16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तितो अर्नी

नियात्रा काशीनाथ मिश्रित April 2, 2023, 8:23 pm
काशीनाथ मिश्रित
काशीनाथ मिश्रित

अर्नी शब्द नेपाली शब्दकोशमा राखिएको छैन तर हामीले दैनिक बोलेकै छौँ । भाषाको मानक रुप होइन भनेर कतिपय शब्दलाई वास्ता गरेको पाइँदैन पनि । आजकल ग्रामिण संस्कृति, भाषा, भेषभुषा जस्ता कुराहरूले प्राथमिकता पाउन थालेका छन् । सम्भवतः दोस्रो जनआन्दोलनपछिको परिवर्तनकै देन हो । समानुपातिक समावेशी सिद्धान्तले प्राथमिकता पाएर हो कि के हो मलाई थाहा भएन वा मेरो अज्ञानता पनि हुन सक्छ; अर्नी शब्द मसँग भएको वृहत् नेपाली शब्दकोसको पाँचौँ संस्करण (२०५८) मा छैन । यसो सम्झेँ अहिले त डिजिटल शब्दकोश पनि छ, कतै त्यसमा समावेश त गरिएको छैन? हेरेँ, रहेछ, खुशी लाग्यो । ग्रामिण जनजीवनमा प्रचलित भाषालाई मानक बनाउनु पर्छ भन्ने मलाई लाग्छ नत्र त पिछडिएको छेत्र सधै पिछडिएकै हुने भैहाल्यो नि ! यो अर्नी पनि पछाडी नै छ । त्यसैले मलाई सानैमा खाएको अर्नीको सम्झना आएर यो संस्मरण कोर्न उत्सुक भएँ । आजकलका सभ्य मानिसहरूले खाजा भनून् वा नास्ता भनून्; नेपाली भाषा छोड्दै गएकाले त झन् टिफिन वा ब्रेकफास्ट के भन्ने हो भनून् मलाई मतलव भएन मैले अर्नी नै खान्छु ।
यात्रा त हो त्यो हिँडिएकै थियो । गाडी चल्ने जमाना नै थिएन । पैदलै हिँड्नुपर्थ्यो । यो चाहिँ यात्रासंस्मरण नहुन पनि सक्छ किनभने मैले कताकति झिल्काझिल्की मात्र सम्झन्छु । यहाँ झिल्कालाई राँको बनाएर ल्याउने प्रयास गर्दैछु । त्रिचालिस वर्ष अघिको कुरा स्मृतिमा कतैकतै लुकेको छ । यात्राका क्रममा कतिपय स्मरणयोग्य यादहरू मस्तिष्कका कुनाबाट तँछाडमछाड गरेर बाहिर आउँछौँ भने जस्तो गर्न थाले । मैले रोक्न चाहिन र सकिन पनि । भित्रैबाट उछिटिन खोजेका भावहरूलाई रोक्न खोज्दा कता कता पेटमा ग्यास भरिए जस्तो भएर आयो । अनि जे त पर्ला भनेर यो कलम कुदाउन शुरु गरेँ ।
कुरा २०३६ सालको हो । महिना भने मैले भुलेँ । हिउँदका दिन हुन् बस् ! यत्ति याद छ । छ वर्षको त थिएँ म त्यतिबेला । सान्दिदी(माहिली फुपू)सँग पाल्पाको सदरमुकाम तानसेन अन्तर्गतको बर्तुङ अर्चले स्थित भवाना दिदी(कान्छी फुपू)को घर जान हिँडेका हौँ हामी । एकाध नयाँ र स्मरणयोग्य एवं ज्ञानवर्धक कुराहरू सम्झेकोले यो कलम त्यता मोडियो । बालककालको घटना मानसपटलमा जसरी बस्छ त्यो अकाट्य हुँदोरहेछ भन्ने मेरो अनुभूतिले बताउँछ । त्यो अनुभव अविस्मरणीय हुँदो रहेछ । कक्षा ७मा पढ्दा घोकेको कुरा अझसम्म याद छ तर गत वर्ष घोकेको कविता अहिले भुलिसकेँ । पटक्कै याद छैन । बुढेसकालको पढाइ त्यति प्रभावकारी हुँदैन भन्ने पुष्टि पनि म आफ्नै अनुभवका आधारमा गर्न खोज्दैछु । सबै कुरा सम्झनु संभव हुँदैन । विस्मरणले संस्मरणका लागि ठाउँ खाली नगरे कसरी थप कुरा मस्तिष्कले लिने ?
त्यो समय कति रमाइलो थियो ! कति रोमाञ्चक थियो !! अहिले आफैलाई कता कता स्मृतिको तीब्रताले दौडाएर त्यहाँ लैजाँदा फेरि बालक बनुँ बनुँ जस्तो लाग्यो । सायद मलाई जस्तै भएर त होला महाकवि देवकोटाले बालककाल भन्ने कविता रचेको । उनका शार्दूलविक्रीडित छन्दका यी दुई हरफ नसम्झी म अघि बढ्नै सकिन –“हे प्यारा शिशु फेरि बन्न म सके बन्ने थिएँ बालक ! केटाकेटीभनून् बुझक्कड बुढा मान्दीन केही धक ।“ साँच्चै मानव जीवनको स्वर्णिम उमेर भनेकै पूर्वबाल्यावस्था रहेछ । न खानको चिन्ता न पढ्नको पीर ! बाबुआमालाई दङ्ल्यायो खायो कति आनन्द ! आजकल भने सानै उमेरमा बाबुआमाबाट टाढिएर शिशुहरू जबर्जस्ति मन्टेस्वरीमा मन्ट्याइएकाले अन्यायमा परेका छन् भन्ने मेरो ठहर छ । हुन त धेरै अनुसन्धान गरेर शिक्षाविदहरूले गर्भैबाट सिकाउने प्रविधि पनि भित्रयाउलान् तर मेरा प्राथमिक पाठशालाका गुरु तथा ठुलो दाजु स्व. ऋषिदेव ज्ञवाली(उहाँलाई गुरु सर नै भन्ने गर्थे सबैले)ले बताउनुभएको विद्यालय जाने उमेर नै ठिक हो भन्ने लाग्छ । उहाँले भन्नुहुन्थ्यो ‘बच्चाले टाउकोमाथिबाट दाहिने हात घुमाएर देब्रे कान छुन सक्ने भएपछि मात्र विद्यालय पठाउनु पर्छ ।‘
घरबाट कसरी कतिखेर निस्क्यौँ भन्ने याद रहेन तर जोर्ते पुग्दाको घटना भने झल्झली याद भैरहेछ । बाटोमा ठुल्ठुला ढुङ्गा पल्टेका रहेछन् । म सानै भएर होला बाटाका ढुङ्गाहरू मैरो झैँ ठूला लाग्थे मलाई। आफ्नो उचाइ कम भएर ढुङ्गाहरू ठुला भएका पनि हुन सक्छन् तर मैले नाघेर जान नसकेर ढुङ्गाहरूको बिचमा रहेको खाली जमिन खोज्दै घुमेर बाटो पार गरेको थिएँ । माथिबाट बाटो खन्ने मानिसहरूले ‘लौ है ढुङ्गा पल्टे’ भनेर चिच्याइरहेका थिए । मलाई त्यसबेला कति डर लागेको थियो अहिले बताउनै सक्दिन । तानसेन रिडी तमघास मोटरबाटो खनिँदै थियो । जोर्तेको घुम्तिभन्दा माथि नै खन्दै थिए । तल कुरुङ खोलामा ढुङ्गाहरू छरपस्ट भएका थिए । मलाई छिचोलेर अघि बढ्न निकै कठिन भयो । मान्छे देखेपछि ढुङ्गा पल्टाउन्नन् डराउनु पर्दैन भनेर मलाई सान्दिदीले हात समातेर हिँडाउनुभएको थियो । मोटरबाटो बनेपछि मान्छे हिड्ने पुरानो बाटो भाटियो होला तर मलाई स्पष्ट सम्झना छ कि म त्यो बाटो त्यसभन्दा पछि पनि पाँच पटक पैदल यात्रा गरेको छु ।
मेरो सम्झनामा त्यो प्रथम यात्रा थियो लामो दुरीको । आमाको बुइ चढेर मामाघर गएको हल्का सम्झना छ तर हिँडेर कतै गएको सम्झन्न । मैले जे अनुभव गरेको थिएँ ती सबै मेरा जीवनका पहिला अनुभवहरू नै थिए । हामी जोर्ते छोडेर तीनआँपे भन्ने ठाउँमा पुग्दा मैले अर्को रमाइलो दृश्य देखेँ । त्यो ठाउँका भट्टी पसल वा दोकान के हुन् दुई चार घर जति थिए बाटोको कुनापट्टि । छेउतिर भने एउटा अग्लो सिधा रूख थियो । त्यो रुख सिमल हो या केको हो सोझो, अग्लो र सुरिलो थियो । त्यस रुखमा एउटा बाँदरलाई कम्मरमा लामो डोरीले बाँधेर राखेको रहेछ । हामीलाई देखेर रूखको टुप्पोमा बसेको बाँदर चार खुट्टाले रुखमा समाउँदै तल झर्यो । हामी भर्खर त्यहाँ पुगेर रुखकै आडमा बनाइएको बाँसको बेन्च जस्तो बस्ने ठाउँमा बसेका थियौँ । स्वार्र आवाज गर्दै बाँदर झर्दा त मेरो झण्डै सातोपुत्लो उडेको ! “हातमा अलिकति चिउरा राखेर देऊ त खान्छ, डराउनु पर्दैन, केही पनि गर्दैन ।“ भनेर होटलको मान्छेले मलाई हातमा च्युरा राखिदिँदै भन्यो । म डराएँ तर सान्दिदीले भने हत्केलामा च्युरा राखेर देखाउनु भयो । बाँदरले पनि झिक्दै खाँदै गर्यो । मैले बाँदर भन्ने जन्तु पहिलो पटक देख्दै थिएँ ।
हाम्रो यात्रा पुनः शुरु भयो । भुल्के भन्ने ठाउँमा पुग्दा मैले विजुलीबाट पानी तानेर माथि पुर्याएको देखेँ । ठुला ठुला घर जत्रा टङ्कीमा पानी छङछङ गर्दै झरेको आवाज सुनिन्थ्यो । ‘ऊ .. त्यो झ्यालबाट भित्र हेर त विजुली बलेको छ देख्छौ ?’ सान्दिदीले भन्नुभयो । साँच्चिकै त्यो घर जस्तो टङ्कीको झ्यालभित्र हेरेको त एउटा बत्ति बलिरहेको रहेछ । त्यसरी बलिरहेको चिम पनि मैले पहिलो चोटि देख्दै थिएँ ।खोलाको मूलबाट बिजुलीले पानी तानेर तानसेनमा लगिएको थियो भन्ने पछि मात्र अलि बुझ्ने भएपछि थाहा भयो । आजकल त हाम्रो घरमा पनि त्यही प्रविधिको प्रयोगले पानी तानेर ल्याइएको छ । यसो सम्झन्छु हाम्रो देशमा कति सुस्त गतिमा विकास भइरहेको छ । भुल्केबाट कहिलेदेखि पानी तान्न सुरु गरियो मलाई अझसम्म पनि थाहा छैन तर त्यो प्रविधि हाम्रो गाउँमा झण्डै दुई वर्षअघि मात्र आइपुग्यो । नेताहरूको कुर्सी दौड प्रतियोगिता नलम्बिएको भए हामीले अझै छिटो पानी खान पाउँथ्यौँ कि !
त्यही ठाउँकै आसपासमा हुनुपर्छ, मैले धमिलो मात्र याद गर्न सक्छु । ठुला ठुला काला पाटीहरू पनि राखिएको थियो । ती पाता सौर्य प्रणालीबाट बिजुली निकाल्नका लागि राखिएका थिए भन्न अहिले सक्छु किन भने हाम्रो घरमा राखिएको सोलारको पातो त्यस्तै हो । त्यतिबेला मैले यो के हो? भनेर सान्दिदीलाई सोधेँहुँला तर उहाँले पनि बताउन सक्नुभएन कि ! थाहा नभएको कुरा कसले पो भन्न सक्छ र?
समयको अड्कल हुँदैनथ्यो । कोही भेटिएर सोधे मात्र थाहा हुन्थ्यो । भुल्केबाट अघि बढेपछि उकालो हिड्नु पर्दोरहेछ । बिचबिचमा एक दुई घर भेटिन्थे बङ्गुर पालेका । स्टीलका अग्ला अग्ला खम्बाहरूमा तार टाँगिएको थियो । ति तारहरू पानी तान्नका लागि बिजुली ल्याइएका थिए भन्ने कुरा मैले पछिल्ला यात्राबाट मात्र थाहा पाएको हुँ । त्यो बेला कसैले भनेको भए पनि सम्झने कुरा भएन । बरु अर्को एउटा मीठो सम्झना चाहिँ हिजो जस्तै मानसपटलमा घुमिरहेछ । कुरा वास्तविक भए पनि बालक मनमा त्यसरी घुसाउन सक्नु त्यो मान्छेको खुबी नै हो । हामी उकालो चढ्दै थियौँ। माःथि क्षितिज देखिन्थ्यो । त्यो डाँडो काट्नु पर्छ माइला । सान्दिदीले भन्दै हुनुहुन्थ्यो । म भने थकाइ र भोकले ग्रस्त भइसकेको थिएँ । ओहो ! अझै त्यतिका उकालो छ । मैले अगाडिको उकालो हेरेर प्रतिक्रिया जनाउँदै थिएँ । ठीक त्यसैबेला तलबाट दुईजना मानिसहरू हाम्रा पछि आउँदै रहेछन् । एउटा मान्छेले मलाई भन्यो —‘त्यसरी उकालोको माथितिर हेरेर आत्तिनु हुन्न बाबु । ऊः तल फर्केर हेर त । कतिका उकालो चढिसक्यौ । धेरै उकालो त हिडिसकेका छौ । त्यतिका धेरै आएपछि अब बाँकी त कति छ र ? थोरै थोरै गरेर धेरै काम भएको हुन्छ । हामीले गरिसकेको काममा सन्तोष लिन जान्नु पर्छ ।’ म केही बोलिन । ति दुवैजना हामीलाई छोडेर अघि गए किनकि तिनीहरू तन्नेरी थिए । साँच्चिकै त्यो मान्छेले भने झैँ मैले पछि फर्केर हेरेँ । भुल्के त कता हो कता पिँधमा देखिन्थ्यो ।
‘अर्नी खाने बेला भएन र सेन्दी ?’ मलाई भोकले ग्रस्त पारेकोले मैले सान्दिदीलाई सोधेँ । ‘अझै धेरै हिड्नु पर्छ तानसिन गएर खाम्ला । अलि माथि गाईमुखे धारो छ । त्यहाँ गएर पानी खान पाइन्छ । नकराइकन हिँड त ।’ अब म परे फसादमा । हैन के हो यो गाईमुखे धारो भनेको ? जान्ने जिज्ञासा बढेर आयो र सोधेँ कस्तो हुन्छ र गाईमुखे धारो ? सान्दिदीलाई पनि दिक्क लागेर होला अब आइसकेको छ उहीँ गएर हेरौला भनी सरासर हिड्न थाल्यौँ । नभन्दै केही माथि गाईमुखे धारो पनि आइपुग्यो । गाईको टाउको बनाएर मुखबाट पानीको धारो बग्दो रहेछ गाईमुखे धारामा । मलाई यस प्रकारको धारो देख्ने अवसर पनि पहिलो पटक मिलेको थियो ।
केही उकालो चढेपछि चण्डिभञ्ज्याङ भन्ने ठाउँ आउँदो रहेछ । त्यहाँ पनि अर्को अचम्म देख्न पाएँ मैले । एउटा ठुलो प्वाल(सुरुङ) खनेर पृथिवीलाई छेडिएको रहेछ । त्यसको प्रयोजन मलाई थाहा हुने कुरा भएन त्यो बेला तर एक छेउबाट हेर्दा अर्को छेउको आकाश देखिने गरी सीधा ढुङ्ग्रो बनाउन कसरी सकेहोलान् भन्ने तर्कले भने मलाई सताइरह्यो । त्यो सुरुङको अलिकति माथि थियो भञ्ज्याङ । भञ्ज्याङमा केही झुप्राहरू थिए । अब तेर्सो बाटो रहेछ । उकालो सकिएकोमा सन्तोषको सास फेरेँ । तर तानसेन भने परै रहेछ, औल्याएर बताउदा मैले यो बुझेँ । अब अर्नी खाउँ न सेन्दी भनेर मैले कर गर्दा सान्दिदीले भन्नुभयो हैन, टुँडिखेलमा गएर खाने हो । अब फेरि अर्को तर्क गर्न थाल्यो मनले के हो यो टुँडिखेल भन्ने?
पाइलाहरू सर्दै सर्दै गए होलान् र त हामी टुँडिखेल पुगे हौँला । त्यसवीचको बजार क्षेत्रमा पुग्दा अनौठो र स्मृतियोग्य लागेको कुरा छ —‘रेडियोको आवाज’ । बजारमा हिँड्दा शुरुदेखि अन्त्यसम्म मैले रेडियो बजिरहेको सुनेँ । रेडियोले के भन्थ्यो भन्ने नसम्झे पनि प्रत्येक घरमा रेडियो बजेकोले जतिजति परपर पुगे पनि त्यो आवाज नटुटेको हो भन्ने अनुभव भने गरेँ । त्यो बेला रेडियो नेपाल मात्र भएकाले सबैका घरमा एउटै ध्वनी गुञ्जेको हो भन्ने मैले अहिले अर्थ लगाउन सक्छु । अहिले जस्तो च्याउ सरिका एफएमहरू भएको भए फरक फरक आवाज आउने थियो होला ।
टुँडिखेलको वीरेन्द्र पार्कअगाडि चौरमा बसेर अर्नीको पोको खोलेको भने छर्लङ्गै सम्झन्छु । भोक साह्रै लागेको थियो । कहाँ पुगेर होला अर्नी खाने भनेर मुख मिठ्याउँदै हिँडिरहेको पनि थिएँ । अर्नीको पोको खुल्दा मुख रसाएर आइरहेको थियो । टपरीको बिर्को खोलेर सान्दिदीले अर्नीको भाग लगाउनुभयो । असारे पुवाको अर्नी थियो । रोपाइँबाट आमाले पटुकीमा हालेर ल्याइदिएको पुवा कति मीठो हुन्थ्यो । त्यस्तै सम्झेर गास हालेको त किन हुन्थ्यो र ? तीतो न तीतो पो रहेछ । कारण थाहा भएन किन त्यस्तो तितो बन्न पुगेछ । दुईचार गास त भोकको झोँकमा खाइहालेँ तर अरु खान मन लागेन । नजिकै एउटा कुकुर सुतिरहेको थियो, त्यसैलाई ला ! भनेर दिएँ । त्यसलाई तितो लागेन वा भोकाएको हुँदो हो म जस्तै, क्वाप्क्वाप्ती खायो ।
अझ करिब १ घण्टा जति हिँड्न बाँकी रहेछ । घाम त अस्ताएको थिएन तर मौसम सफा भएको जस्तो लाग्दैनथ्यो । पार्क वरिपरि बढार्नका लागि बाँसको डण्डीमा कुचो घुसारेर उभिएको उभियै कसिङ्गर सोहोर्दै थिए मान्छेहरू । पार्कभित्र देखाएर सान्दिदीले भन्नुभयो ऊः त्यहाँ हेर त राजा उभिएका छन् । साँच्चै दौरा सुरुवाल र कोट लगाएको मूर्ति एउटा स्तम्भमाथि राखेको मैले देखेँ । तत्कालीन राजा वीरेन्द्रकै मूर्ति थियो त्यो । अगाडि मूलद्वारमा श्री ५ वीरेन्द्र लेखिएको रहेछ । बाले घरमै सिकाएकाले विद्यालय नगए पनि मैले पढ्न सकेँ । हामी ओरालो लाग्यौँ । अरु सबै सम्झना मेटिएछन् क्यारे तर भवाना दिदीको घरमाथि रहेको आँपका हाँगा काट्दा डराएर भागेको भने याद छ । रुखमै चढेर बन्चरोले ठुल्ठुला हाँगा काट्दा आँगन ओधार्दै खस्थे । म डरले भागेर तलतिर झरेको सम्झना जिउँदै छ । घर जाउँ भनेर सेन्दिदीले भन्दा नमानेको पनि सम्झन्छु । शान्ता दिदी, दुर्गा दिदी र दामुसित केराको लोकतामा माटोको भात पकाएर खाने, पाहुना बन्ने खेलेको पनि त्यसै समयमा हो । ति बालपनाका याद अझै जीवित छन् । त्यो समयमा खानु परेको तितो अर्नी त कहिल्यै पनि भुल्दिन । शायद त्यसपछि पनि कैयौँ पल्ट माडि गएँ । सेन्दिदीसित घोराहा, टारी अनि घेरै ठाउँ घुमेँ तर त्यत्तिको तितो अर्नी कहिल्यै कतै खाएको छैन अहिलेसम्म । चामलकै पुवा बनाउदा पनि के मिसिन गएर तितोपन आयो पत्ता लगाउन सकिएन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।