१ विषयपरिचय
वासुदेव त्रिपाठी (जन्म ः १९९९) नेपाली साहित्यको सिर्जना तथा समालोचना विधाका मूर्धन्य स्रष्टा हुन् । उनका तीन थुङ्गा (२०४५), देशको महिमा (२०४६), नवपल्लव (२०४६), गीतिसङ्ग्रह (२०३५), सम्झनाकुञ्ज (२०६६) जीवनकुञ्ज (२०६७), सृजनकुञ्ज (२०६७), रचनाकुञ्ज भाग १ र २ (२०६८), मधुकुञ्ज (२०७०) जस्ता सिर्जनात्मक कृति प्रकाशित छन् । अर्धनारीश्वर काव्य त्रिपाठीको तीन थुङ्गा काव्यसङ्ग्रहमा सङ्गृहीत काव्य हो । यो १४९–१८६ पृष्ठमा रहेको छ । यस काव्यमा चार श्लोक रहेका ४६ परिच्छेदका १८४ श्लोक छन् (भूमिका, २०४५ ः १४९) । यिनै श्लोकभित्र निबद्ध रहेर यस अध्ययनमा पौरस्त्य दर्शनको प्रभाव विश्लेषण गरिएको छ । पौरस्त्यको अर्थ पूर्वीय हो (आप्टे, २००७ः ६३७) । पूर्वीय भन्नाले एसिया अफ्रिका अनि प्रचुरताको दृष्टिले अरबी, फारसी, भारतवर्षीय, चिनिया, जापानी आदि भाषा क्षेत्रका साहित्यिक सिद्धान्त बुझ्नुपर्छ तापनि सीमित र विशेष सन्दर्भमा भने पूर्वीयको मुख्य तात्पर्य संस्कृत काव्यशास्त्र र समालोचना पद्धति बुझ्नुपर्छ (त्रिपाठी, २०६६ः २२) । त्रिपाठीले उल्लेख गरेका उक्त पौरस्त्य दृष्टिलाई आधार मान्ने हो भने पौरस्त्य दर्शनअन्तर्गत पूर्वको धरातलमा विकास भई प्रचलनमा रहेका वैदिक पूर्वीय दर्शन (वैशेषिकदर्शन, न्यायदर्शन, साङ्ख्यदर्शन, योगदर्शन, मीमांसादर्शन र वेदान्तदर्शन) तथा अवैदिक पूर्वीय दर्शन जैन, बौद्धदर्शन र चार्वाकदर्शन पर्दछन् । यी दर्शनमध्ये यहाँ षड्दर्शनलाई आधार मानी अर्धनारीश्वर काव्यमा निहित भौतिक जगत्, आत्मा, कर्म, पुनर्जन्म, ईश्वरर मोक्षका आधामा पौरस्त्य दर्शन अध्ययन गरिएको छ ।
२. शिवपुराणको अर्धनारीश्वर गाथा र अर्धनारीश्वर काव्यको विषय
शिवपुराणअनुसार सृष्टि गरेका प्रजाहरूको सङ्ख्या नबढेपछि सृष्टिकर्ता ब्रह्मा चिन्तित बने । त्यस समय स्त्रीपुरुषको मैथुनबाट प्राणी सृष्टि गर्ने आकाशवाणी ब्रह्मालाई प्राप्त भयो । ब्रह्मा मैथुन सृष्टि गर्न तयार भए तर त्यस समयसम्म स्त्रीकुल सिर्जना भइसकेको थिएन । त्यसैकारण ब्रह्मा मैथुनसृष्टिमा असमर्थ रहे । ब्रह्माले स्त्रीे सृष्टिका लागि पार्वतीरुपिणी परमशक्तिस्वरुपिणी शङ्करको तपस्या गरे । तपस्याबाट खुसी भएका शिवले कामदायिनी मूर्तिमा प्रवेश गरेर अर्धनारीश्वर रूपको दर्शन दिई सृष्टि सञ्चालनका लागि आफ्नो शरीरबाट शिवादेवी अलग गराए । शिवाले ब्रह्मालाई मैथुनबाट प्रजा बढाउने वरदान दिइन् । यसका लागि ब्रह्माले शिवालाई आफूले सृष्टि गरेको सन्तान दक्षप्रजापतिकी छोरी भएर जन्मन प्रार्थना गरे । ब्रह्माको इच्छाअनुरूप शिवाले आफनै भ्रुकुटीको मध्यबाट सर्वशक्तिमान स्त्री सृष्टि गरिन् अनि आफूचाहिँ शिवसँग लीन भई अर्धनारीश्वरको रूपमा रहिन् । त्यसै समयबाट चराचर जगत्मा स्त्रीको सृष्टि भई मैथुनसृष्टि प्रारम्भ भयो ।
कवि वासुदेव त्रिपाठीले शिवपुराणको अर्धनारीश्वरावतारको चरित्र वर्णनलाई उपजीव्य बनाई अर्धनारीश्वर काव्य लेखेका छन् । यस काव्यको विषयस्रोत अर्धनारीश्वरावतार भए पनि यसमा उनले पूर्वपश्चिमको अन्य विषय समायोजन गरी मौलिक काव्य सिर्जना गरेका छन् । यस काव्यमा अज्ञात कलाकारबाट निर्मित अर्धनारीश्वरको मूर्तिमा रहेको अलौकिक सुन्दरता प्रस्तुत छ । यसमा अर्धनारीश्वरको साथै मूर्ति निर्माण गर्ने परिकल्पनाकार र मूर्तिकारको पनि प्रशंसा गरिएको छ । यस काव्यमा मानिसलगायत सम्पूर्ण जीवजन्तु, पन्छी, वनस्पतिका साथै विश्व ब्रह्माण्ड नै अर्धनारीश्वरको रूपमा रहेको कुरा उल्लेख छ । सारा संसार नै अर्धनारीश्वरबाट प्रभावित भई सृष्टि प्रक्रिया अगाडि बढेको कुरा यसमा उल्लेख छ । यस काव्यमा नारी र पुरुष दुई अलग माध्यमबाट सृष्टि भएको कुरा गरी साङ्ख्यदर्शनको द्वैतवादी मान्यता एकातिर प्रस्तुत गरिएको छ भने अर्कातिर अर्धनारीश्वरको मूर्ति फरक भए पनि एउटै प्राणबाट निर्माण गरिएकाले अद्वैत रहेको धारणा पनि प्रस्तुत भएको छ । त्यसैले यस काव्यमा द्वैताद्वैत सिद्धान्त प्रस्तुत भएको छ ।
अर्धनारीश्वर काव्यमा जीवभित्र रहेको भोग चाहना तृप्त नभएको कुरा व्यक्त छ । यस काव्यमा ऋतु परिवर्तनसँगै जीवमा रहेको राग र भोगको चाहना उद्दीप्त हुने कुरा बताउँदै नरनारीको जीवनमा वियोगसंयोग जे भए पनि त्यो शरीरको हुने तर आत्मा पुनर्जन्ममा गई पुनः राग र भोगमा रम्ने कुरा उल्लेख छ । यस काव्यमा न नारीको प्रेम, मिलन र समागमका कुरालाई पश्चिम र पूर्व दुवैको गाथा दिई लेखिएको छ ।
पश्चिममास्नान सरोवर मानी आकाशले पृथ्वीलाई राजहंसका रूपमा भोग गरी सृष्टिलाई अगाडि बढाएको गाथा प्रस्तुत छ भने पूर्वमा हरगौरीरूपी अर्धनारीश्वरको पौराणिक गाथासँग जोडिएको छ । यसका साथै पूर्वमा नरसँगको युद्धमा नारीले विजय गरी देवीका रूपमा मानिन थालेको गाथा पनि यसमा उल्लेख गरिएको छ । युद्धमा नरले हारेपछि नरले प्रार्थना गरेको अनि नारीले पुरुषको प्रार्थना स्वीकार गरी आफ्नो शरीर र प्रेम प्रेमोत्सवको समय पारी दानमा दिएको कुरा पनि यसमा आएको छ । यस काव्यमा दक्षप्रजापतिकी पुत्रीका रूपमा सतीको जन्म भएको प्रसङ्ग उल्लेख गरी दक्षले शिव निन्दा गर्दा सतीले यज्ञकुण्डमा प्रवेश गरी पतिप्रेममा आशक्त भई जीवन त्याग गरेको कुरासमेत अभिव्यक्त गरिएको छ । त्यसैले सतीको मृत्युले दक्षयज्ञ प्रेमयज्ञमा परिवर्तन भएको कुरा यस काव्यमा बताइएको छ । यसमा सतीको मृत्युले शिव विक्षिप्त बनेको र शिव योगमा बाँधिएर बसेको कुरा पनि उल्लेख छ । यसका साथै सतीको पुनर्जन्म पार्वतीका रूपमा भई शिवसँग विवाह भएको र शिव योगी जीवनबाट मुक्त भई काममार्गमा लागेको कुरा पनि आएको छ । यस काव्यमा शिवको दिव्यशक्तिले कामदेव भष्म भएको र रतिको आर्त प्रार्थना पनि शिवको सामु परास्त भएको कुरा व्यक्त भएको छ । यस काव्यमा एडम–इभ, आदम–हब्बा, राधा–कृष्णका पूरा कथा पनि कामेच्छासँग जोडिएको छ भन्दै कामेच्छाले जीवनमा तिर्सनाको रूप धारण गरी सृष्टि चलाएको कुरा उल्लेख गरिएको छ । यसरी विभिन्न प्रेमरूपी गाथालाई जोडी यस काव्यमा जीवात्मा, जीवजन्तु, वनस्पति, ग्रहउपग्रह र विश्वब्रह्माण्ड नै अर्धनारीश्वरका रूपमा रहेको कुरा गरिएको छ । यस काव्यले अर्धनारीश्वरलाई आदिजीव, ईश्वर र सृष्टिको मूलतŒव मानेको छ । अन्ततः यस काव्यमा मानिसको देहलाई प्रकृति र आत्मालाई पुरुष मानी पुरुषबाट प्रकृतिलाई भोगिरहेको कुरासमेत अभिव्यक्त भएको छ ।
३. पौरस्त्य दर्शन अध्ययनको पर्याधार
सम्पूर्र्ण विश्व दर्शनशास्त्रको विषय हो भन्ने कुरालाई दृष्टिगत गर्ने हो भने दर्शनको विषयवस्तु व्यापक र अगम्य छ । आजको विज्ञान इन्द्रिय प्रत्यक्ष विषयवस्तु अध्ययनमा सीमित छ तर दर्शनले भौतिक वस्तुको मात्र अध्ययन नगरी अनुभूतिको पनि अध्ययन गर्दछ । यसैले गर्दा विषयवस्तुप्रति सूक्ष्मदृष्टि, सम्यक्ज्ञानको प्रयत्न, यथासम्भव शङ्काहरूको निवारण, विहित र निषेधित कर्मको दिग्दर्शन, जीवनजगत्सम्बन्धी गहन चिन्तन नै दर्शनलाई चिन्ने आधार बन्दछ (चालिसे, २०६६ ः ८८) । षड्दर्शनले विश्वको रचना किन र कसरी भयो ?, यसमा जीव यसको वास्तविक रूप कस्तो छ ?, विश्वको रचना कसले गरे ?, केका लागि विश्वको रचना भयो ?, ईश्वरीय सत्ता छ वा छैन ?, वास्तविक सत्य के हो ?, ज्ञानप्राप्तिका स्वरूप, साधन र सीमाहरू के के हुन् ?, ज्ञान र आचरणमा के फरक छ ?, कस्तो आचरणलाई कर्तव्य मान्ने ?, व्यक्ति र समाज के हो ?, मनुष्य जीवनको उद्देश्य के हो ? (प्रसाद, १९८२ ः ८) भन्ने विषयमा अध्ययन गर्दछ । यिनै प्रश्नले खोज्ने उत्तरलाई विषयक्षेत्र बनाई साहित्यिक कृतिमा दर्शन अध्ययनका लागि भौतिक जगत्, आत्मा, कर्म, मोक्ष, पुनर्जन्म, ईश्वर, वेदको प्रामाण्यता, आशानिराशा, संस्कार जस्ता कुरालाई काव्य विश्लेषणका आधार बनाउन सकिन्छ । यिनै आधारमध्ये भौतिक जगत्, आत्मा, कर्म, पुनर्जन्म र ईश्वरसम्बन्धी चिन्तनलाई आधार मानी वासुदेव त्रिपाठीको अर्धनारीश्वर काव्यमा पौरस्त्य दर्शनको प्रभाव अध्ययन गरिएको छ ।
३.१ अर्धनारीश्वर काव्यमा भौतिक जगत्
अर्धनारीश्वर म समाख्याता पात्र प्रयोग गरी लेखिएको काव्य हो । यस काव्यको प्रारम्भमा अज्ञात कलाकारबाट बनाइएको अर्धनारीश्वरको सुन्दर मूर्ति निर्माणले म पात्रका मनमा उत्पन्न कौतूहल अभिव्यक्त गरी कलाको प्रशंसा गरिएको छ । यसै क्रममा यहाँ भौतिक जगत्को चित्रण हुन पुगेको छ ।
उद्दीप्त आज छन् मेरा अङ्ग अङ्ग नसा–नसा
लहराइरहेतुल्य लाखौँ लहर लालसा
मूर्ति यो कसले सिज्र्यो कुन उल्लास–विन्दुमा
पौडिई कल्पकल्पान्त अभ्यन्तर समुद्रमा (पृष्ठ १५० ः ४)
अर्धनारीश्वरको मूर्तिमा प्रस्तुत आकर्षणले म पात्रको अङ्ग उद्दीप्त बनी लालसा बढेको कुरा यहाँ प्रस्तुत छ । नेपाली बृहत् शब्दकोशले पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, मन, बुद्धि र आत्माको वासस्थानको रूपमा शरीरलाई (२०७५ ः १५२४) लिएको छ । माथिको कवितांशमा पनि कविले शरीरका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय उद्दीप्त बनी लालसा लहराइरहेको कुरा गरेका छन् । योगदर्शनले वस्तुप्रति रहने लालसालाई चित्तवृत्ति (निगम, २०११ ः १५०) भनेको छ । यहाँ पनि अर्धनारीश्वरको मूर्तिले देहका सम्पूर्ण अङ्गमा लालसा बढाएको कुरा आएको छ । त्यसैले यहाँ भौतिक जगत्प्रतिको आकर्षण प्रस्तुत छ ।
मूर्ति यो के त्यही नै हो आउँथ्यो जुन स्वप्नमा
सयौँ पर्दाहरू पारी मिर्मिरे अन्तरङ्गमा
भयो कि मूर्त मैभित्र मेरै मधुर मन्त्रणा
सृष्टिका क्रममा भोगी सहस्रौँ स्निग्ध यन्त्रणा (पृष्ठ १५० ः ५)
कविले सपनामा देखेको अर्धनारीश्वरको मूर्ति आज आफैभित्र रहेको कुरा गरी अनेक जन्मको यातनासँगै आफूले त्यस्तै जीवन भोगिरहेको कुरा यस कवितांशमा उल्लेख भएको छ । सृष्टि प्रयोजनमूलक हुन्छ । प्रकृतिसहित सबै चौबिस तŒव अचेतन भए पनि चेतन पुरुषको प्रयोजन सिद्धिका लागि प्रकृति भोग वा मोक्षका लागि प्रवृत्त हुन्छ (चन्द्रधर शर्मा, १९९८ ः १५३) भन्ने कुरा साङ्ख्यदर्शनमा उल्लेख छ । माथिको कवितांशमा पनि कवि स्वयम्ले आफैलाई सृष्टिको क्रममा भोगेको कुरा गरेकाले यहाँ भौतिक जगत्सम्बन्धी मान्यता अभिव्यक्त भएको छ ।
मूर्ति यो सपना हो र म जागै छु अझै पनि
विनानिद्रा विनातन्द्रा देखिन्न सपनै पनि
मूर्ति यो कल्पना हो र छ यो इन्द्रियगोचर
तर्कना हो कहाँ भन्नु छ यो वास्तवको वर । (पृष्ठ १५४ ः २५)
कविले अर्धनारीश्वरको मूर्ति सपना, तन्द्रा वा कल्पनामा नभई आफ्ना इन्द्रियले प्रत्यक्ष गोचर गरेको कुरा गर्दै आफूले पाएको दर्शन यथार्थ रहेको कुरा यहाँ बताएका छन् । न्यायदर्शनले इन्द्रिय गोचरका माध्यमबाट प्राप्त ज्ञानलाई प्रत्यक्ष मानेको छ । यहाँ पनि कविले मूर्तिलाई इन्द्रियका माध्यमबाट देखिएको कुरा गरेकाले यहाँ न्याय दर्शनको प्रभाव छ । यसका साथै यहाँ इन्द्रियबाट गोचर हुने कुरा उल्लेख भएकाले यहाँ भौतिक जगत्को उल्लेख छ ।
चौडा वक्ष कडा काँध बलिष्ठ हात पाखुरा
मुखमा शौर्यको लाली दृष्टिमा बैँसको सुरा
नरको मूर्ति यो मानौँ युवा मूर्त पराक्रम
स्नायुमा मांसपेशीमा वासनाको परिक्रम (पृष्ठ १५५ ः २९)
प्रस्तुत कवितांशमा नरको मूर्तिको वर्णन छ । यहाँ नरको वक्षस्थल चौडा, हात, पाखुरा र काँध बलिष्ठ र मुखमा शूरताको लाली भएको कुरा देखाइएको छ । यसका साथै नरको दृष्टि बैँसको मदिराले भरिएको अनि स्नायु र मांसपेशीमाचाहिँ विषयरागले भरिएको कुरा गरिएको छ । यसरी माथिको कवितांशमा भौतिक जगत्कै एक जीवात्माका रूपमा नरको वर्णन गरिएको छ ।
नारीको मूर्ति यो मानौँ नवनीत रसाउने
सहस्रौँ स्नेहका धार बग्ने अनि सुसाउने
झीनो कटी पुष्ट छाती नितम्ब परिपुष्ट झन्
छरी मधुर मुस्कान मुखमण्डल मुग्ध झन् । (पृष्ठ १५६ ः ३३)
दही मथेर झिकेको मक्खन जस्तै नारी शरीर र मनै दुवैले कोमल र स्नेही भएको कुरा यहाँ गरिएको छ । यसका साथै परिपुष्ट छाती र नितम्ब, झिनो कटी अनि मुग्ध मुस्कानका कारण सबैको चित्त नारीप्रति आकर्षण हुने कुरा यहाँ उल्लेख छ । यसरी माथिको कवितांशमा भौतिक जगत्कै एक जीवात्माका रूपमा नारीको वर्णन गरिएको छ ।
मूर्ति यो मनमा गूढ मानौँ मिथुनको ध्वनि
मानौँ संयुक्त गाथा यो घामको जूनको पनि
यो एकाकृति नारीका सँगमा नरको पनि
सहसञ्चार बाजाको कण्ठको स्वरको पनि (पृष्ठ १५७ ः ३८)ं
साङ्ख्यदर्शनले पुरुष र प्रकृतिको संयोगबाट सर्ग वा सृष्टि हुन्छ भन्ने कुरा मान्दछ । पुरुष चेतन र द्रष्टा भए पनि निष्क्रिय छ तर प्रकृति अचेतन र अन्ध भए पनि सक्रिय छ । पुरुषलार्ई प्रकृति देख्न र भोग्न चाहन्छ । यही पुरुष र प्रकृतिको संयोग भई सृष्टि हुन्छ । (शर्मा, १९९८ ः १४६–१४७) । त्यस्तै मीमांसादर्शनले प्राणीको उत्पत्ति ईश्वरले गरेको नभई मातापिताको जनन प्रक्रियाबाट भएको मान्दछ (गुप्ता, १९८८ः ४०८) । माथिको कवितांशमा नर र नारी, घाम र जून, सङ्गीतको बाजा फरक भए पनि घामजूनको साहचार्य र सङ्गीतमा बाजाहरूको सहसञ्चार भए जस्तै अर्धनारीश्वरको मूर्ति पृथक् नभई एउटै हो भन्ने कुरा उल्लेख गरिएको छ । यहाँ अर्धनारीश्वरको मूर्ति एक भए जस्तै मैथुनावस्थामा नरनारी पनि तनमनले एकाकार हुने कुरा बताइएको छ । यसरी उल्लिखित कवितांशमा सृष्टिका लागि हुने मैथुन प्रक्रियाको प्रसङ्ग आएको छ । त्यसैले यहाँ भौतिक जगत्को सृष्टिसम्बन्धी कुरा आएको छ ।
आदितŒव तिमी तिम्रै स्वसत्तामा समाहृत
मुहूर्त आत्मरतिको स्वयंमा सरि विस्तृत
आफै आस्वाद्य आफैले त्यो आस्वादनको क्षण
स्वयं भोग्य स्वयं भोक्ता त्यो महाभोगको क्षण । (पृष्ठ १६१ ः ६०)
यस कवितांशमा अर्धनारीश्वरलाई आदितŒव मानिएको छ । आदितŒवले यहाँ पुरुष र प्रकृतिलाई सङ्केत गरेको छ । यहाँ कविले अर्धनारीश्वरमा पुरुष र प्रकृति दुवै रहेको कुरा गर्दै पुरुषले प्रकृतिको भोग गरेर आत्मरतिमा रमाउने कुरा गरेका छन् । यहाँ कविले अर्धनारीश्वरलाई भोग्य र भोक्ता दुवै मानेका छन् । त्यसैले यहाँ साङ्ख्यदर्शनको प्रभाव देखिएको छ ।
अर्धनारीश्वर तिमी ज्वालाजल दुवै सरि
सञ्चारित तिमी मानौँ नरनारी दुवैभरी
जिन्दगी जति सम्पूर्ण मानौँ तिम्रै प्रसारण
तिमी अग्नि तिमी सोम तिमी आदिम कारण । (पृष्ठ १६२ ः ६४)
अर्धनारीश्वरको मूर्तिलाई यहाँ हरेक जीवात्मामा रहने तŒव मानिएको छ । जीवात्मा नर या नारी जे भए पनि शरीरभित्र आत्मा हुन्छ । आत्मा र शरीरको सङ्गमबाट नै जीवन प्राप्त हुन्छ । अनि यही जीवात्माभित्र ज्वाला र जल अथवा अग्नि र सोम दुवै रहन्छ । त्यसैले हरेक जीव द्वैत छ भने कुरा यहाँ प्रस्तुत भएको छ । यो द्वैतवादी मत साङ्ख्यदर्शनको हो ।
अर्धनारीश्वर तिमी कुनै प्राक्तन सम्झना
तिमी मिथुनसत्ता त्यो जसको नाम वासना
पूर्वस्मृति अझै शेष मुटुका चाल–चालमा
त्यही आवेग बाँकोझैँ प्रीतिका छाल–छालमा (पृष्ठ १६३ ः ६८)
माथिको कवितांशमा आफ्नो हृदय पहिलेको प्रीतिको आवेगमा परी कोक्याएको कुरा कविले गरेका छन् । यहाँ पहिलेको प्रीति स्मृतिको रूपमा आएको छ । योगदर्शनले प्रमाण, विपर्यय, विकल्प, निद्रा र स्मृतिलाई चित्तवृत्ति मानेको छ । यहाँ पनि पहिलेको स्मृति आई चित्तवृत्ति निर्माण गरेको कुरा प्रस्तुत छ । त्यसैले यहाँ योगदर्शनको भौतिक जगत्सम्बन्धी मान्यता प्रस्तुत भएको छ ।
जिन्दगी नरनारीको प्यासको सरि सञ्चय
सधैँ मिलनको तिर्खा सधैँ विरहको भय
अर्धनारीश्वरै मानौँ तृप्तिको कुण्ड शाश्वत
म यसै तीर्थका निम्ति सारूँ कि आज साइत । (पृष्ठ १६४ ः ७२)
प्रस्तुत कवितांशमा नर र नारी दुवैको जीवनलाई प्रेममय वासनाको जीवन भनिएको छ । यसै कारण भौतिक जगत्का नर र नारी दुवैलाई मिलनको तिर्खा र बिछोडको भयले सताएको कुरा पनि यहाँ उल्लेख भएको छ । यस कवितांशमा नर र नारी दुवैलाई आफ्नो वासना पूरा गर्ने स्रोत अर्धनारीश्वरबाट उत्पन्न भएको कुरा उल्लेख गरिएको छ । यहाँ योगदर्शनको पञ्चक्लेश (अविद्या, अस्मिता, राग, द्वेष र अभिनिवेश) मध्ये रागको उल्लेख छ ।
चाहनाचक्र यो मेरो रिँगटैरिँगटासरि
घुमेझैँ चाँचरी गाई पीङको रङटाभरि
अर्धनारीश्वर यहीँ आजीवन रहूँ कि म
तिर्सनैतिर्सनालाई आलिङ्गन गरूँ कि म । (पृष्ठ १६७ ः ८८)
चाँचरी गाई पिङको रङटामा वासनाको चाहनाले घुमे जस्तै जीवात्मालाई पनि भौतिक जगत्को विषय वासनाले बेरेर राखेको कुरा कविले यहाँ गरेका छन् । यस कवितांशमा विषय वासनाको रागबाट फुत्कन नसकेका कारण त्यसैमा बाँधिएर जीवन बिताउने चाहना कविबाट व्यक्त भएको छ ।
तिर्सनैतिर्सना मात्र मभित्र छर्छराउँदा
मभित्र भोगका लाखौँ फिलिङ्गा भर्भराउँदा
खपी राग खपी ताप आधै दग्धसमान म
आदिजीव तिमीचाहिँ सदाकाल समागम (पृष्ठ १६७ ः ९१)
प्रस्तुत कवितांशमा कविले आदिजीवको मूर्तिलाई आफ्नो जीवनसँग तुलना गरेका छन् । यस क्रममा कविले सदाकाल आदिजीव समागममा रहेकाले नै आफ्नो मन तिर्सना र लोभको आगोमा परेको कुरा व्यक्त गरेका छन् । उनले भोगका कारण नै राग र तापले सास्ती दिइरहेको कुरा पनि यहाँ बताएका छन् । पौरस्त्य दर्शनले प्रवृत्तिमार्गलाई भन्दा पनि निवृत्तिमार्गलाई जोड दिएको छ । यी दर्शनले भौतिक जगत्लाई बन्धनको कारण मानेको छ (श्रेष्ठ, २०७७ ः ११०) । यहाँ पनि कवि त्रिपाठीले भौतिक जगत्को तिर्सनाले आफूलाई बन्धनमा पारी सताइरहेको कुरा गरेका छन् ।
पियो पियो अझै प्यास तृप्ति मानौँ नपाउनु
यही हो जिन्दगी मानौँ कहिल्यै नअघाउनु
म प्यासदेखि हाम्फाली प्यासैमा लहराउँछु
म जाग्छु प्यासमै मानौँ प्यासमै म निदाउँछु । (पृष्ठ १६९ ः ९९)
पौरस्त्य दर्शनले मनलाई चञ्चल इन्द्रिय मानेको छ । मनकै कारण मानिस अनेकौँ सांसारिक मायामोहमा फस्न सक्छ भन्दै यसबाट जोगिन मानिसले मनलाई स्थिर राख्न सक्नुपर्छ भन्ने विचार दर्शनले व्यक्त गरेको छ । मनलाई संयममा राख्न सकिएन भने यसका कारण मानिस फन्दामा पर्न सक्छ । (श्रेष्ठ, २०७७ ः ८९) भन्ने दृष्टिकोण पौरस्त्य दर्शनमा छ । माथिको कवितांशमा पनि कविले जीवात्माभित्र निहित लोभ र लालसाका कारण भौतिक जगत्का सुखसयलबाट मानिस तृप्त नभएको कुरा व्यक्त गर्दै आफू पनि त्यसैको सिकारमा परेको कुरा गरेका छन् ।
तरुनो अझ तिर्खा यो पुस्ता पुस्ता बिते कति
बलिष्ठ अझ तिर्खा यो तृप्ति आए गए कति
तिर्खा यो आद्य हे जीव तिम्रै आदिम सम्झना
हिजो तिर्खा आज तिर्खा जिन्दगी खालि तिर्सना । (पृष्ठ १७१ ः १०८)
कवि त्रिपाठीले विषय वासना र रागको तिर्खा पुस्तौँपुस्तादेखि तरुनो बनी आएको कुरा यहाँ उल्लेख गरेका छन् । उनले जीवमा रहेको भोगको चाहना पुस्तौँदेखि रहेको र जतिसुकै पुस्ता बिते पनि नमेटिएको कुरा गरी यहाँ भौतिक जगत्को तिर्सना प्रस्तुत गरेका छन् ।
आदिजीव ! तिमी गाथा तिर्सनैतिर्सनामय
तिमी नर तिमी नारी वासनैवासनामय
तिमी मिलनमा मूर्त तिमी विरहमा पनि
तिमी सङ्गीत हौ मूर्त तिमी हौ सुषमा पनि (पृष्ठ १७२ ः ११४)
प्रस्तुत कवितांशमा अर्धनारीश्वरलाई कवि त्रिपाठीले आदिजीवको संज्ञा दिँदै अर्धनारीश्वरमा रहेको नर र नारी दुवैको कथामा तिर्सना, वासना जोडिएको कुरा गरेका छन् । उनले मिलन र विरह दुवै स्थितिमा अर्धनारीश्वरको उपस्थिति वासना र तिर्सनामा रहेको कुरा गरी जीवन जगत्लाई नै यसको कथाले नछाडेको कुरा गरेका छन् ।
अर्धनारीश्वर तिमी छौ अझै परिशिष्टमा
वनस्पतिजगत्भित्र आद्य जैविक पृष्ठमा
वनमा र बगैँचामा छौ अझै व्याप्तझैँ तिमी
कल्प कल्प बिते किन्तु छौ सजीव अझै तिमी (पृष्ठ १७३ ः ११७)
हरेक जीवात्मामा अर्धनारीश्वरको सङ्गम रहेको कुरा गरी जुनसुकै युग, काल र क्षण आए पनि विषय वासनाको राग लहराइरहेकाले मैथुन प्रक्रिया सजीव प्राणीको पृष्ठभूमि बनेको कुरा यहाँ आएको छ । यहाँ भौतिक जगत्को काम वासना चित्रण गरिएको छ ।
झोक्किई तृप्तिको टर्रो त्यो एक–रसतासित
आदिजीव बन्यौ क्यारे तिमी पनि विभाजित
नरदेखि पृथक् नारी, नारीदेखि पृथक् नर
परस्पर प्रतिस्पर्धी आकर्षित परस्पर (पृष्ठ १७४ ः १२५)
प्रस्तुत कवितांशमा आदिजीवको रूपमा रहेको अर्धनारीश्वरको मूर्ति रिसले नर र नारीमा विभाजित भएको कुरा आएको छ । यहाँ नर र नारी दुई वर्गमा विभाजित भए पनि वासना पूरा गर्न एक अर्कातिर आकर्षित हुने कुरा पनि उल्लेख छ । साङ्ख्यदर्शनले पुरुषको प्रकृतिका साथ हुने संयोगलाई बन्धन मानेको छ । (साङ्ख्यसूत्र, ३÷७२) । माथिको कवितांशमा पनि कवि त्रिपाठीले रिसमा आई आदिजीवको विभाजित भए पनि आकर्षणका कारण मुक्तिको मार्गमा नलागेको कुरा अभिव्यक्त गरी भौतिक जगत्मा पर्ने बन्धन उल्लेख गरेका छन् ।
त्यो आकर्षण कस्तो हो कुन चुम्बकपुञ्जको
मानाँै सिङ्गै धरित्रीको सम्पूर्ण ग्रहपिण्डको
उन्मत्ततुल्य तानिन्थ्यो नारीतर्फ सधैँ नर
नारीको तप्त लावण्य ज्वालाको झैँ सरोवर (पृष्ठ १७५ ः १३१)
प्रस्तुत कवितांशमा नारीमा रहेको आकर्षण शक्तिलाई चुम्बकपुञ्ज भनिएको छ । चुम्बकले फलामलाई आफूतिर आकर्षित गरे झैँ नरनारी, धर्तीआकाशलगायत सम्पूर्ण ग्रहपिण्ड एकअर्काको रागमा परेको कुरा यहाँ उल्लेख गरिएको छ । यहाँ कविले प्रकृतिरूपी भौतिक जगत्लाई नारी मानी यसकै आकर्षणमा सबै परेको कुरा गरेका छन् ।
त्यो आदिसुन्दरी कस्ती कस्तो स्नान सरोवर
कस्तो उत्तान निर्बाङ्ग रूप त्यो दृष्टि गोचर
कसरी झम्टियो भोग्यो आकाशे राजहंसले
धराकी सुकुमारी त्यो पग्लिई कुन जोशले (पृष्ठ १७६ ः १३५)
यहाँ कविले पाश्चात्य जगत्को गाथा उल्लेख गरी भोगको चर्चा गरेका छन् । निर्बाङ्ग, उतानो आसनमा रही आकाशे राजहंसको राग तृप्त पार्न स्नान सरोवरको रूपमा धर्ती रहेको कुरा यहाँ गरिएको छ । यस कवितांशले पश्चिमी गोलाद्र्धमा पनि अर्धनारीश्वरको सृष्टि प्रक्रिया पहिलेदेखि रहेको कुरा बताएको छ ।
स्वयंमा पूर्ण नारी ती नरका कामनाविना
डुबेझैँ आत्मरतिमा अरूका चाहनाविना
अथवा ती थिइन् तृप्त सवर्ग अनुरक्तिमा
नारीका गणमा रम्ने जाज्वल्यमान लालिमा (पृष्ठ १७७ ः १३९)
साङ्ख्यदर्शनअनुसार प्रकृति भौतिक जगत्को मूल कारण हो । यसले सम्पूर्र्ण संसार नै प्रकृतिका कारण उद्भव भएको कुरा बताएको छ । यसले समस्त पदार्थ परतन्त्र भए पनि प्रकृति स्वाधीन छ र जगत्का पदार्थ अनेक भए पनि प्रकृति एक छ भन्दै प्रकृतिलाई सर्वव्यापक र नित्य मानेको छ (साङ्ख्यसूत्र, १÷१२४) । यसरी साङ्ख्यदर्शनले सम्पूर्र्ण भौतिक र मानसिक तŒवको उद्भव प्रकृतिलाई नै मानेको छ । यसले प्रकृति सूक्ष्म भएकाले प्रत्यक्ष नदेखिने (साङ्ख्यकारिका, ८) कुरा पनि बताएको छ । यहाँ पनि कवि त्रिपाठीले अरूको चाहनाविना नारीमा कामना नदेखिएको कुरा गरेका छन् । यहाँ कविले नरको कामनाविना नै नारी आत्मरतिमा पूर्ण रहने कुरा बताएका छन् । उनले नरविना पनि सवर्गमा जाज्वल्यमान लालिमा लिई नारी रम्न सक्ने कुरा गरेका छन् । उनले नारीमा रहने भोग वासना पुरुषविना नदेखिने कुरा गरी प्रकृतिको विशेषता यहाँ प्रस्तुत गरेका छन् ।
बनी विजयिनी नारी उसको अस्मिता बल्यो
बन्यो नर जसै प्रार्थी उसको दिल पग्लियो
हिजो आक्रान्त त्यो नारी आज दान दिने भई
खुल्यो प्रणयको पर्व नारी प्रणयिनी भई (पृष्ठ १७९ ः १५१)
प्रस्तुत कवितांशमा नर र नारीको युद्धमा नारीले विजय प्राप्त गरेपछि नारीको अस्मिता उच्च भएको कुरा उल्लेख छ । यहाँ युद्धमा पारजित पुरुषले नारीसँग प्रार्थना गरेपछि नारीले सम्पूर्ण रिस, राग र दुस्मनी भुली नरलाई प्रेम, वात्सल्य र ममता दान दिएको कुरा यहाँ आएको छ । नारीले नरको अनुनय स्वीकार गरी प्रेम दिन थालेपछि नै नारी प्रणयिनी बनी प्रणय पर्व मनाउन थालेको कुरा पनि यहाँ व्यक्त छ । यस प्रसङ्गले पनि भौतिक जगत्लाई नै देखाएको छ ।
नर आकाशको अंश उन्मुक्त र असीमित
वासना उसको क्रीडा मत्त आवेगपोषित
नर माध्यम मात्रै हो सृष्टिभारनिमित्तमा
नर आकाशपन्छी हो रमाउँछ उडानमा (पृष्ठ १८० ः १५४)
साङ्ख्यदर्शनले पुरुषलाई स्वतन्त्र र व्यापक मानेको छ । यस दर्शनमा पुरुषले प्रकृतिलाई हेर्न र भोग गर्न चाहने अनि पुरुषले नै प्रकृतिको स्वरूप देखेर त्यसबाट निवृत्त भई ज्ञानका माध्यमबाट मोक्ष प्राप्त गर्न सक्दछ । त्यसैकारण पुरुषको भोग र मोक्ष प्रयोजन सिद्ध गर्नका लागि प्रकृति सृष्टिमा प्रवृत्त हुन्छ (साङ्ख्यकारिका, २१) भन्ने कुरा उल्लेख छ । प्रस्तुत कवितांशमा पनि कविले नरलाई आकाशको अंश मान्दै उन्मुक्त र असीमित भनेका छन् । यहाँ पनि कविले नरमा साङ्ख्यकै पुरुषको विशेषता प्रस्तुत गर्दै पुरुषको क्रीडालाई वासना भनेका छन् । पुरुष आवेगमा मत्त भएर वासनाको पोषणमा लागी सृष्टिको माध्यम बन्ने तर अरू बेलाचाहिँ आकाशपन्छी बनेर स्वतन्त्र उडानमा लाग्ने कुरा यहाँ उल्लेख भएको छ । यहाँ कविले सृष्टिमा पुरुषलाई सहयोगीका रूपमा मात्र लिएका छन् ।
पिताका तुच्छतादेखि पुगिन् पुत्री विषादमा
सतीले प्राण नै त्यागिन् प्रिय सम्मान निम्तिमा
प्रीतियज्ञ भयो ध्वस्त दक्षका अग्नि कुण्डमा
वासना खारिई किन्तु पुग्यो उत्सर्ग विन्दुमा (पृष्ठ १८१ ः १५९)
प्रस्तुत कवितांशमा आफ्नो पुरुषलाई पिताले गरेको व्यवहार सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा फाल हालेर देह त्याग गरेको कुरा उल्लेख छ । यसैका कारण दक्षयज्ञ प्रीतियज्ञमा परिवर्तन भएको कुरा यहाँ बताइएको छ ।
कामदेव भयो भष्म योगीका दिव्य दृष्टिले
कसरी रहला सृष्टि विनाप्रणय वृष्टिले
सम्पूर्ण जीवनी शक्ति कामदेवसँगै जल्यो
रतिका आर्तवाणीमा अनुरागलता गल्यो (पृष्ठ १८२ ः १६४)
योग साधनामा लिप्त शिवलाई साधनाभङ्ग गरी काम वासनामा उद्दीप्त बनाउन गएका कामदेवलाई योगीका दिव्यदृष्टिले भष्म बनाएको कुरा माथिको कवितांशमा आएको छ । यसका साथै यसमा कामदेवविना सृष्टि नचल्ने कुरा गर्दै रतिले आर्तवाणीमा मागेको प्रेम पनि गल्न पुगेको कुरा आएको छ ।
जिन्दगी डढ्न यो सक्छ तर फेरि पलाउँछ
वासना सुक्न यो सक्छ तर फेरि सुसाउँछ
मनुष्य तपमा लाग्ला तर फिर्दछ आखिर
जिन्दगी फर्कनै पर्ने तिर्सनाको सरोवर (पृष्ठ १८२ ः १६५)
कामदेवको भष्मपछि शिवको योग साधना टुटेको प्रसङ्गमा माथिको कवितांश आएको छ । यसमा मानिस जप, तप जस्ता साधनाले मोक्षको मार्गमा लागे पनि तिर्सनाको सरोवरले गर्दा भौतिक जगत्मै फर्केको कुरा शिवको माध्यमबाट व्यक्त गरिएको छ । यस कवितांशमा योगमार्गमा लागेका व्यक्तिलाई पनि कामनाले भौतिक जगत्मा फिर्ता ल्याउने कुरा आएको छ ।
चलोस् दाम्पत्य–यात्रा यो, बहोस् वात्सल्यको रस
अर्धनारीश्वर तिमी मेरा हृदयमा बस
योग यो हरगौरीको तिम्रै हो परिमार्जन
तपकै तटमा मानौँ तिर्खाको हरियो वन (पृष्ठ १८३ ः १६८)
सतीदेवीको पुनर्जन्म पार्वतीको रूपमा भएपछि शिव र पार्वतीबिच विवाह हुन्छ । उनीहरू दुवै दाम्पत्य जीवनको रस पान गरी सुखभोगमा लिप्त हुन्छन् । यही शिवपार्वतीको दाम्पत्य जीवनबाट प्राप्त आनन्दलाई यहाँ अर्धनारीश्वरको प्रतिबिम्ब मान्दै कविले आफ्नो हृदयमा बस्न आग्रह गरेका छन् । यहाँ कविले अर्धनारीश्वरको समागमलाई हरगौरीको योग मानेका छन् । यसका साथै यस कवितांशमा समागम वा मैथुनलाई पनि तपकै तट भनिएको छ ।
अजेय तिर्सना भन्ने जिन्दगीको पुकार यो
मानौँ जल र ज्वालाको मूल जैविक सार यो
तिर्खा हो जिन्दगी सिङ्गै तप हो परिमार्जन
अखण्ड जीवसत्ताको संयोजन–विनियोजन (पृष्ठ १८४ ः १७२)
पौरस्त्य षड्दर्शनले शरीरलाई पञ्चतŒव (पृथ्वी, जल, तेज, वायु र आकाश) द्वारा निर्मित भनेको छ (सिन्हा, १९८३ः २२–२३)। प्रस्तुत कवितांशमा पनि कवि त्रिपाठीले जीवात्मालाई जल र ज्वाला सार भन्दै पञ्चतŒवले बनेको शरीर मानेका छन् । यसका साथै पौरस्त्य दर्शनले पञ्च भौतिक तŒव, दश इन्द्रिय र पञ्चतन्मात्राले बनेको शरीरमा तिर्सनाचाहिँ अजेय बनेर बस्ने कुरा गरेको छ । यसकै भूमिका मनले निर्वाह गर्ने कुरा दर्शनमा उल्लेख छ । मनले एकैपल्ट धेरै इन्द्रियसँग सम्पर्क राख्न र वस्तुको बोध गर्नसक्ने भएकाले यो सूक्ष्म र तीव्रगामी इन्द्रिय हो भन्ने कुरा पनि दर्शनमा उल्लेख छ । त्यसैले मनकै कारण मानिस अनेकौँ सांसारिक मायामोहमा फस्न सक्छ भन्दै यसबाट जोगिन मानिसले मनलाई स्थिर राख्न सक्नुपर्छ भन्ने विचार दर्शनमा प्रस्तुत छ (शर्मा, २०६१ ः ५२) । दर्शनका यही मान्यता कवि त्रिपाठीले प्रस्तुत गरी मनलाई तिर्सना उत्पन्न गराउने साधन मानेका छन् । उनले मनलाई नियन्त्रण गरे तप मार्गमा जीवन परिमार्जन भएर जाने कुरासमेत गरी मनकै कारण जीवसत्ता संयोजन र विनियोजन हुने कुरा गरेका छन् । त्यसैले यहाँ मनसापेक्ष भौतिक जगत्सम्बन्धी चर्चा भएको छ ।
डढेन शोक–ज्वालामै पनि जीवन मोहनी
भएन कामको भष्म शिवका दृष्टिले पनि
वासना सोसिँदै जाला तर निःशेष हुन्न त्यो
तिर्सना खारिँदै जाला तर कैल्यै सकिन्न त्यो (पृष्ठ १८३ः१७१)
रतिराग, कामवासना र प्रेमलाई शोकमा डुबेका शिव र शिवकै दृष्टिले भष्म हुन पुगेका कामदेवको मृत्युले पनि अन्त नभएको कुरा यस कवितांशमा व्यक्त छ । यसका साथै यहाँ काम वासना सोसिएर जाने तर अन्त नहुने अनि तिर्सना खारिएर जाने तर कहिल्यै नसकिने कुरा गरी सृष्टि प्रक्रिया निरन्तर अगाडि बढिरहेको कुरा अभिव्यक्त गरी भौतिक जीवनको निरन्तरता प्रस्तुत गरेका छन् ।
३.२ अर्धनारीश्वर काव्यमा आत्मा
पौरस्त्य दर्शनले चिन्तन गरेका तŒवमध्ये आत्मा पनि एक हो । आत्मा शरीरभित्र रहने चेतनतŒव हो । यसले आत्मन् अर्थ बोध गराउँछ । जगत्को सबै पदार्थमा आत्मा व्याप्त रहन्छ । आत्माले सबै पदार्थलार्ई आपूmमा ग्रहण गर्दछ र सबै पदार्थको अनुभव गर्दछ । यसको सत्ता सधैँ रहन्छ (शर्मा, १९९८ः ७) भन्ने कुरा पौरस्त्य दर्शनमा उल्लेख छ । यहाँ पौरस्त्य दर्शनको आत्मासम्बन्धी मान्यताका आधारमा अर्धनारीश्वर काव्यको अध्ययन गरिएको छ ।
सुषुप्त चेतना मेरो, सुप्त सम्पूर्ण साधना
मौन मौन गरेँ मैले कस्तो चिर उपासना
मलाई लाग्छ यो मूर्ति रहस्यसरि सुन्दर
मेरै छाती फुटालेर निक्लेको गिरि निर्झर (पृष्ठ १५० ः ६)
पौरस्त्य दर्शनले चेतनालाई पुरुषको विशेषताको रूपमा लिएको छ (निगम, २०११ ः १३५) भने न्याय तथा वैशेषिक दर्शनले आगन्तुक गुणका रूपमा लिएको छ (निगम, २०११ ः १८७) । यसका साथै साङ्ख्यदर्शनले पुरुषलाई स्वप्न तथा सुषुप्ति अवस्थामा पनि चेतन रूपमा रहने कुरा गरेको छ । अर्धनारीश्वर काव्यमा पनि कविले आफ्नै शरीरभित्र रहेको सुप्त साधनले सुषुप्त चेतनाको उपासना गर्दा आफैभित्र मूर्ति निर्माण भएको कुरा गरेका छन् । साङ्ख्यदर्शनले शरीरभित्र रहने चेतनतŒवलाई पुरुष मान्दछ । यसैलाई आत्मा पनि भनिन्छ (निगम, २०११ ः १३५) । यस आधारमा आफ्नै मनभित्र सुषुप्त अवस्थामा रहेको पुरुषलाई चिर कालसम्म मौन रूपमा गरेको उपासनाबाट आफैभित्र अर्धनारीश्वरको मूर्ति रहेको होला भन्ने कुरा बताएका छन् । यसका लागि उनले गिरि र झरनाको आरोप गरेका छन् । गिरि अचल हुन्छ भने झरना चञ्चल हुन्छ । त्यस्तै पुरुष जड हुन्छ भने प्रकृति चञ्चल हुन्छ । त्यसैले कविले भौतिक शरीरलाई झरना÷प्रकृति र पहाडलाई जड पुरुषका रूपमा लिई गिरि र झरनाको मेलजस्तै प्रकृति र पुरुषको मेलबाट शरीर निर्माण भएको कुरा उल्लेख गरेका छन् । साङ्ख्यदर्शनले पच्चिस तŒवको योगबाट शरीर वा भौतिक जगत् निर्माण हुने कुरा बताएको छ । तीमध्ये एक पुरुष हो । यो सुषुप्त रहे पनि चेतन हुन्छ । यसरी कवि त्रिपाठीले पुरुषतŒवलाई सुषुप्त र चेतनतŒवका रूपमा लिई यहाँ आत्मासम्बन्धी चिन्तन गरिएको छ ।
मूर्ति यो कसको होला लावण्य लहराउँदो
निरभ्र नभमा चारु चन्द्रमाझैँ सुहाउँदो
कसैको सम्झना हो यो बिर्सँदा पनि शेष जो
मेघमाला उघारेर ज्योतिझैँ मुस्कुराउँदो । (पृष्ठ १५१ ः ७)
प्रस्तुत कवितांशमा कविले मूर्तिलाई लहराउँदो लावण्य, निरभ्र नभमा चन्द्रमाझैँ सुहाउँदो, मेघमाला उघारेर मुस्कुराएको ज्योतिझैँ रहेकाले बिर्सँदा पनि सम्झनाको शेषका रूपमा रहेको कुरा गरेका छन् । त्यसैले यहाँ अर्धनारीश्वरको मूर्ति नै पुरुष वा आत्माको रूपमा आरोप भएको छ ।
यो कस्तो मूर्ति हो मेरो विपनामा विलीन जो
कुहिरैकुहिरोभित्र प्रभा मानौँ कतै छिप्यो
अन्तर्नयनमा चाहिँ त्यो चहार्छ पला पला
सहस्र ज्योतिमा मानौँ सहस्र स्वप्न शृङ्खला । (पृष्ठ १५१ ः ९)
पौरस्त्य साङ्ख्यदर्शनले इन्द्रियभन्दा पुरुष फरक हुन्छ त्यसैले इन्द्रियलाई देखिन्छ तर पुरुषलाई देखिँदैन भनेको छ । पुरुष प्रकाशस्वरूपमा रहने भएकाले यो परिवर्तन हुँदैन(साङ्ख्यकारिका, १÷१÷४) भनेको छ । यस कवितांशमा पनि कुहिरोले प्रभालाई लुकाए जस्तै आफ्नो हृदयभित्र देखिएको पुरुष वा आत्मा विपनामा लुकेको कुरा कविले गरेका छन् । यसका साथै पुरुषरूपी प्रभा अन्तर्नयनले हेर्दा सहस्र ज्योतिका साथ देखिने कुरा कविले गरेका छन् । यसप्रकार विपनामा नदेखिने तर अन्तर्नयनले देखिने ज्योतिका कुरा गर्दा यहाँ आत्माको प्रसङ्ग आएको छ । साङ्ख्यदर्शनले पुरुषलाई देश र कालभन्दा पर रहने मानेको छ । देश र काल भौतिक जगत् सापेक्ष हुन्छ तर आत्मा निरपेक्ष हुन्छ । त्यसैले आत्मारूपी पुरुषलाई अन्तर्नयनले देखिने कुरा गरी यहाँ आत्मालाई चिनाइएको छ ।
पखाल्यो क्लेश सम्पूर्ण बर्सिई बर्सिई झरी
को आज झल्झल्कार पूर्णिमाको शशीसरि
उघारो दिलको दैलो को पस्यो अन्तरङ्गमा
मूर्ति यो मूर्तिएतुल्य त्यसैका प्रतिबिम्बमा (पृष्ठ १५२ ः १२)
पौरस्त्य दर्शनले जीवको जन्मलाई दुःखदायी मान्दछ । यी दर्शनले भौतिक जगत्को बन्धनमा पर्नुलाई दुःख मान्दछ भने मुक्त हुनुलाई मोक्ष मान्दछ । मोक्षका लागि आत्मज्ञान आवश्यक छ । आत्मज्ञानले भौतिक जगत्का वस्तु, विषयको राग अनि सम्पूर्ण क्लेशबाट मुक्ति प्रदान गर्छ । पञ्चक्लेशले जीवलाई दुःख दिने कुरा योगदर्शनमा उल्लेख छ । योगदर्शनले जीवात्मामा अविद्या, अस्मिता, राग, द्वेष, अभिनिवेश गरी पाँच क्लेश रहने कुरा गरेको छ । (निगम, २०११ः १५२) । यहाँ पनि पूर्णिमाको ज्योतिको स्वरूपमा मूर्ति विद्यमान भई सबै क्लेश पखालिएको कुरा कवि त्रिपाठीले गरेका छन् । उनले दिलको दैलो उघारेर आफ्नो अन्तरङ्गमा मूर्तिको प्रतिबिम्ब प्रवेश गरेपछि सबै क्लेश नाश भएको कुरा गरेका छन् । त्यसैले यहाँ भौतिक देहले पाउने कष्टबाट मुक्त हुन आत्मज्ञानको रूपमा मूर्ति प्रवेश गरेको कुरा प्रस्तुत भएको छ । त्यसैले यहाँ आत्मासम्बन्धी मान्यता प्रस्तुत भएको छ ।
यो कस्तो मूर्ति हो भोग्छ जो मलाई निरन्तर
मानौँ मेरै जवानी यो प्रफुल्ल र मनोहर
मेरै हृदयको यात्री मैजस्तै चिरसुन्दर
अगम्य किन मैलाई मेरै मानसरोवर (पृष्ठ १५२ ः १३)
भौतिक जगत्जस्तै शरीर पनि पञ्चतŒवले बनेको कुरा पौरस्त्य दर्शनमा उल्लेख छ । शरीर पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय, मन, बुद्धि र आत्माको वासस्थानको रूपमा रहेको हुन्छ (२०७५ः १५२४) । विभिन्न प्राणीका शरीरको आआफ्नै स्वरूप हुने भए पनि दर्शनशास्त्रमा यसलाई चेतनतŒवको वासस्थान भनिएको छ । माथिको कवितांशमा पनि कवि त्रिपाठीले आफूभित्र विद्यमान मूर्तिले नै आफूलाई भोग गरिरहेको कुरा बताएका छन् । यसरी पुरुषले प्रकृतिको भोग गर्दा आफ्नो जवानी प्रफुल्ल र मनोहर भएको कुरा पनि उनले बताएका छन् । साङ्ख्यदर्शनले पुरुषलाई भोक्ता मानेको छ । पुरुषले जीवन जगत्मा सुखदुःख उत्पन्न गराउँछ र भोग गर्दछ । प्रकृति तथा यसबाट उत्पन्न शरीर, मन, इन्द्रिय आदि जड हुन्छ । जड वस्तुले भोग गर्दैन । भोग गर्ने कार्य चेतनतŒवले गर्दछ । यहाँ पनि कविले आफूलाई भोगेर प्रफुल्ल र मनोहर बनाएको कुरा गर्दा यहाँ पुरुषको अस्तित्व सिद्ध भएको छ ।
प्रतीक्षाको शिशिर त्यो स्वप्न पर्ण झरी झरी
थियो वसन्तकै मानौँ चिर आराधनासरि
यात्री त्यो हुर्कियो क्यारे त्यही मौन समाधिमा
अन्तर्रस पिई मनमा मूल नाभिमा । (पृष्ठ १५२ ः १५)
आत्मा नित्य हुने भएकाले यसको पुनर्जन्म हुन्छ । जीवले धारण गरेको शरीर नाश हुन्छ तर आत्मा नित्य भएकाले यो यात्री बनी अर्को जन्मका लागि जान्छ । माथिको कवितांशमा पनि कविले शिशिर ऋतुको दुःखद क्षणलाई सहन गरेर वसन्त ऋतुको प्रतीक्षामा आत्मा रहेको कुराले पुनर्जन्मतिर सङ्केत गरेको छ । यसरी आत्मारूपी यात्री अगाडि बढ्ने क्रममा आफ्नै मनमा भएको रस पिएर मौन समाधिमा रहने कुरा यहाँ उल्लेख छ । त्यसैले यहाँ पनि पुरुषलाई भोक्ताको रूपमा लिइएको छ । पुरुष भोक्ताको रूपमा रहने कुरा साङ्ख्यदर्शनमा उल्लेख छ । त्यसैले यहाँ पुरुषलाई नै आत्मा मानिएको देखिन्छ ।
मेरा होसहरू हार्छन् मेरा मोहहरूसँग
हाम्फाल्छ सृजना मेरो गिरि निर्झरिणीसँग
मेरै जैविक सत्ताको गरूँ कि म उपासना
दुर्दम्य विद्युद्धाराझैँ दन्दनाउँछ वासना । (पृष्ठ १५३ ः १८)
प्रस्तुत कवितांशमा होसले चेतन पुरुषलाई बताएको छ । यही होस प्रकृतिको मोहमा परी डुबेको कुरा पनि यहाँ उल्लेख छ । यहाँ कविले दमन गर्न नसकिने विद्युत्धाराको दनदनाउँदो वासनामा जैविक सत्ता डुबेकाले त्यसलाई उकास्न आफू उपासनामा लाग्ने मनसाय व्यक्त गरेका छन् । साङ्ख्यदर्शनमा प्रकृतिसहित सबै चौबिस तŒव अचेतन भए पनि चेतन पुरुषको प्रयोजन सिद्धिका लागि प्रकृति भोग वा मोक्षका लागि प्रवृत्त हुन्छ (चन्द्रधर शर्मा, पृष्ठ ः १५३) भनी उल्लेख छ । माथिको कवितांशमा पनि वासनाबाट चेतनालाई मुक्त गर्न जैविक सत्ताको उपासनामा लाग्ने अभिप्राय प्रकट भएकाले यहाँ आत्मासम्बन्धी चिन्तन प्रस्तुत भएको छ ।
कति उद्दीप्त यो मूर्ति दृष्टिपर्यन्त पग्लने
अज्ञात ज्वारमा मेरो अभ्यन्तर छचल्किने
सम्पूर्ण स्वप्न सोहोरी यसैसँग बगूँ कि म
समग्र सृजनाशक्ति पोखी रित्तो बनूँ कि म (पृष्ठ १५३ ः १९)
साङ्ख्यदर्शनले पुरुषलाई अधिष्ठाता मानेको छ । रथ सारथिको प्रेरणाले अगाडि बढे झैँ शरीर बुद्धि आदि पनि कसैको प्रेरणाले अगाडि बढ्छ भने त्यसलाई अधिष्ठाता भनिन्छ । यस कविताशमा पनि अर्धनारीश्वरको मूर्तिले दृष्टिसमेत पगाली कविको अभ्यन्तर छचल्काएर अज्ञात ज्वारमा लगेको कुरा व्यक्त छ । यो लैजाने काम अर्धनारीश्वरको मूर्तिले गरेको छ । अतः यहाँ मूर्ति नै प्रेरक बनी अधिष्ठाताका रूपमा आएको छ । त्यसैले यहाँ अर्धनारीश्वर नै आत्माको रूपमा आरोप भएको छ ।
नवीन त्यति यो मूर्ति जति हे¥यो बिनी बिनी
मानौँ अर्कै अभिप्राय अर्कै आकृतिमा मनि
अद्वैत एउटै रूप न नारी हो न ता नर
अखण्डसरि आकाश कहाँ नारी कहाँ नर । (पृष्ठ १५७ ः ४०)
साङ्ख्यदर्शनले पुरुष र प्रकृतिलाई लिएर आफूलाई द्वैत बनाए पनि कवि त्रिपाठीले अर्धनारीश्वर एकै प्राण तŒवबाट बनेकाले अविभाज्य मूर्ति मान्दै अद्वैतवादी धारणा राखेका छन् । यसका लागि उनले अर्धनारीश्वरको मूर्तिमा नर वा नारी दुवैको आधा आधा रूप भए पनि आकाशजस्तै पूर्ण मूर्ति रहेको कुरा उल्लेख गरी अद्वैतवादी धारणा राखेका छन् । शङ्कराचार्य अद्वैत दार्शनिक हुन् । उनले एकमात्र ब्रह्मतŒवलाई परमतŒव मानेका छन् । उनले जुन कुरा पूर्ण छ त्यसलार्ई सङ्ख्यामा व्यक्त गर्नुहुन्न भनेका छन् । त्यसैले उनले आफ्नो सिद्धान्तको नाम अद्वैत वेदान्त राखेका हुन् (निगम, २०११ ः २२४) । उनले ‘ब्रह्म सत्यं जगन्मिथ्या, जीवो ब्रह्मैव नापरः’ अर्थात् जगत् मिथ्या भएकाले जीव नै ब्रह्म हो अरू केही छैन भन्दै एकमात्र ब्रह्मलार्ई सत्य मानेका छन् । कवि त्रिपाठीले पनि अर्धनारीश्वरमा नर र नारीको दुई रूप देखिए पनि त्यसको आधार एकै भएकाले यो अद्वैत छ भन्ने मान्यता प्रस्तुत गरेका छन् ।
मूर्ति यो हरगौरीको अर्धाङ्ग जोडिएसरि
आधा आधा तŒव मिली एकै प्राण पिएसरि
अर्धाङ्गचाहिँ नारीका अर्धाङ्ग नरको सरि
आधाचाहिँ धरातुल्य आधा आकाशको सरि । (पृष्ठ १५८ ः ४३)
अर्धनारीश्वरको मूर्तिमा आधा अङ्ग हर (नर) र आधा अङ्ग गौरी (नारी) को जोडिए जस्तो देखिए पनि ती दुवै मूर्तिको प्राण एउटै रहेको कुरा कविले यस कवितांशमा बताएका छन् । यसका साथै धरालाई नारी र आकाशलाई नरको रूपमा लिएर धरा र आकाशलाई छुट्टाछुट्टै हेर्दा द्वैतमा देखिए पनि यसको आधारले अद्वैत बनाएको कुरा उल्लेख गरी विश्व ब्रह्माण्डलाई नै उनले अद्वैत मानेका छन् ।
तिमी अद्वैत हे तŒव नरनारी दुवै थियौ
निद्र्वन्द्व आदिमान्छे हे सर्वसम्पूर्णझैँ थियौ
सिङ्गो सग्लो तŒव तिमी न ता नारी न ता नर
न ता मिलनमा मग्न न ता विरह कातर (पृष्ठ १६१ ः ५८)
अर्धनारीश्वरको मूर्तिमा नरनारी दुवैको समागम भई एउटै भएकाले द्वैत मानेका छैनन् । उनले आदि मानवमा स्त्री र पुरुषलाई लिएर द्वन्द्व नभएको भन्दै सबै कुराले पूर्ण मानेका छन् । उनले एउटै पाषाणमा एउटै आधारमा बनेको अर्धनारीश्वरको मूर्तिलाई नर वा नारी नभनी सिङ्गो अर्धनारीश्वर मानेका छन् । साङ्ख्यदर्शनले प्रकृति र पुरुषको तथ्य दिएर आफूलाई द्वैतवादी मानेको छ (निगम, २०११ ः १३५) । तर यहाँ कविले अर्धनारीश्वरको मूर्तिमा नरनारीको मूर्ति एउटै प्राणमा रहेकाले अद्वैत मानेका छन् । वेदान्तदर्शनका शङ्कराचार्यले आफ्नो मान्यतामा एकमात्र ब्रह्मलाई सत्य मानी अद्वैत भनेका छन् । त्यसैले यहाँ वेदान्तदर्शनको अद्वैतवादी मान्यता प्रस्तुत भएको छ ।
तिमी आदिनदी यौटै तिमी आदिम सिल्सिला
विभाजित तिमीदेखि सम्पूर्ण द्वैध शृङ्खला
तिमी नर तिमी सृजनाको अभिन्नता
जिन्दगी एउटै सत्य रूपको मात्र भिन्नता । (पृष्ठ १६२ ः ६२)
वेदान्तदर्शनमा शङ्करले ब्रह्मको बारेमा विवेचना गर्ने क्रममा ब्रह्मलाई दुई रूपमा जान्न सकिए पनि खासमा ती दुई नभई एकै छन् (ब्रह्मसूत्रभाष्य, १÷१÷११) भन्दै अद्वैतब्रह्मको चर्चा गरेका छन् । माथिको कवितांशमा पनि अर्धनारीश्वरलाई आदिनदी, आदिम सिलसिला भन्दै अर्धनारीश्वरकै माध्यमबाट नर र नारी विभाजित भए पनि ती फरक नभई एकै हो भनिएको छ । त्यसैले यहाँ शङ्कराचार्यको अद्वैतवादी मान्यता प्रस्तुत भएको छ ।
जिन्दगी रसको स्रोत मूलैमूल फुटेसरि
लाखौँ लहरमा लोल लयैलय उठेसरि
आदिनाद तिमीचाहिँ अकम्पित अखण्डित
न रागरागिनीधारा न सङ्गीत तरङ्गित । (पृष्ठ १६६ ः ८३)
वेदान्तदर्शनका शङ्कराचार्यले एउटै तŒवलाई परम् सत्ता मानी त्यसलाई ब्रह्म भनेका छन् । यसै कारण शङ्करको मान्यतालाई अद्वैतवादी भनिएको हो । उनको यो मान्यता बृहदारण्यक उपनिषद्मा आधारित छ । यसमा ‘न तु तद् द्वितीयं अस्ति’ अर्थात् उसको द्वितीय छैन र ‘नेह नानस्ति किंचन’ अर्थात् यहाँ अनेकता छैन (३÷३÷२३ र ४÷४÷१९) भनी बताइएको छ । माथिको कवितांशमा पनि त्रिपाठीले जिन्दगीलाई रसको स्रोत मानी त्यसैबाट अनगिन्ती लहर उठेको कुरा गरेका छन् । त्यस्तै उनले अर्धनारीश्वरको मूर्तिलाई चाहिँ अकम्पित र अखण्डित नादका रूपमा लिई त्यसलाई नै सङ्गीतको आधार मानेका छन् । यसरी यहाँ जिन्दगीको मूल रसबाट अरू रस तथा नादबाट सङ्गीतका अरू राग उत्पत्ति भए जस्तै एउटै परम् सत्ता ब्रह्मबाट अरू कुरा उत्पत्ति भएको छ भन्ने तथ्य प्रस्तुत भएको छ ।
अर्धनारीश्वर तिमी निसानीसरि आदिम
कुनै मिर्मिर बेलाको सङ्केतसरि रिम्झिम
नरनारी दुवैलाई सम्झौटो एउटा तिमी
उकास्न वासनालाई रम्य आख्यायिका तिमी । (पृष्ठ १६६ ः ८४)
प्रस्तुत कवितांशमा कवि त्रिपाठीले अर्धनारीश्वरलाई निसानीका रूपमा रहेको एउटै आदिम सत्य मान्दै त्यसमा नर र नारी दुवै रूप देखिए पनि त्यो नर नारीलाई वासनामा लिप्त बनाउन लेखिएको कथा भन्दै मूर्तिलाई चाहिँ अद्वैत भनेका छन् । त्यसैले यहाँ कवि त्रिपाठीले एउटै ब्रह्मलाई सत्य मानेका छन् ।
वासना मत्त आवेग जिन्दगी देह हो भने
वाधा हो वासना खालि आत्मा हो जिन्दगी भने
पीडा शिवले भोगे प्रीतिका तप्त मार्गमा
प्रेरणाकुञ्ज त्यो मानौँ तपका शान्त मार्गमा (पृष्ठ १८२ ः १६२)
प्रस्तुत कवितांशमा जिन्दगीलाई देह मान्दा वासना आवेगको रूपमा रहने र आत्मालाई जिन्दगी मान्ने हो भने वासना बाधाको रूपमा बस्ने कुरा व्यक्त छ । यसका साथै प्रेमको मार्गमा चल्दा नै शिवले कठोर कष्ट भोग्नुपरेको कुरा गर्दै त्यही पीडाले नै शिवलाई तप गरेर शान्त बन्न प्रेरित गरेको कुरासमेत व्यक्त भएको छ । यस प्रकार यहाँ प्रेमलाई नै आत्मा मानिएको छ । यसरी अर्धनारीश्वर काव्यमा पुरुष, ब्रह्म वा अर्धनारीश्वरका रूपमा आत्माको चित्रण गरिएको छ ।
३.३ अर्धनारीश्वर काव्यमा कर्म
चित्त शुद्ध गर्दा शास्त्रीय कर्म अर्थात् सफलता असफलतामा वास्ता नराखी समान भावले गरिने शुभकार्य एवम् कुल परम्परा र शास्त्रीय विधिविधानअनुसार कर्तव्य सम्झेर गरिने आचरण कर्म हो । (प्रभात, २०७० ः ९०) । यहाँ पौरस्त्य दर्शनको कर्मसम्बन्धी मान्यताका आधारमा अर्धनारीश्वर काव्यको अध्ययन गरिएको छ ।
जिन्दगी नरनारीको खडेरीमा सधैँभरि
वासना वनमा लाग्ने डँढेलो जिन्दगीभरि
दग्धिको दाहको घेरा आज पार गरूँ कि म
आदिकुञ्ज तिमीतर्पैm अभिसार गरूँ कि म । (पृष्ठ १६३ ः ७०)
भौतिक जगत् नाशवान् छ । मानिस पनि भौतिक जगत्कै प्राणी हो । त्यसैले नर वा नारी जे भए पनि मानिसको शरीर नाशवान् छ । मानिसको शरीर नाश हुने कुरा सत्य भए पनि वासनाको डँढेलोले नरनारीलाई जीवनभर सताउँछ । तथापि यी पीडा पार गरेर कविले अर्धनारीश्वरतिर नै यात्रा गर्ने चाहना राखेका छन् । यस चाहनाले कविमा रहेको कर्मको चाहना प्रकट भएको छ ।
तिर्खा र तिर्सनालाई आजाद गर्छु म
आस्वादशून्यतालाई आज इन्कार गर्छु म
अर्धनारीश्वर तिमी पुराण परिकल्पना
पुराणमै रही राख पुरानोसरि सम्झना (पृष्ठ १६५ः८०)
साङ्ख्यदर्शनअनुसार पुरुष चेतनतŒव हो र यो नित्यका साथै मुक्त पनि छ । तापनि प्रकृतिको अनेक रूपले पुरुषलाई बन्धनमा पार्छ । खासगरी पुरुष प्रकृतिबाट उत्पत्ति भएको बुद्धितŒवका साथमा परेपछि उसमा दोषले भरिएको सम्बन्ध जोडिन पुग्छ । यसै कारण पुरुषले मन, बुद्धि र अहङ्कारलाई आफ्नो ठान्न पुगी बन्धनमा पर्दछ (निगम, २०११ ः १४६) । यही बन्धनका कारण मानिसले सुखदुःख, मिठोनमिठो, डरभय महसुस गरी दुःखमा पर्दछ । यी सबैको कारण बोध कविले गरी तिर्खा र तिर्सनालाई आजाद गर्ने कर्ममा लाग्छु भन्ने भाव यस कवितांशमा अभिव्यक्त भएको छ । त्यसैले यहाँ कर्मसम्बन्धी चिन्तन प्रकट भएको देखिन्छ ।
३.४ अर्धनारीश्वर काव्यमा पुनर्जन्म
एकपटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने कामलाई पुनर्जन्म भनिन्छ । यहाँ पौरस्त्य दर्शनको पुनर्जन्मसम्बन्धी मान्यताका आधारमा अर्धनारीश्वर काव्यको अध्ययन गरिएको छ ।
योगी यो फर्कला फेरि कसरी जिन्दगीतिर
पीडाका सिन्धुमा पुग्ने प्रीतिका लहरीतिर
डाक्दछिन् जिन्दगीतर्फ जन्मान्तर लिई सती
तनकी मनकी गौरी प्रीति विह्वल पार्वती (पृष्ठ १८२ ः १६३)
सतीदेवीको यज्ञकुण्डमा पसी प्राण त्याग गरेपछि शिव पीडाको सिन्धुमा पर्छन् । उनी पीडाबाट मुक्त हुन योगी बनी योग साधनामा लाग्छन् । यही योगमा लागेका शिव फेरि प्रेमको जीवनमा फर्केलान् भन्ने भाव यहाँ अभिव्यक्त भएको छ । यसकै प्रत्युत्तरमा सतीदेवीको पुनर्जन्म भएको कुरा यहाँ आएको छ । त्यसैले यहाँ पुनर्जन्मसम्बन्धी मान्यता प्रस्तुत भएको छ ।
अभिन्न आदिसत्ता हे विभाजित बनी बनी
जुगौँजुग हिँड्यौँ क्यारे फेर्दै फेर्दै जुनी पनि
तृप्तिका चिरयात्री हे भन तृप्ति मिल्यो कति
कलपकल्पान्त यात्रामा भेट्यौ तृप्ति पला कति (पृष्ठ १८४ ः १७३)
यहाँ अर्धनारीश्वर अद्वैत भए पनि विभिन्न कार्य र कारणका साथ यो विभाजित बनेको कुरा आएको छ । यसका साथै आदिसत्ताका रूपमा रहेको आत्मा युगौँयुगदेखि जुनी फेर्दै निरन्तर अगाडि बढेको कुरा यहाँ उल्लेख छ । यस सिलसिलामा जीवात्माको पुनर्जन्म भए पनि भोग र वासनाले जीवात्मा कहिल्यै तृप्त नभएको कुरा यहाँ प्रस्तुत छ । यस प्रकार यहाँ भोग र काम सृष्टिको नियमित प्रक्रिया भएकाले कुनै पनि जन्ममा यसको अन्त नहुने कुरा गरी जीवात्माको पुनर्जन्म हुने कुरा उल्लेख गरिएको छ ।
ऋतुका चक्रमा रिङ्नु सृष्टिको मूल धर्मझैँ
तिर्खाका ज्वारमा बग्नु तृप्तिको मूल मर्मझैँ
मेटिएन अहो तिर्खा वसन्तोत्सवमा पनि
तिर्खाको पुनरावृत्ति तृप्तिका तटमा पनि (पृष्ठ १८५ ः १७७)
प्रस्तुत कवितांशमा ऋतुअनुसार चल्नुलाई सृष्टिको धर्मका रूपमा लिँदै तिर्खाको ज्वारले तृप्ति हुन्छ भने पनि विषय वासनाप्रतिको तिर्खा हरेका ऋतुको वसन्तोत्सवमा पनि नमेटिई पुनरावृत्ति भइरहेको कुरा कवि त्रिपाठीले गरेका छन् । त्यसैले यहाँ पुनर्जन्मसम्बन्धी मान्यता प्रकट भएको छ ।
आदिजीव तिमी सिङ्गै नरनारी अखण्डित
मानौँ पौरुषसङ्गीत नारीस्वर सुसिञ्चित
म सुसेल्छु तिमीलाई अनन्य मूल तŒव हे
मेरा भाकाभरी आऊ अखण्ड आदिसत्य हे । (पृष्ठ १८६ ः १८३)
प्रस्तुत कवितांशमा अर्धनारीश्वरलाई आफैमा पूर्ण आदिसत्ता मानिएको छ । यसलाई नै कविले पुरुषको सङ्गीत र नारीको स्वरले सिञ्चित मानेका छन् । कविले अर्धनारीश्वरलाई नै जीवनजगत्बाट छुट्याउन नमिल्ने मूलतŒव मान्दै त्यसैमा आफूले सुसलेर सृष्टिलाई निरन्तरता दिएको समेत उल्लेख गरेका छन् । उनले यस काव्यमा अर्धनारीश्वरलाई अखण्ड, आदिसत्य मान्दै सृष्टिको मूल कारण मान्दै यसबाट जीवात्मा पृथक् नहुने कुरा गरेका छन् । यस प्रकार आत्माको पुनरावृत्ति हुने कुरा यहाँ आएकाले पुनर्जन्मसम्बन्धी मान्यता प्रस्तुत भएको छ ।
३.५ अर्धनारीश्वर काव्यमा ईश्वर
सम्पूर्र्ण विश्वब्रह्माण्ड वा सृष्टिलाई बनाउने, बिगार्ने र तिनको नियन्त्रण तथा शासन गर्ने मानिएको परमपुरुष वा परमात्माको रूपमा पुजिने सर्वप्रधान सत्ता भगवान् परमेश्वरलाई ईश्वर भनिन्छ (प्रभात, २०७०ः ७७) । यहाँ पौरस्त्य दर्शनको ईश्वरसम्बन्धी मान्यताका आधारमा अर्धनारीश्वर काव्यको अध्ययन गरिएको छ ।
आधा यो दिव्य नारी हो आधा पुरुष ईश्वर
यही हो जीवसत्ताको मानौँ आदिसरोवर (पृष्ठ १५८ ः ४४)
अर्धनारीश्वरको मूर्तिमा भएको आधा नारी र आधा पुरुषको रूप वर्णन गर्ने क्रममा यहाँ कविले जीवात्मालाई नै अर्धनारीश्वर मानेका छन् । साङ्ख्यदर्शनमा ‘प्रकृतेर्महांस्ततोऽहंकारस्तस्माद्गणश्च षोडषक ः । तस्मादपि षोडशकात्पंचभ्य ः पंचभूतानि ।।’ (साङ्ख्यकारिका, २२) अर्थात् प्रकृतिबाट बुद्धि, बुद्धिबाट अहंकार, अहङ्कारबाट मनसहित पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रिय, पञ्चतन्मात्रा, पञ्चमहाभूत गरी चौबिस तŒव उत्पत्ति हुन्छ । यसबाट अलग पुरुषतŒव रहेको कुरा साङ्ख्यदर्शनमा उल्लेख गरेको छ । यो पुरुषतŒवलाई नै कतिपयले चेतना वा ईश्वर भनेका छन् । यस कवितांशमा पनि कवि त्रिपाठीले चेतनतŒवका रूपमा लिई अर्धनारीश्वरलाई नै ईश्वरको रूपमा लिएका छन् ।
अर्धनारीश्वर तिमी चहार्छौ झैँ चराचर
भाले–पोथी दुवै तŒव अविभक्त जगद्भर
माटामा पनि निक्लन्छ आफैआफ तृणाङ्कुर
अङ्कुराउँछ पानीमा पनि कोमल अङ्कुर (पृष्ठ १५८ ः ४४)
प्रस्तुत कवितांशमा कविले अर्धनारीश्वरलाई नै ईश्वर मानेका छन् । उनले ईश्वरलाई चराचर जगत् भ्रमण गर्ने, भालेपोथी दुवै विभाजित भएर पनि जगत्मा अविभक्त रहने शक्तिलाई अर्धनारीश्वर भनेका छन् । यसका साथै उनले माटोमा निस्कने तृणाङ्कुर, पानीमा उम्रने कोमल अङ्कुर पनि अर्धनारीश्वररूपी ईश्वरको श्रेय हो भनेका छन् । पौरस्त्य दर्शनमा ईश्वरले नै सृष्टि, स्थिति, पालन र संहार गर्ने (डायसन, १९७१ः १२१) कुरा उल्लेख छ । यहाँ पनि कविको सोही धारणा प्रस्तुत छ ।
३.६ अर्धनारीश्वर काव्यमा मोक्ष
मोक्षको अर्थ सुखदुःखको शृङ्खलाबाट छुट्कारा मिल्नु, देह समाप्ति हुनु वा निःश्रेयष प्राप्त गर्नु हो (आप्टे, २००७ ः ८१९) । यहाँ पौरस्त्य दर्शनको मोक्षसम्बन्धी मान्यताका आधारमा अर्धनारीश्वर काव्यको अध्ययन गरिएको छ ।
कहाँ विरहको चिन्ता कहाँ मरणको भय
मेरो गुञ्जन यो आज बोल्छ जीवनको जय
रस जीवनधाराको पिउँदापिउँदै मरूँ
छातीका ताप–तिर्खा यी साथसाथ लिई मरूँ (पृष्ठ १६९ ः १००)
कवि त्रिपाठीले अर्धनारीश्वर काव्यमा प्रेमलाई जीवनधारा भन्दै मुक्तिको साधन मानेका छन् । उनले जीवात्मामा अर्धनारीश्वर प्रदत्त विषय वासनाको राग सधैँ सक्रिय रहने कुरा पनि उल्लेख गरेका छन् । यसरी उल्लेख गर्ने क्रममा कविले मृत्युलाई विरहको चिन्ता र मरणको भयबाट मुक्तिको मार्ग बताएका छन् । मृत्युले नै जीवात्माको छातीमा उत्पन्न हरेक तापतिर्खा नाश हुने कुरा पनि उनले बताएका छन् । साङ्ख्यदर्शनले जीवन र विदेह दुवै मुक्तिलाई मान्दछ । यस क्रममा शरीर रहँदै पाइने मृत्युलाई जीवन मुक्ति र मृत्युपछि मिल्ने मुक्तिलाई विदेह मुक्ति (निगम, २०११ः १४७) भनेको छ । यहाँ पनि कविले जीवनको सम्पूर्ण रस पिएर मरूँ भन्ने इच्छा राखेका छन् । अतः यहाँ विदेह मुक्तिको उल्लेख भएको छ ।
४ निष्कर्ष
वासुदेव त्रिपाठीद्वारा लिखित अर्धनारीश्वर शिवपुराणको अर्धनारीश्वरावतारको चरित्र वर्णनमा उल्लिखित कथालाई उपजीव्य बनाई लेखिएको काव्य हो । यस काव्यको विषयमा शिवपुराणको अर्धनारीश्वरावतारको वर्णन भए पनि कवि त्रिपाठीले आफ्नो मौलिक प्रतिभा प्रस्तुत गरेका छन् । उनले अर्धनारीश्वर मूर्तिको माध्यमबाट पुरुष तथा नारीको चरित्र वर्णन गर्नुका साथै नारी शक्तिको महिमा वर्णन गरेका छन् । कवि त्रिपाठीले यस काव्यमा सृष्टिका माध्यमबाट भौतिक जगत्, मूर्ति, पुरुष र अद्वैतवादी मान्यताबाट आत्मा, भोग र रागबाट मुक्ति हुने चाहनाबाट कर्म, आत्माको पुनरावृत्तिका माध्यमबाट पुनर्जन्म, चेतनतŒव र सृष्टिकर्ताको माध्यमबाट र्ईश्वर अनि विदेहमुक्तिको माध्यमबाट मोक्षको चर्चा गरेका छन् । उनले यस काव्यमा नर र नारी दुवैको प्रसङ्ग उठाई साङ्ख्यदर्शनको द्वैतवादी मान्यता एकातिर देखाएका छन् भने अर्कोतिर दुवैको समागमलाई लिएर अद्वैतवादी मान्यता पनि प्रस्तुत गरेका छन् । यी दुवैको मिश्रण यसमा परेकाले यस काव्यमा निम्बार्काचार्यको द्वैताद्वैतावादी मान्यता नै स्पष्ट रूपमा प्रस्तुत भएको छ ।
सन्दर्भ सामग्रीसूची
..............., (२०६२), ॐ श्रीशिव पुराणम्(नेपाली अनुवादसहित) द्वितीय भाग, काठमाडौँः पशुपति क्षेत्र विकास कोष ।
आप्टे, वामन शिवराम, (सन्२००७), संस्कृत हिन्दीकोश (पुनर्मुद्रण), दिल्ली ः मोतीलाल बनारसीदास पब्लिसर्स प्रालि ।
ईश्वरकृष्ण, (सन् १९६८),साङ्ख्यकारिका, विस्तृत भूमिका, अनु. ब्रजमोहन चतुर्वेदी, दिल्लीः नेसनल पब्लिसङ हाउस ।
गौतम, लक्ष्मणप्रसाद, (२०७०), ‘अर्धनारीश्वर काव्यको वस्तुविधान’, डा. वासुदेव त्रिपाठी स्रष्टा एकः द्रष्टा अनेक, काठमाडौँ ः त्रिपाठी ग्रन्थ प्रकाशन समिति, (पृष्ठ ४५६–४६४) ।
चालिसे, नारायण,(२०६६), ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा पौरस्त्य दर्शनको प्रभाव’, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, नेपाल संस्कृत विश्वविद्यालय ।
त्रिपाठी, वासुदेव,(२०४५), ‘अर्धनारीश्वर’, तीन थुँगा काव्यसङ्ग्रह, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
त्रिपाठी, वासुदेव, (२०६६), साहित्य सिद्धान्तः शोध तथा सृजन विधि, काठमाडौँः पाठ्यसामग्री पसल ।
निगम, शोभा, (सन् २०११), भारतीय दर्शन, बनारसः मोतीलाल बनारसीदास ।
पतञ्जलि, (सन् २००१),योगदर्शन, अनु. श्रीराम शर्मा आचार्य, बरेलीः संस्कृत संस्थान ।
प्रभात, विष्णु, सम्पा.,(२०७०), प्राज्ञ दर्शनकोश, काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रसाद, राजेन्द्र, (सन् १९८२),दर्शनशास्त्र की रूपरेखा, पटनाः शुक्ला बुक डिपो ।
भट्टराई, शरदकुमार, (२०६७), उपनिषत्सार, काठमाडौँः श्रीराजर्षिजनकस्मृतिकोष ।
———, (२०६७),ब्रह्मसूत्रसार, भट्टाचार्य, काठमाडौँः श्रीराजर्षिजनकस्मृतिकोष ।
———, (२०६८),वेदान्तपरिभाषासार, नेपाली रूपान्तरणसहित, काठमाडौँः श्रीराजर्षिजनक– स्मृतिकोष ।
भिक्षु विज्ञान, (सन् १९२८),साङ्ख्यप्रवचनभाष्य, (साङ्ख्यसूत्रभाष्यसहित), सम्पा, जीवानन्द, कलकत्ताः संस्कृत सिरिज ।
राधाकृष्णन्, (सन् २०१४),भारतीय दर्शन, भाग २,अनु.नन्दकिशोर गोभिल, दिल्लीः राजपाल एन्ड सन्स ।
शर्मा, अर्जुनदेव, (२०६१), भारतीय दर्शनहरूमा के छ ?, काठमाडौँः नर्वदा प्रकाशन प्रालि ।
शर्मा, चन्द्रधर, (सन् १९९८), भारतीय दर्शन का आलोचना और अनुशीलन, दिल्लीः मोतीलाल बनारसीदास ।
शर्मा, ठाकुर, (२०७०), ‘अद्र्धनारीश्वर काव्यभित्रको एक परिपक्व दृष्टि’, डा. वासुदेव त्रिपाठी स्रष्टा एकः द्रष्टा अनेक, काठमाडौँ ः त्रिपाठी ग्रन्थ प्रकाशन समिति, (पृष्ठ ४९७–५०३) ।
श्रेष्ठ, शेखरकुमार, (२०७७) ‘सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा पौरस्त्य दर्शन’, अप्रकाशित विद्यावारिधि शोधपत्र, नेपाल संस्कृत विश्वविद्यालय ।
सिन्हा, हरेन्द्रप्रसाद,(सन्२०१२), भारतीय दर्शन की रूपरेखा, (पुनर्मुद्रण) दिल्लीः मोतीलाल बनारसीदास ।