17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पत्रमा के लेखिएको थियो ?

कथा विश्वराज अधिकारी March 19, 2023, 12:35 am
विश्वराज अधिकारी
विश्वराज अधिकारी

मैले यो जिन्दगीमा धेरै किसिमका घटनाहरू देखेको छु, भोगेको छु। तर अस्ति, एक हप्ता पहिले घटेको घटनाले मेरो विचारको रूख नराम्रो गरी हल्लाइ दियो। मैले उत्तरबाट दक्षिण बग्ने बाग्मतीलाई दक्षिणबाट उत्तर बगेको देखें। यस्तो देखेपछि जो पनि तिन छक्क पर्न सक्छ। के म मात्र पर्न सक्छु र?
भएको थियो यस्तो।
मेरो आफ्नै काका, नरेश काका बेला बेलामा गंभिर किसिमले बिरामी पर्न थालेको पाँच वर्षभन्दा बढी भएको थियो।
एक वर्ष पहिले म उहाँलाई भेट्न जाँदा उहाँ शरिरीक रूपमा मात्र होइन मानसिक रूपमा पनि अति नै गलेको देखिनु भएको थियो। अस्पतालबाट डिस्चार्ज भएर घर आएको केवल एक दिन भएको थियो। खास रोग के हो भन्ने पत्ता भने लागेको थिएन।
दुई महिना पहिले नरेश काकालाई भेट्न जाँदा भने अस्पतालमा भेटेको थिए। सर्जिकल वार्डको शैयामा पल्टेको काकालई उहाँको हिम्मत वृद्धि गर्ने अभिप्रायका साथ मैले भने, “काका आशा मार्नु हुदैन। मन बलियो पार्नु पर्छ। क्यान्सर भएर पनि मान्छेहरू वर्षौसम्म बाँचेका छन। तपाइँको क्यान्सर पहिलो स्टेजमा छ रे। अप्रसेन भए पछि निको हुन्छ रे। त्यो क्यान्सर फेरि दोहरिदैन। फेरि क्यान्सर हुँदैन। त्यसकारण मन बलियो पार्नुस। हिम्मत बढाउनुस। बलियो मन, र म अहिले मर्दिन भन्ने बलियो इच्छा शक्तिले रोगलाई परिजित गर्छ। यो मेरो भनाइ होइन, मेडिकली प्रुभ कुरा हो।”
मेरो कुरा सुनेर काकाले मुहार हँसिलो पार्ने प्रयास गर्नु भयो। तर त्यो प्रयास सफल हुन सकेन। कतै दु:खेको हुनाले उहाँको मुहारमा पीडा र चिन्ता एकै पटक प्रतिविम्बित भयो। पीडालाई पुन: दबाउन खोज्दै भन्नु भयो, “शिरिष, मलाई मृत्युको भय छैन। एक दिन त मर्नु छ नै। यो यथार्थलाई मैले भूलेको छैन। यो जीवन मृत्युको चक्करलाई जत्ति बुझ्यो मृत्यु त्यतिनै सजिलो हुने रहेछ। एक किसिमले भन्ने हो भने मैले मृत्युमाथि विजय प्राप्त गरेको छु। त्यैपनि हेरौ, अन्तिसाँस छोड्ने बेलामा मेरो मनस्थिति कस्तो हुन्छ।” यति भनेर काकाले गीताको यो श्लोक भन्नु भयो,
“न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूय:
अजो नित्य: शाश्र्वतोSयं पुराणो
न हन्यते हन्यमाने शरीरे”
काकाले आफूले भनेका श्लोकहरूको अर्थ पनि प्रष्ट पार्नु भयो।
“यो जीव आत्माले कहिले पनि जन्म लिन्दैन र कुनै पनि समयमा मर्दैन पनि। जब शरीको रचना हुन्छ तब पनि यो आउँदैन। यो आत्मा अजन्मा छ, नित्य छ, अनाशवान छ र समयको घेराभन्दा बाहिर छ। शरीर नाश हुँदा यो कहिले पनि नाश हुँदैन।” यति भनेर काकाले आफ्नो बेडमाथि रहेको छतलाई घोरिएर हेर्नु भयो, केही बेरसम्म।
“बुझेउ शिरिष, एउटा चिन्ताले भने मलाई शान्तिसँग मर्न देला जस्तो छैन बरू।” काकाले नयां प्रशङ्ग झिक्नु भयो।
मैले प्रश्न गरे, के त्यस्तो चिन्ता हो, काका?”
“मेरी धर्मपत्नीप्रतिको चिन्ता। तिम्री काकी रन्जु प्रतिको चिन्ता।”
“हाम्रो यो नेपाली समाजमा, चार ओटा छोरा, चार ओटा बोहारी भएको भाग्यमानी मान्छेको लागि पनि चिन्ता गर्नु पर्छ र?”
मैले थपे, “छोरा बोहारीहरूले सुखसँग राख्छन काकीलाई। तपाइँले चिन्ता गर्नु पर्दैन, काका।”
“मेरा सबै बोहरीहरू स्वार्थी छन। केवल आफ्नो सुखलाई नै जीवनको ठूलो उपलब्धि ठान्छन। सम्पत्ति र सुख बटुल्नमा बोहारीहरू बीच जहिले पनि प्रतिस्पर्धा हुन्छ। यस्तै भएर यिनीहरूलाई भिन्न गरिदिएँ। आफ्नो मानो चामल खाएर सुखी रहुन भनेर। तर के गर्नु? अझै पनि खुसी छैनन। छोराहरू पनि भलादमी छैनन। यस्ताहरूले के विचार गर्लान तिम्रो काकीलाई। सोझी रन्जुले बुढेस कालमा दु:ख पाउने भइन। म त हातखुट्टा चल्दामा नै महायात्रामा जान्छु। रज्नुले महायात्रामा जानु भन्दा पहिले कत्ति दु:ख पाउने हुन कुन्नी? सुनिन्छ आजभोलि छोरा बोहारीहरूले आमा बाबुलाई वृद्धाआश्रमतिर पठाउँछन रे। फर्केर कहिले हेर्न जाँदैनन पनि रे।”
यति भनेर काकाले लामो साँस फर्नु भयो र केही भन्न बिर्से झै गरी भन्नु भयो, “छोरीहरू भएको भए जाती हुने थियो। म यो अधबैंसे उमेर, साठ्ठि वर्षेको उमेरमा परलोक पुगे पनि छोरीहरूले रन्जुलाई हेर्ने थिए, छोरीहरू भइदिएका भए हुने। यी नालायक छोराहरूले हेर्लान भन्नेमा मलाई रत्ति पनि विश्वास छैन। बोहारीहरूले त झन सासुलाई गलगाँड सम्झेका छन। हामीलाई पालै पालो चारबटै छोराहरू कहाँ बस्न सुझाएका थिए, हामी मानेनौ। हातखुट्टा चल्दासम्म तिमीहरूको भार भएर बस्दैनौ भनेउ। तिनीहरू कहाँ बसेनौ पनि।”
काकाले थप्नु भयो, “यो आधुनिक युग हो। यो वैष्य युग हो। उपभोक्तावादले थिचेको र विवेक हराएको युग हो। यो आधुनिक युगमा यस्तै हुन्छ। केवल आफ्नो व्यक्तिगत सुखलाई सर्वोपरि ठान्नु नै उच्च बौद्धिकता परिचय हो।”
मेरो उपस्थिति लामो समयसम्म भएमा काकाले अझै मन दु:ख्ने कुराहरू झिकेर आफूलाई झनै दु:खी पार्नु होला भन्ने अनुमान गर्दै काकाबाट बिदा लिने मैले निधो गरे। चलिरहेको कुराकानीको सिलसिलालाई तोड्दै मैले भने, “काका, यो अस्पतालबाट मेरो घर पुग्न झन्डै तिन घण्टा लाग्छ। काठमाडौको सडक जामको के कुरा गर्नु! घर पुग्दा रातीको आठ बज्ने हो कि?”
म कुर्सीबाट उठेर कोठाबाट बाहिरिने उपक्रममा लागें।
काकाले मेरो हात समात्दै भन्नु भयो, “मेरो एउटा अनुरोध छ। मेरो एउटा सानो काम गरि दिन्छौ?”
“किन न गर्नु काका? अवश्य पनि गर्छु।” मैले आश्चर्य प्रकट गर्दै भने।
सिरानीमा राखेको खाम झिक्दै काकाले भन्नु भयो, “शिरिष, यो खाम भित्र पत्र छ। यो पत्र तिमीले तिम्रो काकीलाई दिनु। रन्जुलाई दिनु। तर अहिले होइन नि, मेरो मृत्यु पछि दिनु, है।”
मैले केही पनि बोलिन। केवल आश्चर्य मान्दै काकातिर हेरे मात्र।
“मैले भने अनुसार नै तिमीले गर्नु पर्छ। अनि यो पत्रबारे काकी बाहेक अरू कसैलाई न भन्नु नि! वाचा गरे। ” काकाले भन्नु भयो।
“हुन्छ।” मैले काकाको वाचा अवश्य पनि पुरा गर्ने वचन दिएँ। काका अब केवल बढीमा एक महिना बाँच्ने भनी डाक्टरले काकीलाई भनेको कुरा काकाले थाहा पाइ सक्नु भएको रहेछ भन्ने मैले अनुमान पनि गरे। आफ्नो आँखामा भरिन थालेको आँशुलाई बडो गार्हो गरि मैले रोकें।
पाटन अस्पतालबाट सरस्वती नगरस्थित मेरो घर पुग्दा रातीको आठ बजिसकेको थियो। गैसको सिलिण्डर खोज्न हिंडकी मेरी पत्नी मधु घर आइपुगेकी थिनन।
पाटन अस्ततालमा भर्ना भएका नरेश काकालाई हरेरे म फर्केको दुई हप्ता भइसेको थियो।
अब म एक हप्ता पहिले के भयो त्यसबारे भन्छु। तो त्यो घटनाले मेरो विचार कसरी दुधमा अमिलो हालेझै भएको थियो त्यो म भन्छु।
एक हप्ता पहिले म रन्जु काकी कहाँ गएको थिएँ। स्वर्गीय नरेश काकाको तेरौं दिनको काम सकिएको एक हप्ता भएको थियो। काकीले एक्लो बस्न रोज्नु भएकोले उहाँलाई भेट्न म उहाँको डेरामा पुगेको थिएँ।
दुई तिन घण्टाको अनेक सुख दुख, तिता मिठा, आरोह अवरोहको कुरा गरेपछि मैले प्रशंग परिवर्तन गर्न खोजे। त्यस्तो गर्नु जरूरी पनि थियो। मैले नरेश काकाले दिनु भएको पत्र रन्जु काकीलाई दिनु पनि थियो।
सर्टको खल्तीमा हिफाजतसाथ राखेको पत्र झिकेर मेल रन्जु काकीलाई दिएँ। “यस पत्रबारे, यसको विषय बारे मलाई केही पनि थाहा छैन, है काकी। यो पत्र तपाइँलाई काकाको जीवनकालमा नै दिने विचार थियो तर.............।” मैले प्रष्ट पारे।
“तर के?” प्रत्यासित रुपमा काकीको प्रश्न आयो।
“काकाले भन्नु भएको थियो- यो पत्र तिम्रो काकीलाई मेरो मृत्युपछि मात्र दिनु।”
काकीले पत्र खोलेर पढ्नु भयो। पत्र पढे पछि अस्वभाविक किसिमले रून थाल्नु भयो।
म अक्क मक्क परे।
फोनको घण्टी बजेको हुनाले फोन सुन्न काकी कोठा भित्र जानु भयो। बैठमा म मात्र थिए। काकीले आफु बसेको सोफमा नै त्यो छाडेर हिंड्नु भयो।
पत्रमा के लेखिएको रहेछ जसले गर्दा काकीलाई अस्वभाविक किसिमले रुने स्थितिमा पुर्यायो, म त्यो जान्न उत्सुक भए। मेरो त्यो उत्सुकता पुरा गर्न काकीले फोनमा लामो कुरा गर्न थालेको स्थितिले सघाउ पुर्यायो पनि।
नरेशस काकाले रन्जु काकीलाई लेखेको पत्रमा यी कुराहरू लेखिएका थिए-
प्रिय पत्नी रन्जू,
एक जिम्मेवार एवं असल पतिको भूमिका मैले म जीवित हुनजेलसम्म निर्वाह गरे। यो भूमिक निर्वाह गर्नमा मैले कतै पनि, कुनै पनि किसिमको बेइमानी गरिन। तर माफ गर रन्जु, मैले यो जिन्दगीभरि तिमीलाई आफ्नो पत्नीको रूपमा हेर्न सकिन। मेरो यस्तो व्यवहारको लगि तिमीले मलाई माफी अवश्य पनि दिने छेउ। मेरो प्रेम कुनै युवतीसँग भएको थियो। तिमीसँग विहे हुनु भन्दा पहिले। जीवन भरि मैले केवल ती युवतीसँग, केवल भावनामा, प्रेम गरि नै रहेँ।
नरेश शर्मा
काकीलाई लेखिएको पत्र पढेपछि मेरो विश्वास दुध र काकाको पत्र अमिलो रस हुन पुगेको थियो, यसरी।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।