19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घनश्याम सरलाई सम्झँदा

संस्मरण/स्‍मृति नारायण मरासिनी March 3, 2023, 2:25 pm
नारायण मरासिनी
नारायण मरासिनी

घनश्याम ढकालसँग सहकार्य र सहयात्राका लगभग दुई दशक छन् मसँग । आरम्भमा म दुर्घटना भएपछिका केही घन्टालाई सम्झने प्रयत्नमा छु– आफ्नै काममा व्यस्त थिएँ त्यस दिन, मित्र कृष्णराज अधिकारीको फोनले दिमाग झन्झनायो । राजेन्द्रलाई फोन गरे उहाँको मोबाइलबाट सडकमा गाडी गुडेको घ्यारघ्यार आवाजका साथमा मोटरको हर्न बजेको पनि सुनियो । उहाँले पनि घटना सत्य भएको सङ्केत गर्दै कृष्ण सरसँगै बुझ्न अनुरोध गर्नुभयो । मैले मोबाइल अफ गरेँ अनि काम छोडेर दौडँदै पोखराकै अमरसिंह चौरमा पुगे जहाँ सत्रौं जनयुद्ध दिवस मनाउने क्रममा प्रधानमन्त्रीलगायतको आगमन थियो । कास्कीका माओवादी बुद्धिजीवी तथा नेताहरू झलकपाणी तिवारी, विश्वप्रकाश लामिछाने, कमल ढकाल, वासुदेव बराल, कृष्णराज अधिकारीलगायतका साथीहरू चौरको एका छेउमा छुट्टै बस्यौँ । शोकाकुल भएर त्यहाँ बस्दै गरेको अवस्थामा दोस्रो युद्धविरामका बेला घनश्याम ढकालले त्यही अमरसिंह चोकको चौरस्थित चौताराबाट गर्नुभएको भाषणका केही अंश सम्झेँ । उक्त भाषण २०५८ सालतिरको हो, त्यतिबेला घनश्याम सर प्रगतिशील लेखक सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।
कृष्ण सर र म अब शवयात्रामा काठमाडौं कसरी जाने भनेर छलफल गर्दागर्दै झलकपाणी तिवारी र विश्वप्रकाश लामिछाने लगायतका केही मित्रहरू अघि नै दौडिहाल्नुभएछ । भीम रानाभाट, कृष्ण सर र म चाहिँ रात्री बस चढ्यौं काठमाडौंका लागि । अरु केही साथीहरू कमल ढकाल, परशुराम कोइरालालगायतले भोलिपल्ट बिहान सबेरै गाडी चढ्ने कुरा बताउनुभयो ।
बिहान शिक्षण अस्पतालको परिसरमा पुग्दा पर्खालको फलामे बारमा आड लगाएर संगीत स्रोता रोइरहनुभएको थियो । मैले त्यस दुःखद अवस्थामा संगीतसँग हात मिलाउन पनि सकिन । राजेन्द्र र संगीत घनश्याम सरको घरमा नातासम्बन्ध कायम हुनुभन्दा पहिलेदेखिका मेरा कवि साथीहरू । अस्पतालबाट शव निकाल्ने क्रममा नारायण पनेरु, अमर तमु, राजकाजी गुरुङ ‘करण’ लगायत हामी पोखरेलीहरू थियौँ । अस्पतालबाट शव लिएर पेरिसडाँडामा पुग्दा वर्षमान पुनको कार्यकक्षमा घनश्याम सरका छोरीहरू वन्दना र सिर्जना रोइरहेका थिए । हिजोदेखि नै आँसुले भरिएका भाउजू र आमाका आँखा ओभाएका थिएनन् । उपसभामुखले आमालाई सम्हालिरहनुभएको थियो । त्यस ठाउँमा जो जति थिए, सबै रोइरहेका थिए । सिङ्गो कोठा रोइरहेको थियो । बाहिर मानिसहरूको जमघट ठूलो थियो । परिवेश सम्पूर्ण रोएको थियो । ढोकामा पुगेर पनि मैले आमालाई आमा भनेर बोलाउन सकिन । न त पहिलेदेखि नै प्रयोग गर्दै आएको ‘म्याडम’ शब्दले सम्बोधन गर्न सकें । यस दुःखद् घडीमा आमाको कमलो मनलाई मेरो बोलीले झन् बढी रुवाउँछ जस्तो लाग्यो । म ढोकाबाट भित्र नपसी फर्कें । बाहिरै प्राङ्गणमा आएर उभिएँ । जब पार्टी अध्यक्ष र उपाध्यक्षले सम्झाउन थाल्नुभयो, आमा झन बढी रुनुभयो । धैर्यधारण गर्न सक्ने क्षमता जति घनश्याम सरमा थियो त्यति नै मात्रामा मैले मेरा मित्र राजेन्द्रमा पाएँ । मुटुमा जति नै भक्कानो छुटे पनि उहाँले धैर्य गुमाउनुभएन । राजेन्द्रले बुबाको आदर्शलाई पच्छ्याएको मैले स्पष्टसँग देखेको थिएँ पेरिसडाँडाको त्यस कार्यालय परिसरमा । प्रधानमन्त्रीले सम्झाउँदा बहिनी वन्दनाले रुँदैरुँदै बोलेको आवाज मेरो कानमा अझै पनि गुन्जिरहेको छ, “मेरो त दाइ पनि छैन, बा पनि हुनुहुन्न ।” यो आवाज कानमा पर्दा कसको आँखा रसाएका थिएनन् र ! जब पार्टी अध्यक्षबाट शोक वक्तव्य पढ्ने र शवलाई झण्डा ओढाउने काम भयो त्यसपछि श्रद्धाका फूल चढाउने क्रममा आमा धरधरी रुनुभयो । साथीहरूले सम्हालेर फर्काउनुभयो । सिर्जना पनि फूल चढाउँदै रोइन् । हामी पङ्क्तिबद्ध थियौं श्रद्धाका फूलहरू समर्पणका निम्ति । मेरा अगाडि कृष्ण सर हुनुहुन्थ्यो । जब बन्दना भक्कानिँदै फूल चढाएर रुन थालिन्, संगीतले सम्हाल्न खोज्दा पनि बन्दनाको रुवाइ थामिएन । बन्दनाकी साथी मानुषी यमी भट्टराई, गुरुआमा सुधा त्रिपाठी र गुरु रमेशप्रसाद भट्टराईलगायतले सम्झाउने गरेका प्रयासहरू पनि व्यर्थ भएका थिए । बन्दना, जब तिमीले बुबाको शवलाई अँगालेर उहाँकै छातीमा टाउको राखेर रुन थाल्यौ धेरैले तिमीलाई त्यहाँबाट तानिरहेका थिए । “छोड्नुस् मलाई, मेरो बालाई म छोड्न सक्दिन । मैले बालाई छोड्दिन ।” बन्दनाले यसो भन्दै गर्दा मैले पनि मन थाम्न सकिन । मेरै अगाडि उभिनुभएको कृष्ण सरका आँखामा पनि जब आँसु भरिएको देखेँ तब मेरा पनि आँखाबाट आँसु झरे । हामी रुँदैरुँदै आर्यघाट पुग्यौं । त्यहाँ चितवनबाट पोषराज पौडेल, हरिहर सविता लगायतका स्रष्टाहरू पनि आइपुग्नुभयो । आर्यघाटको पीडालाई अहिले म शब्दमा समेट्न सक्ने अवस्थामा छैन ।
बेलुका घनश्याम सरको परिवारलाई लिएर पोखरा फर्कने क्रममा बन्दनाको काखमा रहेको सानो छोराप्रतिको माया मुटुभरि उर्लिएर आयो । त्यो अबोध शिशु जो एक वर्षको पनि भएको छैन, हिजैदेखि उसले राम्रो स्याहारसुसार पनि पाउन सकेन । आज साँझपखको चिसोमा त्रिशुलीको किनारैकिनार दौडन बाध्य छ । नदीबाट आएको चिसो हावाले बच्चालाई बिरामी बनाउँछ कि भन्ने चिन्ताले म भित्रभित्रै सताइएको छु । नदी किनारको सानो बजारमा पानी पिउनका लागि केही समय रोकिँदा आफू चढेको गाडीबाट ओर्लेर मैले बन्दना बसेको गाडीको झ्यालबाट त्यही अबोध शिशुलाई हेरें, जति मात्रामा शिशुप्रतिको मायाको भाव मेरो मनमा उर्लियो त्यसको तुलनामा छेवैमा बगिरहेको नदीको सुसाइलार्ई मैले निकै कम अनुभव गरेँ । गाडीभित्र बसेका हामी एकापसमा बोल्न पनि सकिरहेका थिएनौँ । मन भरिभरि, मनमै नअटाउने गरी विगतका यादहरू सलबलाइरहेका थिए । बन्दनाको अबोध छोराको अवस्था सम्झँदा मलाई लाग्यो, वास्तवमा हामीले यस्तै शिशुहरूलाई संस्कार दिएर नै त बस्ती बदल्न सक्छौं, समाज र संस्कार बदल्न सक्छौं, संसार बदल्न सक्छौं । शिशुहरू हाम्रा आधार हुन्, शिशुहरू हाम्रा भविष्य हुन्, म आधार बलियो बनाउन चाहन्छु, भविष्य सुन्दर बनाउन चाहन्छु । रात छिप्पिरहेको समयमा हाम्रा दुईटा ससाना जीप पोखराका लागि निरन्तर गुडिरहेका थिए । मनमा विगतले हुन्डरी मच्चाइरहेको थियो । यद्यपि मैले घनश्याम सरसँग २०४७ सालदेखि २०६८ सालसम्म जम्मा दुई दशकजतिको सहयात्रा गरेको हुँ ।
कसैको दयाको पात्र बन्नुभन्दा बरु भोको पेटमै बाँच्नु राम्रो हुन्छ भन्ने कुरा मलाई घनश्याम सरसँगको सहकार्य र सहयात्राले सिकाएको हो । माग्ने, हात थाप्ने र चाकरी गर्नेहरूका कारण नै मानवीय अस्मिता गिर्दै गएको हो, समाज बिग्रेको हो, देश बिग्रेको हो, यस वास्तविकतालाई पनि मैले उहाँकै सङ्गतबाट बुझेको हुँ । मैले घनश्याम जस्ता मान्छेहरू जीवनमा निकै कम मात्रामा भेटेको छु जसलाई कहिल्यै बिर्सन सकिँदो रहेनछ, सम्झना झनझन गहिरिँदो रहेछ । यस्ता असल मान्छेहरू भावी जीवनका लागि मार्गदर्शक एवं प्रेरणाका स्रोत बन्दा रहेछन् । जसले जीवनलाई सङ्घर्ष र सङ्घर्षलाई आफ्नो कर्तव्यका रूपमा बुझ्ने गर्छ त्यस मान्छेले कर्ममा विश्वास गर्छ । कुरा थोरै र काम धेरै गर्नेहरू नै समाजमा पथप्रदर्शक बन्न सक्छन् । हाम्रो समाजमा कतिपय मानिसहरू भावी पुस्ताका लागि भनेर आवश्यकताभन्दा बढी सम्पत्तिको जोहो गरिदिने खालका छन् भने कतिपय चाहिँ साँझबिहान हातमुख जोर्न र बिरामी पर्दा उपचार समेत नपाउने अवस्थामा छन् । यस यथार्थलाई बुझेर चिन्तन र विश्लेषण गर्नेहरू अनि विचारअनुसारको जीवन बाँच्नेहरू समाजमा निकै कम मात्रामा छन् । सामन्ती संस्कार र निरंकुश व्यवस्थाको विरोध गर्नेहरू नै पछि गएर नव सामन्तवादी र निरंकुश बन्ने परिपाटी आज विकसित हुँदै गरेको अवस्थामा त्यसका विरुद्ध पनि आवाज उठाउनेहरू हाम्रो समाजमा निकै कम मात्रामा भेटिन्छन् । भनाइ र गराइमा तालमेल गर्न नसक्ने मानिसलाई वैचारिक रूपमा सक्षम तथा सफल भएको मानिँदैन । समस्यासँग जुध्नका लागि अगाडि बढ्ने मानिसहरू यहाँ निकै कम छन् । वैचारिक सङ्घर्षलाई निरन्तरता दिने क्रममा सिङ्गो जिन्दगानीकै लगानी गर्नेहरू यस समाजमा असाध्यै न्यून छन् । हामीले आस्थाको धरोहर मानेका कतिपय पात्रहरू पनि जीवनको उत्तरार्धमा आएर चिप्लिएका उदाहरणहरू हाम्रा सामु प्रशस्त छन् । यसै सन्दर्भमा गन्तव्यलाई पछ्याउँदै एक सुरले अगाडि बढेका र बढ्ने क्रममा आफ्नो शरीर र मस्तिष्क दुवैलाई क्षतविक्षत पार्न खोजे पनि विचलित नभई निरन्तर खटिएका स्रष्टा एवं द्रष्टा हुनुहुन्थ्यो घनश्याम ढकाल ।
आफ्नो इतिहास व्यक्ति स्वयम्ले निर्माण गर्ने हो । अर्काले निर्माण गरिदिएको इतिहास पछि आउने कुनै दिनमा गल्र्यामगुर्लुम ढल्न पनि सक्छ । अरुले निर्माण गरिदिएको इतिहास यथार्थभन्दा पर पनि पुग्न सक्छ । समयलाई पक्रेर गतिशील हुँदाको मापदण्डमा इतिहास विस्तारित हुन्छ । व्यक्तित्व निर्माण गर्ने काम चटकेले चटक देखाएजस्तै एकै चुट्कीमा सम्भव छैन जसका लागि सिङ्गो जिन्दगानी नै लगानी गर्नुपर्ने हुन्छ । आज म सङ्घर्षको मैदान छेउकै सियाँलमा केही समय बसेर हेरिरहेको छु– जीवनका २–४ वसन्तहरू मात्रै सङ्घर्षमा लगानी गरी अहिले कतिपय मानिसहरू तिनै २–४ वसन्तको ब्याज खानका लागि एकआपसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् । पदका लागि तँछाडमछाड गर्दै र्याल चुहाउनु भनेको जीवनमा सङ्घर्षबाट पलायन हुनु हो । इतिहासको यस घडीमा पदका लागि मरिहत्ते गर्ने र सङ्घर्षबाट पलायन हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यस्तो सङ्ख्यामा नपरेको हुनाले नै घनश्याम ढकाल हाम्रा लागि स्मरणीय बन्नुभएको हो ।
व्यवस्था नयाँ भएर पनि केही हुँदोरहेनछ जब राता भनिएका मान्छेहरू पनि पुरानै संस्कारअनुसार चल्छन् भने । सबैभन्दा महत्वपूर्ण कुरो मान्छेले नयाँ संस्कारलाई धारण गर्न सक्नुपर्ने रहेछ । सिद्धान्तले त निर्देश गर्ने मात्र हो । संस्कार बदल्ने भनेको त व्यक्ति स्वयम्ले नै हो, सङ्गठनको बलले नै हो । व्यक्ति जबसम्म इमान्दार बन्न सक्दैन तबसम्म संरचना पुरानै रूपमा चलिरहन्छ, नयाँ सिर्जना हुन सक्दैन । दिमागमा व्यक्तिगत स्वार्थको भूत चढेकाहरूले समाजवादलाई अङ्गीकार गर्न सक्दैनन् । हाम्रो विडम्बना यही भइरहेको छ कि आज अधिकांश व्यक्ति स्वयंलाई केन्द्रमा राखेर अगाडि बढिरहेका छन् । हिजोका कतिपय श्रद्धेयहरू आज यही अवस्थामा गुज्रिरहेका छन् । यी र यस्ता किसिमका अन्य विडम्बनाहरूमा पनि घनश्याम ढकाल मुछिनुभएको थिएन । उहाँले कहिल्यै पनि लाभको पदका लागि मरिहत्ते गर्नुभएन । यो नै उहाँलाई विशिष्ट तुल्याउने बलियो आधार हो ।
घनश्याम सरसँग सँगै रहँदाबस्दाका र सहकार्य गर्दाका स्मरणयोग्य घटनाहरू थुप्रै छन् । कुरा त्यस्तै २०४७–०४८ सालतिरको हो, त्यस समयमा गोविन्दप्रसाद शर्मा (सुकुम) र म महेन्द्रपुलस्थित एउटै घरमा वल्लो कोठा र पल्लो कोठा डेरा लिएर बसेका थियौं । सुकुमसँगको भेटपछि पोखरामा हुने साहित्यिक कार्यक्रम तथा गतिविधिहरूमा मैले पनि उनीसँगै सहभागिता जनाउने अवसर पाएको थिएँ । पोखराका अग्रज स्रष्टाहरूका घरमा पनि मलाई उनले नै पुर्याएका थिए । कुलप्रसाद खनाल, रविलाल अधिकारी, सरुभक्त, हरिदेवी कोइराला लगायतका घरमा मलाई सर्वप्रथम पुर्याउने काम सुकुमले गरेका थिए र यही क्रममा त्यही समयमै सुकुमले मलाई सिमलचौरस्थित घनश्यम ढकाल सरको घरमा पनि पुर्याएका थिए ।
त्यस समयमा पोखरामा एउटा प्रगतिशील प्रकृतिको साहित्यिक संस्थाको स्थापना गर्ने बारेमा छलफल हुँदै गरेको कुरा सुकुमले मलाई सुनाएका थिए । कुलप्रसाद खनाल, रविलाल अधिकारी, घनश्याम ढकाल, नुमराज बराल, सुकुम, भीम रानाभाट आदि साहित्यिक–शुभेच्छुकहरू मिलेर त्यस किसिमको संस्था स्थापना गर्ने बारेमा निकै चर्चापरिचर्चा तथा छलफलहरू गर्ने गर्थे । यसैको परिणामस्वरूप पोखरामा ‘गण्डकी साहित्य सङ्गम’को स्थापना भएको थियो । म उहाँहरूकै पछिपछि लागेको थिएँ । पछि क्रमशः पोखरेली साहित्यिक गतिविधिहरूमा नजिकिने क्रममा मैले घनश्याम सरलाई विभिन्न साहित्यिक कार्यक्रमहरूमा वक्ताका रूपमा भेट्ने गर्न थालेँ । उहाँले विभिन्न कविता गोष्ठीहरूमा वाचित कवितामाथि टिप्पणी गरेको पनि मैले सुन्न थालेँ । २०५० कै प्रारम्भतिर हो सायद् ‘युवा साहित्य सदन’, पोखराले गैह्रापाटनस्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा राखेको एउटा बृहत् कविगोष्ठीमा ढकाल सरले साहित्यिक मन्तव्य व्यक्त गर्नुभएको थियो । मैले सर्वप्रथम उहाँको साहित्यिक प्रवचन सुनेको सायद् त्यही नै थियो क्यार ! त्यहाँ उहाँले माओका शब्दहरू सापटी लिएर बोलेको ‘सत्ता बन्दुकको नालबाट निस्कन्छ’ भन्ने वाक्य हालसम्म पनि मेरो कानमा गुन्जिरहेको छ । पारिजातको निधनपछि राजेन्द्रराज तिमिल्सिना (हालः नेपाल टेलिभिजनको समाचारवाचक)हरूले स्थापना गरेको ‘हिमशिखर साहित्यिक परिवार,’ पोखराले २०५१ सालको वैशाखमा एक कविगोष्ठी राखेको थियो । उक्त कार्यक्रममा वाचन गरिएका कवितामाथि घनश्याम सरले गर्नुभएको टिप्पणी सङ्क्षिप्त भए पनि मेरो साहित्यिक यात्राका लागि निकै ओजिलो खुराँक बनेको थियो ।
२०५१ साल भाद्र १७ गतेका दिन पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले खुल्ला मुक्तक प्रतियोगिता कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा मैले वाचन गरेका मुक्तकहरूलाई निर्णायकहरूबाट सर्वोत्कृष्ट घोषण गरिएको थियो । कार्यक्रम समापन भएपछि चिया पिउने क्रममा घनश्याम सरले मैले वाचन गरेका तीन मुक्तकमध्ये एउटा ‘विकास’ शीर्षकमा संरचित मुक्तकको संरचना कमजोर रहेको भन्दै केही सुझाव दिनुभएको थियो । यसरी मेरो लेखनमा सल्लाहासुझाव दिने व्यक्तिहरूमा घनश्याम ढकाल मेरा लागि श्रद्धेय गुरु बन्नुभएको थियो । त्यस्तै अर्को एउटा प्रसङ्ग त्यही समयतिरको हो, घनश्याम ढकाल, कुलप्रसाद खनाल, रविलाल अधिकारीलगायत केही प्राध्यापकहरू पृथ्वीनारायण क्याम्पसको मूल गेटअगाडि एउटा चिया पसलमा गफ गर्दै गरेका बेला मैले ‘राष्ट्र रोएको बेला’ शीर्षकको शार्दूलविक्रीडित छन्दमा संरचित आफ्नो एउटा कविता देखाएँ । घनश्याम सरले उक्त कवितामा लय हाल्दै दुई ठाउँमा छन्द भङ्ग भएकातर्फ सङ्केत गर्नुभयो । मैले नेपाली विषय लिएर क्याम्पस पढेको थिएँ । शास्त्रीय छन्दमा फाट्टफुट्ट केही कविता बनाउन थालिसकेको थिएँ । घनश्याम सरले तथ्याङ्क शास्त्रमा उच्च शिक्षा हासिल गरेर क्याम्पस पढाउन थाल्नुभएको हो भन्ने कुराको जानकारी मलाई पहिल्यैबाट थियो । एउटा तथ्याङ्क शास्त्रको प्राध्यापकले मलाई शास्त्रीय छन्दका बारेमा केही कुरा बताइदिँदा म अचम्ममा परेको थिएँ । यसरी घनश्याम ढकाल मेरो साहित्यिक यात्राका क्रममा क्रमशः प्रेरणाको स्रोत बन्दै जानुभयो । मैले उहाँका सुझावहरूलाई सहर्ष स्वीकार गर्दै जान थालेँ ।
२०५१ साल जेठ ८ गतेका दिन जनकवि गोकुल जयन्तीका अवसरमा ‘गण्डकी साहित्य सङ्गम’, पोखराले प्रतियोगितात्मक कविता वाचनको कार्यक्रम राखेको थियो । उक्त प्रतियोगितामा सहभागी हुन चाहनेहरूले कविता बुझाउनका लागि सम्पर्क स्थान भनेर विभिन्न स्थानमध्ये घनश्याम ढकाल सरको घरलाई पनि तोकेको थियो । आफ्नो कविताको पाण्डुलिपि पुर्याउनका लागि निश्चित समय सीमाभित्रै म उहाँको घरमा पुगेको थिएँ । उहाँले मलाई कविता लेखेर मात्रै हुँदैन, बढीभन्दा बढी साहित्यिक कृतिहरूको पनि अध्ययन गर्नुपर्छ भन्ने सल्लाहा दिनुभएको थियो । पछि उक्त प्रतियोगितामा स्याङ्जाका चिन्तु गिरीको कवितालाई प्रथम, मेरो कवितालाई द्वितीय र तनहुँका खिमानन्द गिरीको कवितालाई तृतीय घोषणा गरिएको थियो । कार्यक्रमको सञ्चालन घनश्याम सरले गर्नुभएको थियो । उहाँ ‘गण्डकी साहित्य सङ्गम’को संस्थापक सचिव हुनुहुन्थ्यो । उहाँको कार्यक्रम चलाउने क्षमताबाट म निकै प्रभावित भएको थिएँ । थोरै बोल्ने तर वर्गीय पक्षधरतालाई नछोडी बोल्ने र सोहीअनुरूप कार्यक्रम सञ्चालन गर्ने उहाँको खुबी मेरा लागि क्रमशः प्रेरणाको स्रोत बन्दै गयो । यसैगरी २०५४ सालमा तत्कालीन ‘सूर्यचन्द्र युवा क्लब’ पोखराले आयोजना गरेको बृहत प्रतियोगितात्मक कवि सम्मेलनमा पनि मैले सहभागिता जनाएको थिएँ । उक्त प्रतियोगितामा ‘कुर्सी पियारा भयौं’ शीर्षकको मेरो कवितालाई प्रथम स्थान दिइएको थियो । त्यतिबेला निर्णायकका रूपमा रविलाल अधिकारी, तीर्थ श्रेष्ठ र घनश्याम ढकाल हुनुहुन्थ्यो । त्यस समयमा घनश्याम सरले वाचित कविताहरूको आशयका साथै समकालीन कविता प्रवृत्तिमाथि गरेको टिप्पणी मेरो लेखन यात्राका लागि ऊर्जा बनेको थियो ।
२०५५ साल फागुन २९ गते बी.पी. पुस्तकालय, सिमलचौर पोखराले कास्की जिल्लाअन्तर्गत माध्यमिक तहमा अध्ययनरत छात्रछात्राहरूका लागि जिल्लाव्यापी वक्तृत्वकलाको आयोजना गरेको थियो जसमा घनश्याम सर र म निर्णायकका रूपमा थियौँ । पुस्तकालय परिसरमा शिवजीको मन्दिर थियो । कार्यक्रमको समाप्तिपश्चात् मन्दिरको ढोकैमा राखिएको बसाहालाई सङ्केत गर्दै उहाँले भन्नुभएको थियो कि– “महादेवले किन गोरु चढे होलान् ? घोडा चढेको भए पनि त हुन्थ्यो नि !” यसो भन्दै गर्दा उहाँको ओठबाट ठुलो हाँसो छुटेको थियो र मैले पनि आफ्नो भित्रैबाट आएको हाँसोलाई थाम्न सकिन । हामी दुबै हाँस्यौं । धित मरुन्जेलसम्म हाँस्यौं । घनश्याम सरसँग सहकार्य गर्दाखेरिको सबैभन्दा ठूलो हाँसो मसँगको सायद् त्यही थियो । उहाँसँग सँगै मिलेर हाँसेको त्यो दिन अब मैले कहिले दोहोर्याउन पाउँछु र ! त्यो हाँसो मेरो मानसपटलमा अझै पनि जीवित छ, उस्तै रूपमा जीवित छ । सरको त्यस हाँसोले मलाई अरु बढी नास्तिक बनाउन सहयोग पु¥याएको थियो । सहकार्य र सहयात्राका क्रममा हामी हाँस्न त धेरैपटक हाँस्यौं होला तर सबै हाँसो र सबै आँसुलाई अक्षरमा समेट्नका सकिँदो रहेछ र !
आँसुको कुरो गर्दा २०६१ साल पौष २९ गतेका दिन घनश्याम सरको छोरा विजय ढकालको हत्या हुनुभन्दा ठिक एक हप्ता अगाडि २२ गतेका दिन मेरो आफ्नै दाजुको मस्तिष्कघातका कारण सैँतिस वर्षकै उमेरमा असामयिक निधन भएको थियो । जसले मलाई स्याङ्जाको दुर्गम गाउँबाट पोखरा ल्याएर क्याम्पस पढाउनुभएको थियो । दाजुको निधनपश्चात् भोलिपल्टै पोखरामा बाबुसँगै स्कुल पढ्न बसेका दुई कलिला छोराछोरी बोकेर म पोखराबाट स्याङ्जाको आफ्नै गाउँमा पुगेको थिएँ जहाँ उमेरले साठी पार गरिसकेका मेरा आमाबुबा अनि भाउजू हुनुहुन्थ्यो । गाउँमा रहने क्रममा नै मैले रेडियो नेपालको माध्यमबाट विजयको मृत्युको खबर सुन्नु पर्यो । झलक्क मैले पारु ढकाललाई सम्झेँ जो विजयकी आमा हुनुहुन्थ्यो । निकै दुःख गरेर हुर्काएको पहिलो सन्तान, भविष्यको आशाको केन्द्र थियो, उही मारिँदा उहाँको मन कसरी सम्हालिएला र ! घनश्याम सरको चित्र पनि मेरो मानसपटलमा बारम्बार आइरह्यो । म आफै पनि पीडामा थिएँ । माघको दोस्रो सातातिर पोखरा आएपछि म सरको घरमा पुगेँ । पारु म्याडम असाध्यै रुनुभयो । मैले पनि सकी नसकी आफ्नो व्यथा बताएँ । “तपाईंको दाजु त बरु आफ्नै काल गतिले मर्न पाउनुभयो, मेरा छोरालाई त हत्याराहरूले... ... ।” भन्दै पारु म्याडम रुँदा मेरो पनि आँखामा आँसु भरिएर आयो । पुलुक्क घनश्याम सरलाई हेरँ,े निकै बल गरेर आँसु रोक्नुभएको थियो तर परेलाहरू भिजेका प्रष्टै देखिन्थे । मैले उहाँ अरुका सामु रोएको कहिल्यै देखेको थिइन ।
एकपटक विजय ढकालको स्मृति दिवस मनाउने क्रममा हामी विजयकै हत्या भएको ठाउँ पोखराको दक्षिणी भेग निर्मलपोखरीको साम्मी मैदानमा पुगेका थियौँ । सरले पुत्रवियोगमा रचना गर्नुभएको गीतिकाव्य ‘भावनाका छालहरू’ बाट एउटा गीतिकविता सुनाउनुभएको थियो । लयसहित उक्त कविता सुनाउने क्रममा उहाँका दुबै आँखाबाट बरर आँसु झरेका थिए । सकिनसकी उहाँले वाचन पूरा गर्नुभएको थियो । वाचनका क्रममा सरका आँखाबाट आँसु झर्दा हामी श्रोताहरूका आँखा पनि रसाएका थिए । पारु म्याडमका अनुसार ‘भावनाका छालहरू’ सरले रुँदैरुँदै आँसुका अक्षरले लेख्नुभएको थियो । “मैले लेखेका गीतहरू कसले गाइदिन्छ र ?” भन्दै आँसुका ढिक्कासहित लेख्दै गरेका गीतहरू लय मिलाउँदै पारु म्याडमलाई सुनाउनुभएको थियो । यसरी मैले घनश्याम सरसँग सँगै रुने अवसर पनि पाएको थिएँ । जीवन भनेकै आखिर हाँसो र आँसुको मिश्रण त रहेछ नि ! हाँसो मात्रै हुँदैमा कहाँ जीवन खुल्छ र ! आँसु मात्रै हुँदैमा पनि कहाँ जीवन फुल्छ र ! यिनै हाँसो र आँसुले नै त जीवनलाई गति दिँदा रहेछन्, मानिसलाई कर्तव्यको बोध गराउँदै अगाडि बढाउँदा रहेछन् । यो घनश्याम सरको सङ्गतबाट मैले सिकेको पाठ हो ।
२०५६ साल फागुन ७ गतेका दिन प्रलेसको सदस्यता नवीकरणका लागि म घनश्याम सरको घरमा पुगेको थिएँ । उक्त दिन मैले आफूले सिर्जना गरेको ‘साने’ खण्डकाव्य उपहारस्वरूप दिएको थिएँ । सरले मलाई आफूले लेखेका दुईवटा किताब ‘गाउँभित्र’ उपन्यास र ‘दरिद्रताबाट मुक्ति’ निबन्धसङ्ग्रह दिनुभयो । मैले उहाँका किताबका मूल्य हेरेर पैसा दिन चाहेँ । उहाँले पैसा लिन मान्नुभएन र भन्नुभयो “तपाईंले आफ्नो किताब मलाई दिनुभयो, मैले पनि मेरा किताब तपाईंलाई दिएँ, यो त हामीले साटासाट गरेको भइहाल्यो नि !” आधिकारिक रूपमा सदस्यता दिएर साहित्यिक संघसंस्थाहरूमा भित्र्याउँदै व्यक्तिलाई व्यक्तिगत रूपमा नभई संस्थागत रूपमा अगाडि बढ्नुपर्छ भन्ने सोचको विकास मभित्र गराउनमा केही योगदान घनश्याम सरको पनि छ ।
प्रलेसको पाँचौं सम्मेलन २०५६ सालमा काठमाडौंमा सम्पन्न हुँदै थियो । कास्की शाखाबाट रविलाल अधिकारी, कुलबहादुर केसी र म सहभागिताका लागि प्रतिनिधिका रूपमा चयन भएका थियौं । घनश्याम सर पहिले नै काठमाडौंतिर लाग्नुभएको थियो । रविलाल सर र म काठमाडौंका लागि रात्री बस चढेर गएका थियौं । सुन्धारास्थित सम्झौता लजमा पहिलेदेखि एउटा कोठा बुकिङ गरेर घनश्याम सर बस्नुभएको रहेछ । रविलाल सर र म पनि त्यहीँ अर्को कोठा बुकिङ गर्न पुग्यौं । दिउँसो कार्यक्रमस्थलमा व्यस्त भए पनि बेलुका खाना खाइवरी केही समय हामी तीनैजना गफगाफमा जुट्यौं । कुराकानी प्रगतिवादी लेखन, वैचारिक समस्या तथा विचलन आदिमा केन्द्रित थियो । बहसले चर्को रूप लिँदै जाँदा कुराकानीकै सिलसिलामा घनश्याम सरले रविलाल अधिकारीलाई “तपाईं त पुँजीवादी नै हुनुभयो रविलालजी !” भनिदिनुभयो । मलाई त कस्तो कस्तो अप्ठ्यारो लाग्यो । मैले रविलाल सरलाई पनि उत्तिकै आदर गर्थें, जति मात्रामा घनश्याम सरलाई गर्दथेँ । मलाई रविलाल सरका रचनाहरू पनि मन पर्थे । रविलाल सरले लेखेको ‘एकलव्य’ नामको लघुकाव्यबाट म प्रभावित पनि थिएँ । आफूले आदर गर्दै आएको गुरुलाई घनश्याम सरले पुँजीवादी चिन्तन भएको मान्छे भनेर आरोप लगाउँदा मलाई आफूले टेकेको धरातल कतै कमजोर त छैन भन्नेतर्फ सोच्न बाध्य तुल्याएको थियो । हुन त त्यतिबेलै प्रतिवाद गर्दै प्रत्युत्तरका रूपमा रविलाल सरले घनश्याम सरलाई “तपाईं असाध्यै बढी सङ्कीर्ण हुनुहुन्छ घनश्याम सर ! यस्तो सङ्कीर्णताले त काम चल्दैन ।” भन्नुभएको थियो । उहाँहरू दुई जना बिचको वाद-प्रतिवादमा मैले भने कुनै एक जनाको पक्ष लिएर बोल्न चाहिन ।
आफ्नो वर्गको वर्गीय पक्षधरताबाट विचलित हुन खोज्नेहरूका लागि त्यति बेला घनश्याम सरका शब्दवाण निकै तिखा हुने गर्थे । कम्युनिष्ट पार्टीको एउटा घटकीय विचारसँग सम्बन्धित भएर अगाडि बढ्नुभएका रविलाल अधिकारीलाई घनश्याम सरले पुँजीवादी भन्नुको तात्पर्य रविलाल अधिकारीको लेखनमा विशुद्ध मार्क्सवादी प्रवृत्ति तथा चिन्तन नभएकाले हो वा व्यावहारिक रूपमा रविलाल अधिकारीको प्रवृत्ति मार्क्सवादबाट विमुख हुँदै गएकाले हो ! यो मेरा लागि आजसम्म पनि अध्ययन र चासोको विषय बन्न पुगेको छ ।
२०५८ सालमा युद्धविरामको समय पारेर नागरिक समाज र मानव अधिकारकर्मीहरूको पहलमा पोखराको अमरसिंह चौरमा बृहत् आमसभा भएको थियो । उक्त आमसभामा घनश्याम सरले प्रगतिशील लेखकहरूका तर्फबाट बोल्दै सर्वहारा वर्गको मुक्तिका लागि कलम चलाउने लेखक एवम् कलाकारहरूलाई तत्कालीन राज्यसत्ताले गरेको दुव्र्यवहार, धरपकड र हत्याजस्ता जघन्य अपराधका बारेमा कुरो उठाउनुभएको थियो । विशेष गरी माओवादी पार्टीमा आबद्ध जनवादी तथा क्रान्तिकारी लेखकहरूले निर्भीकतापूर्वक कलम चलाउन नपाएकामा उहाँबाट तत्कालीन सरकारप्रति तीव्र रोष प्रकट भएको थियो । युद्धविराम भङ्ग भएपछि रातदिन चौबिसै घन्टाजस्तो उहाँलाई मात्र नभएर उहाँको घरपरिवारलाई समेत सेना र प्रहरीले विशेष निगरानीमा राख्न थाले । उहाँको गतिविधि तथा क्रियाकलापका बारेमा सेना र प्रहरीको चासो अति नै बढ्न थाल्यो । परिणामस्वरूप पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्दागर्दैको जागिरबाट समय धेरै बाँकी छँदै उहाँ अवकाश लिन बाध्य हुनुपरेको थियो ।
केही समयको भूमिगत जीवनपछि उहाँ फेरि खुला भई साहित्यिक गतिविधिमा सक्रिय हुन थाल्नुभयो । २०६१ साल असोज ३० गतेको साधारण सभाबाट घनश्याम ढकाल सर अध्यक्ष र म सचिव भई ‘गण्डकी साहित्य सङ्गम’मा खट्न थाल्यौं । दुई कार्यकालसम्म उही पदमा रहँदा मैले सरबाट धेरै कुरा सिक्ने अवसर पाएँ । संस्थालाई कसरी गति दिनुपर्छ भन्ने सवालमा मैले उहाँबाट धेरै नै शिक्षा पाएको छु । संस्थाको कामलाई पहिलो प्राथमिकतामा राखेपछि मात्रै अरु काममा लाग्नुपर्छ भन्ने उहाँको विचारलाई मैले त्यस समयदेखि नै शिरोधार्य गर्दै आएको छु ।
२०५५ सालतिर पश्चिमाञ्चल क्षेत्रलाई समेटेर एउटा बृहत् समालोचनात्मक ग्रन्थ निकाल्ने निर्णय गरेको थियो सङ्गमले । त्यस समयमा कुलप्रसाद खनाल, रविलाल अधिकारी र घनश्याम ढकाललाई सम्पादनको जिम्मा दिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको थिएन । कुलप्रसाद खनाल सर अध्यक्ष हुँदा गरिएको सङ्गमको उक्त निर्णय पछि रविलाल अधिकारी सरले सङ्गमको अध्यक्षतामा सम्हालेपछि पनि पूरा हुन सकेन । जब २०६१ सालमा घनश्याम सर सङ्गमको अध्यक्ष बन्नुभयो तब उहाँले पहिलो बैठकमै पश्चिमाञ्चल क्षेत्रका स्रष्टाहरूलाई समेटेर एउटा समालोचनात्मक ग्रन्थ सङ्गमले प्रकाशन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । हामी सबैले उक्त प्रस्तावलाई स्वीकार गरी निर्णय पनि ग¥यौं तर अर्थ सङ्कलन कसरी गर्ने भन्ने बारेमा भने हामी निकै समय घोत्लियौं । सङ्गमको अक्षय कोषबाट रकम झिक्ने पक्षमा हामी थिएनौं । प्रकाशनमा लगभग दुई लाख रुपैयाँ लाग्ने हामीले अनुमान ग¥यौं । रुपैयाँ कसरी जुटाउने भनेर छलफल गर्दै गर्दा घनश्याम सरले शुभेच्छुक व्यक्ति तथा सहयोगी संघसंस्थाहरूसँग न्यूनतम पाँच हजार रुपियाँ सहयोग माग्ने, स्वेच्छापूर्वक पाँच हजारभन्दा बढी रकम कसैले दिन खोजेमा स्वीकार गर्ने तर त्यसभन्दा कम रकम नलिने भन्दै आफ्ना तर्फबाट पाँच हजार रुपियाँ बोल्नुभयो । तत्कालीन कार्यसमितिका हामी सबैले तोकिएकै रकम प्रकाशन मार्फत सङ्गमको अक्षयकोष वृद्धिका लागि संस्थाका नाममा जम्मा ग¥यौं । सहयोगका लागि सङ्गमको उद्देश्य वा विचारका नजिक रहने विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूका घरमा पनि पुग्यौँ । तत्कालीन कोषाध्यक्ष कृष्णराज अधिकारी र सल्लाहकार रघुनाथ अधिकारीलगायत अर्थ सङ्कलनका लागि निकै खट्नुभएको थियो । पुस्तक प्रकाशन भएपछि उक्त पुस्तकको बिक्रीबाट सङ्कलित रकमलाई हामीले सङ्गमको अक्षयकोष वृद्धिमा सदुपयोग गरेका थियौं ।
मैले उपर्युक्त सन्दर्भ उल्लेख गर्ने क्रममा बुझ्न नसकेको एउटा कुरो– त्यतिबेला सङ्गमका संस्थापक अध्यक्ष कुलप्रसाद खनाल सर र संस्थापक उपाध्यक्ष रविलाल सर तत्कालीन अवस्थामा सङ्गमको सल्लाहकार समितिमा हुनुहुन्थ्यो । दुवै जना पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक हुनुहुन्थ्यो । अरु सबै सल्लाहकारहरूले आफ्ना तर्फबाट न्यूनतम रूपमा तोकिएकै रकम दिनुभयो र रकम सङ्कलनका लागि पनि निकै सहयोग पुर्याउनुभयो तर उहाँहरू दुई जनाले भने घनश्याम ढकाललाई असहयोग गर्ने मनसायले वा अरु नै के कारणले हो, संस्थाका लागि रकम सहयोग गर्नुभएन । यद्यपि स्वेच्छाले त्यसभन्दा कम रकम सहयोग गर्न मिल्छ भने हामीले पनि रकम सहयोग गर्छौं भन्न चाहिँ भ्याउनुभएको थियो । हामी न्यूनतम रकम तोकिसकेपछि त्यसभन्दा कम रकम नलिने भनेर अगाडि बढेका थियौं । घनश्याम सरले रकम सङ्कलनमा कमजोर भएर ग्रन्थ प्रकाशनलाई थाती राख्न चाहनुभएन । म अहिलेसम्म पनि अचम्ममा छु, आफैले स्थापना गरेको संस्थामा पनि हामी किन सामूहिक रूपले मिलेर अगाडि बढ्न सकेनौं ? पछिल्लो चरणमा बुढाहरूले असहयोग गरेकै हुन् भन्ने कुरो मैले घनश्याम सरको मुखबाट सुन्न थालेको थिएँ । त्यस समयमा संस्थाका लागि सहयोग गर्न नचाहनेहरूप्रति उहाँ अलि कडै रूपमा पनि प्रस्तुत हुनुभएको थियो ।
ग्रन्थ प्रकाशित भयो । घनश्याम सर पोखराबाट समीक्षकहरूलाई अनुरोध गर्नका लागि कहिले बुटवल–भैरहवा पुग्नुहुन्थ्यो भने कहिले काठमाडौँ पुगेर राजधानीमा रहने समीक्षकहरूलाई ताकेता गर्नुहुन्थ्यो । टेलिफोनमार्फत पनि उहाँको खर्च भइरहेको थियो । कार्यसमितिका साथीहरू मिलेर सङ्गमको बैठकमा ग्रन्थ सम्पादन र प्रकाशनका क्रममा टेलिफोन गर्दा र देशका विभिन्न ठाउँहरूमा पुग्दा लागेको खर्च सरले लिनुपर्छ भन्ने कुरा गर्दा उहाँले मान्नुभएन । संस्थाबाट पैसा लिने प्रस्तावलाई उहाँले ठाडै अस्वीकार गर्नुभयो । दिन जान्ने मान्छेले लिन जान्दैन र लिन जान्ने मान्छेले दिन जान्दैन भन्ने कुरो मलाई यहाँनेर साँचो लाग्यो । घनश्याम सर आर्थिक दृष्टिले सम्पन्न मान्छे हुनुहनुन्थ्यो तर उहाँको संस्थाप्रतिको त्याग, निष्ठा तथा सहयोग म र मेरा साथीहरूका लागि पनि अनुकरणीय रहेको छ । पैसाका मामिलामा उहाँ कहिले र कसैका सामु चुक्नुभएन । संस्थाबाट लिन होइन संस्थालाई दिन सक्नुपर्छ भन्ने मान्यतालाई उहाँले आजीवन अगाडि सार्नुभयो । संस्थाको आर्थिक हिसाबकिताबमा उहाँ अत्यन्त पारदर्शी भएको तथ्यलाई मैले उहाँसँग सहकार्य गर्दाकै दिनदेखि अनुभूत गर्दै आएको थिएँ ।
‘यथार्थवादी नेपाली समालोचना’को सम्पादन गरेपछि पनि उहाँ निस्क्रिय बस्नुभएन । उहाँले सङ्गममा दोस्रो कार्यकाल सम्हालेपछि पोखरालाई केन्द्र बनाएर ‘पोखरेली समालोचना’ प्रकाशन गर्ने प्रस्ताव राख्नुभयो । हामीले स्वीकार गर्यौं । सम्पादनका क्रममा नयाँ पुस्ता र क्षमता भएका व्यक्तिलाई पनि क्रमशः जिम्मेवारी दिनुपर्छ भन्ने कुरा उहाँले गर्नुभयो । आफूले मुख्य सम्पादनको जिम्मा लिएपछि डा. कृष्णराज अधिकारी र मैले सह सम्पादनको जिम्मा लियौं । सोहीअनुरूप काम अगाडि बढ्दै गयो । यसरी पोखरेली परिवेशका स्रष्टा एवं द्रष्टाहरूलाई समेटेर हामीले ‘पोखरेली समालोचना’ प्रकाशन गर्यौं । नयाँ पुस्तालाई लेखनमा निरन्तरता दिनुपर्छ भनेर हौसला दिँदै र काममा क्रियाशील गराउँदै आफू पनि सक्रिय रूपमा लाग्ने उहाँको बानी मेरो जीवन सङ्घर्षका लागि निकै अनुकरणीय बनेको छ ।
‘पोखरेली समालोचना’को प्रकाशनका क्रममा उहाँ एक दिन बिहान सात बजेतिर प्रेसमा आउनुभएको रहेछ । म साढे आठ बजेतिर पुगेँ । हामीले कम्प्युटरमै प्रूफ हेर्दै थियौँ । एघार बज्यो । मैले सरलाई खाना खानका निम्ति घर जान अनुरोध गरेँ । उहाँले त्यति वास्ता गर्नुभएन । मैले आफ्नो साधनमा राखेर उहाँको घरमा पु¥याएर आउँछु भन्दा पनि उहाँ मान्नुभएन । मेरै डेरामा गएर खाऊँ भन्दा पनि स्वीकार गर्नुभएन । मलाई खाना खान पठाउनुभयो । त्यहाँबाट उहाँको घर बसमा लगभग बाह्र–पन्ध्र मिनेटमा पुगिन्थ्यो भने हिँडेर पनि आधा घण्टाभन्दा बढी लाग्दैनथ्यो । म खाना खान हिँडेपछि एउटा होटलमा पसेर उहाँले चिया–तरकारी त्यस्तै केही खानुभएछ । केही समयपछि कृष्णराज अधिकारी पनि आउनुभयो । हामी बेलुकैसम्म त्यहाँ काममा खट्यौं । यसरी कामको मेलामा पसेपछि खानपिनलाई समेत वास्ता नगर्ने हुनाले हो कि सायद् जीवनको उत्तरार्धमा उहाँ बिरामी हुनुहुन्थ्यो । ढाडको अप्रेसन नहोउन्जेलसम्म काममा क्रियाशील हुँदाका बखत मभित्र पलाउँदै गरेको उहाँप्रतिको श्रद्धा अझ बढी मौलाउन पुगेको थियो ।
न लवाइमा तडकभडक, न खानपानमा मीठोमसिनो चाहिने, उहाँको सादा जीवन र क्रियाशील व्यक्तित्वबाट जो कोही पनि प्रभावित हुनु स्वाभाविक थियो । उहाँसँगको सङ्गत, सहकार्य तथा सहयात्राका क्रममा मैले थुप्रै अनुभवहरू सँगालेको छु । पोखरामा डेरा लिएर बस्ने गरेको मान्छे म । कहिलेकाहीँ न्यास्रो लागेको अवस्थामा आफ्नो दुःख–सुख पोख्न पनि उहाँको घरमा पुग्थेँ । हाम्रा बीचमा पारिवारिक कुराकानीहरू हुन्थे । हाम्रा छलफलमा कहिलेकाहीँ पारु म्याडमले समेत साथ दिनुहुन्थ्यो । विजयसँग मेरो सङ्गत नै हुन पाएन । सिर्जना र बन्दनासँगका भेटहरू पनि सञ्चो बिसञ्चोको सोधाइसँगै औपचारिकतामा मात्रै सीमित रहे । जति बुझेँ मैले त्यस परिवारमा घनश्याम सरलाई बुझेँ । पारु म्याडमको सहृदयी भावनालाई बुझेँ । भन्न त कतिपयले घनश्याम सरलाई ‘अलि सङ्कीर्ण खालको मान्छे’ भनेको पनि मेरा कानले सुनेका छन् । कतिपय कुरामा उहाँले आफ्नो अडान छोड्नुहुन्नथ्यो । केही मात्रामा जिद्धीपना चाहिँ नभएको पनि होइन तर पछिल्लो चरणमा भने उहाँको हृदय उदार हुँदै गएको थियो । मैले उहाँसँग सहकार्य गर्दाको मेरो अनुभव हो यो ।
‘गण्डकी साहित्य सङ्गम’को ब्यानरमा ‘गणतान्त्रिक सांस्कृतिक अभियान’ लिएर गाउँमा डुल्दाको क्षण होस् वा ‘अखिल नेपाल लेखक सङ्घ’को ब्यानरमा सडक सडकमा कविता वाचन गर्दै हिँड्दाको क्षण होस् अथवा सरको आफ्नै जन्मस्थल स्याङ्जाको सतौंमा उहाँकै सक्रियतामा बनाइएको विजय स्मृति पार्कको उद्घाटनमा जाँदा होस् मैले उहाँसँग थुप्रैपटक सहयात्रा गरेको छु । उहाँसँग यात्रा गर्दाका अनुभूतिहरू धेरै छन् । कहिले म उहाँसँगै प्रलेसले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागिताका लागि चितवन पुगेको छु भने कहिले सहकर्मी अन्य मित्रहरूसँग साहित्यिक प्रशिक्षणकै क्रममा गोरखा पुगेको छु । तनहूँको बन्दीपुरमा आयोजित बृहत् काव्यगोष्ठीमा सँगै रात बिताएको सम्झना पनि मसँग ताजै छ । सम्झनाहरू यसरी तँछाडमछाड गर्दै मानसपटलमा ओइरिएका बेला म कुन चाहिँ सम्झनालाई प्राथमिकतामा राखुँ ?
पछिल्लो चरणमा मेरो कलम मन्द गतिमा चलेको थाहा पाएर उहाँले लेख्न छाड्नु हुँदैन भन्दै लेखन कार्यलाई निरन्तरता दिनका लागि हौस्याउनुभएको थियो । उहाँ काठमाडौंमा रहे पनि कहिलेकाहीँ मोबाइलको घन्टी पठाएर सन्चो बिसन्चो सोध्ने गरेको थिएँ । उहाँ आफैले पनि फोन गर्नुहुन्थ्यो । हाम्रो सम्बन्धलाई भूगोलको दुरीले छेक्न सकेको थिएन । एकपटक काठमाडौंबाट पोखरा आउँदा सिमलचौरस्थित घरमा पुगेर मैले उहाँलाई सोधेको थिएँ– प्रलेस र अखिल नेपाल लेखक सङ्घ जस्ता संस्थाहरूको नेतृत्व सम्हालिरहँदा तपाईंलाई लेखनकार्यमा कतै समयको अभाव त भइरहेको छैन ? त्यतिबेला मेरो जिज्ञासाको प्रत्युत्तरमा उहाँले अब दुबै संस्थाको जिम्मेवारी अरूलाई सुम्पेर आफू अध्ययन तथा लेखनमा नै समर्पित हुने कुरा बताउनुभएको थियो । उहाँको त्यो सपना पूरा हुन नपाएकामा मलाई निकै दुःख लागेको छ । दुई–चारवटा अरु बढी कृति उहाँबाट सिर्जना हुन पाएको भए हामीलाई पनि चित्त बुझाउने बाटो हुन्थ्यो जस्तो लाग्छ ।
म उहाँले हिँडेकै बाटो पच्छ्याउँदै थिएँ । समय एकनासले बगिरहेको थियो । सधैँ झैं फागुन एक गतेको दिन आयो । दिनको सवा एघार बजेतिर मित्र कृष्णराज अधिकारलिे गरेको फोनमा मलाई विश्वास लागेन । काठमाडौंमै रहनुभएका मित्र राजेन्द्र पौडेललाई फोन गरेपछि जतिसक्दो चाँडो काठमाडौं पुगेर सरको अनुहारलाई एकपटक देख्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । कृष्ण सर र भीमसहित हामी तीन भाइले रात्री बस चढेर काठमाडौंको बाटो समायौं । फागुन दुई गतेका दिन बिहानै त्रि.वि. शिक्षण अस्पतालमा पुग्दा एउटा भर्भराउँदो घामलाई सेतो कपडाले छोपेको देख्यौं । हामी पेरिसडाँडा पुग्यौं, श्रद्धाका पूmलहरू चढायौं । बागमतीको किनारमा आयौं, श्रद्धाञ्जली दियौं । अपरान्हको समयमा पारु म्याडम, छोरीहरू सिर्जना र बन्दनालगायत उहाँको परिवारलाई पोखरास्थित घरमै ल्याउने उद्देश्यले गाडी चढ्यौं । साथमा तत्कालीन एनेकपा माओवादीका केही नेताहरूलगायत अन्य साथीहरू पनि हुनुहुन्थ्यो । रातको एघार बजेतिर पोखरा आइपुग्यौं । मनमै नअटाउने गरी घनश्याम सरको सम्झना चुलिइरहेको थियो । त्यस चिसो रातमा पनि मैले समाजवादसम्म पुग्नका लागि घनश्याम सरले बनाउनुभएको गोरेटालाई कसरी चौडा बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको थिएँ तर अन्धकार चाहिँ बाक्लिँदै गएको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।