19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेरि बिग्रेकी केटी

कथा डा. सावित्री श्रेष्ठ February 27, 2023, 2:17 pm
डा. सावित्री श्रेष्ठ
डा. सावित्री श्रेष्ठ

ठूली आमाको कुरा ! ओहो हो त मैले कसरी सपना देख्न सकेको ? दिनेश दाइसँग बिहे गर्ने ? के यस्तो असम्भव सपना कसरी देखेँ मैले । समाजको आर्थिक र सांस्कृतिक नियम जसमा एउटा घरायसी सहायकको घरधनीसँग बिहे हुने कुनै एउटा सानो सम्भावना पनि खाली राखिएको हुँदैन । त्यसै पनि मेरो इच्छा र प्रेम एकोहोरो हो, दिनेश दाइले मसँग कहिल्यै आसक्ति देखाउनुभएन । कहिल्यै व्यक्तिगत सम्बन्धका कुराहरू पनि गर्नुभएन । छातीको भक्कानो छातीमै थन्क्याएर आँसुका भेललाई आँखाको डिलबाट झर्न नदिएर, बेजोडले त्यो घरबाट निस्केर एकै चोटि आफ्नो ओछ्यानमा पुगेर घोप्टो परेर मुटु फुटाएर रोएँ म । आज पहिलोपल्ट लाग्यो मलाई म साँच्चै बिग्रेकी केटी नै हुँ प्रतिबन्धित सपना देख्ने । म मूर्ख पनि हुँ, थोरै पनि परिस्थिति अध्ययन नगर्ने, आफ्नै तालमा सपना मलजल गर्दै परिणाम बारे अलिकता पनि विश्लेषण नगर्ने । ठूली आमाको पनि दोष नै छैन । उनले कहिल्यै पनि मलाई आफ्नी दुलही बनाउँछु भनेकै छैन । म मूर्ख ठूली आमाको कुरा, जुन सायद मलाई फुक्र्याउँदै बढी काम लिने उहाँको सभ्य तरिका पनि हुन सक्छ, किनकी तिनै शब्दहरूको फेर समातेर मैले तीन जनाले गर्ने काम एक्लै गरेकी छु, कुनै नोकर (घरेलु सहायक नटिक्ने त्यो घरमा) म प्रेमपूर्वक स्थापित भएँ र मैले आज सोच्दा त्यो घरले मलाई धेरै थोक दिएको छ भने त्यो घरलाई पनि मैले अझ धेरै थोक दिएकी छु । त्यो ठूलो घरका सबै परिवारको लागि इच्छा भोजन पकाउने, घर कोठा–चोटा, आँगन सफा गर्ने, लुगा धुने, बारीमा तरकारी र पूmलबारीमा पूmलहरू रोप्ने र अझ बेलामौकामा ठूली आमालाई मालिस गरिदिने, बेलुकी भाँडा माझेर घर फर्किँदा म यति थाकेकी हुन्थेँ कि बोल्न समेत मन नलाग्ने भइसक्थ्यो । मेरी आमाले टाउको मुसार्दै सुताउनुहुन्थ्यो । मलाई दिनेश दाइको आमाको सेवा गर्दागर्दै मैले मेरी आमाको कहिल्यै सेवा गर्न भ्याइन । आफ्नो घरमा भात पकाउन कहिल्यै भ्याइन । मैले मेरी आमालाई एक छाक भात पनि पकाएर खुवाउन भ्याएकी छैन । हो । कहिलेकाहीँ चाडबाडमा ठूली आमाले दिई पठाउनुभएका तरकारीहरू लगिदिएकी छु मैले र कहिलेकाहीँ आमालाई पनि बोलाइन्थ्यो त्यो घरमा खानको लागि । मेरी आमाले आफ्नी छोरीले पकाएको व्यञ्जनहरू दिनेश दाइको घरमा मात्र चाख्न पाउनुभयो । यस्तो कहिल्यै भएन कि हामी आमा–छोरी मिलेर इच्छा अनुसारको भोजन पकाएर खाएको होस्, बिचरी मेरी आमा । दिनेश दाइले दिनुभयो उही सय–पचास कहिलेकाहीँ । अँ भाउजुकी (दिनेश दाइको दाइको छोराछोरी) लाई पनि पढाइमा मदत गर्न थालेकी थिएँ मैले पछिल्लो एक दुई वर्ष । त्यस बापत भाउजुले एउटा–दुइटा पुरानो साडी आमाको लागि दिनुभएको बाहेक अरू केही भएन । मैले पनि कहिल्यै केही खोजिन । दिनेश दाइले मलाई पढाइदिए बापत झन्डै एक हजार ट्युसन फि लाग्छ अरूलाई भए, भनेर चाहिँ ठूली आमा बारम्बार भनिरहन्थिन् तर मैले ती तिन जना बच्चाहरूलाई पढाउँदा के कति लाग्छ त ? उनीहरूले हिसाब गरेँ त मैले । मेरी आमाले त झन् सकेको गरिदेऊ छोरी बाहेक त केही भन्न जान्नुभएकै छैन, हामीलाई चाहिने सम्मान थियो जुन हामीले त्यो घरबाट पाएकै हौँ । तर आज नजाने किन साह्रै अपमानित भए भैmँ लाग्दै छ मलाई । हुने र नहुने बिचको विभेदमा । नहुनेले नै हुनेलाई अझ हुने हुनुमा सघाउ पु¥याएको हुन्छ, थोरै मूल्यमा धेरै सेवा दिएर ।
म दिनेश दाइसँग त्यसै मोहित भएकी भने पक्कै होइन । ठूली आमालाई म जस्तै बुहारी चाहिने दिनेश दाइलाई पनि म जस्तै दुलही चाहिने । एउटा झमझम पानी परिरहेको साँझमा म र दिनेश दाइ अनि बच्चाहरू मात्र घरमा भएको दिन उहाँले मलाई दुई कप चिया लिएर यतै आऊ है भन्नुभयो । त्यसो उहाँले धेरै पटक भन्नुभएको छ । उहाँलाई चिया खानुपर्ने, मलाई पनि चिया खानु पर्ने । हामी धेरै जसो पढ्दा–पढाउँदा चिया पिइरहेकै हुन्थ्यौँ । म दुई कप चिया लिएर गएँ । त्यो दिन उहाँको आँखामा बेग्लै भाव थियो । बस तिमी त्यहाँ भन्दै मलाई सानो सोफामा बस्न दिएर उहाँले भन्नुभएको थियो— आमालाई तिमी जस्ती दुलही चाहियो रे हैन । हो मलाई पनि तिमी जस्तै दुलही चाहिएको छ । तिमी के भन्छौ ? मैले के भन्नु ! म दिनेश दाइको मोहित आँखा हेर्दै चियाका खाली कप लिएर भान्छा पसेकी थिएँ । त्यस बाहेक उहाँले अरू केही कहिल्यै भन्नुभएन तर उहाँको आँखामा जस्तो प्रेमिल भाव आजसम्म यो संसारमा कसैको आँखामा पाएकी छैन । हो त्यो प्रेमिल भावमा पनि म मोहित भएकी हुँ । दिनेश दाइको आँखाको त्यो मौन प्रेमलाई पनि उत्प्रेरित गरेका छन् मलाई यस्तो सपना देख्न । तर यो जीवन हो । यसको अर्को पक्ष पनि हुन्छ– दिनेश दाइको आँखामै त्यो प्रेम पनि बन्देज लगाइएको हुन सक्छ । म जस्ती मान्छेको निःशुल्क सेवा कहाँ भेटिनु । त्यसैले मलाई त के सुइँको दिनु र ! दिनेश दाइसँग ठूलै विवाद भएको हुनु पर्छ । यस सन्दर्भमा र दिनेश दाइले आमा–बाबुको इच्छाको सम्मानमा यो विवाह गर्नुभएको पनि हुन सक्छ । समाजले मान्छे–मान्छेबिच लादिदिएको विभेद ग्रेटवालभन्दा अलि ठूलै होला, सानो त पक्कै हैन ।
ओहो यो एउटा घटनाले कति संवेदनशील बनाएको मलाई । म अबोध बालिकाबाट चेतनशील नारीमा रूपान्तरित भएकी छु, जीवनका पक्षहरू केलाउन सक्ने भएकी छु, अझ यसो भनौँ सत्यको अर्को पाटो पनि देख्न सक्ने भएकी छु । जे भयो त्यो ठिकै भएको छ, दिनेश दाइसँग बिहे नै भएको भए पनि त्यो घरले मलाई घरायसी सहायककै मात्र काम गराउने हो । अझ पूरै निःशुल्क नोकर्नी । अर्थशास्त्री पिगोले भनेका छन्, ‘कुनै घरमा काम गर्ने महिलाले घरायसी कामगरे बापत तलब पाउँछिन् भने त्यो राष्ट्रिय आयमा गणना हुन्छ तर त्यही महिलासँग घरमालिकले बिहे गरे भने ती महिलाको श्रमलाई राष्ट्रिय आयमा लिन सकिन्न ।’ साँच्चै भन्ने हो भने संसारको अर्थशास्त्रमा यसरी नै चलेको छ ।
बगेका आँसुहरू पुछेँ मैले । यी आँसुहरू आपैmँसँग पनि लुकाउँछु मैले । कतैबाट कुनै किसिमको कमजोरी देखाउनु त छैन नै, मनबाटै बलियो हुनु छ अब मैले ।
यति नै बेला ढोका ढकढक्याएको टक...टक आवाज आयो । घरबेटी भाउजु उभिइरहनुभएको रहेछ । भन्नुभयो, ‘नानी तिमीले पढाइदिनुप¥यो मेरा बच्चाहरूलाई । घरभाडा बरु चाहिएन, पल्लो घरका बच्चाहरू पनि पढाइदिनु भन्नुभएको छ । नानीको केही आम्दानी पनि हुन्छ, बरु कति पैसा लाग्ने हो भन्नुस् है ।’
‘के खोज्छस् कानो, आँखा’ मैले काम खोज्न कतै जानै परेन । बल्की घरायसी सहायकबाट शिक्षक पो हुने भएँ म । मन हल्का भयो, मेरो आज नयाँ जन्म भए भैmँ लाग्दैछ तर नजाने किन मनमा एउटा गाँठो परेको पनि महसुस हुँदै छ, दुख्दो त हैन अप्ठ्यारो गाँठो ।
पुल्चोक इन्जिनियरिङ कलेजको डिप्लोमाको प्रवेश परीक्षामा एक नम्बरमा नाम निस्कियो मेरो एउटा जर्मन प्रोजेक्टको १५०० छात्रवृत्ति । कलेजको छात्रवृत्ति बेग्लै तत्कालीन समयको (२०४०।४१ सालतिर) को त्यो रकमलाई निकै ठूलो रूपमा लिइन्छ । त्यो दिन म पुनः एक पटक मरु गणेश लड्डु चढाउन गएँ । नेवारी संस्कार अनुसार समय–बजी सहित । मेरी आमा त्यो दिन झन् खुसी हुनुभयो । म त गइन मेरी आमा दिनेश दाइको घरमा मिठाइ लिएर जानुभयो ।
अब मेरो एक मात्र लक्ष्य क्लासमा टप गर्नु थियो । कडा मेहनत, कडा परिश्रम पढ्ने र पढाउने । म मेरा कक्षाका साथीहरूलाई पढाइमा मदत पनि गर्थें । यसले मेरो पढाइ अझ बलियो हुन थाल्यो । एक समयको ट्युसन पढाइ र आम्दानी दुवै राम्रो हुन थाल्यो । तिन कोठाको फ्ल्याटमा आमा निकै रमाउन थाल्नुभएको छ । मेरी आमाको कुसाग्रता र सिप अनि उहााको सम्पन्न इतिहासको छाप अहिले हाम्रो दिनचर्यामा झल्कन थालेको छ । उच्च स्तरीय छनोट र अर्थ व्यवस्थापन– मेरी यस्ती आमा कसरी त्यसरी बस्नुभयो । सोचेर नि छक्क र दुःख दुवै लाग्छ मलाई । कुल घरानाकी सम्पन्न छोरी बुहारी परिस्थितिले उहाँलाई आफ्नो हैसियतभन्दा निकै तल पु¥यायो, जसलाई उहाँले मौनतापूर्वक बेहोरी रहनुभयो ।
अन्तिम सेमेष्टरको परीक्षामा १८ घण्टासम्म पढेँ मैले । पढाइ... पढाइ...पढाइ... अरू केही र कसैको लागि कुनै स्थान थिएन जीवनमा । संसारले दिएका चोटहरू, हिंसाहरू पनि बिर्संदै गएँ । परीक्षा सकेको भोलिपल्ट नुहाएर, लुगा धोएर, लुगा भएको बाटा उचालेको मात्र थिएँ भाउन्न भएर लडेँ म । कत्ति बेरपछि मात्र होश आयो । क्या पढिएछ त ।
अधिराज्यभरिमा सर्वोत्कृष्ट परिणाम आयो मेरो । सर्वप्रथम यस सङ्कायमा छात्राले पाएको उपलब्धि रे यो । यो मेरो जेहन्दारिताको मात्र नभई अति मेहनतको पनि फल थियो ।
आमासँग पचलीभैरव, महाँकाल, सङ्कटा र मरु गणेश लगायतका मन्दिरहरूमा पूजा गर्न गइयो । बाटोमा मलामीहरूले लासलाई चढाएको पैसा उठाउने मान्छे म, आज माग्न बसेका बच्चाहरूलाई पैसा दिन पाउादा मन रमायो । वागमती र विष्णुमतिको दोभान टेकुमा बग्दै गरेको पानी सँगसँगै मेरो अतीत, ठूली आमा, दिनेश दाइहरू पनि जिस्क्याउन आइपुगे । यस्तै हो समय गतिशील छ । यो समयले मलाई गतिलो जवाफको रूपमा उभ्याएको छ, मेरो पीडाको म आपैmँ उत्तर भएकी छु म आज । अनि गन्तव्यमा पुग्ने बाटो पनि बनेको छ ।
मैले रसियामा इन्जिनियरिङको छात्रवृत्ति पाएँ । मेरै क्लासको प्रविणले नि पायो । शालीन र सुन्दर प्रविण सँगै एउटै विश्वविद्यालयमा पढ्न पाउने भयौँ । अब केही वर्षको लागि देश मात्र होइन, आमा छोडेर जानु छ मलाई । तर के गर्नु केही पाउन केही त छाड्नै पर्ने रहेछ । चीची पनि पापा पनि पाइँदैन भन्थे हो रहेछ ।
तत्कालीन सोभियत संघको भव्यता, विशालता, व्यवस्थापन र विकालाई साँच्चै चमत्कारिक नै मानेँ मैले । तर त्यहाँ पनि मेरो पहिलो प्राथमिकता पढाइ नै रह्यो । त्यहाँ त झन् ४०।४२ देशका विद्यार्थीहरू– पहिलो वर्ष त भाषा अध्ययनमै बित्यो । रसियन भाषामा पढेर, बुझेर लेख्नुपर्ने र सब रसियनलाई जित्नु पर्ने । थाहा छैन जित्नै पर्ने किन हो तर तत्कालीन समयमा मेरो ध्येय, लक्ष्य वा जिद्दी जे भनौँ, रसियनको मात्र के कुरा ! सबैलाई जित्नु पर्ने ! त्यो त्यही थियो । जसरी नि सर्वप्रथम हुने । हुन त हामीले पाउने छात्रवृत्ति तै मेरो र आमाको खर्च धान्न पर्याप्त थियो तर मैले काम पनि गरेँ । छुट्टीको समय नेपालभन्दा अरू देशहरूतिर गएँ । कम्प्युटर लगायतका सामानहरू लिएर ती समानाको बिक्रीले राम्रो आम्दानी हुने गथ्र्यो । यसै बाध्यतामा संसारका अश्र देशहरू र तिनकोकिवास पन िनजिकबाट नियाल्ने मौका पाएँ मैले ।
समय सँगसँगै नेपालका हिमाली नदीहरूमा मात्र नभई सोभियत संघको समुन्द्रले धेरै पानी फेरि सक्यो, कयौँ छालहरू ओहोर–दोहोर भइसक्यो । हजारौँ मान्छेले ती छालहरूसँग रमाइसके । कैयाँ चोटि घाम उदायो, अस्तायो । मेरो जीवनमा प्रविणले आफ्नो लामो ठाउँ बनाउन थालेछ । तर फेरि पनि आफ्नो पढाइ पहिलो प्राथमिकतामा । आमा अनि अरू केही र कोही । यही नै सत्य हो मेरो जीवनको । मेरा प्राध्यापकहरू पन िछक्क पर्थे । नेपालबाट आएको एउटा फुच्ची केटीको जेहन्दारिता, लगन, मेहनत र अनुसन्धान अध्ययन क्षमता देखेर । आफ्नो तिक्ष्ण बुद्धिको ज्ञान मलाई यहाँ आएरै भयो । दिमागले पनि मौका पाउनुपर्ने रहेछ । मौलाउने बिरुवा भैmँ कर्णालीले भैmँ बाटो पाउनुपर्ने रहेछ रफ्तारले बग्नलाई । हिउँ भएर जमेका सपनाहरूपखेटा लिएर उड्न थाले । म हरेक परीक्षामा सर्वश्रेष्ठ ५।५ तत्कालीन सोभियत संघमा इन्जिनियरिङका विद्यार्थीहरूले २५० वटा जति परीक्षा दिनुपर्ने । ५।५ नम्बरको मेरो सधैँ ५ मा ५, शतप्रतिशत । विज्ञान, इतिहास, संस्कृति, अर्थशास्त्र सबै विषय पढ्नु पर्ने । गुरुहरू, साथीहरू छक्क पर्थे । त्यो बेला मैले रसियन भाषामा कविताहरू पनि लेखेँ । त्यसमा पनि मैले सर्वप्रथम हुने मौका पाएँ । त्यो प्रतिभाले मलाई विद्यावारिधि गर्ने मौका पनि दियो । म विद्यावारिधि गर्न थालेँ । पूर्ण छात्रवृत्तिमा यसबीच प्रविणले विवाहको प्रस्ताव राख्यो । उसले आफ्नो मात्र हैन मेरी आमालाई पनि मनाइसकेछ । नेपाल जान सकेनौँ हामीले यहीँ बिहे ग¥यौँ । मेरो विद्यावारिधि बीच हामीले धेरै काम पनि ग¥यौँ । दोभासेको काममा हामीले बेस्सरी कमायौँ पनि । एक जना भारतीयको निर्माण सामग्री पूर्ति गर्ने काम उसलाई रयिन भाषा नआउने । रसियनहरूलाई हिन्दी वा अङ्ग्रेजी नआउने । हामीले भाषाको आदान प्रदान सँगै आपूर्तिको मेसो पनि पायौँ र हाम्रो कामको उत्कृष्टताको कारण त्यो भारतीय वासु चटर्जीले हामीलाई पर्टनर बनाउन पनि खोजेको हो । हामी पैसा सुटकेशमा ल्याउँथ्यौँ । खाटमुनिसम्म पैसा राख्यौँ हामीले । यही पैसाले नेपालमा आमाले जग्गा किन्नुभयो ३ रोपनी उही कमलपोखरी दिनेश दाइहरूकै वरपर । मलाई त त्यहाँ मन परेको थिएन तर मेरी आमालाई त्यहीँ मन परेछ । तर साह्रै राम्रो रहेछ जग्गा जहाँ अहिले हाम्रो घर छ । यहीबीच मेरो एउटी छोरी पनि भई । छोरी लिएर प्रविण नेपाल गयो । त्यही जग्गामा मन माफिक घर बनायो उसले । पहिलो तलामा ठूलो हल, एउटा स्टोर रुम र किचेन, ट्वाइलेट बाथरुम । माथिल्लो तलामा ४ बेड रुम र लाइब्रेरी एवं स्टडी रुम । त्यो घरमा प्रविण र आमा भएर हुनसम्म शिल्पी लगाएछन् र त्यो साँच्चै अनुपम घर बन्यो । यता मेरो विद्यावारिधि पनि सधैँ भैmँ विशिष्ट प्रकारको रह्यो ।
यसरी १० वर्ष सोभियत संघ बसाइले मलाई ज्ञान, विज्ञान, शिक्षा, सम्पत्ति र सन्तान पनि दियो । सबै प्रकारले सम्पन्न भएर दस वर्षपछि म फर्केँ । हुन त बिचमा ३।४ चोटि आमा भेट्न आएकी थिएँ नै ।
जीवन गजबको भएको छ । आत्मविश्वास र निश्चिन्तता अनि स्वाधीन निश्चयहरू, आपूmलाई आपैmँभित्रको बौद्धिकता र लगातारको मेहनतले जीवन जीवन जस्तो हुँदैछ । बिग्रेकी केटी भन्थे मलाई । भोको पेटमा बितेको बालापन, दिनेश दाइको घरको निःशुल्क सेवामा बितेको बालापन र दिनेश दाइले नै डो¥याउनुभएको ज्ञानको बाटो । साँच्चै त्यो कठिन समयमा अँध्यारो बेलामा मैले एउटा सजिलो र उज्यालो मान्छे भेट्टाएकै हुँु दिनेश दाइको रूपमा ।
नेपाल फर्केको दोस्रो दिन म पुल्चोक इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्न थालिसकेको थिएँ । विशेषज्ञ बनेर आएको म । अब नेपाली जीवनमा फुलेको सुविधा पु¥याउने मेरो ध्येय हुनेछ । एउटा पुलको अर्थको नदी तर्ने माध्यम मात्र पक्कै होइन । पुल नै त्यो माध्यम हो जसले नदीका विपरीत किनाराहरू जोडिदिन्छ । दुई किनाराका जीवन, संस्कृति, विकास जोडिदिन्छ । विकासलाई दोब्बर मात्र नभई कयौँ गुणा वृद्धि गरिदिन्छ । नदीको सौन्दर्य पुलको बिचबाट, बिच नदीको माथि बसेर हेर्दा जति निखदिन्छ त्यति पल्लो छेउ वा पल्लो किनारबाट हेर्दा कुनै हालतमा देखिँदैन । पुलले जीवनलाई जीवन जस्तो बनाइदिन्छ र यही पुलहरू बनाएर म मान्छे जस्तो मान्छे बन्दै छु । दिनेश दाइभन्दा अलि परिचित मान्छे । मान्छेहरू माझ ।
कामको धुन र लगन अनि मेहनत गर्ने विशेष बानी र प्राकृत रूप नै केही फरक र जेहेन्दार पनि भएकोले केही वर्षभित्रै मलाई पुल विज्ञ मात्र हैन, पुलमा महारथ हासिल गरेकी असाधारण महिलाको रूपमा लिन थाले । ६ हजारभन्दा बढी नदी एउटै नदी तर्न नै १५–२० वटा भन्दा बढी पुलहरू आवश्यक पर्ने यो नेपाली भूबनोट पनि मिरो लामो खुला विश्वविद्यालय जस्तो भइदियो । जसले मलाई नाम, दाम र ज्ञान मात्र होइन ख्याति र ऐश्वर्यै पनि दियो । अब मेरो जीवनमा बिग्रेको केटीको अवशेष पनि बाँकी रहेन ।
टोलका ती ठालू काका र ठूलाबाहरू अब बाजे (उमेर) मा रूपान्तरण भइसकेका थिए र तिनले मलाई अब नमस्कार नानी भन्न थालेका थिए । तर अभैm पनि फुर्सद हुँदा मरु गणेश वा पचली भैरवतिर जान मन लाग्ने मलाई, कहिले आमासँग जान्छु, कहिले प्रविण र बच्चाहरू लगायत आमासँग र कहिले एक्लै ।
एउटा झमझम पानी परिरहेको साँझ एक्लै एक्लै वागमती पुलतिरबाट जाँदै थिएँ । वागमतीको पानीले बोलाए भैmँ लाग्यो मलाई । गाडीको रफ्तार कम गरेर यसो हेरेँ । साँच्चै हो त वागमती मलाई बोलाउँदै रहिछिन् । एकातिर गाडी पार्क गरेर म पुलतिर लागेँ । भिज्दै तर पानी कम भइसकेछ । झमझम वर्षा सिमसिम पानीमा बदलिइसकेछ । पर परसम्म हतारिँदै बगिरहेको नदी र टाढा देखिँदै गरेको टेकु दोभानले मलाई उही बिग्रेकी केटीको समयतिर फर्काइदियो । दिनेश दाइ पनि सम्भेmँ मैले । त्यसै पनि उनी मनको एक कुनाबाट कतै गएनन् । कहिल्यै पनि त्यो मनको कुना नजाने किन भारी गह्रुँगो लाग्ने मलाई । बेकारको यो बोझ नजाने किन फाल्दै सकिएन । यस्तै यस्तै बग्दै गरेको पानीभन्दा बग्दै गरेको विचारहरूमा हटाइरहेकै बेला मैले आपूmलाई छाता ओढाइएको महसुस गरेँ । यसो हेरेको दिनेश दाइ रहेछ ।
किन तिमी यहाँ एक्लै ?
वागमतीको भेल हेरिराकी ।
ए हो त हगी तिमीलाई सानैदेखि पानी मन पर्ने ।
हो त दिनेश दाइ, म बिग्रेकी केटीलाई पानी मन पर्ने । टेकु मन पर्ने ।
अब त ठूली मान्छे भइसक्यौ नि तिमी, यो पुल नि तिमीले नै यो नयाँ ढङ्गले तिमीले नै बनाएकी हैन र ? तिम्रो प्रगति हेरेर दङ्ग छु म । रेडियोमा तिमी । अखबारमा तिमी, टिभीमा तिमी, पुल र मन्दिरहरूमा तिमी । साँच्चै खुसी छु म । आमा पनि खुसी हुनुहुन्छ । हामी तिम्रो कुरा गरिरहन्छौँ । दिनेश दाइका आँखाहरू उस्तै प्रेमिल ।
गल्ती भयो भन्नुहुन्छ आमा ।
ए कस्तो छ नि ठूली आमालाई ?
ठिकै छ, बूढी हुनुभयो आमा । तर बलियै हुनुहुन्छ । एउटै टोलमा बसेर पनि तिमी कहिल्यै फर्केर आइनौ ?
दिनेश दाइ– मैले फर्कने बाटै पाइन ।
बाटो मोडिए पछि यस्तै हुँदो रहेछ ।
दिनेश दाइ टकले मतिर हेर्न थाले र भने, हिँड पुलमुनि टेकु दोभानतिर जाऊँ एक क्षण । तिम्रो पनि मन पर्ने ठाउँ ।
म चकित भएर दिनेश दाइलाई हेर्छु र मौन स्वीकृति सहित जाऊँ भन्छु ।
यो व्यक्ति त्यही हो जसले मलाई पहिलो अक्षर पढायो र पहिलो सपना देखायो । सपना त भत्कियो तर त्यही अक्षरहरू सँगसँगै हिँडेर मैले धेरै थोक पाएकी छु । नजाने किन मन रमायो ।
एउटा कुरा भनौँ दिनेश दाइ भन्नहुन्छ ।
म हेर्छु दिनेश दाइतिर ।
थाहा छ तिमीलाई म तिमीलाई प्रेम गर्छु । सायद सधैँ गर्थेँ फुच्छी तिमी तिम्रो पूmर्ति, इमान्दारिता र छरितोपन, अनि जेहेन्दारीले सधैँ लोभ्यायो मलाई र आफ्नो बिहेकै दिन जब मैले थाहा पाएँ तिमी मेरी दुलही हुन चाहेकी रहिछौ । मन साह्रै रमाएको थियो मेरो तर परिस्थिति त अर्कै थियो र त्यही दिन म प्रष्ट भएको थिएँ तिमी पनि चाहँदी रहिछौँ र म पनि । तर संसार अर्कै रहेछ । त्यो दिन सपना भत्किएको दिन जस्तो लागि रह्यो मलाई । हुन त यो कुरा मैले आपैmँबाट पनि लुकाएर राखेँ, तर तिम्रो हरेक प्रगतिमा सबैभन्दा बढी खुसी हुने यो तिम्रो दिनेश दाइ नै हो जो तिम्रो जिन्दगीको सबैभन्दा पुछारमा रह्यो ।
हैन दिनेश दाइ तपाईं मेरो जिन्दगीको पहिलो अक्षर, तपाईं यही अक्षरको बाटो हिँडिरहेँ म जिन्दगीभर । जीवन जता पुगे पनि मनको कुनै कुनाको कुनै मान्छे, त्यही रहिरहँदो रहेछ ।
तिमीले मेरो मनको गहु्रँगो भारी उतारी दियौँ र त्यही बेला मेरो मन पनि पूmलको थुँगा अझ भनौँ गुलाफका पत्रहरू भैmँ हलुँगो भएको महसुस गरेँ मैले । र इमान्दार भएर भन्नु पर्छ मैले ती पूmलहरू दिनेश दाइको आँखाबाट मेरो मनमा सरेका हुन् । यी पूmलहरूभन्दा सुन्दर वस्तु संसारमा अरू केही छ त ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।