18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विभुषण पाउनेमा

कविता संप्रस पौडेल 'दिवस' February 27, 2023, 9:44 pm
संप्रस पौडेल 'दिवस'
संप्रस पौडेल 'दिवस'

(व्यङ्ग्य कविता)
विभुषण पाउनेमा नाम दरियो
अलिकता महंगो पेट्रोल सुँघेको
बोत्तल पिएर कुर्सीमैँ उँघेको
खरिदार सुब्बा नपाएर हो कि
यसपाला त निकै हेला पार्‍यो
अख्तियारले फेला पार्‍यो ।

केही टुक्रो माटो किनेको न हो
माटो टेक्दा दाग लाग्ला कि भनी
सरकारी गाडीमैं मात्रै हिँडेको न हो
कुन्नी कसको खेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

देशको जोगाउँदै विदेशकै खान्थेँ
सम्मेलनका नाममा विदेशै जान्थेँ
परिवारसाथ सपिङ गरेको न हो
गुरु पर्‍यो कि चेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

नारा लाएको अस्ति न हो
ढुङ्गा हानेको हिजै त हो
पुलिस थानामा रात बसेकै हो
कसको आँखाको छेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

सालोलाई सल्लाहकार बनाकै थिएँ
सालीलाई बारम्बार भनेकै थिएँ
सहेली गाडीमा झण्डा हल्लाउँदैछन्
मेरा भागमा झेला पर्‍यो
अख्तियारले फेला पार्‍यो ।

एक ज्यान दुई जुनी
नेपालमा गरे के छ र नहुनी
एक फोन लाएँ, दुख बेसाएँ
यो ज्यान जिउँदै बैतर्नी तर्‍यो
अख्तियारमा चेलो सर्‍यो ।

मुद्दा हाल्ने अख्तियारै आज
अख्तियारको फेला पर्‍यो
जेरीझैं घुमाउरो नीति बनाइयो
एच टु ओ भनेर मात्रै हुन्छ र
जल र पानीमा त भेद बनाइयो
कोशीका पानी महाकालीमा खनाइयो ।

डुङ्ग गन्हाउँदा अत्तर छर्केको
यही दिनका लागि वर्षौं पर्खेको
वरीष्ठ उपाधि दिन लाइयो
नोकरचाकर, भान्छे मगाइयो ।

सोझासाझालाई सडकमैं पिँधेर
देब्रे गोजीमा न्यायाधीश किनेर
दाहिने गोजीमा मुद्दा छिनेर
आफ्नै भविष्यवेता परियो
विभुषण पाउनेमा नाम दरियो ।

मनहरी-५, मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।