19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरी छोरीले लेख्ने इतिहासमा

कविता उमा शर्मा March 8, 2023, 4:04 pm
उमा शर्मा
उमा शर्मा

हातमा कलम हुनेहरूले इतिहास लेखे
इतिहासमा आफ्ना कथाहरू लेखे
कथाहरूमा आफ्नै गाथाहरू लेखे
लेख्नुपर्ने धेरै लेखे
अनि लेख्नै पर्ने धेरै लेखेनन्।

अबको पालो मेरी छोरीको,
उ नयाँ समाज बनाउछु भन्छे
अनि उ नयाँ इतिहास लेख्छु भन्छे
नमिलेका केही सच्याउछु भन्छे
जित्नेहरूको मात्र हैन
अब जिताउनेहरूको पनि इतिहास लेख्छु भन्छे।

मेरी छोरीले लेख्ने इतिहासमा,
अलि फरक लेखिनेछ
ब्रह्माणको सृष्टि
देवताका कानेगुजीबाट हैन
देवीहरूको गर्भबाट भएको हुने छ।

उसले लेख्ने इतिहासमा,
आफुले धारण गरेको गर्भमा
अब कुन्तीहरू लज्जित हुने छैनन्
अनि कर्णहरू खोलामा बगाइने छैनन्
उनीहरू गर्व गर्ने छन् आफ्नो मातृत्वमा।

मेरी छोरीले लेख्ने इतिहासमा,
सहधर्मी गान्धारीहरू
आँखामा पट्टी बाँध्ने छैनन्
अन्धो धृतराष्ट्रको आँखा
अब सञ्जय हैन
गान्धारीहरू आफै बन्ने छन्।

मेरी छोरीले लेख्ने इतिहासमा
दुष्ट दुशासन जन्मिने छैनन्
जन्मिए भने
द्रौपदीमा कुदृष्टि लाउने छैनन्
अपवाद कपुतहरू जन्मिए भने
द्रौपदीको अस्मिता बचाउन
मायावी कृष्ण हैन
धनुर्धर अर्जुन उठ्ने छन्
गदाधर भीम अघि सर्नेछन्
सबै लाचार भए भने
मेरी छोरीले लेख्ने इतिहासमा
द्रौपदीहरू आफै खुँडा लिएर अघि बढ्ने छन्।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।