19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मक्किएको बेथिति

कविता झलक रेग्मी बबुरो March 3, 2023, 6:21 am

समाजको अमन र चैन बिग्रिँदा
भावनात्मक संरचना कमजोर हँुदा
सौहार्दपन फितलो र
मानवीय संवेदना धुमिल हुँदा
समाज अग्रगामी आधुनिक भयो ?
हरेक आस्था, मूल्य मान्यता र मर्यादा
रीतिस्थिति,चालचलन र संस्कृति
नेपाली स्वाभिमान
स्वार्थमा लिलाम हुँदा के समाज सभ्य भयो ?

यहाँ
बेथिति र अपराध बढ्यो
सुरक्षाको प्रत्याभूति घट्यो
दण्डहीनता बढ्यो,
गैरजिम्मेवारीपन बढ्यो
भ्रष्टाचार बढ्यो,महङ्गी आकासियो
अनि आर्थिक संकट निम्ताइएकोछ !
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।
कुल देवता मूल देवता हुन सकेनन्
मन्दिर बाँडियो मस्जिद बाँडियो
गुम्बा पाटी पौवा बाँडियो
धर्म, कर्म र मर्म बाँडियो
बाहिर बाँडियो भित्रै बाँडियो
देखाएर बाँडियो लुकाएर बाँडियो
टोल बाँडियो, छिमेक बाँडियो
जन्ती बाँडियो मलामी बाँडियो
सारा समाज भाँडियो
जनता बाँडियो, जातजाति र मतदाता बाँडियो
जोड्ने भन्दा तोड्ने खेल बढी भो
नेताको सुर बाँडियो ताल बाँडियो
सुन्दर शान्त विशाल नेपाल भाँडियो ।
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।

ढाटेर काटेर
टुटाएर फुटाएर
युवाशक्तिलाई जिउँदो लाश बनाएर बाँडियो
आफ्ना अभीष्ट थोपरेर बाँडियो
स्वाधीनताको सस्तोमा बाँडियो
विगत र वर्तमानको हामी बाँडियो
हुँदाहुँदा फेरी पनि लाश र मलामी बाँडियो।
यो लाश त्यो पार्टीको, अनि त्यो अर्कै पार्टीको
झण्डा ओडाउ चिता जलाऊ
यो मुन्छे हाम्रो पार्टीको ।
स्वार्थी राजनीतिको पराकाष्ठा हेरौँ
लाश माथि राजनीति चढाइयो
छोड लाशमाथिको राजनीति
लाशलाई त आरामले जल्न देऊ चितामा !
फलानो पार्टी प्रा. लि. जिन्दावाद !
ढिस्कानो पार्टी प्रा. लि. जिन्दावाद !!
खोई समाजवाद ?
खोई जनवाद ?
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।

एउटा सामान्य गरिब घाँसीले
समाजका लागि कुवा खनाएको देशमा
सर्वशक्तिसम्पन्न नेताहरुले
महासागर नै खनाउलान्
जहाजै ल्याउलान्
रोजगारीका नाममा
थप युवा विदेश पठाउलान्
भो छोडिदेऊ यी बेतालका कुरा
आखिर पानीमा थोरै दुध मिसाएजस्तो
उन्नत भ्रष्टाचारमा विकास मिसाइयो
गाली गलौज रअशिष्टताको राजनीतिमा
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।

हाम्रो स्वाभिमान र क्षमता
कहिलेसम्म मागेरै खानेमा खर्चिने ?
फगत छिमेकी मुलुकहरुको विरोध गर्दैमा
कोही राष्ट्रवादी देशप्रेमी हँुदैन ।
चपाउने एक चिज, देखाउने अर्कै चिज
राम्रो÷नराम्रो हिसाब होला जनादेशभित्र
र बाहिरबाट निसाफ होला..!

पोलिटिकल स्टन्टमा मात्रै सीमित
हाम्रो पराधीन र अतिक्रमित भूभाग फर्कन्छ ?
सिमाना सच्चिन्छ ?
राज्यस्तरबाट पैरवी गरिएको छ... ?
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।

एउटा साधारण आमसभामा ,
एक असाधारण नेता कुर्लन्छन् “हुक्काको धुवाँले पानी पार्दैन,....”
कसैले जवाफ फर्काउँछ, त्यो तपाईँहरुको “मपाई” ले बुझे राम्रो !
जसले
जनताको समस्या, मर्म र दुखलाई छुन्छ ?
हर कोही “मदनभण्डारी” हुन्छ ?
हरेक सान्दाइ “बिपी” हुँदैनन् !
हरेक व्यक्ति “पुष्पलाल” हुँदैनन् ।
संघीयता गणतन्त्र र धर्मनिरपेक्षता केका लागि थिए ?
सबै मौन छन्, किनकि जवाफ छैन तिनीहरुसँग ।

स्वाभिमानलाई धरौटी राखीपरचक्रीको बन्दी बनेर
पराधीनतालाई स्वाधीनता भन्दै
मदाडीको बाँदर बनेर
डुक्रने हे काकाकुलहरु
लगौटी फालेर कुन राष्ट्रियताको कुरा गर्दै छौँ ?
पिस्सिइएको मिस्सिइएको होस् या जटासहितको
फेरी पनि नरिवल अलपत्र पर्ने छैन, सबैलाई बराबरी पुगोस् .....!
जय जनता ! जय स्वाभिमान, जय नेपाल भूमि ।

बुटवल, रुपन्देही

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।