16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिमीसँग मेरो सम्झनाको खाता छ

कथा विश्वराज अधिकारी April 16, 2023, 5:34 pm
विश्वराज अधिकारी
विश्वराज अधिकारी

“तपाइँ भलादमी र सज्जन भएको हुनाले मात्र म तपाइँलाई भेट्न यहाँ, यसरी आएको हो। भेट्न आउन तपाइँले दवाबयुक्त आग्रह गरेको हुनाले मात्र...................। र अब यो भेट मेरो लागि अन्तिम हुनेछ। यसपछि बाटोमा देख्दा पनि नबोल्नु भए हुन्छ। नबोल्नुस नै। अँ, अनि फोन पनि नगर्नु होला, न त कुनै मैसेज नै पनि पठाउनु होला। फेसबुकमा मैसेजिंग पनि नगर्नु होला। यति भन्दा पनि तपाइँले त्यस्ता कार्यहरू गर्नु भएमा, मसँग कुरा गर्न खोज्नु भएमा, पहिलो चरणमा म तपाइँ एक घटिया व्यक्ति हो भन्न बाध्य हुनेछु। अनि दोस्रो चरणमा मैले कानूनि उपचार खोज्नु पर्ने स्थिति आउन सक्छ, तपाइँबाट छुटकारा पाउनका लागि।”
रिताको यस्तो भनाइ मेरो लागि अपेक्षित थियो। रिताको मप्रति कुनै आकर्षण थिएन, केवल मेरो मात्र उनीप्रति अगाध आकर्षण थियो। बितेको चालिस वर्षमा मैले जति प्रयास गरे पनि रितालाई भुल्न सकेको थिन। तर रिताले भने केही छिन पहिले मैले उनलाई भुल्न आग्रह गरिन। एक मिनेट पहिले उनले आग्रह गरेको भरमा अर्को मिनेटमा मैले उनलाई भुल्नु पर्ने। यस्तो पनि हुन सक्छ? कस्तो अचम्म! चालिस वर्षमा गर्न नसकेको कुरा एक मिनेटमा गर्न सकिन्छ? तर रिताको तर्फबाट त्यस्तो मैले गर्न आवश्यक थियो। उनी हजुरामा बनिसकी महिला आफ्नो पति र परिवारलाई बिर्सेर कसरी मेरो प्रौढ प्रेमिका बन्न सक्छिन? म भने उनीलाई प्रेमिकाको रूपमा हेर्न खोजिहरेको थिएँ। प्रेमिका बनाउन खोजिरहेको थिएँ। हुन पनि उमेरले मात्र रितालाई प्रौढ तुल्याएको थियो तर मेरो लागि त उही रिता थिन, कलेजको जमानाको रिता, सोर्ह सत्र वर्षे उमेरको रिता।
मेरो अगाडि चालिस वर्ष पहिलेको रिता थिन, भौतिक होइन, भावतानात्मक रूपम। त्यो रिता जसलाई मैले आफू बिस वर्षको हुँदा, चालिस वर्ष पहिले वीरगञ्जको कलेजमा भेटेको थिएँ। मेरो एकहरो प्रेमको कथा त्यहाँबाट सुरु भएको थियो। मैले रितालाई एकहरो प्रेम गरेको थिए। मेरो एकहरो प्रेमको बारेमा रितालाई केही पनि थाहा थिएन। कलेजमा हुँदा मैले रितालाई प्रेम गरेको कहिले भन्न सकिन पनि। त्येही कुरा भन्न मैले उनलाई रेष्टुरेन्टमा बोलाएको थिए। चालिस वर्षपछि आमने सामने भएर भेट्दै थिएँ। म कस्तो मान्छे! र कति अचम्मको मान्छे!
“उभेर नै कुरा गर्ने? रेष्टुरेन्टमा कुरा गर्दा हुँदैन? के मलाई एक घन्टा जति समय दिन सक्नु हुन्न? ममाथि विश्वास गर्नु हुन्न? मैले कुनै किसिमको अभद्र व्यवहार गरौला त तपाइँसँग? यस्तो लाग्छ तपाइँलाई?”
मेरा यस्ता अनेक प्रश्नहरूले रितालाई द्रवित हुन दवाव दिने जस्तो लाग्यो। र भयो पनि त्यस्तो नै।
“रेष्टुरेन्टमा एक घण्टा भन्द बढी बस्न सक्दिन।” रुखो किसिमले दिइएको रिताको उत्तरले मलाई सुखद स्थितिमा पुर्यायो।
हो, साँच्चै, मैले नै रितालाई दवाव दिएर नया सडकमा बोलाएको थिएँ। काठमाडौको ट्राफिक जाममा दु:ख दिएको थिए। नारायणथानबाट टेक्सीमा आउन पनि रितालाई एक घण्टा लागेको थियो।
“पटक पटक फेसबुकमा मैसेज पठाएर, फोन समेत गरेको हुनाले म यहाँ आएकी हुँ। एक किसिसमले, भनौ न, बाध्य भएर। र अँ, मलाई तपाइँसँग भेट्न कुनै किसिमको दिलचस्पी छैन्। फेरी पनि दोहर्याउँछु, म केवल तपाइँको पटक पटकको आग्रहले गर्दा आएको हो।” रिताका प्रतिक्रियाहरू कडा हुँदै गइहेका थिए। तर मेरो स्थिति भने शान्त तलाउको पानी जस्तो थियो।
मैले भने, “चालिस वर्षपछि हाम्रो भेटघाट हुँदैछ। यति नजिकबाट म तपाइँलाई चालिस वर्षपछि हेर्दैछु वा हेर्न पाउँदैछु। तर आश्चर्य! यो पचास पचपन्नको उमेरमा पनि तपाइँ यति राम्री लागिरहनु भएको छ। सोर्ह सत्र वर्ष उमेरमा कति राम्री हुनु हुँदो हो? तर मैले कहिले पनि तपाइँलाई ज्यादै नजिकबाट हेर्न पाइन। तपाइँ यति राम्री भएर नै होला म तपाइँको पछाडि लट्टु जस्तो नाचेको होला। कति ठूलो गरुत्वाकर्षण भएको तपाइँको रूप थियो जसले हरफल मलाई तानिरह्यो। कति अधिक सक्तिशाली चुम्बक थियो त्यो रूप............। तर होइन म यहाँ आफ्नो भनाइ सच्चाउन चाहन्छु है। रूप नै सबै थोक होइन, आकर्षित गर्ने अरू पनि थुप्रै कुराहरू हुन्छन।”
“यस्तै उटपट्याङ्ग कुराहरू गर्न बोलाउनु भएको मलाई यहाँ? तपाइँका कुराहरू मलाई अर्थहिन लागिरहेको छ।” रिताको यो भनाइले ममाथि कुनै पनि किसिमको असर गरेन।
“होइन रिता जी, कृपया मलाई भन्न दिनुहोस, मैले यी कुराहरू चालिस वर्ष पहिले, तपाइँलाई भेट्दा भन्नु पर्ने थियो। म कति कायर! है, रिता जी? म ज्यादै भलादमी थिएँ, अहिले पनि छु। तर ज्यादै भलादमी हुनु ज्यादै कायर हुनु पनि हो, है?” मैले शान्त स्वरमा भने।
समोसा र चिया हाम्रो टेबल माथि आइसकेको थियो। रेष्टुरेन्ट पनि ग्राहकहरूबाट भरिभराउ नै थियो। कुनै बेला मतिर हेर्ने र कुनै बेला रेष्टुरेन्टलाई हर्ने रिताको उद्देश्य पछाडि के थियो मैले बुझ्न सकिन र मैले त्यस्तो किन गरेको भनेर प्रश्न पनि गरिन।
न्युरोडको ज्यादै व्यस्त त्यो रेष्टुरेन्टमा आधा घण्टा बितिसकेको थियो। हामीले समोसा र चिया खाइसकेका पनि थियौं।
“मैले तपाइँलाई एक घण्टा दिन्छु भनेकी थिए। दिएको समय बित्न थाल्यो।” रिताको यो भनाइले मलाइ झस्क्यायो। मैले केवल पाँच मिनेट बितेको होला भन्ने अनुमान गरेको थिएँ।
“मलाइ किन बोलाउनु भएको थियो, यहाँ, हँ ऋषि जी, भन्नुहोस? कृपया विषयवस्तुमा आउनु होस। समय बर्वाद नगर्नु होस। मलाई घर पुग्न हतार पनि छ। छोरी ज्वाइँ आउँदै छन, साँझ हामीलाई भेटन।” रिताको भनाइले मलाइ झस्क्यायो।
मैले भने, “भेट्नुको कुनै ठूलो उद्देश्य थिएन। यतिकै तपाइँसँग कुरा गर्न मन लागेको थियो। साँच्चै भनौ, तपाइँलाई नजिकबाट, ज्यादै नजिकबाट हेर्न मन लागेको थियो। त्यो आज पूरा भयो। तर तपाइँलाई तपाइँको मनको छेउमा पुगेर पनि हेर्ने विचार छ।”
रिताले भनिन्, “तपाइँ कस्तो अचम्मको मान्छे?” के भन्नु भएको मैले बुझ्न सकिरहेको छैन। र बुझ्न आवश्यक पनि छैन।”
“मोटरलाई पछाडि दौडाउन सकेजस्तो समयलाई पनि पछाडि दौडाउन सकिन्छ, रिता जी? सकिने हुँदो हो त म समयलाई पछाडि दौडाउने थिएँ। चालिस वर्ष पछाडि लगेर त्यो, हाम्रो, कलेजको समयमा पुर्याने थिएँ। समयलाई पछाडि दौडाउन सकिन्छ होला रिता जी, मैले सोंचे जस्तो?” मेरो भनाइ रिताले बुझिन वा बुझिनन् मैले थाहा पाउन सकिन।
“एक घण्टा समाप्त भयो। म अब हिँड्छु है। म तपाइँसँग भेट्न नआए तपाइँले सुसाइट गर्छु भनी मलाई नधमक्याएको भए म आउने थिन, बुझ्नु भयो। मेरो कारणबाट कोहो मर्न नपरोस भनेर म यहाँ आएको। मैले एक पटक भेट्दैमा कसैले गर्न भनी आँटेको आत्महत्या गर्दैन, उसको ज्यान जोगिन्छ, त्यस्तो सोंचेर म यहाँ आएको हो।”
रिताले थपिन, “मलाई भेट्ने इच्छा जाहेर नगर्नु होला, र फोन पनि न गर्नु होला, अब। बुझ्नु भयो। मलाई पूर्णतया बिर्सिदिनु, कृपया। नत्र मैले अघि भने जस्तो, मैले बाध्य भएर प्रहरीलाई खबर गर्नु पर्ला।”
मप्रति रिताले रूखो व्यवहार प्रदर्शित गर्ने मेरो लागि अपेक्षित थियो। त्यसकारण उनको त्यस्तो व्यवहारले मलाई विचलित तुल्याएन। सन्तुलित र शान्त भावमा मैले भने, “रिता जी, मैले कसरी भुल्ने तपाइँलाई? यसरी भुल्न के सम्भव छ? के त्यस्तो हुन सक्छ? मैले मेरो जवानीको समयको स्मरण गर्दा तपाइँको छाया मेरो आँखामा चल्न थाल्छ। जब वीरगञ्जको त्यो कलेजलाई हेर्छु, जहाँ हामीले पढेका थियौ, तपाइँ मेरो मनको कुना कुनाबाट निस्केर बाहिर आए जस्तो लाग्छ। मैले मेरो जीवनी लेख्ने हो भने र त्यो जीवनीमा तपाइँको चर्चा नगर्ने हो भने मेरो त्यो जीवनी पूर्णतया अधुरो रहने छ, झूठो हुनेछ। अझै भनौ, त्यो सहर जहाँ मैले तपाइँलाई दैखे, त्यो सरहलाई नियालेर हेर्दा, सहरका ती गल्लीहरूमा तपाइँका छायाहरू दौडन थाल्छन जहाँ मैलै तपाइँलाई पछ्याएको थिएँ। त्यो समय जुन समयमा म तपाइँको लागि पालग भएको थिएँ, त्यो समय सम्झिँदा मेरो मन अहिले पनि रोमाचिंत हुन्छ। यो स्थितिमा तपाइँ मलाई सजिलै बिर्सन भन्नु हुन्छ। के त्यस्तो हुन सक्छ? के सम्भव छ? कृपया भन्नुस। मेरो मन मस्तिक तपाइँको यादले यस्तो गरि रंगिएको छ जस्तो कुनै बलियो रंगले कुनै कपडा रंगिएको होस। कपडा च्यातिएर गए पनि त्यो कपडाको रंग जाँदैन। त्यस्तै स्थिति मेरो पनि छ। तपाइँ बैंक हो। यो बैंकमा मैले हजारौं यादहरू जम्मा गरेको छु। यस्तो गर्नुस, रिता जी। मेरो ठाउँमा तपाइँ आफूलाई राखेर हेर्नुहोस अनि थाहा पाउनु हुनेछ। के तपाइँले कसैलाई म जति गहिरो प्रेम गर्नु भएको छ? के कहिले कसैको एकहरो प्रेममा पर्नु भएको छ? छैन। अनि कसरी तपाइँलाई थाहा हुन्छ मेरो स्थिति?”
“म हिँडे। तपाइँ जस्तोको अर्थहिन गन्थन सुन्ने मसँग फुर्सत छैन, इच्छा त झन पट्टकै छैन। मैले तपाइँलाई समझदार र भलादी ठानेकी थिएँ तर तपाइँ केवल एक सभ्य गुन्डा मात्र हुनु हुँदो रहेछ, बुझ्नुभयो।” यति भन्दै रिता मेचबाट उठिन।
“रिता जी एउटा प्रश्न गर्छु। कृपया अन्यथा नठान्नु होला। र जवाफ दिनु होला, कृपया।” मैले हत्तारिंदै भने।
रिताबाट कुनै जबाफ आएन।
“प्रेमको आधार केवल सेक्स हो? दुई विपरित लिंग बीच सेक्स बिना सम्बन्ध हुन सक्तैन? स्त्री र पुरुष बीच हुने मित्रताको आधार सम्बन्धी परम्परागत मान्यतालाई के तोड्न सकिंदैन?” मैले निर्धक भएर भने।
“मलाई किन रेष्टुरेन्टमा बोलाएको? किन आउन बाध्य पारेको? त्यस्तो हो भने?” यति भन्दा रिताका आँखाहरू राता राता भएका थिए। तेजीलो उनको मुहारमा क्रोधको उग्र छाया थियो।
मेचबाट उठेर बाहिर जाँदा रिताले केही पनि बोलिनन। म उनको पछि केवल लुरु लुरु हिंडे। सडकमा आए पछि उनी मसँग नबोलेर नै टेक्सी समात्न हिंडिन। एक छिनमै काठमाडौको अति ब्यस्त न्युरोडमा हराइन।
रितासँग भेटेको एक हप्ता पछि एउटा अनौठो घटना भयो। रिताले मलाई त्येही रेष्टुरेन्टमा पुन: भेट्न बोलाइन, र म जसरी पनि त्यो रेष्टुरेन्टमा आउनु पर्छ भन्ने बलियो आग्रह पनि उनले पठाएको फेसबुक मेसेजमा गरिन।
त्येही रेष्टुरेन्टमा हाम्रो भेटघाट भयो। लामो कुराकानी पनि भयो। यो पछिल्लो भेटमा रिताले एउटा सर्त पनि राखिन, “हाम्रो सम्बन्ध केवल दुई पुरुषहरू बीच हुने सम्बन्ध जस्तो हुनेछ।”
मैले सहमति जनाए। मैल भने, “मलाई चाहिएको पनि त्येही हो।”
मैले थपे पनि, “स्त्री पुरुष बीचको सम्बन्धको आधारशिला केवल सेक्स होइन।”

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।