19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म कवि हैन

कविता डा. बच्चु कैलाश कैनी March 26, 2023, 3:24 pm
डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

म केही लेख्छु
त्यो कविता बन्छ
मलाई लाग्छ
म कवि हैन
दुई चार हरफ लेखेर
केवल मनको बह पोख्छु
देखेको कुरा लेख्छु
सुनेको कुरा उतार्छु
त्यसैले म भन्छु
म कवि हैन
केवल भावलाई शब्दमा उतार्ने माध्यम हुँ।

जीवन भोगेको छु
यही जीवन भोग्दा भोग्दै
दुई चार हरफ लेखेको छु
त्यसैले मलाई लाग्छ
म कवि हैन
अरुले जस्तै
दिनमा जागेको छु
रातमा सुतेको छु
काम पनि गरेको छु
घर परिवार चलाएको छु
मौका मिलेको बेला
दुई चार हरफ लेखेको छु
त्यसैले मलाई लाग्छ
म कवि हैन
केवल समयसँगै बग्ने जीवन भोग्ने भोगी हुँ।

म मानिस हुँ
कवि हैन
मान्छेको रुपमा
जे देखें र भोगें
त्यही कागजमा उतार्छु
दुई चार शब्द लेख्छु
र, मनको भाव पोख्छु।

म श्रमिक हुँ
कवि हैन
श्रम गर्दैगर्दा
अनुभवले सिकायो मलाई
त्यही अनुभव कागजमा उतार्छु
दुई चार शब्द लेख्छु
र, अनुभव बाँड्छु।

मैले दुई चार हरफ लेखेको देखेर
मेरो अनुभव पढेर
मरो भोगाई बुझेर
मलाई कवि भन्नेहरुलाई
म सलाम गर्छु
तरपनि, म आफूलाई कवि भन्दिन
कवि हुने योग्यता जाच्दिन
किनकि मलाई थाहा छ
म कवि हैन
केवल अनुभव बाँड्ने रवि हुँ।

डार्टफोर्ड, बेलायत।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।