18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रकृतिभित्रको बिशिष्टतासंग साक्षात्कार हुन पाउँदा

नियात्रा रेजिना गौतम April 2, 2023, 8:21 pm
रेजिना गौतम
रेजिना गौतम

नास्तिक होइन म । आस्तिक भएपनि ढुङ्गा ढोगेर भगवान प्राप्त हुन्छन् र मनोकामना पूरा हुन्छ भन्ने कुरामा कहिले विश्वास जागेन । कार्यसिद्धि र मनोकांक्षा पूरा गर्न कर्म नै गर्नुपर्छ भन्ने मानसिताले गहिरो गरी छाप पारेको छ । तर, कहिले काँही त्यहि आस्था बोकेका ठाउँले डोर्याएर पुगेका ठाउँहरु हेर्दा बेग्लै आनन्दको अनुभूति हुन्छ । नजिकै भएर पनि अहिलेसम्म नपुगेको ठाउँ पुग्दा त्यही अनुभूति भयो । नेपालको हावापानी अनि पहाडसंग जोडिएका तराईका धेरै जिल्ला मध्ये झापाको एउटा विशेषता पनि हो । सौन्दर्य र सौभाग्य पनि हो ।
प्रचण्ड गर्मीको बेला शितलताको महशुस गर्नका लागि एक घण्टाको यात्रा नगरी त्यस्तो ठाउँमा पुगिन्छ जहाँ बाह्रैमास न्यानो कपडा लगाउन पाइन्छ । शायद उनीहरुलाई पनि जाडो अचाक्ली बढेको बेला त्यस्र्तै लाग्दो हो ! आधा घण्टाको बाटो कट्दा न्यानो अनुभव हुन्छ । प्राकृतिक रुपमै यस्तो संयोजन शायद कुनै पनि देशमा नहोला ! यहाँ म कुनै नयाँ ठाउँका बारेमा उल्लेख गर्न खोजिरहेको छैन । अधिकांस पुगेकै र देखेकै ठाउँ हो । यद्यपी मौसमका कारण सबैलाई क्षण क्षणको परिवर्तित वातावरणसंग प्रत्यक्ष साक्षात्कार हुने अवसर जुर्दैन । जसले रोमाञ्चित अनुभव गराओस् । अनि प्रकृतिको अनुपम उपहारसंग मितेरी गाँस्न सकोस् ।
चैतको महिना झापामा प्रचण्ड गर्मी हुने सिजन भएपनि यो वर्ष मौसमले अनि अनौठो अनुभूति गराई रहेको थियो र छ । विगत दुई÷तीनदिन यताको मौसम त अझ रोमाञ्चित लाग्थ्यो । बिहान, सुईटर÷ज्याकेट, दिउसो सर्ट अपरान्ह्र रेनकोट अनि बेलुका हल्का ब्ल्याङ्केट । चैतको बेला झापामा यस्तो भएपछि ! आहा ! कति रमाइलो । चैत ८ गते त्यो भन्दा अलि भिन्न भयो । साँच्चै चैतको प्रचण्ड गर्मीको अनुभव आजैदेखि शुरु भएछ ! जस्तो आभास हुन्थ्यो । ११ बजेतिर बिर्तामोडबाट पूर्वतर्फ हुँइकियौं । यात्रा कन्यामसम्मको थियो । बुधबारको दिन भएपछि पूजा–आजा पनि प्राथमिकतामा थिएन । यद्यपी नयाँ दुलाहा दुलही लिएर हिंडेका अभिभावकले बाटामा पर्ने देवीमाताको बासस्थान रहेको भनेर चर्चामा रहेका स्थानमा दर्शन गर्न छुटाएनन् । गाडीको अग्रभागमा भएपछि मुख्य योजना के हो भनेर सोध्नु धर्म सम्झिए । फलस्वरुप पाउँ पाथीभरा मन्दिर अगाडी गाडी पुग्न लागेपछि आशय बुझें । दर्शन गरेर जाने भनेपछि एकैछिन त्यतैतिर लागियो । पाउँ पाथीभराको परिक्रमा सक्यौं । मन्दिरको परिक्रमा गर्दा गदैं मन्दिरद्वारा आयोजित पुराण उद्घाटन पूर्व नौमती बाजासहितको कलश यात्राले एक किसिमको उर्जा भरियो । भिड बढ्दै जाँदा हामी भने बाहिर निस्कियौं । घामले राप बढाउँदै जाँदा हाम्रो रोजाई आइसक्रिम र उखुको जुस बन्यो । छेवैमा ग्राहक कुरिरहेका आइसक्रिम तथा उखुको जुस ब्यापारीका लागि बोहनी (पहिलो) ग्राहक बन्यौ । बोहनीको ग्राहक भएसंगै व्यापारीकोे धन्यवादको पात्र बन्यौ र अगाडिको यात्रातर्फ लम्कियौं ।
चारआलीबाट उकालो लाग्दै गर्दा मौसम परिवर्तनको संकेत देखिइसकेको थियो । आकाशबाट काला बादलहरु तलतल झर्दैथिए । हामी माथितिर चढ्दै थियौं । यात्रामा बुधबारेबाट एक सदस्य थपिएपछि यो यात्रामा सहभागी हुनेको कोटा फुल भएको थियो । हामी जति उकालोतर्फ अघि बढ्छौ, निलो आकास ढाकेर मडारिएको कालो बादलले झापा र इलामको सिमानामै झपक्कै छोप्यो । जोरकलशमा फोटो खिच्ने टोलीको इच्छा अधुरै रह्यो बर्षातका कारण ।
हामी निरन्तर उकालिइरह्यौं । केही क्षणमै कुटी डाँडा पुग्यौं । झण्डीडाँडा र पाथीभरालाई जोड्ने हाँसपोखरीको छेवैमा गाडी रोकिंदा पानी पर्न छोडिसकेको थियो । चिसो स्पर्शले शरीरमा एकप्रकारको कम्प भइरहेको थियो । हाँसपोखरीको छेवैबाट सिढी चढ्दै चढ्दै पाथीभरा देवीको मन्दिरतर्फ उकालियौं । हामी जति उकालो चढ्छौं, चिसोले उत्तिनै छोइरहेको थियो । लेकाली भेगमा हुने बुट्यान र विभिन्न खाले रुखहरु । क्षण भरमा बादल पानीले छोप्दा दिउँसै अध्यारो भएझैं लाग्थ्यो । फेरी एकैछिनमा पानी सर्लक्क रहँदा उज्यालो । उकालो हिड्दा हिड्दै श्वास–प्रश्वासमा हुने उतार–चढाव र पसिना । चिटचिट पसिनालाई क्षणभरमा परेको सिमसिम पानीको स्पर्श वर्णन गर्नै कठिन ।
उकालो चढ्दै गर्दा सम्झनाका प्रमाणहरु पनि संकलन गर्नु नै थियो । तसर्थ पानी रहेको मौका छोपेर बेला–बेला मौसम र म मोवायलको डिभाइस देखाउँथ्यौं । यो यात्रा हामी सबैका लागि नयाँ थियो । त्यसैले बाटो कति लामो छ भन्ने कुरामा अनभिज्ञ हुनु स्वाभाविकै थियो । पानी दर्किन थालेपछि ओत खोज्यौं । तल्लो टहरोको छेउमा पुग्दा अलि सानो थियो पानी रहन्छ होला जस्तो लाग्दै अघि बढ्यौं । अर्कोमा टहरामा पुग्दा छिटो हिड्नेहरु नै हल्का भिजिसकेका थियौं ।
टोलीको पछिल्लो व्यक्ति पुग्दा पानी कम भइसकेको थियो । अलि अलि उज्यालो पनि हुँदैथियो । दिनको १ बजिसकेको थियो । पछिल्लो टोली पुगेर ओत लाग्दै गर्दा पानी कम भएको मौका छोपेर हामी अगाडि बढ्यौ । करिवन ४ मिनेट हिंडेपछि आरीले खन्याएझैं पानीले भिजाउँदा पनि अझै बाटो कति छ ? भन्ने लाग्दै दर्के झरीमा उकालोमा दौडिदाको क्षण लाग्यो देवीदेवता सजिला ठाउँमा नबस्दा रहेछन् । अलि छिटो हिड्ने गाडी चालक दाई र म मन्दिर प्रवेश गर्नुअघिको खाली ठाउँमा पुग्दा प्लाष्टिकको छानामुनी पुजा सामग्रीको ब्यापार गर्नेहरु धमाधम सामग्रीहरु डोकामा उठाउँदै थिए । बुधबारको दिन भएकोले खासै व्यापार भएझै देखिंदैनथ्यो । त्यसमाथि दर्के पानी र चिसोले पनि होला छिटै पसल उठाउनुको कारण ।
दर्के पानी र झरी छिचोल्दै देवी बिराजमान भएको ठाउँमा पुग्नु अघिको मैदान । अनि मैदानका माथि एकातिर शिवालय, अर्कोतिर दुर्गामाताको मन्दिर, अर्कातिर देवी विराजमान छेवैमा गणेश भगवान । निक्कै व्यवस्थित रहेछ । मातालाई चढाएको प्रसाद खानका लागि तैनाथ बाँदरहरु कति छिटा ? नियाले । देवीको धाममा पुगेर ढुङ्गो ढोग्ने भन्दा त्यति चिसो ठाउँमा खानका लागि ढुकेर बसेका बाँदरहरुले देवीलाई भक्तजनले ओढाएको चुङ्गी तानेर लैजाँदा भक्तजनहरु खुशी भएर रमाउथे र भन्थे–‘माता जीलाई मन परेछ’ म पनि यसैमा भुलें ।
हुर्रहुरे हावाले भिजेका लुगा अख्रिदै थिए । एकैछिनको पूजा आजापछि फर्किने बेलामा मौसमले नयाँ अनुभूति दिलाउन थालिसकेको थियो । बाहिर हुर्रहुरे हावा, शरीरमा चिसा चिसा कपडा, अनि दिनको डेढ÷दुई बजेपनि विहानीपखका झै कलिला घामको स्पर्श ! शरीर आफैंमा रोमाञ्चित हुँदै थियो । म सोच मग्न भएँ प्रकृतिको संयोजन कसरी मिलेको ?
समय बित्दै जाँदा भोकको अनुभव बढ्दै गयो । फर्किंदा सकुन्तला आन्टीले बाटाका लागि भनेर बोकेका काजु लगायतका खाद्य पदार्थ खाँदै आरामले ओरालो झर्यौं । यो बेला मलाई भने भुटेको मकै–भटमास, गुन्द्रुकको अचार र नुन हालेको रातो चियाको खुब याद आयो । जुन मेरो बाल्यकालमा मेरो मिठो खाजा थियो । अझ ताप्लेजुङस्थित पाथीभरा माताको दर्शनमा जाँदा मकै–भटमास, कागती, अदुवा जस्ता सामग्रीहरु औषधीकै रुपमा बोक्ने प्रचलन थियो । यो लेखिरहँदा काजु पाउँदा मकै खोज्ने पाखे भन्ने आरोप लाग्छ कि भन्ने लाग्दा लाग्दै पनि पाथीभरामा मिठाई जस्तो लाग्ने खानेकुराको महत्वलाई कसरी बिर्सनु ?
बाल्यकालमा उत्तिस, साज, चिलाउने, खन्यु, सिरिस, कटुस लगायतका रुख काटेर बन्चराले चिरिन्थ्यो र बर्षातमा बाल्ने दाउराको जोहो गरिन्थ्यो । शायद त्यही प्रयोजनका लागि हुनुपर्छ यो यात्रामा पनि सुकेको रुख ढुङ्गको ओछ्यान लगाएर लमतन्न सुतेको थियो । सुतेका रुखलाई क्रमिक रुपमा शायद दाउरा बाल्नेहरु चिथोरिरहेका थिए । रुखको आकार हेर्दा आधा भाग फुटाएर त्यसका बोक्राहरु समेत लुछेर लगे झैं देखिन्थ्यो । उक्त रुख देख्दा फोटो कैद गर्न तीब्र इच्छा जागेसंगै यो यात्राको सबैभन्दा कान्छो सदस्य मौसमलाई अनुरोध गरे । शायद मेरो रोजाईले बिष्णुमाया दिदी र सकुन्तला आन्टीलाई पनि छोएछ क्यार उहाँहरुको पनि रोजाईमा पर्यो उही रुख – तस्विरका लागि ।
यसपछि सरासर राजमार्ग फर्किएर कन्यामतर्फ लम्कियौं । चिसो बढ्न थालिसकेको थियो । कन्याम लेखिएको डाँडामा पुग्दासम्म देखिने चिया बगान र सल्लाहरु करिब सय मिटरको दुरी पार गर्दा केही नदेखिने अन्धकार झै भयो । भोक र चिसोले आत्तिएका हामी सरासर बिशाल होटलतर्फ लम्कियौं । फटाफट इच्छा अनुसारको खाजा खायौं । मौसममा सुधार आउला कि भन्नेमा मिलन र निसा निकै आशावादी थिए । यो नव जोडीको कन्याम यात्रा पहिलो थियो । त्यसैले पनि कस्तो होला भन्ने कौतुहलता जाग्नु स्वाभाविकै थियो । तर, हर्कटेदेखि अघि बढेदेखि फग्गी (बाक्लो कुहिरो) अप्रत्यासित बिग्रिएको मौसम अहिले भने चरम अवस्थामा पुगेको थियो ।
चिसोले रहरलाई छेक्न सकेन । ध्यान घोडचढीमा गयो । बाटोमा निस्कनासाथ घोडावालाहरु हुरुरु आए । शुल्कको कुनै कुरै नगरी फटाफट घोडामा चढ्यौ । कति ठाउँ घुम्ने ? शुल्क कति हो ? त उनीहरुले भने, न हामीले सोध्यांै । अघिल्लो वर्षको शुल्कमा केही बृद्धि भएको होला भन्ने अनुमान लगाएँ । यद्यपी यात्रामा आफू प्रमुख नभएपछि चासो राखिएन् । तर, घोडा चढेर केही अघि बढेपछि घोडा डोहोर्याउने दाई (माउते) ले भने–‘पैसाको कुरा त भएको छैन ।’ मैले तुरुन्तै रोक्न लगाए । अघि बढिसकेका चारवटा घोडा केही पर पुगेपछि रोकिए । यात्रु पाउन पालो कुर्नुपर्ने बाध्यतामा परेका घोडा व्यवसायीहरु हामीलाई लोभ देखाएर अनुरोध गरिरहेका थिए–‘आज विशेष अफर, अघिपछि ८ हजार लाग्ने ठाउँ आज डिस्काउण्टमा २५ सय मात्रै, हाम्रो पालो अब तीनदिन आउँदैन्, आज घुमौं । तर, प्रतिकुल मौसमकाबारेमा कुरा गर्दा भने अवाक हुन्थे । त्यति महंगो शुल्क तिरेर घोडा चढेर चियाबारी घुम्ने न त हामीसंग सामथ्र्य थियो, न त मौसमले साथ नै दियो । लगभग ५० मिटरको दुरी तय गरेपछि फर्कियौं । आफू अघि नबढ्ने तर, अरु खुशी हुँदा आफू पनि रमाउने यज्ञप्रसाद पाठक (अंकल) घोडा चड्नु भएन । हामीलाई चढाएर हाम्रो तस्विर मोवायलमा कैद गर्दै रमाउनु भएका उहाँले घोडचढीको शुल्क बुझाउनु भयो । योसंगै कन्याम दृश्यावलोकन समापन गर्न बाध्य भयौं । हावाहुरी, हुस्सु र कुहिरो, सिमसिम पानी, ठाउँ अनुसार मौसम प्रतिकुलताका कारण यात्रा अगाडी बढ्न सकेन । जातीय पोशाक लगाउने चाहना अधुरै रह्यो ।
यद्यपी यात्रामा छिन छिनमा बदलिने प्राकृतिक परिदृष्यलाई स्पर्श गर्दा प्रकृति भित्रको विशिष्टता अद्भूत रहेछ । तर, त्यो बिशिष्टतामा साक्षात्कार हुने मौका हतपत्त प्राप्त हुँदैन । जुन हामीले अनुभव गर्न र साक्षात्कार हुने अवसर पायौं ।
यो बेला याद आयो करिब १०÷१२ वर्ष अघि जेठ ३ गते सिक्किमको छङ्गु लेक पुग्दा हिउँ बर्षिरहेको थियो । जेठमा हिउँ देख्दा आश्चार्य लागेको थियो । तर छङ्गु लेक भन्दा स्वर्णिम ठाउँ त आफ्नै नजिकै रहेछ । वास्तवमा हामीले आफ्नो ठाउँ चिन्न सक्ने हो भने प्रकृतिको अनुपम उपहारलाई यही स्पर्श गर्न र लुकामारी खेल्न लाखौं खर्चेर विदेशसम्मको यात्रा तय गर्नु नपर्ने कुराको बोध भयो ।
झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।