बुबाले सिकाउने सर्वाधिक रुपमा सङ्घर्ष हो र आमाले चाहीँ संस्कार । तर यो मार्मिक वेद कसले पो पढाइदिन्छ र आपतविपतमा । अफैंलाई सम्झाउन खोज्छु– ‘समझदार छे, व्यावहारिक छे र जिम्मेवार छे, आपूmलाई नकरात्मक सोच्दिन । आमालाई पनि थाहा छ– ‘भोलिको काममा उभिनका लागि सुत्न आवश्यक छ ।’
डेढ महिनादेखि चिकित्सकीय परीक्षणमा रहेकी छोरी अचानक अस्पतालमा भर्ती भएकी छे । डाक्टरको प्रारम्भिक अनुमान अत्यासलाग्दो अवुर्द रोगको आशङ्का गर्दै सुरु भएको परीक्षण कुनै अज्ञात रोग पो हो कि भन्ने आशङ्काले तनाव सिर्जना गरेको छ । ममीसँगको सम्वादमा छोरीको क्षीण आवाजमा छोरी आत्तिएको प्रस्ट झल्किन्छ । आखिर अनुभवको आधारमा त ऊ अपरिपक्व नै त हो ।
पक्कै पनि कम्प्युटिङ सिष्टममा स्नातक गर्दै गरेकी छोरीले डाक्टरद्वारा संशय गरिएको व्याधीको बारेमा विस्तृत रुपमा बुझेकी नै होली । त्यसैले थकित र क्लान्त आवाजमा ऊ ममीलाई सम्झाउने प्रयास गर्छे– ‘नसोध्नु न ममी, के हुन्छ अहिले केही थाहा छैन ।’ सायद मेरो आशङ्कित डर ‘अल्प विद्या भयङ्करी’को परिणाम पनि हुन सक्छ । पराई भूमिमा आफ्नो करिअर बनाउँदै गरेकी सन्तती यसरी पीडित हुँदा कति जल्छ होला माता पिताको मुटु ? आकलन गर्न सहज छैन ।
अनुमानित रोगको बारेमा ममीलाई धेरै थाहा छैन । त्यसैले छोरीबाट जानकारी लिन खोज्दै छिन् । म भने चुपचाप छु र नियतिलाई प्रश्न गर्छु, ‘के फक्रँदै गरेकी छोरी आफ्ना सपनालाई बदलेर जीवनभरी रोगसँग लड्दै बाँच्नु पर्ने हो ?’ नाजबाफ छु स्वयम् । लाग्दै गरेको पाउलोलाई अनायास हुण्डरीले लाछेझैं लागिरहेछ यो बखत । र, पनि दरिलो बनाउने दुस्प्रयास गर्दै छु आफ्नै मनलाई ।
खुट्टा लागेका सन्तानहरू सपनाको पखेटा हालेर उडिरहेका छन् । नियतिले दुःख नदिए त ठिक छ । ‘ऋण लागोस् दिन नलागोस्’ भन्छन् बुढापाकाहरू । तर यदि दिन लाग्यो भने ! मेरी छोरी जस्तै सपनाको पखेटालाई खुम्च्याएर कुँजो हुनु प¥यो भने ती बाबुआमा के गर्लान् ? सोचाइको भूमरीमा छु म अहिले । एकातिर त्यहाँसम्म पुग्दाको ऋण हुन्छ भने अर्कोतिर बाबु आमा र घर परिवार प्रतिको गहन् दायित्व । सबै सबैका आफन्तहरू होलान् कि नहोलान् ? अनि आफन्तको साथ सोचे जस्तै होला त ? तिनका बाबु आमाले कसरी चित्त बुझाउलान् ? नानाथरी कुरा खेल्छन् मनमा । धीरतामा एकाएक तुफान आउँछ र खज्मज्याउँछ आशाका किरणहरू ।
त्यसो त छोरीलाई आफ्नै घरमा बसे जस्तै छ । दुई मामा र माइजूहरू सँगै छन् । नियमित ध्यान राख्ने मान्छे छन् । हामीलाईभन्दा बेसी चिन्ता र चासो छ भाञ्जीको मामा माइजूलाई र पनि यहाँ उसको ममीको होसहवास उडेको छ, बाबुको मन हडबडाएको छ । भरथेक र मद्दत नहुनेहरूको कस्तो होला अवस्था ? तुलबुलाउँछ हृदय र त्यसै त्यसै अस्पटिन्छु म ।
उसकी ममी विचलित हुनु नितान्तै स्वाभाविक पनि हो । बाबु आमाको दृष्टिमा छोराछोरी सधैं बालकै हुन्छन् । ‘अरुको लाख आमाको काख’ भन्छन् । मधौरु अवस्थामा भिडियोमा टीठलाग्दो अनुहार हेरेर चित्त बुझाउनुपर्दा आमाको कोमल मन निःसन्देह कुँडिएको होला । उसै पनि आमा माया र दयाकी खानी न हुन्छन् ।
नेपालमा हस्पिटलको बसाइँ सहज छैन । त्यताको ज्ञात हुने कुरो भएन । यताको अनुभवको आधारमा हेर्दा एक्लै अस्पताल बस्नु अकल्पनीय अत्यास लाग्दो हुन्छ । अस्पतालमा नै भर्ना भएर बस्नु साँच्चै सामान्य विरामी त हुँदै होइन । छोरीले दिएको जानकारीमा कति सत्यता छन् र कति लुकाइएका छन् ? यसैमा शङ्का गर्ने ठाउँ छ । बुबा आमाको चिन्ता दूर राख्न पनि सीमित कुरा अवगत गराइएको हुन सक्छ । दुविधाको पोखरीका डुबुल्की मार्दै छु म ।
छोरीको आवाजमा मलिनता थियो, निराशभाव थियो । तर ममी भने हरेक संवादमा रोगको बारेमा कोट्याउँदै थिइन् । छोरी भने त्यसको बारेमा धेरै भन्न नपरे हुन्थ्यो भने जस्तो गर्थी । ‘किन त्यस्तो ?’ ‘सायद रोगको निक्र्योल नभएर, सम्भवतः ममीलाई धेरै चिन्ता होला भनेर ।’ बाबु भई टोपलेको म भने न त छोरीसँग सम्वाद गर्न सक्थेँ न त ममीलाई बढी बोल्न नखोज भनेर सम्झाउन वा फोन संवादमा हस्तक्षेप गर्न नै । चुपचाप निदाएको अभिनय गरेर कुराकानी सुनिरहेको थिएँ । अनि निरीह बाबु हुनुको सकस भोगिरहेको पनि ।
मनमा अनेक कुरा खेल्छन्– ‘उसो त सन्तान नबाहिरिएको बस्ती भेट्न मुस्किल छ अहिले । जायजेथा बन्धक राखेर सुन्दर सपनाको खोजमा उडेका छन् हाम्रा मुटुका अविभाज्य टुक्राहरू । कोही अध्ययनका लागि भनेर सपना टिप्न हिँडेका छन् त कोही दारुण आर्थिक घाउमा मल्हम लगाउन कामको खोजमा । उनीहरूले भोग्नु परेको शासनाको फेहरिस्ता हामी बाबुआमाहरूलाई कति थाहा छ ? हामीले हाम्रा सन्तानसँग कस्तो संवाद गर्छौ ? हामी पहिला पढाइबारे सोध्छौँ कि काम र कमाइको बारेमा ? स्वास्थ्यको बारेमा सोध्छौँ कि बसाइँको बारेमा । हाम्रो ध्येय मूलतः शिक्षार्जनमा छ कि अर्थोपार्जनमा ? सन्तानले भोग्नु परेको सास्तीमा हामी आफँै आत्तिएका छौँ कि आड, भरोसा र ढाडस दिएका छौँ ?’ आफ्नो हकमा म भने छोरीको ममी मार्फत ढाडस दिलाउने भगीरथ प्रयासमा छु– ‘काम र पढाइ त शनैः शनैः हुँदै गर्ला, पहिला स्वास्थ ।’ तर आफँै भने प्रत्यक्ष संवादमा संलग्न हुन नसकेर बाबु हुनुको वेदनामा अल्तलिरहेको छु ।
सुनेको थिएँ एउटा प्रशिक्षणमा– एउटा मजदुर बुबाले भने– “अभैm एउटा इँटा थपिदिनुस् न साउजी, मेरो बच्चाले कपी र कलम मागेको छ ।” हो त्यही सोचेँ र सोही अनुसार आपूmलाई रुपान्तरित पनि गरेँ । र, पनि छोराछोरीको बाबुसँग एक खालको दूरी हुन्छ । सन्तानले ममता र स्नेह आमाबाट सिक्छन् । तसर्थ ममीसँग मनका कुरा, अन्तरङ्ग कुरा गर्न सक्छन् । बाबुबाट साहस र प्रेरणा सिक्छन् त्यसैले गफगाफ लामा हुँदैनन् । त्यसैले त भनिएको होला– दूधसँग भात निस्तै, बाबुसँग छोरा एक्लै ।’ त्यस माथि म त बाबु मात्र थिइनँ; विद्यालय तहमा पढाउने गुरु पनि थिएँ एउटा कालखण्डमा । गुरु शिष्य बीचको मर्यादाको नैतिक दायराले पनि सायद किञ्चित काम गरेको थियो कि ? प्रश्नले सोला हान्छन् मनमा । अपितु आमासँग घण्टांै बोल्दा पनि कुरा सकिदैनथ्यो । आत्मीयता थियो सायद त्यो ।
आमा सखी हो, डाक्टर हो, सल्लाहकार र परामर्शदाता पनि । आमा अफ्ठेरो परिस्थितिमा भरोसा दिने खम्बा हो, बाटो बिराउन खोजे मार्ग निर्देश गर्ने गुरु हो, अनि कोमल हृदयको अजस्र मुहान पनि । त्यसैले आमा छोरी बीचका सम्वाद लामा हुन्छन् । त्यसमा डाहा गर्ने अधिकार बाबुलाई हुँदैन । त्यो म बुझ्छु तर यो तनावको क्षणमा खुम्चिएर बस्नुपर्दा साँच्चै बाबु हुनुको तनाव भोगिरहेको छु ।
हातखुट्टा सुन्निएका छन् । पेटको दुखाइ तिब्र छ । मुटुको धड्कन अस्वभाविक बढेको छ । खाना सहज पाच्य छैन । शरीरको तौल एक महिनाको अवधीमा अस्वाभाविक रूपमा घटेको छ । डाक्टरले गम्भीर रोगको आशङ्का गरेका छन् तर निक्र्योल भएको छैन । न त त्यहाँको उपचार पद्धतिको बारेमा थाहा छ । अब त राम्रो गर्लीकी भनेकी छोरी अस्पतालमा अनिश्चित समयका लागि बन्दी भएर बस्नु पर्ने स्थिति पुरै अत्यास लाग्दो नै छ । बाबु भइटोपलेको व्यक्ति म, अनगिन्ती आशङ्काको डोरी बाटेर अनिँदोमा पिङ खेलिरहेको छु भने आमा कसरी शान्त बस्न सक्थिन् र । तर त्यो आहतको क्षणमा आमाछोरीलाई आत्मबल प्रदान गर्ने शब्द संवाद प्रयोग नगरी निदाएको अभिनय गरेर बस्नुपर्दाको पीडा साँच्चै कष्टकर थियो । र, पनि ढुक्क छु– हातमा सीप र मुटुमा साहस लिएर हिँड्ने नै सफलताको गगन चुम्दछ । ठुलो आवाजमार्फत नभई शब्दमार्फत बोल्छु– ‘हराएको छैन बहुमूल्य चिज, अर्थात् उसको सपना र ऊ बन्न चाहेको मान्छे ।’
(अध्ययन गर्न भनेर बेलायत पुगेकी छोरी आकस्मिक रुपमा अस्पताल भर्ना भएको रात एउटा बाबुको मनमा उठेका भाव तरङ्गहरू ।)

गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।