17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा जिन्दगी

कथा प्रविण याम्फु April 6, 2023, 4:41 pm
प्रविण याम्फु
प्रविण याम्फु

वर्षा ऋतुको उत्तरार्धमा एकाविहानै एक हुल कागहरुले रनाहाङको कोठा वरपरको आकाशमा फेरो मारे । कर्कश लाग्ने तिनिहरुको आवजमा उसले केही समाचार छ कि भन्ने अड्कल मात्र काट्यो । शुभ बोल शुभ बोल भन्दै तिनका पछी पछी दौडन सकेन । एक......यो शहरमा दौडीने ठाउँको अभाव । दुई ......उ अब कागको पछी पछी दगुर्ने त्यो सात आठ बर्षको सिँगाने रने रहेन । उ त एउटा महान यात्राको पछी लागेर, देशको विशाल भविष्यको संकल्प छातीमा टाँसेर हिँड्ने मनुखे भईसकेको छ । एउटा क्रान्तिकारी बिचारधारा, प्रखर वक्ता, विचार र सिद्वान्तले मात्र होईन आचरणमै साम्यवादी हो उ । सुधारबादी हो र हो समाजवादी । सबभन्दा ठुलो कुरा चाहीँ उ एक मानवतावादी हो । उसले जे जति संघर्ष ग¥यो कार्ल माक्र्स, लेनिन, चेग्वाभारा तुलनामा केही होईन, न त्यो महात्मा गान्धि, भगतसिंह को जस्तो त्याग हो अथवा त्यो धर्मभक्त, दशरथहरुको जस्तो सर्मपण नै हो । उसले आफ्ना संघर्ष र पिडाहरुलाई यसरी व्याख्या गर्दथ्यो । कहिलेकाहीँ चाहीँ यी विचारहरु साह्रै निरीह लाग्थे जब घरवेटीले राती कतिवेला फर्कने, साथीभाई ल्याउने कि नल्याउने, कौशीमा भित्री वस्त्र सुकाउने नसुकाउने जस्ता विषयमा लामो प्रवचन दिन्थ्यो । कहिलेकाहीँ त एकाविहानै ।
उसले त्यो घर छाड्ने बिचार गरेको पनि हो तर बाहै्रकाल इनारको सफा पानी, सुरक्षीत कम्पाउण्ड, हिँडेरै टियु आवतजावत, घरबाट आउँदा समेत कलंकीबाट दश मिनेटको पैदल मात्र । कोठाभाडा पनि ठिकै, सुनसान र पठनीय वातवरण । यी सबकुराको लेखाजोखा पछी उसले सोच्यो .....यो काठमाण्डौमा खोजी गर्दा देवता पाइएला तर भने जस्तो घरवेटी पाउन लक नै लाग्नुपर्छ । उसले जीवनको पहिलो सम्झौताको सुरुवात यहीँबाट गर्यो । जीवनको एउटा महत्वपुर्ण आयम हो संघर्ष र मेरो संघर्षको सुरुवात काठमाण्डौबाट । त्यो बेलुका उसले डायरीमा लेखेको थियो । सारत उ एक विद्यार्थी हो । ब्यवहारमा विद्यार्थी नेता, सौखमा साहीत्य कला र संगितको पारखी । उ हरेक सडक आन्दोलनको अगुवाई गर्छ । कसैसँग एक पैसा लिदैँन । समाज विकासको वाद र सिद्वान्तहरु कुनै एक पार्टीले नीजि बनाउनु हुदैँन भन्ने उसको मान्यता छ । उसको तर्कशक्ति, विबेक र क्षमता देखेर धेरैले इश्र्या गर्छन, थोरैले तारिफ गर्छन र अझ थोरैले सहयोग । ह्युमन नेचर ..........कसैको धोकाप्रति उसको जम्मा दुई शब्दको प्रतिक्रिया रहन्थ्यो ।
यस विचमा उसले धेरै सडक आन्दोलन, बन्द, हड्ताल आदीको नेतृत्व गरीसकेको थियो । अनेकौँ स्थानमा पटकौँ भाषण ठोकीसकेको थियो । कति विभागिय प्रमुखहरुलाई कार्यकक्षमै थुनामा राख्यो । कति बेञ्च फोर्यो, आगो बाल्यो, परिक्षा रद्व गर्यो । के मात्र गरेन जुन एउटा विद्यार्थी संगठनको नेतृत्वले सम्हाल्नु पथ्र्यो । के पुर्व के पश्चिम सबै विभागको सबै विद्यार्थीको समस्यालाई उ ज्यान दिएर अगाडी बढ्थ्यो । तर जब स्व.वि.यु.को चुनाव भयो । उसले उपसभापतीको मात्र उम्मेद्वारी पायो ।
माथिको निर्देशन भन्दै भुत्ला बराबर योगदान गरेको एउटा साथीले सभापति पद हुत्याईदियो । जित्ने त उनिहरुको निश्चित नै थियो । यसरी पहिलो गाँसमै ढुङगा प¥यो तर उसको योगदान, त्याग र प्रयास जारी नै रह्यो झन सशक्त पो देखियो । त्यसैले उसको लोकप्रियता अझ चुलियो । एकताका काठमाण्डौकै डनलोगसँग पनि उसको झगडा परेको थियो । हानमार चलेर सातदिनसम्म टिचिङ हस्पिटल बस्नुप¥यो । साथीभाई चाडबाड दशैँतिहार घर जाँदा टिकट मिलाउने जस्ता सामन्य कामदेखि पार्टीको गोप्य र भित्रैया काममा समेत खट्थ्यो । फुर्सदमा मिठा मिठा कविता लेख्थ्यो, अनौठा सँगित सिर्जना गथ्र्यो र फरक धारमा कथाहरु लेख्नेगथ्र्यो । उसले घर जाने काम चाहीँ पुरै विर्सेको थियो भन्ने गथ्र्यो......यो सम्पुर्ण विश्व नै मेरो घर हो । र ती तमाम मजदुरहरु मेरा परिवार हुन । बहुत अध्ययनशील रनाहाङ एउटा जुझारु तर भलादमी, सोझो तर विवेकशिल, सहयोगी तर चाप्लुसीको विपक्षी, आक्रमक तर दयालु । त्यसैले उ आगो र हिउँ सँगसँगै बोकेर हिँडथ्यो । औषधि र विष एउटै झोलामा हुन्थ्यो । मानौ न उ आफैँमा मनचिन्ते भाँडो हो ।

यसरी उसरी राजधानीको भिँडमा आफ्नो नयाँ पहिचान बनाउँदै देशको नयाँ मार्गचित्र कोर्न मनभरी थरिथरिका ब्रसहरु बोकेर दिमागमा विभिन्न कोणमा क्यानभासहरु सेट गर्दा गर्दै कहाँबाट डेढकदशक फुत्त चिप्लियो उसलाई पत्तै भएन । उसले पनि त्यो डेढदशकलाई लेखाजोखाको विन्दुबाट हमेशा टाढा नै राख्न चाह्यो । सेवाभाव, सर्मपण र त्यागको कुनै मुल्य हुदैँन । सम्पुर्ण जीवन नै देशको लागि आहुति दिन निस्केको मान्छे हुँ सानातिना लोकाचारले मलाई आकर्षित गर्दैनन ...तपाँइ कहिले विहे गर्नुहुन्छ भन्ने पत्रकारको सवालमा यस्तो जवाफ दिन्थ्यो । देशको मुलधारका पत्रिकाले उसको धेरैचोटी फिचर स्टोरी प्रकाशित ग¥यो । अनगिन्ती पत्रिकाहरुले अन्र्तवार्ता छाप्यो । अझ रोचक र उपयोगी त उसका आलेखहरु हुनेगर्थे । एउटा अंग्रेजी पत्रिकाले त फिडेल क्यास्ट्रो इन नेपाल, अ फयुजन अफ गान्धि एण्ड माक्र्स भनेर फ्रन्टपेजमै कभर ग¥यो । हिन्दुस्तानको चलेको मिडियाले समेत दिमागमे कार्लमाक्र्स और दिलमे बापु जी भनेर अरु चर्चा बढाईदियो । तर कहाँ के प्रकाशित भईरहेछ किन भईरहेछ त्यसबारेमा उसलाई बिल्कुल चासो थिएन । भन्ने गथ्र्यो ....म त केवल आफ्नो कर्तब्य मात्र पुरा गर्दैछु । बिश्लेषकहरु भन्ने गर्थे ....देशको एउटा होनाहार युवानेता जो मुगुमा गई सडक निर्माणमा सरिक हुन्छ, कहिले जनकपुरको नथुनीदेविको आँगनमा देखा पर्छ । कहिले बागमति सफाईमा लागीरहेको भेटिन्छ भने कहिले कुनै विद्यालयको भवनको विषयमा मन्त्रालयभित्र टेबल टक ...के यो नयाँ राजनीतिक युगको सुरुवात होईन ?
उसले मिल्ने र भ्याइने जति सबको सबैजसो काम गथ्र्यो । अन्यायको अगाडी घुँडा टेकेन । घुसखोरी, भ्रस्टचार र कालोबजारीको बिरोध मात्र गरेन । सप्रमाण अदालतमा मुद्वा समेत दायर गर्यो । पार्टी अध्यक्षसँग यस विषयमा उसको भनाभन पनि भयो उसले भन्यो...ठिक छ गरोस तर मैले फेला पारेको दिन म सम्झौता गर्दिन । उसँग नाम चलेका नेता, उच्च पदस्थ सरकारी कर्मचारी र प्रशासनको अनियमितता र घोटालाको फेहरिस्त नै थियो । उसको अगाडी शिर ठाडो पारी बोल्न सक्ने धेरै कम व्यक्ति थिए जसले उसको काममा पुरै सहयोग र समर्थन गर्ने गर्थे । रनाहाङ पक्का सहिद हुनसक्थ्यो यदि यो कुनै संक्रमणकाल हुन्थ्यो भने तर यो संघिय गणतन्त्र र लोकतन्त्रको समय थियो ।

तर उ धेरैचोटी लखेटीयो, धम्काईयो । बिचरा उसँग अलि हुलिया मिल्ने तेह्रथुमको हर्कराज आङदेम्बे मारियो । उसकै पार्टी सरकारमा हुँदा र उसैको एक समकक्षी गृहमन्त्रि भएको बेलामा । राजनीति केश जत्ति बुझेको, अध्ययन र साधना तिल बराबर भएको, देशप्रेम लेश जति पनि नभएको त्यो साथी मन्त्रि भेषमा बडो साधु थियो तर पोलिटिसियन आर द टप ग्याङस्टार अफ द वल्र्ड भन्ने खेमाको थियो ।
गणतन्त्रकै पृष्ठभुमी छ, चर्चा संघियताकै छ तर समयले कसो कोल्टे फेरेछ । पछिल्लो समय रनाहाङ अलि फुर्सदमा छ । यहीँ मौकामा उ गाउँतिर हिँड्यो । गाउँघरको जाँडगफ, सदरमुकामको चियागफ यस्तैमा बितायो । हिजो मात्र काठमाण्डौ आईपुग्यो र कहिल्यै गर्दिन भनेको कुरा ग¥यो अर्थात विगतको समिक्षा । समयको रापचापले मान्छे मुला कति छिटो गल्दोरहेछ । उसले अनायस यस्तो सोँच्यो । यसपालीको घर बसाईमा इष्टमित्र, आफन्त र साथीभाईहरुको आमबुझाई उसले नजिकबाट नियाल्यो र नराम्ररी विथोलियो । समाज भन्दा अगाडी राजनीति र राजनीति भन्दा अगाडी समाज कहिल्यै जान सक्दैन । उसले यस्तो निष्कर्श निकाल्यो । उसले समान प्रकृतिका अनगिन्ती प्रश्नहरु झेल्नुप¥यो जुन पत्रकारीतामा नअटाउने तर भित्र कतै छुने किसिमका थिए । जस्तो .....
प्रश्न प्रकार नं १ः कति कमाउँछस् हौ काठमाण्डौमा ? घरसर बनाईस ? गाडी नै चढ्ने त होला नि अब ?
के, कसरी कुन माध्यमसँग मतलब भएन । बस जसरी कमाउनुपर्यो, कमाईदिनपर्यो । यस्ता प्रश्नकर्ता कि अलि अलि कमाउने हुन्थे कि उसका छोराछोरी कमाउने हुन्थे या त उसका छोरीचेली हुन्थे । रनाहाङले यस्ता प्रश्नहरु सदरमुकाम देखि गाउँसम्म र गाउँदेखि पल्लो गाउँसम्म झेल्यो ।
प्रश्न प्रकार नं २ः के गर्दैछस् हौ आजकाल ? मलाई/ हामीलाई नि यस्सो केहीमा अल्झाई दे न । ए साँच्ची बिहे गरीस ? बेला त टर्यो त हौ । किन नगरेको ?
बेमजाको कुरा कसैले पनि उसको त्यागको, साधनाको , राजनीतिक योगदानको, उसका सपना र सोँचको प्रश्नै गरेनन् किनभने ती प्रश्नकर्ताहरु अत्यन्तै आफन्त थिए धेरै नै नजिक मानेका मध्येका थिए । उ बिचलित त भएन तर हिसाबकिताब गर्ने भयो किनभने उ पनि त्यहीँ समाजको अंग थियो । त्यहीँकै हिलोमाटोमा हुर्किएर फुलेको एउटा कमल थियो । उसले टेबल मुनिको किताबका चाङहरुबाट एउटा थोत्रो डायरी झिक्यो । धुलो पुछपाछ पा¥यो र विगतहरु पल्टायो । उसले त्यहीँ डायरीमै प्रश्न प्रकार नं १ र प्रश्न प्रकार नं २ को उत्तरहरु भेट्टाईछाड्यो ।

उत्तर प्रकार नं १ः हैन मेरो योगदानलाई व्यक्तिगत लाभसँग साटफेर गर्नहुन्न । त्यो धोका हो । जघन्य अपराध हो जो अक्षम्य छ । हुन पनि मेरा व्यक्तिगत इच्छा नै के छन र म त देशको सामुहीक सम्पति हुँ । व्यक्तिगत सबकुरा त्यागेर राजनीतिमा लागेको म स्वार्थका दुई टुक्रा रोटीमा बिकेँ भने के होला यो देश ..? साथीभाईले गर्लान त्यो छुट्टै कुरा हो तर मैले सुइँको सम्म पाएँ भने तिनीहरु बच्दैनन । पक्का हो ।
उत्तर प्रकार नं २ः मानौ मेरो के गर्ने के नगर्ने बेलाको समाजले राम्रैसँग हेक्का राख्छ । तर उनिहरुले जन्मने बेलामा बाबु तिम्रो जन्मने बेला भयो –लेट्स कम आउट फ्रम युर ब्लडी होम भनेको थिएनन र पछी मर्ने बेलामा यो पनि भन्न सक्दैनन ..ए बाजे तिम्रो त बेला भएछ । लाग हौ बाटो । तर उनिहरुले के चाहीँ राम्रोसँग भन्न सक्छन भने मेरो बिहे गर्ने बेला भयो कि भएन ,अब बच्चा जन्माउने बेला टर्यो कि अझै छ । अनि मैले कहाँ कसरी कस्तो घर बनाउने बेला भयो कि वितिसक्यो अथवा म कहाँ कोसँग कसरी बोल्दैथिएँ र के खादैँ थिएँ । त्यसपछी त्यहीँ रातो डायरीको अर्को पेजमा एउटा यस्तो चिठी भेटीयो ।

प्रिय अपेक्षा
सम्बोधनको लागि क्षमाप्रार्थी छु । मलाई यो लेख्नु छदैँथिएन तर ती परिवेशहरुको हिजो साँझदेखि एकदम याद आईरहेको थियो । ती प्रेमिल खुटकिलाहरु सम्झेर यति आहत भएछु कि सायद म त्यसरी रोएँको थिएँ ।
खैर मेरा यी विलापहरुले तिम्रो गृहस्थी जीवनमा के अर्थ राख्ला खुदा जाने । अझ तिम्रा कलिला कोपिला र कर्तब्य परायण पतिदेवको माझमा यी भावनाहरुको के महत्व होला त्यो पनि राम जाने । तर पनि आफ्नै जिन्दगी जस्तो बाङगोटिङगो अक्षरमा केही नलेखी सकीँन । अपेक्षा म तिमीसँग स्वार्थबस जोडिन आएको थिईन । थियो भने तिमीसँग जीवनयात्रामा एकाकार हुने मात्र थियो । मेरो शब्दकोषमा प्रेमको भण्डार जीवनमा प्रेमको सञ्चारको श्रेय तिमीलाई मात्र जान्छ । जुन यो पिडा छ त्यसको जिम्मेवार म आफुलाई मात्र ठान्छु । सत्य यो हो जुन बाटो मैले आफैँ खनेको पनि हो । त्यो प्रगाढता कसैले तोडेको होइन त्यो त नालायक पुजीँवादले तोडेको हो । र यस्तै धोकाहरु अरु धेरैलाई यसले दिइ नै रहन्छ । भौतिक बस्तुहरुमा पुजीँवादको उपस्थिती कसैले नकार्न सक्दैन । प्रियतम यो त भुत रहेछ , तर्साइ तसाई सपनाहरुको दोहन गर्ने । यदि तिमी बिचार विज्ञानमा विश्वास गर्छौ भने तिम्रा वरपर लाखौँ करोडौँ बिचारका तरङगहरु तैरीरहेका होलान । ती सब मेरा क्रन्दन र वियोगका व्यथाहरु हुन । बडो नमिठो कुरा ती बिचारहरु तिम्रो सामु पुग्नु अगावै एउटा अग्लो द ग्रेट वाल छ , पुजीँवादको । त्यसको गेटमा कालभैरवको टाउको जत्रो ताल्चा मारीएको छ र लेखिएको छ ..हे साम्यवादी मित्र यसको साँचो कि पुस्तौनी हस्तान्तरीत हुन्छ कि सात समुन्द्रपारी भेटीन सक्छ । ....

त्यसपछी मैले त्यो साँचोको बारेमा कहिल्यै चासो लिइँन । म एक देशभक्त राजनीतिकर्मी मलाई देशको सेवा गर्नु छ वस ।मलाई विश्वास छ एकदिन पुजीँवाद सँसारबाटै नामेट हुनेछ र मान्छेका भावना र विचारहरु महङगो हुन थाल्नेछन । त्यस बखत म संसारको विख्यात धनिहरु मध्येको एक हुनेछु । यदि त्यो युगसम्म तिम्रा भावनाहरु पनि जिवित रहीरहे भने धरोधर्म मेरो तिमी प्रतिको अगाध श्रद्वा,प्रेम अनि सर्मपणको भाषा बुझौली । त्यो युगसम्म म यो धोकेवाजको आभुषण पहिरीन तैयार छु । जय होस तिम्रो जय होस तिम्रो सम्पुर्ण परिवारजनको ।
रनाहाङ

त्यसपछी रनाहाङले डायरी बन्द ग¥यो र कोठा बाहीर निस्क्यो । आजकल उसको मोबाईलको घण्टी पनि त्यती बज्दैन । मिडीया कभरमा समेत पर्नछाड्यो उ त सामन्य फुटनोट सम्म पनि बन्न छाडेको छ । त्यसैले उसले यो फुर्सदलाई महान यात्रा पछीको विश्राम भनेको छ । तर विश्राम पछी फेरि यात्रा जारी हुनेछ भनी उद्घोष समेत गरीसकेको छ ।

अर्को प्रसँगः
गाउँमा रनाहाङको अलि अलि बारी थियो तर सबै बाझो । त्यो बेला उसले भर्खर त्रिभुवन विश्वविद्यालय टेकेको थियो । सरकारले कृषि तथा पशुपालनमा युवा कार्यक्रम ल्यायो । ऋण र आर्थिक सहुलियतको घोषणा ग¥यो । उसले त्यो वर्षको नीति तथा कार्यक्रम कण्ठ पार्यो र केही महिना पछी घर लाग्यो ।
एउटा गोलघरमा चार पाँच जना कर्मचारीहरु बसीरहेका थिए । त्यो पशु विकास कार्यालय हुनुपर्छ । बसेका मध्ये एकजना फेसबुकमा बको ध्यानम थियो । एकजना महिला स्वीटर वुन्दै थिईन । टाढाबाट सबैजनाले समाचार सुनीरहेको देखिए पनि खासमा सुन्ने त एकजना तिलचामले कपाल भएका भद्रजन मात्र भेटीए । अर्को एक जना उँघदै थियो, त्यसको मुखबाट र्याल खसीरहेको थियो । रनाहाङले सबैको ध्यान भंग गरीदियो नमस्कार गरेर ।
नमस्कार यहाँ को हुनुहुन्छ ?
के थियो?
म यसो व्यवसायीक बाख्रा पालन गर्न चाहन्छु केही सहयोग हुन्थ्यो कि भनेर ...
बाख्रा कति छ ?
अब सुरु गर्ने सर अहिले छैन ।
पहिला सुरु गरेर आउनुस, अँ तपाइँलाई दुईवटासम्म बिउ बोका हुनसक्ला तर त्यसको लागि तपाँइको व्यवसाय दर्ता हुनपर्छ ।
तर सर ....सरकारको नीति तथा कार्यक्रममा त युवालाई ................................
हा हा हा हा.............ती सबै कर्मचारीहरु यसरी हाँसे की उसले भर्खरै हमजायगाको नयाँ जोक्स सुनायो । त्यसपछी उ व्यवसाय दर्ताको लागि घरेलु, कृषि अनि ऋण सुविधाको लागि भए जति सबै बैंकमा गयो । तर ती सबै सबै त्यहीँ अघिनै को हमजायगाको जोक्स जस्तो मात्र बन्यो । र उ घर नै नपुगी सदरमुकामबाटै फक्र्यो । त्यहीँ बेला देशले एउटा नयाँ सँविधान जारी ग¥यो । उसले बाटैमा एक प्रति लियो । रातभरी पढ्यो । भोलिपल्ट इन्टरनेटमा बसेर पाएसम्मको ऐन, कानुन, निर्देशिका डाउनलोड गर्यो र करिब छ महिनासम्म गहिरो अध्ययन ग¥यो । सातौँ महिनाको तेश्रो मंगलबार देशकै मुख्य पत्रिकामा उसको एउटा लेख प्रकाशित भयो । आत्मरञ्जनमा डुबेका नेपाली भन्ने शिर्षकमा । जुन लेखको संक्षिप्त सार यस्तो थियो ।

देशको संविधान यति सशक्त,सुगठीत र दुरदर्शी छ की न्यायपुर्ण देश भनेर नेपालले चाडैँ नै चर्चा कमाउनेछ । देशको अन्य ऐन, नियम, कानुन, नीति र निर्देशिकामा भएका व्यवस्थाहरुसँग विश्वका विरलै देशले टक्कर लिनसक्छ । हरेक वर्ष देशमा बजेट आउँछ, नीति तथा कार्यक्रम बन्छन । त्यहाँ भित्रको शब्द शब्द केलाएर हेर्ने हो भने एकै वर्षमा देश कहाँबाट कहाँ पुग्छ । दलितलाई आरक्षण, गरीबलाई भत्ता, किसानलाई पेन्सन, बेरोजगारलाई भत्ता, निशुल्क बैदेशिक रोजगार, अपाङ्गलाई निशुल्क उपचार ...............आदी इत्यादी । बिडम्बना यस्तो संवैधानिक ब्यवस्था र संविधान हेरफेर हुने क्रम दशकौँ अघि देखि सुचारु छ । यस्ता बजेट, नीति तथा कार्यक्रम पारीत हुन थालेको झन एक जुग वितिसक्यो । हामी यिनै दस्तावेजहरु भित्रको शब्दले उत्पन्न गर्ने आत्मरञ्जनमा रमेका छौँ । डुबाईरहेका छौ सपनाहरु र रमाईरहेका छौ काल्पनिक शब्दगोलीहरु खाएर । लठ्ठ परेका छौँ कि त थाहै पाएको छैनौ आजतक । के को खोस्टो भनेर संविधानलाई धेरै कुल्चेर हिँडेका पनि छौँ । नियम कानुन र ऐनलाई कानुन व्यवसायीकै काँधमा थमाउँछौ र सुम्पन्छौ आफ्नो प्यारो नानीबाबुहरु सर्टीफिकेट किनेका नक्कली डाक्टरहरुलाई । रंगिन साईन बोर्ड झुण्डाईएका स्कुल नामको पसलहरुमा नानीबाबुहरुको भविष्य बिक्री गर्छौ तर खर्च आफैँ गर्छौ । एउटा कागजको खेस्रामा सयमा सय लेखेको देख्दा हामीले बैंकको ऋण, साथीभाईको सापटी एकैसासमा विर्सिन्छौ । हामीले सर्टीफिकेटको प्रतिशतको आडमा छोराछोरीको बर्गीकरण गर्छौ, कलेज तोक्छौँ, संकाय तोक्छौँ र सुविधा समेत फरक गर्छौ । तर अहिलेकै राष्ट्र र सरकार सञ्चालकहरुको योग्यता, दक्षता अध्ययन अनुसन्धान र विशेषज्ञताबारे चुपचाप बन्छौ । देश चलाउनको लागि के के गुण भएको नेतृत्व आवश्यक पर्छ यसबारेमा खवरदारी गर्ने निकाय के हो? को हो त्यसको जिम्मेवार व्यक्ति ? हामी त तिनै नियम मिच्ने, बंग्याउने र रातारात संशोधन गर्ने, संविधान नै नमान्नेहरुलाई धनुष्टण्कार नमस्कार ठोक्छौँ र मख्ख पर्दै टोल छिमेकमा यसो हेर्छौ जस्तो कि मेरो जानपहिचान माथितक छ ।

यो लेखको चर्चा यसरी भयो कि रनाहाङको राजनीतिक उचाई अरु उचालियो । यस्तै त्यस्तै तमाम घटनाक्रमहरुले नै हो उ रातारात ..अ फयुजन अफ माक्र्स एण्ड गान्धि भएको । तर देशमा अचेल त्यो चर्चा छैन । उसको मोबाईल त अब मृतप्राय भईसक्यो । उसले अलि अलि बुझ्यो । चर्चाको लागि मात्र उ चर्चित भएको रहेछ । उसका आलेख र रचनाहरु त जोतमा छापीएका रहेछन । हुन त उसको काँघ टेकेर धेरैले दुनो सोझाए । को के भएन । मात्र उ रनाहाङको रनाहाङ बन्यो । ..कमरेड रनाहाङ.....उसलाई प्रिय लाग्ने सम्बोधन थियो । साथीभाई, चेलाचपेटा कुन लोक पुगे, कसरी विलाए उसले पटक्क मेसो पाएन । अहिले सरकार अर्कै पार्टीको बनेको छ । उसको देशभक्त पार्टी फुटेर तीन फक्लेटा भएको छ । उसले भने आफ्नो बिचार र सिद्घान्त फुटाउन सकेन र कुनै गुट उपगुटमा सामेल भएन । अब पार्टी चलाउन विचार,सिद्घान्त र देशप्रेमले मात्र पुग्दैन ब्रिफकेश पनि चाहीन्छ भन्ने महशुस गरे पछी झनै बिरक्तियो । पार्टीमा नयाँ नयाँ अनुहार देखिन थाले । उ झन निराश भयो ।

उसले एउटा कार्यक्रम आयोजना गर्ने बिचार गर्यो तर पार्टीको नाम, दस्तावेज र आधिकारीकता जस्ता प्रश्नहरु सम्भावित सहभागीहरुबाट गरीएको हुनाले बिचरा निचाल बस्न बाध्य भयो । त्यसैले आजकाल त्रिभुवन विश्वविद्यालयको जंगलतिर कुनै रुखको फेदमा बसेर कुनै दर्शनका पुस्तकहरुमा मधुमस्त देखिन्छ । झयाप्प पालेको दारी, लामो जिङरिङग कपाल, हाडछाला मात्र भएको ख्याउटे शरिर, झोलामा एउटा पाउरोटी र एक बोतल पानी । नजिक भएर जाने कोही विद्यार्थीले उसको साथीहरु तर्फ लक्षित गर्दै भन्छ । ...केटा हो माक्र्सीजम चाहीँ धेरै नपढ्नु है ...........ती उसका साथीहरु एकसाथ गलल हाँस्छन र रनाहाङलाई क्वारक्वारती हेर्छन । तर उ समभावमा दत्तचित्त भई पढीरहेको देखिन्थ्यो । उसको यस्तो एकनाशे दैनिकी महीनौसम्म चल्यो ।
अचानक एकदिन मध्य दिउँसो रनाहाङ कोठा आयो । भएभरका पुस्तक, प्रमाणपत्र र सम्मानपत्रहरु यत्रतत्र पार्दै एउटा हरियो रंगको फाईल झिक्यो । केही कपडा झोलामा कोच्यो,त्यो फाईल पनि होशीयारीको साथमा त्यसैमा राख्यो । र कोठा बाहिर निस्क्यो । गेटैमा घरबेटीसँग झम्काभेट भईहाल्यो । ...भाई अब कोठा खाली गर्दिनु । ......अस्तिदेखि भनुँ भनेको भेटघाटै भए पो ...सकेसम्म चाँडौ है भाई .......उसले एकछिन भुइँतिर हेर्यो र भन्यो । ....यो सिङगो सँसार नै मेरो कोठा हो दाई, तपाँईले कुन कोठाको कुरा गर्नुभएको ........? घरवेटी हेर्याहेर्यै भयो । त्यसको पन्ध्रदिन सम्म उ कतै देखिएन । घरबेटीले उसको कोठामा अर्को ताला लगाईदियो ।

अन्तिम प्रसँगः
पुसमाघको महिना थियो । उपत्यकाको तापक्रम निकै घटेको कारण मानिसर घरबाहिर निस्कन त्यती जाँगर चलाईरहेका थिएनन । अलि अलि सवारी आवगमन घटेको प्रतित हुन्थ्यो । हो हल्ला, भिँडभाँड समेत केही कम नै भएको थियो । भर्खरका तन्नेरी र तरुनीहरु भने कोही फुल्चोकी कोही कालिञ्चोकतिर हिउँ खेल्ने योजना बुनीरहेका हुदाँ हुन । तिनै मध्ये कसैकसैको मनमा मुख चुच्चो पारेर सेल्फी खिच्ने कुरा पनि खेलीरहेको हुँदो हो । मलाई जाडो त एकदम मनपर्छ बेबी ...। काठमाण्डौ मलको सिँडीमा बसीरहेकी एउटी ठिटीले उसको प्राणनाथलाई फोनबाट जानकारी गराईरहेकी थिई ।
तिनको आँखाहरु भने कुनै पत्रिकाको मनोरञ्जन कोलममा दौडिरहेका थिए । एउटी पैतिस चालिस जत्तिको भद्र महिला चलेका ब्राण्डहरुको नाम अंकित केही सपिङ ब्यागहरु बोकेर लिफ्टबाट झरी र त्यही ठिटी भएतिर सरासर आईन । र भनीन .....आराधना हिँड अब ..। ओ मामु .....ती ठिटी मधुरो बत्ती झै देखिईन र भनीन् मामु प्लिज एकछिन पर्खिस्यो न हुन्छ ? म सिभिल मल गएर आईहाल्छु । किन जाने ............? मेरो फेबरेट एक्टरको मुभि छ के मामु । बरु हजुर कफी लिदैँ गरीस्यो न हस ? अँ गुड इ... यो पेपर पनि छ । तिनले पेपर थमाईन लगत्तै एउटा कफी । हेर यो केटीको ताल.......ल ल जाउ । आईहाल है । ओके मामु ....आराधना बाटो लागे पछी अपेक्षाले एकदुई चुस्की कफी लिईन । मन नलागी नलागी पत्रिका हेरिन । फ्रन्ट पेजमै आँखा पुगे । तिनलाई भाउन्न रिंगटा चले जस्तो भयो । अ मिस्टीयस डेथ.........भन्ने शिर्षकमा रनाहाङको हँसिलो तस्बिर छापीएको थियो। त्यसको तल पढी .....नेपाली कार्लमाक्र्स भनी चिनीएका रनाहाङको मृत्यु कसरी भयो भन्ने प्रस्ट नभए पनि प्रहरीहरुले उसले आत्महत्या गरेको हुनसक्ने बताएका छन् । प्रारम्भिक छानविन तथा रिपोर्ट तैयार गर्ने बहानामा मिडीयालाई समेत घटनास्थल प्रबेशमा रोक लगाईएको छ । घटनास्थल दासढुङगा नजिकैको एउटा रुखको फेदमा भएको देखिन्छ । अपेक्षाले यति पढी बाँकी पढ्ने जाँगर भएन । निरुद्घेश्य अरु पेज पल्टाई त्यहाँ उसका विगतमा गरेका कामहरुको वर्णन र स्तुतीहरु गाईएको थियो । बिचको पेजमा घटनास्थलका केही झलकहरु भन्ने शिर्षकमा केही तस्बिरहरु छापीएका थिए । एउटामा रनाहाङको लाश वरपर पुलिसहरुको घेराबन्दी देखियो । अर्कोमा एक हुल पत्रकार र सर्वसाधरणको भिँड थियो । अर्कोमा रनाहाङको खल्तिमा भेटीएको चिर्कटो भनेर यस्तो लेखिएको थियो । .......
आजकल बिना पैसा मान्छेको लाश पनि उठ्दैन । मलामीहरु भाडामा पाइन थाले, पुजारीहरुले त लिइआएकै हो अब आगो झोस्नेले पनि महङगो दाम लिन थालेको छ ।

त्यसपछी अन्तिमको तस्बिरमा फेरि रनाहाङको पेण्टको खल्तिमा भेटीएको चिर्कटो भन्ने शिर्षकमा यस्तो लेखिएको थियो ।
मलाई जन्मदिने गाउँ, पहिलो पाईला चालेको घर आँगन, फेरेको पहिलो सास, देखेको पहिलो संसार अति नै प्रितिकर छ र बडो सुन्दर छ मेरो देश पनि तर आजकाल मैले देशभित्रै परदेशीनुको पिडा बोध गर्दैछु । केही छैन । मेरो आवज सुनीदिने, मलाई बुझीदिने कोही नभईदियोस । तर देशलाई माया गर्ने कोही न कोही अवश्य जन्मिदियोस । जय मातृभुमि नेपाल ।

यी दुई चिर्कटो बाहेक घटनास्थलको बाँकी विवरण केही बाहिर आईरहेको थिएन । मिडीयाहरुको आक्रोश चुलिईरहेको देखिन्थ्यो । अपेक्षाले पेपर बन्द गरेर टुडीँखेल तिर हेरीरही । खै के सम्झी फेरि पेपर खोलेर अगाडीको पेज हेर्न थाली, उनका दुबै आँखाबाट आँशु झरीरहेका थिए । साडीको सप्कोले पुछेर केही ब्यवस्थित भईन । ततक्षण आराधना पनि हँसिलो मुद्रामा आईपुगी । अपेक्षा बिस्तारै उठीन तिनीहरु पार्कीङ लटतिर अघि बढे । अपेक्षाले त्यो पेपर निकै जतन गरेर बोकी । चिसो कफीले सिँडीबाटै उनिहरु गएतिर नियालिरह्यो । उनिहरु गाडी लिएर सरासर दरबार मार्गतिर लागे । जमल नजिकै जाम भयो । केही भिँडभाँड बढ्यो । भिँडबाट आएका आवजहरु सुनिन । ... ढाँडमा गोली लागेको छ रे । ..हैन हैन आत्महत्या नै हो रे । ....घण्टाको आत्महत्या हुन्छ । मैले भर्खर हेरेर आएको । ढाँडमा यत्रो भ्वाङ परेको छ । कसरी ढाँडमा आफैँले गोली चलाउन सकिन्छ ? अपेक्षाले सोचीँ र फेरी सोँची । ..उसँग कहाँबाट आयो बन्दुक ? अनि फेरि काठमाण्डौमा भएको मान्छे कसरी दासढुङगा पुग्यो त ? त्यसपछी तिनले थप पेपर पल्टाईन । अन्तिमको दोश्रो पेजमा पुगीन जहाँ पत्रकारहरु रनाहाङको घरसम्म पुगेर तयार पारेको एउटा खुराक थियो । हि वाज एन अर्फान शिर्षकमा उसको जीवनी छापीएको थियो । बास्तवमा रनाहाङ टुहुरो थिएछ । त्यो शब्द दोहो¥याई तेहे¥याएर पढीन् । त्यहीँ पेपर माथि अपेक्षाका करुणामय आँशुहरु निरन्तर बर्सीन थाले । आराधना गुनगुनाउँदै ड्राईभ गर्दैथिईन र भन्दै थिईन ...साँच्ची मामु के को बन्द रे नि भोलि त ?

देउमाइ नगरपालिका, इलाम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।