उनी माओवादी भनेपछि यति आक्रोशित हुन्थे कि माओवादीलाई देख्नै नपरे हुन्थ्यो जस्तो गर्थे । प्रत्येक कुरामा माओवादीहरुको विरोध गर्थे । सुरूसुरूमा हामीले उनलाई विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुमा बोलाएर रचना वाचन तथा साङ्गीतिक प्रस्तुतिका लागि अवसर दिने गरेका थियौँ । हामी र हाम्रा संस्थाहरुले आयोजना गरेका कार्यक्रममा नियमित रुपमा उपस्थित हुन थालेपछि कतिपय साहित्यिक–सांस्कृतिक संघसंस्थामा उनलाई कार्यसमितिमै राखेका थियौँ । उनी आफूलाई अब्बल दर्जाको कम्युनिष्ट ठान्थे । पार्टीमा मेरो योगदान निकै पहिलेदेखि रहेको छ भनेर फूर्ति लगाउँथे । थर पण्डित भए पनि जजमानका घरमा गएर पुरेत्याइँ चाहिँ गर्दैनथे तर धर्मकर्ममा भने उनको रुचि बढी नै देखिन्थ्यो । ‘सनातन धर्म सेवा समिति’ को जिल्ला कार्य समितिमा थिए । ‘ब्राह्मण समाज’को वडा कार्य समितिमा थिए अनि आफ्नो टोलमा आफैले गठन गरेको ‘रूद्रेश्वर भजनकीर्तन समूह’का अध्यक्ष थिए । भजनकीर्तनमा उनको गहिरो रुचि थियो । स्वरले पनि साथ दिन्थ्यो । बेला बेलामा युटुब, फेसबुकको भित्तो आदि मार्फत उनको भजन पनि सुन्न पाइन्थ्यो । उनको अर्थात् उदय पण्डित सरको ।
‘मैले त एकताकै क्रममा भनेको थिएँ नि जङ्गलीहरुको विश्वास गर्नु हुँदैन भनेर’ फेसबुकमा भेटिएको एउटा स्टाटस हो यो । यो स्टाटस राख्ने मेरा फेसबुकका साथी उनै उदय पण्डितसँग म केही वर्षदेखि यता साहित्यिक–सांस्कृतिक सहकार्यमा छु । उदय सरले यो स्टाटस तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको नेकपामा दरार आएपछि राखेका थिए । ‘जङ्गलीहरुलाई जङ्गलमै फर्काइदिन सकेमा मात्र जीउधनको सुरक्षा हुन्छ’ आफ्नो गुटको समर्थनमा उनले पोस्ट गरेको वाक्य थियो यो । यस किसिमको आशयका पोष्ट त उनले दिनमै दुई÷तिनवटाका दरले गर्न थालेका थिए । प्रत्येकपटक मैले फेसबुक खोलेर हेर्दा उनका नयाँ नयाँ स्टाटसहरु आइरहेका हुन्थे ।
आजभोलि मलाई बढी नै मात्रामा फेसबुक हेर्ने लत लागेको छ । अचम्मको लत, दैनिक दुई÷तिन घन्टाको समय फेसबुकले खान थालेको छ । नहेरुँ, मन मान्दैन । हेर्दा कतिपय पढालेखा बौद्धिक वर्गबाट पनि निकै तुच्छ भाषाको प्रयोग गरेर स्टाटस राखिएका भेटिन्छन् । दुःख लाग्छ, तिनीहरूको बौद्धिक दरिद्रता देखेर । खुलेर प्रतिक्रिया दिन पनि सक्दिन । कहिलेकाहीँ प्रतिक्रिया दिइहालेँ भने रिप्लाइमार्फत कालो अरिङ्गालले जस्तै लखेट्न थाल्छन् । रछ्यान चलाएर आफ्नै मुखमा किन छिटा पार्नु भनेर अचेल त प्रतिक्रिया दिन पनि छोडेको छु ।
उदय सर आफूलाई भौतिकवादी सिद्धान्त अँगाल्ने कम्युनिष्ट पार्टीको सदस्य हुँ भन्छन् तर पूजापाठ गर्न छोड्दैनन् ! यो त विरोधाभाषपूर्ण भयो भनेर एकपटक हामीले उनी पनि कार्यसमितिमा रहेको साहित्यिक संस्थाको बैठकमा कुरा राखेका थियौँ । प्रत्युत्तरमा उनी जङ्गिएका थिए, ‘यी माओवादी भनेका त कम्युनिष्ट नै होइनन्, धर्मकर्मको विरोध गर्न मात्रै जानेका छन्, उपलब्धिका कुनै कुराहरु गर्दैनन्, समाजलाई भाँड्न मात्रै जानेका । चलिआएको परम्परा र रीतिथितिलाई म त कुनै हालतमा पनि छोड्न सक्दिन । पूजाआजा र धर्मसंस्कृतिको संरक्षण नगर्ने हो भने समाज कहाँ पुग्छ ?’ उनका यस किसिमका तथ्यहीन विचारबाट हामी निकै चिन्तित थियौँ ।
एउटा कुरा त के पनि हो भने कम्युनिष्ट पार्टीको सदस्य भए पनि उनमा सैद्धान्तिक ज्ञान थिएन । न द्वन्द्वात्मक भौतिकवादका बारेमा उनलाई थाहा थियो न त उनले समाज विकासको इतिहासका बारेमा नै पढेका थिए ! दस कक्षासम्म पढ्ने क्रममा कोर्सका किताबहरु जति पढे त्यसबाहेक उनले केही पढेनन् । जजमानी गर्थे भने सायद् केही कर्मकाण्डीय पुस्तकहरु पढ्थे होलान् तर उनी जजमानी गर्न पनि जान्दैनथे । एसएलसीपछि मास्टर भएको समयमा उनले खुबै पढेका भए पढाउनैपर्ने बाध्यताका कारण तत्कालीन प्राथमिक तहका महेन्द्रमाला भन्ने किताबका केही कथा, कविताहरु पढे होलान् त्यसबाहेक केही पढेनन् । मैले एकपटक ‘फलाना फलाना नाम गरेका किताब राम्रा छन्, पढ्नुहोस् न’ मात्र के भनेको थिएँ, ठुलाठुला आँखा पार्दै उनले जबाफ फर्काएका थिए, ‘घरव्यवहार, जहान–केटाकेटी हेर्नु परेन ? अहिलेको जमानामा पढेर बस्न कहाँ भ्याइन्छ ?’
शिक्षण पेसाबाट रिटायर्ड भएपछि पनि उनले पढाइतर्फ कुनै चासो देखाएनन् बरू भजनकीर्तन लेख्ने र प्रकाशन गर्ने काममा अग्रसर भए । एउटा भजनहरुको सङ्ग्रह प्रकाशन गरे । भजन कीर्तनहरुको सङ्ग्रहबाहेक उनको झ्याउरे लयमा लेखिएका केही कविताहरुको सङ्कलन पनि सङ्ग्रहका रुपमा प्रकाशनमा आयो । आकारका दृष्टिले झ्याउरे कविताको सङ्ग्रहभन्दा भजनकीर्तनको सङ्ग्रह केही ठुलो थियो । घरको नजिकै उनको टोलमा एउटा शिवमन्दिर थियो । जब साँझ पथ्र्यो तब त्यही शिवमन्दिरमा पुग्थे । मन्दिरको परिसरमा टोलका केही बुढापाका र महिलाहरु जम्मा पारेर भजनकीर्तन गाउँथे । धेरैलाई नचाउँथे पनि । उदय सरको भजन सुन्न बेलुकाको समयमा टोलबासीहरु निकै नै जम्मा हुन्थे ।
दिउँसोमा उनी व्यापार गर्थे । घर सुरूमा एक तलाको थियो । केही वर्षको अन्तरालमा दुईवटा तला थपेका थिए । भुइँतलामा एउटा सटर थियो । त्यही सटरमा उनी किराना पसल चलाउँथे । पसलमा बढीजसो समय त म्याडम नै बसेकी हुन्थिन् । आफ्नो पेन्सन र किराना पसलका अतिरिक्त घरका केही कोठाहरु भाडामा दिएका थिए । आम्दानीको स्रोत यही नै थियो । एउटा छोरो थियो, अमेरिका बस्थ्यो । छोरी एउटी मात्रै, घरमा सँगै थिई । उदय सरका बुढाबुढी र एउटी छोरी । घरमा यिनै तिन जना । उदय सरको उमेरको तुलनामा म्याडमको उमेर अलि कमै देखिन्थ्यो । उदय सर अधिकांश कुरामा सन्तोषी जस्ता देखिन्थे तर जहिले पनि एउटै कुरामा उनको के गुनासो रहन्थ्यो भने पार्टीले मलाई सम्मान गरेन अर्थात् आर्थिक लाभ हुने खालको कुनै पनि पदमा पु¥याएन । यस बारेमा उनले फेसबुकमा पोष्ट गरेको एउटा स्टाटस यस्तो थियो, ‘पार्टी, सङ्गठन तथा नेताहरुका लागि गरेको लगानीको ब्याज नपाए पनि मैले पार्टीलाई भोट र नेताहरुलाई साथ दिन छोड्ने छैन ।’
पार्टीमा उनको उल्लेख गर्न लायक त्यस्तो कुनै योगदान थिएन । एकपटक शिक्षक सङ्गठनतिरको सदस्यता उनले लिएका थिए भन्ने कुराको जानकारी मलाई थियो तर पार्टीकै सदस्यता चाहिँ लिएका थिए वा थिएनन्, यसबारेमा भने मलाई जानकारी थिएन । यद्यपि उनी आफूलाई पार्टी सदस्यकै रुपमा चिनाउँथे । भोट दिने कामलाई चाहिँ निरन्तरता दिएका थिए । तर पनि उनी आफूले पार्टीका लागि सर्वस्व नै सुम्पेको जस्तो गरी फेसबुकमा स्टाटसहरु हाल्थे र नेता एवम् अन्य कार्यकर्ताहरुका अगाडि मपाइँत्व प्रदर्शन गर्थे । आफ्नो पार्टी वा समूहका मान्छेबाहेक अरूलाई देखिसहँदैनथे । आफ्नो घटकमा पनि आफू संलग्न भएको एउटा सानो गुटबाहेक अरू गुट तथा घटकहरुको अस्तित्व स्वीकार गर्दैनथे । यतिसम्म सङ्कीर्ण थिए कि कम्युनिष्ट पार्टीको आफ्नो गुटबाहेक अरू गुट र घटकहरुलाई उनी कम्युनिष्ट मान्नै तयार थिएनन् । हामी उनलाई सम्झाउँथ्यौँ, ‘हामी कोही पनि कम्युनिष्ट बन्न सकिरहेका छैनौं । कम्युनिष्ट बन्न निकै कठिन छ । हामी त केवल कम्युनिष्ट बन्ने प्रयत्न गरिरहेका छौँ ।’ हाम्रा कुरालाई प्रतिवाद गर्दै उनी भन्थे, ‘म कम्युनिष्ट भएकै तिन दसक भइसक्यो । तिमीहरुले पाठ पढाउन पर्दैन मलाई । बरू तिमीहरु भने कहिल्यै कम्युनिष्ट हुन नसक्ने भयौ !’
उदय सरले पछिल्लो समयमा आफूबाहेक अरूलाई कम्युनिष्ट देख्नै छाडे । यद्यपि हामीहरु कोही पनि वास्तविक कम्युनिष्ट बन्न सकेका थिएनौं तर कम्युनिष्ट बन्ने प्रयत्नमा चाहिँ थियौँ । हामी पार्टीको टिकट लिँदैमा मात्रै कुनै पनि व्यक्ति कम्युनिष्ट हुँदैन भन्ने सोच्थ्यौँ । जीवन र जगत्लाई हेर्ने भौतिकवादी चस्मा हुनु हुनुपर्छ, वैज्ञानिक दृष्टि हुनुपर्छ । मुख्य कुरो व्यक्तिमा सामूहिक भावनायुक्त आचरण तथा व्यवहार हुनुपर्छ भन्नेमा हामी सचेत थियौँ ।
पछिल्लो चरणमा उनी यतिसम्म पूर्वाग्रही बनेका थिए कि उनको पूर्वाग्रही विचारले फेसबुकको भित्तो नै बिरुप हुन थालेको थियो । फेसबुकको भित्तो उनको कुण्ठा पोख्ने माध्यम बनेको थियो । उनले नेपालका माओवादीहरुलाई हत्याराहरुको जमात भनेर फेसबुकमा पोष्ट गर्न थालेका थिए । आफ्नो नेतालाई कसैले नराम्रो भन्यो वा लेख्यो भने पनि उनको ब्रमान्ड तातेर आउँथ्यो । आफ्नै घटकमा आबद्ध तर आफूलाई मन नपर्ने नेताहरुका विरूद्ध पनि निकै तुच्छ शब्दहरु प्रयोग गर्थे । एकपटक आफ्नै पार्टीको अर्को गुटका नेताप्रति उनले फेसबुकको भित्तामा पोखेको आक्रोश यस्तो थियो, ‘पार्टी फुटाउने तँ ... स्वार्थी गद्धारको त नरकमै बास होस् ।’ फेसबुकमा उनले नेताको नाम नै उल्लेख गरेका थिए तर यहाँ अशोभनीय हुने हुँदा त्यो उल्लेख गरिएन । स्वर्ग र नर्कमा विश्वास गर्ने उदय सर कतिसम्म भौतिकवादी थिए भन्ने कुरा यस स्टाटसले पनि पुष्टि गर्दछ ।
आफू संलग्न गुटका नेताहरु जतिसुकै दुराचारी र भ्रष्ट भए पनि उनी सफेद देख्थे र प्रशंसा गर्थे । आफ्नो गुटका नेताहरु चाहे तिनले अरबौँको भ्रष्टाचार गरेका होउन् अथवा यौन काण्डमा मुछिएका होउन् तिनीहरुको जन्मदिन, वैवाहिक वर्षगाँठ आदिका सन्दर्भमा स्तुतिपरक स्टाटस राख्ने गर्थे । त्यति मात्र कहाँ हो र ! आफ्ना नेताहरुका छोराछोरीको पास्नी, न्वारान, गुन्यूचोली, व्रतबन्ध आदि इत्यादिमा पनि शुभकामना तथा बधाईका पोष्टहरु हाल्न बिर्संदैनथे । यदि ‘मन परेको मान्छेको ... पनि बसाउँछ’ भन्ने चलनचल्तीको उखान लागु हुने हो भने उनमा लागु हुन्थ्यो ।
उदय सरले भोट दिएको पार्टीको सरकार थियो । एउटा मन्त्रीले करोडौँ रुपैयाँ भ्रष्टाचार गरेछ । प्रमाणसहित विपक्षी दलका सांसदहरुले संसदमा विरोध गरे, जनता सडकमा ओर्लेर त्यस भ्रष्टका विरूद्धमा नाराजुलुस गर्न थाले । सदन र सडकमा पनि त्यस मन्त्रीका विरूद्धमा निकै चर्को विरोध आयो । प्रधानमन्त्रीले ढाकछोपका लागि निकै प्रयत्न गरे तर सकेनन् । विरोध थेग्न नसकेर प्रधानमन्त्रीले त्यस मन्त्रीलाई राजिनामा दिन लगाए । त्यसले राजिनामा दियो । विस्तारै विरोध मत्थरिँदै गयो । तिन महिनाको अन्तरालमा भएको मन्त्री मन्डलको पुनर्गठनमा त्यस भ्रष्टाचारीलाई पुनः समावेश गरियो । त्यस समयमा उदय सरले उक्त मन्त्रीलाई बधाई दिएको स्टाटसका केही शब्दहरु मैले अझै पनि सम्झिरहेको छु । बधाईका क्रममा स्टाटसमा उनले लेखेका शब्दहरु थिए, ‘जनताको मुटुका ढुकढुकी, युगपुरूष, भविष्यद्रष्टा, स्वाभिमानी, सदाचारी, विकासप्रेमी... ।’
मैले भनिसकेँ नि, उनी माओवादीको नामै सुन्न चाहन्नथे । ‘मलाई माओवादीको नाम सुन्नासाथ एलर्जी हुन्छ’ एकपटकको गफगाफका क्रममा उनले भनेका पनि थिए । म अचम्ममा पर्थें, उदय सर किन यति बिघ्न पूर्वाग्रही भएका होलान् ! उनलाई माओवादीहरुप्रति यतिसम्म घृणाभाव जाग्नुको कारण के होला ? माओवादी भनेको पनि नेपालका सन्दर्भमा कम्युनिष्टका विभिन्न घटकहरुमध्येको एउटा घटक नै हो । माओवादीको नाम सुन्नासाथ किन बाघेरिस उठ्छ हँ उदय सरलाई ? मलाई लाग्थ्यो, उनी यति बिघ्न पूर्वाग्रही हुनुमा कुनै रहस्य छ अर्थात् पृष्ठभूमिमा केही न केही अवश्य हुनुपर्छ ।
××× ××× ×××
एकपटक मलाई उदय सरको गाउँसँगै जोडिएको अर्को गाउँमा पुग्ने अवसर मिल्यो । जिल्लाको सदरमुकामबाट कच्ची बाटामा करिब तिन घन्टा जीपको यात्रा गरेपछि झरेर डेढ घण्टा हिँड्नुपर्ने रहेछ उनको गाउँमा पुग्न । म उनको गाउँमै त पुगिन, उनको छिमेकी गाउँमा पुगेँ । मैले जागिर खाने गरेको कार्यालयमा केही महिनापहिले सरूवा भएर आएका हाकिम साहेबकी आमा बितेकाले समवेदना व्यक्त गर्ने क्रममा म त्यहाँ पुगेको थिएँ । उही दिनमा फर्कन समयले साथ दिएन । एक रात त्यहीँ बसेँ । जुनेली रात । रातको समयमा किरियापुत्रीलाई कुर्न आएका गाउँलेहरुबाट मैले उदय सरको विगतका बारेमा धेरै कुराहरु थाहा पाएँ । उदय सरलाई आफ्नो गाउँमा मात्र नभई त्यस वरिपरिका गाउँमा पनि कसैले राम्रो ठान्दा रहेनछन् ।
उनले गाउँलेहरुलाई निकै दुःख दिएका रहेछन् । कोही कसैसँग सापटी लिएको पैसा फिर्ता गर्दारहेनछन् । गाउँमा कसैलाई अप्ठेरो पर्दा सहयोग गर्दारहेनछन् । यौनका मामलामा पनि प्रशस्त कमजोरीहरु रहेछन् । गाउँमा बस्न नसक्ने भएपछि नै उनी जागिरको सरूवा मिलाएर सदरमुकाम झरेका रहेछन् । दुईवटा छोरी छोरी जन्माएपछि उनले श्रीमतीलाई छोरो नजन्माइदिएकामा मानसिक यातना दिने गर्थे रे । कहिलेकाहीँ त उनले दिएको शारीरिक यातना पनि यतिसम्म पीडादायी हुन्थ्यो कि उनकी श्रीमती आधा रातसम्म रूँदै बस्थिन् रे । उनी स्वास्नी कुट्नुलाई पुरूषार्थ ठान्थे रे । जब कुटाइको पीडा असह्य भएर श्रीमती रून थालिन् तब बल्ल उदय सरलाई सन्तोष मिल्थ्यो र निन्द्रा पथ्र्यो रे । उनमा यस किसिमको परपीडन ग्रन्थिको विकास सानै उमेरदेखि भएको रहेछ । त्यस गाउँमा उनका बाबुले पनि श्रीमतीलाई कुटपिट गरेर शारीरिक रुपमा अचाक्ली यातना दिन्थे रे । आफ्नो बाबुले आमालाई कुटेको देख्दा सायद् उनमा पनि स्वास्नी कुट्नुपर्छ भन्ने मानसिकताको बिजारोपण भएको थियो !
दुईवटा छोरी छोरी मात्रै । छोरो पाउने चाहनाले उनको अन्तरकुन्तरमा निकै गहिरोसँग डेरा जमाउन थाल्यो । जेठीको मेख मार्नका लागि उनले कान्छी श्रीमती भिœयाए । बिहे गरेको वर्ष दिनमै कान्छी श्रीमतीबाट एउटा छोरो जन्म्यो । यसपछि भने उनले जेठीलाई कसरी र कता पन्छाउने भनेर सोचविचार गर्न थाले । जेठीलाई अझ बढी यातना दिन थाले । रातदिनको यातनाका कारण जेठी घरमा बस्नै नसक्ने भइन् । आफूले त खानलाउन गतिलोसँग पाउँदिनथिन् छोरीहरुले समेत पेट भरून्जेल खान पाएनन् । छोरीहरु स्कुल त जान्थे तर घरमा लेखपढको वातावरण राम्रो थिएन । पढाइमा निकै कमजोर थिए । घरमा बस्ने अवस्था नै नभएपछि जेठी गाउँलेहरुकै सल्लाहबमोजिम गाउँभन्दा केही परको पखेरामा एउटा छाप्रो बनाएर छोरीहरुका साथ बस्न थालिन् ।
कान्छीले दोस्रोपटकमा छोरी जन्माइन् । यसै बिचमा जेठीले पनि दुईवटा छोरीपछि एउटा छोराको जन्म दिइन् । उदय सरका जेठीतिरबाट दुई छोरी र एक छोरा अनि कान्छीतिरबाट एक छोरा र एक छोरी गरी पाँच छोराछोरी भए । उनी जेठीले जन्माएको छोरालाई मेरो छोरो होइन भन्दै हिँड्न थाले । मान्छे निकै अकडा थिए । गाउँमा कसैको कुरा सुन्दैनथे । कसैको सरसल्लाह मान्दैनथे । आफूलाई कसैले सम्झाइबुझाइ गरेको उनलाई पटक्कै मन पर्दैनथ्यो । असाध्यै हठी स्वभावका थिए ।
सरूवा मिलाएर कान्छी श्रीमतीका साथ सदरमुकामतिर लागेपछि उनले सदरमुकाममै घर बनाए । शिक्षणका साथै व्यापार पेशा पनि अपनाए । शिक्षण र व्यापारलाई एकसाथ अगाडि बढाउन थाले । जेठी र जेठीका सन्तानलाई देखिसहन्नथे । यसै बीचमा उनले गाउँको घरबारी र खेत बेच्ने योजना बनाए । जेठी श्रीमतीको उठिबास हुने अवस्थाको सिर्जना भयो । त्यस समयमा गाउँमा माओवादीहरुको चहलपहल निकै बढी थियो । उनीहरु भूमिगत रुपमा अगाडि बढेका थिए । गाउँका फटाहाहरुलाई खोजीखोजी कारबाही गर्थे । जुवाडे र जँड्याहाहरुको पनि सातो लिएका थिए । जेठीले श्रीमानबाट आफूलाई अंश दिलाइदिनका लागि तिनै माओवादीहरुको पार्टीमा उजुर गरिछन् ।
श्रीमानका विरूद्ध जेठीले उजुरी गरेपछि एक दिन साँझपख माओवादीका सेनाहरु आएर उदय सरलाई पारिको एउटा गाउँमा पु-याई रातभर राखेछन् । उनीहरुले सुरूमा उदय सरलाई जेठी श्रीमतीले पाउनुपर्ने अंश दिनका लागि अनुरोध गरेछन् । त्यसपछि आफ्नै छोरालाई पनि मेरो छोरो होइन भन्दै हिँडेकामा त्यसो नभन्नका लागि सल्लाह दिएछन् । उदय सरले उनीहरुको कुरामा कुनै टेरपुच्छरै लगाएनछन् । एउटा माओवादी ठिटाले नम्र भएर सोधेछ, ‘तपाइँको छोरो होइन भने कसको छोरो हो भन्नुस् न त ? हामी त्यसैलाई जिम्मा लगाइदिन्छौँ ।’ उदय सरले जबाफ फर्काएछन्, ‘होला नि कुनै माओवादीको । छोडिसकेको स्वास्नीका बारेमा मलाई के थाहा ?’
आधा रातसम्म सम्झाउँदा पनि नमानेपछि त्यस इलाकाको माओवादी सेनाको कमान्डर हुँदो हो सायद् उसले मातहतका सेनालाई उदय सरको खुट्टो भाँचिदिने आदेश दिएछ । उसले के भनेको रहेछ भने पिटपाट नगर्नू, एउटा खुट्टो मात्रै भाँचिदिनू । तिनीहरुले उदय सरलाई उत्तानो पारेर सुताएछन् । दुई जना मिलेर एक एकवटा खुट्टा समाएछन् । दुई जनाले एक एकवटा हात समाएछन् । एक जनाले टाउको अँठ्याएछ । पिट्न चाहिँ कसैले पनि पिटेनछन् । आधा रातको समय, एक जना चाहिँ खुट्टामा प्रहार गर्नका लागि चिर्पटे दाउरो खोज्न हिँडेछ ।
यसपछि भने बल्ल उदय सरले जेठी श्रीमतीले जन्माएको छोरो आफ्नै भएको बताएछन् । कहिलेकाहीँ जेठी बस्ने गरेको झुप्रामा गई रात बिताउने गरेको यथार्थ पनि ओकलेछन् । र जेठीलाई अंश दिने कबोल गरेछन् । बिहानपख उनलाई त्यहीँ छाडेर माओवादी सेना आफ्नो बाटो लागेछ । पछि भने त्यही पखेराको अलिकति पाखो बारी र जेठीले बनाएको झुप्रोबाहेक सबै घर, बारी, खेत बेचेर पैसा कुम्ल्याई हिँडेका रहेछन् । जेठीपट्टिका सन्तानलाई खानलाउनकै धौ धौ, लेखपढको वातावरण पनि मिलेको रहेनछ । उदय सर आफू कान्छी श्रीमती र कान्छीकै सन्तानसँग बजारमा बसेका । जग्गा बेचेपछि र माओवादीहरूको खप्की खाएपछि भने उनी आफ्नै जन्मथलोतिर पनि आउजाउ गर्न छाडेका रहेछन् ।
गाउँलेहरुका कुरा सुन्दासुन्दै रात बितेको पत्तै भएन । पूर्णिमाभन्दा एकदुई दिन अगाडिको समय । जून अस्ताउनै लागेका थिए । आजभोलि उदय सरले फेसबुकको भित्तालाई बिरुप पार्नाको रहस्य बुझेपछि भने म पनि बिहानपखको समयमा केही बेर झकाएँछु ।
हालः पोखरा