17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रेमिल भावान्तर

कथा हिमाल लिम्बु April 5, 2023, 2:59 pm
हिमाल लिम्बु
हिमाल लिम्बु

नव-वर्षसँगै आएको वसन्तऋतुले विजयपुर डाँडामा उल्लासमय बहार ल्याएको छ । हरियो डाँडामा बनेका घरहरू र तिनका छानामा टल्किएका हरिया टिनका छानाहरू । सेतो बादलको सुल्किदै गरेका कलौटे पयरहरूभित्र दुई पक्षीहरू अनन्तमा उडिरहेको छन् । त्यो अनुपम दृश्य बादलप्रेमीहरू बाहेक अन्य व्यक्तिले अवलोकन गर्नु अपवाद भित्र पर्छ होला । त्यस्तै अपवादमा पर्छिन्, एउटा घरकी एक युवती, जो बादलको करिश्मालाई हेर्दै रमाइरहेकी छिन् । दक्षिण मोहडा भएको त्यस घरमा उत्तरतर्फको कोठाको आँखीझ्यालबाट चियाउने हो भने विजयपुर डाँडाको प्राकृतिक दृश्यको रस्वादन छर्लङ्ङ गर्न सकिन्छ । उनले त्यो सेतो बादलको चदुवाभित्र दुईवटा निला चखेवा र चखेवीको विलय भएको स्पन्दित रमाइलो दृश्यलाई नजराभूत गर्ने मौका पाउछिन् । यथार्थमा त्यो प्रेमानुभूति असीम क्षण अटल छैन । त्यो क्षण बिहानी शीत झैं पलभरमा नै अलौकिक बन्छ । उनी रम्न चाहादा-चाहदै पनि रमाउन प्रेरणा दिने धोतक नभइ रम्नबाट वंचित हुन्छिन् । उनी गम्भीर हुन्छिन् । कुनै अज्ञात सन्तापले पिरोले जसरी स्तब्ध देखिन्छिन् । अनायसै मैनबतीमा मैन थपिए सरी उनको सुन्दर मुहारमा अलिकति मुस्कान थपिन्छ । उनका नित्य हाँसिरहने मोहनी आँखाहरूमा मुस्कान थपिएर सुनगाभा फूल झनै शोभित भएको जस्तो लाग्छ । उनी आँखीझ्यालको एउटा पल्ला ढप्क्याएर स्टडी-टेबुल तर्फ फर्कन्छिन् । मौन छिन् उनी, पूर्ण मौन। आफ्नो हातमा भएको मेगजिनलाई टेबुलमाथि फ्याँकेर सोफामा थ्याच्च बस्छिन् । गहिरो सोचमा डुब्छिन् । ओठमा हल्का मुस्कान सृजित गरेर अपेक्षित नयनले सिरानीमुनीबाट एउटा फोटो निकाल्छिन् र टोलाउदै हेरि रहन्छिन् ।
"कुसुम_ ।" ढोकामा कर्कश आवाज गुन्जिन्छ ।
कसैले बोलाएको सुनेर झस्किन्छिन् उनी । हत्तपत्त त्यस फोटोलाई सिरानीमुनी नै घुसार्छिन् । केहीबेर चकमन्न हुन्छ त्यहाँ । उनी आफैंसँग लजाउछिन् । उनलाई लाग्छ, उनलाई बोलाउने कोही नभएर त्यही फोटोको मान्छे हो । अनि मुसुक्क हाँस्दै फोटो झिक्न हात सिरानीमुनी घुसार्छिन् ।
"ए, कुसुम _।" ढोकाले फेरि बोलाउँछ । सिरानीमुनी घुस्दै गरेको हात फुत्त निकाल्छिन् ।
"जो हुनुहुन्छ, भित्र आउन सक्नुहुन्छ ढोका खुल्लै छ ।" ढोकातिर जाँदै उनी बोल्छिन् ।
ढोका उघारेर अर्की युवती संघारमा मुस्कुराउदै खडा भएकी हुन्छिन् ।
"मनिमा तिमी पो _?"
"कुसुम, तिमी लक्की रैछौ । पहिलो प्रस्तावमा नै तिमीलाई सफलता मिल्यो ।" उताउलो पारामा मनिमा बोल्छिन् ।
कुसुमका गुलाबी ओठहरु खुशी व्यक्त गर्न स्वस्फुर्त हलुका उफ्रन्छन् । आँखाले हर्षविभोरको इन्द्रेनी देख्दै तिरमिराउछन् । उनका रसिला गालामा उमंगको रेखाहरू नाँच्दछन् । तर रहस्य बुझेर पनि अबुझ हुँदै उनले सोध्छिन्, "कस्तो सफलता? तिम्रो मतलब के हो मनिमा?" "उफ, कुसुम तिमी पनि? कि खुशीको पोखरी विस्फोट भयो र दिमाग माच्छा मार्न गयो हँ, केटी?" पातलो जिब्रो भएकी मनिमा प्यारप्यार बोलिरहने गर्छिन् ।

"त्यहीँ हाउ तिम्रो जिन्दगीको सवाल । प्रेमको छहारीमा शीतल ताप्न पाउँ भन्ने प्रस्ताव । मैले तिम्रो नाममा आइ लव यु भन्नेबित्तिकै उसले सहर्ष स्वीकार्य, कुसुम ।"
मनिमाले सबै कुरा एकै स्वरमा ओकल्छिन् । कुसुम हर्ष-विस्मातले अवाक बन्छिन् ।
"अब तिमीले फष्ट लव लेटर चाडै लेख्नुपर्छ र प्रेमको दियो जलाउन शुरू गर्नु पर्छ । पहिलो प्रेमपत्र यस्तो हुनपर्छ जुन तिमीहरूको दुई आत्माको मिलनका लागि कोशेढुंगा सावित होस् । जसले प्रेमको अन्त्य होइन बलिदान दिन सकोस्; यदि प्रेमको उत्कर्षतामा सार्थक मिलन हुदैन भने । ल कुसुम, तिमीले आज नै पत्र लेखि हाल है। मैले उसलाई लालीगुराँस थिएटरमा भेट्ने प्लान गरेकी छु ।"
कुनै निर्जीव प्रतिमाले निस्तब्ध भएर क्रन्दनका हरेक चित्कार सुने जसरी कुसुमले मनिमाका हरेक वचन सुन्छिन् । कुसुमले लव लेटर त्यसदिन लेख्ने मञ्जुरीको संकेत दिन्छिन् । कुसुमले मनिमालाई केही छिन बस्न आग्रह गर्छिन् । तर मनिमाले हतार भएको जनाउदै ढोकातर्फ लम्किन्छिन् ।
"बाइ कुसुम, फेरि भेटौँला " मनिमा हात हल्लाउदै त्यहाँबाट निस्किन्छिन् ।

⃰ ⃰ ⃰

कुसुमको मन उमंगको तरंगले फुरुंग हुन्छ । उनको छचल्किएको यौवनमा चमक बढेको छ । बैँसालु ती मृग-नयनमा हर्षको लाली चढेर लालुपाते फुलेको छ। बैँसले ढकमक्क फुलेकी कुसुमको चच्चले मनको धोको पुग्ने भएपछि किन नहोस् खुशीको पहाड़ उनको जीवनमा । पहाडलाई असाध्यै चाहन्छिन् । आफ्नो अव्यक्त प्रेमलाई मूर्त रूप दिन मनिमार्फत प्रेमको प्रस्ताव पहाडसँग राखेकी छिन् । मनिमाले भर्खरै ल्याएको खबरमा उनी सफल भएकी छिन् । प्रेमको महल निर्माणमा जग बसाल्न हृदयका असीम प्रेमहरू सुन्दर शब्दले पोख्छिन्; सेता सफा पानामा निलो मसिले अमिट शिलालेख झैँ । उनको विश्वास छ, चोखो र स्वच्छ प्रेममा । त्यस जमानाले उदीर्ण गरेको विकृत प्रेमलाई एउटा उदाहरणद्वारा मानवीय अस्तित्वको आधारशिला र धर्तीलाई स्वर्गको ज्योतिमा परिणत गर्ने महान उदाहरणमा विश्वास गर्छिन् उनी । उनी पहाडलाई यस्तो प्रेम गर्न चाहन्छिन् जस्तो कि धर्तीले आकाशलाई, चन्द्रले चकोरलाई गर्दछ । स्वभावतः कुसुम पवित्र कुसुम जस्ती छिन् । बुद्धि, विवेक र दुरदर्शीता निहित गुणले ऊ साञ्च नै विदुषी छिन् । उनी प्रेमको सार्थकता नर र दमयन्ती, मुना र मदन तथा लैला र मज्नुको जस्तो सञ्चा प्रेम त्याग बलिदानमा हुनुपर्छ भन्ने गर्छिन् । कुसुम र पहाड एउटै कलेजमा पढ्छन् । उनीहरूको बोलचाल, हाँसखेल त भएको छ तर त्यो संवन्ध केवल मित्रताको सीमासम्म मात्र कायम छ । कुसुमले पहाड़लाई मन पराए पनि त्यो मनमनैमा सीमित हुन्छ । उनको प्रेमको मुहान खोलेर मूल प्रवाहमा विलय हुन माध्यमको रूपमा उनकी घनिष्ट साथी मनिमालाई लिएकी छिन् । कुसुम गम्भीर स्वभावकी सुशील केटी थिइन् । उता मनिमा चाहिँ चञ्चल स्वभावकी छिन् । भावनात्मक निकटता भएतापनि कुसुम र मनिमाबीच धान र सामाको भिन्नता हुन्छ । मनिमा आधुनिक फेशनदार हिप्पी खालकी छिन् भने कुसुमलाई फेशनतिर खासै ध्यान हुन्न ।
त्यो दिन कुसुमको लागि निकै नै खुसीयालीको दिन हुन्छ । केही पाए जस्तो, कसैले कुतकुत्याए जस्तो, कसैले परबाट सुसेलीमा बोलाए जस्तो अजिबको आभासले उनलाई स्पर्श गरिरहन्छ । उनको ओठले स्वस्फुर्त गीत पनि गुनगुनाउँछ । जीउमा एक प्रकारको हल्का कम्पनले भूचाल चलिरहन्छ । बेलुकी पख प्रेमपत्र लेखिसकेर मनिमाको घर जान्छिन् कुसुम । अफसोच, मनिमा केही दिनका लागि काठमान्डौं गइकी हुन्छिन् । जसरी पर्वतको कोखबाट छचल्किदै आएको नदी मैदानमा आएपछि तेजहीन हुन्छ त्यसरी नै कुसुम पनि शून्य बन्छिन् केहीबेरका लागि । उनको मनमा जुन तमासले प्रेमपत्र दिएर प्रेमको भेटी थाँपुला भनेर आँतुर हुन्छ तर अहिले चेतनशून्य भएको छ । प्रेमपत्रमा कोरिएका शब्दहरू त्यसैत्यसै उडेर विलीन हुदै होलान् जस्तो भानले उनलाई पिरोल्छ । उनका भावना-स्फुरित प्रेमपत्र पट्याएर पोल्टामा पल्टिरहन्छ प्रापकको पर्खाइमा ।
⃰ ⃰ ⃰

दिनहरू बित्तै जान्छन् । कुसुमको भेट पहाड वा मनिमा कसैसँग पनि भएको हुदैन । एकदिन कुसुम घोपा हस्पिटलको पार्कमा चिसो पवनसँग लुकामारी खेलि रहेकी हुन्छिन् । पश्चिम क्षितिजमा अँशुमालीले मधुर किरण फिजाउँदै विदा लिदै हुन्छ । र त्यस दिनकोलागि गोलार्दको लीला समाप्त गर्ने तर्खर गरिरहेको गोधुली साँझ हुन्छ । बैशाखको महिना हल्का हल्का पवनले घरी-घरी बतासको स्वरूप लिदै बहिरहेको छ । कुसुमको आँचल फरफराइ रहेको हुन्छ । ऊ त्यहाँ भएको शिरीषको फेदमा आड लिन जान्छिन् । परबाट कसैले बोलाएको आवाज नेपथ्यबाट आए झैं सुन्छिन् उनले । फर्किएर हेर्दा पहाड़ उनीतिर आइरहेको देख्छिन् । पहाडको आगमनले उनको मुटुमा तीव्रता बढ्छ । खोइ किन हो कुन्नी ! उनलाई थाहा हुन्न । प्रेमपत्र दिनलाई भेट कहिल्यै भएन; त्यसदिन अचानक भेट हुन्छ तर कुसमले पत्र साथमा ल्याएको हुन्नन् । खैर, प्रेमपत्रका एकएक शब्द उनलाई याद छ । किनभने त्यो पत्र उनले कम्तीमा बिस पटक लेखेकी छिन् । सच्याउदै, लेख्दै, च्यात्दै फेरि लेख्दै गर्दा तीन पेज लामो पत्र पनि उनलाई कन्ठस्थ भैसकेको छ । पवनको वेगमा लामो सुस्केरा हालेर आँट बटुल्ने दुस्प्रयास गर्छिन् । प्रेमपत्रका सारा भावनाहरू पहाडलाई सुनाउने मनमनै सोच्छिन् । ती दुई जवान आत्माहरु शिरीषको फेदमा रहेको कोमल दुवोमा बस्छन् ।
"कुसुमजी के छ खबर? आजकल मनिमालाई देख्दिन?" पहाडले दुईवटा प्रश्नहरू एकैचोटी सोध्छ । मनिमासगँ उनको पनि भेट नभएको जानकारी दिन्छिन् कुसुमले । त्यसबेलासम्म उनको मुटु धड्कि नै रहेको हुन्छ । उनी पहाडसँग समर्पित गर्न चाहन्छिन् उनको त्यो सानो मुटु । साँची राखेको पवित्र र असीम प्रेम दिन आतुर छिन् उनी । पहाडको न्यानो छत्रछायाँ प्रेम माया पाउन उत्सुक छिन् कुसुम । एकान्तमा भएको त्यो भेटमा मौका मात्र फर्किरहेकी हुन्छिन् उनी । मनिमा जस्ती बोल्ने स्वभावकी हुन्थिन् भने कुरा छिनोफानो भइसक्थ्यो तर कुसुम मनमा कुडुँलो पार्दै भावना-चाहाना गुम्स्याएर बसिरहन्छिन् ।
कुसुम फूल जस्तै शान्त र कोमल छिन् । पहाडलाई कसरी भन्ने उकुसमुकुस प्रेमका भावनाहरू ! उनी एकतमासले सोचिरहेकी हुन्छिन् । अचानक उनको ओठबाट फुत्किन्छ "प्रेम"।
"के भन्न लाग्नुभो, मनिमा?" पहाडले प्रश्न गर्छ ।
आफ्नो ओठबाट अचानक फुत्केको शब्दको वाक्य बनाउन अकमकाउदै कुसुमले भन्छिन्, "मेरो मतलव तपाई 'प्रेम' कसलाई – मतलव प्रेमलाई कसरी व्याख्या गर्नु हुन्छ?"
"मेरो विचारमा प्रेम जिन्दगीको सागरी यात्राको नाउ हो जुन नाउमा चढेर जीवन बिताइन्छ । जहाँ एक अर्कोमा तन, मन, धन केहीको पनि सीमा हुदैन । यो मानवताकालागि परम आवश्यक छ ।" कुसुमको प्रश्नलाई सहज रूपले पहाडले जवाफ दिन्छ ।
"तपाईको विचारमा नि?" पहाडको प्रश्नले मनमनै पहाडको उक्तिको व्याख्या गरिरहेकी कुसुम झसङ्ग हुन्छिन् । कुसुम हडबडाउदै जवाफ दिन्छिन्, "दुई – आ -आत्माको मिलन हो प्रेम जुन जानी-जानी या नजानीकननै हुन सक्छ । त्याग नै प्रेमको प्रस्थान बिन्दु हो। साँचो प्रेम नै सार्थक हुन्छ ।" बोल्दै जाँदा कुसुमले धाराप्रवाह बोलिरहेकी हुन्छिन् । केही क्षणको मौनता पश्चात कुसुमले आफ्नो भावना प्रकट गर्ने साहस गर्छिन्, "पहाडजी, तपाईलाई एउटा प्रश्न ...।" तर पहाडले एकोहोरिएर अर्कै कुरा सोचिरहेको हुन्छ । उसले कुसुम बोलेको ख्यालै नगरी सोध्छ, "मनिमा कहिले आउँछिन् होला ? उसलाई भेट्न जरुरी थियो । ओ.के., मनिमा आएपछि मलाई तुरुन्त भेट्नु अरे भन्दिनुस् है, कुसुमजी ।" पहाड जुरुक्क उठ्छ । कुसुमको मुखमा ताला लागे झैं हुन्छ । चुपचाप पहाडलाई हेरिरहिन्छिन् ।
"अहो! साँझ परिसकेछ! म तरहरासम्म जानुपर्ने छ, फेरि भेटौंला हैं कुसुमजी । म जान्छु ।"
कुसुमले केही भन्न नपाउदै पहाड उठेर आफ्नो बाटो लाग्छ । कुसुम ट्वाल्ल परेर उतर्फ हेरिरहन्छिन् । मनिमाले सुनाएको प्रेम-प्रस्ताव सफल भयो भन्ने कुरामा शंका लाग्छ उनलाई । कुसुमलाई लागेको थियो पहाडले उनलाई त्यस दिन माया गर्नेछ । उनले पनि पहाडलाई दिलदिमाग खोल्दिने सोचेकी हुन्छिन् । तर दुई मिनेटमा पटाक्षेप हुन्छ । काँपिरहेका ओठहरू प्यार व्यक्त गर्न नपाउँदै निरस बन्न पुग्छन् । थरथर काप्दै कुसुम उठ्छिन् । रनभुल्लमा परेर केही सोच्न सम्झिन सक्दिनन् । चुपचाप छिटोछिटो घरतिर लाग्छिन् ।

⃰ ⃰ ⃰

केही दिनपछि भानुचोकमा कुसुमको पहाडसँग जम्काभेट हुन्छ । कुसुमले नै बोलाउछिन् पहाडलाई, "ओहो, पहाडजी, यो के हालत बनाइराख्नु भको तपाईले; यस्तो जिङ्ग्रिङ परेको कपाल, दारी-जुङा पनि काट्नु भको छैन रैछ । के भयो तपाईलाई ?" पहाड गम्भीर मुद्रामा अलिकति शिर झुकाएर चुप लागिरहन्छ ।
"हैन तपाई किन बोल्नु हुन्न? तपाईलाई सञ्चो छैन कि के हो पहाडजी?"
"कुसुम, तिमी आफ्नो बाटो लिएर जाउँ, कुल्चिएको फूललाई चलाउने दुस्साहस नगर ।" पहाडको रुखो जवाफ आउँछ ।
"पहाडजी म तपाईको कोही नभए पनि एउटा मित्रको नाताले तपाईंको वेदनालाई केही गर्न नसकेपनि सुनि दिने प्रयास गर्दैछु ।" कुसमले जिद्दी गर्छिन् ।
"कुसुम, मलाई मनिमाले धोका दिइन् । हामीले सँगै बाँच्ने प्रण गरेका थियौं तर आज आएर मनिमाले धोका दिइन् । उसको सारा प्रेम नाटक रहेछ । मलाई छोडेर अर्कैसँग गइन् उनी । अब म के गरौं, कुसुम?" यति भनेर पहाड त्यहाँबाट निस्किन्छ ।
पहाडभन्दा पनि बढी दुःख कुसुमलाई लाग्छ, मनिमाले उनलाई पनि धोका दिएकी हुन्छिन् । पहाडलाई रोक्ने आशयले बोल्न प्रयास गर्छिन कुसुमले तर सुकिसकेको घाँटीबाट आवाज उद्भव हुदैन । उनी पहाडको पछिपछि केही कदम हिड्छिन् तर गोडा नै चल्न छोड्छन् ।
निस्सहाय हुन्छिन् उनी । न त उनी भक्कानो छोडेर रुन नै सक्छिन् न त आँखाबाट आँशु रोक्न नै सक्छिन् । पहाड पछाडि नफर्किकन गइरहेको हुन्छ । सञ्चा प्रेमका आँशुहरु जसरी
खसेर घामको किरणसँगै विलिन भइरहेका हुन्छन् त्यसरी नै पहाड पनि विस्तारै क्षितिजबाट टाढाटाढा हुदै विलिन हुन्छ । कुसुमले विदाइका हात हल्लाउछिन् अव्यक्त प्रेमको खातिर ।

⃰ ⃰ ⃰
समयको अन्तरालसँगै कुसुम घरभित्र आसनस्थ छिन् ।
"हेलो, कुसुम" कसैले घरबाहिरबाट बोलाउँछ ।
कुसुमले झ्यालबाट हेर्छिन् । एकजना युवकले उनलाई बोलाइरहेको हुन्छ । उनले आर्यमौनको पालना गर्दै छिन् । झ्याल बन्द गर्छिन् । कुसनमा पलेँटी कसेर बस्छिन् । आँखा चिम्लिन्छिन् । आफूलाई नियाल्न थाल्छिन् । उनको भिजनमा आउँछ, " EMOTION IS ALREADY DEAD."

उर्लाबारी, मोरङ, हालः धरान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।