19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

को अछूत ? उपन्यासमा सबाल्टर्न चेतना

कृति/समीक्षा नारायण मरासिनी March 30, 2023, 8:31 am
नारायण मरासिनी
नारायण मरासिनी

अध्ययनसार

सबाल्टर्न भन्नाले निर्धा, निमुखा, दबिएका, हेपिएका र ओझेलमा परेका श्रमिक, सर्वहारा र उत्पीडित वर्गलाई बुझिन्छ । राज्यसत्ताको मूल धारभन्दा बाहिर रहेका वर्ग, समूह, व्यक्तिका दिनचर्यालाई विषय बनाएर लेखिएका साहित्य सीमान्तकृत साहित्य हुन् । सीमान्तकृतको पहिचानको आधार वर्ग, जात, लिङ्ग, क्षेत्र, शिक्षा, राजनीति आदि हुन सक्छ । सन् १९६० को दशकपछि पाश्चात्य साहित्य समालोचनामा देखिएको बहुलवादी चिन्तनसँगै सबाल्टर्नको अवधारणा आएको पाइन्छ । उत्पीडन सबै ठाउँमा एउटै खालको हुँदैन, स्थान सापेक्ष हुन्छ । हाम्रो नेपाली समाजमा वर्गीय, लैङ्गिक, जातिगत लगायतका विभेदको अन्त्य हुन सकेको छैन । राजनीतिले सबाल्टर्नहरूको आवाजलाई पूर्ण रूपमा सम्बोधन गर्न सकेको छैन । राज्यले पिछडिएका वर्ग र क्षेत्रको उत्थानका निम्ति चालेका कदमहरू प्रभावकारी बन्न सकेका छैनन् । किनारामा रहेका वर्ग सधैँ अरुका लागि माध्यम बनेका छन् । अब समाज विकासमा सीमान्तकृतहरूले खेलेका भूमिकालाई प्रकाशमा ल्याउनुपर्छ; उनीहरूको पहिचान, प्रतिनिधित्व र आवाजको खोजी साहित्य, समालोचनाका माध्यमबाट गरिनुपर्छ भन्ने अभिप्रायसँगै नेपालमा सबाल्र्टन अध्ययनले महत्व पाउन थालेको छ र सबाल्टर्न साहित्यको सिर्जना हुन थालेको छ । नेपाली उपन्यासमा पं. मुक्तिनाथ शर्माको ‘को अछूत ?’ (२०११) सबाल्टर्न चेतनामा आधारित उपन्यास हो । यसले उत्पीडित महिला एवम् दलितहरूले आफ्नो अधिकारका लागि सङ्गठित रूपमा विद्रोह गर्नुपर्ने आवाज उठाएको छ । उपन्यासमार्फत उपन्यासकारले ब्राह्मणवादको विरोध गर्दै दलितहरूको पहिचान तथा अस्तित्वको खोजी गरेका छन् । प्रस्तुत लेखमा दलित एवम् उत्पीडितहरूको मुक्तिको चाहना अभिव्यक्त यस उपन्यासलाई सबाल्टर्न चेतनाका सापेक्षतामा व्याख्या–विश्लेषणको विषय बनाइएको छ । जातीय समानताका पक्षधर पं. मुक्तिनाथले प्रस्तुत उपन्यासमार्फत दलित वर्गको मुक्तिको चाहना व्यक्त गरेका छन् । प्रस्तुत उपन्यासमा सबाल्टर्न चेतनाको खोजी गर्ने क्रममा यस लेखका लागि पूर्वप्रकाशित समीक्षाहरूको सहयोग लिइएको छ । लेखमा सबाल्टर्न चिन्तनका आधारमा उपन्यासमा प्रयुक्त महिला र दलित पात्रको चेतनाको अध्ययन गरिएको छ । अध्ययनका क्रममा साक्ष्यहरूसहित यस उपन्यासलाई जातीय समता, नारी मुक्ति र दलित उत्थानका लागि सङ्गठित एवम् प्रतिरोधी क्रान्तिको खोजी गरिएको सबाल्टर्न चेतनाले युक्त उपन्यास हो भनेर निष्कर्ष निकालिएको छ ।

मुख्य पद

सबाल्टर्न, ब्राह्मणवाद, उत्पीडन, दलित मुक्ति, यौन हिंसा, सङ्गठित विद्रोह, प्रतिरोधी चेतना, आर्य–अनार्य ।

१. विषयप्रवेश

‘को अछूत’ (२०११,दो.सं.२०६५) पं. मुक्तिनाथ शर्मा (१९७१–२०४६) द्वारा रचित उपन्यास हो । यिनको जन्म कास्की जिल्लाको बाटुलेचौरमा भएको हो । यिनले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका छन् । यिनका हालसम्म ७ वटा कृति प्रकाशित छन् र एउटा अप्रकाशित अवस्थामा छ । ‘रघुवंश महाकाव्य’ अनुवाद (२००२), ‘किराँतार्जुनियम महाकाव्य’ अनुवाद (२००२), ‘मातृत्व र धर्मपुस्तक’ उपन्यास (२००७), ‘को अछूत’ उपन्यास (२०११,दो.सं.२०६५), ‘गफ’ उपन्यास (२०१२), ‘हिन्दू संस्कृति र आधुनिकता’ उपन्यास (२०३८), ‘मुक्तिनाथ तिमिल्सिना’ आत्मकथा (२०४०) र ‘सामन्त अवशेष’ अप्रकाशित यिनीद्वारा सिर्जित कृतिहरू हुन् ।

सबाल्टर्नमा दलित, आवाजविहीन, सीमान्तकृत तथा उत्पीडित वर्ग पर्दछ । यो शासन गर्ने वा हैकम चलाउने वर्ग नभई सधैँ अधीनस्थ र पराधीन हुन्छ । सबाल्टर्न अरुका निम्ति माध्यम बन्छ, यो शासकको प्रयोगको वस्तु पनि बन्न सक्छ । सीमान्तकृतका आवाज, दिनचर्या एवम् उत्पीडन नै सबाल्टर्न साहित्यको विषय हुन्छ । सबाल्टर्नको सम्बन्ध सांस्कृतिक अध्ययन तथा उत्तरऔपनिवेशवादसँग गाँसिएको छ । साहित्य माथिबाट होइन तलबाट अर्थात् तल्लो वर्गबाट लेखिनु पर्ने मान्यता यसले राख्छ । यसमा सीमान्त वर्गको पहिचान, प्रतिनिधित्व र आवाजको खोजी गरिन्छ । यसले सीमान्त वर्ग, समूहका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक अवस्थाको अध्ययन गर्छ । सत्ता, शक्ति र प्रभुता (हेजेमोनी) हत्याएर अवरजनका लागि दमनकारी एवम् विभेदकारी शक्ति भइदिने सम्भ्रान्त वा माथिल्ला वर्गका कैरनको पनि यसले अध्ययन गर्छ । सीमान्त विकास मञ्च (सबाल्टर्न फोरम, सन् २००५) का अनुसार सीमान्तीकृत केन्द्रको सुविधा तथा विशेषाधिकारबाट बहिष्कृत र उपेक्षित हुन्छ (शर्मा, २०७०, पृ.३१९) । सबाल्टर्न अध्ययनमा सीमान्तकृतहरूका सामथ्र्य र सम्भावनाको खोजी गरिन्छ । यसको सम्बन्ध नवमाक्र्सवादसँग पनि रहेको छ । सीमान्तकृतहरू सङ्गठित हुन नसक्नु र भए पनि उनीहरूका आवाज सम्बन्धित पक्षले नसुन्नु जस्ता सीमान्तकृतले भोगेका समस्याको समेत सबाल्टर्नमा अध्ययन गरिन्छ ।

प्रस्तुत ‘को अछूत ?’ उपन्यासमा दलित, दबाइएका तथा हेपिएका पात्रहरूको बाहुल्य छ । यसमा दमित नारीहरूको विषय छ । दलितहरूमाथिको भेदभाव, नारीमाथिको अत्याचार, अनार्यप्रतिको घृणा, जातिच्यूत लगायतका विषयवर्णनमा केन्द्रित भएकाले यस उपन्यासलाई सीमान्तीय कोणबाट अध्ययन–विश्लेषण गर्न सकिन्छ । यसमा सीमान्तकृतहरू सङ्गठित भएर आफ्नो अधिकारप्राप्तिको लडाइँमा अगाडि बढेका छन् । उपन्यासकारले दलित मुक्तिको पक्ष लिएका छन् । सम्भ्रान्त वर्गका अमानवीय एवम् क्रूर व्यवहारको पर्दाफास गरेका छन् । ब्राह्मणवादको विरोध गर्दै उपन्यासकारले दलितहरूका पक्षमा आवाज उठाएका छन् । बोल्न नसक्ने नारीहरूको आवाज उपन्यासकारले बोलिदिएका छन् । उपन्यासकारले माथिबाट होइन, तलबाट इतिहासको पुनर्लेखन गरेका छन् अर्थात् दलनमा परेका पात्रहरूका जगमा अडेर यस उपन्यासमा विषयको विन्यास गरेका छन् । उपन्यासमा अधिकांश सबाल्टर्न पात्रहरू गौण भूमिकामा रहेका छन्, यस्ता पात्रहरूसँग सम्बद्ध जानकारी छरिएर रहेको छ । तिनै छरिएर रहेका तथ्यहरूको खोजी गरी सीमान्त वर्गमा आएको साङ्गठनिक एवम् प्रतिरोधी चेतनाको अध्ययन–विश्लेषण गर्नुलाई नै यस लेखको मुख्य विषयवस्तु बनाइएको छ ।

२. समस्याकथन

पं. मुक्तिनाथ जातीय एवम् लैङ्गिक विभेदको अन्त्यको चाहना राख्ने उपन्यासकार हुन् । जातीय र लैङ्गिक उत्पीडनबाट मुक्ति नै यिनको उपन्यास लेखनको मुख्य वैशिष्ट्य हो । यिनी जातीय भेदभाव, छुवाछूत तथा नारी उत्पीडनलाई हटाएर समाजलाई सभ्य र मानिसलाई समृद्ध बनाउन चाहने उपन्यासकार हुन् । उपन्यासमा जातीय विभेदको प्रस्तुति कुन रूपमा भएको छ र उपन्यासकारले सामाजिक कलङ्कका रूपमा रहेको छुवाछूतको अन्त्य कसरी गर्न चाहेका छन् ? उपन्यासमा सीमान्तकृत पात्रहरूलाई कसरी सङ्गठित गरिएको छ र नारीहरूमाथिको यौन हिंसा, दमन तथा शोषण कुन रूपमा अभिव्यक्त छ भनेर अध्ययन गर्नु यस लेखको समस्या हो । नारीमुक्ति, छुवाछूतको अन्त्य र जातीय विभेदको अन्त्यका विरुद्धमा लामबद्ध यात्रीहरूलाई यस उपन्यासले कस्तो ऊर्जा प्रदान गरेको छ भनेर अध्ययन गर्नुलाई यस लेखमा समस्याका रूपमा प्रस्तुत गरिएको छ ।

३. उद्देश्य

‘को अछूत ?’ उपन्यासमा अभिव्यक्त जातीय भेदभाव, छुवाछूत तथा नारी उत्पीडनलाई सबाल्टर्न चेतनाका चिन्तनका सापेक्षतामा अध्ययन एवम् विश्लेषण गर्नु नै यस लेखको उद्देश्य हो । उपन्यासमा व्यक्त दलितहरूको साङ्गठनिक विद्रोह एवम् कथित उच्च जाति भनिनेहरूबाट यौन हिंसाको सिकार बनेका उत्पीडित नारीहरूको मुक्तिचेतना र उपन्यासमा व्यक्त भएको जातिवादी चिन्तनलाई सीमान्तीय कोणबाट अध्ययन–विश्लेषण गर्नु यस लेखको उद्देश्य हो ।

४. अध्ययनविधि

अनुसन्धाता वा लेखकले कुन विधि अपनाएर अनुसन्धान गरेको छ वा लेख लेखेको छ त्यसलाई अध्ययनविधिमा स्पष्ट पार्नुपर्छ । अध्ययन विधिअन्तर्गत सामग्री-तथ्य-तथ्याङ्क सङ्कलन, सैद्धान्तिक पर्याधार र विश्लेषणको ढाँचा पर्दछन् । अध्ययनका लागि कुन कुन तरिकाले तथ्य वा सामग्री सङ्कलन गरिएको छ र सङ्कलित ती तथ्य वा सामग्रीलाई कुन सिद्धान्तका आधारमा कसरी विश्लेषण गरिएको छ भन्ने कुरा स्पष्टसँग उल्लेख गर्नु आवश्यक हुन्छ । यहाँ अध्ययनविधिलाई निम्न उपशीर्षकमा उल्लेख गरिएको छ ः

४.१ तथ्य-सामग्री सङ्कलन

यस लेखका लागि पं. मुक्तिनाथ शर्माद्वारा सिर्जित उपन्यास ‘को अछूत ?’ का साथै द्वितीयक सामग्रीहरूको सहयोग लिइएको छ । पुस्तकालयमा गई विभिन्न विद्वान् समीक्षक÷ समालोचकहरूले लेखेका सन्दर्भसामग्रीहरूको अध्ययन गरेर प्राप्त तथ्य÷सूचनाका आधारमा वर्णन र विश्लेषण गरिएको छ । द्वितीयक सामग्रीका रूपमा विभिन्न पत्रपत्रिका, एवम् पुस्तकमा विभिन्न समयमा प्रकाशित पं. मुक्तिनाथका रचनासँग सम्बन्धित - सान्दर्भिक लेख–समालोचना एवम् विकिपिडिया, युट्युब तथा गुगलको उपयोग गरिएको छ । नेपाली शिक्षा ‘साहित्य सिद्धान्त र उत्तरवर्ती समालोचना’ विषयअन्तर्गत नेपाल खुला विश्वविद्यालयको मुडलमा राखिएको सामग्रीलाई पनि यस लेखका लागि तथ्य खोज्ने क्रममा उपयोग गरिएको छ ।

४.२ सैद्धान्तिक पर्याधार

सबाल्टर्नसम्बन्धी अवधारणाकोे उठान पहिलोपटक कार्ल माक्र्सले गरेका हुन् । माक्र्सले अर्थसँग जोडेर शासित वर्गलाई उत्पीडित वर्ग भनेका छन् । मार्क्ससँगै प्लेखानोभ, जर्ज लुकाज लगायतले वर्ग सङ्घर्षको सन्दर्भमा सीमान्तीय अध्ययनको पृष्ठभूमि तयार पारेका हुन् । यसो भए तापनि समसामयिक सन्दर्भमा सबाल्टर्नका उन्नायक, विस्तारक र केन्द्रीय विचारक इटालेली नवमार्क्सवादी एन्टोनियो ग्राम्सी (१८९१–९३७) हुन् । ग्राम्सीले जेल जीवनमा तयार पारेको कृति प्रिजन नोटबुक्समा प्रयोग गरेको सीमित अर्थले बिसौँ शताब्दीमा संस्कृति र साहित्यको अध्ययन गर्ने सिद्धान्तका रूपमा मान्यता पायो । ग्राम्सीले प्रभुता वा प्रभुत्व (हेजेमोनी) का सन्दर्भबाट सबाल्टर्नलाई हेरेका छन् (शर्मा, २०७०, पृ. ३१६) । ग्राम्सीका अनुसार प्रभुता वा शक्तिको प्रयोगका दुईवटा तह (राजनीतिक समाज र नागरिक समाज) का विभिन्न अङ्ग (न्यायालय, सेना, चर्च, शैक्षिक संस्था आदि) को प्रयोग शक्तिशाली सम्भ्रान्त वर्गले गर्दछ । यस प्रभुताको प्रयोग सबाल्टर्नले गर्न पाउँदैन, ऊ सम्भ्रान्त समूहद्वारा शासित हुन्छ । समाज परिवर्तनका लागि वैकल्पिक प्रभुता अर्थात् अर्गानिक बुद्धिजीवी स्थापित गर्न सङ्गठित हुनुपर्छ भन्ने ग्राम्सीको धारणा छ ।

सबाल्टर्न र प्रभुत्वसम्बन्धी ग्राम्सीद्वारा स्थापित यस सिद्धान्तको प्रभाव युरोपबाट अमेरिका हुँदै क्रमशः दक्षिण एसियामा पर्यो । रणजित गुहा लगायतका सबाल्टर्नवादीहरूद्वारा स्थापित सबाल्टर्न स्टडिज ग्रुप (सन् १९८२) ले यस अध्ययनलाई मौलिक रूप दिएर अगाडि बढायो । गुहाले ब्रिटिस र भारतीय इतिहासकारसँग मिलेर गरेको अध्ययन समूहले इतिहासको पुनर्व्याख्या गर्दै पश्चिमाहरूले तयार पारेको भारतीय इतिहास उपनिवेशवादी मानसिकताबाट ग्रसित भएको र भारतीय इतिहासकारहरूले तयार पारेको इतिहास पनि केही सम्भ्रान्तहरूका पक्षमा भएकाले इतिहास लेखिन बाँकी रहेको विचारसँगै सबाल्टर्नको खोजी गरेका छन् । गुहा नेतृत्वको समूहमा एरिक स्ट्रोक्स, डेभिड अर्नाेल्ड, ज्ञानेन्द्र पाण्डे, गायत्री स्पिभाक चव्रmवर्ती आदि रहेका छन् । गुहाले सबाल्टर्न माक्र्सले भने झैँ आर्थिक पक्षसँग मात्र सम्बन्धित नभई जात, लिङ्ग र संस्कृतिका कारण आउँछ भन्ने भिन्न र परिवर्तित धारणा राखेका छन् । सबाल्टर्नलाई देश, काल, परिस्थिति र बहुलवादी कोणबाट बुझ्नुपर्ने धारणा उनको छ ।

गुहाले सबाल्टर्नहरू निर्धा निमुखा हुन्; उनीहरूलाई बोल्न लगाउनु पर्छ भन्ने धारणा राख्छन् भने गायत्री स्पिभाकले सबाल्टर्न बोल्न सक्दैनन् भन्दै उनीहरूलाई चेतनशील बनाउने कुराप्रति विमति राख्छिन् (बराल, २०७३, पृ. १८२) । स्पिभाकले सबाल्टर्न स्टडिजलाई इतिहासको विनिर्माण भन्दै सबाल्टर्नलाई समाज र सामाजिक सम्बन्धमा नबाँधिएका अनकन्टार टापुका पात्र र समुदायका रूपमा व्याख्या गरेर भाषा, सङ्केत र भिन्नताको शून्यवादी संसारमा पु¥याएकी छन् । विनिर्माणवादी ज्याक डेरिडाको विनिर्माण, मिसेल फुकोको नवइतिहास जस्ता दर्शनले पनि नवकेन्द्रको स्थापना र इतिहासको पुनर्लेखनलाई जोड दिँदै सीमान्तीय अध्ययनलाई बल पु¥याएका छन् । अहिले सबाल्टर्नलाई उत्तरउपनिवेशवादी लेखनसित सम्बद्ध सांस्कृतिक अध्ययनका रूपमा पनि लिएको पाइन्छ ।

प्रस्तुत लेखमा पं. मुक्तिनाथको सङ्क्षिप्त परिचयका साथमा सीमान्तीय कोणबाट उनको ‘को अछूत ?’ उपन्यासको विश्लेषण गरिएको छ । सैद्धान्तिक पर्याधारमा सबाल्टर्नसम्बन्धी स्थापित मान्यताअनुरूप यस उपन्यासमा अभिव्यक्त उत्पीडित नारी र दलित चेतनाको अध्ययन गरिएको छ । हिन्दूहरूको जात व्यवस्थामा दलित र नारीमाथि केकस्तो भेदभाव, शोषण र दमन हुने गरेको छ भनेर अध्ययन–विश्लेषण गर्नका लागि सबाल्टर्न साहित्यसम्बन्धी अवधारणाको आधार लिइएको छ । प्रस्तुत उपन्यासलाई उपन्यासका तत्वहरूका आधारमा नभई सबाल्टर्न दृष्टिलाई आधार मानेर अध्ययन गरिएको छ ।

४.३ विश्लेषणको ढाँचा

प्रस्तुत लेखमा सङ्कलित तथ्यहरूका आधारमा ‘को अछूत ?’ उपन्यासको विश्लेषण गरिएको छ । सङ्कलित तथ्य एवम् विषयवस्तुको विश्लेषण वर्णनात्मक शैलीमा गरिएको छ, नेपाली समाजमा परम्परागत रूपमा आएको हिन्दू वर्ण व्यवस्थाका सापेक्षतामा यस उपन्यासको विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणका क्रममा विभिन्न उपशीर्षकहरूको योजना गरिएको छ ।

५. सीमाङ्कन

यस लेखमा उपन्यासका तत्वहरूका आधारमा नभई सबाल्टर्न कोणबाट ‘को अछूत ?’ उपन्यासको अध्ययन गरिएको छ । उपन्यासको संरचना पक्ष तथा औपन्यासिक कलाको अध्ययन–विश्लेषण गरिएको छैन । उपन्यासमा अभिव्यक्त नारी एवम् दलितहरूमाथिको दमन, जातीय भेदभाव, छुवाछूत, धर्मका नाउँमा गरिने शोषण र उत्पीडित वर्गको सङ्गठित एवम् प्रतिरोधी चेतनाको सीमान्तीय विश्लेषणमा मात्र यस अध्ययनलाई सीमित गरिएको छ ।

६. ‘को अछूत ?’मा अभिव्यक्त सबाल्टर्न चेतना

‘को अछूत ?’ उपन्यासमा को छूत हो र को अछूत हो भन्ने प्रश्को उत्तर खोजिएको छ । उपन्यासको विषयवस्तु जातीयता र महिलामाथि गरिने यौन हिंसामा आधारित छ । हिन्दू संस्कृतिमा रहेको छुवाछूत प्रथाले हाम्रो समाजलाई दुर्गन्धित बनाएको हो भन्ने विषयलाई उपन्यासमा विभिन्न उदाहरणहरूका साथ प्रस्तुत गरिएको छ । उपन्यासले महिलालाई भोग्या ठान्ने र उनीहरूलाई मानिसको दर्जा दिन पनि गाह्रो मान्ने पितृसत्तात्मक सोच बोकेका ठालुहरूको इज्जतमा प्रश्नचिन्ह उठाएको छ । पुरानो खराब संस्कारको ध्वंस गरेपछि मात्रै जातीय विभेद हट्छ अर्थात् सुन्दर समाज निर्माण हुन्छ भन्ने विषयलाई उपन्यासमा जोडतोडका साथ उठाइएको छ । दलित उत्थान र महिला चेतनाका लागि सामाजिक कुरूपताका विरूद्धमा रचित यस यस उपन्यासमा अभिव्यक्त सबाल्टर्न चेतनालाई निम्न उपशीर्षकमा राखेर अध्ययन–विश्लेषण गरिएको छः

६.१ नारी उत्पीडनको विरोध

प्रस्तुत उपन्यासकी नायिका माया हो । उपन्यासकारले मायालाई प्रमुख पात्र बनाएर उपन्यासको सिर्जना गर्नु भनेको नारीप्रति सम्मान गर्नु हो । माया आफू उच्च खानदानमा जन्मेकी हो । ऊ बलात्कारमा परेर जातिच्युत अर्थात अछूत गराइएका नारीहरूलाई न्याय दिलाउनका लागि अहोरात्र खटेकी छ । मायाको ससुरा देवेन्द्रले नारीलाई दमन नै गर्नुपर्छ, नारीहरू पुरुषकै अधीनमा रहनुपर्छ भन्दै पुरुषसत्ताको वकालत गरेको छ । मायाको श्रीमान् अर्थात् आफ्नो छोरो खगेन्द्रलाई सम्झाउँदै उसले भनेको छः

तिमीले मायालाई हदभन्दा बढ्ता स्वतन्त्रता दिइरहेको बुझेको छु, प्रजातन्त्र आयो भन्दैमा स्वास्नीमानिसलाई र स्वतन्त्रताको अग्लो चोटिमा पु¥याइहाल्न हुँदैन खगेन्द्र, तिमीहरूलाई प्रकृतिले नै सन्देश दिइरहेको छ– तिमीहरू आफ्ना गतिरोधक सन्तान र अङ्गप्रत्यङ्गहरू लिएर घरमै बस । यदि तिनीहरूलाई आर्थिक क्षेत्र र सामाजिक क्षेत्रमा समान अधिकार दिने हो भने आजसम्म हामीले अनुभव गरेको दाम्पत्य जीवनको स्नेह, पितापुत्रको सरस सम्बन्ध सब बिलाएर जान्छन् र मुलुकमा ज्यादै ठूलो अव्यवस्था आउनुसिवाय अरु कुरा हुनै सक्तैन, स्त्री जातिको बौद्धिक क्षेत्र पुरुष जातिको आमोदप्रमोद, सन्तानोत्पादन र गृह संरक्षणभन्दा परको हुनु हुँदैन । माया ज्यादै पर पुगिसकेकी जस्ती छन् (पृ.३०) ।

यहाँ देवेन्द्रको प्रभुसत्ता बोलेको छ । उसले हिन्दू समाजका प्रवर्तक तुलसीदासको ‘ढोल, गँवार, शूद्र पशुनारी ये सब ताडनके अधिकारी’ भन्ने भनाइलाई अङ्गीकार गरेको छ । उसको विचार नारीलाई स्वतन्त्रता दिएमा परिवार मात्र नभई समाज नै भाँडिन्छ भन्ने रहेको छ । देवेन्द्र यस्तो व्यभिचारी पात्र हो जसले आफ्नै भान्छेबाहुनी स्यानी बज्यैलाई गर्भिणी बनाएर लखेटेको छ । यति मात्र नभई उसले आफ्नै सहोदर बहिनीलाई करणी गरेर आफ्नो गर्भ बोकेकी बहिनीलाई अन्यत्रै बिहे गरेर पठाएको छ र आफू पानीमाथिको आभानो बनेको छ । उसले महिलालाई पुरुषको काम वासना पूर्ति गर्ने साधनका रुपमा हेर्दछ । उपन्यासमा महिलामाथिको यौनशोषणलाई विभिन्न दृष्टान्तहरूका साथ प्रस्तुत गरिएको छ भन्दै समालोचक छ कृष्णचन्द्रसिंह प्रधान लेख्छन्– “तथाकथित ठुलाबडाको यौनव्यभिचार एवम् अमानुषिक व्यवहारबाट जातिच्युत गरिएका नारीहरूप्रति यस उपन्यासमा सहानुभूति दर्साइएको छ र तिनीहरूको उद्धारका निम्ति क्रान्तिकारी दृष्टान्त प्रस्तुत गरिएको छ ।” (प्रधान, २०५२, पृ. ८०)

पुरातन हिन्दू समाज पतिव्रता धर्मका बारेमा उपदेश दिएर थाकेको छैन । यस समाजले पत्नीलाई पतिको अर्धाङ्गिनी मान्दछ । आधा अङ्ग मानिएको पति मर्दा पत्नी पतिको लाससँगै जल्नुपर्ने तर उस्तै आधा अङ्ग मानिएकी पत्नी मर्दा पत्नीसँगै पतिले चितामा जल्नु नपर्ने जस्ता कुसंस्कारहरू नारीमाथि गरिएका अत्याचार हुन् भन्दै उपन्यासमा नारी स्वतन्त्रताको वकालत गरिएको छ । श्रमजजीवी, विधवा र दलित महिलाहरू अन्य महिलाका तुलनामा अझ बढी उत्पीडनमा परेको वास्तविकतालाई विभिन्न साक्ष्यहरूका साथ उपन्यासमा प्रस्तुत गरिएको छ । एक जना वृद्ध बौद्ध भिक्षुको प्रश्नमा नारी समानताका पक्षमा प्रज्ञा पारमिता भन्छे– “स्त्रीहरू पुरुषका साथ बराबर काम गर्न सक्छन् । पुरुष र स्त्रीको मुख र पेटको नाप पनि बराबर छ, त्यसैले ज्याला बराबर हुनुपर्छ” (पृ. ४३) । हाम्रो समाजमा समान काममा पनि समान ज्याला छैन । उही काममा पुरुषहरूले बढी ज्याला पाउँछन् भने नारीले कम पाउँछन् । पुरुषले गर्ने महिलाप्रतिको व्यवहारमा अर्की नारी पात्र त्रिपिटिकाका अनुसार समाजले नारीलाई मानिस नै सम्झेको छैन र मानिसको दर्जा दिएको छैन, तिनीहरूलाई पुरुषले घरेलु पशुसरह केवल कामको चिज मात्र सम्झेका छन् । नारीहरू रातोदिन पुरुष वर्गको उपयोगितामा मात्र छन् (पृ.४५) । यो लैङ्गिक विभेद हो, नारीमाथिको शोषण हो । आफूहरूमाथिको यस किसिमको शोषणका बारेमा बुझ्दै गएपछि दलनमा परेका नारीहरूमा सङ्गठित चेतनाको बिजारोपण भएको छ । उपन्यासमा नारीमाथि हुने गरेका यौनहिंसा, अन्याय–अत्याचार एवम् शोषणको विरोध छ ।

६.२ वर्ण, छुवाछूत र आर्य एवम् अनार्यका बिचमा हुने भेदभावको विरोध

प्रस्तुत उपन्यासमा मान्छेलाई श्रेणीमा विभाजन गर्ने हिन्दू वर्ण व्यवस्थाको विरोध गरिएको छ । नश्लका आधारमा गरिने शोषण र अनार्यप्रतिको दमनका विरुद्धमा यहाँ आवाज उठाइएको छ । आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक दृष्टिले उत्पीडनमा परेको दलित समुदायलाई हिन्दूहरूको इतिहासले अछूत भनेको छ । यो हाम्रो समाजमा चलिआएको कुसंस्कार हो । समीक्षक रविलाल अधिकारीका अनुसार “हिन्दू संस्कृतिमा रहेको छुवाछूत प्रथाले हाम्रो देशको उन्नति–प्रगतिमा बाधा पुर्याएको छ भन्ने धारणा उपन्यासकारले राष्ट्रिय चिन्तनका परिवेशमा राखेका छन्” (अधिकारी, २०६५, पृ. १९९) । सीमान्त वर्ग अधीनस्थ र पराधीन वर्गका रुपमा छन् । दलितहरूको समुदाय श्रममा विश्वास गर्छ । श्रमिक वर्गको कुनै कदर नहुने समाजमा सीमान्त वर्गका दलितहरू सम्भ्रान्तहरूकै अधीनमा रहेका छन् । समाजलाई सभ्य तथा विकसित तुल्याउनमा दलितहरूको भूमिका महत्वपूर्ण रहेको सङ्केत गर्दै रणेन्द्र बरालीले ‘दलित अनलाइन’मा लेखेका छन्– “आदिकालदेखिकै सिर्जनशील यो समुदायः कला, सीप र श्रमका धनी भएर पनि हजारौं वर्षदेखि जातीय भेदभाव, छुवाछूत, बहिष्करण र बञ्चितीकरण भोग्दै आएको छ । वर्णाश्रम व्यवस्थाको आधारमा तल्लो श्रेणीमा पर्गेलिएको दलित समुदायले राष्ट्रिय परिवर्तनको हरेक पहलुमा अमूल्य योगदान पु¥याएको इतिहास साक्षी छ” (बराली, २०७६) । दलित समुदायले समाज र राष्ट्रको उननतिमा महत्वपूर्ण योगदान पु¥याएको छ तर पनि आजपर्यन्त हरेक क्षेत्रमा दलितहरूलाई पछाडि नै पारिएको अवस्था जगजाहेर छ । उपन्यासमा अनार्यहरूलाई अपमान गर्दै देवेन्द्र भन्छ– “ऐतिहासिक दृष्टिले पनि ती अछूतहरू आर्यहरूद्वारा जितिएका दक्षिणनिवासी अनार्य जाति हुन् र तिनीहरूलार्ई हामी आर्यहरूले दासत्वको दर्जामा राखेर अछूत मानिएको हो, यसैले पनि उनीहरू हामीहरूसँग समानताको व्यवहारमा लायक छैनन्” (पृ. ४६) । देवेन्द्रले अनार्यहरूले आर्यकै सेवा गरेर जीवन बिताउनु पर्छ भन्ने धारणा राखेको छ । अनार्यहरूलाई कुनै पनि हालतमा माथि उठ्न दिनु हुँदैन भन्ने उसको सोचाइ रहेको छ ।

देवेन्द्र दलितहरू सङ्गठित नहोऊन् भन्ने चाहन्छ । पण्डितहरूले पनि अछ्रूत अनार्यप्रति घृणा व्यक्त गरेका छन् तर यसका ठिक विपरीत प्रज्ञा पारमिताले भनेकी छ–

पृथ्वीमा मानिस मात्र एक जात हो, छूत अछूत भन्ने प्रश्नै छैन, जुन भगवान्को वैभव– पृथ्वी, जल, तेज, वायु, आकाशबाट हरेक मानवको सृष्टि भएको छ त अछूतहरूमा अछूत तत्वहरू र छूतहरूमा पवित्र तत्वहरू राखेर भगवान्ले सृष्टि गरेका छैनन् त्यसैले यो पुँजीवादी मुलुकमा एउटा दलित वर्ग बनाएर त्यसको शोषणद्वारा आफ्नो स्वार्थ हासिल गर्ने पण्डित, पुरोहित, ज्ञानी, शास्त्री, राजामहाराजा, धनी मानिसहरूको ठूलो दाउपेच मात्र हो । ‘मानिस मानिससँग छुइँदैन ।’ (पृ.४६)

कतिपय उपल्लो जात भनिने वर्गका नारीहरू अछूतसँगको यौन समागमबाट सन्तान उत्पादन गरिरहेका छन् र ती सन्तान जातिच्युत नभएको अवस्था छ अर्थात् ती उपल्लो वर्गमै रहेका छन् भने जातीय विभेद र छूवाछूतको परम्परा किन हट्न सकेको छैन भन्दै मायाले प्रवचन दिएकी छ । उपन्यासको अर्को सबाल्टर्न चरित्र गगने सार्कीले पनि उपल्लो जातले तल्लो जात बनाएर शोषण गर्ने बाहुन लगायतका उच्च जातको उछितो काढेको छ र उसले सीमान्त वर्गको सङ्गठित चेतना विना सबाल्टर्न वर्गको मुक्ति नहुने कुरामा जोड दिएको छ ।

६.३ धार्मिक आडम्बरमा गरिने श्रम शोषणको विरोध

नेपाली समाजलाई धार्मिक अन्धविश्वासले यतिसम्म गाँजेको छ कि अधिकांश मानिसका मनमा स्वर्ग र नर्कको सन्त्रास छ । रुढिग्रस्त धार्मिक संस्कार फिजाउँदै यो सृष्टि ईश्वरीय देन हो भन्नेहरू समाजविकासका अवरोधक हुन् । सबाल्टर्नहरू अशिक्षित छन्, उनीहरूको बौद्धिक चेतनालाई कमजोर तुल्याइएको छ तर जो आफूलाई बौद्धिक, पण्डित वा शासक ठान्छन् तिनै कथित उच्च जातका मानिसले नै काल्पनिक रूपमा ईश्वर खडा गरेर सीमान्त वर्गलाई दबाएका छन्, सीमान्त वर्गमाथि विभिन्न किसिमका शोषण गरेका छन् । प्राचीन सत्यलाई आधार मानेर लेखिएको वेदमा पाप–पुण्य, स्वर्ग–नर्क, धनी–गरिब, छूत–अछूत आदिका बारेमा केही पाइँदैन तर पछिल्लो समयमा आएर लेखिएका पुराणमा धनीमानी, सम्पन्न वर्ग र शासकहरूको मात्रै स्तुतिगान गरिएको छ । दलित, गरिब एवम् परिश्रमी वर्गलाई त्यहाँ कुनै सम्मान दिइएको पाइँदैन । पुराणले पूर्वजन्मको पाप–पुण्यको असरले धनी र गरिब भइने कुराको उल्लेख गर्दै गरिब तथा दलितहरूको पसिनाको शोषण गर्ने तरिका बताएको छ ।

समाजमा ईश्वरको नामको आड लिएर सीमान्त तथा विपन्न वर्गमाथि शोषण गरिएको छ । उपन्यासमा नायिका माया भन्छे– “धर्म, पुराण, ईश्वर यी सब पुँजपितिका कल्पित किल्ला हुन् र त्यस्तो ईश्वर, धर्म, स्वर्ग इत्यादिलाई जहाँ मान्यता दिइन्छ त्यहाँ शोषण, परतन्त्रता, फुट, बैसम्य यी चिजहरू कायम रहिरहन्छन् र सयमा एक÷दुई व्यक्तिले साराका सारा अरुको रगत चुसिरहेका हुन्छन्” (पृ. ६६) । जसको परिश्रम उसको धन किन हुन सकेको छैन भन्ने विषयमा विचार पु¥याउँदा के बुझ्न सकिन्छ भने धनीहरूले आफ्नो स्वार्थसिद्धिका निमित्त ईश्वरको सिर्जना गरेका हुनाले ईश्वरले धनीमानीहरूकै सेवा गर्नु स्वाभाविक छ, त्यस्ता ईश्वरले गरिब परिश्रमीहरूको भलो चिताउने कुरै हुँदैन । समीक्षक रणेन्द्र बराली लेख्छन्– “उपन्यासकारले मानवजातिको उत्पत्ति र विकासप्रक्रिया प्रकृतिसम्मत भएको हुनाले ईश्वरको सृष्टि भनेर पुराणादि धार्मिक विधि बनाएर झुटको खेती गर्ने काम जो छ, सबै श्रमजीवीलाई धनीले ठग्ने प्रपन्च मात्र हो भनेर ठोकुवा गरेका छन्” (बराली, २०७४, पृ.१२) । उपन्यासको पात्र गगने सार्कीका विचारमा पनि ईश्वरले मानिसलाई धनी र गरिब, छूत र अछूत बनाएका होइनन् । यो त ठालुहरूले आफूहरूको हितार्थ सिर्जना गरेको विभेद हो (पृ.५७) । गगने सार्की जसलाई दलित भएकै कारण पुराण वाचन भएको ठाउँमा पण्डित एवम् उच्च जात भनिनेहरूद्वारा फूलप्रसाद दिइएको छैन । गगनेलाई त्यस समाजका धर्मभीरुहरूले अपमान गरेका छन् ।

ईश्वरका नाममा आफ्नो श्रमको शोषण भएकामा दलितहरू क्रमशः सचेत बनेका छन् । दलित श्रमजीवी पात्र लोहावीरे कामीले भनेको छ– “मेरो घन अब फलाम पिट्दैन, पिट्दछ त्यही ईश्वरलाई जो पुँजीपतिहरूको कल्पनाको आडमा सजीव भई उभिएर हामीहरूको रगतमासु शोसिरहेको छ (पृ.६१) ।” मोदनाथ प्रश्रित यसै उपन्यासको भूमिकामा लेख्छन्– “यस उपन्यासमा काल्पनिक देवीदेवता, ईश्वर–ब्रह्म आदिको धज्जी उडाइएको छ । जातीय पवित्रताको ढोंग रचेर भित्रभित्र समाजलाई कुहिगन्धे बनाइरहेका पण्डितहरूको आन्द्राभुँडी केलाइएको छ । मातृजातिलाई देवी, दुर्गा आदि भन्दै पूजाको स्वाङ देखाएर व्यवहारमा दासी र भोग्या बनाइराख्ने पुरुषसत्ताको दोहोलो काढिएको छ” (प्रश्रित, २०६५, पृ.च) । उपन्यासमा शक्तिशाली वर्गले समाजमा फिँजाएको धार्मिक अन्धताको विरोध गरिएको छ । ईश्वरको आड लिएर दलित, उत्पीडितहरूमाथि गरिएको आर्थिक, सामाजिक–सांस्कृतिक शोषणको विरोध गर्दै धर्मका नाममा भएका कुसंस्कारहरूका विरुद्ध चेतना जगाउने काम गरिएको छ ।

६.४ सीमान्त वर्गको साङ्गठनिक एवम् प्रतिरोधी चेतना

प्रस्तुत उपन्यासमा आफ्नो अधिकार प्राप्तिका लागि सीमान्त वर्गले साङ्गठनिक रूपमा विद्रोह गर्नुपर्ने आवश्यकतालाई औँल्याइएको छ । यस उपन्यासका यौनहिंसामा परेका उत्पीडित नारी र सम्पूर्ण दलित पात्रहरू सङ्गठित भएर दमनकारीहरूका विरुद्धमा लड्ने प्रण गरेका छन् । समीक्षक यमबहादुर पौडेल क्षेत्री लेख्छन्– “यस उपन्यासका पात्रहरू कष्टमय अवस्थाबाट मुक्ति प्राप्त गर्न सङ्घर्षशील छन् । अधिक पात्रहरू आर्थिक उपार्जन, दलित मुक्ति र स्वतन्त्रताका लागि प्रण गर्दछन् । सोही प्रणअनुरुप आफ्नो कार्यसिद्धिका लागि अनेक कार्यक्रमहरूमा ती क्रियाशील रहेका छन्” (पौडेल क्षेत्री, २०६२, पृ.३२०) । बालविधवा भई काठमाडौं आएर दरबारमा भान्छे बाहुनीका रूपमा काम गर्ने क्रममा दरबारिया मालिकको बलात्कारबाट गर्भ बोकेर जातिच्युतमा पारिएकी इन्दिराको विगत थाहा पाएपछि मायाले यौनहिंसाबाट उत्पीडित नारीहरूको उद्धारका लागि सङ्घर्ष समिति बनाउने निर्णय गरेकी छ (पृ.२४) । दमनकारी शक्तिसँग एक्लै लडेर हुँदैन, त्यसका लागि उत्पीडितहरू एकजुट हुनुपर्छ भन्ने मायाको धारणा रहेको छ ।

सामन्ती जमिनवालाको खेत जोत्ने गरिब दलितहरू भेकभोकै मर्नुपर्ने राष्ट्रमा गरिब किसान र मजदुरहरूको इज्जत गरिएको पाइँदैन । गगने सार्की दलितहरू सङ्गठित हुनुपर्ने कुरामा जोड दिन्छ । उसमा प्रतिरोधी चेतनाको विकास यस रूपमा भएको छ–

त्यही राष्ट्र नरक हो, त्यहाँको राजा खास यमराज हो, अरु सरकारी उच्च पदाधिकारीहरू यमदूत हुन् । त्यस्तो अमानवीय व्यवस्थालाई सङ्गठित भएर उल्टाउन नसक्ने त्यस राष्ट्रका प्रजा पापी हुन्, अपराधी हुन् । यस अर्थमा हामी गरिब वर्गमाथि अत्याचार गर्ने यमराज शोषक धनी सामन्ती वर्गलाई दबाऔँ । हामी काम गरौँ, काम नगर्नेलाई ठटाऔँ (पृ.५७) ।

उपन्यासकी नायिका मायाले दमनकारी शक्तिका विरुद्ध उत्पीडित महिला, गरिब, दलित एवम् जनजातिले सङ्गठित विद्रोह गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै भनेकी छ–

तपाइँहरू कुनै जातिपाातिको भेदभाव नराखीकन सबै एक गरिब जात बनेर गरिब वर्गको हित गर्ने सरकार खडा गर्न आफ्नो वर्गीय सङ्गठन गर्नुहोस्, धनी र सामन्ती जमिनदारहरूको मुख नताक्नुहोस्, आफूले जोत्नुभएको जमीनमा आफै कब्जा गर्न अघि बढ्नुहोस्, आफूले बनाएको घरमा आफै बस्न आँट गर्नुहोस्, धनीलाई बङ्गला बनाइदिएर आफू चुहुने झुपडीमा नबस्नुहोस् (पृ.६९) ।

माया र गगने सार्कीले आवाजविहीनहरूको आवाज बोलेका छन् । मायाले समय समयमा श्रमिक, दलित, महिला, जनजातिलगायत उत्पीडनमा परेकाहरूलाई जम्मा गरेर समानताको संसार निर्माणका लागि एकजुट भई दमन गर्नेहरूका विरुद्ध प्रतिकारमा उत्रनका लागि उत्साहित गरेकी छ । गगने सार्कीले पनि कल्पित धर्मको आडमा आफूहरूलाई तल्लो जात बनाएर शोषण चलाउने बाहुन, क्षेत्री लगायतका उच्च जातको उछितो काढ्न अछूत वर्ग सबै एक हुनुपर्ने कुरामा जोड दिएको छ (पृ.७८) । माया र गगनेले उत्पीडितहरू सबैमा प्रतिरोधी चेतनाको बिजारोपण गरेका छन् ।

मुलुकमा वर्गरहित समाज खडा नभएसम्म हामी यो सङ्गठनलाई फितलो हुन दिने छैनौँ (पृ.८३) भन्दै उत्पीडितहरूले एउटै स्वरमा दलित एवम् शोषित वर्गको सङ्गठन बलियो बनाएर अन्यायीहरूका विरुद्ध लड्ने प्रण गरेका छन् । उत्पीडितहरूले जित हासिल गरेको सङ्केतका साथ उपन्यासको अन्त्य भएको छ ।

७. उपसंहार

पं. मुक्तिनाथ शर्मा धार्मिक अन्धताका विरुद्धमा कलम चलाउने स्रष्टा हुन् । यिनको ‘को अछूत ?’ सीमान्त वर्गको मुक्तिको चाहनामा सिर्जित उपन्यास हो । नेपाली समाजमै हेर्ने हो भने पनि समाजविकासको इतिहासमा विशेष योगदान पु¥याउँदै आएका दलित, जनजाति, महिला लगायतका उत्पीडित वर्गलाई हजारौँ वर्ष पहिलेदेखि भेदभावमा पारिएको छ । जसको श्रमका कारण सम्पन्न वर्गको सत्ता निर्माण भएको छ त्यही सत्ताले तिनै श्रमिकहरूको पसिनामा मोजमस्ती गरेको छ । कला, सीप तथा श्रमका धनी दलितहरू राज्य संयन्त्रका हरेक क्षेत्रमा पछाडि पारिएका छन् । वर्ण विभाजनअनुरुप विभिन्न जातजातिहरू बनाएर मान्छे मान्छेका बिचमा छुवाछूतको कुप्रथा चलाइएको छ । सत्ताको आडमा शक्तिशाली मान्छेहरूले मान्छेलाई नै जातिच्युत र बहिष्कार गरेका छन् । संविधान तथा कानुनमा दलितका हकहितका बारेमा उल्लेख गरिए पनि ती कानुनहरू सम्पूर्ण रुपमा समाजमा लागू हुन सकेको देखिँदैन । आजसम्म पनि शासन चलाउने सत्ता वर्गीय शक्तिले नारी एवम् जनजातिहरूलाई उत्पीडनबाट पूर्ण रूपमा मुक्त गराउन सकेको छैन । लैङ्गिक तथा जातीय विभेदरहित मुक्त समाजको स्थापना भएको छैन । श्रमिक, मजदुर तथा किसानहरूले राष्ट्रिय उत्पादनमा समान उपभोग गर्न पाएका छैनन् । हिन्दूहरूका पौराणिक ग्रन्थद्वारा सिर्जित धार्मिक अन्धतालाई अँगालेर श्रमजीवी दलित एवम् नारीहरूमाथि आफूलाई उच्च जातका भन्न मन पराउनेहरूले विभिन्न किसिमका शोषण गरेका छन् । राज्यसत्ताले पनि धनीमानी तथा सम्पन्न वर्गकै पक्षपोषण गरेको छ । यस उपन्यासमा उपन्यासकारले सीमान्त वर्गका दुश्मनहरूप्रति घृणा व्यक्त गरेका छन् । औपन्यासिक कला तथा संरचनाका दृष्टिले उपन्यास निकै कमजोर छ तर सीमान्त वर्गमा प्रतिरोधी चेतना विकास गराउनमा उपन्यासकार सफल छन् । धार्मिक अन्धतामाथि उपन्यासमा दह्रो प्रहार गरिएको छ । बलात्कृत महिला एवम् दलनमा पारिएका जातिहरूको पक्ष लिएर समाजका कथित ठुलाबडाहरूका कर्तुत देखाउँदै तिनीहरूको भण्डाफोर गरिएको छ । उपन्यासमा आर्य र अनार्य तथा वर्णका आधारमा हुने विभेदका साथै धर्मको आडमा गरिने शोषणको विरोध गरिएको छ । यसमा समानतामा आधारित सभ्य समाजको निर्माण गर्ने चाहना अभिव्यक्त छ । मुख्य कुरा यस उपन्यासमा उत्पीडित महिला, जनजाति, दलित अर्थात् सीमान्त वर्गमा साङ्गठनिक एवम् प्रतिरोधी चेतनाको निर्माण गरिएको छ ।

सन्दर्भ सूची

अधिकारी, रविलाल (२०६५). मुक्तिनाथको औपन्यासिकता.पोखरेली समालोचना. सम्पा. घनश्याम ढकाल, डा. कृष्णराज अधिकारी र नारायण मरासिनी, पोखराः गण्डकी साहित्य सङ्गम, पृ.१९३–२०४ ।

पौडेल क्षेत्री, यमबहादुर (२०६२). यथार्थताको कसीमा को अछूत ?.यथार्थवादी नेपाली समालोचना. सम्पा. घनश्याम ढकाल, पोखराः गण्डकी साहित्य सङ्गम, पृ.३११–३२२ ।

प्रधान, कृष्णचन्द्रसिंह (२०५२). नेपाली उपन्यास र उपन्यासकार. ललितपुरः साझा प्रकाशन ।

प्रश्रित, मोदनाथ (२०६५). फैलिँदै जाओस् मुक्तिनाथको मुक्त चिन्तन (भूमिका). को अछूत ?. (दो.सं.), पोखरा ः पं. मुक्तिनाथ स्मृति प्रतिष्ठान, पृ.च ।

बराली, रणेन्द्र (२०७४). दलितलाई हेर्ने दृष्टिमा फूल र काँढा. काठमाडौंः नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान ।

बराली, रणेन्द्र (२०७६). किन अपरिहार्य छ दलित साहित्य ?.१४ मङ्सिर, शनिबार १७;४६, http://dalitonline.com/archives/6516

बराल, ऋषिराज (२०७३). मार्क्सवाद र सबाल्टर्न अध्ययन. काठमाडौँः साझा प्रकाशन ।

शर्मा, पं. मुक्तिनाथ (२०६५). को अछूत ?. (दो.सं.), पोखराः पं. मुक्तिनाथ स्मृति प्रतिष्ठान ।

शर्मा, मोहनराज (२०७०). अवरजन अध्ययन र साहित्य. भृकुटी. सम्पा. लिखत पाण्डे र अन्य, भाग १९. असार, पृ. ३१५–३२५ ।


हालः पोखरा– १७, बिरौटा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।