18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खुट्टा

लघुकथा श्रवणकुमार ढुंगाना March 3, 2023, 2:12 pm
श्रवणकुमार ढुंगाना
श्रवणकुमार ढुंगाना

तपाईंले त चिनेको हुनुपर्ने । वहाँ जस्तोसुकै परिस्थितिमा पनि सत्ताप्रीय रहनमा निकै चर्चित हुनुहुन्छ नि ! वहाँले नै त हो कुनै समय सत्तासभामा ‘दलाल पूँजिबादले गाँज्यो’ भन्ने चिन्ता व्यापक भएको बेला त्यसलाई त्यसको ढाडबाटै भाँचेर, गलहत्याएर बाहिर निकाल्ने समाधान खोज्नु भएको ! तपाईंले सम्झनु भएन? आफू भित्रको दलाललाई गलहत्याएर ढोका बाहिर राख्ने अनि कसैले पूँजि बुझाउन लगाउन ल्याएमा आफूले नलिने, त्यही दलाललाई जिम्मा लगाउने भनेर कति सरल र प्रभावकारी समाधान निकाल्नु भएको थियो वहाँले? कुनैबेला, भूमिको दलालीकरणले देशकै अर्थतन्त्र टाट उल्टने आशंका निर्मूल गर्दै र भूमिपतिहरू मात्र नभई हज्जारौं बेरोजगारहरूको खाइपाई आएको रोजगारी जोगाउन भूमिको दलालीकरणको संरक्षण गर्दै कौशी खेतिबाट देशमा निर्यातमूखि कृषि क्रान्ति ल्याउने नेतृत्व-प्रीय अवधारणाको जनक वहाँ नै हुनुहुन्छ । वहाँ त कार्यक्रमको व्योमीकरण र नतिजाको पातालीकरणका बावजुद प्रत्येक नयाँ जिम्मेवारीमा मानिसमा नयाँ आशा जाग्रित गर्न सक्षम व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । अहिले वहाँ जस्तै श्रृजनशील व्यक्तिको आवश्यकता थियो। त्यसैले वहाँलाई नै अन्धकार निर्मुल गर्ने जिम्मा दिईएयो।
लक्ष्य थियो: यस लोकका सबै मानिसको जीवनको अन्धकार निर्मूल गर्ने जसले अन्धकारको आवरणमा हुने सबै कुकृत्य उदाङ्गो अनि निमिट्यान्न हुनेछ । यस्तो अन्धकार निवारण आयोजना देखाउनकै लागि मात्र भए पनि तत्काल शुरू गर्नुपर्ने थियो । अन्धाधुन्ध अन्धकार निर्मुल गर्न लाग्दा धेरै कुरा उदाङ्गिन सक्थ्यो । वहाँबाट चमत्कारीक उपायको आश थियो । वहाँले पनि चमत्कारिक रूपमा उपाय खोज्नुभयो । मुख्य समस्याको पहिचान यसरी भयो- ‘अन्धकारको प्राथमिक कारक छायाँ हो, त्यसैले पहिले छायाँ निर्मुल गर्ने’ । छायाँ निर्मुल कार्य शुरू भयो । छायाँ पार्नेको ढाड सेकेर । छायाँ पार्नेहरू आतङ्कित भए । भागाभाग भयो । केही समयमै वहाँको समितिबाट कार्य सफलताको प्रारम्भिक प्रतिवेदन पनि आयो- कार्यक्रमले शुरूवाती सफलता देखाएको, छायाँको मुख्य कारक वा अन्धकारको मुख्य जड पैदल यात्री भएको र छायाँ पार्नमा गाडी चढ्नेहरूको कुनै योगदान नभएको विवरण सहित ।
तर, समायान्तर सँगै कार्यक्रम असफल होला जस्तो भयो । किनभने, आतङ्कले मानिस पैदल हिँड्नै छाडे, तर अन्धकार भने विस्तारै बढ्दै गयो र यसरी बढ्दै जाँदा लोकै ढाक्न सक्ने देखियो । वहाँमा ठूलो संकट आईलाग्यो । आजसम्मका सबै सफलताहरू यसैले खाईदेला जस्तो भयो । अन्धकार भित्र पसेर अन्धकार समाएर बस्नेहरूलाई नखोजी अन्धकार मेटाउन सकिन्न भन्ने तथ्यले गाईंगुईं बजार हल्लाको रूपमा बढ्दै गयो । वहाँलाई निकै दवाव परेपछि वहाँ आफैले अमिलो मुख लगाउँदै अन्धकारमा पस्ने हिम्मत गर्नुभयो, तर केहीबेरमै उत्साहित हुँदै बाहिर आउनुभयो र भन्नुभयो- ‘त्यहाँ त कोहि भेटिएन, अन्धकार बनाउने कुनै टाउको देखिएन’ । मानिसहरू दु:खी भए । वास्तवमा अन्धकारको कारक समाउन नसक्नु वहाँको असफलता थियो । एकैछिन खुसी भएपनि आफ्नो असफलताको कुराले वहाँलाई दुखी बनायो । कसैले वहाँलाई भन्यो- ‘तपाईंले हतार गर्नुभयो । हतार हतार माथि-माथि हेरेर फर्कनुभयो । त्यसरी हुन्न । आरामले हेर्नुस् । खुट्टा हेर्नुस्, खुट्टा’।
अनिच्छा र असफलताको डरको द्वन्द्व विच वहाँ बडो भारी मन लिएर फेरि अन्धकार भित्र छिर्नुभयो । नभन्दै वहाँले त्यहाँ अनगिन्ती खुट्टाहरू देख्नुभयो । अनि, ती खुट्टाका मालिकहरू पनि देख्नुभयो । जे नहोस् भनेको त्यहि भयो । अन्धकार पार्ने र जोगाइराख्नेहरूको त्यो भिंडमा सबै भन्दा अगाडि त वहाँलाई अन्धकार हटाउने जिम्मेवारी दिनेहरू नै हुनुहुन्थ्यो । अझ आश्चर्य त के भने त्यहाँ वहाँले आफैंलाई पनि देख्नुभयो ।
वहाँ कैयौं महिना गुमनाम हुनुभयो । वहाँको ख्यातिले विस्तारै कुख्यातिको दुर्गन्ध छोड्न सुरू गर्‍यो । तैपनि, वहाँले हार मान्नु भएको थिएन । वहाँ फेरि उदाउनु भयो । तर, अस्ताउँदो घाम जस्तो मलिन अनुहारका साथ । केही समय वहाँलाई मानिसहरू सामू आफूलाई सम्हाल्न लाग्यो । र केहि समय अनुहारमा दृढ स्वाभिमानको लेपन गर्न । अनि, वहाँले स्पष्टिकरण दिनुभयो: ‘कसैको खुट्टा देखिँदैमा त्यहाँ हात पनि वहाँकै छ भन्न सकिँदैन । त्यसैले हाम्रो खोज हात नभेटिँदासम्म निरन्तर, अथक, जारी रहन्छ’। वक्तव्य सकिँदासम्म उहाँमा पुरानो उर्जा पुनर्जाग्रित भैसकेको थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।