17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'धनीको पनि ओड लिने ?' कृतिको आशय

कृति/समीक्षा नारायण मरासिनी April 16, 2023, 5:26 pm
नारायण मरासिनी
नारायण मरासिनी

श्यामप्रसाद शर्मा (१९८६–२०७४) प्रगतिशील स्रष्टा हुन् । कविता, लेख–निबन्ध, समीक्षालगायत धेरै विधामा कलम चलाएका श्यामप्रसादको ‘धनीको पनि ओड लिने ?’ वैचारिक एवम् व्यावहारिक लेखहरूको सङ्कलन हो । यस कृतिमा जम्मा पाँचओटा लेख सङ्कलित छन् । आकारगत दृष्टिले सानो यस कृतिको पहिलो लेख ‘अपाङ्ग को ?’ शीर्षकमा छ । सुरुमा यो लेख २०३७ सालमा ‘नव–आलोक’ त्रैमासिकमा प्रकाशन भएको हो । दोस्रो लेख ‘फेरि अपाङ्गबारे’ ‘झिस्मिसे’ त्रैमासिकमा २०३८ सालमा प्रकाशित भएको लेख हो । तेस्रो ‘धनीको पनि ओड लिने ?’ लेख ‘नव–आलोक’ त्रैमासिकमै २०४० सालमा प्रकाशित भएको हो । चौथो ‘साथी बनाउन खोज्दा’ २०४२ सालमा ‘अनुभूति’ त्रैमासिकमा प्रकाशित लेख हो भने अन्तिम ‘हजुरबाहरू–हजुरआमाहरू’ २०४१ सालमा ‘झिस्मिसे’ त्रैमासिकमा प्रकशित लेख हो । यिनै पाँचवटा लेखहरुलाई समावेश गरेर २०४८ सालमा ‘धनीको पनि ओड लिने ?’ शीर्षकमा सङ्ग्रह प्रकाशनमा आएको हो । २०३७ सालदेखि २०४२ सालसम्ममा प्रकाशित श्यामप्रसादका यी लेखहरुको सङ्कलित कृति ‘धनीको पनि ओड लिने ?’ माथि सङ्क्षिप्तमा प्रकाश पार्ने जमर्को यस लेखमा गरिएको छ ।
यस सङ्ग्रहको पहिलो र दोस्रो लेखमा विविध तर्कहरूका साथ अपाङ्गताको नालीबेली केलाइएको छ । शारीरिक रूपमा कुनै अङ्ग कमजोर हुनु वा अङ्ग नै नहुनुभन्दा चैतन्य नहुनुलाई लेखकले सबैभन्दा ठूलो अपाङ्ग ठानेका छन् । आँखा सद्दे हुनेहरूले लेखपढ नगर्नु, खुट्टा सद्दे हुनेहरू गतिशील बन्न नसक्नु, कान सद्दे हुनेहरुले ध्यान दिएर अरूको कुरा नसुन्नु नै अपाङ्गता हो भन्दै लेखकले इच्छाशक्ति भयो भने दृष्टिविहीनहरू पनि इतिहास शिरोमणि बाबुराम आचार्य बन्न सक्छन्, हेलन केलर बन्न सक्छन्, सुरदास र जोन मिल्टन बन्न सक्छन् भन्ने विचार अगाडि सारेका छन् ।
कुनै कुनै मानिसका कतिपय शारीरिक अङ्गले काम गर्न सक्दैनन् । शारीरिक रूपमा कुनै अङ्गले काम नगर्नुभन्दा मानसिक रूपले निष्क्रिय रहनु ठुलो अपाङ्गता हो । हातपाखुरा दह्रा हुनेहरूले किन पारिजातबाट केही सिक्न सक्दैनन् ? किन झमककुमारीबाट सिक्न सक्दैनन् ? किन बाइरनबाट सिक्न सक्दैनन् ? किन स्टेफेन हकिन्सबाट सिक्न सक्दैनन् ? उदाहरणका लागि धेरै विद्वान–विदुषीहरूलाई अगाडि सार्न सकिन्छ । मुख्य कुरा के भने जसले आफूलाई सबल र सक्षम ठानेको छ उसले आफ्नो समाज र राष्ट्रका लागि उनीहरुले जत्तिकै योगदान गर्न सकेको छैन । यस अर्थमा शरीरका सबै अङ्ग सबल हुँदैमा जुनसुकै मानिस पूर्ण मानिस हुन सक्दैन । लेखकका अनुसार पूर्ण मानिस हुनका लागि कुनै एक शारीरिक अवयवको कमजोरीले खासै असर पार्दैन जति मात्रामा मानसिक दुर्बलता, सक्षमता र क्रियाशीलताले असर पार्दछ ।
वृद्धवृद्धाहरू जो उमेरले दर्जनौं वसन्त पार गरिसकेका हुन्छन्, तिनीहरुले कान नसुन्न सक्छन्, तिनीहरूको दाँत झरेका हुन सक्छन्, ती वृद्धवृद्धाहरूले आँखा पनि राम्रोसँग नदेख्न सक्छन् र हिँडडुल गर्ने गोडाहरू पनि कमजोर हुन्छन्, यस किसिमको बुढ्यौलीलाई अपाङ्ग मान्ने कि नमान्ने ? लेखकले प्रश्न गरेका छन् । वास्तवमा वृद्धवृद्धाहरू अनुभवले खारिएका हुन्छन्, व्यवहारले पाका हुन्छन्, तिनीहरूको अनुभव आलाकाँचा ठेट्नाहरुका लागि मार्गनिर्देशन बन्न सक्छ । यसर्थ वृद्धवृद्धाका अनुभवहरू सन्ततीका लागि जीवन सहज बनाउने आधार बन्न सक्छन् ।
आफूले काम नगरी अर्काको कमाइ खान पल्केका लाठेहरू पनि एक किसिमका अपाङ्ग नै हुन् । सद्दे मानिसले त आफ्नै कमाइबाट जीविका चलाउनु पर्छ, अर्काको कमाइमा मोजमस्ती गर्नु हुँदैन भन्दै लेखकले समाजलाई अग्रगतिको बाटामा जान नदिएर यथास्थितिमै राख्न चाहनेहरूलाई मगज बिग्रेका अपाङ्ग ठान्नु उपयुक्त होला कि नहोला भनेर प्रश्न गरेका छन् । आफ्ना बलिया हातपाखुरालाई श्रममा नलगाई अरुको भाग खोस्नमा प्रयोग गर्ने, गोडालाई गतिशीलताको बाटामा नलगी अरुको हकअधिकार कुल्चनमा उपयोग गर्ने जस्ता भुसतिघ्रेहरूलाई पनि लेखकले अपाङ्गमा राख्न सकिने तर्क गरेका छन् ।
समकालीन सन्दर्भमा सम्पूर्ण विश्व र नेपालको अपाङ्ग जनसङ्ख्याको तथ्याङ्क प्रस्तुत गर्दै लेखकले कतिपय सभ्य ठानिएका मुलुकमा पनि सरकारका विरोधीहरूलाई ‘मानसिक रोगी’ भन्ने विष लगाएर उपचार गर्ने निहुँमा अस्पतालमा लगेर बौलाहा नै बनाएर अपाङ्ग बनाइदिने तीतो सत्यको उजागर गरेका छन् । गरिब मुलुकमा सन्तुलित आहारविहार नपुग्नाले कुपोषणका कारण अपाङ्ग बन्नु परेको, गृहयुद्ध तथा विविध किसिमका द्वन्द्वहरूका कारण अङ्गअवयव गुमाउनु परेको, विशेष गरी अविकसित मुलुकहरूमा नै अपाङ्गहरूको सङ्ख्यात्मक आँकडा बढी भएको र यिनै मुलुकमा अपाङ्गहरू दयनीय अवस्थामा गुज्रिरहेका तथ्यलाई लेखकले अगाडि सारेका छन् ।
अपाङ्गहरूको अधिकार र उत्तरदायित्वका विषयमा सयुक्त राष्ट्र संघले घोषणा गरेका कुराहरूको सारलाई लेखकले यसरी प्रस्तुत गरेका छन्– अपाङ्गहरूले पनि पूर्णाङ्गसरह मानवोचित अधिकार र सम्मानको भोग–चलन गर्न पाउनु पर्छ, उनीहरुले पनि अरुले पाएसरह नागरिक र राजनीतिक हकहरू पाउनु पर्छ, उनीहरूले समाजबाट सकारात्मक सहयोग र सहानुभूति पाउनु पर्छ, उनीहरुलाई शिक्षा र तालिम दिने व्यवस्था हुनु पर्छ, जसबाट देशको कल्याणका लागि आफ्नो सेवा दिन सकून्, उनीहरूको आर्थिक र सामाजिक सुरक्षा हुनु पर्छ । उनीहरूमाथि अपमान र दुव्र्यवहार हुनु हुँदैन । योग्यताअनुसार व्यक्तिगत स्वास्थ्य र इच्छाको सुरक्षा हुनु पर्छ । उनीहरूलाई पनि विवाह गरी घरजम गर्ने अधिकार छ । अपाङ्गहरूका बारेमा लेखकले अति संवेद्य भएर मर्मस्पर्शी तथा रोचक उदाहरणहरू पेस गरेका छन् । यदि कथा खुट्टाबाट जन्मन्थ्यो भने पोखराका विजय बजिमय कसरी कथाकार बन्थे ? पत्रपत्रिकाको सम्पादन खुट्टाले गर्ने हो भने उनी कसरी सम्पादक बन्थे ? राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति आर्जन गरेका यस किसिमका प्रबुद्ध व्यक्तिहरूको कार्यकुशलतालाई लेखकले प्राथमिकतामा राख्दै अपाङ्गहरूलाई हामीबाट सम्मानको खाँचो औंल्याएका छन् । बाल पक्षघातको शिकार बनेका रुजबेल्ट चारपटकसम्म अमेरिकाका राष्ट्रपति भएका थिए भन्ने कुरामा आश्चर्य मान्ने पूर्णाङ्गहरू पनि हाम्रो समाजमा छन् । जिउमा पक्षघात हुँदैमा आफूले अँगालेका वाद, सिद्धान्त, विचार वा राजनीतिलाई पनि पक्षघात हुन्छ कि भनेर लेखकले घतलाग्दो प्रश्न गरेका छन् ।
पहिलो विश्वयुद्धमा दुई करोड र दोस्रो विश्वयुद्धमा सवा दुई करोड जति मानिस अपाङ्ग हुनु परेको ऐतिहासिक यथार्थलाई अगाडि सार्दै लेखकले दोस्रो विश्वयुद्धमा पोल्यान्डमा मात्रै साठी लाख मानिस अपाङ्ग हुनु परेको जानकारी दिएका छन् । युद्ध र हातहतियारको समृद्धिबाट अपाङ्गहरुको सङ्ख्यामा वृद्धि हुने गर्छ । शक्तिसम्पन्न राष्ट्रहरू हातहतियारको होडबाजीमा छन् । एटम बम र अणु बमहरू अन्य जनावरको शिकारका लागि नभएर मान्छेकै शिकारका लागि बनेका हुन् । विश्वमा युद्ध र हतियारका लागि जति खर्च भएको छ त्यसको तुलनामा अपाङ्गहरूको हकहितका लागि कति खर्च भएको छ ? यो सोचनीय विषय हो ।
नेपाली भाषामा चल्तीमा आएका कतिपय उखान टुक्काहरू मानसिकतामा नकारात्मक असर पु¥याउने खालका छन् । कतिपय अबुझहरुले अपाङ्गहरुप्रति लक्षित गरेर त्यस्ता उखान टुक्काहरुको प्रयोग गरेका हुन्छन् । हामीले अपाङ्गहरूको मानसिकतामा आघात पुग्ने किसिमका उखान टुक्काहरुको प्रयोग गर्नु कुनै पनि हालतमा राम्रो हुँदैन । नेपाली समाजमा प्रचलित त्यस किसिमका उखान टुक्काहरुलाई निर्मूल पार्नु जरुरी छ । अपाङ्गहरूलाई खिसीटिउरी गरी आनन्द लिने प्रवृत्तिको अन्त्य हुनुपर्छ । अपाङ्गहरूलाई अवसर दिनुपर्छ र सम्मानित जीवन यापनका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्छ भन्ने अभिप्राय नै सुरुका यी दुई लेखहरूको मुख्य अभिप्राय रहेको छ ।
यस कृतिको तेस्रो लेख ‘धनीको पनि मोड लिने ?’ शीर्षकमा रहेको छ । सिङ्गो कृतिको शीर्षक पनि यसै लेखको शीर्षकबाट जुराइएको छ । यसमा लेखकले धनीका प्रकारहरू उल्लेख गर्दै मुलुकलाई माया गर्ने र जनतालाई सुखी राख्न चाहने धनीहरूको ओड लिँदा राम्रै हुन्छ भनेका छन् । धनी मान्छे कसरी धनी भएको हो, त्यसको पृष्ठभूमि केलाउनु पर्छ । उसले श्रम गरेर कमाएको धन हो अथवा शोषण गरेर कमाएको धन हो ? गहिरिएर बुझ्नु आवश्यक छ । यदि श्रम गरेर कमाएको धन हो भने त्यस्ताको ओड किन नलिने भन्दै लेखकले प्रश्न गरेका छन् । लेखकले यस लेखमा शोषणलाई पनि सामन्ती शोषण र पूँजीवादी शोषण गरी दुई भागमा वर्गीकरण गरेका छन् ।
कलकारखानामा हडताल हुँदा मजदुरका न्यायोचित मागहरू बेलैमा पूरा गरी आफ्ना उद्योगहरू चाँडै चलाउन खोज्ने विवेकी र विचारवान् पुँजीपतिहरूलाई सहयोग गर्नुपर्छ । ‘बरु कारखाना सधैंका लागि बन्द गर्नु परे पनि गरौंला मजदुरहरूको माग त कुनै पनि हालतमा पूरा गरिँदैन’ भन्ने मत भएका उत्पादन सिद्धान्तकै बाधक महामूर्ख पँुजीपतिहरूलाई भने हामीले दुत्कार्नै पर्ने हुन्छ भन्दै लेखकले वर्ग र व्यक्तिमा फरक हुने धारणा राखेका छन् । शोषक वर्गको कोखबाट जन्म लिँदैमा र हुर्कंदैमा अपराध हुँदैन । अपराध त समाज विकासका क्रममा शोषणका पर्खालहरू खडा गरेमा हुन्छ । वर्गका दृष्टिबाट शोषक वर्गमा परे पनि विचारका दृष्टिबाट शोषण व्यवस्थालाई मन नपराउने, आफ्नै श्रम र सीपका भरबाट जीवन बिताउनुमा नै साँचो पौरख ठान्ने, आफूसँग भएको धन समाज, देश र दुनियाँको भलो हुने काममा लगाउन खोज्ने इमान्दार व्यक्तिहरूको भने कदर हुनुपर्छ । कतिपय भ्रष्टाचारीका सन्तान पनि असल र इमान्दार हुन सक्छन्, दलालहरूका सन्तान पनि स्वच्छ छविका हुन सक्छन्, शोषक वर्गका सन्तानमा पनि सर्वहारा वर्गीय चिन्तन हुन सक्छ । यसैले मान्छेलाई उसको व्यवहारबाट जाँच्नु उपयुक्त हुन्छ भन्ने लेखकको धारणा रहेको छ ।
सित्तैंमा कसैले कसैको नखानु, हरेकले आफ्नै परिश्रमको फल खानु नै उपयुक्त हो भन्दै लेखकले आफ्नो वर्ग र आफैलाई मुक्त पार्नका लागि पनि आफूभन्दा माथिका थिचाइ र चुसाइमा परेका धनी वर्गका मानिसलाई समेत मुक्त पार्ने प्रयत्नमा कस्सिएर लाग्ने प्रण गरेका छन् । यसरी सर्वहारा वर्गको वर्गीय मुक्तिका लागि लेखकले धनी वर्गको पनि ओड लिन चाहेको देखिन्छ । तर उनको सर्त के रहेको छ भने धनीहरूले कालो मनले कालो धन होइन कि सफा मन र स्वच्छ तरिकाले सेतो धनको आर्जन गरेको भने हुनै पर्छ ।
कृतिमा सङ्कलित चौथो लेख ‘साथी बनाउन खोज्दा’मा प्रत्येक मानिस एउटा एउटा वर्गमा हुन्छ । साथी बनाउँदा पनि प्राय जसोले आफ्नै वर्ग र आफ्नै जस्तो हैसियत खोज्छन् भन्ने कुरा उल्लेख छ । कति मान्छे आफू शोषित वर्गभित्र पर्ने साह्रै गरिब भए पनि शोषक वर्गलाई नै अड्याउने र जोगाउने काममा तनमन दिएर लाग्ने गर्छन् । दास मनोवृत्तिका त्यस्ता मान्छे सारा दुनियाँकै अहित हुने काममा आँखा चिम्लेर लाग्छन् र आफ्ना मालिकलाई रिझाई तिनकै निगाहबाट जीवन बिताउन चाहन्छन् । कति मान्छे आफू शोषक वर्गको भए पनि शोषणवादी व्यवस्थालाई नरुचाउने खालका हुन्छन् र शोषणका विरुद्धमा पनि केही मात्रामा लाग्न खोज्छन् । कतिपय पुँजीपति र जमिन्दारहरू पनि कानुनी रूपका शोषणहरूबाट नै चित्त बुझाउँछन् र गैरकानुनी रूपबाट शोषण नगर्न पनि सक्छन् । अर्का एकथरि शोषक चाहिँ साह्रै मापाका हुन्छन्, तिनीहरू आफ्नै वर्गले बनाएको संविधान र ऐनकानुनलाई समेत टेरपुच्छर लगाउँदैनन् । यस अर्थमा लेखकका अनुसार साथी बनाउँदा निजको वर्ग स्वरूपका साथै व्यक्तिगत चरित्रमा पनि ध्यान दिनैपर्ने हुन्छ । लेखकका अनुसार साथी यस्तो होस् जो व्यक्तिगत स्वार्थभन्दा माथि उठोस् र सामूहिकतामा विश्वास गरोस् ।
आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको वर्ग स्वरूप र वर्ग स्रोत आफूले खोजेकै जस्तो नपर्न पनि सक्छ । यस्तो अवस्थामा साथी बनाउँदा निकै विचार पु¥याउनु पर्छ । संसारमा गुन र बैगुन दुबै नभएको मान्छे पाउन मुस्किल छ । नराम्रा गुणहरू हटाउँदै जानाले व्यक्तिमा राम्रा गुणहरूको विकास हुन्छ र ऊ असल बन्न पुग्छ । यस किसिमका असल मान्छेलाई नै साथी बनाउनु उपयुक्त हुन्छ जुन साथीले आफूमा सद्गुणहरूको विकास गरोस्, श्रममा विश्वास गरोस्, वर्गीय हितमा काम गरोस्, सुखदुःखमा साथ देओस् र जस्तोसुकै आपतमा पनि साथ नछोडोस्, साथीको हितमा आफूलाई समर्पित होस् । यही नै चौथो लेख ‘साथी बनाउन खोज्दा’को मुख्य आशय हो ।
कृतिको पाँचौं तथा अन्तिम लेख ‘हजुरबाहरू–हजुरआमाहरू’मा अहिलेका बुढाबुढीलाई राम्ररी स्याहारसुसार गर्ने पुस्ताले पछि आफ्नै निम्ति सुखमय बुढ्याइँको सामाजिक र पारिवारिक जग बलियो पार्छ भनिएको छ । सुखमय बुढ्यौलीको जिम्मा समाजले नै लिने व्यवस्था बसाल्न नसकेसम्म बुढाबुढीको दुःखपूर्ण अवस्था रही नै रहन्छ । त्यसमा पनि अझ हाम्रो समाजमा साठी वर्ष नाघेका वृद्धवृद्धाहरूको जीवन यापनको अवस्था ज्यादै दयनीय बनेकामा लेखक चिन्तित भएका छन् । प्रस्तुत लेखमा यस किसिमको दुःख निवारणका लागि लेखकले विभिन्न भौतिक आधारहरू सुझाएका छन् ।
बुढेसकाल लाग्नु छुट्टै हो र काल आउनु छुट्टै हो । बुढो हुँदैमा मर्ने बेला आयो भन्ने ठान्नु हुँदैन । आत्मविश्वासले काम गर्नुपर्छ । जीवनका हरेक चरणका आ–आफ्नै विशेषता हुन्छन् । शैशव अवस्थाको बेग्लै महत्व हुन्छ । बाल्यकालको छुट्टै महत्व हुन्छ भने यौवनावस्था र प्रौढावस्थाका पनि छुट्टाछुट्टै महत्व हुन्छन् । वास्तवमा बुढेसकाल भनेको त जीवनको अधिकांश समय मथिसकेपछि निस्कने नौनी अर्थात् जीवनकै सार हो भन्ने कुरा लेखकले यस लेखमा गरेका छन् । बुढाबुढीलाई खाना, नाना, औषधिउपचार र अन्तिम संस्कारमा ढुक्क हुने वातावरण मिलाइदिनु पर्छ । सरकारले त बुढाबुढीलाई राम्ररी हेर्न सकेन, हुँदाहुँदा आजकल त अझ आफ्नै छोराछोरी र नातिनातिनाले पनि कुकुरलाई मासुभात र बिरालालाई बरु दूध ख्वाएर पाल्छन् तर आमाबाबुलाई वास्ता गर्दैनन् भन्दै लेखकले चिन्ता व्यक्त गरेका छन् । मानिसलाई जीवनको उत्तरार्धमा सुखद जीवन यापनका निमित्त जोडी आवश्यक हुन्छ भन्दै राज्यले उनीहरूलाई खेलकुद, औषधोपचार, मनोरञ्जन लगायतका व्यवस्था गरिदिनु पर्छ भन्ने कुरामा लेखकले विशेष जोड दिएका छन् ।
बुढ्याइँ सबैको साझा समस्या हो । आजका केटाकेटी तथा युवाहरु नै भोलिका दिनमा बुढाबुढी हुने हो । यस प्राकृतिक नियमबाट कोही पनि अलग रहन सक्दैन । बुढाबुढीहरूको अनुभवबाट नयाँ पुस्ता लाभान्वित हुन सक्नु पर्छ । बुढाबुढीले पनि आफूले राजनीतिक, आर्थिक, सांस्कृतिक आदि जीवनका विविध फाँटहरूमा पाएका सुखदुःखका सौगातहरू युवा पुस्तालाई दिँदै जानुपर्छ । बुढाबुढीहरूमा अनुभवको खानी हुन्छ । त्यस अनुभवबाट सन्तान दरसन्तानहरू लाभान्वित हुन पाउनु पर्छ । समाजको बृहत्तर हितका निमित्त बुढाबुढी र युवा पुस्ता दुवै एकअर्काका पूरक भएर उभिन सक्नुपर्छ । यही नै अन्तिम लेख ‘हजुरबाहरू–हजुरआमाहरू’ को मुख्य आशय हो ।
अन्त्यमा, यस सङ्ग्रहका लेखहरूमा लेखक श्यामसादले सामाजिक सुधारका साथै राजनीतिक सचेततालाई प्रस्तुत गरेका छन् । ज्ञानगुनका कुराहरूलाई रोचक उदाहरण दिएर सरल भाषामा लेखिएका यी लेखहरू सैद्धान्तिक भन्दा पनि व्यावहारिक गुणले युक्त छन् । लेखकले अपाङ्गहरूको नालीबेली केलाउँदै उनीहरुलाई अवसरका साथ सम्मान गर्नुपर्ने धारणा प्रस्तुत गरेका छन् । अपाङ्गहरूप्रति साङ्ग मान्छे र राज्यको दायित्वबोधका निमित्त झकझक्याएका छन् । बहुसङ्ख्यक गरिबनिमुखा तथा आफ्नो वर्गको हित हुन्छ भने स्वच्छ किसिमले धन आर्जन गरेका धनीहरूको पनि सहयोग लिनु पर्ने आशय व्यक्त गरेका छन् । साथी बनाउँदा विचार पुर्याउनुपर्ने कुराहरू उल्लेख गर्दै लेखकले आज बुढाबुढीहरूको स्याहारसुसार र सम्मान गर्नु भनेको भोलि आफ्नै बुढेसकाललाई सुखमय तुल्याउनु हो भन्ने धारणा अगाडि सारेका छन् । लेखहरू सन्देशमूलक छन्, वैचारिक र व्यावहारिक जीवनमा उपयोगी हुने खालका छन् ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।