परिच्छेद: एक
१.१ विषयपरिचय
प्रस्तुत शोधकार्यको शीर्षक ‘‘कृष्ण बजगाईंका लघुकथाको विधातात्विक अध्ययन’’ रहेको छ । नेपाली साहित्यमा कथा, लघुकथा, बालकथा, कविता, हाइकु, नियात्रा आदि विविध विधामा कलम चलाइरहेका बजगाईंंको हालसम्म १३ वटा कृतिहरू प्रकाशित भइसकेका छन् । कृष्ण बजगाईंं व्यक्ति समाजका अतिरिक्त विभिन्न क्षेत्रमा सेवा गर्नुका साथै देश तथा विदेशमा सामाजिक कार्यमा समेत संलग्न छन् । वि.सं. २०४१ मा संसार साप्ताहिकमा पहिलो रचना प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेका बजगाईंंका लघुकथा सङ्ग्रहका रूपमा यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी ४ वटा कृतिहरू प्रकाशित छन् । प्रस्तुत शोधकार्यमा लघुकथाकार कृष्ण बजगाईंका सामान्य परिचय र लघुकथाकारिताका अध्ययन गरी उनका लघुकथा सङ्ग्रहका विधातात्विक अध्ययन तथा विश्लेषण गरिएको छ ।
१.२ शोधसमस्या
कृष्ण बजगाईंँका लघुकथा सङ्ग्रहको अध्ययन विषयक यो शोधकार्य निम्न समस्याहरूमा केन्द्रित रहेको छ ः
(क) कृष्ण बजगाईंका लघुकथायात्रा र प्रवृत्तिहरू के कस्ता छन् ?
(ख) विधातत्वका आधारमा कृष्ण बजगाईंका लघुकथाहरू के कस्ता रहेका छन् ?
१.३ शोधकार्यका उद्देश्यहरू
उपर्युक्त समस्यामा केन्द्रित प्रस्तुत शोधकार्यका उद्देश्यहरू यसप्रकार रहेका छन् ः
(क) कृष्ण बजगाईंका लघुकथागत प्रवृत्तिहरू केलाउनु ।
(ख) विधातत्वका आधारमा कृष्ण बजगाईंका लघुकथाहरूकोे विश्लेषण गर्नु ।
१.४ पूर्वकार्यको समीक्षा
समालोचकहरूले बजगाईंँका लघुकथाहरूको समीक्षा विभिन्न पत्रपत्रिकामा गरेको पाइन्छ । साथै उनका लघुकथा सङ्ग्रहहरूको पनि कृति परिचय र समीक्षा समेत गरेको पाइन्छ । यहाँ यिनै विभिन्न समालोलक तथा अध्येताद्वारा गरिएको पूर्वकार्यको समीक्षा कालक्रमिक रूपमा तल प्रस्तुत गरिएको छ ।
माधवप्रसाद पोखरेल (२०६४) का अनुसार बजगाईंँका लघुकथामा तत्कालीन समाजका विकृति विसङ्गति राजनीतिक अस्तव्यस्तताका साथै सामाजिक व्यवहारिकताका समस्याहरूलाई पनि उठाइएको छ । उनका लघुकथामा नारीप्रति विभेद र अपमानप्रति असहमतिका साथमा राष्ट्रियताको भाव समेत पाउन सकिने विचार पोखरेलको छ । पोखरेलका अनुसार बजगाईंँका लघुकथा लेखनको सीप प्रशंसनीय छ (पृ.४) ।
ऋद्धिरमण घिमिरे (२०६४) का अनुसार यन्त्रवत् लघुकथा सङ्ग्रहमा व्यङ्ग्यको प्रचुरता पाइन्छ । घिमिरे यो लघुकथा सङ्ग्रह आख्यानका दृष्टिले मात्र नभएर कला र प्रस्तुतिका दृष्टिले समेत उम्दा भएको दाबी गर्दछन् (पृ.११०) ।
होमनाथ सुवेदी (२०६५) यन्त्रवत् लघुकथा सङ्ग्रहले शब्दार्थको विचित्रता र प्रतीकको कला शैलीमा मानवीय संचेतनाको मूल प्रवृत्ति दमनको निषेध र विकल्पको वरणको खोजमा सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक तथा यौन सम्वन्धी शोषणको पर्दाफास गरेको बताउँदछन् । सुवेदीका अनुसार बजगाईंँका लघुकथामा शब्दार्थमा हुने विचित्रता, प्रतीकात्मकता, लेखनशैलीमा देखिने अजीवका प्रयोगहरू पाइन्छन् (पृ.६) ।
दीपेन्द्र के.सी. (२०६५) ले समग्र राष्ट्रिय परिवेशको झल्को दिने बजगार्ईंका लघुकथामा कथापिच्छे सामाजिक सुधार र उच्च नैतिकताको समेत अपेक्षा गरिएको विचारलाई प्रस्तुत गरेका छन् । यन्त्रवत् का कथाले प्रतीकात्मकता मात्र बोकेका छैनन् वक्रोक्ति र लाक्षणिकतालाई पनि उत्तिकै आत्मसाथ गरेको कुरा उनले उल्लेख गरेका छन् । के.सी.का अनुसार बजगाईंँका कतिपय लघुकथामा लयात्मकता पनि भेट्टाउन सकिन्छ
(पृ.७) ।
वि.पी. बजगाईंँका अनुसार (२०६७) ‘यन्त्रवत्’ मा लघुकथाकार बजगार्ईं क्लासिकल जर्मन दार्शनिक हिगेलको द्वन्दात्मक प्रत्ययवादको सम्मिश्रण गरेर माक्र्सको द्वन्द्वात्मक भौतिकवाद भन्दा भिन्दै यथार्थ पाठकलाई पस्किन सफल भएका छन् । उनले रोडम्याप लघुकथा सङ्ग्रहले ‘समग्रतामा पाठकहरूले विभिन्न परिस्थितिमा स्वयम्लाई पाउने विश्वास दर्शाउँदै सकारात्मक नयाँ तथ्यहरूको सिर्जना गर्न सफल भएको बताएका छन् । (पृ.५–११)
छविरमण सिलवाल (२०६५) ले यन्त्रवत्को समीक्षा गर्दै यन्त्रवत् सङ्क्रमणकालीन समयको परिवेशको चित्रण गर्दै नेपाली जनताले भोगेका तीतो यथार्थ हो जुन पढ्दा समयक्रममा भोगेका कुराहरू अझै ताजा बन्न पुगेको विचार व्यक्त गरेका छन् । बजगाईंँको राष्ट्रप्रतिको भावभक्त प्रेम असाध्यै रहेको प्रमाण यन्त्रवतमा भेटिने सिलवाल बताउँदछन् । विदेशमा रहेर पनि नेपालीका प्रत्येक घटनाहरूलाई लिपिबद्ध गरेर लघुकथाका माध्यमबाट नै पुस्तकको रूपमा दिएको दावी समालोचक सिलवालको छ (पृ.४) ।
लक्ष्मणप्रसाद गौतम (२०६६) का अनुसार मुक्तकीय झड्का दिने बजगाईंका लघुकथाहरूमा अत्यन्त सूक्ष्म र साङ्केतिक रूपमा केही नयाँ विचार र दृष्टिकोणहरू आएका छन् । बजगार्ईंका लघुकथाले समकालीन युग चेतनाका बिम्बहरूबाट निर्मित समकालीन नेपाली जीवन र सामाजिक यथार्थका विविध पाटाहरूलाई प्रस्तुत गर्न रुचाएको विचार गौतमले व्यक्त गरेका छन् (पृ.१८) ।
छविरमण सिलवाल (२०६७) ले नेपाली राजनीतिमा देखापरेका विकृति विसङ्गतिप्रति तीखो व्यङ्ग्य प्रहार गर्दै त्यसले समाजलाई परिवर्तन मात्र नगरेर यथार्थ कुराहरूलाई जस्ताको तस्तै प्रस्तुत गरी मार्ग निर्देशन गर्न कृष्ण बजगाईंँका लघुकथाहरू उपयोगी भएको कुरा उल्लेख गरेका छन् । रोडम्याप लघुकथा सङ्ग्रहका कथाहरू नेपाली जीवनमा समाजकै यथार्थ चित्र उतार्न सफल हुनुका साथै ‘कथात्मक प्रहार र विरोधको कला नै लघुकथा हो’ भन्ने सुन्दर विचारहरू सम्प्रेषण गर्दै लघुकथा लेखनको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउन बजगाईं सफल भएकाको सिलवालको विचार छ (पृ.६)
कृष्णप्रसाद ढुङ्गेल (२०७३) ले जीवनी व्यक्तित्व कृतित्वमा गरिएको अध्ययनमा बजगार्ईं बहुआयमिक व्यक्तित्व भएको विचार व्यक्त गरेका छन् । बजगाईं अन्य क्षेत्रमा भन्दा लघुकथाका क्षेत्रमा बढी सफल देखिनुका साथै उनले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा उनले गरेका छन् (पृ.२०) ।
पुष्करराज भट्ट (२०७३) का अनुसार कृष्ण बजगाईंं नेपाली लघुकथाका प्रमुख प्रतिभा हुन् । उनका रचनामा राजनीतिक विसङ्गतिप्रतिको विरोधका साथै प्रखर व्यङ्ग्यात्मक चेतना पाइने विचार भट्टले व्यक्त गरेका छन् (पृ.५५) ।
यसरी विभिन्न समालोचक तथा पत्रपत्रिकाका भनाइलाई दृष्टिगत गर्दा साहित्य साधनामा निरन्तर लागिरहने क्रियाशील स्रष्टाका रूपमा बजगार्ईं परिचित छन् । साथै लघुकथाको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउन सफल भएका छन् । उनको ‘लघुकथाहरूको विधातात्विक अध्ययन’ विषयमा विस्तृत रूपमा अध्ययन हुन नसकेको प्रस्तुत पूर्वकार्यको समीक्षाबाट स्पष्ट हुन्छ ।
१.५ शोधको औचित्य र महत्व
प्रस्तुत शोधकार्यमा लघुकथाका माध्यमबाट तत्कालीन नेपाली समाजका विकृति बिसङ्गतिको यथार्थ चित्र उतार्न सफल बजगाईंँका लघुकथाकारिताका साथै उनका लघुकथा सङ्ग्रहका कथाहरूको विधातात्त्विक अध्ययन गरिएको छ । कृष्ण बजगाईंंको लघुकथाकारिताका साथै उनका कथाहरूको विधातात्विक अध्ययनमा केन्द्रित भई गरिएको यस शोधपत्रले भावि पिँढीलाई उनका बारेमा तथा उनका कृतिका बारेमा प्रमाणित जानकारी उपयोगी रहेको छ ।
निश्चित साहित्य सिद्धान्तमा आधारित रहेर हालसम्म कसैले पनि कथाकार कृष्ण बजगार्ईंको लघुकथाकारिताको अध्ययनन र उनका कथाहरूको विधातात्विक विश्लेषण हालसम्म नगरेको अवस्थामा उनका कथाकारिताको निरूपण गर्दै लघुकथाहरूको विधातात्त्विक विश्लेषण गरिएको यो शोधकार्य औचित्यपूर्ण छ । कृष्ण बजगाईंको जीवनी, व्यक्तित्व, कृतित्वमा शोधकार्य भए तापनि विधातत्तवका आधारमा उनका लघुकथा सङ्ग्रहका कथाहरूको अध्ययन, विश्लेषण र मूल्याङ्कन गरी तयार पारिएको यो शोधपत्र उनका लघुकथाकारिता र लघुकथाहरूका बारेमा जान्न चाहनेहरूका लागि औचित्यपूर्ण रहेको छ ।
१.६ शोधसीमाङ्कन
प्रस्तुत शोधकार्यमा कृष्ण बजगार्ईंको सामान्य परिचय दिई उनको लघुकथाकागत प्रवृत्तिलाई मात्रै केलाइएको छ र उनका लघुकथाहरूको विधातात्तिवक अध्ययन मात्रै गरिएको छ । अन्य पक्षमा अध्ययन गरिएको छैन ।
१.७ शोधविधि
प्रस्तुत शोधकार्य गर्दा निम्नलिखित विधिको अवलम्बन गरिएको छ ।
१.७.१ सामग्री सङ्कलन विधि
प्रस्तुत शोधकार्यमा प्राथमिक स्रोत र द्वितीयक स्रोतका सामग्रीको प्रयोग गरिएको
छ । उक्त सामग्री पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएको छ ।
१.७.२ सैद्धान्तिक पर्याधार
प्रस्तुत शोधकार्यका लागि लघुकथा सिद्धान्तलाई सैद्धान्तिक आधार बनाइएको छ । अध्ययन विश्लेषणका क्रममा विश्लेषणात्मक वर्णनात्मक विधिको प्रयोग गरी शोधकार्य सम्पन्न गरिएको छ । यसरी सङ्कलित उक्त सामग्रीलाई विश्लेषण गर्न वर्णनात्मक र विश्लेषणात्मक विधि र पद्धतिको प्रयोग भएको छ ।
१.८ शोधको रूपरेखा
प्रस्तुत शोधपत्रको स्वरूप र संरचनालाई व्यवस्थित बनाउनका लागि शोधपत्रलाई निम्नलिखित परिच्छेदहरूमा विभाजित गरिएको छ ः
परिच्छेद एक : शोधपरिचय
परिच्छेद दुई : लघुकथाको सैद्धान्तिक अवधारणा
परिच्छेद तीन : कृष्ण बजगाईंको परिचय र लघुकथागत प्रवृत्तिहरू
परिच्छेद चार : कृष्ण बजगाईंँका लघुकथाहरूको विश्लेषण
परिच्छेद पाँच : सारांश तथा निष्कर्ष
उपर्युक्त पाँच परिच्छेदलाई आवश्यकतानुसार विभिन्न शीर्षक तथा उपशीर्षकमा विभाजन गरिएको छ ।
परिच्छेद : दुई
लघुकथाको सैद्धान्तिक अवधारणा
२.१ विषयपरिचय
नेपाली लघुकथाको सैद्धान्तिक स्वरूपको पहिचान गर्ने सन्दर्भमा यस परिच्छेदमा सर्वप्रथम लघुकथाको परिचय एवम् परिभाषालाई स्पष्ट पारिएको छ । लघुकथालाई चिनाउने क्रममा लघुकथालाई परिभाषित गर्ने विभिन्न विद्वान्का परिभाषालाई आधार मानी लघुकथाको परिचय प्रस्तुत गरिएको छ । यसै क्रममा नपालीको लघुकथाको सैद्धान्तिक अवधारणा र स्वरूपबारे चर्चा गर्दै विभिन्न विद्वान्को विचारहरूलाई विश्लेषण गर्नुका साथै लघुकथाको स्वरूपमा कथानक, चरित्र परिवेश, उद्देश्य, भाषाशैली र दृष्टिबिन्दुका बारेमा चर्चा गरिएको छ । जसलाई कृष्ण बजगाईंंका लघुकथा सङ्ग्रहहरू यन्त्रवत, रोडम्याप, कवच, संवैधानिक पत्नीमा सङ्कलित लघुकथाहरूको विधातात्त्विक अध्ययन र विश्लेषणका निम्ति आधारभूमिका रूपमा लिइएको छ ।
२.२ लघुकथाको व्युत्पत्ति र अर्थ
‘लघु’ र ‘कथा’ दुई शब्दबाट बनेको समस्त शब्द ‘लघुकथा’ को सामान्य अर्थ सानो आयामको कथा हो । लघु कथा भन्ने तात्पर्यमा यो समस्त शब्द भए पनि संस्कृतको ‘कथ्’ धातुमा टाप् (आ) प्रत्यय लगाउँदा ‘कथा’ शब्दको निर्माण हुन्छ र त्यही ‘कथा’ शब्दका अगाडि सानो बुझाउने ‘लघु’ शब्द जोडिन आइपुग्दा लघुकथा शब्दको व्युत्पादन हुन्छ
(पोखरेल, २०५९,पृ.१२) । नेपाली भाषा र साहित्यका क्षेत्रमा प्रयोग गरिएको ‘लघुकथा’ शब्द अङ्ग्रेजी भाषामा प्रचलित कजयचत(कतयचथ शब्दको नेपाली रूपान्तरण हो । अङ्ग्रेजी भाषामा सर्ट स्टोरी शब्दले नेपाली भाषामा प्रचलित ‘कथा’ शब्दको आयामलाई बुझाउने भएकाले यो शब्द सर्ट स्टोरी शब्दको नेपाली रूपान्तरण हो भन्नु बढी युक्तिसङ्गत हुन्छ
(गौतम,२०६७,पृ.१) ।
नेपाली साहित्यका क्षेत्रमा लघुकथालाई रेच्की, वान्किला, गल्प, मसिना कथा, साना कथा, छेस्का कथा, सूत्र कथा आदि नामले पुकारेको देखिन्छ । सङ्क्षिप्त, छोटा तथा सीमित अर्थ दिने लघु शब्दमा कथा जोडिएर बनेको लघुकथाको अर्थ सङ्क्षिप्त वा छोटा कथा भन्ने हो (गौतम,२०६७,पृ.२) ।
२.३ लघुकथाको परिचय
लघुकथा आख्यानको लघुतम रूप हो र यसको प्रथम सैद्धान्तिक चर्चाको थालनी पाश्चात्य साहित्यबाट नै भएको हो । नेपाली लघुकथा लेखनको इतिहास पुरानो भए पनि यसको विकासको गति समान रहँन सकेन । नेपाली लघुकथा पचासको दशक पहिला भन्दा अझै सशक्त किसिमले अगाडि बढेको छ । लघुकथाको शाब्दिक अर्थ छोटो वा सानो कथा भन्ने हो (भट्ट, २०७३,पृ.३४) । पछिल्लो समय नेपाली साहित्यमा लघुकथा लेखनका बारेमा चर्चा परिचर्चा बढ्नुका साथै लघुकथा लेखनका विविध पक्षमाथि विश्लेषण गर्ने काम पनि हुन थालेको छ । यस अध्ययनमा नेपाली अङ्ग्रेजी, हिन्दी, एवम् नेपाली साहित्यका क्षेत्रमा लघुकथाका सम्बन्धमा भएका महत्वपूर्ण विचारलाई अध्ययनको विषय बनाइएको छ । लघुकथाका बारेमा विभिन्न विद्वान् तथा लेखक समालोचकबाट अभिव्यक्त विचारहरूलाई क्रमिक रूपले यहाँ प्रस्तुत गरिएको छ ।
२.४ लघुकथाको परिभाषा
लघुकथा लेखनका बारेमा पूर्र्वीय, पाश्चात्य तथा नेपाली एवम् समालोचकका विचारलाई यस परिच्छेदमा प्रस्तुत गरिएको छ । लघुकथा सम्बन्धमा व्यक्त विचारहरूले लघुकथालाई नेपाली साहित्यमा परिचित गराउन एवम् पचिय स्थापित गर्ने कार्यमा महत्त्वपूर्ण योगदान दिएका छन् । लघुकथाका बारेमा विभिन्न कथाकारहरूले आ–आफ्नै किसिमले परिभाषित गर्दै आइरहेका छन् । तिनको क्रमिक विवरण यसप्रकार रहेको छ ः
श्रीओम श्रेष्ठ ‘रोदन’ (२०५६) का विचारमा आकारगत लघुतामात्र लघुकथाको तात्त्विक पहिचान होइन, मुख्य कुरो त यसमा क्षणभरमै विचार वा भावको प्रभावकारी विष्फोटन हुनसक्ने निजी अणुसामथ्र्य हुनुपर्दछ (पृ.५९) ।
सुकुम शर्मा (२०५६) का विचारमा ‘लघुकथा साहित्यिक विधा आख्यानको एउटा प्रकार हो, कथा र उपन्यासझैँ लघुकथा पनि स्वयम्मा पूर्ण र स्वायत्त रचना हो । उपन्यास र कथामाझैँ प्रत्येक लघुकथाको आफ्नै निहीत योजना हुन्छ र यहि निहीत योजनाले त्यसलाई पूर्ण र स्वायत्त रचनाका रूपमा सिद्ध गर्छ’ (पृ.२५–२६) ।
हिमांशु थापा (२०५६) का विचारमा लघुकथा गद्यविधाको त्यो कथात्मक विधा हो, जुन आकारमा सिमित भएर पनि प्रस्तुति र अभिव्यक्तिका रूपमा सम्भवत सर्वाधिक संश्लिष्ट माध्यमले सक्षम छ, जुन छोटो भइकन पनि चोटिलो र छरितो हुने गर्छ’ (पृ.८६) ।
लक्ष्मण गौतम (२०५६) का विचारमा ‘आख्यानभित्र पनि विविध आयाममा संरचित आख्यान, मध्यम आयाममा संरचित आख्यान र लघु वा लघुतम आयाममा संरक्षित आख्यानहरू पर्दछन् । यही आख्यानभित्रको लघुकथा नेपाली कथामा प्रयुक्त सूत्रसंरचना वा अघुआयाममा संरचित कथा हो’ (पृ.६१) ।
कुमारप्रसाद कोइराला (२०५९) का विचारमा ‘लघुकथालाई आख्यान रूपका दृष्टिले चिनाउँदा आख्यानको छरितो र सूक्ष्म प्रस्तुति नै लघुकथा हो । लघुकथा आकारले संक्षिप्त वा लघु बनोटले सूक्ष्म बनोटले गाद्यिक अणुझैँ शक्तिशाली अर्थवाहक हुन्छ । कुनै घटना वा समस्यालाई सूक्ष्म रूपमा कलात्मक ढङ्गले प्रस्तुत गर्ने कला लघुकथा हो’ (पृ.१५–१६) ।
राकेश (२०५९) का विचारमा ‘पाठकको मनमा एक प्रकारको गहिरो प्रभाव पारी एकै परिणाममा पु¥याउने, सङ्क्षिप्त र पूर्ण नभईकन सुसम्बद्ध रूपमा भनिएको कथालाई नै सानो कथा वा लघुकथा भनिन्छ’ (पृ.२१) ।
मोहनराज शर्मा (२०५९) का विचारमा ‘कम्तीमा दुईवटा यथार्थ वा कल्पित स्वतन्त्र घटना अथवा स्थितिले कालक्रमिक प्रतिनिधित्व भएका लघुत्तम आख्यानलाई लघुकथा
भनिन्छ’ (पृ.७–१४) ।
दयाराम श्रेष्ठ (२०५६) का अनुसार ‘क्षणभरमै विचार वा भावको प्रभावकारी विष्फोटन हुनसक्ने गरी अणुसामथ्र्य भएको छोटो कथा नै लघुकथा हो’ (पृ.१३) ।
गुलाव राय (२०६५) ले ‘लघुकथालाई एक स्वतः पूर्ण रचना हो भनेका छन्, जसमा एक तथ्य वा प्रभावलाई अग्रसर गर्ने व्यक्तिकेन्द्रित घटना वा घटनाहरूको आवश्यक उत्थान, पतन र मोडका साथै पात्रहरूको चरित्रमाथि प्रकाश पार्ने वर्णन होस्’ (सन् १९९२,पृ.७) ।
द्विवेदी (सन् १९८३) ले जीवनका विसङ्गतिलाई उजागर गर्ने लघुकथा एक न्युट्रन बम हो, जसले विष्फोट हुने बित्तिक्कै एकाएका अन्तर्मनलाई आन्दोलित पार्दछ’ (पृ. ३) ।
भट्टराई (२०५६) को विचारमा ‘लघुकथा छोटो समयमा कुनै समस्यालाई चटक्क पारेर कलात्मक र रोचक ढङ्गले गद्यमा प्रस्तुत गर्ने कला हो’ (पृ.४१) ।
गोपाल अश्क (२०६५) का अनुसार ‘कथा उपन्यासको लघु रूप नभए पनि आख्यान कै एउटा अङ्ग हो । लघुकथा पनि कथाको सङ्क्षेपीकृत रूप नभए पनि कथातत्व सहितको आख्यानकै एक अङ्ग हुनाले लघुकथालाई आख्यान कै एक उपभेदका रूपमा लिन सकिन्छ र लघुकथा लेखन आख्यानतत्त्व निहीत लेखन हो’ (पृ.६) ।
पुष्कर भट्ट (२०७३) का अनुसार ‘लघुकथा आख्यानको लघुतम भेद हो, जसमा सीमित कथानक, परिवेश, संवाद एवम् पात्रविधान आयोजना गरिएको हुन्छ । एक कुशल लघुकथामा प्रभावकारी विचार सम्प्रेषण गर्ने अणुसामथ्र्य हुनुपर्दछ’ (पृ.४०) ।
उल्लिखित पूर्वीय, पाश्चात्य एवम् नेपाली लघुकथाकारहरूले दिएका परिभाषालाई मनन गर्दा समग्रमा लघुकथाको परिभाषा यसरी दिन सकिन्छ । आफैँमा स्वतन्त्र र पूर्व पाठकमा तत्काल तीव्र प्रभावको सिर्जना गर्न सक्ने लघु आयाममा विस्तारित सूत्रात्मक आख्यानको लघुत्तम भेद नै लघुकथा हो ।
२.५ लघुकथाको स्वरूप र संरचना
लघुकथाको संरचनाले यसको स्वरूपलाई बुझाउँछ । लघुकथा पनि साहितयका अन्य विधाजस्तै स्वतन्त्र र आफैँमा पूर्ण विधा भएको हुनाले यसको आफ्नै स्वतन्त्र किसिमको संरचना हुन्छ । यहाँ लघुकथाको स्वरूप र संरचनाका बारेमा अध्ययन गरिएको छ ।
२.५.१ लघुकथाको स्वरूप
लघुकथाको स्वरूपका सम्बन्धमा लक्ष्मणप्रसाद गौतम (२०५६) ले एउटा आकार आकृतिको लघुसंरचना नै लघुकथा हो, जसमा आख्यानको तीव्र र तीव्रतम अभिव्यक्ति हुन्छ
(पृ.६१) भनेका छन् । उनले लघुकथालाई लघु संरचना जसमा आख्यानको छिटो अभिव्यक्ति हुने विचार व्यक्त गरेका छन् । आयामगत हिसावले छिटो अभिव्यक्ति हुने हुँदा कतिपय लघुकथामा यसको अनेक घटकको एउतै स्वरूप पनि पाउन सकिन्छ । अर्थात् यसमा लघुताको आयामभित्र कथावस्तु, पात्र, दृष्टिविन्दु र सारवस्तु एक अर्कासँग अन्तरमुक्त भएर समष्टिमा एकै विधागत स्वरूप प्रक्षेपित हुन्छ (श्रेष्ठ, २०६९,पृ.२९) ।
२.५.२ लघुकथाको संरचना
लघुकथाकारले छनोट गरेको वस्तु भाव अथवा लघुकथाकारको रुचि र क्षमता अनुसार लघुकथाका शैली र स्वरूपमा पनि भिन्नता पाउन सकिन्छ । विधागत स्वभाव र विशेषताका आधारमा हरेक लघुकथामा सामान्यतया आख्यान विधाकै अधारभूत संरचनागत तत्त्वहरू पाइन्छ । यी आधारभूत तत्त्वहरूको समुच्च रूप नै सिङ्गो लघुकथा हो (श्रेष्ठ, २०६९,पृ.२९) ।
लघुकथाका संरचक तत्त्वहरूका बारेमा सबै विद्वान्हरूको एकमत छैन । तर लघुकथा आख्यान विधाकै एउटा भेद भएका कारणले आधारभूत रूपमा आख्यानका आङ्गिक संरचक घटक÷उपकरणलाई नै लघुकथाका तत्त्व मान्नु उपयुक्त ठहर्दछ (गौतम, २०७२,पृ.३५) ।
आकारगत लघुता लघुकथाको आधारभूत संरचना हो । लघु आयामका कारणले यसको वस्तु विन्यास पनि छोटो र प्रायः रैखिक किसिमको हुन्छ (गौतम,२०५६,पृ.२६) तर आकारमा सानो भए पनि यो विधा किमार्थ योजनाविहीन हुँदैन । अन्य आख्यान विधामा जस्तै यसमा पनि आख्यानको सुरुवात र लक्ष्यविन्दुका बिचमा कसिलो तादात्म्यता रहन्छ । जसलाई प्रत्यक्ष, अप्रत्यक्ष अथवा साङ्केतिक चरित्र बोकेर हिँडेको हुन्छ । लघुकथामा निश्चित लघु आयाममाा वस्तु र भावलाई पूर्णता दिनुपर्ने कारणले गर्दा यसको बनोट छरितो र कसिलो हुने गर्दछ । वस्तु वा घटना तीव्र र रोचक हुने गर्दछन् र अन्त्यमा पाठकलाई उसको भाव सामथ्र्य अनुसारको तीव्र भाव प्रवाह जन्माउन सक्नु लघुकथाको विशेषता हो (भट्ट, २०७३,पृ.४२) ।
२.५.३ लघुकथाका तत्त्वहरू
लघुकथा बन्नका लागि आवश्यक संरचक घटकहरूलाई लघुकथाका तत्त्व भनिन्छ । यस शोधकार्यमा विभिन्न लेखक समालोचकले गरेका अध्ययनलाई दृष्टिगत गरी लघुकथाका तत्त्वका रूपमा कथानक, चरित्र, परिवेश, उद्देश्य, दृष्टिविन्दु र भाषाशैलीलाई निरूपण गरिएको छ । यस आधारमा लघुकथाका तत्त्वहरूलाई निम्नानुसार देखाउन सकिन्छ ः
२.५.३.१ कथावस्तु
लघुकथामा प्रस्तुत गरिएको घटना वा विषय नै लघुकथाको कथावस्तु वा कथानक
हो । घटना लघुकथाको एउटा आवश्यक तत्त्व हो । यसको अभावमा कथाको बुनोट नै गाह्रो हुन्छ । कथामा घटनाको विस्तार गर्न सकिन्छ तर लघुकथामा सकिँदैन । लघुकथामा भरसक एउटै घटनालाई आधार बनाएर लघुकथाको कथाविन्यास गर्नु पर्दछ । धेरै नै आवश्यक परेको खण्डमा दुई घटनासम्म लिन सकिन्छ । तर दुई भन्दा बढी घटनाको गुञ्जायस नै हुँदैन
(भट्ट,२०७३,पृ.५५) । आख्यानका अन्य विधा, कथा र उपन्यासमा जस्तै लघुकथामा पनि कथानक प्राणतत्त्व अथवा बीजका रूपमा रहन्छ । तर कथामा भन्दा लघुकथाको कार्यकारण शृङ्खला अत्यन्त छोटो वा संक्षिप्त हुन्छ । यसको अर्थ लघुकथाको कथावस्तु घटनाजन्य अवस्थाको तीव्रतम वा दु्रततर किसिमबाट सूत्रात्मक ढङ्गले विन्यास भएको हुन्छ । कथानक लघुकथाको आरम्भदेखि अन्त्यसम्म फैलिएको हुन्छ र यो घटना गतिशील हुन्छ । लघुकथामा कथानक अत्यन्त सूक्ष्म र साङ्केतिक मात्र हुन्छ । लघुकथाको कथानक ढाँचा रैखिक किसिमको हुन्छ । कथानकको आरम्भ, विकास, उत्कर्ष, अपकर्ष र अन्त्यको स्थिति नभई आरम्भ तथा उत्कर्ष, अन्त्यको स्थिति हुन्छ (गौतम, २०६९,पृ.४५) । लघुकथामा घटना र कार्य व्यापारको अत्यन्तै तीव्र विकास हुने भएकाले कथानकको विस्तार हुँदैन र यो जतिसक्दो छिटो उत्कर्ष वा निष्कर्षतिर जान्छ । यसले गर्दा लघुकथाको कथावस्तु अत्यन्तै छोटो, संक्षिप्त एवम् सूत्रात्मक किसिमको हुन्छ । आख्यानका अन्य उपविधा जस्तै लघुकथाको संगठन पनि तीन भाग वा अङ्गमा र विकास पाँच अवस्थामा सम्पन्न हुने विचार व्यक्त गरेका छन् । उनले आदि भागमा आरम्भ÷चिनारी, सङ्घर्ष र विकासलाई प्रस्तुत गरेका छन् भने मध्य भागमा चरमलाई प्रस्तुत गरेका छन् (शर्मा,२०५९,पृ.१८३) ।
कथानकको विकास चरित्र र उद्देश्यका साथमा अघि बढ्दछ । कथानकको विकासमा चरित्र एवम् उद्देश्यको महत्त्वपूर्ण भूमिका हुन्छ । कथानकलाई निश्चित परिणतिसम्म पु¥याउन चरित्रले भूमिका खेल्दछ । त्यसरी नै उद्देश्यले कथानकलाई वैचारिक आधार प्रदान गर्दछ ।
२.५.३.२ पात्र वा चरित्र
पात्र वा चरित्रले आख्यानमा कार्यव्यापारलाई सम्पन्न गर्ने काम गर्दछन् । कथामा जस्तै लघुकथामा पनि पात्र चरित्र, विधान अनिवार्य मानिन्छ तर लघुकथामा चरित्रको संख्या अत्यन्तै सीमित हुन्छ । थोरै पात्रहरूबाट अधिकतम रूपमा घटना समेट्न सक्नु र द्रुत किसिमबाट समप्रेषण गर्न सक्नु नै वास्तवमा लघुकथाको पहिचान मानिन्छ । लघुकथामा पात्र वा सहभागीको अवस्थाका बारेमा लक्ष्मणप्रसाद गौतमले लघुकथामा मानवीय पात्रकै बढी प्रयोग पाइने भए तापनि कतिपय लघुकथामा मानेवेतर पात्रको पनि प्रयोग पाइन्छ र यस्तो स्थितिमा मानवेतर पात्र वा सहभागीलाई मानवीय सत्ता प्रदान गरी मानवीकरण गरिन्छ भनेका छन्
(गौतम,२०६९,पृ.४६) । लघुकथामा प्रस्तुत पात्रकै बारेमा हरिप्रसाद भण्डारीले पनि आफ्नो विचार यसरी व्यक्त गरेको पाइन्छ । मानवेतर पात्रमा पनि जीवित तथा भौतिक पात्रहरू पनि उत्तिकै हुन्छन् । लघुकथा रचनामा मानवीय एवम् मानवेतर पात्र हुने र पात्रगत भिन्नताले रचनामा रोचकता थपेको पाइन्छ (गौतम,२०६९,पृ.५५) । जेजस्ता पात्रको सिर्जना गरेको भएपनि ती पात्रले मानवीय जीवनका आकाङ्क्षा एवम् जीवन अनुभूतिलाई कलात्मक तरिकाले प्रस्तुत गर्दछन् ।
लघुकथामा चयन गरिएको पात्रले युगचेतनाको प्रतिनिधित्व गरेको हुन्छ । यसै सन्दर्भमा गोपीन्द्र पौडेलले कथामा चयन गरिएका पात्रले तत्कालीन समाज र युग जीवनको बाह्य परिवेश चेतनाको स्तर तथा वर्गीय सोचको पनि प्रतिनिधित्व गर्ने भएकाले कथामा युगानुकूल पात्रको चयन हुन थालेको पाइन्छ (पौडेल,२०६३,पृ.१४) । लेखकको बौद्धिक क्षमता, जीवनप्रतिको दृष्टिकोण एवम् समयचेतको प्रभाव लेखनमा पर्दछ । लेखकले के कस्ता पात्र चयन गर्दछ र ती पात्रका मध्यबाट के कस्तो सन्देश प्रवाहित गर्दछ भन्ने कुरा लेखकको निजि क्षमतामा पनि निर्भर हुने गर्दछ । यसर्थ एउटा लेखकले आफूले प्रस्तुत गर्न चाहेको विचारलाई स्थापित गर्नका लागि सोही अनुसारका पात्र सिर्जना गर्दछ र ती पात्रका माध्यमबाट आफ्नो दृष्टिकोण प्रस्तुत गर्दछ । पात्रले लेखकको वैचारिक प्रतिनिधित्व गर्दछन् ।
२.५.३.३ परिवेश
पात्र एवम् चरित्रले कार्यव्यापार गर्ने घटनाहरू घट्ने यथार्थ जगत््लाई परिवेश भनिन्छ । लघुकथामा परिवेश सूक्ष्म एवम् सीमित आयामको हुन्छ । लघुकथामा परिवेश स्थानगत, कालगत र पात्रगत रूपमा आउन सक्छ । कथामा परिवेशको भूमिका बारेमा चर्चा गर्ने क्रममा गोपीन्द्र पौडेलले कथामा कुनै समय विशेषको वर्णन र झ–झल्को प्रस्तुत गर्दा स्थानगत र पात्रका मानसिक, भौतिक क्रियाकलापका बारेमा उल्लेख गर्दा पात्रगत वा मनोगत परिवेश निर्माण गरिएको हुन्छ भनेका छन् (पौडेल,२०६३,पृ.२५) । परिवेशले बाह्य वातावरण मात्र नभएर पात्रको आन्तरिक मनोदशाको पनि अध्ययन गर्दछ । लघुकथामा परिवेश हुँदाहुदै पनि लेखकले कथानक एवम् पात्र अनुकूलको परिवेश सिर्जना गर्नुपर्दछ । प्रायःजसो सूच्य र साङ्केतिक रूपमा अथवा सन्दर्भका रूपमा आउने गर्दछ
(गौतम,२०७२,पृ.४८) । पात्रको स्तर, उसको क्षमता र पात्रमार्फत् प्रस्तुत गरिने विचार अनुकूलको परिवेश सिर्जना भएन भने रचना कमजोर बन्न पुग्छ । लघुकथामा लेखकले आफूले प्रस्तुत गर्न खोजेको विचार अनुकूल हुने गरेर परिवेश निर्माण गर्न सक्यो भने रचनालाई प्रभावकारी किसिमले व्यक्त गर्न सक्दछ ।
२.५.३.४ उद्देश्य
कुनै पनि कार्यको निश्चित प्रयोजन हुन्छ र निश्चित प्रयोजनले कार्यलाई लक्ष्यसम्म डो¥याउने काम गर्दछ । साहित्य लेखन पनि उद्देश्यपूर्ण कार्य हो । लघुकथामार्फत् लघुकथाकारले अभिव्यक्त गर्न खोजेको धारणा अथवा सन्देश नै त्यसको उद्देश्य बनेर आएको हुन्छ । लघुकथाकार पिच्छे उसका लेखनगत रुचि चिन्तन वा दृष्टिकोणमा भिन्नता हुन
सक्छन् । लेखनका प्रयोजन पनि भिन्न हुन सक्छन् । साहित्यका अन्य विधामा जस्तै लघुकथामा पनि लेखकका वैचारिक चिन्तन तथा विभिन्नताहरू प्रदर्शित हुन्छन् । त्यसैले लघुकथाको उद्देश्य वा विचारपक्ष लघुकथाकारको वैयक्तिक चिन्तनमा निर्भर गर्दछ । लघुकथा लेखनको उद्देश्य कतिपयले मनोरञ्जन कतिपयले विसङ्गतिको उद्घाटन एवम् कतिपयले समाज परिवर्तनका लागि गरेको हुन्छ । लघुकथाले सामाजिक विसङ्गतिमाथि प्रहार गर्दछ र स्वस्थ समाजको परिकल्पना गर्दछ । लघुकथामा सामाजिक विकृतिप्रति आक्रामक रहेर सामाजिक सुधारको सन्देश प्रवाह गरिन्छ । निश्चित विचार प्रवाह गर्नु र व्यङ्ग्यका माध्यमबाट युगचेतनाको सशक्त प्रस्तुति गर्नु लघुकथा लेखनको उद्देश्य हो । लघुकथा रचनामा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत मानवजीवनको विकृतिजन्य क्रियाकलापप्रति विरोधको भावना प्रकट गरिन्छ र न्यायपूर्ण, समतामुखि, सभ्य एवम् सुसंस्कृत समाजको निमार्णको अपेक्षा गरिन्छ । लेखकको चेतनास्तरका आधारमा उसको लघुकथा रचना पढिसकेपछि पाठकले जुन कुरा बोध गर्दछ वा जुन सन्देश प्राप्त गर्छ त्यहि विचारवस्तु सारवस्तु हो (भट्ट,२०७३,पृ.४७) । रचनाको प्रारम्भदेखि अन्त्यसम्म व्याप्त विचारलाई पात्र, घटना, परिवेश, संवाद, द्वन्द तथा कार्यव्यापारका माध्यमबाट संश्लेषण गरी सारवस्तुको रूपमा प्रस्तुत गरिन्छ ।
२.५.३.५ संवाद
पात्र पात्रका बिचमा आफ्ना विचार, भावना, हर्ष, विषाद, उल्लास विस्मय, करुणा, क्रोध आदिलाई व्यक्त गर्नका लागि हुने पारस्परिक वार्तालापलाई संवाद वा कथोपथन
भनिन्छ । लघुकथा वर्णनप्रधान हुने भएकाले यसमा संवाद अनिवार्य नभए पनि कलात्मक संवादले वर्णनलाई प्राञ्जल र उदात्त बनाउँछ । कथानकको विकास, चरित्रचित्रण र लेखकको आशय व्यक्त गर्न संवादको सहायता लिइन्छ । संवाद पात्रलाई बोल्न लगाइन्छ र पात्रले नै कथानकलाई गतिशील बनाउने काम गर्दछ । पात्रका भाव, विचार आदि संवादका माध्यमबाट प्रस्तुत हुन्छन् । संवाद पात्रले बोल्ने र संवादसँग पात्र जोडिने हुँदा लघुकथाका तत्त्वमा पात्र र संवादको गहिरो सम्बन्ध रहन्छ ।
२.५.३.६ दृष्टिबिन्दु
दृष्टिबिन्दुले साहित्यिक रचनाको शिल्पसँग सम्बन्ध राख्दछ । लेखकले एक पात्रलाई आधार बनाएर रचनामा विचरण गर्दछ । त्यस पात्रले लघुकथामा लेखकको विचारलाई बोेकेर हिड्दछ । रचनाकारले आफ्नो दृष्टिकोणलाई अघि बढाउन चयन गरेको पात्र दृष्टिकेन्द्री पात्र हो । यो पात्र सक्रिय हुने तथा कार्यव्यापार सम्पन्न गर्ने ठाउँ नै दृष्टिबिन्दु हो । लघुकथामा सामान्यतया प्रथम पुरुष म, हामी एवम् तृतीय पुरुष ऊ, उनी दृष्टिबिन्दुको प्रयोग गरिएको पाइन्छ । प्रथम पुरुष दृष्टिबिन्दु आन्तरिक दृष्टिबिन्दु हो भने तृतीय पुरुष बाह्य दृष्टिबिन्दु
हो ।
यसै सन्दर्भमा मोहनराज शर्माका भनाइ मननीय देखिन्छ, ‘दृष्टिबिन्दु त्यो परिप्रेक्ष्य हो, जसद्वारा आख्यानकारले चरित्र, कार्यव्यापार, परिवेश आदिलाई पाठकका सामु राख्छ
(शर्मा,२०५९,पृ.४३) । दृष्टिबिन्दुले लघुकथा रचनालाई निरन्तरता दिने भएकाले यसको भूमिका प्रभावकारी देखिन्छ । चरित्र, कार्यव्यापार एवम् परिवेशको निरन्तरता दृष्टिबिन्दुका माध्यमबाट अघि बढ्ने भएकाले दृष्टिबिन्दुको भूमिका रचनाको प्रारम्भदेखि अन्त्यसम्म हुन्छ । लघुकथामा सीमित कथानक हुने भएकाले यसमा एउटै दृष्टिबिन्दुको प्रयोग अपेक्षित हुन्छ ।
२.५.३.७ भाषाशैली
भाषा अभिव्यक्तिको सशक्त माध्यम हो । भाषा साहित्यमा प्रयोग हुने कालात्मक माध्यम पनि हो । भाषाले मानवीय व्यवहार मात्र नभएर विचार पनि सम्प्रेषण गर्दछ । भाषाका बारेमा आफ्ना विचार प्रस्तुति गर्ने क्रममा गोपीन्द्र पौडेलले भाषा भनेको मानवजातिले अवलम्बन गरेको सांस्कृतिक मूल्य पनि हुनाले भाषाका माध्यमबाट मानिसका आनीबानी, चालचलन, जीवनशैली तथा जीवनदृष्टि लगायतका यावत् तथ्यका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ भनेका छन् (पौडेल,२०६३,पृ.२२) । कुन समाजमा के कस्तो भाषाको प्रयोग लेखकले गरेको वर्णन र पात्रले बोलेको संवादमा आधारित हुन्छ । लघुकथा लेखकको सामाजिक परिवेश एवम् उसको चेतनास्तरको प्रभाव उसले प्रयोग गर्ने भाषामा परेको हुन्छ । भाषिक प्रयोगका तीन प्रयुक्ति हुन्छन् । उच्च, मध्यम र निम्न भाषाका प्रयुक्तिका सम्बन्धमा मोहनराज शर्मा उच्च प्रयुक्तिमा काव्यात्मक तथा तत्सम शव्दको बढी प्रयोग भएको हुन्छ । मध्यम प्रयुक्तिमा भिन्न–भिन्न भाषाको प्रयोग गरिएको हुन्छ । यो आंशिक रूपमा काव्यात्मक हुन्छ । निम्न प्रयुक्तिमा प्रचलित शब्दको बढी प्रयोग गरिएको हुन्छ । बोचालको नेपाली भाषालाई निम्न प्रयुक्ति भनिन्छ । यसैलाई सामान्य प्रयुक्तिको नाम पनि दिइन्छ भन्दछन् (शर्मा,२०५९,पृ.६) ।
भाषाको प्रयोग कसरी गर्ने भन्दा पनि के भन्ने कुरा महत्त्वपूर्ण हो । भाषाको प्रयोगले साहित्यिक रचनालाई समाजबाट टाढा बनाउँछ र एकाध सीमित बौद्धिक वर्गको बुद्धि विलासको पात्र एवम् पात्र अनुकूलको भाषा प्रयोग गर्नुपर्दछ । सामान्य तथा जनभाषाका माध्यमबाट कलात्मक तरिकाले प्रभावकारी प्रस्तुति गर्नमा नै रचनाको प्रभावकारिता सिद्ध
हुन्छ । यसरी लघुकथा तत्त्वहरूको निरूपण गर्न सकिन्छ ।
२.६ निष्कर्ष
यस अध्ययनमा लघुकथाको परिभाषा खोज्ने क्रममा लघुकथालाई आख्यानको लघुतम भेद भएको र यसका सीमित कथानक, परिवेश, संवाद एवम् पात्रविधानको आयोजना गरिने तथ्यको पुष्टि भएको छ । लघुकथामा प्रभावकारी विचार सम्प्रेषण गर्ने सामथ्र्य हुने भएकोले यो साहित्यको शसक्त विधा भएको अभिमत राखिएको छ । लघुकथाले शाब्दिक रूपमै छोटो वा संक्षिप्त रूपमा भनिएको कथाको अर्थबोध गराउँछ । लघुकथाको स्वरूप निरूपण गर्ने क्रममा कथानक, पात्रविधान, परिवेश एवम् संवाद र भाषाशैली जस्ता तत्त्व लघुकथाका प्रमुख तत्त्व हुने निष्कर्ष निकाली यिनै तत्त्वका आधारमा कथाहरूको पनि विश्लेषण गरिएको छ । लघुकथामा कथानक, पात्रविधान एवम् परिवेशमा सीमित हुने सामान्य तथा प्रथम र तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग गरिने सामाजिक विकृति विसङ्गतिप्रति असहमतिको चेतना व्यक्त गरिने दृष्टिलाई लघुकथाको उद्देश्यका रूपमा लिन सकिन्छ । नेपाली लघुकथाको लेखन मात्र नभएर यसका विषयमा चर्चा परिचर्चा एवम् लेखन शिल्पका बारेमा हुने गरेका अध्ययनले यसको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपाली साहित्यमा प्रचलित लघुकथा पश्चिमी एवम् हिन्दी साहित्यबाट प्रभावित भए पनि यसको आफ्नै मौलिक परम्परा रहेको छ । यस परम्पराले नेपाली साहित्यमा लघुकथा अब आख्यानसँग सम्बन्धित एक स्थापित एवम् लोकप्रिय साहित्यिक विधाका रूपमा स्थापित भइसकेको छ । यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा नेपाली लघुकथालाई परिभाषित गर्नुपर्दा लघुकथा आख्यानको लघुतम भेद हो, जसमा सीमित कथानक परिवेश, संवाद एवम् पात्रविधान आयोजना गरिएको हुन्छ ।
परिच्छेद ः तीन
कृष्ण बजगार्ईंको परिचय र लघुकथागत प्रवृत्तिहरू
३.१ विषयपरिचय
वि.सं. २०२४ असार ९ गते धरानमा जन्मनु भएकाा कृष्ण बजगाईं डायास्पोराका चर्चित तथा सक्रिय साहित्यकार हुनुहुन्छ । स–परिवार बेलायतमा बसोबास गर्नु हुने बजगाईंले बेल्जिएम र बेलायतमा गरी करिब २० वर्ष बिताउनु भयो । वि.सं. २०३६ सालमा स्कुलको कार्यक्रममा बालकविता लेखेर साहित्यतर्फ आकर्षित हुनु भएका बजगाईंका रचना वि.सं. २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । लेखन, सम्पादन, प्रकाशन र सङ्गठनमा उत्तिकै सक्रिय बजगाईंका दाइबुचु (नियात्रा सङ्ग्रह २०७६), कुमारी रात (हाइकु सङ्ग्रह २०७५), भाया साक्रा (नियात्रासङ्ग्रह २०७४), युरेसियाको स्पर्श (नियात्रा सङ्ग्रह २०७३), कवच (लघुकथा सङ्ग्रह २०७२), कमरेड भाउजू (कथा सङ्ग्रह २०७२), रोडम्याप (लघुकथा सङ्ग्रह २०६५), स्रष्टा र डिजिटवार्ता (साहित्यिक अन्र्तवार्ता सङ्ग्रह, २०६५), हिउँको तन्ना (२०६५) र मौन प्रणय (२०७६) हाइकु सङ्ग्रह), यन्त्रवत् (लघुकथा सङ्ग्रह, २०६४) र संवैधानिक पत्नी लघुकथा सङ्ग्रह (२०७७) गरी हालसम्म १२ वटा कृतिहरू प्रकाशित भइसकेका छन् । प्रस्तुत परिच्छेदमा बजगाईंको व्यक्तित्व र कृतित्वको सामान्य परिचय दिई उनका लघुकथाकारिताको निरूपण गरिएको छ ।
कृष्ण बजगाईंले साहिल्य सिर्जनाका साथै विभिन्न संस्थामा आवद्ध भई समाजसेवा पनि गरेका छन् । उनी संलग्न भएका संस्था र जिम्मेवारी निम्नअनुसार रहेको पाइन्छ ः
सुनसरी साहित्य प्रतिष्ठान धरान–कार्यकारी सदस्य, साहित्य अनुसन्धान परिषद् नेपाल–महासचिव, धरान पर्यटन बोर्ड धरान नगरपालिका–कार्यकारी सदस्य, अन्तरसंस्थान कर्मचारी संघ, सुनसरी–महासचिव, अन्तरसंस्थान कर्मचारी संघ, पूर्वाञ्चल समिति–केन्द्रीय सदस्य, अन्तरसंस्थान कर्मचारी संघ, केन्द्रीय समिति–केन्द्रीय सदस्य, लघुकथा समाज नेपाल बेल्जिएम च्यापटर– अन्तरर्राष्ट्रिय संयोजक, अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जिएम च्यापटर–संस्थापक अध्यक्ष, अन्तराराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समिति वासिङटन डी.सी. महासचिव, अमेरिका र समकालीन साहित्य प्रतिष्ठान बेलायत–अध्यक्ष, लगायत अन्य क्षेत्रमा समेत लगनशील भई कार्य गरेको (शोधनायकको जानकारी अनुसार) ।
उनको २०४१ सालमा संसार साप्ताहिकमा पहिलो कविता प्रकाशन भएको थियो । बजगाईंको प्रकाशित कृतिहरूमा पहिलो लघुकथा सङ्ग्रह यन्त्रवत् (२०६३) हो । उक्त सङ्ग्रहमा ४७ वटा लघुकथा छन् । दोस्रो कृति हिँउको तन्ना हाइकु सङ्ग्रह (२०५६) हो । यसमा २६ वटा हाइकु रहेका छन् । यिनीहरूको प्रकाशन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डीसी संयुक्त राज्य अमेरिकाले गरेको देखिन्छ । तेस्रो कृति रोडम्याप (२०६६) लघुकथा सङ्ग्रह हो र यसमा ६२ वटा लघुकथा रहेका छन् । यसै गरी अर्को लघुकथा कवच
(२०७२) हो र यसमा ८२ वटा लघुकथा रहेका छन् । यसरी बजगाईंका स्रष्टा र डिजिटल वार्ता (२०६५) साहित्यिक अन्तरवार्ता सङ्ग्रह, कमरेड भाउजू (२०७२) कथा सङ्ग्रह मौनप्रणय (२०७६) हाइकु सङ्ग्रह, दाइबुचु (२०७६) नियात्रा सङ्ग्रह, भाया साक्रा (२०१८) नियात्रा सङ्ग्रह, कुमारी रात (२०७५) हाइकु सङ्ग्रह, युरेसियाको स्पर्श नियात्रा सङ्ग्रह (२०७३) र संवैधानिक पत्नी (२०७७) लघुकथा सङ्ग्रह गरी जम्माजम्मी १२ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
आफ्नो जीवन साहित्य, समाज, व्यापार र नोकरी जस्ता क्षेत्रमा बिताइरहेका कृष्ण बजगाईं हरेक क्षेत्रमा आफ्नो मौलिक धारणा र मान्यता राख्दछन् । उनकाअनुसार सृष्टिको अनुपम सिर्जना हो जीवन, जीवन हुनलाई जिउँदो हुनुपर्छ । मानिसले सकारात्मक सोच, असल विचार र नैतिकतामा रहेर अगाडि बढेमा जीवन सफल बन्छ भन्ने बजगाईंको जीवन दर्शन रहेको छ (शोधनायकबाट प्राप्त जानकारी) ।
३.३ साहित्यिक दृष्टिकोण
कृष्ण बजगाईं लगनशील, निस्वार्थी, प्रगतिशील विचारप्रति दृढ छन् । उनी सेवा नै धर्म हो भन्ने विश्वास गर्दछन् । उनमा जुनसुकै काम गर्दा व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्छ भन्ने दृष्टिकोण पाइन्छ । साहित्यले जहिले पनि समाजलाई दिशानिर्देश गर्नुपर्छ । यस्तो मनोरञ्जनात्मक बालक नारीवादी विचारप्रति दृढ छन् । वास्तवमा साहित्यमार्फत् जीवन बुझ्न सकिने र साहित्यले हरसमय मानिसलाई मार्गनिर्देशन हुने विचार बजगाईंको
छ । यसले मानिसको योजना र जीवनको बाटो नै परिवर्तन गराउन सक्छ । असल साहित्यले मानिसलाई मात्र होइन समाज र राष्ट्रलाई समेत दिशानिर्देश गर्ने विचार बजगाईंमा रहेको पाइन्छ । सकारात्मक विचार बोकेको साहित्य आउनुपर्छ । जे समाज उपयोगी होस र अहिलेको बदलिदो परिवेश अनुसार आम मानिसको साहित्य लेखिनु पर्छ भन्ने दृष्टिकोण रहेको छ (शोधनायकबाट प्राप्त जानकारी) ।
३.४ कृष्ण बजगाईंको साहित्यिक व्यक्तित्व
कृष्ण बजगाईंको कविता लेखन विद्यार्थी जीवनदेखि सुरु भएको पाइन्छ । उनले विभिन्न साहित्यिक कार्यक्रमा भाग लिदै आफ्नो साहित्यियात्रामा प्रवेश गरेको देखिन्छ । साहित्य उनको सानैदेखिको रुचिको विषय थियो । बजगाईंले वि.सं. २०३६ सालबाट साहित्य लेखन सुरु गरेका हुन् भन्ने जानकारी पाइन्छ ।
कृष्ण बजगाईंले साहित्य लेखनको अभ्यास विद्यार्थी कालदेखि कविता विधाबाट प्रारम्भ गरेको जानकारी पाइए पनि उनका हालसम्म कविता विभिन्न पत्र पत्रिकामा फुटकर रूपमा मात्र प्रकाशित छन् । अन्य क्षेत्रमा कृति प्रकाशन गरे जसरी प्रकाशन गरेको पाइँदैन । कृष्ण बजगाईंको साहित्यिक कलम अन्य विधामा भन्दा लघु कथामा सशक्त रूपमा अगाडि बढेको पाइन्छ । उनको प्रकाशित यन्त्रवत् (२०६४), रोडम्याप (२०६५), कवच (२०७२) संवैधानिक पत्नी (२०७७) लघुकथा सङ्ग्रह र कमरेड भाउजू (२०७२) कथा सङ्ग्रह प्रकाशित छन् । उनका लघुकथामा डायस्पोरिक परिवेश प्रवासमा रहँदा बस्दा नेपालीले भोगेका कुरालाई र समाजमा हुने अनैतिकता, भ्रष्टाचार, रुढिवाद, नारीमाथि हुने हिंसा, यौन, धर्म, संस्कृतिका पक्षहरू समेटिएको पाइन्छ । कथामा तीव्र व्यङ्ग्य र उत्तर आधुनिक समाजको परिदृश्यलाई मुख्य विषय बनाइएको पाइन्छ । राजनैतिक भ्रष्टाचार, दुराचार र अनैतिक विखण्डन आदि पक्षलाई यथार्थ रूपमा सरल रोचक शैलीका माध्यमबाट यथार्थवादी कथाहरू प्रस्तुत गरेको पाइन्छ । उनका कथामा राष्ट्रियता पनि झल्किएको पाइन्छ । यन्त्रवत् लघुकथामा सङ्कलित केही लघुकथाले सामाजिक व्यवहारिक केही उदेकिला समस्या उठाएको पाइन्छ । यसरी नेपाली समाजमा नारीमाथि शङ्काको दृष्टिकोणले हेर्ने परम्परागत कुसंस्कारले गर्दा नारीहरू ज्यादै अपमानित हुनुपर्ने स्थितिमा छन् भन्ने कुरालाई बलात्कार कथाले ध्यानाकर्षण गरेको
छ । त्यसै गरी कमरेड भाउजूमा १५ वर्ष भन्दा बढी विदेशी माटोमा बिताए पछि त्यहीँको रोजगारीमा जाने नेपालीका समस्या घटनालाई कथानक बनाइएको पाइन्छ । यसरी समग्रमा बजगाईंका कथाहरूले विदेशमा बसेका नेपालीका पीडा, समाजिक यथार्थवादी र व्यङ्ग्यात्मक शैली अँगालेको पाइन्छ ।
कृष्ण बजगाईं कथा विधामा मात्र नभई नेपाली साहित्यमा आएको नविनतम् विधा हाइकुकार पनि हुन् । कृष्ण बजगाईंं नेपाली बिम्बहरू पक्रेर मनका भावनालाई गहिराइसम्म डुबुल्की मार्न सफल भएको कुरा उनका हाइकुले व्यक्त गर्दछन् । हिँउको तन्ना हाइकु सङ्ग्रहले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, मनोवैज्ञानिक, यौन, नारी स्वतन्त्रता, डायस्पोरा, भाषा, साहित्य र जीवन बोधका विषयवस्तुहरू प्रस्तुत गरेका छन् ।
उनी साहित्यका हाइकु, कविता, लघुकथा, कथा, अन्तर्वार्ता एवम् नियात्रा लेखन विधामा मात्र सीमित देखिदैनन् । उनले पत्रपत्रिका तथा पुस्तकको सम्पादन समेत गरेको देखिन्छ । यही क्रममा बजगाईंले विभिन्न पत्रपत्रिका तथा पुस्तकको सम्पादन समेत गरेको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) ।
३.५ कृष्ण बजगाईंको लघुकथायात्रा
कविता लेखनबाट सुरु भएको बजगाईंको साहित्य लेखन पछि लघुकथा, हाइकु, कथा र नियात्रा विधामा समर्पित भएको देखिन्छ । साहित्यको क्षेत्रमा बाल्यकालदेखि नै कविता र कथा लेख्ने गर्दथे । कविता वि.सं. २०४१ सालमा संसार साप्ताहिक कविता प्रकाशन गरेका थिए । यसरी बजगाईंले लघुकथा सङ्ग्रह यन्त्रवत् (२०६३) प्रकाशनमा ल्याएपछि उनको अर्को औपचारिक साहित्यिक यात्रा सुरु भएको देखिन्छ । त्यस यात्राको क्रममा उनी लघुकथा, कथा, हाइकु, र नियात्रा जस्ता विविध विधामा कलम चलाएको देखिन्छ ।
उनी फुटकर रूपमा २०५६ देखि नै लघुकथा लेखनमा उदाएको देखिन्छ भने २०६४ सालदेखि सक्रिय रूपमा लेखन तथा प्रकाशन कार्यमा संलग्न रहेको देखिन्छ । उनी नेपाली लघुकथाकारितामा डायस्पोरिक साहित्यकारका रूपमा परिचित छन् । यस अवधिमा बजगाईंको लघुकथा सम्बन्धी कार्यलाई दुई चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
(क) पहिलो चरण (२०५६–२०६३)
बजगाईंको लघुकथा यात्राको यो चरण अभ्यास काल हो । यस चरणमा उनले फुटकर लघुकथाहरू प्रकाशन गरेर आफ्नो लघुकथा यात्राको सुरुवात गरेको देखिन्छ । यसै क्रममा पीडा (२०५६), सम्झौता (२०५९) र प्रतिबिम्ब (२०६२) सालमा लघुकथाहरू मधुपर्कमा प्रकाशन गरेको दखिन्छ । बजगाईंका लघुकथामा जीवनमा मान्छेले देखेका र अनुभव गरेका यर्थाथवादी परिवेश र विषयवस्तुलाई समेटेको पाइन्छ । यस चरणमा बजगाईंले लघुकथा लेखन र सम्पादक व्यक्तित्व निर्माण गर्न सफल भएको पाइन्छ । विशेष गरी उनका लघुकथामा पारिवारिक अवस्था, तत्कालीन सामाजिक अवस्था, राजनीतिक अवस्था, नारीवादी विचार, प्रगतिवादी विचार, मनोवैज्ञानिक र डायस्पोरामा देखिएका विघटन र विचलनलाई प्रस्तुत गरिएको पाइन्छ । यसरी हेर्दा लेखनगत परिस्कारको खोजी गर्दै यो चरण उनको पछिलो चरणको लागि उर्जाशील रहेको पाइन्छ । बजगाईंका यस चरणका उपलब्धिहरू निम्नानुसार रहेका छन् ः
(क) सामाजिक विषयवस्तुलाई आत्मसात गर्नु,
(ख) मनोवैज्ञानिक विषयवस्तुलाई उजागर गर्नु
(ग) राजनीतिक विकृति र विसङ्तिहरूलाई तीखो रूपमा व्यङ्ग्य प्रहार गर्नु,
(घ) समाजका रुढीवादी विचार र अन्धविश्वासलाई चिरफार गर्नु ।
(ङ) महिला हिंसाको बारेमा वकालत गर्नु,
(च) फुटकर लघुकथाहरूको प्रकाशन हुनु आदि ।
(ख) दोस्रो चरण (२०६४ देखि हालसम्म)
कृष्ण बजगाईं अभ्यासिक चरणमा लघुकथा रचनामा अभ्यस्त भइसकेका थिए । यस चरणमा उनले आफूले लेखेको लघुकथालाई सङ्कलन गरी प्रकाशन कार्यको सुरुवात गरिसकेका थिए । २०५६ मा मधुपर्कमा पहिलोपल्ट लघुकथा प्रकाशित भए पनि उनको पहिलो प्रकाशित कृति यन्त्रवत् लघुकथा सङ्ग्रह (२०६४) हो । जसमा ४७ वटा लघुकथाहरू रहेका छन् । यो कृति नै उनको दोस्रो चरणको प्रारम्भ विन्दु हो । यसै चरणमा उनको रोडम्याप लघुकथा सङ्ग्रह (२०६५) प्रकाशित भयो । जसमा ६२ वटा लघुकथाहरू रहेका
छन् । त्यसै गरी कवच (२०७२) लघुकथा सङ्ग्रह प्रकाशित भयो जसमा ८२ वटा लघुकथा रहेका छन् । यसै चरण संवैधानिक पत्नी (२०७७) लघुकथा सङ्ग्रह प्रकाशित भयो । यस सङ्ग्रहमा जम्माजम्मी ५४ ओटा लघुकथाहरू रहेका छन् । यसरी उनको लघुकथा यात्रालाई निरन्तर अगाडि बढाएको देखिन्छ । उनको लघुकथात्मक प्रवृत्तिहरू निम्नानुसार रहेको पाइन्छः
(क) लघुकथाहरूले समाजमा घटेका सामाजिक राजनैतिक विकृति किसङ्गति,
(ख) महिला हिंसा, यौन दुःख, पीडा, शोषण दमन र अत्याचार,
(ग) नेपालीहरूले प्रवासमा रहदाबस्ता भोगेका समस्यालाई आफ्नो कृतिहरूमा अटाउन सफल,
(घ) डायस्पोरिक चेतनामा लेखिका उनका अधिकांश कृतिहरूले सामाजिक, राजनैतिक विकृतिलाई तीव्र व्यङ्ग्य प्रहार,
(ङ) लघुकथामा सरल, सरस भाषाशैलीको प्रयोग,
यसरी बजगाईंका यस चरणमा ४ वटा कृतिहरू प्रकाशित भइसकेका पान्छन् । समग्रमा हेर्दा बजगाईंका कृतिहरू राष्ट्रप्रेमी, डायस्पोरिक साहित्यकार, मनोवैज्ञानिक, रानीतिक बहुरूपी नेताहरूको चरित्रप्रति तीखो व्यङ्ग्य प्रहार, विदेशमा बेचिन विवश युवतीहरूको यथार्थ प्रस्तुतिका रूपमा परिचित भएको पाइन्छ ।
३.६ कृष्ण बजगाईंका लघुकथागत प्रवृत्तिहरू
समसामयिक विषयमा लेखिएका उनका लघुकथाहरू सामाजिक विसङ्गति, विकृतिका कुरालाई अभिव्यक्त गर्दै समाजसुधारको अपेक्षा गरिएको हुन्छ । उनका लघुकथाहरूमा वर्तमान राजनीतिक अवस्थामाथि व्यङ्ग्य गर्दै समाजको यथार्थ चित्रण गरिएका पाइन्छ । पशुपक्षी, निर्जीव, मानवेतर प्राणीलाई पात्रको रूपमा चित्रण गरी तिनीहरूको क्रियाकलापको वर्णन गरेर लघुकथाहरूलाई रोचक बनाई प्रस्तुत गरेको पाइन्छ । जुनसुकै क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति मानवीय पात्रको उपस्थिति नगराएर अमानवीय पात्रद्वारा त्यसलाई अघि बढाउनु उनको लघुकथात्मक प्रवृत्ति हो । सोझै प्रहार गर्न नमिल्ने स्थानमा व्यङ्ग्यात्मक बिम्ब र प्रतीकको प्रयोग गर्नु पनि उनको प्रवृत्ति हो । यसबाहेक उनका लघुकथागत प्रवृत्तिहरू निम्नानुसार रहेका छन् ः
३.६.१ मानवतावादी लघुकथाकार
बजगाईंका लघुकथाहरूमा सामान्य परिवारमा जन्मिएका मानिसहरूका जीवनको अभाव, समस्या र ठुलाहरूबाट भ्रष्टाचार र श्रम शोषणलाई प्रस्तुत गरिएको छ । वास्तवमै आजको समाजमा मानिसमा दया, करुणा, नैतिकता तथा मर्यादा हराउँदै गएको छ । आधुनिक समाजमा हराउँदै गएको मानवताले मानिस झनझन समस्यामा ग्रस्त छ भन्ने कुरा मानवीयता कथामा प्रस्तुत गरिएको छ । बजगार्ईंका लघुकथामा मानवीय मूल्य र मान्यता, स्वतन्त्रता, स्वाधीनता जस्ता पक्षहरूको प्रस्तुति पाइन्छ । वर्तमान युगमा मानवजाति स्वार्थी बन्दै गएर आफ्नो कर्तव्यलाई भुल्दै गएको मानवताको रक्षा हुन नसकेको, मानव जातिको बाँच्न पाउने अधिकार हनन भएको सन्दर्भ देखाउँदै आम नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न दिनुपर्ने स्वर यिनका लघुकथामा व्यक्त भएको छ । उनका लघुकथामा सत्य र मानवता नै ईश्वर हो भन्ने मानवतावादी स्वर कतै न कतै प्रस्तुत भएको पाइन्छ । मानव भएर बाँच्न सिक, मानवले मानवको हत्या नगर भन्दै बजगाईंले आफ्ना लघुकथाका माध्यमबाट मानवता मानवतावादी विचार प्रस्तुत गरेका छन् ।
३.६.२ प्रतीकात्मकता
प्रतीकको प्रयोगले लघुकथालाई तीव्र गति र प्रभावकारी बनाउँछ । प्रतीकात्मक लघुकथाको एउटा विशेषता पनि हो । समाज सुधार गर्ने ध्येयले पशुपक्षी, निर्जीव, मानवेतर प्राणीलाई पात्रको रूपमा चित्रण गरी तिनीहरूको क्रियाकलापको वर्णन गरेर कथाकार बजागाईँले आफ्ना लघुकथाहरूलाई रोचक बनाई प्रस्तुत गरेका छन् । जुनसुकै क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति मानवीय पात्रको उपस्थिति नगराएर अमानवीय पात्रद्वारा त्यसलाई अघि बढाएको पाइन्छ । सोझै प्रहार गर्न नमिल्ने स्थानमा व्यङ्ग्यात्मक बिम्ब र प्रतीकको प्रयोग गर्न उनी सफल रहेका छन् । बजगाईंले आफ्ना लघुकथामा प्रतीकको प्रयोग गरेर व्यञ्जनात्मक अर्थ व्यक्त गरेका पाइन्छ । स्थानीय परिवेशको व्यक्ति तथा वस्तु विशेषलाई प्रतीक बनाएर बिम्बात्मक प्रस्तुति सहित सामाजिक, राजनीतिक, आर्थिक, वैयक्तिक विकृति र विसङ्गतिलाई रोचक ढङ्गबाट प्रस्तुत गर्ने काम उनका लघुकथामा गरिएको छ । मानवेतर पात्रको उपस्थिति गराएर विकृतिप्रति प्रहार गर्ने बजगार्ईंको प्रतीकात्मकता एउटा पहिचान बन्न पुगेको छ ।
३.६.३ व्यङ्ग्यात्मकता
कृष्ण बजगार्ईंका लघुकथागत प्रवृत्ति व्यङ्ग्यात्मकता पनि हो । बजगार्ईंले समाजमा देखा परेका अनेक नराम्रा पक्षलाई व्यङ्ग्यका माध्यमबाट आफ्ना लघुकथाहरूमा प्रस्तुत गरेका छन् । यिनले कथामा मूलतः प्रशासनिक क्षेत्र र राजनीतिक क्षेत्रमा देखिएको विकृति, विसङ्गतिलाई विषयमा रूपमा ग्रहन गरेका छन् । कथाकार बजगार्ईंले निम्नवर्गीय जनजीवनका पीडा र समाजमा हुने गरेका शोषण र अन्यायलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्दछन् । उनले लघुकथामा नेपाली समाजको तत्कालीन राजनैतिक कुप्रवृत्ति, सरकारी कार्यालयमा व्याप्त दर्गन्धहरू तथा कर्मचारीतन्त्रभित्रको चाकडी, भ्रष्टाचार, ढिलासुस्ती, कर्मचारीहरूको विवशता, वाध्यता, विक्षिप्तता र नैतिक मूल्यका विषाक्त स्वरूपलाई व्यङ्ग्यात्मक तरिकाले अभिव्यक्त गरेका छन् । उनका प्रायः लघुकथामा गाउँदेखि सहरसम्म र तल्लो निकायदेखि माथिल्लो निकायसम्म हुने गरेका विकृतिहरूलाई देखाइएको छ । भ्रष्ट र नैतिक आचरण खराब भएका नेपाली समाजको चरित्रलाई उनका लघुकथाहरूमार्फत् व्यङ्ग्य प्रहार गरिएको देखिन्छ । यसरी उनले आफ्ना कथाहरूमा समाजका विभिन्न क्षेत्रमा व्याप्त विकृति तथा विसङ्गतिलाई प्रस्तुत गरेका छन् ।
३.६.४ सहज संवादात्मक र सूत्रात्मक भाषाशैली
शैक्षिक, प्रशासनिक, सामजिक, राजनैतिक सबै क्षेत्रमा प्रयोग हुने भाषाको राम्रो ज्ञान भएकाले बजगार्ईंले आफ्ना लघुकथामा सोही अनुसार भाषा प्रयोग गरेको पाइन्छ । लघुकथामा सूत्रात्मक भाषा हुनुपर्ने र सोही कुराको पालना कथाकारले पनि गरेका छन् । बिन्दुमा सिन्धु समेट्ने गरी स–साना शब्द प्रतीकबाट भाव गाम्भीर्य र विषयगत व्यापकतालाई समेट्नु कथाकारको आफ्नै खुशी रहेको छ । उनका छोटा आयामका लघुकथाहरू भए पनि कुनै कुनै कथामा संवादका माध्यमबाट सामाजिक, राजनीतिक, प्रशासनिक क्षेत्रमा देखिने विकृतिलाई चित्रण गर्ने काम गरेका छन् । लेखकले आफ्नो संलग्नता नदेखाएर कथा भित्रकै पात्रहरूका बीच हुने संवादको माध्यमबाट व्यक्ति हुने भाषा प्रयोग गरेका छन् । उनका कथामा कौतुहलमयशैली र व्यङ्ग्यात्मक तर खँदिलो भाषा बजगार्ईंका लघुकथामा पाइन्छ । बजगार्ईंका लघुकथाहरू आकार प्रकारका छोटा, छरिताका साथै घटना, विषयवस्तु र प्रस्तुति अत्यन्त रोचक, घोचक र गयात्मकताले भरिपूर्ण छ ।
३.६.५ राजनैतिक विषयवस्तुको प्रस्तुति
नेपाली राजनीतिमा आएका ठुलाठुला परिवर्तनहरूको प्रभाव हरेक क्षेत्रमा देखिए जस्तै साहित्य सिर्जनामा पनि देखिएका छन् । लघुकथाकार कृष्ण बजगार्ईं नेपाली साहित्यको आधुनिक समसामयिक प्रवृत्तिका सर्जक भएकाले यिनका लघुकथाहरूमा समकालीन युग जीवनका बेथिती, आर्थिक पक्षको मार्मिक लेखाजोखा, वर्गीय सङ्घर्ष, राजनीतिले थिलोथिलो पारेको असरहरूलाई प्रष्ट रूपमा प्रस्तुत गरिएको छ । बजगार्ईंका लघुकथाहरूले समकालीन नेपाली राजनीतिमा यावत सङ्गतिहीनताप्रति तीव्र रूपमा व्यङ्ग्य प्रहार गरिएको छ । सम्झौता, विपत्ति, दुःख, प्रतिबिम्ब, जादुगरी ढण्डा, रामराज्य आदि कथाम राजनीति विकृति विसङ्गतिलाई प्रस्तुत गरिएको छ । नेपालको राजनीतिमा देखा परेका विकृतिको पर्दाफास पनि उनका लघुकथाहरूमार्फत् गरिएको छ । नेपाली राजनीतिमा देखिएका विकृतिले निम्त्याएका अनेकन विसङ्गतिहरू लघुकथाहरूमार्फत् पोखेका छन् । लोकतन्त्रले ल्याएको भोकतन्त्र, छाडापन, लुटतन्त्र, गरिबी आदि मौलाएका स्वरूपलाई व्यङ्ग्यात्मक रूपबाट प्रस्तुत गरेका छन् (सिलवाल, २०७४,पृ.२) । नेपाली राजनीतिमा देखिएको चरम लापर्वाही र नेताहरूको मनोमानीपूर्ण व्यवहारबाट आजित भएका जनताको कुनै विकल्प पनि छैन भन्ने यथार्थ चित्रण गरिएको छ । राजनैतिक भौतिकवालमाथि व्यङ्ग्यात्मक प्रहार गर्दै राजनैतिक विकृति अनि विभत्सता दर्साउन आफ्नो सङ्ग्रहमा कथाकारले रोडम्याप कथालाई विषयवस्तुको रूपमा राखेका छन् (बजगाईं,२०६५,पृ.५) ।
३.६.६ डायस्पोरिक
आफ्नो देश वा संस्कृतिबाट टाढा रहेर पनि आफ्नो मन सदा सर्वदा साहित्य सिर्जनामा लगाएर बजागाईँ डायस्पोरिक जीवनशैलीमा बाँचेर पनि डायस्पोरिक चेतनाबाट पृथक् नेपाली जीवन र समाजकै यथार्थ चित्र उतार्छन् । बजगाईं बेलायतमा रहेर पनि नेपाली राजनीति, सांस्कृतिक, धार्मिक सम्बन्धमा उनी नेपाली भूमिसँगै बाँधिएका छन् । बजगाईं बेलायतमा रहेर पनि नेपाली साहित्य सिर्जनामा निरन्तर लागिरहेका छन् । कथाकारको यो जन्मभूमि हो, कर्म गर्नको लागि मान्छे विश्वका कुनै पनि भूगोलमा रहे पनि आफ्नो मातृभूमिबाट अलग रहन सक्दैन भन्ने कुरा उनका लघुकथाहरूको सिर्जनाले प्रस्ट्याएका
छन् । बजगाईंले नेपाल बाहिरको नेपाल शीर्षकको कथाले विदेशमा कर्म गर्न पुगेका नेपालीहरू माझ भ्रमण गर्न पुगेका नेताहरूले त्यहाँका नेपालीहरूलाई सङ्गठनमा विभाजन गरेर जुट्नु पर्ने ठाउँमा फुटाइ दिएको प्रमाण यस कथामा पाउन सकिन्छ (सिलवाल,२०७४,पृ.१०) । याडस्पोराको व्यस्त र यान्त्रिक जीवनमा लघुकथा लेखन तथा साहित्यप्रतिको उनको लगाव निकै उच्च रहेको पाइन्छ । बजागाईँको लघुकथा सङ्ग्रह ‘कवच’ कालघुकथाले डायस्पोरा जीवनको बिम्ब उतारेका छन् र त्यहाँका नेपालीहरूको भोगाइ एवं यथार्थ पनि देखाएका छन् (गौतम, २०६६,पृ.१२) ।
३.६.७ सामाजिक विषयवस्तुको चित्रण
बजगाईंका लघुकथाहरूले समाजका विसङ्गति विडम्बना, घातप्रतिघात, शोषण, अन्याय, अत्याचार, असमानतालाई चित्रण गरेका छन् । बजगाईंका लघुकथाहरूमा विद्यमान वर्गीय विभेदले सिर्जना गरेका विषम् आर्थिक अवस्थाको दारुण चित्र लघुकथाकार कृष्ण बजगाईंका लघुकथाहरूमा पाइन्छन् । बजगाईंका लघुकथाहरू आजको नेपाली जीवन र समाजका यावत् भोगाई एवम् अनुभूतिको जीवन्त प्रतिविम्ब बनेर आएका छन्
(गौतम,२०६६,पृ.५) । बजगाईंका हरेक लघुकथाहरूले हाम्रो समाजको विकृति बोलेको छ र हामीलाई सचेत पनि गराएको छ । विषयवस्तुको रूपमा देश र समाजमा देखा परेका अप्ठ्यारा परिस्थितिप्रति व्यङ्ग्य गर्दै सर्वोपरि स्थान दिएको कुरा ‘उन्मुलन’, ‘राहत’, ‘याग्यता’, ‘परिवर्तन’, आँखा’, ‘कुकुर’, ‘राजनैतिक प्रयोगशाला’ जस्ता कथाले पुष्टि गर्दछन् । बजगाईंका लघुकथा सङ्ग्रहहरूका कथाहरूमध्ये एक दर्जन भन्दा बढी कथाहरू सामाजिक समस्याको प्रस्तुतिमा केन्द्रित छन् र ती पूरै सामाजिक परिवशेसँग सम्बद्ध छन् । देहव्यापार, गरिबी अभाव राजनीति, जाति, धर्म आदिका नाममा हराउँदै जान थालेका मानवीयता आदि विविध विषयवस्तुलाई प्रस्तुत गरिएको छ । बजगाईंका कथाहरूमा समाजका साना–साना र सूक्ष्मतम पक्षलाई देखाउँदै नारी शरीरको विज्ञापनदेखि लिएर आजको नेपाली समाजमा देखिएको पुस्तान्तर समस्या हुँदै आजका मान्छेमा देखिएका संवेदनशीलता र अन्य विविध सामाजिक समस्याहरूलाई पनि प्रस्तुत गरिएको छ (गौतम,२०६६,पृ.१३) ।
३.६.८ मिथकीय प्रयोग
मिथकको प्रयोगले आधुनिक साहित्यमा नवीन शिल्प थपेको छ । मिथकको प्रयोगले साहित्यमा प्रस्तुत गरिएका विषय, पात्र र परिवेशले मानव सभ्यताको विकासको इतिहासको बिम्ब प्रस्तुत गर्दछ । त्यसैले साहित्यमा मिथकको प्रयोगद्वारा पूर्वजहरूका जीनशैली सामाजिक संरचना, राजनीति परम्परा, चालचलन। संस्कार, धर्म संस्कृति र भाषाका बारेमा स्पष्ट ज्ञान प्रष्ट गर्न सकिन्छ (ढकाल, २०७५,पृ.३९) । बजगाईंका लघुकथाहरूमा समाज र राजनीतिसँग अन्य कुराहरू पनि गाँसिएका छन् । जस्ले लघुकथाकार कृष्ण बजगाईंका रचना, सुबोध र पठनीय गुणले भरिपूर्ण बनाएका छन् । कुनै कथामाप्रसिद्ध मिथकीय चिन्तन मिसाइएको छ भने कुनैमा धार्मिक आस्था गाँसिएको छ । जस्तै ः ‘तीन बाँदर’ (१ र २) लघुकथामा महात्मा गान्धीको मिथकीय चिन्तन समाजमा शान्ति सुव्यवस्था कायम हुन नसकेकोमा चिन्ता व्यक्त गरिएको छ ।
३.६.९ स्वैरकल्पनाको प्रयोग
बजगाईंका लघुकथामा यथार्थभन्दा पर रहेर कल्पना गरिएको विशेषता ‘महँगीको हत्या’ भन्ने लघुकथामा पाउन सकिन्छ । यिनका लघुकथाहरूमा पनि स्वैरकल्पनाको प्रयोग भएको पाइन्छ । बजगाईंका कथाहरूमा प्रस्तुत घटनाहरू वास्तविक सत्य वा तथ्यसँग निकट रहेर पनि यसलाई अझै मिठासपूर्ण, सुमधुर र प्रभावपरक बनाउन कल्पनाको प्रयोग गरिएको हुन्छ । मानवलाई नै जादूमय वा चामत्कारिक बनाउने खालका कथाहरू ‘जादुगरी डण्डा’, ‘यन्त्रवत्’ कथामा कल्पना र स्वैरकल्पनाको प्रयोग गरिएको छ । उनका लघुकथाहरूले प्राचीन मानव सृष्टि र विकासक्रममा देखिएका प्राकृतिक, अतिप्राकृतिक, यथार्थ वा अतियथार्थलाई सहज रूपमा उतारेका छन् । अति मानवीय घटनालाई सत्य बनाउन वा वैचारिक चिन्तनलाई पुष्टि गर्न यस्ता काल्पनिक परिवेशको निर्माण गरिएको देखिन्छ ।
३.६.१० यौन सम्बन्धका लघुकथा लेखन
यौनसम्बन्ध शारीरिक आवश्यकता हो जसलाई उचित स्थान, समय, वाध्यतामा अनिवार्यताका आँखाले हेरिन्छ । यसमा कलात्मक भूमिका बाँध्ने र सम्बन्धको नजिकमा पुगेपछि शिष्टताका साथ पर पन्छिने शिल्प अँगालिन्छ (घिमिरे,२०६४,पृ.५) । ‘पूर्णता’ यस्तै प्रकारको कथा हो । जसमा महिलाले पनि नपुङ्सक पाएकी र साथीको सहायताले गर्भधारण गरेको देखाएर सामाजिक नीति तथा व्यवहारको स्थितिमा प्रकाश पारिएको छ । यस्ता कथाहरूमा ‘पीडा’ कथा पनि एक हो । बजगाईंका लघुकथाहरूमा मान्छेका वैयक्तिक राग, संवेग, आवेश आदि मनोदशालाई अभिव्यञ्जित गरिएको पाइन्छ । यस क्रममा मान्छेका वैयक्तिक आवेगदेखि लिएर दमित यौन चाहनालाई पनि अभिव्यञ्जित गरिएको पाइन्छ ।
३.६.११ विषयवस्तुगत विविधता
बजगाईंका लघुकथामा विषयवस्तुगत विविधता पाउन सकिन्छ । उनको केही कथाले सामाजिक व्यवहारिकताका केही उदेकिला समस्या उठाएका छन् । ‘आत्महत्या’ कथाले नेपालमा सहिदप्रति राष्ट्र र राष्ट्रसेवकहरूले कर्तव्य भन्दा भावकताले काम चलाएको कुरा यस कथामा उठाउँदै राष्ट्रले सहिदमाझ घोषणा गरिदिए पुग्छ तर पसलेको तिरो तिरिदिने व्यवहारिकतामा कसैले ख्याल गरेको हुँदैन भन्ने पक्षतिर लेखकको ध्यान गएको देखिन्छ । नेपाली समाजमा नारीमाथि शङ्काको दृष्टिले हेर्ने परम्परागत कुसंस्कारले गर्दा नारीहरू त्यसै पनि अपमानित हुनुपर्ने स्थितितिर ‘बलात्कार’ भन्ने कथाले ध्यानाकर्षण गरेको छ । पुस्तकको विमोचनको रोगले नाम नचलेका लेखकको हुर्मत भएको कुरामा ‘विमोचन’ कथा केन्द्रित छ । बजगाईंका लघुकथामा विषयगत विविधता पाइन्छ । नेपाली जीवन र समाजका विविध पाटाहरूका सूक्ष्म पक्षहरूलाई प्रस्तुत गरिएको पाइन्छ । नेपाली जीवन र यसभित्रका त्यहाँ भन्दा धेरै आयामहरू छन् । ती समाजका आयामभित्र परिवार र व्यक्तिहरू पनि छन् । यसरी उनले सामाजिक जीवनका विविध पक्षलाई प्रस्तुत गरेका छन् । यसरी समग्र रूपमा हेर्दा बजगाईंका लघुकथाहरू समाजमुखी साहित्यको पक्षमा रहेका छन् । साहित्यले समाजलाई परिवर्तन मात्र नगरेर त्यहाँ भएका यथार्थ कुराहरूलाई त्यही समाज समक्ष पस्कनु हो र समाजलाई मार्गनिर्देशन गर्नु पनि हो ।
३.७ कृष्ण बजगाईंको लघुकथागत योगदान तथा मूल्याङ्कन
लघुकथाकार कृष्ण बजगाईं नेपाली लघुकथाको आधुनिक कालको चौथोँ चरणको समसामयिक धारामा उदाएका हुन् । बजगाईंको साहित्य लेखनको सुरुवात फुटकर कविताबाट भएको हो र अहिले उनी हाइकु, नियात्रा, कथा हुँदै लघुकथासम्म आइपुगेका
छन् । बजगाईंका यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी ४ वटा लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । साहित्य क्षेत्रमा बजगाईं लघुकथा लेखनलाई उत्तिकै सफल रूपमा अगाडि बढाउन सक्षम देखिन्छन् । बजगाईंले हाइकु, निबन्ध, कथा, लघुकथा आदि जस्ता विधामा पनि सशक्त रूपमा कलम चलाएको देखिन्छ । वि.सं. २०४१ सालमा संसार साप्ताहिकमा कविता प्रकाशन गरेर नेपाली साहित्य लेखनमा प्रवेश गरेका बजगाईंको फुटकर रूपमा लघुकथा र लघुकथा सङ्ग्रहहरू नै प्रकाशनमा ल्याएर महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
नेपाली लघुकथाको आधुनिक कालको समसामयिक चरणमा उदाएका बजगाईंको लघुकथाहरूमा राजनीतिक विकृति विसङ्गतिको चित्रण टड्कारो रूपमा पाउन सकिन्छ । बजगाईंका लघुकथालाई हेर्दा उनी जुनसुकै विषयवस्तु अँगालेर पनि आफ्ना विचारलाई व्यक्त गर्न सक्ने कथाकारका रूपमा देखा पर्दछन् । विदेशमा रहँदा पनि नेपाली राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, साहित्यिक आदि विविध क्षेत्रमा देखिएका विसङ्गतिहरूलाई जस्ताको तस्तै आफ्ना लघुकथामा उतारेका छन् । डायस्पोरिक जीवनशैली बाँचेर पनि साहित्य साधनमा निरन्तर लागिरहने बजगाईंको योगदान महत्त्वपूर्ण देखिन्छ । डायस्पोराको व्यस्त र यान्त्रिकी जीवनमा लघुकथा लेखन तथा पठन साहित्यप्रति उनको लगाव निकै उच्च रहेको पाइन्छ । ‘लघुकथाले संक्षिप्त रूपमा समाजका विसङ्गति, विडम्वना, राजनीतिक एवम् प्रशासनिक भ्रष्टाचार, घातप्रतिघात, शोषण, अन्याय, अत्याचार र असमानतामाथि प्रहार गर्ने गर्दछ । तिनै माथि कथात्मक प्रहार विरोधको कला नै लघुकथा हो’ भन्ने सुन्दर विचारहरू संप्रेषण गर्दै लघुकथा लेखनको क्षेत्रमा एउटा अलग्गै पहिचान बनाउने सफल छन् बजगाईं ।
समकालीन नेपाली साहित्यमा कृष्ण बजगाईंको उपस्थिति विगत केही समयदेखि सशक्त देखिएको छ । नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरू देखिएका छन् बजगाईंका । उनका लघुकथामा आजका नेपाली जीवन र समाजमा यावत् भोगाइ एवम् अनुभूतिको प्रतिबिम्ब बनेर आएका छन् । कौतूहलमय शैली र व्यङ्ग्यात्मक तर खँदिलो भाषा बजगाईंका लघुकथामा पाइन्छ । नेपाली साहित्य साधनामा निरन्तर लागिरहेका बजगाईंले नेपाली लघुकथाका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका छन् । वर्तमानमा समेत अन्त्यन्त लोकप्रिय र पठनीय रहेको लघुकथा विधामा कृष्ण बजगाईंको योगदान सशक्त तथा प्रभावकारी देखिन्छ । बजगाईंले भर्खरै फुल्दै गएको लघुकथा विधालाई अभैm उत्कृष्ट कृतिको प्रकाशन गरेर यसलाई मलजल गर्ने काम गरेका छन् ।
नेपाली लघुकथाको फाँटमा लभगभ साढे दुई दशकदेखि देखा पर्दै आएका बजगाईंले आफ्नो साहित्य यात्राको थालनी फुटकर कविताबाट गरेका हुन् । साहित्यका विविध क्षेत्रमा कलम चलाएता पनि बजगाईंको उल्लेख्य योगदान भने लघुकथामै देखिन्छ । उनका फुटकर लघुकथाहरू पनि विभिन्न पत्रपत्रिकाले प्रकाशनमा ल्याएका छन् । फुटकर लघुकथा लेखनको लामो साधना पछि उनी लघुकथाका क्षेत्रमा लघुकथा सङ्ग्रहहरूका साथ देखा परेका छन् । भाषिक प्रयोगका दृष्टिले उनका लघुकथाहरू अत्यन्त छरितो, सूक्ष्म र सूत्रात्मक रहेको छ । छोटो छरितो आयाम भए पनि अत्यन्त मार्मिक किसिमको प्रभाव दिन सक्ने लघुकथाको शैली यिनमा विद्यमान छ । नेपाली सामाजिक, राजनैतिक, विकृति विसङ्गतिहरूलाई आफ्ना लघुकथामा प्रस्तुत गर्न सक्नु उनको सक्षमता हो । बजगाईंका लघुकथाहरू समाजमुखी साहित्यको पक्षमा रहेका छन् । साहित्यले समाजलाई परिवर्तन नगरी त्यहाँ भएका यथार्थ कुरालाई त्यही समाज समक्ष पस्कनु हो र समाजलाई मार्ग निर्देशन गर्नु पनि हो । यस अर्थमा बजगाईंका लघुकथाहरू निकै उपयोगी रहेका छन् । उनका कतिपय लघुकथाहरूमा दार्शनिक प्रवृत्तिका छन् । विभिन्न साहित्यिक विधा लिएर देखा परेका बजगाईंका लघुकथा विधामा केही परम्पराले निर्धारण गरेका प्रवृत्ति देखा पर्दछन् । आफ्नै लघुकथागत मान्यतामा अडिग रहँदै आएका बजगाईंको लघुकथागत योगदानको मूल्याङ्कन सोही अभियानका आधारमा गर्दा उनी लघुकथा लेखनमा सक्षम छन् ।
३.८ निष्कर्ष
वि.सं.२०२४ साल असार ९ गते सुनसरी जिल्लाको धरानमा जन्मेका कृष्ण बजगाईं हाइकु, कवि, लघुकथा÷कथाकार, अन्तरवार्ताकार एवम् नियात्राकारको रूपमा परिचित छन् । उनी विशेष गरी नेपाली साहित्यमा नियात्राकार र लघुकथारका रूपमा प्रख्यात देखिन्छन् । आफ्नो सिर्जना कर्मको आरम्भ वि.सं. २०३६ सालदेखि स्थानीय धरानको साहित्यिक गतिविधिमार्फत् कविता विधामा गरेका बजगाईंको प्रकाशित रचना संसार साप्ताहिक वि.सं. २०४१ मा पहिलो पटक प्रकाशनमा आएको हो । तसर्थ उनको साहित्यिक यात्रामा प्रकाशनको आरम्भ यहिँबाट भएको देखिन्छ । बजगाईं विभिन्न पत्रपत्रिकाहरूको समेत सम्पादक भई साहित्य सिर्जनाको अलावा साहित्यिक पत्रपत्रिकाको सम्पादन एवम् प्रकाशनको महत्त्वपूर्ण योगदान दिएर बहुमुखी व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन् । उनी देश तथा विदेशको जहाँ रहे पनि नेपाली साहित्य साधनामा निरन्तर लागिरहनु उनको जीवनको मुख्य योगदानको रूपमा रहको पाइन्छ । साहित्यका अन्य विधाभन्दा लघुकथा विधामा उनको छुट्टै पहिचान बनिसकेको छ । बजगाईं साहित्यका हाइकु, कविता, लघुकथा, कथा अन्तर्वार्ता एवम् नियात्रा लेखन विधामा मात्र सीमित देखिदैनन् । विशेष गरी नेपाली लघुकथाका क्षेत्रमा बजगाईंको छुट्टै पहिचान बनिसकेको देखिन्छ ।
परिच्छेद ः चार
कृष्ण बजगाईंका लघुकथाहरूको विश्लेषण
४.१ विषयपरिचय
आधुनिक नेपाली साहित्यको लघुकथाका क्षेत्रमा कृष्ण बजगाईंं अग्र पङ्क्तिमा आउने चर्चित नाम हो । उनी कथाकार मात्र नभई बहुआयामिक व्यक्तित्वका रूपमा चिनिन्छन् । नेपाली साहित्यमा कथा, लघुकथा, बालकथा, कविता, हाइकु, नियात्रा आदि विविध विधामा कलम चलाइरहेका बजगाईंंको हालसम्म ४ वटा लघुकथा सङ्ग्रहहरू प्रकाशित भइसकेका
छन् । यस परिच्छेदमा यिनै लघुकथा सङ्ग्रहहरूको विधातत्त्वका आधारमा विश्लेषण गरिएको छ ।
४.२ अध्ययनको अवधारणा
लघुकथाको संरचनाले यसको स्वरूपलाई बुझाउँछ । लघुकथा पनि साहित्यका अन्य विधाजस्तै स्वतन्त्र र आफैँमा पूर्ण विधा भएको हुनाले यसको आफ्नै स्वतन्त्र किसिमको संरचना हुन्छ । लघुकथाको स्वरूपका सम्बन्धमा लक्ष्मणप्रसाद गौतम (२०५६) ले एउटा आकार आकृतिको लघुसंरचना नै लघुकथा हो, जसमा आख्यानको तीव्र र तीव्रतम अभिव्यक्ति हुन्छ भनेका छन् (गौतम,२०५६,पृ.६१) । उनले लघुकथालाई लघु संरचना जसमा आख्यानको छिटो अभिव्यक्ति हुने विचार व्यक्त गरेका छन् । आयामगत हिसावले छिटो अभिव्यक्ति हुने हुँदा कतिपय लघुकथामा यसको अनेक घटकको एउटै स्वरूप पनि पाउन सकिन्छ । अर्थात् यसमा लघुताको आयामभित्र कथावस्तु, पात्र, दृष्टिविन्दु र सारवस्तु एक अर्कासँग अन्तरमुक्त भएर समष्टिमा एकै विधागत स्वरूप प्रक्षेपित हुन्छ (श्रेष्ठ, २०६९,पृ.२९) ।
लघुकथाकारले छनोट गरेको वस्तु भाव अथवा लघुकथाकारको रुचि र क्षमता अनुसार लघुकथाका शैली र स्वरूपमा पनि विभिन्नता पाउन सकिन्छ तापनि विधागत स्वभाव र विशेषताका आधारमा हरेक लघुकथामा सामान्यतया आख्यान विधाकै अधारभूत संरचनागत तत्त्वहरू पाइन्छ । यी आधारभूत तत्त्वहरूको समुच्च रूप नै सिङ्गो लघुकथा
हो (गौतम,२०५६,पृ.६५) ।
लघुकथाका संरचक तत्त्वहरूका बारेमा सबै विद्वान्हरूको एकमत छैन । तर लघुकथा आख्यान विधाकै एउटा भेद भएका कारणले आधारभूत रूपमा आख्यानका आङ्गिक संरचक घटक÷उपकरणलाई नै लघुकथाका तत्त्व मान्नु उपयुक्त ठहर्दछ (गौतम, २०७५,पृ.३५) ।
आकारगत लघुता लघुकथाको आधारभूत संरचना हो । लघु आयामका कारणले यसको वस्तु विन्यास पनि छोटो र प्रायः रैखिक किसिमको हुन्छ (गौतम,२०५६पृ.२६) । आकारमा सानो भए पनि यो विधा किमार्थ योजनाविहीन हुँदैन । लघुकथामा निश्चित लघु आयाममाा वस्तु र भावलाई पूर्णता दिनुपर्ने कारणले गर्दा यसको बनोट छरितो र कसिलो हुने गर्दछ । वस्तु वा घटना तीव्र र रोचक हुने गर्दछन् र अन्त्यमा पाठकलाई उसको भाव सामथ्र्य अनुसारको तीव्र भाव प्रवाह जन्माउन सक्नु लघुकथाको विशेषता हो (भट्ट, २०६३,पृ.४२) ।
लघुकथालाई बनोट र बुनोटका आधारमा विभाजन गरी विश्लेषण गरिएको छ । लघुकथाको बाह्य संरचना बनोट हो । यसअन्तर्गत शीर्षकीकरण, कथानक, पात्रविधान, परिवेश र उद्देश्य पर्दछन् । लघुकथाको आन्तरिक संरचना बुनोट हो । यसअन्तर्गत भाषाशैली, दृष्टिविन्दु र द्वन्द्वविधान पर्दछन् । यस परिच्छेदमा लघुकथालाई यिनै बनोट र बुनोटमा विभाजन गरी शीर्षकीकरण, कथानक, पात्रविधान, परिवेश, भाषाशैली दृष्टिविन्दु, द्वन्द्वविधान, उद्देश्य जस्ता तत्त्वका आधारमा विश्लेषण गरिएको छ ।
४.३ कृष्ण बजगार्ईंका लघुकथा सङ्ग्रहहरूको परिचय र विधातात्त्विक विश्लेषण
लघुकथाकार कृष्ण बजगाईं नेपाली लघुकथा लेखनका क्षेत्रमा समसामयिक कथाहरू रचना गरेर स्थापित भएका स्रष्टा हुन् । हालसम्म उनका यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी चारवटा लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । यहाँ यिनै लघुकथा सङ्ग्रहहरूका संक्षिप्त परिचय दिई तिनको बनोट र बुनोटका आधारमा विभाजन गरी विधातात्त्विक विश्लेषण गरिएको छ ।
४.३.१ कृष्ण बजगाईंका लघुकथा सङ्ग्रहहरूको परिचय
यन्त्रवत् (२०६४) लघुकथा सङ्ग्रह कृष्ण बजगार्ईंको पहिलो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा समाजमा व्याप्त बेथिति, भष्ट्राचार, कमिसनखोरी, चाकडी र चाप्लुसीका घटनालाई प्रस्तुत गरेका छन् । यसै सन्दर्भमा उनले सामान्य परिवारमा जन्मिएका मानिसहरूका जीवनका अभाव, समस्या र ठूलाहरूबाट गरिएका भ्रष्टाचार, श्रमशोषण जस्ता विषयलाई कथाहरूमा प्रस्तुत गरेका छन् । नेपाली समाज र नेपाली जनजीवनका परिवेशमा रचना गरेका उनका यस सङ्ग्रहमा आजको समाजमा मानिसमा दया, माया, करुणा, नैतिकता तथा मर्यादा हराउँदै गएको छ । मानिस झनझन लोभी र पापी बन्दै गएको प्रसङ्ग ‘आत्महत्या’ कथामा उल्लेख भएको पाइन्छ ।
‘रोडम्याप’ (२०६७) कृष्ण बजागार्इँको दोस्रो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा विसङ्गत समसामयिक मानव जीवनसँग सम्बन्धित विभिन्न अवस्थाको चित्रण गरिएको छ । यस लघुकथा सङ्ग्रहमा समाविष्ट गरिएका कथाहरूमा निम्न वर्गीय पात्रका जीवनचर्या, गरिबी, अभाव तथा राजनीतिले पारेको राज्यको खोक्रोपनलाई विषयवस्तु बनाइएको छ । गरिव निमुखाहरूको जनजीविकाका बारेमा लेखिएका ‘भोकहड्ताल,’ ‘समाजसेवा,’ ‘मेसिन,’ ‘यन्त्रवत् २,’ ‘लोकतन्त्र’ जस्ता कथाले नेपाली समाजमा व्याप्त गरिबीको अवस्थालाई चित्रण गरेको छ ।
‘कवच’ (२०७२) लघुकथा सङ्ग्रह बजगाईंका तेस्रो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा समकालीन युगचेतना, समकालीन नेपाली जनजीवन र समाजका सूक्ष्म गतिविधिलाई आधार बनाइएको छ । लडाईमा योद्धाहरूले शस्त्रको प्रहारबाट बच्न शरीरमा लगाउने धातुको भोटो वा पोशाकलाई मध्यनजर गर्दै मानव समाजमा रहेको व्यक्तिहरू विविध परिस्थितिहरूको सामाना गर्दै बाँचेको हुन्छ र तिनबाट मुक्त हुन आशावादी रहेको हुन्छ भन्ने देखाउन खोजिएको छ । यसका साथै समाजले सहजै स्वीकार गर्न नसक्ने प्रेमी प्रेमिकाको अवस्थाको सूक्ष्म चित्रणलाई पनि अघि सारेका छन् । आफू उभिएको धरातल भन्दा माथिल्लो विचारको धरातलमा रहन सकेमा समाजले पनि केही गर्न सक्दैन भन्ने देखाउन सक्षम प्रस्तुत लघुकथामा समाजले अनैतिक मानेका हाडनाता विवाहको बदनामीबाट बच्न धर्म परिवर्तनलाई ‘कवच’का रूपमा लिइएको प्रसङ्ग देखाइएको छ ।
‘संवैधानिक पत्नी’ २०७७ लघुकथा सङ्ग्रह बजगाईंका चौथो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा उनले पुरुषले बाहिर उपपत्नी र प्रेमिका राख्ने गरेको तर महिलाले राख्न नपाउने विषयलाई उठान गरेका छन् । पतिले महिलालाई गर्वसाथ धर्मपत्नी भनेर सम्बोधन गर्न पाउने तर महिलाले धर्मपुरुष भनेर सम्बोधन गर्न नपाउने वैचारिक द्वन्द्वको प्रतिस्थापनले उत्पन्न भएको समस्यालाई समाधान गर्न र संविधानले दिएको समान अधिकारलाई पालना गर्नुपर्ने विषयलाई यहाँ प्रस्तुत गरेका छन् । प्रस्तुत लघुकथा सङ्ग्रहमा नेपालीहरूको मार्मिक तथा दुःखद जीवन कहानी एवम् देशप्रेम तथा राष्ट्रप्रेमको भावना प्रस्तुत गरिएको छ ।
४.३.२ कृष्ण बजगाईंका लघुकथा सङ्ग्रहका कथाहरूको विश्लेषण
लघुकथाकार कृष्ण बजगाईं नेपाली लघुकथा लेखनका क्षेत्रमा समसामयिक कथाहरू रचना गरेर स्थापित भएका स्रष्टा हुन् । हालसम्म उनका यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी चारवटा लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । यहाँ यिनै लघुकथा सङ्ग्रहहरूका सङ्क्षिप्त परिचय दिई तिनको बनोट (शीर्षकीकरण, कथानक, पात्रविधान, परिवेश, उद्देश्य) र बुनोट (भाषाशैली दृष्टिविन्दु, द्वन्द्वविधान) का आधारमा विभाजन गरी विधातात्त्विक आधारमा विश्लेषण गरिएको छ ।
४.३.२.१ यन्त्रवत् लघुकथा सङ्ग्रहको विश्लेषण
कथाकार कृष्ण बजगाईंको २०६३ सालमा प्रकाशनमा आएको यन्त्रवत् लघुकथा सङ्ग्रह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ४७ ओटा कथासहित जम्मा ११२ पृष्ठको संख्यामा रहेको यस कृतिमा रङ्गीन आवरण पृष्ठ रहेको छ । आवरणका दुवैतर्फका भित्री भाग खाली राखिएका छन् । बाहिरी भागको मुख पृष्ठमा सङ्ग्रहको नाम, मान्छेको आकृतिजस्तै यन्त्र र अमूर्त चित्र सहितको रङ्गीन भागमा लेखकको नाम उल्लेख गरिएको छ । अन्तिम पृष्ठमा लेखकको परिचय, नाम, उनीद्वारा सम्पादित तथा प्रकाशोन्मुख कृतिको विवरण दिइएको छ ।
यो यन्त्रवत् लघुकथा सङ्ग्रह समसामयिक जीवनसँग सम्बन्धित छ, यस लघुकथा सङ्ग्रहमा समाविष्ट कथाहरूमा निम्न वर्गीय पात्रका जीवनचर्या, गरिबी, अभावलाई विषयवस्तु बनाइका छन् । यहाँका कथाहरूको विश्लेषणका क्रममा बनोट (शीर्षकीकरण, कथानक, पात्रविधान, परिवेश, उद्देश्य) र बुनोट (भाषाशैली दृष्टिविन्दु, द्वन्द्वविधान) जस्ता संरचनामा विभाजन गरी विधातात्त्विक आधारमा विश्लेषण गरिएको छ ।
(क) शीर्षकीकरण
यस कथा सङ्ग्रहमा ४७ ओटा विभिन्न शीर्षकका कथाहरू रहेका छन् । तिनमा यन्त्रवत्, अनास्था, विपत्ति, दुःख, मन्त्रीको जुत्ता, मूल्य, पूर्णता, सजाय, भिखारी, पीडा, उन्मूलन, आत्महत्या, बलात्कार, मितव्ययिता, प्रतिबिम्ब, राहत, दान, या, सुन्दरी प्रतियोगिता, घुम्ने कुर्सी, खुसी, परिवर्तन, इज्जत, विमोचन, आँखा, जादुगरी डण्डा, कुकुर, लिफ्ट, शब्दहरूको मृत्यु, नयाँ सुट, शोषण, स्वार्थ, राजनैतिक प्रयोगशाला, रामराज्य, मन्त्रीको घुर्की, आकर्षण, चोरऔंला, नरिवल, नाङ्गो मान्छे, मूकदर्शक, मधेस र पहाड, जनकारवाही, दसैं, घर, सञ्चालन, दिग्भ्रमित स्वप्न, सम्झौता शीर्षकका कथा रहेका छन् ।
समसामयिक विषयवस्तुका घटनालाई सटीक चित्रण गर्न सिपालु बजगाईंका कथामा विकृति, विसङ्गतिप्रति तीखो व्यङ्ग्य पनि पाइन्छ । उनका कथाको शीर्षकले समाजका समस्या बोलेका छन् । गरिव निमुखाहरूको हकहितका बारेमा लेखिएका मूल्य, यन्त्रवत्, अनास्था, मन्त्रीको जुत्ता, सजाय, पीडा, उन्मूलन, मितव्ययिता, घुम्ने कुर्सी, इज्जत, लिफ्ट, नयाँ सुट, आकर्षण, मूक दर्शक, जनकारबाही र घरजस्ता कथाको शीर्षकले नै नैतिकता, मर्यादा बिर्सिएर आफूलाई अब्बल भनाउनेहरूको हुर्मत लिइएको छ । समाजमा व्याप्त बेथिति भष्ट्राचार, कमिसनखोरी, चाकडी र चाप्लुसीका घटनालाई प्रस्तुत गर्दै त्यही अनुसारको शीर्षक राखिएको छ ।
अरूलाई असल बन्नुपर्छ भन्नेहरू नै समाजमा मर्यादा मिचेर निच काममा लागेका छन् भन्दै अनास्था, प्रतिबिम्ब राहत, सुन्दरी प्रतियोगिता र नाङ्गो मान्छे कथा लेखिएको
छ । समस्या नै शीर्षकले बताउन सक्षम उनका विकटपुर, मूल्य, पूर्णता, भखारी, उन्मूलन, प्रतिबिम्ब, परिवर्तन आँखा, कुकुर, शोषण, स्वार्थ, नरिवल र चोर औला कथाले साझो अर्थ नदिई घुमाउरो अर्थमा समाजको चित्रण गरेका छन् ।
राजनीतिप्रतिको वितृष्णा र व्यङ्य गर्न सफल ‘सम्झौता,’ ‘जादुगरी डन्डा,’ ‘राजनैतिक प्रयोगशाला,’ ‘रामराज्य,’ ‘मन्त्रीको घुर्की,’ ‘योग्यता,’ ‘सञ्चालन’ आदि कथामा राजनीतिले पारेको चरम बेथितिको उदाहरण पाइन्छ । त्यस्तै आत्महत्या कथामा गरिबीको चरम अभावले निम्त्याएको मृत्यु र विमोचन कथाले साहित्य क्षेत्रमा बढ्दै गएको विकृतिको भण्डाफोर गर्दै मर्न विवश लेखकको अवस्थाको चित्रण छ । यसरी समसामयिक विभिन्न विषयलाई कथाको रूप दिएर शीर्षकीकरण गरिएको यस लघुकथा सङ्ग्रहका शीर्ष कथा आफ्नो जीवन बाँच्नका लागि माग्नेले यन्त्रमानव जस्तो फेरेको रूपलाई चित्रण गर्दै मानिसमा हराउँदै गएको लज्जालाई बोध गराइएको छ ।
बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका लघुकथाहरूमा यान्त्रिकताप्रतिको मोह, आधुनिक समयमा मागेर खाने तरिका र शैलीमा परिवर्तन जस्ता संस्कारहरू मुख्य उद्देश्यका रूपमा आएका छन् । यस सङ्ग्रहका कथाहरू पढ्दा पाठकलाई यन्त्रवत् मानवको परीक्षण भइरहेको अनुभव हुने हुनाले र विषयवस्तु तथा शीर्षक एकआपसमा मेल खाने हुनाले शीर्षक सार्थक रहेको छ ।
(ख) कथानक
कृष्ण बजगाईंले यन्त्रवत् लघुकथा सङ्ग्रहका कथाहरूमा सामाजिक र वैयक्तिक विषयवस्तुलाई उठाई कथानक निर्माण गरेको देखिन्छ । यन्त्रवत् लघुकथा सङ्ग्रहका कथाहरू सामाजिक घटनाको व्यक्तिगत कल्पनालाई प्रमुख विषय बनाएर लेखिएका छन् । यस सङ्ग्रहका अधिकांश कथाहरू आदि, मध्ये र अन्त्यको कथानक ढाँचामा नभई विशृङ्खलित रूपमा संरचित छन् । बजगाईंले प्रत्येक कथाहरू बाह्य र आन्तरिक संरचनामा आधारित रही रचना गरेका छन् ।
‘यन्त्रवत्’ कथामा मानिसको अल्पिन र त्यसले मागेर खान अपनाएको नयाँ तरिकालाई यसरी प्रस्तुत गरिएको छ । ‘यन्त्रमानवले मीठो आवाजमा भन्यो –यस आधुनिक जमानाको यो आधुनिक शहरमा मैले भीख माग्ने तरिकामा परिवर्तन गरेको हुँ । वास्तवमा म हजुरहरूजस्तै मान्छे हुँ, उसको कुरा सुनेपछि भीडका मानिसहरू यन्त्रवत् भए’ (बजगाईं, २०६४पृ.१६) ।
यसै गरी सामान्य परिवारमा जन्मिएका मानिसहरूका जीवनका अभाव, समस्या र ठूलाहरूबाट गरिएका भ्रष्टाचार, श्रमशोषण गरेको कुरालाई कथाहरूमा प्रस्तुत गरिएको छ । वास्तवमै आजको समाजमा मानिसमा दया, करुणा, नैतिकता तथा मर्यादा हराउँदै गएको
छ । मानिस झनझन लोभी र पापी बन्दै गएको प्रसङ्ग आत्महत्या कथामा उल्लेख छ । जस्तो ः ‘हैन हजुर यो अन्तिम उधारो हो । भरदिन रित्तो पेट, खान एक गेडो अन्न छैन, रातभर उडुस उपिँयाले सुत्न दिंदैनन्् । उपाय त निकाल्नै प¥यो । उसले हात जोडेर बिन्ती गरी (बजगाईं, २०६४ पृ.३७) ।
बाँच्ने उपाय नभएपछि आफू र आफ्ना सन्तानलाई विष खुवाएर मारेको यथार्थ यहाँ प्रस्तुत भएको छ ।
अनास्था, विपत्ति कथाले समाजमा सबै एक आपसमा प्रेमपूर्वक व्यवहार गरेर बस्नु पर्ने कुरा प्रष्ट पारेको छ भने अरूको धन सम्पत्तिमा लोभ गर्नु भन्दा आफ्नो जन्मभूमि र जननीप्रति आशक्त हुनुपर्ने कुरा देखाएको छ । मानिस पेसाले ठूलो सानो हुने होइन । आफ्नो काम गरेर आफ्नो पौरख खान जे जस्तो काम गरे पनि उसले समाजमा सम्मान पाउँछ भन्ने कुरालाई राम्ररी चित्रण गरेको छ । मन्त्रीको जुत्ता, मूल्य, मानिस रगतको नाताभन्दा व्यवहारको नाताले नजिक हुन्छ भन्ने कुरा प्रष्ट पारेको छ । यस सङ्ग्रहका अधिकांश कथामा थोरै पात्रको प्रयोगले धेरै जटिल घटनालाई सामान्य र सरल तरिकाबाट प्रस्तुत गरिएको पाइन्छ ।
(ग) पात्रविधान
प्रस्तुत सङ्ग्रहमा नेपालमा कार्यालय, मन्त्रालय र सरकारी जुनसुकै अड्डाका कर्मचारीहरूको गलत चरित्रलाई चित्रण गरिएको छ । जस्तो ः ‘हाकिम साहेवले उर्दी जारी गरे, कर्मचारीहरूलाई म आजकल बिरामी छु । उता टाइपिस्ट पनि बिरामी छिन् । कोठामा हामी आरामको लागि बसेको बेला केही पनि नआउनु होला (बजगाईं, २०६४ पृ.३४) कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहमा समाविष्ट भएका कथाका पात्रहरू स्थिर र गतिशील दुवै खाले भेटिन्छन् । हाकिम, कारिन्दा, सेना, आमाबुबा, प्रहरी, मालिक, बाघ, खरायो, कुकुर आदि पात्रहरू रहेका छन् । यहाँका कथामा नेता, प्रहरी, मालिक, कुकुर पात्रको सुरूदेखि अन्त्यसम्म स्वभाव, आचरण र कार्यशैलीमा निकै किसिमको परिवर्तन भएको
पाइन्छ । त्यसैले ती गतिशील चरित्रका प्रतिनिधि पात्रका रूपमा आएका छन् भने निम्न वर्गीय जनता पियन, बेरोजगार आदिका जीवनमा कुनै परिवर्तन भएको पाइन्न । त्यसैले यिनीहरू स्थिर पात्र हुन् । अर्कोतिर कुकुर मानवेतर पात्रहरूको स्वभावसँग मानिसको चरित्र पनि जोडिएर आएको र तिनका आचरण तथा कार्यशैलीमा परिवर्तन भएको पाइन्छ, त्यसैले तिनीहरू गतिशील बनेका छन् । सामाजिक सम्बन्धका आधारमा हेर्दा प्रस्तुत कथा सङ्ग्रहका पात्रहरू प्रायः मध्यम, निम्न र केही उच्च वर्गका पनि देखिन्छन् । प्रस्तुत लघुकथा सङ्ग्रहमा मानवेतर पात्रको चयन तथा प्रस्तुतीकरण गरिएकोले ज्यादै पठनीय रहेको छ ।
(घ) परिवेश
कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहमा समाविष्ट भएका कथाहरूमा प्रयोग भएको परिवेशमा नेपाली समाज र नेपाली जनजीवनको राम्रो चित्र स्थापित भएको पाइन्छ । यस कथा सङ्ग्रहका कथामा असल मानवका मनमा रहेका भावना र विचार, मानिस मानिस बिचको सम्बन्ध, नेताको घुसखोरी प्रवृत्ति, हाकिमको दुष्ट मनसाय र अवस्थाको बारेमा उपयुक्त प्रस्तुति रहेको पाइन्छ ।
उनका धेरै कथाहरूमा गाउँलेका साथै केही कथामा सहरी परिवेशको चित्रण रहेको छ । यसमा सहर, बजार आदिको वर्णन गरिनु, विभिन्न सहरको ठाउँहरूको वर्णन गर्नु आदिले सहरिया वातावरणको अङ्कन गरेको प्रष्टै देखिन्छ । साथै कथामा गाउँमा मानिसहरू जम्मा भएकोले यहाँ गाउँको परिवेश छ र जङ्गली जनावरहरूलाई समातेर ल्याइएको प्रसङ्गले जङ्गलको परिवेश उल्लेख गरिएको छ । जनावरहरूको वासस्थान वा जङ्गलको परिवेशलाई लिइएको छ । साथै पैसाको लोभमा श्रम शोषण गरेको ज्याला समेत नदिएको, परिवेश देखिएको छ । राहत, पीडा, विपत्ति कथामा गाउँमा परेको जटील समस्या र अन्तमा गाउँ नजिकै पुगेकोले कथामा गाउँले परिवेश भएको प्रष्ट हुन्छ । जस्तो ः ‘गरिबी र भोकमरीले पीडित दर्गम क्षेत्रका आफ्ना मतदाता भेला पारी विदेश यात्राका वर्णन सुनाउन थाल्नु भयो । जनता भने चुनावमा वाता गरे अनुसारै मन्त्रीजीले राहतको पोको ल्याएछन् भनेर दङ्ग परे (बजगाईं, २०६४ पृ. ४८) । यसरी कथामा प्रस्तुत वातावरण, चालचलन, बोलचाल आदिले त्यो ग्रामीण परिवेश हो भन्ने कुरा स्पष्ट हुन्छ ।
(ङ) भाषाशैली
कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहमा समाविष्ट भएका कथाहरूको भाषाशैली पाठकले सहजै किसिमले बुझ्न सक्ने खालको छ । यस सङ्ग्रहका कथाहरूले सामाजिक, पारिवारिक र वैयक्तिक विषयवस्तुलाई अवलम्बन गरेका हुनाले पनि यसको भाषाशैली सहज र सुबोध बन्न पुगेको देखिन्छ । कथाकार बजगाईंले भाषाशैलीलाई प्रचलित सरल शब्दहरूको चयन गरेर सहज बनाएका छन् । उनका प्रायः कथाहरूमा वाक्यगठन पनि सरल छ । पात्रानुकूल बोलचालको भाषाको प्रयोग र छोटा संवादको प्रयोगले यस सङ्ग्रहका कथालाई सरल, सहज तथा स्वाभाविक बनाउनुका साथै रोचक र प्रभावकारी बनाइएको पाइन्छ ।
प्रस्तुत सङ्ग्रहमा ‘बाँदरको हातमा नरिवल’ (बजगाईं, २०६४, पृ.८९) जस्ता उखानका साथै लघुकथाहरूमा वर्णनात्मक, विवरणात्मक, संवादात्मक शैलीको प्रयोग भेटिन्छ । कथाकारले यस कृतिमा तत्सम, तद्भव र अङ्ग्रेजी मूलका आगन्तुक शब्दको पनि प्रयोग गरेको पाइन्छ । यस कथा सङ्ग्रहमा पुलुक्क, बुरुक्क, सुटुक्क, घुँक्कघुँक्क जस्ता अनुकरणात्मक शब्दहरूको प्रयोगले भाषालाई मिठास र प्रभावकारी बनाउन सहयोग पु¥याएको छ । वाक्य गठनमा प्रायःजसो सरल वाक्यको बढी प्रयोग भएको भेटिन्छ । उनका लघुकथाहरूमा ग्रामीण परिवेशमा बोलिने र सहरिया परिवेशमा बोल्ने कथ्य भाषाको प्रयोग पाइन्छ । जस्तो ः ‘सित्तैमा .... सित्तैमा ... । आउनुहोस् हजुर सित्तैमा एक भारी दाउरा लानुहोस् (बजगाईं, २०६४ पृ. २५) ।
(च) दृष्टिविन्दु
कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका कथाहरूमा बाह्य दृष्टिविन्दु अँगाली तृतीय पुरुषशैलीमा लेखिएको छ । प्रायः कथामा पात्रको नाम तृतीय पुरुष दृष्टिविन्दुमा पात्रको संवादद्वारा तिनको मानसिक स्थिति वा अवस्थालाई चित्रण गरिएको छ । गाउँले मानिसले अभाव तथा समस्यामा कस्तो जीवन भोगे, के कस्तो कल्पना गरे र बाँच्न नसकेर जीवनबाट कसरी उम्कने सोच बनाए र आत्महत्या समेत गर्न पुग्दछन् भन्ने कुरालाई प्रट्याइएको हुँदा यसमा बाह्य दृष्टिविन्दु अवलम्वन गरी तृतीय पुरुष शैलीको प्रयोग भएको देखिन्छ । जस्तो ः ‘भीडका प्रत्येक मानिसका आआफ्ना तर्क र विचार जे भए पनि सामूहिक आत्महत्याप्रति सबैले दुःख प्रकट गरिहेका थिए’ (बजगाईं, २०६४ पृ. ३८) ।
यसै गरी कथामा मानवेतर पात्रहरूको प्रयोग गरी तृतीय पुरुष शैलीका माध्यमबाट बाह्य दृष्टिविन्दुको प्रयोग गरिएको छ । प्रस्तुत सङ्ग्रहका कथाका पात्रले चाकडी चाप्लुसी जस्ता कार्य गरेर पद प्राप्त गर्नका लागि भ्रष्टाचार र अनैतिकताको प्रसङ्गलाई ‘चोर औंला’, ‘मन्त्रीको घुर्की’ जस्ता कथामाहरूमा देखाइएको छ । जसले असल काम गर्छ उसले जीवनमा कहिल्यै सुख पाएन भन्ने कुराको राम्रो चित्रण गरेको पाइन्छ । कथाका पात्रले आफ्नो गाउँघर र आमाबुबा बिर्सन नसकी आफ्नो देशप्रति देखाएको प्रेम प्रसङ्गलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । कथा कतैकतै म पात्रको प्रयोग गरी प्रथम पुरुष शैलीमा लेखिएको छ र यस कथामा आन्तरिक दृष्टिविन्दुको प्रयोग भएको छ ।
यसरी कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका कथाहरूमा बाह्य दृष्टिविन्दुको प्रयोग गरी तृतीय पुरुष शैलीमा रचना गरेको पाइन्छ ।
(छ) द्वन्द्वविधान
कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका कथालाई द्वन्द्वविधानका दृष्टिले केलाउँदा यसमा बाह्य तथा आन्तरिक दुबै द्वन्द्व रहेको भेटिन्छ । यन्त्रवत् लघुकथा सङ्ग्रहका पात्रको मनमा काल्पनिक द्वन्द्वले स्थान ओगटेको छ । मानवेतर पात्रले भोकै बस्न पर्नु, दुःख पाउनु तथा आँखा नदेख्नुले र विपत्तिले पु¥याएको नोक्सानी आदि घटनाले मनमा यफठ।’’ उनले यति भन्नासाथ उनकावरिपरिका सबै कुकुरहरू ठूल्ठूलो स्वरमा भक्न थाले (बजगाईं, २०६४पृ.७०) ।
यसै गरी अर्को आफन्तद्वारा ठगिनु र आम मानिसले दुःख पाउनुले तिनीहरूको मनमा आन्तरिक द्वन्द्व उब्जाएको छ । विपत्तिमा साथ दिने चाहना एक आपसमा माया र सद्भाव देखाउन खोज्नु तर मिल्न नदिने जस्ता राजनीतिक अभिष्टका कारण मिलेर बस्न के गर्नु पर्छ भन्ने आन्तरिक द्वन्द्व कथामा आएका छन् । प्रायः कथामा निम्न वर्गीय गरिब अभावमा हुर्किएका मुख्य पात्रलाई आफ्नो गाउँघर आमाबुबा तथा आम मानिसको दुखबोध तथा देशप्रति कसरी मोह देखाउने भन्ने आन्तरिक द्वन्द्वले पिरोलेको छ । गरिब तथा निम्न तहका कर्मचारीले आपूmप्रति अरूले देखाएको सद्भाव तथा माया ममताबाट प्रभावित भएर जीवनमा पनि आपूmले ख्याल गर्नुपर्ने कुरा बिर्सन नमिल्ने मानसिक द्वन्द्व देखाउँछन् । माथि उल्लिखित भएका घटनाक्रमले कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका पात्रहरूमा आन्तरिक द्वन्द्वको प्रधानता रहेको प्रष्टै देखिन्छ ।
(ज) उद्देश्य
बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका लघुकथाहरूमा यान्त्रिकताप्रतिको मोह, आधुनिक समयमा मागेर खाने तरिका र शैलीमा परिवर्तन जस्ता संस्कारलाई मुख्य उद्देश्यका रूपमा आएका छन् । यसै गरी समसामयिक राजनीतिलाई व्यङ्ग्य, गरिब तथा हेपिएकालाई माया, सहिद वर्गप्रति राष्ट्र र राष्ट्रसेवकहरूले गर्नुपर्ने कर्तव्य, नेपाली समाजमा नारीमाथि हेर्ने दृष्टिकोण र परम्परालाई उद्देश्यका रूपमा उठाइएको छ । जस्तैः ‘सहिदका परिवारले खान नपाएका कारण आत्महत्या गर्नु प¥यो । सरकारलाई लाज लाग्नु पर्ने हो’ (बजगाईं, २०६४,पृ.३८) ।
कथाकार कृष्ण बजगाईंका यन्त्रवत् लघुकथा सङ्ग्रहका कथालाई उद्देश्यका दृष्टिले हेर्दा यसमा मूलतः आम मानिसका मनमा रहेका यावत् कुराहरूलाई प्रस्ट्याउने काम भएको छ । यस सङ्ग्रहका कथामा निम्न वर्गीय पात्रका माध्यमबाट परिवर्तन तथा समृद्धको चित्रण गर्दै आम मानिसले कुनै न कुनै कल्पना बोकेका हुन्छन् । त्यस्तो कल्पना यदि साकार बन्न पुग्यो भने हामीले चाहेजस्तो समाज बन्छ भन्ने उद्देश्य ‘रामराज्य’, ‘सम्भैmाता’ जस्ता कथामा देखिन्छ ।
समग्रमा बजगाईंले ‘यन्त्रवत्’ लघुकथा सङ्ग्रहमा समाजमा व्याप्त बेथिति, भष्ट्राचार, कमिसनखोरी, चाकडी र चाप्लुसीका घटनालाई प्रस्तुत गरेका छन् । निम्न वर्गका मानिसहरूको जीवनका अभाव, समस्या र ठूलाहरूबाट गरिएका भ्रष्टाचार, श्रमशोषण जस्ता विषयलाई कथाहरूमा प्रस्तुत गरेका छन् । नेपाली समाज र नेपाली जनजीवनका परिवेशमा रचना गरेका उनका यस सङ्ग्रहमा आजको समाजमा मानिसमा दया, माया, करुणा, नैतिकता तथा मर्यादा हराउँदै गएको विचार उल्लेख गरेका छन् ।
४.३.२.२ ‘रोडम्याप’ लघुकथा सङ्ग्रहको विश्लेषण
कथाकार कृष्ण बजगाईंको २०६६ सालमा प्रकाशनमा आएको यो रोडम्याप लघुकथा सङ्ग्रह अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशनमा ल्याएको हो । ६२ ओटा कथासहित जम्मा १२३ पृष्ठको संख्यामा रहेको यस कृतिमा रङ्गीन आवरण पृष्ठ रहेको छ । आवरणका दुवैतर्फका भित्री भाग खाली राखिएका छन् । बाहिरी भागको मुख पृष्ठमा सङ्ग्रहको नाम, पृथ्वी गोलो घुमेकोजस्तो र अमूर्त चित्र सहितको रङ्गीन भागमा लेखकको नाम उल्लेख गरिएको छ । अन्तिम पृष्ठमा लेखकको परिचय, नाम, उनीद्वारा सम्पादित तथा प्रकाशोन्मुख कृतिको विवरण दिइएको छ ।
यो ‘रोडम्याप’ लघुकथा सङ्ग्रहभित्रका लघुकथामा युगीन विकृति बेथितिको चित्रण पाइन्छ । विसङ्गत समसामयिक मानव जीवनसँग सम्बन्धित विभिन्न अवस्थाको चित्रण गरिएको छ । यस लघुकथा सङ्ग्रहमा समाविष्ट कथाहरूमा निम्न वर्गीय पात्रका जीवनचर्या, गरिबी, अभाव तथा राजनीतिले पारेको राज्यको खोक्रोपनलाई विषयवस्तु बनाइका छन् । यस सङ्ग्रहका कथाहरूको विश्लेषणका क्रममा बनोट (शीर्षकीकरण, कथानक, पात्रविधान, परिवेश, उद्देश्य) र बुनोट (भाषाशैली दृष्टिविन्दु, द्वन्द्वविधान) जस्ता संरचनामा विभाजन गरी विधातात्त्विक आधारमा विश्लेषण गरिएको छ ।
(क) शीर्षकीकरण
‘रोडम्याप’ कथा सङ्ग्रहमा जम्माजम्मी ६२ ओटा विभिन्न शीर्षकका कथाहरू रहेका छन् । तिनीहरू रोडम्याप, झगडाको गुँड, गोजी नभएको सुट, विज्ञापन, प्रशंसा, तेस्रो लिङ्गी, आशा, भित्र÷बाहिर, भोक हड्ताल, घोषणापत्र, मित्रता, रिस, समाचार, साङ्केतिक भाषा, सल्लाह, हो..हो..हा..हा.., समाजसेवा, भगवान्, आदेश, पोसाकविहीन राजा, वरदान, मुर्दा शान्ति, लोग्नेको जात, पेन्डिङ फाइल, अर्ती, बन्दुक र गोली, स्वर्ण पुरुषफास्ट प्रेम, कलर म्याचिङ, चिन्ता, दुःखको पहाड, दुःख, को हो ?, बाटो, भोग, लोकतन्त्र, मेसिन, पुरस्कार, बिमार, अहम्, शत्रु, यन्त्रवत् २, रिपोर्टर, कला, मानवीयता, सोम शर्माको सपना, पुरुष अङ्ग, तीन बाँदर, आश्वासन, भित्री जाडो, त्रास, नेताका कुरा, छेपारे रङ, भ्यागुत्ते उफ्राइ, परम्परा, परिवर्तन, मन्त्रीजीको खराब सपना, बुख्याँचा २, मुक्तिदाता, रोबोट आदि हुन् ।
समसामयिक राजनैतिक विषयवस्तुका घटनालाई यथार्थ चित्रण गर्न सिपालु बजगाईंका कथाहरूमा सामाजिक विकृति, राजनैतिक विसङ्गतिप्रति तीखो व्यङ्ग्य पनि
पाइन्छ । यस सङ्ग्रहका कथाका शीर्षकले समाजका प्रत्यक्ष समस्याको उद्घाटन गरेका छन् । गरिव निमुखाहरूको जनजीविकाका बारेमा लेखिएका भोकहड्ताल, समाजसेवा, मेसिन, यन्त्रवत् २, लोकतन्त्र जस्ता कथाले नेपाली समाजमा व्याप्त गरिबीको अवस्थालाई देखाएको छ भने नेपाली राजनीतिमा देखिएको विकृतिलाई रोडम्याप, भित्र÷बाहिर, घोषणापत्र, रसि, साङ्केतिक भाषा, सल्लाह, आश्वासन, त्रास, नेताका कुरा, छेपारे रङ, मन्त्रीको खराब सपना जस्ता कथाको शीर्षकले नै नैतिकता मर्यादा बिर्सिएर आफूलाई अब्बल भनाउने यी देशका भ्रष्ट चरित्रहिन नेता र तिनीहरूको अनैतिक कार्यको हुर्मत लिएको छ । आशा, दर्शन, अर्ती, प्रशंसा, परम्परा, अहम्जस्ता कथाले समाजमा व्याप्त बेथिति भष्ट्राचार, कमिसनखोरी, चाकडी र चाप्लुसीका घटनालाई प्रस्तुत गर्दै त्यही अनुसारको शीर्षक राखिएको छ । अरूलाई असल बन्नुपर्छ भनेर भन्नेहरू नै समाजमा मर्यादा मिचेर निच काममा लागेका छन् भन्दै वरदान्, समाचार, झगडाको गुँड कथा लेखिएको छ । समस्या नै शीर्षकले बताउन सक्षम उनका ‘सोम शर्माको सपना,’ ‘तीन बाँदर,’ ‘भ्यागुत्ते उफ्राइ,’ ‘गोजी नभएको सुट’ कथाले सोझो अर्थ नदिई घुमाउरो अर्थमा समाजको चित्रण गरेका छन् ।
राजनीतिप्रतिको वितृष्णा र व्यङ्ग्य गर्न सफल पोशाकहीन राजा, मूर्दाशान्ति, स्वर्णपुरुष, बाटो आदि कथामा राजनीतिले पारेको चरम बेथितिको प्रत्थ्यक्ष चित्रण पाइन्छ । त्यस्तै दुःख, र बिमार कथामा गरिबीको चरम अभावले निम्त्याएको मृत्यु र मित्रता, पुरस्कार, परम्परा, शत्रु, ईष्र्या कथाले साहित्य क्षेत्रमा बढ्दै गएको विकृतिको भण्डाफोर गर्दै नेपाली साहित्य र समालोचनाको अवस्थाको चित्रण छ ।
यसरी समसामयिक विभिन्न विषयलाई कथाको रूप दिएर शीर्षकीकरण गरिएको यस लघुकथा सङ्ग्रहका शीर्ष कथा रोडम्यापले आफ्नो जीवनलाई सुखी र समृद्ध बनाउन हिँडेका नेताका स्वास्थको बाटोलाई हेर्दै तिनीहरूको बदलिएको रूपलाई चित्रण गर्दै नेतामा हराउँदै गएको निलज्र्जपन प्रस्तुत गरिएको छ । नैतिकता तथा मर्यादा बिर्सिएर आफूलाई अब्बल भनाउने यी देशका भ्रष्ट चरित्रहीन नेता र तिनीहरूको अनैतिक कार्यको हुर्मतलाई पर्दाफास गर्न सक्षम भएको हुनाले यस सङ्ग्रहको शीर्षक रोडम्याप राख्नु उत्तम रहेको देखिन्छ ।
(ख) कथानक
कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका कथाले राजनैतिक, धार्मिक, सामाजिक र वैयक्तिक विषयवस्तुलाई उठाई कथानक निर्माण गरेको देखिन्छ । रोडम्याप लघुकथा सङ्ग्रहका कथाहरू राजनैतिक, सामाजिक घटनाको विषयलाई प्रमुख विषय बनाएर लेखिएका छन् । रोडम्याप कथामा नेताको आफ्नै समृद्धिको यात्रालाई यसरी व्यङ्ग्यात्मक तरिकालाई यसरी प्रस्तुत गरिएको छ ः
नेताहरूले जुनजुन पथ हिँड्नु भने त्यहीत्यही पथमा जनता हिंडे, तर आधा बाटोमै उनीहरूलाई छाडेर नेता मात्र दरबारतिर छिरे । बाटो थाहा नपाएर अल्मलिएका जनता बर्सौंदेखि चक्रपथमा कहिले दायाँ, कहिले बायाँतिरबाट फन्फनी घुमिरहेका छन् (पृ.२९) ।
यसै गरी सामान्य परिवारमा जन्मिएका मानिसहरूका जीवनका अभाव, समस्या र ठूलाहरूबाट गरिएका भ्रष्टाचार, श्रमशोषण गरेको कुरालाई कथाहरूमा प्रस्तुत गरिएको छ । वास्तवमै आजको समाजमा मानिसमा दया, करुणा, नैतिकता तथा मर्यादा हराउँदै गएको
छ । आधुनिक समाजमा हराउँदै गएको मानवताले मानिस झनझन समस्यामा ग्रस्त छ भन्ने कुरा मानवीयता कथामा यसरी आएको छ । जस्तो ः ‘बिरामी छोरीलाई च्यापेर अस्पताल दौडदै गर्दा आन्दोलनकारीको भीडले छेक्यो । यो क्षेत्र हाम्रो कब्जामा छ कोही यहाँबाट भित्र बाहिर गर्न पाउँदैन । भीडको एक उग्र व्यक्तिले उर्दी जारी ग¥यो । गम्भीर बिमार छोरी अस्पताल लैजान लागेको, मानवीयताको नाताले भए पनि छोडिदिनुहोस् । यति अनुरोध गर्दा पनि जान पाएन’ (बजगाईं, २०६६पृ.६१) ।
साहित्यका क्षेत्रमा समेत आजकल बढ्दै गएको विकृतिले मानिसमा नराम्रो प्रभाव परेको अवस्थालाई पुरस्कार कथामा यसरी प्रस्तुत गरिएको छः
कुनै न कुनै पुरस्कार पाउन लामो समयदेखि लागिरहेका एक लालची लेखकले त्यो पुरस्कार हत्याएरै छाड्ने अठोट लिएका रहेछन् । जुन जुन पार्टीको सरकार बन्छ त्यही त्यही पार्टीको कार्यकर्ता बनेर हिंड्न सक्ने उनको विशेष खुबी रहेछ (पृ.११७) ।
विज्ञापन, भोग र दर्शन कथाले समाजमा सबै जातजाति धर्म लिङ्गका मानिस एक आपसमा प्रेमपूर्वक व्यवहार गरेर बस्नु पर्ने कुरा प्रष्ट पारेको छ भने अरूको धन सम्पत्तिमा लोभ गर्नु भन्दा आफ्नो जन्मभूमि र जननीप्रति आशक्त हुनु पर्ने कुरा देखाएको छ । मानिस पेसाले ठूलो सानो हुने होइन । आफ्नो काम गरेर आफ्नो पौरख खान जे जस्तो काम गरे पनि उसले समाजमा सम्मान पाउँछ भन्ने कुरालाई राम्ररी चित्रण गरेको छ ।
यस सङ्ग्रहका कथामा समसामयिक विषयवस्तु र प्रत्यक्ष घटेका घटनालाई पनि समावेश गरिएको छ । यस सङ्ग्रहका अधिकांश कथामा राजनैतिक विकृतिप्रतिको व्यङ्ग्यात्मक रोचक शैलीको प्रयोगले धेरै जटिल घटनालाई सामान्य र सरल तरिकाबाट प्रस्तुत गरिएको पाइन्छ ।
(ग) पात्रविधान
यस सङ्ग्रहका लघुकथाहरूमा बढीजसो चरित्रले राजनीतिक, विकृति विसङ्गतिलाई अभिव्यक्त गरेका पाइन्छ भने कतिपय चरित्रले समाजको यथार्थलाई चित्रण गरेका छन् । रोडम्याप, भित्रबाहिर, घोषणा, अहम्, यन्त्रवत्, नेताका कुरा आदिजस्ता कथाहरूले राजनैतिक नेताहरूको खराब चरित्रको प्रस्तुति गरी उनीहरूको बहुरूपी चरित्रप्रति व्यङ्ग्य गरेका छन् । जस्तो ः ‘धोती कुर्तामा सजिएर उनी एउटा गाउँबाट बाहिर निस्के । शीरमाथि टोपी थपेर अर्को गाउँ भित्रिए । चुनावमा राम्रो मत पाएर विजयी भए । त्यसपछि दौरा सुरुवाल, कोट तथा टोपी लगाएर सिंहदरबार छिरे (बजगाईं,२०६६पृ.३९) ।
प्रायः कथाहरूमा नेताहरू नै प्रमुख चरित्रको रूपमा आएका छन् । दर्शन, झगडाको गुण कथामा धार्मिक क्षेत्रका विकृति, धर्म राजनीति आदिका कारण मान्छेमा देखिएको असहिष्णुतालाई ‘रेलका यात्री’ र ‘पुजारी’ पात्रका माध्यमबाट प्रस्तुत गएिको छ । विज्ञापन जस्ता कथाले सुन्दरी मोडलको चरित्र चित्रण गरिएको छ भने प्रसंशा कथाले महिलाको बहुरूपी चरित्रलाई उजागर गरिएको छ । ‘तेस्रो लिङ्गी’ कथामा प्रमुख पात्र युवती र सहायक पात्र युवकको आत्मरतीमा रमाउने सहरिया युवको चित्रण यस कथामा पाउन सकिन्छ । ‘क्रान्तिकारी नेताहरूलाई प्रमुख पात्र बनाइएको घोषणा कथामा आश्वासन र झुटा भाषण गर्ने नेताहरूको चरित्रप्रति व्यङ्ग्य गरेको छ । ‘मित्रता’, ‘पुरस्कार’ जस्ता कथाहरूमा आलोचनात्मक लेखहरू मात्र विकाउ हुने र लेखकीय इमान्दारिता हराउँदै गएको कुरालाई प्रमुख पात्र लेखकमार्फत् प्रस्तुत गरिएको छ । जस्तो ः ‘राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरवधू, लेखकदेखि पत्रकारसम्म, कसैलाई बाँकी नराखेर बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठकहरू उनका लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आफ्नो नाम छापिएको छ कि भनेर धेरै मानिसहरू पढ्दथे’(बजगाईं, २०६६पृ.४२) ।
बजगाईंका कथामा मानवीय पात्रको प्रयोग बढी पाइएता पनि मानवेतर पात्रको पनि प्रयोग उत्तिकै मात्रामा पाइन्छ । ‘तीन बाँदर’, ‘बरदान’ कथामा मानवेतर पात्रलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ । तीन बाँदर कथामा मानवेतर पात्र बाँदरको माध्यमबाट नेपाली राजनीतिमा शासन सत्ता चलाउने तीन दलका नेतालाई व्यङ्ग्य गरिएको छ भने बरदान कथामा मानवेतर पात्र स्यालको चरित्रमार्फत् राजनीति फोहोरी खेलप्रति व्यङ्ग्य गरिएको छ । समाजसेवाका नाममा गरिने भ्रष्टाचार र व्यक्तिगत स्वार्थ पूर्ति गर्ने चरित्रको प्रस्तुति ‘समाज सेवा’ कथामा पाइन्छ । कथामा जाति, धर्मका नाममा हुने गरेका विकृतिलाई चित्रण गरिएको छ ।
प्रस्तुत कथा सङ्ग्रहका चरित्रहरूले राजनीतिक नेताहरूको खराब चरित्रको चित्रण र समाजमा देखिएका विभिन्न चरित्रहरूलाई कथामार्फत् प्रस्तुत गरिएको छ । कथाका प्रत्येक चरित्रहरूले देशको सामाजिक, राजनीतिक, धार्मिक, साहित्यिक, मनोवैज्ञानिक अवस्थाको चित्रण गरेका छन् ।
(घ) परिवेश
कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहमा समाविष्ट भएका कथाहरूमा प्रयोग भएको परिवेशतर्फ नियाल्दा यसमा नेपाली समाज र नेपाली जनजीवनको यथार्थको राम्रो चित्र स्थापित गर्न सफल भएको पाइन्छ । यस कथा सङ्ग्रहका कथामा समस्याग्रस्त मानवका मनमा रहेका भावना र विचार, मानिस मानिस बिचको सम्बन्ध, नेताको नैतिकताहीन दुष्प्रवृत्ति हाकिमको भ्रष्टविचार तथा कुत्सित मनसाय अवस्था र चित्रणको बारेमा उपयुक्त प्रस्तुति गरेको पाइन्छ ।
साथै धेरै कथाहरूमा दरबारलगायत गाउँलेका जनजीवन साथै केही कथामा सहरी परिवेशको चित्रण रहेको छ । यसमा सहर, बजार आदिको वर्णन गरिनु, विभिन्न सहरका ठाउँहरूको वर्णन गर्नु आदिले सहरिया वातावरणको चित्रण गरेको प्रष्टै देखिन्छ । साथै कथामा गाउँमा मानिसहरू जम्मा भएकोले यहाँ गाउँको परिवेश छ । ‘तीन बाँदर’ कथामा साधु र बाँदरको प्रसङ्गले जङ्गलको परिवेशलाई चित्रण गरेको देखिन्छ । उदाहरणका ‘वरदान’ मा दिइएको यस प्रसङ्गलाई लिन सकिन्छ । ‘हे प्रभु म सर्वशक्तिमान् बन्न सकूँ । मेरो दैनिक आहार मांश होस् । यस्तो माग तत्काल पूरा गरे जङ्गलमा उथलपुथल र विद्रोह हुने सम्भावना थियो’ (बजगाईं, २०६६पृ.९५) ।
हाकिमले आफ्ना मातहतका कर्मचारीको श्रम तथा शारीरिक शोषण गरेको चाकडी नगर्नेलाई इज्जतसमेत नदिएको परिवेश देखिएको छ । ‘भोकहड्ताल,’ ‘कला,’ ‘दुःख’ कथामा गाउँमा परेको पारिवारिक समस्या र अन्तमा नारीका समस्याकोे परिवेश भएको प्रष्ट हुन्छ, त्यसैले यस कथा सङ्ग्रहका कथामा प्रयुक्त वातावरण सहर तथा वातावरण, चालचलन, बोलचाल आदिले ग्रामीण परिवेशको समेत मिस्रित हो भन्ने कुरा स्पष्ट हुन्छ ।
खास गरी यस कृतिभित्रका लघुकथामा समकालीन नेपाली राजनैतिक परिवेश, मान्छेका वैयक्तिक मनोरचना, साहित्यिक क्षेत्रमा देखिएका विकृति, धर्म, जाति, वर्ण आदि कारणले उत्पन्न परिस्थिति र विखण्डन, प्रशासनिक क्षेत्रमा देखिएका चरित्रहरू परिवेशगत दृष्टि बजगाईंका कथामा पाइन्छ । उदाहरणका लागि ‘दर्शन’ कथाको यस दृष्टान्तलाई लिन सकिन्छ । ‘मन्दिर उद्घाटनका लागि मन्दिरकै अगाडि भव्य मञ्च बनाइएको थियो । मन्दिरभित्रका भगवान्को आशन भन्दा पनि उच्च तथा कलात्मक मञ्चमा मन्त्रीजीले आशनग्रहण गरे’ (बजगाई,२०६६पृ.३०) ।
बजगाईको ‘रोडम्याप’ लघुकथा सङ्ग्रहमा ग्रामीण समाज, स्थानीय परिवेशमा आधारित कथाहरू झगडाको गुड, आशा, दर्शन, बन्दुक र गोली, अहं, बिमारी, ईष्र्या, आदेश, वरदान, मूर्दा शान्ती, लोग्नेका जात, अर्ती, दुःख र दुःखको पहाड रहेका छन् । लघुकथाहरू लघु आकारका हुने भएकाले समाजको व्यापक चित्रण पाइदैन तर समाजका स–साना समस्यालाई छोटो रूपमा उतार्ने काम लघुकथामा हुन्छ । यसरी बजगाईंका अधिकांश कथाहरूमा ग्रामीण सहरिया जीवनशैलीको वातावरण घुमेको पाइन्छ ।
(ङ) भाषाशैली
कथाकार कृष्ण बजगाईंका ‘रोडम्याप’ लघुकथा सङ्ग्रहका कथाहरूको भाषाशैली सरल रहेको छ । यिनै सरल भाषा प्रयाग गरेर बजगाईंले अधिकांश लघुकथाहरू रचेका
छन् । आगन्तुक भाषालाई पनि सरल तरिकाबाट प्रस्फुटन गर्न सक्ने शैली बजगाईंमा रहेको पाइन्छ ।
प्रस्तुत सङ्ग्रहका कथाहरूले राजनैतिक सामाजिक, पारिवारिक र वैयक्तिक विषयवस्तुलाई सरल भाषाका माध्यमबाट प्रस्तुत गरेका छन् । बजगाईंले आगन्तुक शब्दलाई पनि सरल र सहज किसिमले अभिव्यक्त गरेका हुनाले र पाठकले कथा पढ्दा सजिलै किमिले बुझ्न सकिन्छ । ‘झगडाको गुड’ कथामा ‘रेल डिम्बाको एउटा सानो बालक परिकथा पढ्दै थियो’ (बजगार्ईं, २०६६,पृ.३१) । कथाकार बजगाईंले भाषाशैलीलाई प्रचलित सरल शब्दहरूको चयन गरेर सबैले सजिलै बुझ्न सक्ने बनाएका छन् । यहाँका प्रायः कथाहरूमा छोटोमीठो वाक्यगठन पाइन्छ । पात्रानुकूल बोलचालको भाषाको प्रयोग छ । छोटा र तार्किक संवादको प्रयोगले यस सङ्ग्रहका कथालाई सरल, सहज तथा स्वाभाविक बनाउनुका साथै रोचक र प्रभावकारी बनाइएको पाइन्छ ।
प्रस्तुत सङ्ग्रहका कथाहरूमा वर्णनात्मक, विवरणात्मक, संवादात्मक शैलीको प्रयोग भेटिन्छ । जस्तो ः ‘गाउँलेहरूले सोधे, ‘यसको लागि हामीले के गर्नुपर्दछ ?’’ ‘‘यो बन्दुक बोक्नु पर्छ ।’’ तिनीहरूले जवाफ दिए । यति के भनेका थिए उरेन्ठेउला केटाहरू काँधमा बन्दुक बोकेर उनीहरूको पछि लागिहाले’ (बजगार्ईं, २०६६पृ.१०८) । कथाकारले यस कृतिमा तत्सम, तद्भव र कलर म्याचिङ, होटल, फास्ट, एक्स्ट्रा चार्ज, डे«स जस्ता अङ्ग्रेजी मूलका आगन्तुक शब्दको पनि प्रयोग गरेको छन् । ‘द्रव्य देख्दा महादेवको पनि त्रिनेत्र’ (पृ.१०९) ‘अँध्यारो कुवाभित्र भ्यागुत्ता जति उफ्रे पनि कुवाभित्रै हुन्छ (पृ.७५) । जस्ता उखान र ट्वार्रट्यार्र, टृवाँट्वाँ जस्ता अनुकरणात्मक शब्दहरूको प्रयोगले भाषालाई मिठास र प्रभावकारी बनाउन सहयोग पु¥याएको छ । वाक्य गठनमा प्रायःजसो सरल वाक्यको बढी प्रयोग भएको छ । समग्रमा सरल शील्प कौशलले कथा सङ्ग्रह सुबोध देखिन्छ ।
कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहभित्रका लघुकथाहरूमध्ये आधादर्जन लघुकथाहरू लोकथात्मक शैली र ढाँचामा लेखिएका छन् । ‘तीन बाँदर’, ‘भ्यागुत्ते उफ्राई’, ‘सोम शर्माको सपना’ जस्ता लघुकथाहरू तिनै लोकथात्मक शैलीमा लेखिएका कथाहरू
हुन् ।
(च) दृष्टिविन्दु
बजगाईंको रोडम्याप लघुकथा सङ्ग्रहका लघुकथाहरूमा ‘शत्रु,’ त्रास, साङ्केतिक भाषा, परम्परा, नेताका कुरा, वरदान, अर्ती, बाटो, पेन्डिङ फाइल र रोडम्याप कथामा प्रथम पुरुष दृष्टिबिन्दु र बाँकी कथाहरूमा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको पाइन्छ । जस्तो ः ‘कत्रो मेहनतले एउटा छाप्रोलाई कविकुञ्जमा परिणत गर्न सकेका थिए उनले उसो त आफू मात्र होइन परिवारका सम्पूर्ण सदस्यहरूलाई कवि, कवियित्री बनाउन गरेको मेहनत सम्झँदै थिए (बजगार्ईं, २०६६पृ.७६) । कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका कथाहरूमा बाह्य दृष्टिविन्दुको प्रयोग गरी तृतीय पुरुषशैलीमा लेखिएको छ । धेरै कथामा नेता, पुजारी, सिपाही, कमाण्डर, गरिबजस्ता समूहवाची नामपद आएका छन् । त्यस्तै गरी ‘सोम शर्माको सपना’, ‘कला’, ‘रिपोर्टर’ ‘शत्रु’ जस्ता कथामा पात्रको व्यक्तिवाचक नामपद आएका छन् । यस सङ्ग्रहका लघुकथाहरूमा पात्रको संवादद्वारा तिनको मानसिक स्थिति वा अवस्थालाई चित्रण गरिएको पाइन्छ । जस्तो ः ‘सोम शर्माको सपना’ कथामा गाउँघर घुमेर नगद तथा जिन्सी चन्दा माग्छु । नदिए बन्दुक तेस्र्याइ जर्बजस्ती लिएरै छाड्छु । अलिकति पैसा भएपछि चुनावमा उठ्छु । गाउँमा भोट माग्छु । नदिए बन्दुक तेस्याउँछु । भोट हाल्न बसेकालाई त्यहीँ मत माग्छु बजगार्ईं, २०६६पृ.६२) भनेर सोम शर्माको सपनालाई यसरी अभिव्यक्त गरिएको छ । गाउँले मानिसले अभाव तथा समस्यामा कस्तो जीवन भोगे, कर्मचारी, नेता, हाकिम, कार्यकर्ताले के कस्तो कल्पना गरे र बाँच्न नसकेर जीवनबाट कसरी उम्कने सोच बनाए र पलायन समेत हुन पुगे भन्ने कुरालाई प्रट्याइएको हुँदा यसमा बाह्य दृष्टिविन्दु अवलम्वन गरी तृतीय पुरुष शैलीको प्रयोग भएको देखिन्छ ।
यसै गरी केही कथामा मानवेतर पात्रहरूको प्रयोग गरी तृतीय पुरुष शैलीका माध्यमबाट बाह्य दृष्टिविन्दुको प्रयोग गरिएको छ । यहाँका धेरै कथाका पात्रले नेताको चाकडी चाप्लुसीजस्ता राम्रो सीप सिकेर पुुरस्कार र आफ्ना अग्रजहरूको सम्मान गरेर पद प्राप्त गरेको हुनाले भ्रष्टपन अनैतिकता बढ्दै गएको चित्रण गरिएको छ । असल काम गर्नेको भन्दा अनैतिक भ्रष्टको जीवनशैलीमा आएको व्यापक परिवर्तनलाई कथाले चित्रण गरेको पाइन्छ । कथाका पात्रले आफ्नो गाउँघर र आफ्नो देशप्रति देखाएको प्रेम प्रसङ्गलाई मार्मिक ढङ्गले प्रस्तुत गरेका छन । सङ्ग्रहका केही कथामा कतैकतै म पात्रको प्रयोग गरी प्रथम पुरुष शैलीमा लेखिएको छ र यस कथामा आन्तरिक दृष्टिविन्दुको प्रयोग भएको छ ।
यसरी कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका कथाहरूमा बाह्य दृष्टिविन्दुको प्रयोग गरी तृतीय पुरुष शैलीमा रचना गरेको पाइन्छ ।
(छ) द्वन्द्वविधान
कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका कथालाई द्वन्द्वविधानका दृष्टिले केलाउँदा यसमा बाह्य तथा आन्तरिक दुबै द्वन्द्व रहेको भेटिन्छ । रोडम्याप लघुकथा सङ्ग्रहका केही पात्रको मनमा काल्पनिक द्वन्द्वले स्थान ओगटेको छ । ‘विज्ञापन,’ ‘प्रशंसा,’ ‘तेस्रो लिङ्गी,’ ‘भित्री जाडो’ जस्ता कथाहरूमा यौन तथा समाज मनोविज्ञानको चित्रण गरी तिनीहरू भित्रको आन्तरिक द्वन्द्वको चित्रण गरिएको छ । ‘वरदान’ कथामा छट्टु स्यालको प्रवृत्ति, ‘भ्यागुत्ते उफ्राइ’ कथामा भ्यागुत्ते उफ्राइको प्रसङ्ग आदि घटनाले मानवेतर पात्रका मनमा आन्तरिक द्वन्द्व उत्पन्न गराएको छ । यसै गरी अर्को नेताद्वारा ठगिनु र आम मानिसले दुःख पाउनुले तिनीहरूको मनमा आन्तरिक द्वन्द्व उब्जाएको छ । धार्मिक कार्य तथा अन्य दुःखमा साथ दिने चाहना एक आपसमा माया र सद्भाव देखाउन खोज्नु तर मिल्न नदिने जस्ता राजनीतिक अभिष्टका कारण मिलेर बस्न के गर्नु पर्छ भन्ने आन्तरिक द्वन्द्व कथामा आएका छन् । प्रायः कथामा निम्न वर्गीय गरिब अभावमा हुर्किएका मुख्य पात्रलाई आफ्नो गाउँघरका अभाव तथा आम मानिसको दुःख बोध तथा देशप्रति कसरी मोह देखाउने भन्ने आन्तरिक द्वन्द्वले पिरोलेको छ । जस्तै ः ‘दुःखको पहाड बोकेर आँसुको नदी बगाउँदै बसेका विकटपुरका मानिसकोहरूको खुसी देखेर सहरतिरका मानिसहरू ईष्र्या गर्न थाले बजगार्ईं (२०६६पृ.१०८) । राजनैतिक स्वार्थ, खिचातानी भ्रष्टाचार आदिले बाह्य द्वन्द्वको चित्रण भएता पनि माथि उल्लेखित भएका घटनाक्रमले कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका पात्रहरूमा आन्तरिक द्वन्द्वको प्रधानता रहेको प्रष्टै देखिन्छ ।
(ज) उद्देश्य
कथाकार कृष्ण बजगाईंका रोडम्याप लघुकथा सङ्ग्रहका कथालाई उद्देश्यका दृष्टिले हेर्दा यसमा मूलतः आम मानिसका मनमा रहेका विकृति विसङ्गतिजन्य प्रष्ट पारेको पाइन्छ । यस सङ्ग्रहका कथाहरूमा निम्न वर्गीय पात्रका माध्यमबाट परिवर्तन तथा समृद्धको चित्रण गर्दै आम मानिसले कुनै न कुनै कल्पना बोकेका हुन्छन् । त्यस्तो कल्पना यदि साकार बन्न पुग्यो भने हामीले चाहेजस्तो समाज बन्छ भन्ने उद्देश्य सबै कथामा पाइन्छ । देश र जनताका समस्या भन्दा ठूलो अरूको समस्या होइन तिनको समाधानमा सबै एकजुट भएर लाग्नु पर्दछ भन्ने भावसँगै आ–आफ्नो कर्तव्यबोधलाई प्रस्टाउन खोजेको पाइन्छ । यसै गरी यस लघुकथा सङ्ग्रहका कथामा हामीले समाजमा सबैसँग मिलेर बस्नु पर्छ, एकापसमा माया, प्रेम, सहयोग साटासाट गरेर नै सभ्य समाज निर्माण हुन्छ भन्ने उद्देश्य पाइन्छ ।
बजगाईंका लघुकथाहरूमा नेपालको राजनीतिक क्षेत्रमा देखिएका तमाम संगतिहीनतालाई देखाएर त्यसप्रतिको तीव्र व्यङ्ग्य गरिएको र अपत्यक्ष रूपमा सुधारको सङ्केत र सन्देश पनि ‘मन्त्रीको खराब सपना’, ‘स्वर्णपुरुष’, ‘पोसाक विहीन’,‘नेताका कुरा’ जस्ता कथाहरूले दिन खोजिएको छ । जस्तै ः ‘सबैको सहमतीमा कुनै जातिको पनि पोसाक नलगाउने निर्णय भयो । भाषा पनि त्यो र यो होइन । सबैले बुझ्ने साङ्केतिक भाषामा कामकाज गर्ने सहमती भयो । राजा संवैधानिक भएकाले जनताको निर्णय मान्नुपर्ने वाध्यता थियो’ (बजगाईं, २०६६,पृ.९४) ।
यसरी बजगाईंका लघुकथाहरूमा निम्न वर्गीय पात्रका माध्यमबाट परिवर्तन तथा समृद्धको चित्रण गर्दै आम मानिसले कुनै न कुनै कल्पना बोकेका हुन्छन् । त्यस्तो कल्पना यदि साकार बन्न पुग्यो भने हामीले चाहेजस्तो समाज बन्छ भन्ने बिचार व्यक्त भएको पाइन्छ । देश र जनताका समस्या भन्दा ठूलो अरूको समस्या होइन तिनको समाधानमा सबै एकजुट भएर लाग्नु पर्दछ भन्ने भावसँगै आ–आफ्नो कर्तव्यबोधलाई प्रस्टाउन खोजेको पाइन्छ ।
४.३.२.३ ‘कवच’ लघुकथा सङ्ग्रहको विश्लेषण
‘कवच’ लघुकथा सङ्ग्रह समकालीन नेपाली लघुकथामा सक्रिय रहने लघुकथाकार कृष्ण बजगाईंद्वारा सिर्जित कृति हो । यो उनका प्रकाशित कृतिमध्ये पाँचौँ र लघुकथाहरूको तेस्रो कृति हो । वि.सं.२०७२ प्रकाशन वर्ष रहेको प्रस्तुत लघुकथा सङ्ग्रहमा लघुकथाकार कृष्ण बजगाईंद्वारा विभिन्न समयमा रचना गरिएका वयासीवटा लघुकथाहरू समावेश गरिएका छन् । ‘विवेक सिर्जनशील प्रकाशन’ प्रकाशक रहेको प्रस्तुत ‘कवच’ लघुकथा सङ्ग्रहमा समकालीन युगचेतना, समकालीन नेपाली जनजीवन र समाजका विभिन्न पक्षहरूको सूक्ष्म विश्लेषण गरिएका लघुकथाहरूको प्रस्तुति रहेको छ । यहाँ यिनै लघुकथाहरूका बनोट र बुनोटका आधारमा विभाजन गरी विधातात्त्विक विश्लेषण गरिएको छ ।
(क) शीर्षकीकरण
प्रस्तुत कृतिको नामाकरण कृतिकै सत्ताईसौं क्रममा रहेको लघुकथाको शीर्षक ‘कवच’बाट गरिएको छ । दुई अक्षरीय शब्द ‘कवच’ को कोशीय अर्थ आवरण अथवा लडाईमा योद्धाहरूले शस्त्रको प्रहारबाट बच्न शरीरमा लगाउन धातुको भोटो वा पोशाक हुन आउँछ । यस अर्थमा मानव समाजमा रहेको व्यक्ति व्यक्ति विविध परिस्थितिहरूको सामाना गर्दै बाँचेको हुन्छ र तिनबाट मुक्त हुन आशावादी रहेको हुन्छ भन्ने देखाउन खोजिएको छ ।
‘कवच’ शीर्षकको लघुकथामा लघुकथाकारले समाजले सहजै स्वीकार गर्न नसक्ने प्रेमी प्रेमिकाको अवस्थाको शूक्ष्म चित्रण गर्दै आफ्ना धारणा अघि सारेका छन् । आफू उभिएको धरातलभन्दा माथिल्लो विचारको धरतलमा रहन सकेमा समाजले पनि केही गर्न सक्दैन भन्ने देखाउन सक्षम प्रस्तुत लघघुकथामा समाजले अनैतिक मानेका हाडनाता विवाहको बदनामीबाट बच्न धर्म परिवर्तनलाई कवचका रूपमा लिइएको प्रसङ्ग देखाइएको छ । व्यक्ति समाजको निर्देशन भन्दा विचारको अडानमा रहनु उपयुक्त हुन्छ भन्ने विचार, धारणा वा सिद्धान्तलाई बलियो आधार बनाएर कथाकार बजगाईंले कृतिको नाम छनोट गरेका र यसैलाई औचित्यपूर्ण तथा सार्थक बनाउन सक्षमता देखाएका छन् ।
(ख) कथानक
लघुकथाकार कृष्ण बजगाईंको प्रस्तुत ‘कवच’ लघुकथा सङ्ग्रहमा ७८ विभिन्न शीर्षकका रचना समावेश भएको कृति हो । यिनमा व्यक्ति, समाज र राष्ट्रिय समस्यालाई आधार बनाइएको पाइन्छ । बजगाईंका कुनै पनि लघुकथाहरू रैखिक वा वृत्ताकारिए ढाँचामा रचना भएको छैन । सङ्ग्रहका हरेक लघुकथाहरूमा कथ्यको उत्कर्षलाई अभिव्यञ्जित गर्ने शीर्षक, अन्तर्वस्तुगत विविधता, आम नेपाली जनजीवन र समाजका विविध पाटाहरूको विश्लेषण गरिएको पाइन्छ । यिनका हरेक लघुकथामा समाजका कुनै न कुनै समस्या, घटना सन्दर्भ र परिवेश भेटिन्छ ।
‘कवच’ लघुकथाका सङ्ग्रहका कथाहरूमा समकालीन युगजीवनका वेथिती, आर्थिक पक्षको मार्मिक लेखाजोखा, वर्गीय सङ्घर्ष, समयसँग मानवको सङ्घर्षजस्ता कुराहरूको सशक्त प्रस्तुति पाइन्छन् । खास गरी नेपाली जनजीवनप्रतिको अभिरुची र समवेदना यिनको कथागत विशेषता हो । राजनीतिक परिवर्तन र तत्सृजित चेतनाको आलोक यिनका कथाहरूमा पाइने साझा बिम्ब हो । यिनका कतिपय कथामा राजनीतिले वैयक्तिक जीवनमा पारेका असरहरूलाई प्रष्ट रूपमा देखाइएको हुन्छ । यसका अतिरिक्त वर्ग, धर्म, जाति, आस्था आदिका कारणले उत्पन्न परिस्थिति र फुट प्रशासनिक क्षेत्रमा देखिएका आर्थिक विकृतिहरू तथा अनुशासनहीनता जस्ता विविध विषयहरूले प्राथमिकता पाएका देखिन्छन् ।
लघुकथाकार कृष्ण बजगाईंले आफ्ना रचनाहरूमार्फत् समाजसँग सरोकार राख्ने भावाभिव्यक्ति प्रस्तुत गरेका छन् । समाजकै सेरोफेरो भित्रका विविध पक्षहरूलाई कथ्य सन्दर्भ बनाएर आफ्ना धारणा वा आत्म चिन्तनहरू प्रस्तुत गरेका छन् ‘चाडबाड आउन लाग्यो । छोराछोरी रोगी पिलन्धरे छन् । सम्पत्तीको नाममा यही एउटा ज्यान मात्र बाँकी छ । अब खै के बेच्ने ? हामी गरीबहरू धनीमानीको ‘स्पेयर पार्ट्स’ को रूपमा पो जन्मिएका रहेछौं’ (बजगाईं, २०७२,पृ.७) । ‘कवच’ भित्रका लघुकथाहरूमा टड्कारै देखिने गरी आर्थिक र राजनीति समस्याहरूको चक्रमा परेको समाजसम्बद्ध विषय प्रसङ्गहरूको सन्दर्भले अभिव्यक्ति पाएका छन् । यहाँ तिनैको विश्लेषण गरिएको छ ।
कुनै पनि समाजको एकाईका रूपमा रहेको व्यक्तिलाई समाजका अनेक परिस्थितिहरूले घेरेका हुन्छ । त्यसेले ती परिस्थितिहरूको सामना गर्ने प्रयासमा व्यक्ति सदैव लागेकै हुन्छ । सामाजिक व्यक्तिलाई आर्थिक तत्वले पिरोलेकै हुन्छ । यसैमा व्यक्तिको सङ्घर्ष चल्दछ । कवच भित्रका लघुकथाहरू पनि व्यक्तिलाई मुख्य आधार मानेर कथा रचना गरिएका छन् ।
सङ्ग्रहका केही लघुकथाहरू समाजको प्रष्ट आकार राख्दै व्यक्तिका आर्थिक परिस्थितिसँगको सङ्घर्ष औंल्याउन सफल छन् । विद्यमान वर्गीय विभेदले सिर्जना गरेका विषम आर्थिक अवस्थाका कारुणिक चित्रण लघुकथाकार कृष्ण बजगाईंका लघुकथाहरूमा पाइन्छन् । ‘कवच’ को पहिलो कथा एउटा समाजको संवेदनशील विषय उठाउँदै आर्थिक समस्याले सिर्जना गरेको कथा बताउने प्रतिनिधी कथा हो । ‘प्रतिस्पर्धा’ शीर्षकको लघुकथामा आजीविकाका लागि व्यक्तिको सङ्घर्ष कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ । साथै आधुनिक सञ्चारको पहुँचमा हुने नहुने बीचको द्वन्द्व देखाइएको छ । एउटै परिस्थिति र समस्या भएका वर्गभित्रैबाट बर्गीय सत्रुको जन्म हुन्छ भन्ने तथ्य प्रस्तुत कथामा देखाइएको
छ । एउटा दृष्टान्त यस्तो छ ः‘आइमाईको सौता आइमाई नै हुन्छ ...’ (बजगाईं, २०७२,पृ.५)।
‘कवच’ भित्रका कथाहरूमा आर्थिक समस्या एउटा प्रमुख समस्याका रूपमा देखा पर्दछ । मूलतः गरिबीका कारण उत्पन्न विभिन्न परिस्थितिहरू र तीसँग सङ्घर्षरत मानवीय पक्ष यिनका लघुकथामा प्रसस्तै भेटिन्छन् । व्यक्तिले आजीविकाका लागि कुनै न कुनै माध्यम र बाटोको खोजी गरिरहेको हुन्छ । यस किसिमले समाजभित्रका व्यक्ति पात्र र तिनका सङ्घर्ष तथा भूमिका ‘कवच’ भित्र समेटिएका लघुकथाहरूमा देखिएका छन् । कृतिको दोस्रो रचना ‘तृप्ती’ किसानले सहरमा पुगेर गरेको अनुभूति र जीवन सङ्घर्षको मार्मिक प्रस्तुति भएको
छ । त्यस्तै ‘स्पेयर पाट्स’ कथामा आजीविकाको लागि अंग नै बेच्नु परेको तीतो यथार्थ प्रकट भएको छ भने ‘स्वर्गमा गरिबी’ मा तेस्रो विश्वलाई स्वर्ग ठान्नेले यथार्थ बोध पछि स्वर्गमा पनि गरिबी रहेको रहस्य बोध गरेको स्थिति देखाइएको छ ।
यसै गरी ‘शोषण’ कथामा चटकेले भीडमा आफ्नो श्रमको उचित मूल्य खोज्नु, ‘आत्महत्या’ मा गरिबीकै पराकाष्टाबाट आजित भएर मर्नु, त्यो पनि उधारोमा विष ल्याउनु जस्तो कारुणिक परिस्थितिको चित्रण गरिएको छ । ‘मानिसका भीड सागर झैँ बढेर आयो एउटी असहाय गरीब महिला र उनका दुई सन्तानको सामूहिक आत्महत्याले सबैको मन रुवायो । भीडका सबैले दुःख व्यक्त गर्न थाले’ (बजगाईं, २०७२,पृ.२२)। अर्को लघुकथा ‘गरिबी’ मा गरिबीलाई अघि सारेर सहयोग माग्ने र त्यसैलाई आयस्रोतका माध्यम बनाउने प्रवृत्तिको उजागर गरिएको छ । ‘समाचार’ मा समाजका माथिल्लो वर्ग मानिनेहरूले बेगलै गतिविधीमा चासो राख्नु तर जल्दाबल्दा दैनिक समस्या यथावत रहनु र ती विषय समाचारका स्रोत बन्नु जस्ता यथार्थ तथ्य प्रस्तुत भएको पाइन्छ ।
नेपाली रााजनीतिमा आएमा ठूलाठूला परिवर्तनहरूको प्रभाव हरेक क्षेत्रमा देखिएजस्तै साहित्य सिर्जनामा पनि देखिएका छन् । लघुकथाकार कृष्ण बजागाईँ नेपाली साहित्यको आधुनिक समसामायिक प्रवृत्तिका सर्जक भएकाले यिनका लघुकथा सङ्ग्रह कवचका अधिकांश सृजनामा राजनीतिसम्बद्ध प्रसङ्गहरू देखिएका छन् । सामाजिक व्यक्ति कुनै न ुनै रूपमा राजनीतिबाट प्रभावित हुन्छ वा रहन वाध्य हुन्छ । त्यसैले यिनक लघुकथाकारितामा ती सन्दर्भहरू प्रसस्त भेटिन्छन् । सङ्ग्रहमा चौथो र पाचौं क्रममा रहेका मान्छे प्रवृति (१ र २) शीर्षकीय लघुकथामा मानवेतर पात्रमार्फत् जातीय चेतना र अधिकारप्रति सचेतता दर्शाएको छ । साथै जातीय विभेदको अन्त्यका लागि एकता अपरिहार्य हुने तथ्य प्रस्ट्याएको छ ।
त्यसै गरी अर्को लघुकथा ‘हाडताल उद्योग’ मा जसरी भए पनि अर्थोपार्जन गर्ने मानवीय प्रकृतिको उजागर गरिएको छ । ‘समावेशी उद्योग’ मा राजनीतिक संरक्षकत्वमा वेथिती मौलाएको र व्यवस्था परिवर्तनपश्चात् पनि नारी संलग्न बजार, उद्योग आदि फस्टाएको तीतो यथार्थ दर्साइएको छ । अको लघुकथा ‘आरक्षण’मा संरक्षणको आवाज बुलन्द गर्ने वर्ग आवाजविहीन हुने र नेतृत्वकर्ता उच्च ओहोदामा पुग्ने यथार्थ सत्य प्रकट गरिएको
छ । ‘सल्लाह’ मा राजनीतिमा लाग्ने व्यक्ति विदेश गए पनि राजनीतिक लक्ष्य बोकेर जाने प्रवृत्तिमाथि कटाक्ष प्रहार गरिएको छ । अर्को लघुकथा ‘डर’ मा शक्तिको डरले सर्वसाधारणलाई सपनामा पनि लखेट्ने तर पार्टीको कार्यकर्ता भएपछि डरबाट मुक्ति पाइने यथार्थ तथ्यको उजागर गरिएको छ ।
‘कवच’ लघुकथा सङ्ग्रहको बाइसौँ लघुकथा ‘गणेश परिक्रमा’ मा मानिसहरूको आफ्नो मनोकांक्षा पूर्ति गराउन सत्तामा बसेका ठूलाबडाहरूको अथवा शक्तिको निकटमा रहन्छन् भन्ने देखाइएको छ । अर्को लघुकथा ‘कमल’ मार्फत् राजनीति प्रवृत्तिमाथि प्रतीकात्मक प्रहार गरिएको छ । त्यसै गरी सङ्ग्रहका राजनीतिक सम्बद्ध लघुकथाहरूमा ‘लोकतन्त्र’, ‘मानव बाघ’, ‘राष्ट्रिय चिन्तन’, ‘सडक’, ‘तीन बाँदर’ (१ र २), ‘रोडम्याप’, ‘जादुगरी डण्डा’, ‘परिवर्तन’, ‘रिस’, ‘सुन्दरी प्रतियोगिता’, ‘साङ्केतिक भाषा,’ ‘विक्री’, ‘हो..हो..हा..हा..’, ‘बन्दुकको गोली’, ‘मन्त्रीको जुत्ता’, ‘सपनाङ्कुर’, ‘राहत’, ‘जनकारवाही’, ‘बाघ सम्मेलन’, ‘मुक्तिदाता’, ‘ एकता’ जस्ता लघुकथाहरू छन् । यिनले कुनै न कुनै रूपमा राजनीतिलाई सन्दर्भ बनाइएका तथ्य प्रस्ट्याएका छन् । एउटा उदाहरण यस्तो छ ः ‘... सरकारलाई दवाब दिने मात्र होइन, सरकार पल्टाउने शक्ति सडकसँग रहेछ’ (बजगाईं, २०७७ पृ.४८) ।
‘कवच’ लघुकथा सङ्ग्रहका विषयसन्दर्भ समाज र राजनीतिसँगै धार्मिक आस्थालाई पनि ‘साइबर मन्दिर’ कथामा अघि सारेका छन् । ‘रोबोट’ र ‘डाउनलोड’ शीर्षकका कथामा प्रविधि र मान्छेको सम्बन्ध देखाउन खोजिएको छ । यसै गरी साइबर संस्कृतिलाई ‘डाउनलोड’, ‘साइबर मन्दिर’ कथामा विषयवस्तुका रूपमा उठाइएको छ । त्यस्तै ‘कवच’ कथा सङ्ग्रहमा समावेश भएका ‘नारी मुक्ति’, ‘कन्यादान’, ‘सुन्दरी प्रतियोगिता’, ‘लोग्नेको जात’, ‘आत्महत्या’ जस्ता कथाहरूमा महिलाको समस्या, चिन्ता, यथार्थ पीडा, चित्कार जस्ता प्रसङ्गहरू यथार्थ रूपमा देखाइएको छ ।
समग्रमा ‘कवच’ लघुकथा सङ्ग्रहका कथाहरूमा समकालीन वेथिती, विसङ्गतिलाई केलाउँदै वर्गीय सङ्घर्ष र चेतना सशक्त ढङ्गले प्रस्तुत गरिएको छ ।
(ग) पात्रविधान
आख्यानको कथा वा लघुकथामा उठाइएको विषयलाई प्रभावकारी रूपमा अभिव्यक्त गर्न चरित्रको आवश्यकता पर्दछ । प्रस्तुत लघुकथा सङ्ग्रह ‘कवच’ मा पनि कथाकार कृष्ण बजगाईंले विभिन्न किसिमका पात्रहरूमार्फत् आफ्ना धारणा प्रस्तुत गरेका छन् । यस लघुकथा सङ्ग्रहका लघुकथाहरूमा मानवेतर र मानवीय पात्रहरू नै उल्लेख्य रूपमा रहेका छन् ।
‘कवच’ लघुकथा सङ्ग्रहमा विभिन्न शीर्षकका लघुकथाहरूमा चयन गरिएका पात्र वा चरित्रले कथावस्तुलाई जीवन्त, संवेग र मार्मिक बनाएका छन् । उनले लघुकथाहरूको विषयलाई प्रस्तुत गर्न प्रमुख, सहायक, गौण तथा अनुकूल, प्रतिकूल, गतिशील, मानवीय, मानवेतर जस्ता अनेक प्रकारका पात्रहरूलाई समटेका छन् । मानवेतर पात्र प्रयोग गरिएका उनका ‘बाघ सम्मेलन’, ‘मानव बाघ’, ‘बन्दुक र गोली’, ‘तीन बाँदरहरू – १ र २’ आदि कथाहरू रहेका छन् । ‘मानिसहरू बाहेक हामीलाई अरू कसैले मार्न सक्दैनन् । भेटे जति बाघको सिकार मानिसहरूले नै गर्छन् । हाम्रा अङ्ग प्रत्यङ्ग महँगोमा बेच्छन् र पैसा कमाउँछन् (बजगाईं, २०७७ पृ.८३) ।
प्रस्तुत लघुकथा सङ्ग्रहमा विधान गरिएका अनेक किसिमका पात्रहरूमध्ये मूल रूपमा मानवीय र मानेवेत्तर पात्रहरूलाई केलाउँदा आख्यानका अनेक विषयसँग तिनको तालमेल मिलेको देखिन्छ । कथाकारले विषय प्रस्तुतिलाई दरिलो बनाउन उभ्याएका मानवीय पात्रहरूमा समाज वरिपरि कै चिनेजानेका, देखेका र भेगेका विभिन्न वर्ग, पेसा अपनाउने पात्रहरू पर्दछन् । कथाहरूमा महिला, पुरुषका अतिरिक्त गरिब, धनी, शिक्षक, व्यापारी, कर्मचारी, राजनेता, पात्रकार, लेखक, अधिकारकर्मी, राजनीति कार्यकर्ता, जादुगर आदि पात्रहरूको चयन गएिको पाइन्छ । यिनै पात्रहरूमार्फत् बजगाईंले युगबोध र जीवनबोधको प्रस्तुति पेस गरेका छन् । त्यसैगरी कथाकार बजगाईंले प्रयोग गरेका मानवेतर पात्रहरूमा ‘देवता,’ ‘जनावर,’ ‘कुकुर,’ ‘बाँदर’ ‘यन्त्रमानव,’ ‘बन्दुक,’ ‘गोली,’ ‘जुत्ता’ आदि रहेका छन् ।
देवता र यन्त्रमानवलाई तथा आँखा, औंला, नाक, कान जस्ता मानव अङ्गलाई मानवीकरण गरिनु कथाकार बजगाईंको पात्र चयनको विशेषता हो । विषयअनुसारका पात्रहरूको चयन र प्रस्तुतिले कथावस्तु प्रभावकारी बनेको छ । त्यसैले पात्र वा चरित्रको समुचित विधान गरी उपयुक्त विषयसँग तालमेल मिलाउनुमा समेत कथाकार कृष्ण बजागाईँ सफल देखिएका छन् ।
(घ) परिवेश
आम नेपाली जनजीवन र समाजका विविध पाटाहरूको विश्लेषण गरिएको पाइन्छ । यिनका हरेक लघुकथामा समाजका कुनै न कुनै समस्या, घटना सन्दर्भ र परिवेशभित्र
भेटिन्छ । समाजकै सेरोफेरो भित्रका विविध पक्षहरूलाई परिवेशका रूपमा उतारेर छन् । जस्तो ‘चाडबाड आउन लाग्यो । छोराछोरी रोगी पिलन्धरे छन् । सम्पत्तीको नाममा यही एउटा ज्यान मात्र बाँकी छ । अब खै के बेच्ने ? हामी गरीबहरू धनीमानीको ‘स्पेयर पार्ट्स’ को रूपमा पो जन्मिएका रहेछौं’ (बजगाईं, २०७२,पृ.७) ।
बजगाईंका लघुकथाहरूमा दरबार, वनजङ्गल लगायत गाउँले जनजीवन साथै केही कथामा सहरी परिवेशको चित्रण रहेको छ । यसमा सहर, बजार आदिको वर्णन गरिनु, विभिन्न सहरका ठाउँहरूको वर्णन गर्नु आदिले सहरिया वातावरणको चित्रण गरेको प्रष्टै देखिन्छ । साथै कथामा गाउँमा मानिसहरू जम्मा भएकोले यहाँ गाउँको परिवेश पनि रहेको
छ । ‘मूल्य’ शीर्षक कथामा सहर, गाउँ र वनजङ्गलको परिवेश यसरी प्रस्तुत भएको पाइन्छ । जस्तो ‘सहरमा अघिल्लो दिनदेखि दाउरा नबिकेर निराश भई बसेको दाउरेले दाउरा बेच्ने जुक्ति निकाल्यो । सित्तैमा दाउरा पाइने खबर सुन्नासाथ मानिसहरूको भीड जम्मा हुन थाल्यो’ (बजगाईं, २०७२,पृ.७६) ।
(ङ) दृष्टिविन्दु
‘कवच’ लघुकथा सङ्ग्रहका ‘आत्महत्या’, ‘कन्यादान’, ‘नयाँ सुट’ लगायत अधिकांश कथामा कथाकार बजगाईंले म पात्रको प्रयोग गरी प्रथम पुरुषीय आन्तरिक दृष्टिविन्दुको प्रयोग गरेका छन् । आफूले प्रत्यक्ष भेटेको पात्रसँग यसका आन्तरिक जीवन र बाँच्ने शैली कथावस्तुलाई ठोस आधार बनाएर उनीहरूका आनीबानी, चालचलन, कार्यशैलीलाई, रहनसहन आदिलाई कथाका माध्यमबाट प्रस्तुत गरेका छन् । लघुकथा सङ्ग्रह ‘कवच’ मा विशेष रूपमा ऊ र उनीहरूको जस्ता पात्रहरूको प्रयोगले प्रयुक्त कार्यव्यापार, चरित्र–चित्रण र सारवस्तुमा सजीवता आएको छ । स्वयम् कथाकारले कथाको प्रमुख म पात्रको रूपमा आन्तरिक स्थितिको चित्रण सूक्ष्मताका साथ प्रस्तुत गरेकाले आन्तरिक केन्द्रीय दृष्टिविन्दुको प्रयोग भएको छ । जस्तो ः ‘नयाँ सुट कथामा’ पियनले नयाँ टाई लगाएर आएपछि कार्यालयमा तुरुन्तै खासखुस सुरु भइहाल्यो, पियनले टाई, त्यो पनि नयाँ । त्यो कुरो सेलाउन नपाउँदै खरदारले पियनको टाईसँग मिल्ने नयाँ सर्ट लगाएको देख्दा कुरो उनीतिर बढ्यो (बजगाईं, २०७७ पृ.४७) ।
(च) द्वन्द्वविधान
कृष्ण बजगाईंका लघुकथा सङ्ग्रहहरूमा कथावस्तु र पात्रलाई क्रियाकलापसँग आबद्ध गराएर अभिव्यक्ति दिइएको पाइन्छ । त्यही कार्य वा तत्व नै द्वन्द्व हो । द्वन्द्वलाई कतिपय विद्वान्हरूले सङ्घर्ष भन्न पनि रूचाउँछन् । द्वन्द्व वास्तवमा रचनामा प्रयुक्त जीवनको अन्तर्जटिलताको सूचक हो । द्वन्द्व तीन तहमा विभक्त हुन्छ । मान्छेका बाह्यजीवनमा आइपर्ने विसङ्गतिका कारण देखापर्ने द्वन्द्व, मान्छे–मान्छेसँगका विषमताका कारणले दुवैमा वैमनस्य जन्माउने द्वन्द्व र मान्छेको आफैँभित्र देखापर्ने तनावमूलक द्वन्द्व (सुवेदी, २०५३,पृ.२४) । कृष्ण बजगाईंका लघुकथा सङ्ग्रहका कथाहरूमा नारी र पुरुष बीचमा पैदा भएका आन्तरिक द्वन्द्वलाई ‘नारी मुक्ति’, ‘कन्यादान’, ‘सुन्दरी प्रतियोगिता’, ‘लोग्नेको जात’, ‘आत्महत्या’ जस्ता कथाहरूमा अभिव्यक्त गरिएको पाइन्छ । यसै गरी ‘नयाँ सुट’ लघुकथामा बाह्य र आन्तरिक दुबै द्वन्द्व प्रस्तुत भएको पाइन्छ । ‘प्रतिस्पर्धा’ शीर्षकको यस लघुकथामा आजीविकाका लागि व्यक्तिको सङ्घर्ष कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ । साथै आधुनिक सञ्चारको पहुँचमा हुने नहुने बीचको द्वन्द्व देखाइएको छ । एउटै परिस्थिति र समस्या भएका वर्गभित्रैबाट बर्गीय सत्रुको जन्म हुन्छ भन्ने तथ्य प्रस्तुत कथामा देखाइएको छ । एउटा दृष्टान्त यस्तो छ ः ‘आइमाईको सौता आइमाई नै हुन्छ ...’ (बजगाईं, २०७७ पृ.५) ।
(छ) भाषाशैली
सामाजिक यथार्थवादी शैलीमा कथा लेख्ने बजगाईंले यस ‘कवच’ लघुकथा सङ्ग्रहमा संवृत रूपविन्यासको प्रयोग गरेका छन् । ‘मानिसको जनसङ्ख्या बढेपछि अझ धेरै भाषाको प्रयोग हुन थाल्यो । त्यसपछि सबै आ–आफ्नै भाषामा कुरा बुझाउन अड्डी लिन थाले । अरूका भाषा बुझेर पनि बुझ बचाउन थालेपछि भाषा विवाद बढेर चरमोत्कर्षमा पुग्यो । अब के गर्ने ? सबै चिन्तित बने (बजगाईं, २०७७ पृ.५७) ।’ जस्ता सरल वाक्यको प्रयोगसँगै कथामा र, रे, क्या, के, तिर, नि, पो, जस्ता निपातको पनि प्रयोग गरेर भाषालाई मिठास दिने काम भएको छ । कथामा लामा–लामा वाक्यहरूका साथै स–साना दुई पङ्क्तिदेखि सात पङ्क्तिसम्मका अनुच्छेदहरू प्रयोग भएका छन् कथाहरू छन् । ‘नेपाल बाहिरका नेपाल’ कथामा आगन्तुक भाषाको प्रयोग गरेका छन् जस्तो ः ‘डन्ट टच, डन्ट डिभाइड माई कन्ट्री ....’ वी लभ आवर ग्रेट कल्चर ...,(बजगाईं, २०७७ पृ.८८) ।
लघुकथा आख्यानको छोटो, छरितो र प्रभावकारी विधा हो । लघुकथा वर्तमानमा समेत अत्यन्त लोकप्रिय र पठनीय विधा हो । बजगाईंको लघुकथा सङ्ग्रह ‘कवच’ एक सशक्त तथा प्रभावकारी कृति हो । यस सङ्ग्रहमा बयासी ओटा सिर्जना समावेश गरिएका छन् । कृतिभित्रको सवै लघुकथाको संरचनात्मक ढाँचा अत्यन्त छरितो, सूक्ष्म र सूत्रात्मक रहेको छ । सङ्ग्रहका लघुकथाहरू एकै बसाइमा पठन गर्न सकिने घटिमा दश हरफदेखि बढीमा ५१ हरफसम्ममा संरचित छन् । कृष्ण बजगाईंका लघुकथाहरू सहज किसिमले आदि, मध्ये र अन्त्यको ढाँचामा निर्माण भएको पाइन्छ । छोटो, छरितो आयाम भए पनि अत्यन्त मार्मिक किसिमको प्रभाव दिन सक्ने लघुकथाको शैली यिनमा विद्यमान देखिन्छ ।
(ज) उद्देश्य
पाठकलाई मनोरञ्जन प्रदान गर्नु नै लघुकथाको एउटा उद्देश्य हो । यसै गरी जीवनसम्बन्धी कुनै महत्त्वपूर्ण तथ्यको वा मानवमनका कुनै खास पक्षको परिचय दिनु पनि लघुकथाको उद्देश्य रहेको हुन्छ । यस्तै बजगाईंका ‘जादुगरी डण्डा’, ‘सुन्दरी प्रतियोगिता’, ‘साङ्केतिक भाषा,’ ‘विक्री’, ‘हो..हो..हा..हा..’, ‘बन्दुकको गोली’, ‘मन्त्रीको जुत्ता’, ‘सपनाङ्कुर’, ‘राहत’, ‘जनकारवाही’, ‘बाघ सम्मेलन’, ‘मुक्तिदाता’, ‘एकता’ लघुकथाहरूमा पनि मनोरञ्जनात्मकता पाइन्छ । कुनै पनि कथा पढिसकेपछि त्यसबाट पाठकले जुन भावार्थ वा अभिप्राय पाउ“ने हो त्यो उनका कथाहरूमा सहजै किसिमले प्राप्त गर्न सकिन्छ । सरल किसिमले कथा पाठकमाझ पस्कन सक्नु नै उनको खुबी पनि हो । आफ्ना कथाहरूमा महिला, पुरुषका साथै धनी, गरीब, शिक्षक, व्यापारी, कर्मचारी, राजनेता, पात्रकार, लेखक, अधिकारकर्मी, राजनीति कार्यकर्ता, ‘जादुगर’ जस्ता पात्रहरूमार्फत् बजगाईंले युगबोध र जीवनबोधको प्रस्तुति पेस गर्नु यस ‘कवच’ लघुकथा सङ्ग्रहको मुख्य सारवस्तु वा उद्देश्य
हो । यसै गरी प्रस्तुत सङ्ग्रहमा सामान्य विषयवस्तु भएता पनि कथाले फरक भूगोलका फरक मानव, भिन्न संस्कृति र त्यहाँका मानिसहरूको जीवनशैलीको यथार्थको बारेमा सन्देश दिएको छ । बाँच्नका लागि मानिसले परिस्थितिसँग सम्झौता गर्दछ । उसले आफ्नो इज्जत समेत गुमाउँदछ र सामाजिक हैसियत स्थापना गर्न खोज्दछ भन्ने सारवस्तु यस सङ्ग्रहमा रहेको छ । तसर्थ निष्कर्षमा के भन्न सकिन्छ भने बजगाईंका यस सङ्ग्रहका लघुकथाहरूले पनि पाठकलाई आनन्द दिनुको साथै समाज तथा व्यक्तिको चित्रण गरेर त्यसबाट निश्चित निष्कर्ष निकाल्दै पाठकलाई शिक्षा वा सन्देश दिएको छ ।
यसरी बजगाईंका कथामा राजनीतिले वैयक्तिक जीवनमा पारेका असरहरूलाई प्रष्ट रूपमा देखाइएको हुन्छ । यसका अतिरिक्त वर्ग, धर्म, जाति, आस्था आदिका कारणले उत्पन्न परिस्थिति र फुट प्रशासनिक क्षेत्रमा देखिएका आर्थिक विकृतिहरू तथा अनुशासनहीनता जस्ता विविध विषयहरूले प्राथमिकता पाएका देखिन्छन् ।
४.३.२.४ ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रहको विश्लेषण
वि.सं.२०७७ सालमा प्रकाशति ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रह बजगाईंका चौथो लघुकथा सङ्ग्रह हो । यसलाई विवेक सिर्जनशील प्रकाशन प्रा. लि. ललितपुरले प्रकाशन गरेको हो । यस सङ्ग्रहमा समसामयिक विषयवस्तुलाई लिएर रचना गरिएको बजगाईंको अन्य लघुकथा सङ्ग्रह भन्दा केही पृथक् विषयवस्तुलाई उठान गरिएको छ । पतिले महिलालाई गर्वसाथ धर्मपत्नी भनेर सम्बोधन गर्न पाउने तर महिलाले धर्मपुरुष भनेर सम्बोधन गर्न नपाउने वैचारिक द्वन्द्वको प्रतिस्थापनले उत्पन्न भएको समस्यालाई समाधान गर्न र संविधानले दिएको समान हक र अधिकारलाई पालना गर्न ‘संवैधानिक पत्नी’ शीर्षकको लघुकथा सङ्ग्रह तयार पारिएको छ । यहाँ यिनै लघुकथा सङ्ग्रहहरूका बनोट र बुनोटका आधारमा विभाजन गरी विधातात्त्विक विश्लेषण गरिएको छ ।
(क) शीर्षकीकरण
कृष्ण बजगाईंद्वारा रचित ‘संवैधानिक पत्नी’ चौथो लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा सङ्गृहित कथाहरू आधुनिक तथा पश्चिमी तडकभडकलाई मध्यनजर गर्दै लेखिएको छ । लघुकथाको शीर्षकीकरण गर्दा पुरुषले बाहिर उपपत्नी र प्रेमिका राख्ने गरेको तर महिलाले राख्न नपाउने प्रसङ्गलाई उजागर गरेको छ । पतिले महिलालाई गर्वसाथ धर्मपत्नी भनेर सम्बोधन गर्न पाउने तर महिलाले धर्मपुरुष भनेर सम्बोधन गर्न नपाउने वैचारिक द्वन्द्वको प्रतिस्थापनले उत्पन्न भएको समस्यालाई समाधान गर्न र संविधानले दिएको समान हक र अधिकारलाई पालना गर्न ‘संवैधानिक पत्नी’ शीर्षक राखिएको छ । यस कथा सङ्ग्रहमा विभिन्न ५४ शीर्षकका कथाहरू रहेका छन् । तिनीहरू कमरेडको अन्तर्वार्ता, महँगीको हत्या, अभियुक्त संघ, अपराधी प्रशिक्षण केन्द्र, ई–भिक्षा, कुकुर ‘क’, सम्बन्ध मर्मत, अनौठो सम्बन्ध, पत्नीपूजा, संवैधानिक पत्नी, धर्मपत्नी, पत्नी पुराण, महिला राज्य, नामर्द, सन्नाटा १, सन्नाटा २, पुरुष भाग्य, नक्कली, स्वर्गमा महिला सहिद, स्वर्गमा किनबेच, अतिरिक्त आम्दानी, यातना प्रेम, कुर्सी उद्योग, गोप्य, बेबकुफतन्त्र, जोकतन्त्र, कुचो, दाइजो, छोरी उद्योग, पुरुष सत्ता, भद्र सहमति, असन्तोषी जनता, धन्दा, सहिद मन्त्रालय, राजनीतिक सुप, समाजवादको म्युजियम, भ्यु टावर, प्रेमिल सपना, अन्तिम इच्छा, परास्त, विवाहपछिको प्रेम, महिला क्लब, गँवार, धर्मसङ्कट, ग्लोबल वार्मिङ, आँखाको नानी, पात्रहरू, पीडित पति, ऊर्जा, थुक, मूर्ख संघ, चप्पल, अन्तरङ्ग र कमरेडको पेट हुन् ।
दिनानुदिन समाजमा हुने गरेका र भइरहेका समसामयिक विषयवस्तुका घटनालाई समेट्न खप्पिस बजगाईंका कथामा महिला र पुरुष दुबैको क्रियाकलापलाई देखाइएको
पाइन्छ । उनका अधिकांश कथाको शीर्षकले आम मानिसको पीडा र समस्यालाई औंल्याएका छन् । आजकलका केटाकेटीहरूमा विदेश मोह ‘सन्नाटा–१,’ ‘सन्नाटा –२,’ जस्ता कथाका साथै नारी हकहित र अधिकारका बारेमा लेखिएका ‘धर्मपत्नी,’ ‘पत्नी पुराण’, ‘महिला राज्य’ जस्ता कथाहरू यस सङ्ग्रहमा समावेश छन् ।
शीर्षकले नै महिलाहरूको ओकालत गरेको बुझिन्छ । समाजमा व्याप्त नेताहरूको भष्ट्राचार, कमिसनखोरी, राजनीतिलाई कमाई खाने भाँडो सम्झनेहरूलाई तीखो व्यङ्ग्य प्रहारका घटनालाई प्रस्तुत गर्दै त्यही अनुसारको शीर्षक राखिएको हुनाले शीर्षक सार्थक रहेको छ ।
(ख) कथानक
कृष्ण बजगाईंको साहित्य यात्राको चौथो खुट्किलोको रूपमा देखा परेको ‘संवैधानिक पत्नी’ (२०७७) लघुकथा सङ्ग्रह हो । यस सङ्ग्रहमा कमरेडको अन्तर्वार्ता, कुर्सी उद्योग, जोकतन्त्र, भद्र सहमती, राजनीतिक सुप, कमरेडको पेट, ‘अपराधी प्रशिक्षण केन्द्र,’ ‘कुकुर क’ जस्ता राजनैतिक कथाहरू रहेका छन् । अनौठो सम्बन्ध, पत्नीपूजा, संवैधानिक पत्नी, धर्मपत्नी, पत्नी पुराण, महिला राज्य, छोरी उद्योग, महिला क्लव, दाइजो जस्ता नारीवादी कथाहरू समेटिएका छन् । महँगीको हत्या, सम्बन्ध मर्मत, स्वर्गमा किनबेच, अतिरिक्त आम्दानी, दाइजो जस्ता आर्थिक क्रियाकलाप तथा विषयवस्तुका कथाहरू छन् । यातना प्रेम, प्रेमिल सपना, आँखाको नानी जस्ता प्रेमप्रसङ्गका कथाहरू, ‘चप्पल’ जस्ता प्रतीकात्मक कथा, नागाबाबाहरूको हर्कतलाई उठान गरी रचिएको ‘अन्तरङ्ग’ कथा, नेताहरूले गरीब, दीनदुखीका नाममा ल्याएका बजेटलाई पार्क, पिकनिक स्थल बनाउने ‘भ्युटावर’ जस्ता कथाहरू रहेका छन् । यसै गरी महिलाहरूलाई ललाइफकाई वेश्यालयमा पु¥याउने ‘अतिरिक्त आम्दानी’ जस्ता कथा, प्रहरीहरूको ज्याजदीयुक्त ‘थुक’, ‘भद्र सहमती’, ‘गोप्य’ जस्ता कथाहरू पनि समावेश भएका छन् । जम्माजम्मी ५४ वटा कथाहरू सङ्गृहीत प्रस्तुत संवैधानिक पत्नी लघुकथा सङ्ग्रहमा समावेश भएका सबै कथाहरू छोटा आयामका भए पनि समय सान्दर्भिक र विकृति तथा विसङ्गतिप्रति चोटिलो प्रहार गर्न सक्षम छन् ।
नेपाली समाजमा आर्थिक विपन्नता प्रायः सबैको साझा समस्याको रूपमा रहेको
छ । त्यसमा पनि गरिबीकै कारणले विदेशमा गएर दुःखकष्ट खेप्न विवश नेपालीहरूको कथा बेग्लै खालको छ । प्रस्तुत लघुकथा सङ्ग्रहमा नेपालीहरूको मार्मिक तथा दुःखद जीवन कहानी एवम् देशप्रेम तथा राष्ट्रप्रेमको भावना प्रस्तुत गरिएको छ । ‘नैतिकवान र इमान्दार व्यक्तिहरू कमलका पूmल हुन् । घरपरिवार र राष्ट्रका अमूल्य सम्पत्ती हुन्’ (बजगाईं, २०७७ पृ.१०१) । पश्चिमी मुलुकहरूमा यौनलाई पनि सामान्य मान्ने र मानिसहरूमा हराउँदै गएको हार्दिकता भन्दा बढी भौतिक प्रेममा आफूलाई जीवनको सन्तुष्टि मान्ने मानिसहरूका जीवनशैलीलाई यस सङ्ग्रहमा समावेश गरिएको छ । एउटै कोठामा परस्त्री र परपुरुषसँगै बसेर जीवन वेतित गर्नेहरूको जीवनशैली यस संवैधानिक पत्नी कथासङ्ग्रमा समावेश भएको पाइन्छ । ‘सायद तिमीहरू दुबैलाई मैले भरपुर प्रेम र यौन सन्तुष्टि दिएँ हुँला । तिमीहरू लोगनेस्वास्नी भएको थाहा पाउने वित्तिकै हामी बिचको सम्बन्ध जटिल लाग्न थाल्यो । त्यो जटिलतालाई सुल्झाउने क्षमता मसँग रहेन’ (बजगाईं, २०७७ पृ. २२) । यसका साथै प्रस्तुत सङ्ग्रहमा आफ्नै धर्मपत्नीलाई पनि इच्छा विपरीत अन्य हरकत गर्न नहुने, नारी शरीरको प्रदर्शनका माध्यमबाट अविवाहित नारीको मनस्थितिको प्रस्तुति, महिला अधिकारवादी नेतृत्वको आडम्वरी प्रकृतिको चित्रण, समयले ल्याएको परिवर्तन र यौन असन्तुष्टि र तडकभडक, धर्म, जाति र सम्प्रदायका नाममा हुने गरेका अनाचारको चित्रण जस्ता विषयवस्तुलाई उठान गरी कथा लेखिएको पाइन्छ ।
चुनावको समयमा नेताले भोट माग्दा जनतालाई नमस्कार गर्ने र जितेपछि त्यही जनतालाई नचिन्ने वास्तविक घटनालाई समेटेर रचिएको कथा, नेपालमा विद्यार्थी, जागिरे, शिक्षक, डाक्टर, इन्जिनियर, ठेकेदार, गुन्डा, नगरवधूदेखि भट्टीपसले समेतले राजनीति गर्ने र राजनीतिलाई कमाइ खाने भाँडो सम्झेको यथार्थ घटनालाई जस्ताकोतस्तै टिपेर रचना गरिएका ‘धन्दा’, ‘महिला राज्य’, लगायतका अन्य पाटाहरूलाई समेटेका कथाहरू यस सङ्ग्रहमा समावेश छन् ।
सारांशमा भन्नुपर्दा हाम्रो देश नेपाललाई घुसखोरीमुक्त, संवृद्ध नेपाल, विदेशी मोहलाई त्याग, देश निर्माण गर्ने चाहना व्यक्त गर्नु तथा स्वाधिकार प्राप्तिका लागि सदैव प्रयत्नशील रहनु नै यस लघुकथा सङ्ग्रहको केन्द्रीय कथ्य हो ।
(ग) पात्रविधान
यस सङ्ग्रहका लघुकथाहरूमा बढी जसो चरित्रले रिाजनीति विकृति र विसङ्गतिलाई अभिव्यक्त गरेको पाइन्छ भने कतिपय चरित्रले समाजको यथार्थलाई चित्रण गर्न सफल भएका छन् । कथामा पात्र उपस्थिति भएकै हुन्छ । यसैले यी लघुकथाहरूमा पात्रको उपस्थिति रहेकै छ । यस सङ्ग्रहका कथाहरूमा कथाकार बजगाईंले पात्रको समेत विविधतामय प्रयोग गरेका छन् । पात्रको सङ्ख्यागत दृष्टिले हेर्दा दुई भन्दा बढी पात्रहरू प्रयोग भएका कथाहरू छन् । एक मात्र पात्र भएका कथामा समाख्याताले पात्रको कार्य मनोदशा आदिको वर्णन गरिएको पाइन्छ भने बढी पात्र भएको कथामा कतै ती पात्रको प्रत्यक्ष संवाद र कतै तिनको वर्णन रहेको पाइन्छ । यसैले यस सङ्ग्रहका कथाहरूमा कतै पात्र प्रत्यक्ष रूपमा उपस्थित छन् भने कतै नेपथ्यमै रहेर वर्णनका क्रममा मात्र आएका छन् । नामकरणका दृष्टिले पनि यस सङ्ग्रहका पात्रहरूमा विविधता पाइन्छ । यहाँका थुप्रै पात्रहरू सर्वनिामक नामले सम्बोधित भएका छन् जसमा ’ऊ’, त्यो, तिनी जस्ता तृतीय पुरुष वाचक सर्वनामको बढी प्रयोग छन् भने प्रथम पुरुषवाचक सर्वनाम ‘म’ को पनि प्रयोग भएको पाइन्छ । समूहवाचक प्रहरी, मानिस, सैनिक, नेता, मेयर, शिक्षक, विद्यार्थी आदि प्रगोग भएका ‘गँवार’, ‘धन्दा’ जस्ता कथाहरू पनि छन् । यसैगरी कथाकारले पात्रलाई चिनाउन विशेषणको पनि प्रयोग गरेका
छन् । १, २ आदि अङ्क क, ख आदि वर्ण तथा काले मोटे, बृद्ध आदि विशेषण यहाँ पात्रलाई चिनाउन आएका छन् । यसबाहेक नामले नै चिनिएका पात्रहरूमा श्याम, राम, हरि, जस्ता नेपाली नामका अतिरिक्त माइकल, ज्याक आदिजस्ता विदेशी नामहरू पनि प्रयोग गरिएको
छ । विषयवस्तुगत विविधता रहेका कथाहरू भएको यस सङ्ग्रहमा पात्रहरू पनि विषय, परिवेश संस्कृति आदिको अनुकूलता रहने गरी आएका छन् । लैङ्गिक दृष्टिले पुरुष र महिला दुवैको उपस्थिति यहाँ उल्लेख्य रहेको छ । सकारात्मक र नकारात्मक दुवै पक्षलाई अगाडि बढाउने अनुकूल र प्रतिकूल पात्र भएको यस सङ्ग्रहमा विचारमा अडिक रहने र परिवर्तन हुने दुवै थरी वा स्थिर र गतिशील दुवै खालका पात्र रहेका छन् । कथामा मानवीय पात्रका अतिरिक्त ईश्वर आदि मानवेतर पात्र प्रयोग भएका ‘चप्पल’ जस्ता कथा पनि प्रयोग गरिएको छ । कतिपय चरित्रले कथामा राजनीति विकृति, विसङ्गति लाई व्यङ्ग्य गर्ने चरित्रको पनि उपस्थिति गराइएको छ । जस्तो ‘कमरेडहरूको राजनीति पेटसँग जोडिएको हुन्छ । जनतासँग भोके पेटको कुरा गरेरै कमरेडहरू राजनीतिको भ¥याङ चढ्छन् (बजगाईं, २०७७ पृ. ११२) ।
यस प्रकार प्रस्तुत संवैधानिक पत्नी लघुकथा सङ्ग्रहका पात्रहरूले समसामयिक जीवन बोलेका छन् र समाजका सूक्ष्मतम् चरित्रलाई केलाउँदै आजका महिला र पुरुषमा देखिएका गलत चरित्रहरूलाई व्यङ्ग्य गरिएको छ ।
(घ) परिवेश
कथाकार कृष्ण बजगाईंको संवैधानिक पत्नी कथा सङ्ग्रहमा जसरी विषयवस्तुगत विविधता भएका लघुकथाहरू सङ्कलन भएका छन् । कथाकै पात्र, घटना आदिले टेक्ने आधारभूमिका रूपमा रहने परिवेश पनि त्यसै गरी विविधतामय रहेको पाइन्छ । कुनै पनि कृतिको परिवेशको पक्षलाई हेर्दा त्यहाँ कथानक, कालिक तथा पारिस्थितिक परिवेशको उपस्थित रहेको पाइन्छ । यस सङ्ग्रहमा रहेको परिवेशमा पनि यी तीनवटै पक्षहरू रहेको पाइन्छ । यसमा रहेको स्थानिक परिवेशमा कथाहरूमा रहेको घटनावस्तु तथा ती घटना घटित भएको स्थान सडक (महिला राज्य, अतिरिक्त आम्दानी, ग्लोबल वार्मिङ कथा) घर बङ्गला, महल, बैंक (कुर्सी उद्योग कथा) कार्यालय, मन्दिर आदि जस्ता विभिन्न स्थान रहेका छन् । सङ्ग्रहका कथाहरूमा कुनै सिङ्गो कथा एउटै परिवेश मात्रमा अटाएको छ भने कुनै कथामा स्थानिक परिवेश पनि परिवर्तन हुँदै भिन्नभिन्न स्थानिक परिवेश उपस्थित भएको पाइन्छ । यस्तै कुनै कथामा पात्र विषय र विचारलाई मात्र प्रस्तुत गरिएको हुँदा स्थानिक परिवेश प्रष्ट नभएको अवस्था पनि रहेको छ ।
कथाको विषयवस्तुअनुसार नै समसामयिक समयको उपस्थिति तथा स्मरणका रूपमा विगतको समयको उपस्थिति पनि देखाइएको छ । यसै गरी समयगत दृष्टिले नै पनि दिवा, रात्री, सूर्योदय, सूर्यास्त गर्मी तथा जाडोको समय जस्ता परिवेश पनि यस सङ्ग्रहमा कालिक परिवेश बनेर आएका छन् । यसबाहेक कतिपय कथाहरूमा पात्र तथा विषयवस्तु मात्र प्रष्ट भएको अनि परिवेशकों प्रष्ट नभएको अवस्था पनि रहेको छ ।
परिस्थिकीय (वाध्यात्मक) परिवेश यस सङ्ग्रहमा आएको परिवेशको अर्को पक्ष हो । स्वभावैले कृष्ण बजगाईं समसायिक समयका व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनैतिक तथा पेसागत क्षेत्रमा देखिएका बाध्यता, विकृति, विसङ्गति आदिलाई देखाउने कथाकार हुन् । जस्तो ः ‘सन्नाटा –२’ कथामा ‘उनकी आमा बारम्बार बिरामी भइरहन्थिन् । उनकी आमा मेरी पनि आमा । आफ्नै आमा सम्झेर पटकपटक आफ्नो रगत दिएर उनलाई बचाएँ (बजगाईं, २०७७ पृ. ३७) ।’ यसैले यस सङ्ग्रहका कथाबाट पनि उनले उल्लिखित विषय तथा घटनाबाट जन्मिने हर्ष, पीडा, करुणा यसैअनुरूप यस सङ्ग्रहमा संयोग, आनन्द, वियोग, वियोग र पीडा, व्यङ्ग्य र दुःख, छटपटी आदि भएको परिस्थितिय परिवेश रहेको पाइन्छ । यसरी ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रहमा परिवेशको विविधतामय प्रस्तुति रहेको पाइन्छ ।
(ङ) दृष्टिविन्दु
कुनै पनि कृतिलाई पाठक वा श्रोतामाझ ल्याइपु¥याउन त्यसको वाचक कहाँ रहेको छ भन्ने कुराको अध्ययन दृष्टिविन्दमा गरिन्छ । वाचक वा समाख्याता पाठभित्रै रहेर प्रथम पुरुषवाचक सर्वनामको प्रयोग गरिएको छ । उनका यस लघुकथा सङ्ग्रहमा वाचक वा समाख्याता भोक्ताका रूपमा नरही वा पाठभन्दा बाहिर रहेर समाख्यान गरेको रचना बाह्य वा तृतीय पुरुषवाचक कथन हुने गर्दछ । यस्ता रूचनामा तृतीय पुरुषवाचक नाम तथा सर्वनामको प्रयोग गरिएको पाइन्छ । प्रस्तुत ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रहमा दृष्टबिन्दुको यस्तो प्रयोग गरिएका ‘पुरुष भाग्य, पुरुष सत्ता, भद्र सहमती जस्ता कथाहरू पनि रहेका छन् । ‘अतिरिक्त आम्दानी’, ‘धर्मपत्नी,’ ‘महिला क्लब,’ ‘नामद्र्ध’ आदि जस्ता धेरै कथाहरूमा यहाँ तृतीय पुरुष दृष्टिबिन्दुकै उपयोग गरिएको छ । प्रथम पुरुष दृिष्टविन्दु भएको लघुकथा ‘अनौठो सम्बन्ध’ हो । जस्तो ः ‘स्वास्नीको कुराले लोग्नेको आत्मबल बढ्यो । जे हो देखा जाएगा भन्दै लोग्नेले प्याकेट खोल्न थाल्यो । बाहिरबाट हेर्दा ठिकैको बाक्साजस्तो देखिएको थियो तर, त्यस बाक्साभित्र फगत एउटा खाम मात्र भेटियो । खाम बाहिर रातो मसीले लेखिएको थियो – ‘मेरा प्रिया’ (बजगाईं, २०७७ पृ. २१) ।’
यसरी दृष्टिबिन्दुका प्रथम र तृतीय पुरुष दुवै पद्धतिको लघुकथा सङ्ग्रहमा प्रथम पुरुष दृष्टविन्दुका केन्द्रीय र परिधीय तथा तृतीय पुरुष दृष्टिबिन्दुका सर्वज्ञ र सीमित जस्ता भेदहरूको प्रयोग गरेको पाइन्छ ।
(च) द्वन्द्वविधान
नेपाली साहित्याखानका प्रखर बजगाईंका ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रहका कथालाई द्वन्द्वविधानका दृष्टिले मूल्याङ्कन गर्दा अधिकांश पात्रहरूमा बाह्य तथा आन्तरिक दुबै द्वन्द्व रहेको पाइन्छ । यस सङ्ग्रहका पात्रको मनमा काल्पनिक द्वन्द्वले स्थान ओगटेको पाइन्छ । मानवेतर पात्रले दुःख पाउनु, मानबेतर पात्रहरू एकापसमा संवाद गर्नु ‘म त सुन्दरीको पाउको सोभा थिएँ । उनको कोमल स्पर्शलाई अझसम्म अनुभूति गरिरहेको छु । एउटा लेडिज चप्पलले गर्वसाथ भन्यो’ । ‘म त बहादुर चप्पल हुँ । भ्रष्ट नेताको गाला बजारेर आएको हुँ । अर्को चप्पलले सान देखाउँदै भन्यो’ (बजगाईं, २०७७ पृ. १०७) । भोकै बस्न पर्नु, सुन्दरी नारीको स्पर्श गरिरहन पाउनु र अहिले वास्ता नगरेर साहै्र दुःख पाउनु आदि घटनाहरूले आन्तरिक द्वन्द्वलाई उत्पन्न गराएको देखिन्छ । यसै गरी अर्को आफन्तद्वारा ठगिनु र आम मानिसले दुःख पाउनुले तिनीहरूको मनमा आन्तरिक द्वन्द्व उब्जाएको छ । विपत्तिमा साथ दिने चाहना एक आपसमा माया र सद्भाव देखाउन खोज्नु तर मिल्न नदिने जस्ता राजनीतिक खिचातानी, सामाजिक विभेदका कारण परिवारमा वेमेल सिर्जना हुनु र त्यसले निम्त्याएका घटनाहरू आन्तरिक द्वन्द्व कथामा आएका छन् । प्रस्तुत सङ्ग्रहका कथामा निम्न आयस्रोत भएका जनतामा आर्थिक अभावमा हुर्किएका पात्रलाई नेपालमा बसेर पैसा कमाउन सकेन । विदेश हानियो भने धेरै पैसा कमाउन सकिन्छ र उतै आरामको जिन्दगी बिताउन पाइन्छ भन्ने (दिवा सपनाले) आन्तरिक द्वन्द्वले पिरोलेको छ । श्रीमान् श्रीमती बिच एकापसमा विश्वास भयो भने घरमा झैझगडा हुन्न तर विश्वास गुम्यो भने सधँै झगडा भइरहने जस्ता आन्तरिक द्वन्द्वको घटना संवैधानिक पत्नी, दाइजो, धर्मपत्नी जस्ता कथाहरूमा मुख्य रूपमा उजागर भएको पाइन्छ । माथि उल्लेखित भएका घटनाक्रमले कथाकार कृष्ण बजगाईंका संवैधानिक पत्नी लघुकथा सङ्ग्रहका पात्रहरूमा आन्तरिक द्वन्द्वको प्रधानता रहेको प्रष्टै देखिन्छ ।
(छ) भाषाशैली
‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रह सरल तथा सहज भाषाशैली भएको कथा सङ्ग्रह
हो । यस सङ्ग्रहका कथाहरूमा कथाकार बजगाईंले छोटा वाक्य, सरल शब्दको उपयोग गरेका छन् । जो कोहीले पनि बजगाईंका लघुकथाहरू पढ्दा सहज किसिमले बुझ्न सकिने खालका छन् ।
भाषिक प्रयोगका दृष्टिले कथाकार बजगाईंले यस सङ्ग्रहमा तत्सम, तद्भव र आगन्तुक तीनवटै स्रोतका शब्दको प्रयोग गरेको पाइन्छ । यसमा सापेक्षित रूपमा तत्सम शब्दको प्रयोग कम नै देखिन्छ भने आगन्तुक स्रोतका विशेष आकर्षण देखिन्छ । यसैले उनले कथाभित्र मात्र होइन कतिपय कथाको शीर्षक (भ्यु टावर, ग्लोबल वार्मिङ) समेत अङ्ग्रेजी शब्दकै प्रयोग गरेका छन् । यस्तै गरी संस्कृतबाट तदभवीकरण भएर नेपाली भाषाको प्रयोग हुने गरेका पीडित पति, दाइजो, धर्मसङ्कट जस्ता शब्दको प्रयोग पनि कथाकारले गरेका
छन् । यस बाहेक नेपाली भाषाको आफ्नै स्रोत तथा जनजीवनमा झर्रो शब्दका रूपमा प्रयोगमा हुने शब्दहरू (प्याट् प्याट्, मुख्र्याइ, ह्वार्र पनि यहाँ प्रयोग भएका छन् । बढीजÞस्तो सरल वाक्यको गठन गर्ने बजगाईंले यस सङ्ग्रहका कथामा पनि त्यही विधिको उपयोग गरेका छन् । छोटा, पूर्ण र प्रष्ट वाक्यहरू कहाँ रहेका छन् । केही मात्रामा रहेका जटिल वाक्यहरू पनि अर्थ सम्प्रेषणका दृष्टिले बाधक बनेका छैनन् ।
कथाकारले यी कथाहरूमा अनुच्छेदको निर्माण पनि छोटोछरितो ढङ्गले निर्माण गरेका छन् । आफैमा छोटा आयाममा सीमित रहने लघुकथामा यहाँ कुनैमा अनुच्छेद योजनाद्वारा रचना पूर्ण गरिएको छ भने कुनैमा संवादका टुके्र अभिव्यक्तिलाई अनुच्छेदका रूपमा देखाइएको छ । विषयवस्तुको प्रकृति र प्रस्तुतिअनुसार कुनै कथाहरू एकभन्दा बढी अनुच्छेदका रहेका छन् । कथाकार बजगाईंले शैलीको पनि विविधतामय प्रस्तुत यस सङ्ग्रहका कथाहरूमा गरेका छन् । यसमा वर्णनात्मक, विवरणात्मक तथा संवादात्मक शैली रहेका छन् । यस संवादात्मक शैली प्रयोग गरिएको (कमरेडको अन्तर्वार्ता, चप्पल जस्ता) कथाहरू रहेका छन् । उनका लघुकथाहरूमा ‘कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाएर लग्यो’, ‘कुचो चलाउन नजान्ने मान्छे र गोली नभरिएको बन्दुक काम लाग्दैन’, ‘एक तीर दुई सिकार’ (बजगाईं, २०७७ पृ. ५९) । जस्ता उखानको प्रगोगले ‘कुचो’ कथाहरू प्रसिद्ध छन् । यो कुचो शीर्षकका कथा प्रतीकात्मक कथा पनि हो ।
यसप्रकार भाषाशैलीको आफ्नै विशिष्टतापूर्ण प्रयोग प्रस्तुत ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रमा प्रस्तुत भएको छ ।
(ज) उद्देश्य
‘संवैधानिक पत्नी’ लघु कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूका आफ्नै उद्देश्य रहेका
छन् । यस सङ्ग्रहमा सामान्य बोलीचालीकै भाषामा वर्तमानका समसामयिक समयका व्यक्तिगत, पारिवारिक, सामाजिक, राजनीतिक, पेसागत जस्ता विभिन्न क्षेत्रमा देखिएका अन्याय, बाध्यता, विकृति, विसङ्गति आदि नराम्रा पक्षलाई देखाउँदै त्यसमाथि विरोध र व्यङ्ग्य गरेका छन् । कथा सङ्ग्रहभरि छरिएर रहेका घट्ना र कथानकले कुनै सन्देश दिइरहेका
हुन्छन् । कथानक पढिसकेपछि पाठकले जुन सन्देश बोध गर्छ त्यही नै उद्देश्य हो । निरन्तर आफ्नो यात्रामा अडिग भएर सङ्घर्ष गर्दै विश्वासका साथ अघि बढे एक न एकदिन सफलता प्राप्त गर्न सकिन्छ । नारीहरू पनि पुरुषभन्दा कमजोर छैनन् मौका पाएर निरन्तर साधनामा लागे भने पुरुषले गर्ने काम तिनले पनि गर्न सक्छन्, तर सफलता प्राप्त गर्न दिनभरि घाममा सुतेर हैन, सङ्घर्ष र लगन हुनुपर्छ र सफलताको चन्द्रमा छुने विश्वास र धैर्यता राख्नु पर्छ भन्ने सन्देश उद्देश्य ‘संवैधानिक पत्नी’ लघुकथा सङ्ग्रका ‘दाइजो’, ‘धर्मपत्नी’, ‘पत्नी पुराण’ कथाहरूमा पाउन सकिन्छ । जस्तो ः धर्मपत्नी भनिएका हामीलाई लोग्नेले साँच्चैको पत्नीको रूपमा स्वीकारेका छैन् । पत्नीको रूपमा मानिदिएको जस्तो नै घरमा पत्नी भएका पुरुषहरूले बाहिर उपपत्नी र प्रेमिका राख्ने गरेका छन् (बजगाईं, २०७७, पृ. २८) ।
यसरी हेर्दा यस सङ्ग्रहका कथाहरूबाट कथाकारले वर्तमान समयमा व्यक्ति, समाज तथा राष्ट्रमा राम्रा भन्दा नराम्रा र नकारात्मक कुरा प्रवृत्तिले स्थान पाएको देखाउँदै त्यसप्रति चिन्ता प्रकट गरेको पाइन्छ भने समाजका नराम्रा कुराको अन्त्य गरेर असल, सबल र समुन्नत व्यक्तित्व, समाज र राष्ट्र बनाउनु राम्रा कुराप्रति सबैमा सचेतता ल्याउनु पर्ने विचार अभिव्यक्त भएको पाइन्छ ।
४.४ निष्कर्ष
लघुकथाकार कृष्ण बजगाईं नेपाली लघुकथा लेखनका क्षेत्रमा समसामयिक कथाहरू रचना गरेर स्थापित भएका स्रष्टा हुन् हालसम्म उनका यन्त्रवत् (२०६४), ‘रोडम्याप’ (२०६७) कवच (२०७२) र संवैधानिक पत्नी (२०७७) गरी चारवटा लघुकथा सङ्ग्रहहरू प्रकाशित भएका छन् । बजगाईंका लघुकथाहरूलाई हेर्दा उनले समसामयिक जीवनका सामाजिक, सांस्कृतिक, धार्मिक, नैतिक, आर्थिक, शैक्षिक जस्ता विविध पक्षमा देखिएका विसङ्गति, विकृतिलाई देखाउँदै, तिनको व्यङ्ग्य र विरोध गर्नुका साथै सभ्य, सुसंस्कृत समाजको निर्माण गर्ने तथा समाज सुधारको सन्देश पनि दिएको पाइन्छ । लघुकथा विधाअनुसार नै उनका कथाहरू छोटा आयामका, छोटै वाक्य गठन र अनुच्छेद गठन गरिएका छन् । तत्सम, तद्भव तथा आगन्तुक तीनवटै स्रोतका शब्दहरू प्रयोग गरिएका छन् । विविध प्रकृतिका बिम्ब, प्रतीक, मिथक तथा अलङ्कारको संयोजनद्वारा विशेष अर्थ तथा कलात्मकता प्रदान गरिएका भए पनि तिनको अर्थबोधमा जटिलता आएको पाइदैन । यसैले कथाकारले लघुकथामार्फत् भण्डाफोर गरेका समाजका शोषण, विभेद र अन्यायलाई प्रष्ट भेट्न सकिन्छ ।
समग्रमा नेपाली साहित्यमा आख्यान उपविधाको रूपमा रहेको लघुकथालाई विशेष ढङ्गले महेनत र साधनाका साथ अगाडि बढाएर विधा र आफूलाई समेत स्थापित गरिएका बजगाईंले सरल र सहज ढङ्गबाट समाजमा छरिएर रहेका स–साना विषयवस्तुलाई निर्धक्कसँग आफ्ना कथामा उतारेका छन् ।
परिच्छेद : पाँच
सारांश तथा निष्कर्ष
५.१ सारांश
जम्मा पाँच परिच्छेदमा सङ्गठित गरिएको प्रस्तुत शोधपत्रको परिच्छेद एकमा शोधपत्रको परिचय रहेको छ । शोधको समस्या, शोधको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधविधि, शोधको औचित्य, शोधको महत्त्व, शोधको रूपरेखा प्रस्तुत गरी व्याख्या समेत गरिएको छ ।
परिच्छेद दुईमा लघुकथासम्बन्धी सैद्धान्तिक अवधारणाको अध्ययन गरिएको छ । यस क्रममा प्रथमतः लघुकथाको विधागत स्वरूपको सङ्क्षिप्त चर्चा गर्दै लघुकथाको व्युत्पत्ति र अर्थ, लघुकथाको परिचय, लघुकथाको परिभाषा, लघुकथाको स्वरूप र संरचना (तत्त्वहरू) को अध्ययन तथा विश्लेषण गरिएको छ ।
परिच्छेद तीनमा कृष्ण बजगाईंको जीवनी र लघुकथाकारिताका साथै लघुकथायात्रा, प्रवृत्तिहरू तथा योगदानहरूको सङ्क्षिप्त अध्ययन गरिएको छ । यस क्रममा कृष्ण बजगाईंको जीवनीका प्रमुख पक्षहरूको सङ्क्षिप्त चर्चाअन्तर्गत बजगाईंको जन्म तथा पारिवारिक पृष्ठभूमि, शिक्षादीक्षा, साहित्यिक जीवनीमा प्रवेश, प्रवासी जीवनका साथै साहित्यिक यात्राका सम्बन्धमा अध्ययन गरिएको छ ।
प्रस्तुत शोधको परिच्छेद चारमा कृष्ण बजगाईंको कवच, रोडम्याप यन्त्रवत् र सवैधानिक पत्नी लघुकथा सङ्ग्रहमा सङ्गृहित लघुकथाहरूको परिच्छेद दुईमा स्थापित लघुकथासम्बन्धी सैद्धान्तिक अवधारणाका आधारमा विश्लेषण गरिएको छ ।
परिच्छेद पाँचमा सम्पूर्ण अध्ययनको सार प्रस्तुत गरिएको छ । सम्पूर्ण सार प्रस्तुत गर्ने क्रममा सारांश र निष्कर्ष दुई शीर्षकहरू राखी मुख्य मुख्य निचोडहरूलाई छोटकरीमा प्रस्तुत गरिएको छ ।
५.२ निष्कर्ष
बजगाईंले नेपाली साहित्यका कथा, कविता, निबन्ध, हाइकु, नियात्रा विधामा कलम चलाएका छन् । स्कुलको कार्यक्रममा (वि.सं.२०३६) बालकविता लेखेर साहित्यतर्फ आकर्षित भएका बजगाईंका दाइबुचु (नियात्रा सङ्ग्रह २०७६), कुमारी रात (हाइकु सङ्ग्रह २०७५), भाया साक्रा (नियात्रा सङ्ग्रह २०७४), युरेसियाको स्पर्श (नियात्रा सङ्ग्रह २०७३), कवच
(लघुकथा सङ्ग्रह २०७२), कमरेड भाउजू (कथा सङ्ग्रह २०७२), रोडम्याप (लघुकथा सङ्ग्रह २०६५), स्रष्टा र डिजिटलवार्ता (साहित्यिक अन्र्तवार्ता सङ्ग्रह, २०६५), हिउँको तन्ना (२०६५) र मौन प्रणय (२०७७) हाइकु सङ्ग्रह), यन्त्रवत् (लघुकथा सङ्ग्रह, २०६४) र सवैधानिक पत्नी लघुकथा सङ्ग्रह (२०७७) गरी हालसम्म १२ वटा कृतिहरू प्रकाशित भइसकेका छन् ।
लघुकथा आख्यानको लघुत्तम भेद हो । यसमा सीमित कथानक, परिवेश, संवाद एवम् पात्रविधान र उद्देश्य जस्ता तत्त्व रहेका छन् ।
बजगाईंका प्रकाशित चार वटा लघुकथा सङ्ग्रहका आधारमा उनमा राष्ट्रवादी विचार, प्रकृति चित्रण, सामाजिक यथार्थता, मानवतावादी स्वर, समसामयिक चेतना, प्रगतिवादी चेतना, व्यङ्ग्यात्मकता, कारुणिकता, डायस्पोरिक चिन्तन, स्वैरकल्पनात्मकता आदि प्रवृत्तिहरू पाइन्छन् ।
समाजमा घटेका घटनाहरूलाई यथार्थ रूपमा साहित्यमार्फत् अभिव्यक्त गर्ने हुनाले उनको प्रमुख प्रवृत्ति भने सामाजिक यथार्थवादी नै हो भन्ने निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । शोध समस्यासँग सम्बन्धित शोध्य प्रश्नहरूका उत्तरका सन्दर्भमा यस अध्ययनकोे निष्कर्षलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः
१. लघुकथामा सामाजिक जीवन एवम् सांस्कृतिक पक्षमा देखापरेका बेमेलपनप्रतिको असहमतिका साथै स्वस्थ समाजको परिकल्पना गरिएको पाइन्छ । यसरी नै शिक्षा, स्वास्थ्य, प्रशासन, धर्म, विज्ञान, पत्रकारिता, प्रवासी जीवन, साहित्य लगायतका क्षेत्रमा देखापरेका विकृतिको अन्त्यका साथै नेपाली समाजको उन्नतिको चाहनाको अभिव्यक्ति पाइन्छ ।
२. मानवीय युगजीवनका अनेकन विसङ्गत पक्षको चित्रण गर्ने क्रममा यथार्थवादी लेखन शैलीको प्रारम्भ, सामाजिक यथार्थको प्रस्तुतिका साथै विकृतिजन्य परिवेशप्रति आलोचनाको स्वरको प्रस्फुटन पाइन्छ ।
३. नेपाली लघुकथामा विभिन्न चरणमा तत्कालीन युगजीवनका यथार्थको प्रस्तुतिकरणका साथै विकृति एवम् विसङ्गति विरोधी चेतनाको सशक्त अभिव्यक्ति पाइन्छ ।
४. लघुकथा सर्जकले मूलत ः राजनीतिक, सामाजिक एवम् सांस्कृतिक पक्षलाई विषय सन्दर्भको रूपमा उपयोग गरेका छन् । यसै सन्दर्भमा नेपाली लघुकथामा नेपाली समाजको विभिन्न कालखण्डमा देखापरेका राजनीतिक विकृतिको उत्खननका साथै विसङ्गतिप्रति व्यङ्ग्य एवम् विद्रोहको चेतनाको अभिव्यक्ति पाइन्छ ।
५. नेपाली लघुकथामा शैलीशिल्पगत विन्यासमा विविधता पाइन्छ । आख्यानमा जस्तै लघुकथाका केही विशिष्ट पक्ष पनि रहेका छन् । आख्यानात्मक सूक्ष्मता, परिवेशगत सीमितता, पात्रविधानगत सीमितताका साथै दृष्टिबिन्दुमा पनि तृतीय पुरूषको आधिक्यता पाइन्छ ।
६. लघुकथामा मनोविश्लेषणका माध्यमबाट मानव मनका विभिन्न चिन्तनको विश्लेषण गरिएको पाइन्छ ।
७. नेपाली लघुकथाका रूपविन्यासगत बुनोटलाई प्रस्तुत गर्ने विभिन्न पक्ष विचलन, समानान्तरता, पर्याययोक्ति, विशेषणगुच्छको प्रयोग, दृष्टान्तिकरण, अप्रचलित शब्द वा शब्दयुग्मको प्रयोग, सादृश्यविधान अन्तर्गत बिम्ब, प्रतिक, अलङ्कार, मानवीकरण, व्यङ्गोक्ति, उखान, टुक्का, नवनिर्मित क्रिया, संवादात्मक शैली, लोककथात्मक शैलीले नेपाली लघुकथा रचनालाई समृद्ध बनाएको देखिन्छ ।
८. सामाजिक विभेद एवम् अन्यायपूर्ण राजनीतिक–सामाजिक परिवेशप्रतिको विद्रोही स्वर एवम् न्यायमूलक समाजको खोजीमा आधारित भएर लघुकथा विस्तार गरिएको पाइन्छ ।
९. सामाजिक सुधार एवम् जागरणका साथ नारी अधिकारको पक्षलाई मुख्य विषयवस्तु बनाइ लघुकथा रचना गरिएको पाइन्छ ।
१०. लघुकथा लेखनका क्रममा विभिन्न भाषाशैली एवम् शिल्पगत नवीनताको प्रस्तुतिलाई विचार विमर्श गरिनुका साथै साइबर संस्कृतिलाई कथामा विषयवस्तुका रूपमा उठान गरिएको पाइन्छ ।
११. नेपाली लघुकथामा पाइने विषयवस्तुगत, वादगत एवम् लघुकथागत प्रवृत्तिको निरूपण गरिएकोले नेपाली लघुकथाको समग्र अध्ययनका दृष्टिले उपयोगी हुने देखिन्छ ।
१२. नेपाली लघुकथाको विषयवस्तु, विचार एवम् बनोट र बुनोटसँग सम्बन्धित भएर लघुकथा विस्तार गरिएको पाइन्छ ।
यसरी बजगाईंका कथामा राजनीतिले वैयक्तिक जीवनमा पारेका असरहरूलाई प्रष्ट रूपमा देखाइएको पाइन्छ । यसका अतिरिक्त वर्ग, धर्म, जाति, आस्था आदिका कारणले उत्पन्न परिस्थिति र फुट प्रशासनिक क्षेत्रमा देखिएका आर्थिक विकृतिहरू तथा अनुशासनहीनता जस्ता विविध विषयहरूको चित्रण गरिएको पाइन्छ ।
सन्दर्भसामग्री सूचीः
अधिकारी, शारदा (२०५८), ‘विषय र प्रस्तुतिका दृष्टिले आजका लघु÷लघुत्तम कथाहरू’,
गुुञ्जन (वर्ष ५अङ्क, ३, पृ. ८३–८४) ।
अश्क, गोपाल (२०६५), लघुकथा प्रक्रिया र पाठ, साझा प्रकाशन ।
के.सी., दीपेन्द्र (२०६५), ‘बजगाईंको लघुकथा सङ्ग्रह यन्त्रवत् संक्षिप्त समीक्षा,’ शब्दाञ्जली,
अर्ध वार्षिक, वर्ष १, अङ्क २, पृ.७ ।
गौतम, लक्ष्मणप्रसाद (२०५६), ‘लघुकथाको स्वरूप, संरचना र तत्त्व,’ मधुपर्क (वर्ष ३२,अङ्क
२, पृ. ६१–६२) ।
..................... (२०६६), ‘रोडम्याप विश्लेषण’, रोडम्याप, संयुक्त राज्य अमेरिका ः
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (वर्ष १,अङ्क ३,पृ.१८) ।
................. (२०६७), लघुकथाको सैद्धान्तिक स्वरूप र नेपाली लघुकथाको सन्दर्भ, नेपाल
प्रज्ञा प्रतिष्ठान, गद्य÷आख्यान विभाग र नेपाली लघुकथा समाजको आयोजनामा
२०६७ कार्तिक २७ गते, काठमाडौंमा भएको विचार गोष्ठीमा प्रस्तुत कार्यपत्र ।
गौतम, लक्ष्मणप्रसाद (२०७२), लघुकथाको रचनाविधान, लघुकथा समाज ।
घिमिरे, ऋद्धिरमण (२०६४), ‘यन्त्रवत् ः उम्दा लघुकथाहरू,’ गरिमा, साझा प्रकाशन,
पुल्चोक, (वर्ष ६, अङ्क ३, पृ.५) ।
घिमिरे, रमिलाकुमारी (२०७५), ‘‘भ्रममार्गका प्रतिनिधी कथाहरूको अध्ययन,’’ नेपाली
स्नातकोत्तर शोधपत्र, त्रि.वि.घण्टाघर ।
चालिसे, तारादेवी (२०६९), “कपिल लामिछानेको लघु कथाकारिता”, स्नातकोत्तर शोधपत्र,
नेपाली केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर ।
ढकाल, बद्रीप्रसाद (२०७५), मिथक सिद्धान्त र प्रयोग, ओरिएन्टल प्रकाशन ।
ढुङ्गेल, कृष्णप्रसाद (२०७३), ‘‘कृष्णप्रसाद बजगाईंको जीवनी, व्यक्तित्व र कृतित्व’’,
स्नातकोत्तर शोधपत्र नेपाली केन्द्रीय विभाग त्रि.वि.कीर्तिपुर ।
नेपाल, शैलेन्दुप्रकाश (२०५५), ‘नेपाली साहित्यमा लघुकथा,’ मधुपर्क, (वर्ष ३१,अङ्क ५,
पृ.१३०–१३२) ।
न्यौपाने, पदमप्रसाद (२०६९), ‘‘रवीन्द्र समीरको लघुकथाकारिता,’’ स्नातकोत्तर शोधपत्र,
नेपाली केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुर ।
पोखरेल, माधवप्रसाद (२०६४), यन्त्रवत लघुकथाको समीक्षा, संयुक्त राज्य अमेरिका ः
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
पौडेल, गोपीन्द्र (२०६३), नेपाली लघुकथा परम्परा र समकालीन प्रवृत्ति, साहित्य सन्ध्या
लघुकथा विशेष अङ्क, (पृ. २२–३१) ।
बजगाईं कृष्ण, (२०६४), यन्त्रवत्, संयुक्त राज्य अमेरिका ः अन्तर्राष्ट्रिय नेपाली साहित्य
समाज ।
........... (२०६५), रोडम्याप, ओरियन्टल पब्लिकेसन ।
.......... (२०७२), कवच, विवेक सिर्जनशील प्रकाशन ।
.......... (२०७७), संवैधानिक पत्नी, विवेक सिर्जनशील प्रकाशन ।
बजगाईं, वी.पी. (२०६७), ‘क्याफ्टेरियाबाट देखिएका केही दृष्यहरू,’ समकालीन साहित्य
वेव पत्रिका, (वर्ष १,अङ्क १,पृ.११) ।
बजगाईं, बी.पी. (२०६७), रोडम्यापभित्र कृष्ण बजगाईं ः एक अवलोकन, (वर्ष १,अङ्क
१,पृ.५) ।
भट्ट, पुष्करराज (२०६९), ‘श्रीओम श्रेष्ठ रोदनको लघुकथाकारिता,’ शृङ्खला, (वर्ष,३५,अङ्क
१०, पृ.२३–२९) ।
भट्ट, पुष्करराज (२०७३), ‘‘नेपाली लघुकथामा युगचेतना,’’ विद्यावारिधी शोधप्रबन्ध,
मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रि.वि.कीर्तिपुर ।
भट्टराई, घटराज (२०५६), ‘लघुकथाको पहिलो मौलिक रूप लौकिक न्याय मणिमाला’,
मधुपर्क , (वर्ष,३२,अङ्क४, पृ.४१–४२) ।
राकेश, रामदयाल (२०५९), ‘लघुकथा ः एक लघु विवेचना,’ समकालीन साहित्य, (वर्ष
१२,अङ्क४, पृ. १५–२१) ।
राय, गुलाब (२०६५), ‘लघुकथाको परिभाषा,’ नेपाली लघुकथा ः प्रक्रिया र पाठ, गोपाल
अश्क, साझा प्रकाशन ।
लामिछाने, कपिल (२०६४), ‘नेपाली लघुकथा र समकालीन सन्दर्भ,’ मिर्मिरे,
(वर्ष ३६,अङ्क ११, पृ.२७०) ।
शर्मा, मोहनराज (२०४८), शैलीविज्ञान, ने.रा.प्र.प्र. ।
.............(२०५५), समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, ने.रा.प्र.प्र. ।
..............(२०५९), ‘नेपाली लघुकथा ः सिद्धान्त र विश्लेषण,’ समकालीन साहित्य, (वर्ष
१२,अङ्क ४,पृ.७–१४) ।
श्रेष्ठ, दयाराम (२०५६), ‘नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप’, मधुुपर्क,
(वर्ष ३२, अङ्क४,पृ.१३–१६) ।
............(२०६९), ‘लघुकथाका संरचनात्मक तत्त्वहरू’, नेपाली लघुकथा, (अङ्क १, वर्ष १,
पृ.२२) ।
समीर मिलन (२०७३), समकालीन साहित्य, त्रैमासिक लघुकथा विशेषाङ्क, लघुकथा समाज
ने.रा.प्र.प्र. ।
सिलवाल, छविरमण (२०६५), ‘समयको दस्तावेज,’ विक्लि (साप्ताहिक) पोष्ट’, पृ.४) ।
सिलवाल, छविरमण (२०६७), ‘उत्कृष्ट लघुकथाको सङ्ग्रह रोडम्याप,’ जनप्रहार साप्ताहिक,
(वर्ष ७, अङ्क ४, पृ.६) ।
सिलवाल, छविरमण (२०७४) समकालीन साहित्य, (वर्ष १२,अङ्क ५,पृ.१०) ।
सुवेदी, राजेन्द्र (२०५३), ‘‘वर्तमान प्ररिपेक्ष्यमा लघुकथाको परिचय र विकास’’ (अप्रकाशित
कार्यपत्र), भद्रपुर ।
सुवेदी, होमनाथ (२०६५) ‘यन्त्रवत् मानवको परीक्षण,’ अभिव्यक्ति, (वर्ष १३,अङ्क, ४ पृ.६) ।