लेखसार
साहित्यमा प्रयुक्त आकर्षक र चमत्कारपूर्ण अभिव्यक्ति व्यङ्ग्यार्थ हो । भेषजराज शर्मा व्यङ्ग्यात्मक शैलीमा निबन्ध लेख्ने निबन्धकार हुन् । यस लेखमा भेषजराजका निबन्धमा प्रयुक्त व्यङ्ग्य चेतनाको अध्ययन गरिएको छ । अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । लेखका लागि पुस्तकालयीय अध्ययन कार्यबाट प्राथमिक ‘नारदमुनिको वालिङ यात्रा’ र द्वितीयक (पुस्तक, पत्रपत्रिका आदि) स्रोतबाट तथ्य सङ्कलन गरी निगमनात्मक अध्ययन पद्धतिका सहायताले तिनको विश्लेषण गरिएको छ । अध्ययनमा प्रस्तुत दाबीलाई पुष्टि गर्न आवश्यक तर्क र साक्ष्यहरु प्रस्तुत गरिएको छ । सम्बन्धित पूर्व अध्येतासँग संवाद गर्दै आवश्यकतानुसार लेखकीय दृष्टिकोण प्रस्तुत गरिएको छ । लेखमा ‘नारदमुनिको वालिङ यात्रा’ निबन्धसङ्ग्रह भित्रका निबन्धमा निहित व्यङ्ग्यार्थको विश्लेषण साहित्य चिन्तक कुन्तकको वक्रोक्ति सिद्धान्तमा आधारित भएर गरिएको छ । अन्त्यमा सामाजिक विकृति र विसङ्गतिहरुलाई वक्रोक्तिको शैलीमा प्रस्तुत गरिएका भेषजराजका निबन्धले चोटिलो व्यङ्ग्यका माध्यमबाट व्यक्ति र समाजलाई नैतिकताको बाटामा हिँडाउन चाहेको निष्कर्ष निकालिएको छ ।
मुख्य शब्द
वक्रोक्ति, व्यञ्जना, अवसरवादी, छाडातन्त्र, भण्डाफोर ।
१. विषयप्रवेश
भेषजराज शर्मा (वि.सं. १९८९–२०५९) पं. हरिप्रसाद शर्मा र टोलकुमारी शर्माका सुपुत्रका रुपमा स्याङ्जाको वालिङमा जन्मेका हुन् । उनी स्याङ्जा जिल्लालाई नै कर्मथलो बनाउँदै नेपालको शैक्षिक, राजनीतिक र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति हुन् (अधिकारी, २०७१, पृ.३७) । २००७ सालदेखि २०१८ सालसम्म अध्ययनका सिलसिलामा बनारसमा रहँदा नेपाली भाषा, साहित्य र संस्कृतिको विकास र प्रचारमा संलग्न रहेका शर्माले त्यहीँ नै कतिपय साहित्यिक कार्यक्रमहरुको आयोजना, साहित्यिक पत्रिकाको प्रकाशन तथा साहित्यिक संस्थाहरुको स्थापना गर्ने कार्यसमेतको नेतृत्व गरेका थिए (तिमल्सेना, २०६२, पृ.४३) । साहित्यकार शर्माको कलम कविता, कथा र निबन्ध विधामा चलेको देखिन्छ । ‘आत्मप्रकाश’ (कवितासङ्ग्रह, २०४५), ‘लालसलाम’ (कवितासङ्ग्रह, २०५०), ‘आँधीखोलाको बगर’ (खण्डकाव्य, २०६२), ‘भेषजराज शर्माका कथाहरु’ (कथासङ्ग्रह, २०६४), ‘नारदमुनिको वालिङ यात्रा’ (निबन्धसङ्ग्रह, २०७२) आदि यिनका प्रकाशित साहित्यिक कृतिहरु हुन् र यिनीद्वारा सिर्जित केही कृतिहरु अप्रकाशित अवस्थामा पनि छन् । यसै गरी यिनी सम्पादक व्यक्तित्वका रुपमा पनि परिचित छन् । ‘छात्रदूत’ (वार्षिक) बनारस, ‘छात्रवाणी’ (वार्षिक) बनारस, ‘छात्रप्रभा’ (वार्षिक) बनारस, ‘छात्रपथ’ (वार्षिक) बनारस, ‘युगभाषा’ (अर्धवार्षिक, वि.सं. २०२३–२०३२) स्याङ्जा आदि पत्रिकाहरुको सम्पादनमा यिनको सक्रिय संलग्नता पाइन्छ । अहिले यिनको नाममा ‘भेषजराज साहित्य प्रतिष्ठान’– २०६३ को जन्म भएको छ र ‘नारदमुनिको वालिङ यात्रा’ को प्रकाशन यसै प्रतिष्ठानबाट भएको हो ।
भेषजराज शर्मा मूलतः आत्मपरक निबन्धकार हुन् । यिनको ‘नारदमुनिको वालिङ यात्रा’ मा जम्मा ११ ओटा निबन्ध सङ्गृहीत छन् । यी निबन्धहरु २०१४ सालदेखि २०५८ सालभित्रको अवधिमा लेखिएका हुन् । ‘गाली एक समस्या र वास्तविकता’, ‘पुरेत बाजेको सराप’, ‘गोरू अब सङ्घर्षको मैदानमा’, ‘स्पुतनिक र विश्वराजनीति’, ‘दोस्ती’, ‘आत्मज्ञानको रहस्य’, ‘सपनाबारे केही छलफल’, ‘सुँगुर’, ‘तुलसीको मठ’, ‘बुद्धिजीवी’ र ‘नारदमुनिको वालिङ यात्रा’ यसमा सङ्गृहीत निबन्धहरु हुन् । विषयगत रुपमा वर्गीकरण गरेर हेर्दा ‘स्पुतनिक र विश्वराजनीति’ विश्वराजनीतिसँग सम्बन्धित विषयमा लेखिएको निबन्ध हो भने ‘दोस्ती’ वैयक्तिक विषयमा आधारित निबन्ध हो । ‘सपनाबारे केही छलफल’ र ‘आत्मज्ञानको रहस्य’ मनोवैज्ञानिक-परामनोवैज्ञानिक विषयमा आधारित निबन्ध हुन् भने ‘गाली एक समस्या र वास्तविकता’ र ‘तुलसीको मठ’ सामाजिक विषयवस्तुमा आधारित निबन्ध हुन् । हास्यव्यङ्ग्य शैली र व्यङ्ग्यात्मक भाव प्रबल निबन्धमा ‘पुरेत बाजेको सराप’, ‘गोरू अब सङ्घर्षको मैदानमा’, ‘सुँगुर’, ‘बुद्धिजीवी’ र ‘नारदमुनिको वालिङ यात्रा’ रहेका छन् (अर्याल, २०६७, पृ.ठ) । यस लेखमा यिनै पाँचओटा निबन्धमा प्रस्तुत व्यङ्ग्यमाथि अध्ययन–विश्लेषण गरिएको छ ।
२. समस्याकथन र उद्देश्य
भेषजराज शर्मा प्रगतिशील निबन्धकारका रुपमा परिचित छन् । नेपाली समाजको रुपान्तरणको चाहना नै यिनको निबन्ध लेखनको मुख्य वैशिष्ट्य हो । यिनी नेपालको राजनीतिक एवम् सामाजिक क्षेत्रमा देखापरेका विकृत तथा विसङ्गत पक्षलाई हटाएर समाजलाई सभ्य र मानिसलाई समृद्ध बनाउन चाहने निबन्धकार हुन् । व्यङ्ग्यात्मक शैलीमा रोचक प्रस्तुति यिनको निबन्ध लेखनको विशेषता हो । यिनका निबन्धमा व्यङ्ग्यात्मक प्रस्तुति कुन रुपमा भएको छ र निबन्धकारले नेपाली समाज तथा राज्य संयन्त्रका खराबीमाथि के कस्तो व्यङ्ग्य गरेका छन् ? निबन्धमा हामी नेपालीहरुको कस्तो प्रवृत्तिमाथि व्यङ्ग्य छ भनेर अध्ययन गर्नु यस लेखको समस्या हो । सामाजिक–सांस्कृतिक र राजनीतिक क्षेत्रमा गरिएको व्यङ्ग्य भावको अध्ययन गर्नुलाई यस लेखमा समस्याका रुपमा प्रस्तुत गरिएको छ ।
‘नारदमुनिको वालिङ यात्रा’ निबन्धमा अभिव्यक्त व्यङ्ग्य चेतनालाई पूर्वीय संस्कृत साहित्यका आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्तका सापेक्षतामा अध्ययन एवम् विश्लेषण गर्नु नै यस लेखको उद्देश्य हो । भेषजराजका निबन्धहरुमा प्रयुक्त व्यङ्ग्य एवम् सामाजिक–सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा फैलिएको विकृतिमाथि निबन्धमा व्यक्त भएको व्यङ्ग्य चेतनालाई वक्रोक्ति सिद्धान्तका कोणबाट अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।
३. अध्ययनविधि-सैद्धान्तिक पर्याधार
प्रस्तुत लेखका लागि भेषजराज शर्माद्वारा सिर्जित निबन्ध ‘नारदमुनिको वालिङ यात्रा’ का साथै द्वितीयक सामग्रीहरुको सहयोग लिइएको छ । पुस्तकालयमा गई विभिन्न विद्वान् समीक्षक-समालोचकहरुले लेखेका सन्दर्भसामग्रीहरुको अध्ययन गरेर प्राप्त तथ्य तथा सूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । द्वितीयक सामग्रीका रुपमा विभिन्न पत्रपत्रिका एवम् पुस्तकमा विभिन्न समयमा प्रकाशित भेषजराजका रचनासँग सम्बन्धित -सान्दर्भिक लेख–समालोचना को उपयोग गरिएको छ ।
कुनै पनि विषयमा घोचपेच गरेर लेखिने, व्यञ्जनामूलक अर्थ दिने एक प्रकारको अभिव्यक्तिकला व्यङ्ग्य हो । यसमा लक्षणा वा व्यञ्जनाको सहयोग लिएर भन्न खोजेको कुरालाई प्रभावकारी ढङ्गले व्यक्त गरिएको हुन्छ । लोकमा प्रचलित कथनभन्दा भिन्न कुनै वैचित्र्यपूर्ण कथनका रुपमा वक्रोक्तिलाई चिनाउने कुन्तकले यसलाई नै काव्य रचनाको सर्वस्व मानेका छन् (उपाध्याय,२०४९, पृ.२९०) । संस्कृत–हिन्दी कोशमा व्यङ्ग्यलाई व्यञ्जना शक्तिद्वारा ध्वनित भनेर चिनाइएको छ (आप्टे, सन् २००७, पृ.९८३) । मानिसमा हुने कमीकमजोरी, अनियमितता, कुशासन, भ्रष्टाचार आदिलाई घुमाउरो तरिकाबाट व्यक्त गर्दा व्यङ्ग्यात्मक शैली अपनाउनुपर्ने हुन्छ । आचार्य कुन्तकको वक्रोक्ति सिद्धान्तमा आधारित भएर कुनै पनि कृतिमा भाषाको सबैभन्दा ठूलो एकाइ प्रबन्ध वा सङ्कथनको विश्लेषण गर्न सकिन्छ । नेपाली साहित्यमा भेषजराज शर्मा एक सशक्त निबन्धकारका रुपमा देखिन्छन् । उनी व्यङ्ग्यात्मक शैलीमा निबन्ध लेख्ने निबन्धकार हुन् । यहाँ उनका निबन्धमा प्रयुक्त व्यङ्ग्यको अध्ययन गरिएको छ ।
लेखमा सङ्कलित तथ्यहरुका आधारमा ‘नारदमुनिको वालिङ यात्रा’ निबन्धको विश्लेषण गरिएको छ । सङ्कलित तथ्य एवम् विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ, नेपाली समाजमा देखापरेका बहुदलीय शासनकालभन्दा पहिलेका र त्यसपछिको समयका खराब प्रवृत्तिको विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणका क्रममा निबन्धका शीर्षकहरुलाई नै उपशीर्षक बनाइएको छ ।
४. सीमाङ्कन
यस लेखमा निबन्धका सम्पूर्ण तत्वहरुका आधारमा नभई व्यङ्ग्य चेतनाका आधारमा ‘नारदमुनिको वालिङ यात्रा’ को अध्ययन गरिएको छ । निबन्धको संरचना पक्षको अध्ययन–विश्लेषण गरिएको छैन । सङ्ग्रहभित्रका सबै निबन्धको अध्ययन पनि यसमा गरिएको छैन । सङ्गृहीत एघारओटा निबन्धमध्ये व्यङ्ग्य चेतना प्रबल पाँचओटा निबन्ध ‘पुरेत बाजेको सराप’, ‘गोरू अब सङ्घर्षको मैदानमा’, ‘सुँगुर’, ‘बुद्धिजीवी’ र ‘नारदमुनिको वालिङ यात्रा’मा अभिव्यक्त व्यङ्ग्य चेतनाको नेपाली समाजका सापेक्षतामा वक्रोक्ति सिद्धान्तको आधारमा यस अध्ययनलाई सीमित गरिएको छ ।
५. निबन्धमा प्रयुक्त व्यङ्ग्य भाव
प्रस्तुत सङ्ग्रहका सबै निबन्धमा केही न केही मात्रामा हास्य र व्यङ्ग्यको सम्मिश्रण पाइन्छ । निबन्धकारले प्रत्येक निबन्धका माध्यमबाट थोरै भए पनि सामाजिक असमानता–विषमताप्रति लक्षित व्यङ्ग्य गरेकै छन् । यद्यपि यहाँ व्यङ्ग्यात्मकताप्रबल निबन्धलाई मात्र निम्न उपशीर्षकमा अध्ययन–विश्लेषण गरिएको छः
५.१ पुरेत बाजेको सराप
‘पुरेत बाजेको सराप’ निबन्ध संवादात्मक शैलीमा संरचित छ । यसमा निबन्धकारको छैटीको दिनमा निबन्धकार र पुरेत बाजेसँगको संवाद छ । छैटीमा पुरेत बाजेले ‘डाक्टर भएस् बाबु’ भनेर आसिक दिन्छन् । जन्मेर भर्खर छ दिन पुगेको निबन्धकारमा डाक्टर बन्ने चाहना हुँदैन । निबन्धकार पीएचडीधारी डाक्टर र औषधि गर्ने डाक्टर दुबै बन्न चाहँदैनन् । विदेशमा पानी पर्दा नेपालमा छाता ओढ्ने पढालेखा प्रमाणपत्रधारी पिएचडीहोल्डरहरुलाई यिनी ‘तोरीलाहुरे’ ठान्छन् भने औषधिवाला डाक्टरहरुप्रति निबन्धकारको दृष्टि यस्तो छ–
साथमा गाँठी भएकाहरु र कुनै सोर्सबाट फोर्स ल्याउनेहरुलाई मात्र राम्रोसँग ओखती गरिदिने कोर्स गरेका हुन्छन् यिनीहरुले । अरु थप कुरा त के छ भने एक ओखतीले निको हुने रोगमा पनि दशथरी ओखती लेखिदिएर नयाँनयाँ रोगहरुको प्रादुर्भाव गरी नयाँनयाँ ओखतीको माग बढाइदिन्छन् यिनीहरु । वास्तवमा ओखती गर्ने डाक्टरहरु ओखती निर्माण कम्पनीका गुप्त एजेन्ट हुन् (पृ. ७–८) ।
यहाँ निबन्धकारले सर्वसाधारण जनतालाई डाक्टरहरुले माया गर्दैनन्, तिनीहरु बढी स्वार्थी हुन्छन् भन्दै डाक्टरका खराब बानीव्यवहारप्रति व्यङ्ग्य गरेका छन् । पुरेतले ‘सचिव भएस्’ भन्दा ल्याप्चेवाला मन्त्रीलाई सजिलै घुमाएर आफ्नो दुनो सिधा गर्ने सचिव पनि नबन्ने धारणा निबन्धकारले व्यक्त गरेका छन् । भ्रष्ट कर्मचारीतन्त्रको झाँको झार्दै माननीयहरुलाई पनि निबन्धकारले उनीहरुको क्रियाकलापअनुरुप नै पोल्ट्री फारमको खोरभित्र दाना खाने बेलामा जगजगाएका कुखुराको संज्ञा दिएका छन् । माननीयहरु अधिकारविहीन छन् । उनीहरु आफ्नो नेताको आदेश तामेलीमा मात्रै सीमित छन् । निर्वाचित भएको भोलिपल्टदेखि नै तिनीहरुले जनतासित पारपाचुके गरेका हुन्छन् (पृ.९) भन्दै निबन्धकारले नेपालका जननिर्वाचित माननीयहरुको निरीहताप्रति व्यङ्ग्य गरेका छन् ।
पुरेत बाजेहरुमा हुने अज्ञानताप्रति निबन्धकारले तिखो झटारो हानेका छन् । कर्मकाण्डका सामान्य टीका र त्यसका विधिविधान बाहेक अन्य ग्रन्थहरु अध्ययन नगर्ने पुरेतहरुमा ज्ञानको भकारी नै हुन्छ भनेर सोच्नु मुर्खता हो । उनीहरुको ज्ञानको दायरा निकै साँघुरो छ । पुरेतहरू सङ्कीर्ण पनि छन् । उनीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका बारेमा अनविज्ञ छन् भन्दै निबन्धकार लेख्छन्– “पुरेत बाजे, तपाइँ अग्निस्थापना मात्र होइन यताउताका कुरा पनि पढ्नेसुन्ने गर्नुहोस् । हाम्रोजस्ता साना र अविकसित मुलुकहरुमा सरकार चलाउने ठेक्का ठूला शक्तिराष्ट्रले लिएका हुन्छन् । हिजोआज यस्तो ठेक्का लिनका निमित्त बहुराष्ट्रिय कम्पनीको पनि प्रादुर्भाव भइसकेको छ । मन्त्रीहरु तिनै ठेकेदारका गुमास्ता हुन्” (पृ.१०) । निबन्धकारका विचारमा पुरेतहरुमा आधुनिक ज्ञान निकै कम हुन्छ । उनीहरु सानो कुवालाई नै विशाल समुद्र ठानेर भ्यागुताले गीत गाएझैं जजमानीमा मात्र सीमित रहेका हुन्छन् । देश–विदेश, अन्तर्राष्ट्रिय सम्बन्ध यसै गरी जनजीविका र जनताका बारेमा तिनीहरुले धेरै ज्ञान आर्जन गर्न बाँकी छ ।
जति आसिक दिए पनि लिन नमानेपछि अन्त्यमा पुरेत बाजेले ‘जिन्दगीभर मास्टर भएस्’ भनेर आसिक दिन्छन् । नभन्दै कुकुरलाई बरु उसको पुच्छरले छोड्ला तर निबन्धकारलाई मास्टरीले छोडेको छैन । निबन्धकारले पढालेखा विद्वान, राजनीतिज्ञ, योजनाविद, प्रशासक आदिभन्दा बरु गाउँमै बसेर जनताको सेवा गर्ने मास्टर बढी इमानदार, लगनशील, कर्तव्यनिष्ट र राष्ट्रभक्त हुन्छ भन्ने कुरालाई यस निबन्धमा निर्धक्क उल्लेख गरेका छन् । माननीय, मन्त्री र सचिवहरु बहुराष्ट्रिय कम्पनीका गोटी बनेका छन् । देश र जनताको हितमा काम नगर्ने यिनै ठुलाबडाहरुप्रति यस निबन्धमा व्यङ्ग्य छ ।
५.२ गोरू अब सङ्घर्षको मैदानमा
‘गोरू अब संघर्षको मैदानमा’ निबन्धमा गोरूको आत्मकथा छ । सभ्यताको आदिकालमा मानिसहरु मेरै मासु लुछ्थे भन्दै गोरूले मानिसको स्वार्थन्धतामाथि प्रहार गरेको छ । गोरूको शोषण गरेर सभ्यताको भर्याङ चढिरहेका मान्छेहरुप्रति यसमा व्यङ्ग्य गरिएको छ । चोक्टा चोक्टामा टुक्रिनुपर्ने, हलो तथा गाडा तान्ने, हाड र छालामा बाँडिएर कारखानामा पिसिनु र पेलिनु पर्ने, यी सब मान्छेका आफ्ना स्वार्थका कारण भएका हुन् । यस्तो अवस्थाबाट गोरूले आजसम्म पनि मुक्ति पाएको छैन । गोरूमाथि मान्छेले अत्याचार गरेका छन् । गोरूले उन्मुक्तिको सास फेर्न पाएको छैन । गोरूको स्वतन्त्रताको हनन भएको छ । आफूमाथि भएको अन्यायका विरुद्धमा गोरूले सङ्घर्षको उद्घोष गरेको छ ।
गोरूको शारीरिक श्रमको शोषणबाट नै मान्छे आधुनिक भएको छ, सभ्य भएको छ । मान्छेले गोरूलाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार दिएको छैन । बेलाबेलामा घाँसपराल दिनु भनेको दासलाई दासकै रुपमा राखेर सम्मान गरिएको हो भन्ने विचारका साथ गोरूले दासत्वबाट मुक्ति चाहेको छ । आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्ने मान्छेले गोरूको मुक्तिका लागि किन ध्यान दिँदैन ? पशुअधिकारको कुरा गर्ने मान्छे किन अन्य पशुका तुलनामा आफै निकृष्ट छ ? गोरूका यी प्रश्नहरु आजका मान्छेका स्वार्थी र ढोंगी प्रवृत्तिप्रति लक्षित छन् । गोरूहरु कर्तव्यनिष्ठ हुन्छन्, इमानदार हुन्छन्, तिनीहरु मान्छे जस्तै स्वार्थी र फटाहा हुँदैनन् भन्दै यस निबन्धमा गोरूको गुणगान गरिएको छ ।
आफूलाई अधिकार नदिइएकामा मान्छेप्रति गोरूको आक्रोश छ । गोरूले आफ्नो अधिकारका सम्बन्धमा मान्छेप्रति नै अविश्वास व्यक्त गरेको छ–
“आज गोरू अधिकार पाउनै पर्छ भनिन्छ र भन्न पाइन्छ तर अधिकार चाहिँ पाइन्न । गोरूका पक्षमा सदनमा कुर्लन र सडकमा उर्लन पाइन्छ तर आन्दोलनको लक्ष्य प्राप्त गर्न पाइन्न । यही हो आज मानिसले मलाई दिएको गोरूतन्त्र र गोरू अधिकार । आज पनि मलाई पुरानै दासतामा जकडिने र विद्रोह गरेर सहिद बन्ने अधिकार बाहेक अरु कुनै जीवनदायी अधिकार प्राप्त छैन । यसै भएर अब म मानिसको चिल्लो बोलीमा विश्वास गर्ने छैन । आजसम्मको मेरो आन्दोलन, सङ्घर्षहरुको उपलब्धि र मानव समाजको विकासमा मेरो बलिदानी योगदानको उपलब्धि मानिसले हडपेको छ । अब म आफ्नै निम्ति, गोरूमुक्तिका निम्ति सङ्घर्षको मैदानमा उत्रेको छु” । (पृ. १५)
“हारे दासता छँदैछ, जिते दासत्वबाट मुक्ति” (पृ.१५) भन्दै गोरू सङ्घर्षको मैदानमा उत्रनु भनेको शोषित, उत्पीडित, श्रमजीवीहरु आफ्नो अधिकार प्राप्तिको लडाइँमा होमिनु हो । मजदुर, किसानहरु श्रमजीवी हुन्, शिक्षकहरु श्रमजीवी हुन् । यिनीहरुले गर्ने श्रम र गोरूले गर्ने श्रममा खासै अन्तर छैन । गोरू मान्छेबाट पीडित भएजस्तै मजदुर, किसान, शिक्षक लगायतका श्रमजीवीहरु राज्यबाट पीडित छन् । यिनीहरुले स्वतन्त्रताको उपभोग गर्न पाएका छैनन् भन्ने यथार्थलाई गोरूको आत्मकथामार्फत प्रस्तुत गरिएको यो निबन्ध कथात्मक शैलीमा छ, व्यञ्जनमूलक छ । गोरू मारेर सहिद बनाउने अनि त्यसैको प्रतिमा बनाएर पुज्ने मान्छेको अविवेकी र स्वार्थीपनमाथि प्रहार गरिएको छ । सोझासिधाहरुमाथि अन्याय–अत्याचार गर्दै सभ्यताले गति लिएको ढोंग रच्ने मान्छेहरुमाथि यसमा व्यङ्ग्य गरिएको छ ।
५.३ सुँगुर
आयामका दृष्टिले 'सुँगुर' लघु आकारको निबन्ध हो । यसमा सुँगुरको शारीरिक अवयवहरुको चर्चा गर्दै निबन्धकारले ‘सुँगुरको स्वर्ग’ भन्ने उखानको विश्लेषण गरेका छन् । निबन्धमा मान्छे र सुँगुरका आनीबानी तथा प्रवृत्तिहरुको विश्लेषण छ । आज मान्छेहरु सुँगुर जस्तै छन् । अधिकांश मानिसको चेतना र सुँगुरको चेतनामा समानता पाइन्छ । निबन्धकारले प्राणीहरुको वंशावली केलाउँदै लेखेका छन्–
“सुँगुरको एउटा नाम मात्रको पुच्छर हुन्छ । तर यो पुच्छर भएकामा यस जनावरलाई कुनै सन्तोष छैन । बरू, सुँगुर भाइहरु के गुनासो गर्छन् भने यति छोटो पुच्छर हुनुभन्दा त पुच्छरै नभइदिएको भए मानिस भनिने जनावरको श्रेणीमा पर्न सकिन्थ्यो होला । मानिस त्यति लामो पुच्छर हुने बाँदरको सन्तान कसरी हुन सक्छ ? यदि हो भने सभ्य र विकसित भनाउँदा मुट्ठीभर मानिसमात्र बाँदरका वंशज होलान् तर संसारका बहुसंख्यक मानिस पक्कै पनि सुँगुरका सन्तान हुन् । हामी र ती मानिसहरु बिचको असमानता केवल एउटा पुच्छर न हो । हामी पनि ती मानिसभन्दा कुनै कुरामा कम छैनौँ, हिँडाइ, बोलाइ, सोचाइ आदि यावत् कुरामा समानता छ ।” (पृ. ३८)
यस निबन्धमा निबन्धकारले सुँगुररुपी मान्छेहरुका आँखा पारदर्शक होऊन्, मस्तिष्कमा आत्मबोधको सञ्चार होओस् भन्ने सदिच्छा व्यक्त गरेका छन् । मान्छे बौद्धिक रुपमा स्खलित छ । उसको चेतना सुँगुरको जस्तै छ भन्दै निबन्धकारले यस निबन्धमा सुँगुररुपी मान्छेहरुप्रति व्यङ्ग्य ग्का छन् ।
५.४ बुद्धिजीवी
२०५० सालमा रचिएको ‘बुद्धिजीवी’ आजका कथित पढालेखाहरुमाथिको व्यङ्ग्य हो । यसमा एउटा गोरू र मास्टरी पेशा अपनाएका निबन्धकार बिचको संवाद रोचक शैलीमा प्रस्तुत गरिएको छ । मास्टरी पेशा छाड्ने निर्णय गरेर सुदूर पश्चिमको विकट जिल्लाबाट राजधानी काठमाडौँ हिँड्ने क्रममा बाटामा एउटा गोरूसँग निबन्धकारको भेट हुन्छ । यहाँ गोरू र निबन्धकारका बीच संवाद छ । गोरूले ‘मास्टर’ शब्दले निबन्धकारलाई बोलाउँदा उनलाई यस शब्दले एलर्जी बनाएको छ । उनले गोरूसँग आफूलाई मास्टर नभनेर बुद्धिजीवीका रुपमा सम्बोधन गर्न आग्रह गरेका छन् । देशमा बहुदलीय शासन व्यवस्था आएपछि राजनीतिक दलहरुको खिचातानीका कारण राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको हुनाले आफूजस्ता प्रकाण्ड विद्वान् मोफसलमा बस्नुको सट्टा राजधानीमै गएर बुद्धिजीवीहरुलाई सङ्गठित गरी सरकार, जनता र राजनीतिक दलहरु समेतलाई मार्गनिर्देशन गर्नु आफ्नो कर्तव्य ठानी निबन्धकारले राजधानीको बाटो समाएका छन् ।
निबन्धकार आफू प्रकाण्ड विद्वान् भएकैले मोफसलमा खुम्चन हुँदैन भन्ने सोच्छन् । आफूले विगतमा गरेको योगदानको कदर नभएकामा उनी काठमाडौँ जान चाहेका हुन् । अर्को कुरा राजनीतिक वृत्तमा विगतमा निकै योगदान पुर्याए पनि आफ्नै चेलाचपेटाहरुको हारालुछका कारण वर्तमानमा पछि परेकाले उनी काठमाडौँ पुगेर यस समस्यालाई सुल्ट्याउन चाहन्छन् । आफू अब मास्टर होइन, विशुद्ध बुद्धिजीवी बन्न चाहन्छन् । उनलाई मास्टरभन्दा बुद्धिजीवी नै माथिल्लो दर्जाको लागेको छ तर गोरूले राजधानीका बुद्धिजीवीहरुमा कत्ति पनि बुद्धि देख्दैन, गोरू भन्छः
'‘पहिले निर्दलको लगाम समातेर रजाइँ गरेका र प्रजातन्त्रको अस्मितामाथि बलात्कार गरेका कथित बुद्धिजीवीहरु नै अहिले कुनै न कुनै दलको झोला बोकेर मैदानमा उत्रेका छन् र दलीय सङ्कीर्णताबाट दयनीय रुपमा ग्रस्त छन् । यिनीहरु पैसाका लागि उहिले मरिचमानका आठपहरिया बनेका थिए भने अहिले रिचमेनका । यिनीहरु पञ्चायतीकालदेखि नै सुर्तीचोरदेखि लिएर मूर्ति चोरसम्मका सल्लाहाकार रहिआएका छन् भने नुन तस्करीदेखि लिएर सुन तस्करीसम्मकको सञ्चालन पनि यिनैले गरिआएका छन् ।'' (पृ.४५)
पञ्चायत र पञ्चायती शासकहरुहरुप्रति बफादार रहेकाहरुकै बहुदलीय शासन व्यवस्थामा पनि हालीमुहाली देख्दा निबन्धकार आक्रोशित भएका छन् । तिनीहरुबाट वास्तविक बुद्धिजीवीको योगदानको कुनै गनितोमनितो नभएकामा उनलाई रिस उठेको छ ।
मास्टरले काठमाडौँमा केही मात्रामा त पिएचडी गरेका पढालेखा बुद्धिजीवीहरु पनि छन् भन्ने कुरा गर्दा गोरूले पढालेखा पिएचडीधारी बुद्धिजीवीहरुलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि सर्टिफिकेट हात पार्ने उद्देश्यले पढेका नक्कली बुद्धिजीवीको संज्ञा दिएको छ । मास्टरलाई भ्रमबाट मुक्त हुने सल्लाहा दिँदै गोरू भन्छः ‘हाम्रो जस्तो सानो र अविकसित मुलुकमा सरकार चलाउने ठेक्का ठूल्ठूला शक्तिराष्ट्रले लिएका हुन्छन् । हिजोआज त यस्तो ठेक्का लिनका निम्ति बहुराष्ट्रिय कम्पनीहरु पनि प्रादुर्भाव भएका छन् र हाम्रो मन्त्रालय वा सरकार तिनै ठेकेदारहरुले’... ... (पृ.४५) । सरकार र मन्त्रालयहरु स्वदेशी बुद्धिजीवीको सल्लाहसुझावअनुरुप चल्दैनन् । यिनीहरु त बाह्य शक्तिराष्ट्रको आदेश शिरोपर गर्छन् भन्ने गोरूको कुरा सुनेर मास्टर निकै चिन्तित बन्न पुग्छ र निराश हुँदै सोध्छ ‘हाम्रो देशमा कुनै मौलिक प्रतिभा नै छैन त गोरूजी ?’ मास्टरको यस प्रश्नमा गोरू भन्छः
'‘हाम्रो देशमा तपाइँ जसलाई मौलिक चिन्तनका धनी ठान्नुहुन्छ वास्तवमा उनीहरु त्यस्ता छैनन् । कोही आफूलाई मार्क्सका मिक्स्चर ठान्छन् त कोही गान्धीका गधा, कोही लेनिनका लँगौटी मान्छन् त कोही हिटलरका हन्टर, कोही आफूलाई टैगोरका टट्टु मान्छन् त कोही गोर्कीका गोरू, कोही बचामुका काका मान्छन् त कोही सात्रेका सम्धी । बुझ्नुभयो मास्टरजी, अर्काको भजन गर्नु नै यिनीहरुको मौलिकता हो र यसैमा यिनीहरु आफूलाई महान् प्रतिभाशाली ठान्दछन्, बौद्धिक ठान्दछन् । हाम्रो देशको राजधानी यस्तै हनुमान दासहरुको क्रीडास्थल हो, तपाइँ हामीजस्ता बुद्धिजीवीलाई त्यहाँ कुनै सम्मान हुँदैन'' (पृ.४६) ।
हनुमान प्रवृत्तिका बुद्धिजीवीहरुमाथि यहाँ आक्रोश छ । गोरूले मास्टरको क्षमताको खुलेरै प्रशंसा गर्छ । मास्टरमा हुने विद्वताको प्रशंसा गर्छ । देश र जनताको सेवा गर्ने मास्टरहरु आफ्नै गाउँमा बढी सम्मानित हुन्छन् भन्ने कुरा गरेपछि मास्टरको घैँटामा घाम लाग्छ र ऊ काठमाडौँ जानुको सट्टा आफ्नै विद्यालयतिर फर्कन्छ । यस निबन्धको संवाद सुहाउँदो नभएको सङ्केत गरेर समीक्षक रविलाल अधिकारीले लेखेका छन्, “मास्टरसँग गोरू देखिएर बोलेको सन्दर्भ सपनाको हुनुपर्ने भए पनि यथार्थमै गोरू बोलेको देखाइएको छ, स्वाभाविक लाग्दैन (अधिकारी,२०७६, पृ.१५) । यस किसिमको प्राविधिक कमजोरी भए पनि गाउँमा पढाएर बस्ने मास्टर नै सक्कली बुद्धिजीवी हो र सहरमा बसेर विभिन्न नियुक्ति तथा पदका लागि मरिहत्ते गर्नेहरु नक्कली बुद्धिजीवी हुन् भन्दै यस निबन्धमा चाकडी तथा चाप्लुसीका भरमा बनेका स्वघोषित बुद्धिजीवीहरुप्रति व्यङ्ग्य गरिएको छ, स्वार्थी एवम् अवसरवादीहरुको भण्डाफोर गरिएको छ ।
५.५ नारदमुनिको वालिङ यात्रा
‘नारदमुनिको वालिङ यात्रा’मा सामाजिक विषमतामाथि व्यङ्ग्य छ । कुरौटे प्रवृतिले व्यक्तिलाई मात्र नभएर समाजलाई पनि अप्ठ्यारामा पार्न सक्छ भन्दै निबन्धकारले यस निबन्धमा नारदलाई स्वर्गलोकदेखि पृथ्वीमा रहेको नेपाल देशको नरकरुपी सहर स्याङ्जा जिल्लाको वालिङ बजारसम्मको यात्रा गराएका छन् । यसमा हामी नेपालीहरुको भनाइ र गराइमा देखिने भेदमाथि प्रहार गरिएको छ । ‘सडक र घर सफा राखौँ’ भनेर लेखिएका होर्डिङ बोर्डहरुका तल दिसापिसावको दुर्गन्ध खपिनसक्नु हुनु, मासुपसल र होटलमा बिक्रीका लागि राखिएका खानेकुराहरुमा निला माखा भन्कनु, घर बनाउनेहरुले बाटामै गिट्टी, बालुवा थुप्र्याएर बाटामा अवरोध पुर्याउनु, पसलेले आफ्नो शटरभित्र नअटाएका सामानहरु (नुनका बोरा, मट्टीतेलका ड्रम आदि) अगाडिको बाटैमा राख्नु जस्ता गतिविधि देखेपछि नारदलाई लागेको छ– यहाँका मानिसले स्वतन्त्रताको पूरापूर उपयोग गरेका रहेछन् । सायद् प्रजातन्त्र भनेको यही हो र मौलिक अधिकार भनेको यस्तै हुनु पर्छ !
किसानहरु आफ्नै गाउँघरमा खेतीपाती गर्न छोडेर वालिङ बजारमा खाद्यान्न किन्न आएका छन् । पसलहरु इन्डियन र चाइनिज मालले भरिपूर्ण छन् । व्यापारीहरु गरिबका लागि अनुदानमा आएको खाद्यान्न दोब्बर मूल्यमा बेचिरहेका छन् । कतिपय व्यापारीहरु भारतीय मूलका छन् । ‘मूल्यमा दस प्रतिशत छुट’ भन्ने ब्यानर टाँगेर बिस प्रतिशत मूल्यवृद्धि गरी दसैँ व्यापार गरिरहेछन् । वालिङको बजार फैलँदो छ । नारदजी रमाइलो मान्दै बजार घुमिरहेका छन् । ‘सत्य सेवा सुरक्षणम्’ भन्ने महावाक्य लेखिएको भवनको नजिकै उनी लुटिएका छन् । लुटेराहरुले हामीले देश र जनताको विकासका लागि यो काम गरेका हौँ भन्दा नारद छक्क परेका छन् । जसले जे गरे पनि पाइने, वास्तविक प्रजातन्त्र त यहाँ पो आएको रहेछ भन्ने उनलाई लागेको छ । नारद भन्छन्– ‘सच्चा प्रजातन्त्र भनेको यस्तै हुनुपर्छ । यस्तो परिपाटीलाई जसले अराजक भनी निन्दा गर्छ, त्यसले आदर्श समाज कस्तो हुन्छ, बुझेकै हुँदैन’ (पृ.५५–५६) । भूमिका लेखक डा. कृष्णप्रसाद न्यौपानेका अनुसार कालाबजारियालाई कारवाही नहुने, बाटामा यात्रुहरुको भीड, भट्टीवाल्नीहरुको तँछाडमछाड, वातावरण प्रदूषण, शान्तिसुरक्षाको अभाव आदि अवस्थाप्रति निबन्धकारले यस निबन्धमार्फत व्यङ्ग्य गरेका छन् (न्यौपाने, २०७२, पृ.ज) । वालिङ बजारको वर्तमान वास्तविकता निबन्धमा चित्रित छ ।
बजार बिचकै चौतारामा रात गुजारेर बिहानपख नित्यकर्मका लागि नजिकैको आँधीखोलामा पुग्दा बजारभरिका लोग्नेमान्छे र स्वास्नीमान्छेहरु सबै समान रुपमा पंक्तिबद्ध भएर आँधीखोलाको बगरभरि शौच क्रियामा संलग्न देख्दा नारदजीलाई लाग्यो– प्रजातन्त्रबाट प्राप्त भएको जनसहभागिता र सामूहिकता भनेको सायद् यही नै हो । यही सामूहिक महायज्ञमा आफू पनि सहभागी भएर खोलामा चुर्लुम्म डुबी बाहिर निस्केपछि विष्णु भगवानले दिएको २४ घन्टे नरकबासको सराप पूरा हुन्छ र नारद भगवान विष्णुकै शेषमहलतिर लाग्छन् ।
स्वैरकल्पनाको सहयोग लिएर कथात्मक शैलीमा सिर्जित यस निबन्धअनुसार वालिङका व्यापारीहरुमा दयामाया छैन, सर्वसाधारणलाई ठग्न बसेका छन् तिनीहरु । बजार फोहोरमैलाका कारण दुर्गन्धित छ । लुटेराहरुको बिगबिगी छ, ध्वनिप्रदूषण उत्तिकै छ । यहाँका मानिसहरु अशिष्ट छन्, अभद्र छन् । प्रजातन्त्र र स्वतन्त्रताको नाउँमा छाडातन्त्र मौलाएको छ । यही यथार्थमा रहेर हेर्दा वालिङ बजार (सहर) नरकतुल्य छ ।
६. निष्कर्ष
माथि उल्नएख गरिएका निबन्धहरूमा नेपालको विकृत राजनीति र त्यसलाई सञ्चालन गर्ने जिम्मेवार नेताहरुप्रति व्यङ्ग्य गरिएको छ । वास्तवमा राजनीति भनेको आम नागरिकका नागरिक हकको सुरक्षा गर्दै राष्ट्र तथा समाजमा सुशासन कायम गर्ने नीति हो र नेता ती नीतिहरुलाई कार्यान्वयन गर्ने सेवक हुन् तर हाम्रो देशको राजनीति वास्तविक राजनीतिभन्दा फरक छ । नेपालमा राजनीति गर्ने अधिकांश नेताहरु सीमित स्वार्थ, पारस्परिक खिचातानी, पदलोलुपता, अवसरवादी र वैयक्तिक धनको जोगाड गर्नेतर्फ उन्मुख देखिन्छन् । घुस, भ्रष्टाचार, दलाली, चाकडी, चापलुसी, नातावाद, आफन्तलाई गरिने सिफारिसबाट हाम्रो राजनीति, हाम्रो समाज ग्रस्त छ । सोझासिधा जनतालाई विभिन्न लोभ–लालच र प्रलोभनमा पारेर सत्तामा पुग्ने प्रवृत्तिले समाजलाई विषाक्त बनाएको छ ।
निबन्धकारले ‘पुरेत बाजेको सराप’मा पढालेखा विद्वान, राजनीतिज्ञ, प्रशासक आदिभन्दा बरु गाउँमै बसेर जनताको सेवा गर्ने मास्टर बढी इमानदार, कर्तव्यनिष्ट र राष्ट्रभक्त हुन्छ भन्दै देश र जनताको हितमा काम नगर्ने ठुलाबडाहरुप्रति व्यङ्ग्य गरेका छन् । ‘गोरू अब सङ्घर्षको मैदानमा’ निबन्धमा गोरू मारेर सहिद बनाउने अनि त्यसैको प्रतिमा बनाएर पुज्ने मान्छेको अविवेकी र स्वार्थीपनमाथि प्रहार गरिएको छ । यसमा सोझासिधाहरुमाथि अन्याय–अत्याचार गर्दै सभ्यताले गति लिएको ढोंग रच्ने मान्छेहरुमाथि व्यङ्ग्य छ । ‘सुँगुर’मा मान्छे बौद्धिक रुपमा स्खलित छ, उसको चेतना सुँगुरको जस्तै छ भन्दै सुँगुररुपी मान्छेहरुप्रति व्यङ्ग्य गरिएको छ । ‘बुद्धिजीवी’ निबन्धमा चाकडी तथा चाप्लुसीका भरमा बनेका स्वघोषित बुद्धिजीवीहरुप्रति व्यङ्ग्य गरिएको छ, स्वार्थी एवम् अवसरवादीहरुको भण्डाफोर गरिएको छ । ‘नारदमुनिको वालिङ यात्रा’मा वालिङका व्यापारीहरु सर्वसाधारणलाई ठग्न बसेका लुटेराजस्ता छन् भनिएको छ । बजार दुर्गन्धित छ । यहाँका मानिसहरु अशिष्ट छन्, अभद्र छन् । प्रजातन्त्र र स्वतन्त्रताको नाउँमा छाडातन्त्र मौलाएको छ । यही यथार्थमा वालिङ बजार नरकतुल्य छ । प्राविधिक रुपमा ‘पुरेत बाजेको सराप’ र ‘बुद्धिजीवी’मा केही कमजोरी देखिए पनि व्यङ्ग्यात्मक चेतका दृष्टिमा निबन्धहरु कमजोर छैनन् ।
सन्दर्भ सामग्रीसूची
अधिकारी, कृष्णराज (२०७१). साहित्यिक अवलोकन. पोखराः गण्डकी साहित्य सङ्गम, पृ.३७–४७ ।
अधिकारी, रविलाल (२०७६). भेषजराज शर्माको निबन्धकारिता. ज्याग्दीखोलाको तरङ्ग. पूर्णाङ्क– १५. सम्पादक.
देवेन्द्र लम्साल, नारायण मरासिनी र अन्य. स्याङ्जाः ज्याग्दीखोला साहित्य प्रतिष्ठान. पृ.३–१५ ।
अर्याल, अच्युतशरण (२०७२). बनारसदेखि वालिङसम्म (भूमिका). नारदमुनिको वालिङ यात्रा. (सङ्कलकः श्यामप्रसाद
ढुङ्गाना). स्याङ्जाः भेषजराज साहित्य प्रतिष्ठान ।
आप्टे, वामन शिवराम (सन् २००७). संस्कृत–हिन्दी कोश. जयपुरः रचना प्रकाशन ।
उपाध्याय, केशवराज (२०४९). साहित्य–प्रकाश. (पाँचौं संस्करण). ललितपुरः साझा प्रकाशन ।
तिमल्सेना, पशुपतिनाथ (२०६२). राष्ट्रिय भावना र मानवीय मूल्यले खारिएको भेषजराजको काव्य–चेतना. यथार्थवादी
नेपाली समालोचना. (सम्पा. घनश्याम ढकाल). पोखराः गण्डकी साहित्य सङ्गम, पृ.४३–५८ ।
न्यौपाने, कृष्णप्रसाद (२०७२).नारदमुनिको वालिङ यात्रामा विचरण गर्दा. (भूमिका). नारदमुनिको वालिङ यात्रा.
(सङ्कलकः श्यामप्रसाद ढुङ्गाना), स्याङ्जाः भेषजराज साहित्य प्रतिष्ठान ।
शर्मा, भेषजराज (२०७२). नारदमुनिको वालिङ यात्रा. (सङ्कलकः श्यामप्रसाद ढुङ्गाना). स्याङ्जाः भेषजराज साहित्य
प्रतिष्ठान ।
ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा– १७, कास्की