17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

के तपाईं ‘पहाडको फेदीको पाहुनाघर’ पुग्नुभएको छ ?

कृति/समीक्षा रमेश प्रभात March 15, 2023, 5:11 am
रमेश प्रभात
रमेश प्रभात

घुमक्कड रह शर्माको छोटो चिनारी

म त्रिभुवन विश्वविद्यालयको विद्यार्थी र पछिल्लो समयमा शिक्षक पनि भएकाले मैले शशिकिरण रेग्मीलाई त्रिभुवन विश्वविद्यालयमा कार्यरत लेखाअधिकृतका रूपमा चिनेको हुँ, यसरी चिनेको पनि धेरै भइसक्यो । तर उनै शशिकिरण रेग्मी नेपाली साहित्यमा रह शर्माका नामबाट कलम चलाउँछन् भन्ने कुरा भने धेरै पछि मात्र थाहा पाएको हुँ । त्यसो त मैले धेरै पहिलादेखि नै रह शर्मालाई भने पढ्दै आएको हुँ । सर्जक शर्मा काव्य, गीत, कविता, बालकविता तथा लेखहरू लेख्ने गर्छन् । हालसम्म उनका ‘भ्रम’ लघुकाव्य (२०५५), ‘वचन’ गीतसङ्ग्रह (२०५६), ‘विसङ्गति कवितासङ्ग्रह (२०५७), ‘अब के हुन्छ ?’ लेखसङ्ग्रह (२०६१), ‘सेलरोटी’ बालकविता (२०६३), ‘दौरा–सुरुवाल’ लेखसङ्ग्रह (२०६५) तथा ‘पहाडको फेदीको पाहुनाघर’ नियात्रासङ्ग्रह (२०६५) गरी सातवटा कृति प्रकाशित भइसकेका छन् । उनले पछिल्लो कृति ‘पहाडको फेदीको पाहुनाघर’निस्कने बित्तिकै केही बोल्ने र एउटा समीक्षा लेखिदिने आग्रहका साथ एक प्रति किताब मेरो हातमा थमाएका थिए । यो घटना आजभन्दा बाह्रवर्ष अगाडिको हो । बोल्ने काम त्यतिबेलै भएको हो भने समीक्षा लेख्ने काम थाती राखिएको थियो । सधैँ केही न केही गरेर बेफुर्सदी रहने गरेकोमा हाल विश्वभरि फैलिएको कोरोनाकहर र त्यसैको असरस्वरूप देशमा लागू भएको यो बन्दाबन्दीले उक्त कृतिका बारेमा केही लेख्ने समय जुराइदिएको छ ।

मैले विगत लामो समयदेखि नेपाली साहित्यमा पढ्दै आएको रह शर्मा मूलतः प्रगतिवादी साहित्यकार हुन् । उनी माक्र्सवादी विचारधाराबाट निर्देशित छन् । त्यति मात्र होइन, उनका रचनामा सर्वहारा वर्गको चित्रणमा रुचि पाइन्छ । त्यस्तै उत्पीडितको आवाज बुलन्द पार्ने, वर्गद्वन्द्व, वर्गसङ्घर्षजस्ता कुराहरूमा रमाउने उनका कृतिहरुमा यी र यस्तै कुराहरु छपक्कै भेट्न सकिन्छ । उनी आफ्ना कविता र निबन्धमा मात्र नभई बालसाहित्यमा पनि प्रगतिशील चेतनाको खोजी गर्छन् । त्यसो त उनका वैचारिक लेखहरू भने पूरै राजनीतिक चेतनाले भरिएको पाइन्छ । पछिल्लो समयमा नियात्रालेखनमा प्रवेश गर्दै उनले त्यसमा नेपाली मात्र नभई वैदेशिक भूगोल, प्रकृति तथा संस्कृतिजस्ता कुराको सुन्दर चित्रण गरेका छन् । यसको साक्ष्य बनेको छ, उनको ‘पहाडको फेदीको पाहुनाघर’ । तर उनको उक्त कृतिमा प्रगतिशीलता भने कतै पनि पाइन्न ।


नियात्राका बारेमा छोटो विमर्श

साहित्यका कविता, आख्यान, नाटक र निबन्धजस्ता प्रमुख चार भेदमध्ये निबन्ध कान्छो विधा हो । निबन्धका पनि विविध भेदहरू हुन्छन् । ती भेदहरूमध्ये यात्रा साहित्य र संस्मरण पनि पर्दछन् । नेपाली साहित्यमा निकै उर्बर रहेका यी भेदहरूलाई समेटेर तयार पारिएको विवेच्य कृति ‘पहाडको फेदीको पाहुनघर’मा प्रयुक्त विचारको विश्लेषण गर्न त्यस्ता भेदले आफूमा समाहित गर्ने तत्वभित्र प्रवेश गर्नु वाञ्छनीय हुन्छ । यात्रा साहित्यमा गतिमयता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, आत्मीयता, चित्रात्मकता र कल्पनाजस्ता तत्व (व्यास, २०७०ः १११) हुनु आवश्यक हुन्छ भने संस्मरणमा अतीतको स्मृति, व्यक्तित्वको चरित्राङ्कन, आत्मीय र श्रद्धापरक अन्तरङ्गता तथा तथ्यात्मकता (पूर्ववत्ः १११) हुनु जरुरी मानिन्छ । त्यसो त निबन्ध भनेकै निजी अनुभवको अभिव्यक्ति भएकाले यी दुबैमा आत्मीयता, कल्पनाशीलता, हार्दिकता र भावनाको उच्छलन हुनु आवश्यक हुन्छ । यहाँ यिनै सिर्जनात्मक आधारलाई लिएर विवेच्य कृति ‘पहाडको फेदीको पाहुनघर’मा प्रयुक्त विचारको विश्लेषण गरिएको छ ।


पहाडको फेदीको पाहुनाघर घुमेपछि

‘पहाडको फेदीको पाहुनघर’ निजी अनुभूतिको प्रकटीकरण गरिएको कृति हो । यसमा कूल एक्काइसवटा नैबन्धिक रचना समेटिएका छन् । सुरुका एघारवटा रचना सर्जक रह शर्माको पहिलो चोटिको अमेरिका भ्रमणसँग सम्बन्धित छन् । पहिलो रचना ‘यसरी उठ्यो मेरो अमेरिका जाने मन’मा उनको अमेरिका मोह देखिएको छ भने अन्य निबन्धमा अमेरिकातर्फ प्रस्थानको कुरा, सम्मेलनमा भाग लिएको, प्रशान्त महासागर विचरण गरेको, आफन्तहरुसँग भेटेका प्रसङ्गहरु पनि आएका छन् । त्यस्तै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको पनि चर्चा गरिएको छ । कृतिको शीर्षकसँग मेल खाने निबन्धमा अमेरिकामा पैसा जुटाउन कामको खोजी गर्दै पहाडको फेदीमा पुगेको कुरा छ । एकान्त स्थलमा रहेको त्यो पाहुनाघरमा सर्प लाग्ने गरेको कुरा पनि गरिएको छ । त्यहाँ काम नगरी फर्किएको कुरा पनि गरिएको छ ।

त्यसपछिका आठवटा रचना उनको दोस्रो चोटिको अमेरिका भ्रमणका बारेमा लेखिएका रचना हुन् । यी रचना अमेरिकाबाहेक बाटोमा पर्ने हङकङ र थाइल्याण्डको पनि चर्चा गरिएको पाइन्छ । यिनमा पनि निजी भोगाइ र पारिवारिक जमघटका कुराहरुकै प्रधानता पाइन्छ । सर्सर्ती वर्णन मात्र गरिएकाले पाठकको मन तान्न त्यति सकेको देखिन्न । अझ त्यसमा पनि बिच बिचमा राखिएका श्याम श्वेत तस्बिरले सुन्दरता होइन, कुरुपता थपेको भान हुन्छ ।

अन्तिमका दुईवटा रचना भने नेपाली भूभागको भ्रमणसँग सम्बन्धित देखिन्छन् । तिनीहरुमध्ये पहिलो बन्दीपुर र दोस्रो माडीको गोद्धक मेलासँग सम्बन्धित छन् । यसमा लेखकले नेपाल र अमेरिका घुम्दा देखेका अनुभव समेटेका छन् । धेरै विदेश र थोरै स्वदेश समेटिएकाले यो खिचडी कृति हो । उनका पूर्ववर्ती रचनामा जस्तो यसमा न माक्र्सवादी जीवनदृष्टि पाइन्छ, न त वर्गद्वन्द्व नै पाइन्छ । यसले लेखकको वैचारिक विचलन प्रष्ट देखाउँछ ।


केही साक्ष्यः कृतिभित्रबाट

नेपाली यात्रा साहित्यका सर्जक, समीक्षक तथा सिद्धान्तकार निर्मोही व्यासका अनुसार यात्रा साहित्य बन्नका लागि त्यसमा गतिमयता, स्थानीयता, तथ्यात्मकता, निजात्मकता, आत्मीयता, चित्रात्मकता र कल्पनाजस्ता तत्व हुनु आवश्यक हुन्छ । नियात्राकार रह शर्माले आफ्नो कृति ‘पहाडको फेदीको पाहुनघर’मा त्यस्ता तत्वको समायोजन कसरी गरेका छन् भन्नका लागि उनको उक्त कृतिमा समाविष्ट निबन्धका केही साक्ष्यलाई लिएर निम्नानुसार पुष्टि गरिएको छ ः

यात्रा निबन्ध सुन्दर बन्न त्यसमा गतिमयता हुनु जरुरी छ । त्यसो त गति मानवजीवनको एउटा मुख्य अभीष्ट पनि हो । यसलाई पुष्ति गर्न ‘डेनबर्गदेखि लसएन्जल्ससम्म’ निबन्धको एउटा साक्ष्य हेरौँः

“डेनबर्गमा भैरहेको अन्तर्राष्ट्रियेल सम्मेलनको समापनमा बस्न त्यति जरुरी नभएको कुरा हामीलाई अग्रज लायन मित्रहरुबाट थाहा भयो । हामीमध्ये शेखर अर्याल र नारायण कँडेल टेकसास, राधा बैनी र नारायण चापागाईं वासिङ्गटन डी.सी., म र सुवर्ण कक्षपति क्यालिफोर्नियातर्फ लाग्ने सुर कस्यौँ ।” (शर्मा, २०६५ः पृ. १०)

त्यस्तै स्थानीयता यात्रा निबन्धको अर्को पक्ष हो । यात्रा गर्दा स्थानीय कुराहरु भेटिन्छन् । तिनको वर्णन गर्नु पनि यात्रा साहित्यको मुख्य प्रयोजन हो । यहाँ ‘प्रशान्त महासागरको छालसँग’ निबन्धमा पाइएको त्यहाँको स्थानीयताको एउटा साक्ष्य हेरौँ ः

“महासागरको छेउमा बसेर चिया, कोक, फेन्टा तथा बियरको चुस्कीसँग समय व्यतीत गर्दै ब्रह्माण्डको एक नम्बरी पानीको सागरको आस्वादन आनन्दानुभूति गर्ने मानिसहरुको सङ्ख्या उल्लेख्य पाइयो । आँखाले देख्न नभ्याइने विशाल प्रशान्त महासागरका नीला र छिनछिनमा किनारामा मानिसलाई बढारेर लैजाने खालका छालका दृश्यले हामीलाई मनमुग्ध पारिरहेको थियो ।” (शर्मा, २०६५ः पृ. १९)

यात्रा साहित्यमा केवल वर्णन मात्र भएर पुग्दैन, त्यसमा तथ्यात्मकता पनि हुनु जरुरी देखिन्छ । त्यसो भएमा वर्णन प्रभावकारी हुन्छ । हेरौँ ‘नेपाली नदेख्दा रुखिएको मन’ निबन्धको एउटा अंशः

“व्यवस्थित फराकिलो बाटो र एकोहोरो यात्रापद्धति भएकाले नै होला कारको गति तीव्र नै भएको पाएँ ।” (शर्मा, २०६५ः पृ. ३३)

यात्रा साहित्यमा निजात्मकता पनि हुनुपर्छ, किनकि यात्रा भनेको हरेक व्यक्तिले भोग्ने निजी अनुभूति पनि हो । लेखकले विदेशी भूमिमा गरेका निजी अनुभूतिको साक्ष्यका रुपमा ‘विदेशको रक्षाबन्धन र तीज’ शीर्षकको निबन्धका तलको साक्ष्यलाई हेरौँः

“गोराहरुले हाफपैन्ट लगाएर हिँड्ने र टिमिक्क परेका कस्सिएका लुगा लगाएर हिँड्ने ठाउँको एउटा हलमा राता, पहेँला र प्याजी रङका प्रायः पहिरनमा सजिएका महिला दिदीबहिनीहरुलाई देख्दा आफू नेपालको नारायणगढ सङ्गमचोकमा तीजकै दिन गीत सुन्दै हिँडेको जस्तो लाग्यो ।” (शर्मा, २०६५ः पृ. ४७)

यात्रा साहित्यमा आत्मीयता पनि चाहिन्छ । नत्र त त्यो साहित्य नभएर केवल वर्णन मात्र बन्न पुग्छ । यात्रालाई आत्मीय बनाउन लेखकले केकस्तो प्रयास गरेका छन् भन्नका लागि ‘लायन्स क्लब र महको सांस्कृतिक कार्यक्रम’ शीर्षकको तलको साक्ष्य हेरौँ ः

“खचाखच भरिएको हलका नेपाली आत्माहरु नेपाल पुर्याएर २/३ घण्टा नेपालमै बिताउने भावनात्मक सोचले नेपाल पुगेर पनि धेरै बस्न नपाएको आभाष भयो । त्यसैले होला पूजाजीले दर्शकवृत्तलाई नाच्न आग्रह गर्दा पनि दर्शकहरु नाच्न कस्सिएनन् ।” (शर्मा, २०६५ः पृ. ५१)

समग्रमा ‘पहाडको फेदीको पाहुनघर’मा यी र यस्ता अन्य साक्ष्य प्रशस्त पाइए पनि तिनमा कलात्मकताभन्दा वर्णनात्मकता ज्यादा पाइन्छ । लेखकले देखेको कुरालाई सार्वजनीन तरिकाले प्रस्तुत गर्नका लागि बिम्बात्मक शैलीको प्रयोग गरेका छैनन् । त्यस्तै यात्रा साहित्य सुन्दर बन्न चित्रात्मकता र कल्पनाजस्ता तत्व पनि हुनु जरुरी हुन्छ जुन कुराको प्रयोग ‘पहाडको फेदीको पाहुनघर’मा पाइँदैन । त्यसैले यो कृति सामान्य खालको कृति बनेको छ ।


सुधारका लागि केही कटु कुरा

रह शर्माले आफ्नो कृति ‘पहाडको फेदीको पाहुनघर’मा केवल अमेरिकाको भव्य विकास भएको कुरा मात्र किन गरेका हुन् ? उनले आफू लायन्स क्लबको कार्यक्रममा भाग लिन गएको र आफू लायन भएको सम्झेर आफ्नो मार्क्सवादी धरातल भुल्नै पथ्र्यो त ? हामी विकासमा पछि परेका छौँ सबैलाई थाहै छ त । त्यसलाई यस कृतिमा यसरी चित्रण गर्नै पथ्र्यो र ? यात्रामा गरिएका कामहरुको विवरण मात्र बटुलेर साहित्य बन्छ र ? व्यक्तिका निजी अनुभूतिलाई सार्वजनीन खालको बनाउनु आवश्यक पर्दैन र ?

खासमा आम नेपाली नागरिक जसको पासपोर्ट बनेको छैन, जो अमेरिका घुम्न जान सक्दैनन्, तिनका लागि यो कृति आकाशको फल आँखा तरी मर् भनेजस्तै भएको छ । त्यसो त अचेल तेलभिसामा होस् कि छोराछोरीको दीक्षान्त समारोहमा भाग लिन होस् अमेरिका वा युरोप जाने र फर्केपछि एउटा कृति जन्माउने क्रम नेपाली साहित्यमा ज्यादै मौलाएको छ । कोही सक्ने लेखकहरु भने लायन्स क्लब, रोटरी क्लब लगायतका अन्तराष्ट्रिय संस्थाका सम्मेलनका बाहनामा त्यता घुमेर आउने र कृति छाप्ने गर्छन् । हो, त्यही खालको कृति बनेको छ यो पनि ।

यात्रा साहित्य निबन्ध विधाभित्र पर्ने भएकाले यसमा अनावश्यक कविता र गीतको थुप्रो लगाउने काम पनि यसमा लेखकले गरेका छन् । कविता लेख्ने मोह भएकाले कविताको छुट्टै कृति निकाल्दा भइहाल्थ्यो नि । निबन्धका कृतिमा एक ठाउँमा मात्र होइन, अनेक ठाउँमा लामा लामा कविता थुपारेर पाठकलाई दिक्क पार्ने काम पनि उनले गरेका छन् । आगामी कृतिमा यस्तो देख्न नपरोस् ।


टुङ्ग्याउनीका केही शब्द

मान्छे घुम्न मन पराउने प्राणी हो । उसले घुमेर देखेका कुरालाई अभिव्यक्त गर्न मन पराउँछ । कोही गीत, कविता, कथा, संस्मरण, निबन्धजस्ता साहित्यका माध्यमबाट अभिव्यक्त गर्छन् भने कोही चित्रकलाका माध्यमबाट पनि तिनलाई उतार्ने काम गर्छन् । आफूले देखे भोगेका कुराले अरुलाई केही शिक्षा, केही मनोरञ्जन दिन सकेको खण्डमा त्यो सफल भएको ठान्छन् उनीहरु । यही काम गरेको छ, ‘पहाडको फेदीको पाहुनघर’ले पनि । लेखकले देखेका कुरालाई टिपोटको शैलीमा प्रस्तुत गरेकाले यो यात्रा विवरण मात्र बनेको छ । अब अर्को कृतिलाई विवरण मात्र होइन, साहित्यिक सुवाससहित ल्याउनका लागि आग्रह गर्दै यो लेख टुङ्ग्याउँछु ।


सान्दर्भिका:

शर्मा, रह, २०६५, पहाडको फेदीको पाहुनाघर, ललितपुर ः साझा प्रकाशन ।

व्यास, निर्मोही, २०७०, नियात्रा साहित्यको सिद्धान्त, ललितपुर ः साझा प्रकाशन ।


उपप्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।