16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कामना

लघुकथा डिल्लीप्रसाद अधिकारी March 19, 2023, 12:38 am
डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी

उनको नाम कामना हो। मनमा जे कामना गर्दथिन् त्यो बाहिर प्रकट नगर्ने र जे बाहिर प्रकट गर्ने गर्थिन् त्यो कामना नगर्ने । उनी चाहन्थिन् कि उनकै छ‍ोराछोरीले मात्र पढुन् अरू विद्यार्थी सबै सढुन् । पेशाले उनी शिक्षिका थिइन् । यसैले भन्थिन् सबैले पढ्नुपर्छ । य‍ो नै कामनाको प्रतिभा थियो जसलाई समाजले साच्चै सम्मान गर्दथ्यो। समाज पनि वास्तवमा यस्तै कामना गर्दथ्यो।

कामना आफ्ना आमा-बाबुले पढाएर यत्तिको असल बनाएकोमा साह्रै अनुगृहित भएको कुरा भन्न कहिल्यै बिर्सिन्नथिन्। किनभने मनमा उनी सदैव यो सम्झिन्थिन् कि उनी प्रतिभाशाली भएकाले नै यत्तिकी भएकी हुन्।

समयमा आफैँले छानेको व्यक्तिसँग विवाह गरिन्। धुमधामले विवाह सम्पन्न भयो। शरीर श्रृङ्गार नगर्ने उनी विवाहका दिन श्रृङ्गारले परिपूर्ण भइन् । गरीब माइतीघर छोड्दाको खुसियालीमा उनी रोइन्। समाजले मान्यो उनी माइतीघर छ‍ोड्नुपर्दा रोएकी हुन्।
विवाह भएपछि अरूकै जस्तै उनका आमा-बाबा अझै दुइजना थपिएकामा उनी मनमनै विचलित बनिन् । तर प्रकटमा भनिन् "आमा बाबा भनेका भगवान् हुन्। मेरा चारजना भगवान् छन्।" समाजले वाह! भन्यो उनलाई ।

विवाह भएको एकैहफ्तामा उनका पिता, उनका एकजना भगवान् अचानकै भगवान्का प्यारा बने। उनी आँखाले र‍ोइन्। प्रतिभाशाली उनी पूजा गर्ने एउटा भगवान् घटेकामा प्रसन्न थिइन् ।

जीवनसाथीको साथ पाएपछि उनको भौतिक संसार साह्रै सुखद बनेकामा उनी आफ्नो भाग्यलाई नै कारण मान्थिन्। यसरी नै जीवन चलिरहोस् कामना गर्दथिन्।

प्रतिभाशाली कामनाले बिस्तारै आफ्ना पतिलाई वशमा गरिन्। घर बनियो । परिवारबाट छुट्टिनुअघि नै दुइजना नानीहरू सासूले हुर्काएकै थिइन् ।
कालान्तरमा ससुरा पनि बिते अनि सासू पनि रोगाइन्। सासू रोगग्रस्त बनेकामा उनी चिन्ता व्यक्त गर्दथिन् र कामना गर्दथिन् कि सासूले चाँडै दु:ख लुकाए हुने!

अहिलेसम्म सासू जिवित थिइन् । कामना पनि सुखी थिइन् । अब उताका दिनहरू अझै वैभवशाली बन्दै जाउन् भन्ने उनको कामना पूरा होला नहोला ? म भने कामना गर्दछु कि कामना जस्ता सन्तान कुनै आमाले नजन्माउन्। सृष्टिमा सुन्दरता थप्ने आमाहरूले पनि ईश्वरको यस्तो वरदान पाउन् कि आन्तरिक र बाह्य चरित्र भिन्ना-भिन्नै भएका सन्तान जन्माउन नपरोस् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।