भर्खरै दक्षिण अफ्रिकी देशमा सुनको गाउँ पत्ता लागेको एउटा समाचार आयो । त्यस गाउँका मानिसहरूले सुनखानी उत्खनन गर्न दिएनन् । बरू उनीहरू मर्न तयार देखिएपछि दलालहरू त्यहाँबाट भागेका थिए । अचेल यता भने गाउँको भाषा गाउँमै थियो । उनीहरू के चाहन्थे, के चाहदैनथे । कस्लाई के थाहा ? धनी हुने सपना बाँड्ने गल्लाहरू समाजमा व्याप्त थिए, तिनीहरू सोध्दथे ।
––“उत्खनन गरौँ ! उत्खनन !”
ऋलमलमा परेका गाउँलेहरू लोभ लालचमा थिएनन् । उनीहरू कसैका भित्री कुरा बुझ्दैनथे । सोझो सिधा भाषामा उनीहरू आफ्नो पुर्खाको थलो नामेट पार्नु भनेको ‘आफ्नो अस्तित्व समाप्त हुनु हो’ भन्ने सम्झन्थे ।
––“गाउँको बीचमा सुनखानी छ । सुन पाएपछि सबै धनी हुन्छौँ ।”
व्यापारमा लागेको पेम्बाले सबै गाउँ वरिपरि घुमेर भन्यो ।
––“हाम्रो गाउँमा त सेतो सुन रेछ है !”
अल्लारेहरू सेतो सुनको उत्खननका लागि गाउँका जग्गा जथाभावी दलाली गर्न लागे । उनीहरूको वास आली काँन्लामा दिनहुँ हुनथाल्यो । उत्खननको कुरो आयो कि केटाहरू जम्जामाउँथे । सोझाहरूका भने हात मुख सुक्दथे ।
––“गाउँमा कचहरी बस्यो । कसैले स्वीकृति दिने मेसो नदेखाएपछि उत्खनन कर्ताहरूले गाउँमा जबरजस्ती जनमत सङ्ग्रह गरे । गाउँलेहरू हारेपछि उनीहरूले सोधे अनि सर्त राखे ।
––“सेतो सुन भनेको के हो ?”
दलाल, अल्लारे र बेनामी जग्गा धनीहरूले एकै स्वरमा भने ।
––“सेतो सुन भनेको जाबो बालुवा त हो नि !”
गाउँलेहरूले बीचार गरे । जाबो बालुवा जहाँ तहीँ पाइन्छ । टारको बालुवा दिएर हामी धनी हुन्छौँ भने “देऔँ !” भन्ने सल्लाह स्वीकृति जुटाए । सबै कागज पत्रमा सही साक्षि बसिदिए । तर हराम कुरा, टारै टारको बालुवा सुनको नामी अब्बल इज्जतमा पुग्यो । गाउँलेहरू तिनछक्क थिए, टार हरायो । मान्छेले पनि बिर्से ।
––“मेरो खोई !”
ज्ब सेतो सुनको टुक्रा बाँडफाँड सकिएथ्यो । आशामुखी अल्लारेहरू मन मनै पाकेकारहेछन् । आखिर पछि पत्ता लाग्यो । त्यो त देशको शक्तिशाली ‘भू–ग्रह’ रहेछ ।
––“दाइ ! दाइ !! ‘भू–ग्रह’ भनेको के हो ?”
जुत्ता सिलाएर बसिरहेको सुखिया बटुवाहरूलाई सोधिरहेथ्यो । बटुवाहरू झर्केर भनिदिन्थे ।
––“था’ छैन, था’ छैन !”
आकासका ग्रह जस्तै पृथ्वीमा छरिएररहेका भू–ग्रहहरू ओहोर दोहर गर्दथे । कोही चिनिएका, कोही नचिनिएका थिए । अर्काे उपग्रहकाहरू भन्थे ।
––“ए, यी पनि कार्यकर्ता रैछन् !”
अचेल गाउँलेहरू सकि नसकि ढोकोमा बालुवा बोकेर गुजारा टार्थे ।