उपन्यासकार हिरा लामाको ‘दलदल’ उपन्यासको नाम प्रकाशन हुनुपूर्व अर्कै थियो । यसको पाण्डुलिपि यस्तो थिएन, पाण्डुलिपिमा भएका विभिन्न प्रसङ्गहरु प्रकाशनमा आउँदा निकै नै हेरफेर भएर आएका छन् । पाण्डुलिपि हेर्दा यौन उपन्यास हो कि भन्ने थियो भने यतिबेला यो पूर्णतः सामाजिक उपन्यास भएर आएको छ । यसले आजका नेपाली युवाको समस्यालाई राम्रोसँग उठाएको छ ।
उठान
हिरा लामा, यो नाम मेरो लागि निकै पुरानो नाम हो । शारीरिक सुन्दरतामा ध्यान दिने हिरालाई हिरा नभनेर हिरो भन्न रुचाउँछु म । त्यसो त उनलाई भन्दा पहिला उनका दाजु तारा लामालाई चिनेको हुँ मैले । हिराजीसँग पहिलोचोटि कहिले चिनजान भयो ? मलाई मिति, स्थान र समय ठ्याक्कै याद छैन । तर उनीसँग पचासको दशकमै भेट भएको हुनुपर्छ भन्ने ठम्याइ छ मेरो । पचासको दशकको सुरुदेखि अन्त्यसम्म करिब एक दशक म कमलदेवी बोर्डिङ, शारदानगरमा पढाउँथे भने उनी ग्र्याण्डी बोर्डिङ, रामपुरमा पढाउँथे । त्यतिबेलै उनीसँग गहिरो मित्रता नभए पनि द्वारिका नेपाल मध्यस्थ थिए हामी बीचमा ।
द्वारिकाजी सुरुदेखि नै नेपाली पढाउँथे भने हिरा लामा गणित । मेरो हकमा नपढाएको विषय नै थिएन त्यतिबेला । म गणित, विज्ञान र कतै अङ्ग्रेजी पनि पढाउँथे । सुरुदेखि नै अन्तर्मुखी स्वभावका हिराजी साहित्यमा रुचि राख्नुहुन्छ भन्ने थाहा थियो । मेरो हकमा पनि विज्ञानबाट आफ्नो करियर सुरु गरेको भए पनि सुरुदेखि नै साहित्यमा रुचि भएका कारण स्नातकोत्तर तहमा नेपाली विषय लिएपछि भने नेपाली विषयको शिक्षक बनेँ । मैले कमलदेवी छोडिसकेपछि हिराजीका कथाका किताब निस्कियो । त्यसले भने उनीसँग नजिक गरायो । त्यो सम्बन्ध हालसम्म कायम रहेको छ ।
यतिबेला मेरो हातमा उनै हिरा लामाको पहिलो उपन्यास ‘दलदल’ छ । उनको ‘दलदल’ उपन्यासको नाम प्रकाशन हुनुपूर्व अर्कै थियो । यसको पाण्डुलिपि पढ्ने एउटा पाठक म पनि हुँ । प्रकाशनमा आउँदा धेरै प्रसङ्ग फेरिएर आएको रहेछ । पाण्डुलिपि पढ्दा यौन उपन्यास हो कि भन्ने लागेको थियो भने अहिलेचाहिँ यो पूर्णतः सामाजिक उपन्यास भएर आएको छ । यो उपन्यास आजका नेपाली युवाको भोगाइको यथार्थ प्रतिबिम्बन हो ।
‘दलदल’ उपन्यासले उठाएको सवाल
म यतिबेला समाचार माध्यममा प्रेमप्रसाद आचार्यको आत्मदाहका बारेमा नियालेर हेरिरहेको छु र साथमा छ हिरा लामाको ‘दलदल’ उपन्यास । जीवनदेखि विरक्तिनुलाई के भन्ने ? कसैले आफ्नो जीवन किन बर्बाद पार्न खोज्छ ? यो देशमा गरिखान चाहने युवाले किन स्वतन्त्र भएर काम गर्न सक्तैनन् ? मेरो मनमा पनि यस्तै यस्तै सवालहरु उठ्छन् घरिघरि । यो देशबाट यस्तो स्थिति कहिले सुध्रेला ? म निरुत्तर छु ।
म पात्रले प्रथम पुरुष शैलीमा आफ्नो जीवन भोगाइ बताएको ‘दलदल’ उपन्यास नायकको वैयक्तिक अनुभूति हो । विदेश जान भनेर काठमाडौँ बसेका बेला साथीको कोठामा छरपस्ट भेटिएका पत्रिकामा प्रकाशित ‘पूर्वमाओवादी अयोग्य लडाकु तुफानको प्रेमपत्र’मा सम्बोधित प्रेम अर्थात् छिरिङ तामाङ आफू भएको र उक्त चिठी लेख्ने व्यक्ति आफ्नो बाल्यकालीन साथी उजेली सापकोटा भएको कुरा म पात्रले स्वीकार गरेको छ । यसले उसको नामका बारेमा खुल्छ । त्यसो त उसले आफू तामाङ भएका कारण आफ्नी पत्नी पारुल भट्टराईका परिवारले आफूलाई स्वीकार नगरेको र बुहारी बाहुनी भएका कारण म पात्रकी आमाले नस्वीकारेको कुरा उपन्यासको सुरुतिरै गरिएको छ । यसमा म पात्रसँग विद्यालय जीवनमा उजेली सापकोटा, वैवाहिक जीवनमा पारुल भट्टराई र विवाहित हुँदाहुँदै चिनी ठकुरीसँग मन साँट्ने डुलुवा अर्थात् भमराजस्तो देखिएको छ । ऊ आफूलाई पत्नीप्रति बफादार भएको पनि देखाउँछ । पेसाले शिक्षक भएका कारण आफू समाजप्रति जिम्मेवार भएको देखाउन पनि पछि पर्दैन । गरिबी यो उपन्यासको मुख्य मुद्दा हो भने जातीय विभेद यसको अर्को मुद्दा हो ।
अलिकति लेखकका आफ्ना कुरा र अलिकति यो समयका युवाका कुराले उपन्यासको कथ्य बुनिएको छ । उपन्यासको नायक म पात्रले बोर्डिङ पढाउने, ट्युसन पढाउने, नेटवर्किङ व्यवसाय गर्नेजस्ता विविध काममा म सक्रिय संलग्नता देखाएको छ । जति मेहनत गर्दा पनि उसको गरिबीमा केही फेरबदल हुँदैन । यसरी देशमा जति घोटिँदा पनि परिवारको आवश्यकता पूरा गर्न नसकेपछि आफ्ना सबै आदर्श त्यागेर श्रीमतीको करकापमा म पात्र विदेश हानिन्छ, यसपछि उपन्यास टुङ्गिन्छ ।
देशमा केही गर्न नसक्नेको अन्तिम विकल्प विदेश नै हो त ? के विदेशमा पैसा फल्ने रुख छ ? त्यसबाट फटाफट पैसा टिप्न पाइन्छ ? साँच्चै कस्तो छ हँ त्यो विदेश भन्ने कुरा ? के त्यहाँ सुखै सुख छ ? त्यता जान किन लालायित हुन्छन् मान्छेहरु ? यस्ता सवाल यो उपन्यास पढेपछि पाठकका मनमा उठ्छ ।
प्रेमले पीडासिवाय केही दिँदैन र ?
‘दलदल’ उपन्यासकी एउटी पात्र चिनीले प्रेमलाई पीडाको पर्याय मानेकी छ । आफ्नो प्रेमप्रसङ्ग सम्झँदै ऊ भन्छे ः “ ऊ मेरो जीवनमा खुसी–नायक भएर आयो अनि गयो पीडा–दायक भएर । उसले मलाई माया मात्र दिएन, साउनको बादल जस्तै कालो पीडा पनि दियो । उसले मलाई गुलाफी हाँसो मात्र दिएन, अमिलो, पिरो, टर्रो, तितो सबै खाले आँसु पनि दिएर पनि दिएर गयो । उसले मलाई हाँसोको अर्थ सिकायो अनि आँसुको मूल्य बतायो ।” (पृष्ठ ः ११४)
प्रेम के हो ? के प्रेमको अर्थ दिनु मात्र हो ? कि प्रेममा लिनुको मात्र अर्थ छ ? आफूलाई नभएपछि अरुलाई पनि नहोस् भन्नु प्रेम हो कि होइन ? के प्रेम सफल हुनलाई बिछोड अनिवार्य छ ? त्यसो भए प्रेमले पीडासिवाय अरु केही दिँदैन त ? ‘दलदल’ उपन्यासले प्रेमका बारेमा उठाएको बहस हो यो ।
साँच्चै प्रवास भनेको दलदल नै हो त ?
देशभित्र केही गर्न नसक्नेहरु विदेश जान्छन् । ठूला ठूला सपना पाल्नेहरु विदेश जान्छन् । कोही परिवारको करकापमा परेर विदेश जान्छन् । कोही देशमा केही गर्ने वातावरण नभएपछि विदेश जान्छन् । यसरी विदेश जानेहरुको लर्को हेर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक दिन बिताउने हो भने थाहा हुन्छ ।
उपन्यासकार हिरा लामाले खण्ड खण्डमा विभाजन गरी शीर्षकीकरण गर्दै कथा जसरी ‘दलदल’ उपन्यासलाई बुन्ने काम गरेका छन् । अन्तिमको शीर्षक ‘दलदल’ राखेका छन्, जसमा म पात्र विदेश भासिएको कुरा छ । सामान्य अर्थमा भन्दा दलदल भनेको समस्या हो भने दलदलमा फस्नु भनेको समस्यामा पर्नु हो । यसरी हेर्दा उनले ‘दलदल’मा विदेश भासिनुलाई दलदलका रुपमा अथ्र्याएका छन् । के विदेश जानु भनेको दलदलमा जाकिनु नै हो त ? यो प्रश्नलाई ‘दलदल’ उपन्यासले निकै गम्भीर रुपमा उठाएको छ ।
बैठान
लेख्नु निकै जटिल काम हो । अझ त्यसलाई प्रकाशन गर्नु झन् जटिल काम हो । लेखेर सकेको करिब एक दशक पछि पटक–पटक पुनर्लेखन गरेपछि ‘दलदल’ यो रुपमा आएको हो । यसमा हिराजीको मात्र नभएर प्रकाशक र सम्पादकको निकै मेहनत परेको छ । यसले हिराजीलाई कथाकारबाट उपन्यासकारका रुपमा उभ्याएको छ । उनको यो नयाँ यात्रालाई स्वागत छ । उनले एउटा अहम् प्रश्न उठाएका छन् ः ‘हामी दलदलको मारबाट कसरी उम्कने ?’
जबसम्म यो देशमा गरिखाने वातावरण बन्दैन, तबसम्म हरियो पासापोर्टले समाजमा जरा गाडेर बसिरहने छ । प्रवासनले तत्कालका लागि देशमा रेमिट्यान्सका रुपमा केही रकम भित्रिन सहयोग गरे पनि देश पुरै जर्जर बन्छ भन्ने ठहर लेखकले उपन्यासका माध्यमबाट गरेका छन् । यो आजको नेपालको टड्कारो समस्या हो । अहम् सवाललाई उपन्यासका माध्यमबाट उठाएकोमा हिराजीलाई धन्यवाद । उनको दलदल उपन्यास प्रकाशित भएकोमा हार्दिक बधाई । कृति सफल बनोस् यही शुभकामना । अब चाहिँ छिट्टै अर्को कृति पढ्न पाइयोस् ।
अध्यक्ष, अक्षर समूह चितवन ।