प्रिय बन्दाबन्दी,
बजार बन्द छ
तथापि तर्कका वस्त्र बिकिरहेका छन्
सद्भावनाका फूलमाला
ओहोर दोहोर गरिहेका छन्
कसैले देखे
तेरो बाजे अत्याचारी भनिदियो
कसैले हेरे
व्यञ्जनको वासना सुँघाइदियो
अँगालो हालिदियो
तैँ चुप मैँ चुप
कति खतरनाक समय ?
त्रासद समयमा
म बिहान बिहानै
केही थान ‘काका हो’
तर्क कुतर्कको वस्त्र चेपेर
चेली भेट्न धाइरहेको देख्छु
केही थान ‘स्पार्टाकस’
मायाको राँको बालेर
उनैलाई धूप हालिरहेको पाउँछु
साँच्चै, समय यतिखेर
जासुसी उपन्यासको प्लट भएको छ
हिजो द्रौपदीको वस्त्र
अरूले खोल्थे
आज आफैँ खोल्छिन्
र माटोलाई निर्घात थुक्छिन्
‘काका हो’
‘स्पार्टाकास’
चेली–लाज छोप्न
सखारै वस्त्र लिएर कुद्छन्
साँच्चै,
अपरम्पार छ
वस्त्र खोल्नेको कथा
वस्त्र बुन्नेको कथा
(काेरानाकालमा लेखिएको कविता, सं )