19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लघुकथालयमाथि एक विमर्श

कृति/समीक्षा प्रा.कपिल अज्ञात March 26, 2023, 3:28 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

गद्यकविता शैलीमा लेखिएका आठवटा कवितासङ्ग्रह, चारवटा भाषा अनुसन्धान–ग्रन्थ, एकवटा नियात्रासम्बन्धी साहित्य समालोचना, छवटा लघुकथासङ्ग्रह प्रकाशित गरिसकेका डा.विदुर चालिसे(२०१६)को अर्को एक बृहत्तर आयामको लघुकथासङ्ग्रह हो– “लघुकथालय(लघुकथा चिन्तन, मनन र लेखन)– २०७९” । यसका साथै उनका चारवटा लघुकथासङ्ग्रह र दुईवटा गद्यकवितासङ्ग्रह समेत यसै मध्येबाट अङ्ग्रेजीमा अनुवाद गरेर डिजिटल एवम् छापामा प्रकाशित समेत भइसकेको छ । कविताबाट आफ्नो लेखनकार्य शुरू गरेका चालिसेले यतिबेला लघुकथाको चिन्तन, मनन र लेखन कार्यमा प्रचलित लघुकथासम्बन्धी सिद्धान्त र आफ्ना लघुकथाहरूलाई उक्त सिद्धान्तको कडीमा प्रयोग गरी शैलीवैज्ञानिक ढाँचामा प्रस्तुत गरिरहँदा लघुकथाको इतिहासमा एक नवीन प्रयोग र नौलो प्रस्तुतीको शिखर अरोहण गरिरहेको देखिन्छ ।
नदीनदी मिले सागर बनेझै एकप्रकारले ‘लघुकथालय– २०७९’ लघुकथाको सागर नै भएको छ । यथपि ‘आलय’ले ‘हिमालय’को सङ्केत गरेकै छ । जुन विशालताको प्रतीक हो । यस कृतिमा जम्मा २३६ वटा लघुकथाहरूलाई सङग्रहीत गरिएका छन् । सामान्यतः २०–२५ वटा लघुकथा बनेपछि एक कृतिको प्रारूप दिने प्रचलन नेपाली लघुकथा लेखनको क्षेत्रमा प्रचलन रहिआएको थियो । तर लघुकथालयमा यसका स्रष्टा चालिसेले लामो धैर्य र दीर्घ प्रयत्नबाट पौने दर्जन जति लघुकथा–कृति बन्नसक्ने लघुकथाहरूको एकमुष्ट रूपमा कृतिको संरचना तयारी गरी लघुकथासङ्ग्रहमा अधिकतम लघुकथाको समावेशितालाई ध्यान दिई बृहत्तर स्वरूपमा एकै कृतिमा समेटेर प्रकाशित गरेका छन् । सिद्धान्त र प्रयोग दुवै संयोजन गरिएको यो कृति विशद् र व्यापक पनि रहेको छ । स्वरूपको दृष्टिले नेपाली लघुकथा साहित्यमैं यो पहिलो कृतिको रूपमा देखिएको छ । धेरै लघुकथाहरू सङ्ग्रहीत भएकोले कृतिको नामकरण ‘लघुकथालय’ राखिएको छ । पुस्तकको नामाकरण निकै ओजिलो, स्तरिय र परिष्कृत देखिनुका साथै यसले लघुकथाको संख्यात्मक बहुलताको प्रयोगतर्फ सङ्केत र कृतिको स्तरियताको पक्षलाई आत्मसात् गरेको छ ।
‘लघुकथालय’को कोष्ठकभित्र लघुकथा चिन्तन, मनन र लेखन भनिएको छ । मेरा दृष्टिमा ‘लघुकथा आयामः सिद्धान्त र प्रयोग’ भनिएको भए अझै उपयुक्त हुन्थ्यो भन्ने लाग्छ । लघुकथाका बारेमा यति धेरै चिन्तन, मनन र प्रयोगका साथै यति विशाल कृतिको आयोजनाले लघुकथाकै ‘शिखर कृति’ भन्न सकिने स्पष्ट आधार यो कृतिले सावित गरिदिएको छ । लेखकका कविता र समलोचना लेखनसँग म राम्ररी परिचित हुनसकेको छैन । तर यो लघुकथालय कृतिको अध्ययनले एकै पटकमा तीब्र प्रभाव पारेको महसूस हुन्छ । कुनैबेला गजलको लहर चल्यो । अहिले पनि त्यही लहरको तीब्र्रताले निरन्तरता लिएझैं छ । गजलपछि त्यस्तै लहर अहिले लघुकथातर्फ पनि चल्न थालेको छ । यतिबेला लघुकथामा सयकडौं कृतिहरू प्रकाशित भइसकेका छन्, कति हुने व्रmममा छन् । लम्बेतान अवस्थामा वा कथाहरूको धैर्यतापूर्वक आस्वादन लिने फुर्सदको समय मानिससँग छैन । पाठकहरूको रूचि र माग एवं स्रष्टाको प्रबृति र प्रसङ्गले लघुकथाहरूलाई प्रतिस्पर्धाको बजारमा तान्दै लगिरहेको छ । व्यापक रूपमा लघुकथासहित सिद्धान्त र प्रयोगको रूपमा जोडिएर यो कृति आउनु नेपाली साहित्यमैं स्वागत योग्य कुरा हो । उत्कृष्ट साजसज्जा र पाठकमैत्री कृतिको रूपमा प्रकाशित भएको यो पुस्तक पठनीय मात्र नभई सङ्ग्रहणीय समेत छ भन्ने अवगत हुन्छ ।
स्रष्टाको चिन्तन वा सिद्धान्त पक्षमा विचार गर्दा स्रष्टाले लघुकथालाई छोटो कथासँग दाजेका छन् । मेरो विचारमा लघुकथा आफैमा ‘लघु’ हुने यथार्थ हो । तर आकारको ‘लघुता’ले मात्र यसको पहिचान बन्दैन । यसमा आफ्नै प्रकृतिको संरचनागत प्रभाव हुन्छ । जसरी छोटो कविता हुँदैमा त्यो मुक्तक हँुदैन, त्यस्तै छोटो आकारको रूप हुँदैमा त्यो लघुकथा पनि हुँदैन । यसको सैद्धान्तिक पक्षबारे रामै्र आकारका अनुसन्धानात्मक वा विवेचनात्मक कृतिहरू प्रकाशित रूपमै आइसकेका छन् । एकप्रकारले लघुकथा सिर्जनमै सिद्धान्तहरू निर्मित नै भइसकेका छन् । कवितामा जस्तै लघुकथाको उपस्थिति असैद्धान्तिक मुक्त देखिन्छन् । त्यस्तैप्रकारले कथाको उपविधाको रूपमा लघुकथालाई हेरेको पनि देखिन्छ । योभन्दा अधिक लघुकथाको उपसंरचनाको बहस गरिरहन अवश्यक पर्दैन ।
लघुकथामा अधिक भूमिका, अधिक व्याख्या, अधिक परिवेश चित्रण, अधिक वर्णन विस्तार, अधिक धारणा र भावनात्मक प्रस्तुति, अधिक दृष्टिकोण वा धारणाको समावेश गरिनु हुँदैन । जुन प्रभावले विस्फोटन गरिनु छ, त्यसैको भूमिका वा पृष्ठभूमिमा स्वरूपको कथ्यलाई उत्सुकताका साथ जागृत गराउन मै केन्द्रित गर्दै अन्तमा रहस्यको पर्दा उघारिन दिनुपर्छ । चतुष्पदी मुक्तकमा धनुकाँणबाट तीर हान्ने जे उपाय हो, त्यस्तै उपाय लघुकथामा पनि लागु गरिन्छ । त्यस्तै प्रकृति र संरचनामा आधारित हुने मात्र लघुकथाको कोटीमा देखिन्छ भन्ने अधिकांशको दृष्टिकोण छ । त्यसैमा पङक्तिकार पनि सहमत छ ।
‘लघुकथालय–२०७९)’ को प्रकाशनपूर्व एकजना साहित्यकार लक्ष्मण अर्यालले पनि ‘लघुकथा विमर्शन–(२०७८)’ नामक लघुकथाको समालोचनात्मक कृति प्रकाशित गरेका छन् । उनले यसमा लघुकथा सिद्धान्त र प्रयोगसम्बन्धी दृटिकोणहरू प्रस्तुत गरेका छन् । उनका दृष्टिमा– “लघुकथाको सिर्जना सजिलो साहित्यिक कर्म होइन । लघुकथामा तर्कको अनगिन्ती अडेसाहरू लगाएर विषयलाई उभ्याउने फुर्सद असम्भव हुन्छ । न त व्यख्या र विश्लेषणात्मक बुँदाहरूले यसलाई सजाउने समय रहन्छ । ‘छोटो लेख र पूर्ण लेख !’ यो लघुकथा लेखनको अमोघ सूत्र हो ।”
सिद्धान्तअनुसार अर्यालका लघुकथा लेखनका मुख्य तीन सूत्र देखापर्छन् । यी तीनका दुई सूत्र मिल्ने देखिन्छन् । ती हुन्– ‘छोटो लेख’– ‘पूर्ण लेख’ तर बिचको जो ‘छिटो लेख’ हो त्योचाहिँ मिल्ने देखिँदैन । त्यो के भने–, प्रभावात्मक विस्फोटनका निम्ति शैलीगत गत्यात्मक तीव्रता मैले यस ‘लघुकथा विमर्शन–(२०७८)’ कृतिमा महसुस गरेको छैन ।
लघुकथाको नाममा सिर्जिएका लघुविचार, लघुसंवाद, लघुकिस्सा, लघुप्रसङ्ग, लघुव्याख्या, लघुअबधारणा, लघुदृष्टिकोण, लघुनिबन्ध, लघुकिंवदन्ती लघुकथा हुन सक्तैनन् । ‘लघु’ भन्नाले आकारमा ‘लघु’ त भन्नैप¥यो । त्यसमा आख्यान पनि हुनैप¥यो, अर्थात् घटना र पात्र रहनैप¥यो । ‘लघुता’ र ‘आख्यान’ त्यति मात्रले पनि नभई त्यसमा कार्यकारणको शृङखला पनि चल्नप¥यो । उत्सुकता जगाउने कुनै समस्याको पृष्ठभूमिबाट शुरूवात भई शैलीशिल्पको गतिमा पनि तीव्रता हुनुप¥यो । साथै कथ्यस्थिति कसिएर तीव्र गतिवान हुनुप¥यो । संरचनाबाट कुनै अंश झिक्न मिल्ने स्थिति रहनुहुँदैन तब मात्र त्यो ‘लघुकथा’ हो भन्ने स्पष्ट हुन्छ । वास्तवमा यस्ता लघुकथा विशेष परिस्थितिबाट मात्र मिर्जित हुन्छन् । लघुकथाका बजारमा कति लघुकथा हुन्, कति होइनन्, तिनको व्यापक सैद्धान्तिक शोधखोज र समयसापेक्ष सर्बेक्षण हुनु अवश्यक छ । स्रष्टाले ‘लघुकथा’ भन्दैमा वा लघुकथाको पङ्क्तिमा समावेश हुँदैमा त्यो ‘लघुकथा’ हो भन्ने पनि स्थिति हुँदैन । आफ्नै प्रकृति, प्रभाव र संरचनाबाट लघुकथाले आफ्नो परिचय आफै दिन्छ । यस्तै लघुकथासम्बन्धी विद्धान्हरू एवम् यसका स्रष्टाहरूबाट धारणा एवम् पाठकीय प्रतिव्रिmयाहरू व्यापक रूपमा आउनुपथ्र्यो । यसबाट नै लघुकथाको सैद्धान्तिक हुनु र नहुनुको गुरूत्व र गरिमाको मूल्याङ्कन हुनुपथ्र्यो । त्यसको अभाव खडिकएको नभए पनि अझै सुनमा सुगन्ध बन्नसक्थ्यो । एकाङ्कीजस्तै लघुकथामा पनि प्रभावको ऐक्यता हुन्छ, अर्थात् लघुकथाले एउटै विशिष्ट प्रभाव छोड्नुपर्छ । जब विविध प्रभाव छोडिन्छ तब लघुकथाबाट कथाको कथागत सारमा गर्जिन्छ ।
हामी गजल शैलीमा गजल होस् भनेर लेख्छौं तर ती गजलको गुरूत्वमा नरहेर गजल शैलीका कविता अर्थात् गजल कविता बन्छन् । त्यस्तै हामी लघुकथाको रूप भनेर लेख्छौं तर लघुकथा नभएर छोटा कथा बन्छन् । लघुकथा हुँदैमा राम्रो एवम् छोटोकथा हुँदैमा नराम्रो भन्ने हुँदैन । सिद्धान्त अघि सारेर त्यसैको पूर्णअनुशासनमा कसैले रचना गरेको हुँदैन । लघुकथा यसरी लेखिनुपर्छ भनेर सिद्धान्त सामु राखेर कसैले रचना गरेको पनि हुँदैमा, सिर्जनाका सबै क्षेत्रमा यही स्थिति हुन्छ । सिद्धान्तअनुसार रचिएका रचनाभन्दा स्वतन्त्र ढङ्गले रचिएका रचना अधिक सुन्दर हुनसक्छन् । त्यसैले ‘सिद्धान्तवादी नै बनेर सिर्जनशील कार्य गर !’ भन्ने पनि होइन । अवचेतनमा हेक्का राखेर स्वतन्त्र ढङ्गले कलात्मक तबरबाट जे सिर्जना गरियो, तिनै सुन्दर र सजीव बनेर प्रस्तुत हुन्छन् । सिर्जना भन्नु नै प्रत्येकबाट भिन्न स्वयम् अस्तित्ववान् मौलिक स्वरूप हो । हर सिर्जनामा स्वत्वको प्रकटीकरण हुन्छ । यो खास ढाँचामा मिल्छ भन्ने स्थिति पनि हुँदैन । आफ्नै सामान्य सैद्धान्तिक खाकामा जति आकर्षण पैदा गर्नसक्यो, त्यसैमा सौन्दर्य निर्भर हुन्छ । उसको कसैको जस्तो सिर्जना, रचना भएन भन्दा पनि जस्ले सिर्जना गरेको छ, ऊ जस्तो किन भएन ? भनेर भन्न सकिन्छ । सबै एकै गुण र प्रकृति नभएपछि ऊ स्वयम्का गुण र प्रकृतिमा के कस्ता विशेषता छन् भनेर खोज्नु वा पर्यपेक्षण गर्नु समीक्षकीय धर्म हो । यस दृष्टिले लघुकथाकार चालिसेका ‘लघुकथालय–२०७९’ मा आफ्नै शैलीगत स्वर र स्वरूपहरू प्रकट भएका छन् । विशिष्ट सङ्केतहरूले विविध सन्देश मुखरित गरेका छन् । अहिले साहित्यकार र तिनका कृतिले साहित्यिक परिवेश जङ्गलझै नै बनेको छ । जङ्गलमा के के छन्, ती सबैको पहिचान हुन कठिन छ । जङ्गलमै जन्मियो, जङ्गलमै साहित्य लेख्यो । जङ्गलमै हरायो, धेरैको त्यै नियति बनेको छ । कृतिका गुणात्मक रचना पनि ओझेलमा परेका छन् । यसै स्थितिमा लघुकथाको यसप्रकारको विशाल कृति लिएर लघुकथाकार चालिसे ठिङ्ग उभिएर देखापरेका छन् । सामान्यबाट विशेषहुँदै विशिष्टमा स्थापित हुनपुगेका छन् । आफ्नै कृतिगत प्रकृति, प्रबृत्ति, प्रतिभा र श्रमको विशेष गुणले स्रष्टाको पहिचान प्रकाशमा आउँछ । यस कृतिबाट लघुकथाकार चालिसे लघुकथा साहित्यको प्रकाशमा मात्र छैनन् । आफ्नै साहित्यिक गुणले समेत रत्न झैं चाम्किएका छन् ।
कृति नै यति भारी निस्केको भएर पनि यसको भूमिका पनि उत्तिकै भारी हुनुपथ्र्यो भन्ने लाग्छ । यद्यपि भूमिका सारभूत र मननीय अवश्य रहेको छ । यसमा लघुकथाका आयाम भनेर शीर्षाङ्कन र आयामका आरम्भ, उत्कर्ष, निष्कर्ष, प्रकार्यात्मक आयाममा तत्वबोध र सिद्धान्तबोध आयाममा लघुकथाका तयाँ तथा पुराना प्रचलित सिद्धान्तहरू भनेर लघुकथाहरूकै शृङ्खलाहरूमा वर्गीकृत गरी राखिएको छ । यो सबै सिद्धान्त पक्ष भनेर एकै खण्डमा समावेश गरी अन्य सबै लघुकथाहरूलाई विषयगत रूपमा वर्गीकृत गरिएको भए यसको प्रभावकारिता पनि बेग्लै हुन्थ्यो कि भन्ने हो । तर जे जसरी प्रस्तुत गरिएको छ, त्यो पनि महत्वपूर्ण उपलब्धि हो भन्ने बोध हुन्छ ।
आवरण पृष्ठको परिचयमा देखेँ, लघुकथाकार चालिसेले कविता सिर्जनाबाट पो साहित्यिक यात्रा–आरम्भ भएका रहेछन् । कविता कृतिकै मात्र आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका कृति पनि रहेछन् । कविता कै मात्र आधा दर्जन कृति प्रकाशित हुनु सामान्य कुरा होइन । सर्जक चालिसेले कवितामैं पनि एक उचाइ लिएको हुनुपर्छ । कविता सिर्जनाबाट बनेको त्यो शैलीय गुणले लघुकथा सिर्जनामा पनि काम गरेको हुनुपर्छ । उनको लघुकथाभित्र कवित्व शैलीको छनक खोज्दैजाने हो भने त्यसका अनेकौं दृष्टान्त भेटिन्छन् । कवित्वको यति समृद्ध शक्ति निहित भएपछि कवित्वमय लघुकथाको रचना गरेर ‘लघुकथालय–२०७९’ लाई कवितामय लघुकथाहरूको सँगालोको स्वरूपमा समेत प्रकट गराउनु उनको अर्को विशेषता देखिन्छ । यस्तै यसमा विचारको अद्भुत संयोजन छ भने यो आफैमा चमत्कारिक सिर्जना समेत बन्नपुगेको छ । यसका साथै अहिले लघुकथा लेखन निकै विस्तारको समय हो । लेखनको व्यापकता पनि त्यत्तिकै चलिरहेको छ । अब भने विस्तारित चमत्कारिकताका साथै गुणात्मक दिशातर्फ स्रष्टाहरू केन्द्रित हुनुपर्छ भन्ने लाग्दछ । यसै सन्दर्भमा सर्जक चालिसेको सिर्जनशील क्षमताको शैली यस्तो बनिसकेको रहेछ कि– “सामान्य विषयलाई लघुकथाको रूप दिनसक्ने रहेछन्, उनी” । ‘पारसले छोएपछि सुन बन्छ’ भने झैं सर्जक चालिसेले सोचेर लेखन शुरू गर्नथाले कि लघुकथा अर्थात् छोटाकथा बनिहाल्ने उनको सिर्जनशील क्षमताबाट हर कोही प्रभावित हुनसक्दछन् । लघुकथाका हिंसालय झैं बनेको लघुकथा चिन्तन, मनन र लेखनसम्बन्धी ‘लघुकथालय–२०७९’ कृति पाठक एवम् लघुकथा लेखनका आरोहीहरूका लागि निकै आकर्षणका रूपमा अगाडि बढ्नेछ भन्ने लाग्छ । अरूले लघुकथामा सामान्य पहाड पर्वत बनाएकोमा उनले लघुकथाको हिमालय नै बनाइदिएका छन् । आफ्नो हिमालबाट अझै कति चम्कने हुन् पर्यवेक्षकहरूले बताउँदै जालान् । तर म यो छोटाकथाको मानक कृति नै बनेकोमा विश्वस्त भएर भन्न सकिने आधार रहेको देख्छु ।
यी लघुकथा हुन् कि लघुकथाका रूपमा छोटाकथा हुन् भन्ने सन्दर्भमा– यी छोटाकथा हुन् । सामान्यतया यी सबै छोटाकथाका रूपमा लघुकथा भन्न सकिन्छ, पनि । छोटाकथा नै भएपनि यस पुस्तकमा साङ्केतिक, व्यङग्यपरक र उत्कृष्टताका पक्षहरू व्यापक छन् । सैद्धान्तिक रूपमा पेशा, कर्म र स्वभावले हामी समान उद्देश्य बोकेका सहयात्री मित्र हौं । वाह्य रूपमा उनको व्यक्तित्वबाट प्रभावित भएर पनि उनको रचना पढ्ने अवसर जुरेको थिएन । तर यो लघुकथाको ‘महाग्रन्थ’ पढेर स्रष्टाको रचनात्मक सीप सामथ्र्यसँग परिचित हुने अवसर मिल्यो । यसका लागि ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ जस्तो लघुकथाको विकास, विस्तार र प्रकाशनमा लागेको प्रकाशक संस्थालाई धन्यवाद दिन चाहन्छु ।
अहिले छन्द कवितामा रमेश ठाकुरेल, मुकुन्द शर्मा, गोविन्दराज विनोदी र सत्यालहरू देखापरेका छन् । त्यस्तै नियात्रामा निर्योही ब्यास, प्रतीक ढकाल, कृष्ण बजगाईं र दामोदर वुडासैनीहरू देखापरेका छन् त्यस्तै गजलको चहलपहलमा बुँद राना, घनश्याम परिश्रमी, कृसु क्षेत्री र देवी पन्थीहरू देखापरेका छन् । गद्यकवितमा मनुमञ्जिल, नवराज, भूपिन र सरिताहरू देखापरेका छन् । उपन्यासमा अमर न्यौपाने, प्रभा बराल र प्रमृति देखापरेका छन् । त्यस्तै लघुकथा भन्नासाथ डा. विदुर चालिसे, लक्ष्मण अर्याल, एकदेव अधिकारीहरूको नाम लिनैपर्ने हुन्छ ।
यस कृतिमा रहेका समग्र लघुकथा र सैद्धान्तिक पाठहरू सामान्य पाठकका लागि मात्र नभएर विशिष्ट पाठकका लागि समेत प्रयोजनीय बनेका छन् । आकारगत दृष्टिले छोटा भएपनि साङ्केतिक, विम्बात्मक, व्यङग्यपरक र चेतनामूलक कथाहरू कथाकै प्रविधाका छोटाकथा प्रकारान्तरले लघुकथा भन्न सकिने कथाहरू नेपाली साहित्यका अमुल्य निधि रहेका छन् । स्रष्टालाई यस्तै उत्कृष्ट छोटाकथा रचना गर्ने प्रेरणा र जाँगर मिलिरहोस्, अस्तु ।

भरतपुर – १२, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।