17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुँडिएको प्रेम

कथा विमल लामिछाने March 9, 2023, 12:09 am
विमल लामिछाने
विमल लामिछाने

विहानको नौ बजेको थियो । अर्को साथीले छुट्टी लिएकाले निर्धारित समयभन्दा अघि नै अफिस छिरेको थिएँ । ल्याप्टप खोलेको मात्रै थिएँ, काम शुरु भएकै थिएन, बाहिरबाट हस्याङ फस्याङ गर्दै सलक्क परेको कपाल फरर उडाउँदै आँखातिर आएको एकचिम्टिी कपाल कानमाथि सिउरिँदै एक महिला अफिसतिरै आइरहेको झ्यालको सीसाबाटै देखिरहेको थिएँ । लोभलाग्दो जीउडाल, चटक्क मिलेको गोरो अनुहारकी उनी सरासर ढोकामा आएर टक्क अढिएर सोधिन– ‘एसक्युज मी सर, आजको पत्रिका पाउँन सकिन्छ ? मैले जवाफ फर्काए, पाइन्छ । अगाडीको कोठामा देखाउँदै भने– ‘उ त्यो टेवलमा छ, झिकेर हेर्नुहोस् है’ । उनी हतारमा थिइन्, पत्रिका हातमा बोकिन र भनिन् – थ्याङ्क यू सर, लागेँ है । मैले मुन्टो हल्लाएर हु्न्छ भन्ने संकेत गरेँ, तर उनले देखिन् या देखिनन् मलाई थाहा भएन ।
भोलीपल्टपनि उनी ठिक त्यही समयमा अघिल्लो दिन जस्तै गरेर आइन र पत्रिका च्यापेर कुदिन् । तेस्रो दिनपनि म अफिस छिर्नेवित्तिकै पछि पछि आउँदै गरेको देखेँ । मलाई खुल्दुली भयो, इनले डेटुडे पत्रिकामा के फलो गरिरहेकी छन् ? या पत्रिका पढ्ने इच्छा जागेको हो ? यो पटक भने मैले उनलाई सोध्नैपर्ने भयो । आउँदा आउँदै मैले सोधिहालेँ– बहिनी तिम्रो घर कहाँ हो ? मैले एक प्रश्न मात्रै सोधेको थिएँ, उनले एकैपटक तीन जवाफ फर्काइन् – ‘सर, म तपाईकै साथी काईलाकी श्रीमति ढुकुरी हुँ, तपाईलाई राम्ररी चिन्छु, मैले एउटा आयोगको परीक्षा दिएकी थिएँ, रिजल्र्ट आयो कि भनेर डेटुडे पत्रिका हेर्न आएकी हुँ’ । उनले यति भनेपछि मैलेपनि धेरै कुरा पहिल्याउन सजिलो भयो । मनमनै गमेँ । कतिपनि नहिच्किचाई बोल्दिरहिछन् । बहिरमुखी स्वभावकी । छोटो समयमा पारिवारिक संरचना सर्सती खुलेर सुनाइन् । विवाह भएको १५ वर्ष भएछ, दुईवटी छोरीपनि हुर्किइसकेका । एसएलसी दिएर विवाह भएको भएपनि ससुरा बुबाको निगराहमा पढाइलाई निरन्तरता दिन पाउँदा खुशी छु भन्थिन् । निक्कै प्रशंसा पनि गर्न भ्याइन् परिवारको । साशु र श्रीमानको राम्रो साथ छ भन्थिन् ।
कामको शिलशिलामा केही महिनापछि उनकै घर छेउमा भेट भयो । सर, घर निस्कनु न, चिया पीएर जानू । हामी दुईजना थियौं, समयपनि थियो उनको आग्रह सहज स्वीकार्यौ । आयोग पास गरेर जागिर खान थालेकी रहिछन् । उनले उत्साहकासाथ सुनाइन् । श्रीमानपनि राम्रै अफिसको जागिरे भए, राम्रो छ, हौसिएर सुनाइन् । ससुराबुबापनि पेनसनवाला । बजारमा राम्रो डिजाइनको आकर्षक घर बनाउँदै गरेको पनि सुनाउन छुटाइनन् । ग्लास माझ्दै, धारामा पानी थाप्दै भित्र बाहिर गर्दै भन्थिन्, हुने खाने र हुँदा खानेको धरातलीय स्वरुपपनि ब्याख्या गर्दै विगतमा केही कठीनाई भएपनि अब सुखका दिनको अनुभूति गर्थिन् । उनी बाहिर निस्केका बेला चिया पिउँदै हामी कानेखुशी गर्यौ, सबैकुरा बुझेकी अहा, कति मजकी, कति बाठी । चिया पिएर हामी छुटियौं । हात हल्लाएर विदाई गरिन् उनले । आउँदै गर्नु है सर । बाटासम्म निस्किेर उनले विदाइ गरिन् । टाढा नसम्झिनु नि हामीलाई हामी त एउटै परिवारका मान्छे पो त उनी भन्दैथिइन् ।
समयले अहँकार बढाउँदै लग्यो या बाद्यतामा परिन् गाउँबाटै गायब । एकाएक हराइन् ढुकुरी । सारा गाउँले खोजीमा लागे तर ढुकुरी भेटिइनन् । नौमति बाजासहित जन्तीको लर्को गएर आँगन पोलेर, पशुपति मन्दिर ढोगेर देवता साक्षी राखेर ‘सँगै बाँच्ने सँगै मर्ने’ कसम खाएका काइँला र ढुकुरीमा एकाएक फाटो आयो । चर्खाको धागो चुढिएझैँ च्वाट्ट बीच बाटोमै चुँडियो उनीहरुको प्रेमको धागो । ढुकुरी प्यारा भनेर बोलाउँथी, काइँला पनि प्यारी भनेर फर्काउँथे । दुबैले एकअर्कामा प्राणभरको माया साटेका थिए ।
मच्चिँदा मच्चिदैको लिंगे पिङको डोरी चुँडिएझैं चुढिएको छ अहिले उनीहरुको प्यारको डोरी । ऊ नै मेरो जिन्दगीको सबथोक हो भनेर बसेका थिएँ काइँला । एकरतिपनि शंका थिएन, ढुकुरीले मायाँजाल तोड्ली भनेर, तर अहिले काइँलालाई एक्लो बनाइन् उनले । काइँलो छाँगाबाट खसेझै भएको छ ।
सँगै हिँड्दा हिँड्दै मौसम परिवर्तन भएझैँ खै किन हो एक्कासी मन फेरी उनले । अर्कैलाई रोजेर काईलालाई बीच बाटोमै एक्लै छोडेर गइछन् । काईलो मर्नु र बाँच्नुको दोधारमा परेको छ । ढुकुरीले अरू कसैको हात समाइ भन्दा काइँलालाई पत्याउन गाह्रो भयो ।
उनीहरुको यतिलामो प्रेमको फूल अर्कैले चुँडेको खवर उ कसरी सहन सकोस् । तर गएको छ अब ओइलाएर । गइसकेकी छे ऊ त अरु कसैको हात समातेर विरानो देश भन्दा पनि पर अझै पर खोला बनि सललल बगेर उसको जिन्दगीबाट टाढा गइसकेकी छन् ।
अँ हँ तर पत्यार छैन काइँलालाई । ऊ ढुकुरीलाई कसैले अपहरण गरेको हुनसक्ने सम्झिन्छ, उ फन्दामा परेको हुनसक्ने अड्कल काट्छ र पुलिसमा रिपोर्ट गर्न पनि जान्छ । सारा खोजी गर्छ तर ढुकुरीको चाल हावामापनि पाउन सक्त्तैन ।
आज रियलमा भत्किइसकेको छ उसको प्रेमको शानदार महल । प्यारीले उसलाई छाडिसकेकी छ । शिकारीले चरीलाई आफ्नो फाइदाको लागि गोली हानेर घायल बनाएझैँ उसको झुटो प्रेमको गोलीले उसलाई घायल बनाएको छ । अनि रन्थनिएको छ ऊ, टोलाएको छ, विरक्तिएको छ ।
उनीहरुको मिलन र प्यारले भरिएर छचल्किएको सम्बन्ध देखेर उसका साथीहरू कोही जुरेली जस्तो जोडी भन्थे त कोही समाजका नमूना भन्दै जिस्क्याउँदै रोमीयो र जुलियटको तुलना पनि गर्थे । ढुकुरी भित्रभित्रै गदगद हुन्थी । कसरी सकिन् होली उसले काईलालाई छाडेर जान, अनि कसरी सकिछन् उनले खुसीको अर्को नयाँ सहर बनाउँन । अनुत्तरित उसका आफ्नै प्रश्नहरु उसको मनमा कुदिरहन्छन् एकपछि अर्को गर्दै सर्कसको घोडाजस्तै ।
उसले छोडेर गएको एक हप्तापछि मात्रै म्यासेज पठाउँछिन् ढुकुरीले उनले अर्के बाटो रोजेको । ढुकुरीले लेखेको म्यासेज वा त्यो अन्तिम पत्र वा प्रेमको सुस्केराका चिनो हेर्न मोवाइल झिक्छ, स्क्रिनसर्ट गर्दै सेभ फोल्डरमा हाल्छ र झिक्तै हेर्दै गोजीमा हाल्दै गर्छ । पढ्दा पढ्दै प्रत्येक उसका अक्षरहरूमा उसकै तस्बिर झलझली देख्छ । गोधूलीमा घाम अस्ताएको हेर्छ । उसकै यादमा तड्पिन्छ, उसले अझैँ सिरानीको माथिल्लोपट्टी सजाएर राखेका मायाँका चिनोहरु, कुम जोडेका, घर्लप्प अँगालो मारेका फोटाहरु, सजाएका गुलावका फूलहरु र मुटुमा मुटु जोडिएका पानाका चित्रहरु हेर्छ भक्कानिन्छ, कोल्टे फेर्छ, लामो श्वास तान्छ र खुइय गर्छ, चित्त बुझ्दैन । उनकै यादमा छट्पटिएर दिक्क लाग्दा छन् उसकालागि रात र दिनहरू ।
भन्छ– ‘कस्ती निष्ठुरी रहिछ ढुकुरी । मेरा सयौ सपनाहरूमा उ सजाएकी थिई । आँखैसामु हराइ बारुदको धुवाँ बनेर । मेरो मुटुमा वेदनाको तुषारो पारेर कसरी छोड्न सकेकी होली मलाई, अनि उसले मलाई दिएका दुईटी छोरीहरुपनि त छन् मेरो मायाँ नलागेपनि उनीहरुको त लाग्नुपर्ने हो नि’ । विरक्तिएका आँशु तरक्क झार्छ, देव्रेकुमले आशु पुस्छ र दुईटा ओठ आपसमा खप्टिएर बाँध्छ, अनि भक्कानिदै उत्ता फर्किन्छ । जुरुक्क उठ्छ र फेरि सुत्छ तर निदाउन सक्दैन । रातहरु पनि टाडा भएका छन् । दिनहरु पनि विराना भएका छन् आजकल उसका ।
विहानीको सीतसँगै सिरानीमा पोखिएका आँसु छोप्तै तार चुँडिएर संगित हराएको गितारको झै ढुकढुकीका तारहरु जबरजस्त दबाउन खोज्छ तर अँहँ मान्दैन मन । सबै बदलेर पनि के भयो र जब बदलिँदैन सम्बन्धको सत्य, धड्किँदैन आफ्नो लागि कुनै धड्कन, अनि सम्बन्धले नै प्रेमिल आँकुरा जन्माउँने हृदयहरुलाई निठुरताको कठघरा बनाउँछ भने आलिसान महल भएरपनि के भयो र ?
चौतारीको त्यो बुढो बर पीपल जस्तै बनेका बुबा आमा र भविश्य खोज्ने बेलाका बयस्क दुई छोरीहरु काइलालाई हेरिरहन्छन् । छिमेकी साथीभाइ, सान्तवना दिन खोज्छन् तर सुन्ने मनस्थितिमा छैन काईलो ।
लुकाउन खोज्छ पीडा, गहभरि आँसु लुकाएर हाँस्ने प्रयास गर्छ, तर हाँस्दैन मन । विगत सम्झिन्छ, र मनमनै भन्छ– ‘मेरो मुटुमा छुरा हानेर मलाई छाडेर उसले अर्कैको हात समाइछ जोसँग गएपनि ऊ जहाँ छ सधैँ खुसी रहोस्’ । मन दह्रो बनाउँन पनि खाज्छ । तर आँशु थामिदैन । थर्थराएको छ उ भित्रको धर्ती ।
ढुकुरी नवप्रेमको नवरसमा डुवुल्की मार्दै जीन्दगीको नयाँ मोडमा नतमस्तक भएर उसका अतृप्ती रहरहरुलाई सुम्सुम्याउँदै अघि बढ्दै होलिन् । काइँलो भने प्रेमको यातना शिविरमा कैदी बनेर प्रेम सत्यको मुक्ति खोज्दै आजकल घाम डुबेको देखेर घाममै डुब्न खोज्छ, जुन डुवेको देखेर जुनमै डुब्न खोज्छ । अझै ऊ फर्की आउँछे कि भनेर धेरै रात दिन र महिना पर्खीरहेछ... । पर्खिरहेछ... ।
(कथाभित्रका पात्रहरु काल्पनिक हुन्, कसैको जीवनसँग मिले संयोगमात्र हुनेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।