प्रिय बन्दाबन्दी,
तिमीलाई थाहा छैन
एक दशक पहिले
तरकारकारी किन्दा
‘फोस्सा’मा खुर्सानी दिन्थे पसले
हामी खुसी हुन्थ्यौँ
कत्ति दयालु तिनी
कत्ति लोभी हामी !
सित्तै पाए पनि
धेरै खुर्सानी खाँदैनथ्यौँ
रमरम पिरोमै काम चलाउँथ्यौँ
अहिले किनमेलमा
फोस्साको चलन छैन ।
हिजो फलफूल तरकारीको डब्बामा
पशुपति दर्शन गर्न
आफैँ आउँथ्यो लामखुट्टे
आफैँ आउँथे किराहरू
अलि अलि हामी सहन्थ्यौँ
अलि अलि हामी सताइन्थ्यौँ
अहिलेको बन्दाबन्दीमा
तरकारीको ट्रकमा
साहूले फोस्सा मनुवा पठायो रे
अचम्मित छु
खुर्सानीतुल्य ती फोस्सा मनुवा
जीवाणुका पोका हुन् ?
मित्रतामा धोका हुन् ?
उत्तर खोजिरहको छु म ।
२ वैशाख ०७७